भ्रमण खल्लो महसुस भएन राष्ट्रपतिज्यू ?

भ्रमण खल्लो महसुस भएन राष्ट्रपतिज्यू ?

दीपक घिमिरे

गएको आइतबार र सोमबार सामाजिक सञ्जालमा दुईथरी स्टाटसले स्थान पाए । ती स्टाटस निक्कै चर्चित पनि भए । एउटा थियो– राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको अवसरमा नेपालमा दिइने सार्वजनिक सरकारी बिदा । अनि अर्को थियो– भ्रमणमा भारत पुगेकी भण्डारीलाई स्वागत गर्न आइपुगेका भारतीयहरुको सामूहिक तस्बिर ।
चर्चा बिदाको दिनको । राजतन्त्रात्मक मुलुकको हैसियत सजिलै झल्काउन सक्ने किसिमले विशिष्ट व्यक्तिको सवारीमा सार्वजनिक बिदाको घोषणा गरेर नेपाल सरकारले नालायकीपन अवस्य देखायो । गणतन्त्र स्थापना भइसकेको र सङ्घीय लोकतन्त्रको अभ्यास गर्दै गरेको नेपालमा राष्ट्रपतिको विदेश भ्रमणलाई लक्षित गरेर सार्वजनिक बिदाको घोषणा गरिनु निक्कै लज्जास्पद निर्णय थियो । सम्मानित राष्ट्रपतिलाई विवादमा पार्न खोजे जसरी सरकारी तवरबाट सार्वजनिक बिदाको घोषणा हुनु विवादित मात्र सावित भयो । सरसर्ती बुझ्दा सरकारले असफल राजनीति गर्यो ।
सामाजिक सञ्जालमा व्यापक विरोध भयो । सत्तापक्षका समर्थकले राष्ट्रपतिलाई गाली गरे भने प्रतिपक्षका समर्थकले सरकारको खेदो खने । सामाजिक सञ्जालमा दुई दिनको सार्वजनिक बिदा बारे नकारात्मक टिप्पणीले स्थान पाएसँगै स्वदेश फिर्ता हुने समयको सार्वजनिक बिदा कटौती भयो ।
सरकारले सार्वजनिक बिदा दिने निर्णयलाई राष्ट्रपति कार्यालयले खण्डन गर्न सक्थ्यो, तर गरेन । जब सामाजिक सञ्जालमा विरोध भयो तब बल्ल सबैले सरकारलाई दोषी देखाए । उतिबेलै सार्वजनिक बिदा गराएर विदेश भ्रमणमा नजाने अठोट किन सम्मानित राष्ट्रपतिले लिन सक्नु भएन ? राम्रो कामको जस आफूले लिने, गलत काम जति सरकारको थाप्लोमा थुपार्ने गलत प्रवृत्तिको विकास कही कतैबाट आउनु हुँदैन ।
अर्को दिन, राष्ट्रपतिको सवारी भारततर्फ घन्कियो । सरकारले दिएको बिदा उपयोग गर्दै उनै सरकारी कर्मचारीले सरकारको विरोध गर्दै सामाजिक सञ्जाल रङ्गियो । सार्वजनिक बिदाको विरोधमा सामाजिक सञ्जाल भरियकै बेला अर्को घटनाक्रमको विकास भयो ।
भारत पुगेकी हाम्री राष्ट्रपतिलाई विमानस्थलमा स्वागतार्थ त्यहा उपस्थित भीआईपीहरु देखेर नेपालीहरु आगो भए ।
छ महिना अगाडिको प्रसङ्गमा एकैछिन् फर्कौ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउदा नेपाल सरकारले देखाएको शिष्टाचारलाई हामी आफैले लम्पसारवादी चरित्र भनेर विरोध गर्यौँ । कार्यकारी अधिकार नभएका राष्ट्रपतिलाई स्वागत गर्न नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु अनि सचिवहरुलगायत सयौँको सङ्ख्यामा विमानस्थल पुग्दा त्यस्तो प्रवृत्तिलाई लम्पसारवादी प्रवृत्तिमा रुपान्तर गरेर विरोध जनायौँ ।
ठीक त्यस्तै अधिकार नभएकी हाम्री राष्ट्रपतिलाई स्वागत गर्न राज्यमन्त्री विमानस्थलमा आउँदा प्रत्यक नेपालीले अपमानित महसुस गरे । कमसेकम प्रधानमन्त्री आउनुपर्ने वा समान ओहोदामा बसेका राष्ट्रपति आफै उपस्थित हुनुपर्ने अवस्थामा एउटा सामान्य मन्त्रालयको राज्यमन्त्रीले हात मिलाएर स्वागत गरेको देख्दा दुनियाँभरका नेपाली चकित परे ।
यतिबेला पनि सरकारको विरोध भयो । राष्ट्रपतिको अपमान हुनु सिङ्गो मुलुकको अपमान हो, तर यसमा सरकारको के दोष ? दोषी थिए त ती हाम्रा कूटनीतिक नियोगका पदाधिकारी, राजदूत । जो राष्ट्रपतिको स्वागतार्थ कस्ता मान्छे आउँदैछन् या कस्ता मान्छे विमान्स्थल पठाउने भन्ने बारेमा चाजोपाजो मिलाउन सक्नुर्पथ्र्यो । तर दोष थोपरियो सरकारको थाप्लोमा ।
भारतीय हेपाह प्रवृत्तिको विरोध चाहिँ गरिरहने तर प्रत्यक छ महिनाको अन्तरमा राजकीय भ्रमण किन आवस्यक छ ? कहिले प्रधानमन्त्री, कहिले राष्ट्रपति त कहिले प्रमुख दलाका प्रमुख नेताहरुको भारत भ्रमणको मुख्य उद्देश्य के हो ?
कुनै पनि सार्वभौम सत्ता सम्पन्न मुलुकको अति विशिष्ठ व्यक्ति राजकीय भ्रमणमा आउँदा अपमानित हुनेगरी स्वागत गरेको पहिलो घटना हुनुपर्छ । यसलाई हामी अपमानित महसुस गरे पनि भारतीयको नजरमा हामी कुन स्तरमा रहेछौ भन्ने पाठ पनि हो । एउटा सम्मानित राष्ट्र प्रमुखको भ्रमण सामान्य राज्यमन्त्रीको जिम्मामा लगाउँदा हामी सामाजिक सञ्जालमा कुर्लियौँ तर स्वयम् राष्ट्रपति महोदय किन चुप ? उही समयमा विरोध जनाएर किन फर्कन सक्नु भएन ? किन हिजो मुखर्जीलाई दिएको जस्तै सम्मान आफूले पाउनुपर्ने अधिकार बताउन सक्नुभएन ?
अनि सरकार र भारतीय पक्षसँग किन हामी कुर्लने ? आफ्ना समकक्षी या भीआईपीलाई नदेखेपछि किन गोर्खालीको इतिहास झुकाउनुभयो राष्ट्रपतिले ? कहिले नझुकेको नेपाली इतिहासलाई झुकाउँदै राष्ट्रपति स्वयम् झुक्दै अगाडि बढनु नै गलत थियो । लाज लाग्नुपर्ने, लुरुलुरु पछि लागेर राजकीय भ्रमण पूरा गर्न । उसैबेला मच्चाउनु पथ्र्यो खैलाबैला । फर्किनु पथ्र्यो एयरपोर्टबाटै अनि निस्कन्थ्यो एउटा निचोड ।
जनताको बहुदलीय जनवाद भनेर सिकाउँदै हिँडेका कमरेडका घरबाट स्कुलिङ पाएकी पहिलो महिला राष्ट्रपतिमा झुक्ने कला मात्र देखियो । यदि त्यो विषयलाई इस्यु बनाएर बखेडा झिकी अपमानित भएको सूचना पुर्याई आफू नेपाल फर्केको भए हामी सबैले जयजयकार गथ्र्यौ । विश्वमै एउटा समाचार सम्प्रेषण हुन्थ्यो । यही विषयले हामी नेपालीको शिर फेरि एक पटक संसारमा उँचो बनाउँथ्यो । किन भने विश्वको इतिहासमा नेपाली झुकेको कतै उल्लेख छैन ।
तर हामी नेपाली भेडाजस्तै भएका छौँ । सम्मानित राष्ट्रपति अपमानित भएको महसुसै नगरी उच्च स्तरीय भेटघाटमा व्यस्त भइरहँदा हामी यता सरकारको विरोधमा सामाजिक सञ्जाल रङ्गाउन थाल्यौँ । हामिहरु सरकारलाई हौसला दिनेभन्दा हतोत्साहित पार्नमा माहिर छौँ । अब सरकारलाई हैन, सम्मानित राष्ट्रपति लाई सोधौँ “तपाईंलाई लाज लागेन ? ? “

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल