कञ्चनपुर घटना नालापानी युद्धको झझल्को

कञ्चनपुर घटना नालापानी युद्धको झझल्को

तिलक घिमिरे (निर्मल)

२०७३ सालको रङहरुको पर्व भर्खरै सकियो । पर्व सकिएको साँझ “होलीमा लोला हान्ने यति जनालाई हामीले गिरफ्तार गरी कारवाही अगाडि बढाएका छौँ” भनेर गर्व गर्ने सरकारले गोली हान्नेलाई चाहिँ किन पक्रन सकेन यो जनजनको प्रश्न छ । यसै समयमा मधेश रक्तरञ्जित छ भने कञ्चनपुरका गोविन्द गौतमजस्ता वीर सपूतले राष्ट्रियता बचाउनका लागि प्राणको आहूती दिएर सच्चा देशप्रेमको भाव दर्साएका छन् र खोक्रो राष्ट्रियताको मुद्दा उठान गरी पाखण्डीपन दर्साउने राजनीतिक दलका नेतृत्वकर्ताहरुलाई कुरीकुरी भनेका छन् । हो, तिनै गोविन्द गौतमले आफ्ना भूमि अरुले मिच्न आएकोमा प्रतिकार गरे ।

नेपाली भूमिमा निर्माण हुन लागेको कल्भर्टको विषयमा विवाद उत्पन्न हुँदा भारतीय सीमा सुरक्षा बलले अत्याचारपूर्वक गोली बर्साएर आफ्नो सीमा सुरक्षाका लागि गौतमजस्ता कयौँ आनन्दबजारवासीले आफ्नो छाती ढाल बनाई थापे । गौतमले वीरगति प्राप्त गरे भने अन्य धेरै कञ्चनपुरे जनता घाइते छन् । यो खबर नेपाली सञ्चार माध्यम मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि सनसनीपूर्ण रुपमा फैलियो । सारा जनता भाव विह्वल भई शोकमा डुबिरहेका छन् । सुदूरपश्चिमको गौतमको सो खबरले सुदूरपूर्वका जनताको रगत उम्लिरहेको छ । हिमालका शेर्पादेखि मधेशी, थारु, क्षत्री, बाहुन, दलित, जनजाति सबै शोकमा डुबिरहेका छन् । सारा जनताहरुमा राष्ट्रियताको भाव स्वस्फूर्तः प्रस्फुटन भइरहेको छ । हिजो सप्तरीको तिलाठीको घटना र आजको आनन्दबजारको घटनाले नालापानीको युद्धको झझल्को दिइरहेको छ । जसरी नालापानीको लडाइँमा नेपालीहरुले खुकुरी र भालाको भरमा अङ्ग्रेजसँग लडी आफ्नो स्वाभिमानको रक्षा गरेको इतिहास स्वर्ण अक्षरले लेखिएको छ, त्यसैगरी गौतमलगायतको नाम यसपछिका पुस्ताहरुले सधैँ सम्झने छन् ।

तर राष्ट्रियताको खोक्रा नारा जनमानसमा छिराई राजनीति सुरु गरी सत्तामा विराजमान भएकाहरुले यस घटनाको विरोध किन गर्न सकेनन् ? हिजो सत्ता बाहिर हुँदा राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ताको पक्षमा खरो रुपमा उत्रने र सीधासोझा जनतालाई दिग्भ्रमित तुल्याई सोही शोषित, पीडित जनताको सहानुभूति मतलाई सत्ताको भ¥याङ बनाई सत्तामा पुगेपछि भ¥याङलाई लात्ताले हुत्याइदिने ढोँगी राष्ट्रवादी नेतृत्व अब छर्लङ्ग भइसकेको छ । जनता अब चेतनशील भइसकेका छन् । सत्ता बाहिर बस्दाको छट्पटी सीधै जनतालाई भन्दैनन् । भारत, अमेरिकाको विस्तारवाद र साम्राज्यवादको विरोध गरेर सस्तो लोकप्रियताका अधारमा सत्तामा पुग्नेहरुले निमुखा जनताहरु सचेत भइसकेका छन् । अब तिमीहरुका भाषणको पछि लाग्नेवाला छैनौँ ।

के देशको सीमा जोगाउन आफ्नो छातीलाई नै ढाल बनाउने गौतम नै दोषी थिए त ? गौतमको बलिदानको मूल्य भनेको तीन किस्ता गरी निकासा हुने दश लाख रुपियाँ नै मात्र हो त ? यदि कञ्चनपुर गौतमको हत्याले हामी अन्य जिल्लाको जनताहरु जस्तै तिमीहरुको मन पनि पोल्थ्यो भने त उनलाई १० लाख दिने र सहिद घोषणा गर्दिने भनेर काठमाडौँबाट पक्कै खबर गरिँदैन थियो । नेपाल सरकारबाट यस बारेमा प्रष्ट धारणा सार्वजनिक गरी हत्याको भत्सर्ना नगर्नु, घटना स्थलमा सरकारको उपस्थिति नहुनु, केवल रुपियाँ तोकिदिएर बलिदानीको बेवास्ता गरिनु, दाह संस्कारको बेला केवल एक अधिकृत स्तरको कर्मचारी मात्रलाई उपस्थित गराएर सहिदप्रति नजर अन्दाज गरिनुले सत्ताधारीमा सत्ता बाहिर हुँदाको बखत भएको हुट्हुटी एवं छट्पटी केवल सत्ताका लागि मात्र थियो भन्ने प्रष्ट हुन्छ । सत्तामा बसेपछि यस्ता ‘सामान्य घटना’को विरोध गर्नु भनेको सत्ताबाट हात धुनु हो भनेर चुइँक्क बोल्न आँट कसैले गर्न सकेका छैनन् ।

सबैभन्दा बढ्ता प्रजातन्त्रवादी ठान्ने काङ्ग्रेसदेखि सच्चा क्रातिन्कारी हुँ भनी खोक्रा भाषण गर्ने माओवादी, राष्ट्रवादी कहलाउन भाषण गर्दै हिँड्ने प्रतिपक्षदेखि मधेश र मधेशीको नाममा राजनीति गर्ने मोर्चासम्म, अखण्डताको हरिभजन गाउने जनमोर्चादेखि राजतन्त्र र हिन्दू राज्यको गायत्री मन्त्र जप्ने राप्रपा सबैलाई देखिसक्यौँ । राजतन्त्र र हिन्दु राष्ट्र नै आफ्नो पार्टीको बटम लाइन हो भनी फलाक्ने राप्रपा धर्मनिरपेक्ष गणतन्त्रात्मक शासन व्यवस्थाको नाममा शपथ खाई दुई÷दुई पटक सत्ताको स्वाद लिइरहेका छन् । लोकतन्त्र, गणतन्त्र, सार्वभौमसत्ताको । झुटा मिठा नारा दिइ राज्यको शक्तिमा विराजमान भएकाहरु प्रभू प्रति यति इमानदार पूर्वक बफादारीता निभाइरहेका छन् । तर सीमामा भएको यस हत्याको विरोधमा कोही बोल्न चाहँदैनन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल