ब्लगः कम्ब्याटले जोडेको मित्रता

ब्लगः कम्ब्याटले जोडेको मित्रता

शैलेन्द्र थापा

हामी एकै दिन राष्ट्र सेवाका लागि कम्ब्याट ड्रेस लगाउँदै थियौँ । त्यसपछिका नौ वर्षमा हाम्रोे मित्रता शब्दमा वर्णन गर्न नसक्ने निकट हुन पुगेको थियो । हाम्रा कतिपय युनिट सँगै थिए र कतिपय व्यक्तिहरु हामीलाई सधैँ सँगै देख्दा सोध्ने गर्थे– “तपाईंहरु जुम्ल्याहा हो ?” भनेर । तनहुँस्थित डुम्रे बजारकी दिदीले यसरी नै सोध्दा ऊ हाँस्दै भन्थ्यो– “कहाँ हुनु दिदी, म बाहुन यो क्षेत्री ।” म फेरि जवाफ फर्काउँथे– “दिदी यो बफ बाहुन, म शुद्ध क्षेत्री ।” अनि फेरि सँगै पेट मिचिमिची हाँस्थ्यौँ ।

यसरी नै मित्रताका नौ वर्ष पूरा हुँदै गर्दा आत्मीय मित्र सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकलाई यस धर्तीबाट सदाका लागि गुमाउनुको पीडा शब्दमा उतार्न सकिने खालको छैन । तर चैत २८ गते पुरै कालो दिनजस्तै लाग्छ मलाई ।

यो एक वर्षको अवधि त्यस्तो कुनै दिन छैन उसको सम्झना नआएको होस् । रगतको नाताभन्दा भावनाको नाता बलियो र नजिकको हुन्छ भन्ने मान्यता सायद हाम्रो मित्रताले प्रमाणित ग¥यो । ऊ कर्तव्य पालनाकै सिलसिलामा २०७२ साल चैत २८ गते चितवनबाट काठमाडौँ आउँदै थियो । धादिङस्थित पृथ्वी राजमार्गको मलेखुमा भएको सडक दुर्घटनाको खबर हावासरी साथीभाइ माझ फैलँदै थियो । म त्यस बेला पोखरामा थिएँ । बिहानको एघार बजेको समय हुनुपर्छ ।                                 

फोनको घण्टी पनि निर्दयी जस्तो लाग्यो । भानुभक्त सरले घटना आत्तिँदै सुनाउनुभयो । त्यसपछिका झण्डै १० घण्टा कति बेचैनीमा बिते यहाँ उल्लेख गर्न सकिँदैन । प्लेन टिकट खोजे काठमाडौँ आउने तर भन्ने बित्तिकै किन पाइन्थ्यो र ? साना गाडी रिजर्बको प्रयास पनि असफल भयो । तर अन्तिम संस्कार चितवनस्थित देवघाटमा हुने सुनेपछि श्रीमती र २ वर्षकी छोरी च्यापेर म पनि पोखराबाट हिँडे चितवनतर्फ । साथमा थिए ब्याचीहरु लोकेन्द्र सुब्वा र सन्दीप अर्याल । साँझ ७ बजे पोखराबाट हिँड्यौँ । उफ् बाटो पनि कति लामो ?

ट्याक्सीको रफ्तार कम हो कि ? रातको झण्डै १०ः३० बजे जस्तो लाग्छ देवघाट पुगेको । त्यो सन्नाटा, त्यो समय र दृश्यहरु खोइ कसरी भनौँ । साथी विकासले पहिल्यै अरु साथीहरुलाई भनेको रहेछ त्यो (म) आएपछि उत्पात गर्छ । त्यसलाई टाढै रोक्नुपर्छ । आखिर मन सम्हाल्न जसरी पनि त पर्यो । त्यो रात लगभग ट्याक्सीमै बित्यो भने हुन्छ । अन्तिम संस्कारपछि फेरि पोखरा फर्कंदा बिहान करिब चार बजेको थियो । त्यसपछिका केही दिन उदाश र वैचैनीमा बिते र आजका दिनसम्म नसम्झको कुनै दिन भए जस्तो लाग्दैन । मित्रतामा आएको यो झड्का कति भोल्टेजको हो नाप्ने यन्त्र कतै बनेको भए नाप्न हुन्थ्यो ।

उसले मलाई क्यारिकेचर गर्न सिकयो । उसको र मेरो धेरै आनिबानी मेल खान्थ्यो र त हामी सँगै–सँगै हुन्थ्यौँ । उसको प्रतिभा, पेशाप्रतिको लगनशीलता, अनुसाशन, कर्तव्य निष्ठता र इमानदारिता अब्बल थियो । आफै गीत लेख्ने सङ्गीत भर्ने र त्यसलाई मीठो स्वर दिने क्षमता थियो स्वर्गीय दुर्गाबाबु पाठकको । त्यसैले त २०६०/६१ मा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टारमा उत्कृष्ट दसभित्र र आठौँ कालिका म्युजिक अवार्डमा बेस्ट आर्टिस्टको उपाधि जितेको थियो । ‘पन्छी’ र ‘निद्रा’ लाग्दैन गरी दुईवटा एल्बम बजारमा आएका थिए उसका । जसमा रहेका गीत यू–ट्युबमा लाखौँले हेरेका छन् ।

२०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी अधिकृत बनेको ऊ आफ्ना साथीभाई माझ समेत उत्तीकै लोकिप्रिय थियो । कडा प्रकृतिका तालिममा पनि आफ्नो दुःख र थकानका बाबजुत थकित साथीहरुलाई मीठो गीत गाएर ऊर्जा थप्ने कार्यमा दुर्गाबाबु कहिल्यै पछि परेन ।

संगठनमा समेत अत्यन्तै अनुशासित, कर्तव्यनिष्ठ, पेशागत रुपमा दक्ष र जिम्मेवार अधिकृतका रुपमा गनिन्थ्यो दुर्गाबाबु । फुटबल तथा क्रिकेटमा समेत राम्रो खेलाडी ऊ क्यारिकेचर गर्न, गीतार बनाउन तथा अन्य क्रियाकलापमा समेत अब्बल मानिन्थ्यो ।

अब यी सम्झना जीवनभर रहने छ । ती डाँडा काँडामा सँगै पसिना बगाएको एउटै स्याउ पालै पालो टोकेर खाएको, एउटै सर्ट आलोपालो लगाएको, एउटै थालमा खाएको, सँगै घुमेको ती थुप्रै यादहरु अझै ताजै छन् र जीवनभररहने छन् ।

दुर्गाबाबु पाठक

सम्झनाका पोकाहरु फुकाउँदै जाने हो भने कैयौं पाना भरिनसक्छ । र त भन्नैपर्छ कम्ब्याटले जोडेको यो गहिरो मित्रता, दुई शरीर एक मुटु भएको थियो । सम्बन्ध प्रगाढ हुन र माया लाग्न एउटै बाबु आमाको सन्तान हुनपर्छ र ? खोइ त्यस्तो लाग्दैन । त्यसैले त हामी एउटै थियौँ मन, मुटु र मस्तिष्कमा ।

उसले पक्षी एल्बम्मा गाएका शब्दजस्तै आफ्ना साथीभाइ माझ भने मीठो सम्झना छोडेर गएको छ । यी गीतका हरफ जस्तै…

मरेर गए ईश्वरको वरदान
बाँचुञ्जेल नहोस् केही कमी ।
आजको मिलन भोलिको छुटन
सम्झना रहिरहोस् नौ जुनी ।।

(लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल