प्रवासी नेपालीको मष्तिष्कमा उब्जिएको राष्ट्रप्रेम

प्रवासी नेपालीको मष्तिष्कमा उब्जिएको राष्ट्रप्रेम

लक्ष्मण खनाल 

“बाबु मैले एउटा अभियान चलाउने भने सल्लाह, सुझाव र सहयोग गर्नु पर्यो ।”
“कस्तो अभियान ?”
“नेपाल भारत सीमामा काँडेतार र पर्खाल लगाउन आर्थिक सङ्कलन अभियान ।”

“कुरा एकदम ठीक हो दाइ तर यो राज्यको केन्द्रीय राजनीतिसँग जोडिएको विषय हो । देशको शासन सत्ता सम्हालेर बसेका नेताहरु जबसम्म संवेदनशील हुदैनन् तबसम्म हामीले चाहेर मात्र यो अभियान सफल नहुन सक्छ त्यसैले यसको लागि धेरै तयारी र शक्तिको आवश्यक पर्दछ । त्यसैले अभियान चलाउनु पहिले सोच्नुपर्ने हुन्छ । यो अभियान सुरु गरेपछि विभिन्न बाधा अड्चनहरु पनि आउनेछन् । ती चुनौतीहरुसँग सङ्घर्ष गर्ने हिम्मतसहित सुरुवात गर्नुपर्ने हुन्छ ।”
“होइन, अभियान सफल हँुदैन भनेर सुरु नै नगरे कसरी सफल होला ? मैले यो अभियान अन्तर्राष्ट्रिय रुपमा लैजाने छु र सफल बनाउने कुरामा विश्वासका साथ सुरु गर्दैछु ।”

“हस् राष्ट्रियताको उच्च अभियान सुरुवातमा मेरो शुभकामना साथै सहयोग रहने प्रतिबद्धता गर्दछु ।”

विगत १५ वर्षदेखि कतारमा रोजगारी गरिरहेका बुटवलका राजु डुम्रेसँगको मेरो संवाद हो यो । कञ्चनपुरमा भारतीय सीमा सुरक्षाबलले चलाएको गोलीबाट गोविन्द गौतमको मृत्यु भएपछि एउटा प्रवासी नेपालीको मन मष्तिस्कमा उब्जिएको राष्ट्रप्रेम र अठोट हो यो । लाखौँ युवाहरु प्रदेशमा परिश्रम गरिरहेका छन् । विप्रेषणमार्फत देशको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् । आफ्नो देशको नागरिकमाथि अर्को देशको सुरक्षाकर्मीले गोली चलाएर हत्या गर्दा हरेक नेपालीको रगतमा अक्रोश भरिनु स्वाभाविक हो । राजु दाइ जस्तै लाखौँ युवाहरु आज नेपाल भारत सीमामा पर्खाल ठड्याउन तयार छन् ।

सुगौली सन्धि र भारतको हेपाहा प्रवृत्तिले भारतको नेपालप्रतिको नीति कस्तो छ भनेर प्रष्ट थाहा हुन्छ । उक्त सन्धिमा नेपालले आफ्नो कैयौँ भूभाग गुमाउन पुग्यो । त्यति मात्र होइन सुगौली सन्धिपछिको नेपालको मानत्रिच पनि पटक पटक खिइँदै गइरहेको छ । यो सब भारतको दादागिरी र नेपालप्रतिको हेपाहा प्रवृत्ति हो ।
नेपालमा भारतले पटक पटक सीमा मिच्ने गरेको छ । सीमा क्षेत्रका नेपालीहरु भारतको यस्तो व्यवहारबाट आतङ्कित छन् । कहिले भारतीय सीमा सुरक्षा बलले नेपालीहरुलाई आफ्नै भूमिबाट खेद्ने, कहिले बाँध बाँधेर नेपाली भूमि डुबानमा पार्ने र सीमा स्तम्भहरु सार्ने काम पटक पटक भइरहेका छन् । हामीले सुस्ताको अध्ययन गरौँ, नारायणी नदीले गरेको बहाव परिवर्तनको मौका छोपेर भारतले सुस्तामा हैकम जमायो । आज कालापानी, लिम्पियाधुरा, लिपुलेकहरु गुहार माग्दैछन् । महेशपुर बाँधले नेपालीको बस्ती उठिबास भयो । गत वर्ष देशले नाकाबन्दी झेल्नुपर्यो । मेचीदेखि महाकालीसम्म पचासौँ ठाउँमा नेपाली भूमि अतिक्रमण भएको छ । यस्तो व्यवहार कहिलेसम्म ?

हामीलाई फेरि कञ्चनपुरमा अर्को घाउ लागेको छ । अब पनि सजक र उचित र कूटनीतिक पहलकदमी र स्पष्ट अडान नलिने हो भने फेरि पनि कैयौँ कञ्चनपुरहरुको हामीले सामना गर्नुपर्ने हुन्छ । सलाम छ ती नेपाली जो आज कञ्चनपुरमा अफ्नो भूमिका लागि देशको सीमा रक्षाका लागि आफूलाई बलि चढाउन तयार छन् । कञ्चनपुरमा शहीद हुने गोविन्दा गौतमको पार्थिव शरीरलाई राष्ट्रिय सम्मान मात्र दिएर पुग्दैन । देशको सीमारक्षाका लागि बगेको उनको रगत अर्को नेपालीले बगाउन नपरोस । बेलैमा सचेत हुनु जरुरी छ ।

नेपालमा भारतले गर्ने यस्ता हर्कतहरुको मुख्य कारण दुई देशबीचका खुला सीमा नै हो । अनि सहायक कारण नेपालका नेताहरुको भारतपरस्त मानसिकता हो । नेपालमा जति सरकारहरु आए पनि भारतप्रति नेपालको स्पष्ट विदेश नीति बन्न सकिरहेको छैन । सारकार बाहिर रहँदा राष्ट्रियतालाई प्रमुख एजेन्डा बनाउने पार्टीहरु सरकारमा पुगेपछि विभिन्न बाध्यता र अन्तर्राष्ट्रिय सम्बन्धका राप अलापेर भारतविरुद्ध बोल्न सक्दैनन् ।

सरकार बाहिर रहँदा जानता भुलाउन राष्ट्रियताको नारा लगाउने र सरकारमा पुगेपछि फेरि उही । आज देशको नागरिकमाथि गोली चलाइँदा प्रदेशमा बस्ने नेपालीहरु खुला सीमालाई कारण मान्दै पर्खाल लगाउने अभियान सुरु गर्छन् यो जिम्मेवारी सरकारको होइन ? के कारणले रोकेको छ नेपाल भारत खुला सिमा बन्द गर्न ? आर्थिक कारण हो भने आज हरेक नेपालीहरु पर्खाल निमार्णका लागि आर्थिक सहयोग गर्न तयार छन् । सार्वभौम देशमाथि यस्तो दादागिरी कहिले सम्म ? देशभित्र आन्तरिक राजनीतिक अस्थिरताको फाइदा उठाएर विभिन्न प्रलोभनमा पर्ने नेताहरुको सद्बुद्धि कहिले आउँछ ?

भौगोलिक हिसाबले नेपाल दुई ठुला देश चीन र भारतको बीचमा रहेको छ । नेपालले दुईतर्फ नै सन्तुलित विदेश नीति बनाएर देशमा खुला सीमा काँडेतार वा पर्खाल लगाउन आवश्यक छ । हाम्रो भारत आश्रित हुने नीति परिवर्तन हुनु पर्दछ । नेपालका हरेक राजनैतिक उतार चढावमा भारत सरकारको प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप रोक्न जरुरी छ । त्यसका लागि नेपालका नेताहरुले एउटा प्रण गर्नुपर्ने देखिन्छ । नेपाली जानता राष्ट्रिय स्वाभिमानका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छन् भन्ने कुरा पटक पटकका घटनाहरुले प्रमाणित गरिसकोको छ ।

त्यसैले आज स्वाभिमानमाथि हस्तक्षेप हुँदा देश विदेशमा रहने लाखौँ नेपाली युवाहरुको आत्मा रोएको छ । राष्ट्रिय स्वाधीनताका लागि युवाहरु देश विदेशबाट आवाज बुलन्द गर्दै छन् । आज राजु दाइले सुरु गरेको सीमामा काँडेतार र पर्खाल अभियानले निरन्तरता पाओस् । सरकारको पनि यो कुरामा ध्यान जाओस् । सीमा रक्षाका लागि आफ्नो छाती पर्खाल बनाएर उभिन सक्ने नेपालीहरु आफ्नो देशको सीमामा पर्खाल लगाउन जस्तोसुकै बलिदा गर्न तयार छन् ।
यूएई

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल