सप्तरी घटनाका सत्तरी सवाल

सप्तरी घटनाका सत्तरी सवाल

प्रा.डा. बद्रीविशाल पोखरेल

नेकपा एमालको राष्ट्रवादी सचेतना अभियान र सामाजिक सद्भाव विस्तारको अभियान सप्तरीमा पुगेर समापनपछि एकाएक अवरुद्ध भयो । मधेसी मोर्चा सम्बद्ध केही नेताहरु एमालेको अभियानका बारेमा आक्रामक अभिव्यक्ति पहिलेदेखि नै दिइरहेका थिए । त्यति मात्र होइन मोर्चा सम्बद्ध कतिपय नेताहरु एमाले अभियान बिथोल्ने कडा धमास पनि दिइरहेका थिए । संविधान निर्माणपछि तराईमधेसका भुइँतहमा “अपने अगनियाँ मे होगइल परदेसिया..” जस्ता संविधान विरोधी घोर साम्प्रदायिक नारा सुमधुर स्वर र सङ्गीतमा घन्काएका थिए ।

यही नाराका पेरिफेरिमा एमाले र विशेषतः ओली लक्षित लच्छेदार गालीको बौछार पनि गरिरहेका थिए । मोर्चाले त्यतिबेला अब तराई मधेसी मूलका आम जनताले नागरिकता पाउँदैनन्, पाएको नागरिकता पनि खोसिन्छ, अब हामी राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति आदि कुनै पनि प्रमुख पद पाउँदैनौँ । अब अहिले बनेको संविधानले हाम्रा सबै अधिकार खोसेको छ । अब हामी हाम्रै आँगनमा परदेशी हुने भयौँ भनेर गाउँ, सहरका सुकिला, मुकिला, ठूलाठालु, नेता, जेता, मन्त्री, माननीय र समाजमा भलाद्मी कहलिएका जातीय, क्षेत्रीय र साम्प्रदायिक अत्यन्त अफबाह फैलाए ।

यसरी समाजमा सबै हिसाबले चिनिएका व्यक्ति, संस्था, समुदाय, सञ्चार माध्यमबाट भनिएका भ्रमित कुरालाई सिधासादा सर्वसाधारण जनताले सत्य ठाने र लामो समय तराई मधेस गुमराहमा पर्यो । तर जब ओली सरकारले जनता आवास कार्यक्रमका नाममा २० हजार मधेसका सीमान्तीकृत जनसमुदायका परिवारलाई आवासको व्यवस्था गर्ने, हुलाकी मार्ग निर्माण गर्ने, दलित परिवारका सन्तान र सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क शिक्षा आदि अनेक योजना बजेट मार्फत् कार्यान्वयन गर्न खोजेको छ । तर पनि यसरी मधेसमा एमाले पार्टीलाई निषेध गर्न खोजियो । तर बूढी मरी भन्ने कुरा मात्र होइन काल पल्क्यो भनी अरु पार्टीले पनि गम्भीर रुपमा सोचे हुन्छ । किनकि मोर्चा बाहेकका पार्टीहरुलाई निषेध गर्ने कपटपूर्ण सोच कथित मधेसी दलको देखिन्छ ।

मानौँ मधेस नेपाल बाहिरको छुट्टै देश हो भनेझैँ पहाडिया प्रभुत्ववादी पार्टी भनेर कुनै पनि पार्टीलाई मधेस प्रवेश निषेध गरिरहेका थिए । यसमा पनि विशेष गरेर एमाले, त्यसमा पनि ओली सरकारले भारत प्रायोजित तथा मधेसी मोर्चाका कतिपय नेताहरुले काँध हालेर गरिको नाकाबन्दी असफल भएपछि तिनीहरु रुष्ट बनेकै थिए । नेपाललाई दुई राष्ट्र बनाउने नियतप्रति एमाले अवरोध बनेपछि र संविधान संशोधनका नाममा मधेस विखण्डन प्रयास मूच्र्छित भएपछि मोर्चा अरु आक्रमक भएको हो । तर राजनीति आक्रोश र आवेशका आधारमा गरिने कुरा नै होइन, यसरी राजनीतिको यात्रा सफल पनि हुँदैन ।

राजनीतिका नाममा अराजनीति गरेर नेपाललाई अस्थिर, अन्यौल, अराजकता र आतङ्कपूर्ण बनाउनु मोर्चाको नियोजित नियत स्पष्ट हुन्छ । यिनको भारतपरस्त चालामाला दिन प्रतिदिन स्पष्ट भएरहेको छ । अमुक मोर्चा नेताले दोस्रो संविधान सभाको निर्वाचनमा मधेसी मोर्चाको लज्जाजनक हार भएपछि यो हार हाम्रो मात्र होइन, भारतको हो भनेका थिए । महन्त ठाकुर, उपेन्द्र यादव, संविधान र एमाले मधेस विरोधी भनेर तराई मधेसको भुइँमा पोखेका सारा भ्रम, अफबाह र फरेब समाप्त गर्न एमाले पार्टीले चार महिने टोल, वार्ड र गाउँ घरदैलो भेला, छलफल, प्रशिक्षण मूलक जागरण अभियान सञ्चालन गरिसकेको थियो ।

यही अभियानलाई पहिले उद्घोष गरेकै विषय र सन्दर्भसित जोडेर एमाले पार्टीले मेची महाकाली नाम दिएर जन चेतनामूलक लम्बे अभियान सुरु गरेको देखिन्छ । तर नेपालमा तराई मधेसी जनताका नाममा चरम जातिवादी र क्षेत्रीयतावादी भ्रमपूर्ण राजनीति गर्ने केही मधेसी मोर्चा नामका नेताहरु जातीय र क्षेत्रीय नाराहरु उरालेर ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधि अनुमोदित लोकतान्त्रिक तथा जनतामैत्री संविधान विरुद्ध भ्रमपूर्ण राजनीति गरिरहेका थिए । सुरुसुरुमा भ्रमित भएका तराई मधेसका आम रैथाने तथा आदिवासी जनताहरु पनि मोर्चाका अतिवादी संविधान विरोधी नारामा बहकिएका थिए तर खुसी, खोपी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन भनेझैँ संविधान, एमाले तथा ओली विरोधी कपोलकल्पित भ्रमपूर्ण राजनीति अहिले उदाङ्गो भएको देखिन्छ । एमालेको चार महिने अभियान मार्फत् संविधान र मधेस विरोधी एमाले भन्ने भ्रमहरु एक छिमल तोडिएको देखिन्छ । यही विषयलाई अरु सशक्त तथा प्रभावपूर्ण बनाउँदै स्थानीय तहको निर्वाचन घोषणालाई सुनिश्चित बनाउन एमालेले मेची महाकाली अभियान सुरु गरेको देखिन्छ ।

मोर्चाका भ्रमित राजनीतिको सिकार बनेका मधेसीहरु अहिले रैथाने समाज गठन गर्दै तराई¬¬मधेसका विभिन्न स्थानमा क्रियाशील भइरहेका छन् । तथापि मधेसी मोर्चा जातीय र क्षेत्रीय राजनीति गरिरहनुलाई अन्यथा मान्न सकिन्न । किनकि विरोधका लागि विरोध गर्नका लागि वैचारिक रुपमा असचेत युवाहरुलाई कालोझण्डा, भ्रमित नारा, लाठी र लौरो हातमा थमाएर जुलुस गरेर भए पनि शान्तिपूर्ण राजनीति गरेर जति जसरी पनि जातीय सङ्कीर्ण राजनीतिक साख जोगाउनुपर्ने मोर्चा सम्बद्ध पार्टीले देखेको होला ।

यो पनि नजाति भन्ने कुरा होइन । तर यही विषयलाई आतङ्कवाद र पृथकतावादसित जोडेर लोकतान्त्रिक सारा मर्म र मान्यताहरु च्यात्नु राष्ट्रविरोधी कर्म हो । यस खालका उत्तेजक तथा नर संहारकारी गतिविधि गर्न उक्साउनु मधेसी मोर्चा सम्बद्ध पार्टी र नेताको नियत पटक पटक देखियो । लोकतन्त्रमा लोकतान्त्रिक विशेषणसहितको मोर्चाले निषेधको राजनीति गर्नु र सत्ता समर्थक र सत्ताधारी दलका नाताले सप्तरी घटनामा सुरक्षाकर्मीहरुप्रति साङ्घातिक हमला गर्नु दुनियाँलाई तीन छक्क पार्ने गतिविधि हो । अझ एमालेको मेची महाकाली सभास्थल (गजेन्द्रनारायण औद्योगिक केन्द्र) मधेसी मोर्चा सम्बद्ध आतङ्कारी दस्तालाई छिर्न नदिएको विरोधमा सुरक्षकर्मीमाथि आक्रमण सुरु भएको देखिन्छ । नत्र त्यहाँभित्र छिरेर टीकापुर घटना दोहोर्याउन खोजेको र यसमा तीन तीन पूर्व प्रधानमन्त्री सहभागी प्रमुख एमाले नेतृत्वलाई घानमा पार्ने सुनियोजित खेल स्पष्ट हुन गएको छ ।

एमालेको कार्यक्रम सकिएपछि साङ्घातिक ताण्डव नृत्य गर्नुको अरु कुनै कारण देखिन्न । यसरी सुरक्षकर्मी माथि नै साङ्घातिक आक्रमण गर्न आउँदा सचेत र सावधानी अस्त्र प्रयोग गर्दा पनि आइलागेपछि आक्रमणकारी हताहत हुँदा सुरक्षकर्मीलाई मात्र दोषरोपण गर्न सुहाउँछ ? सकेटबम, प्रेसर कुकर, पेट्रोल बम जस्ता हत्या आतङ्क जनित हातहतियार र अस्त्रसहितको जत्थाद्वारा सुरक्षाकर्मीहरुलाई खुलेआम आक्रमणमा उत्रिनु कुन राजनीति हो ? अनि यस खालको आततायी गतिविधि गर्न गराउन पर्दा पछाडि को थियो ? यस खालका कामलाई मधेसी मोर्चा सम्बद्ध नेताले समर्थन गरेपछि उसैले गराएको हो भन्ने जिउँदो प्रमाण हो । अनि सप्तरी घटनाको बल्दो आगोमा घिउ थपेर यसलाई मोर्चाले अझ जटिल बनाउन खोजेको देखिन्छ । सप्तरी घटना दुखद् त हुँदै हो तर यस खालका काममा उक्साएर निर्दोष र निरपराध तराईमधेसी युवाहरु मराउन भूमिका खेल्ने चाहिँ मूल रुपमा दोषी र अपराधी हो । अहिले सप्तरी घटनका सबालमा सत्तरी सबाल उठेका छन् । जति सबाल उठे पनि ती सबै सबाल मोर्चासित जोडिन्छन् ।

कुनै पनि सबालले एमालेलाई छुन सक्तैन । बरु एमाले अभियानका कतिपय स्वयंसेवकहरुले कतिपय सुरक्षाकर्मी र आन्दोलनकारीसितको मुठभेट रोकेको देखिन्छ । कतिपय सुरक्षकर्मीलाई लछारपछार गरेर लडाएर र उत्तानो पारेर निर्मम रुपमा आक्रमणकारीले साङ्घातिक हमला गर्दा सुरक्षाकर्मीलाई उमाले स्वयंसेवकले जोगाएको देखिन्छ । एमाले अभियानलाई बिथोल्न तराई मधेसी सिधासाद जनताहरुलाई उकास्ने यसमा दोषी देखिन्छन् । नेपाल सरकारका गृहमन्त्री, नयाँ शक्तिका डा. बाबुराम भट्टराई प्रभृतिहरु मोर्चा सम्बद्ध नेता र कार्यकर्ताहरुलाई वक्तव्य मार्फत् भिडन्त गराउन उकास्ने भनी अखबारहरुमा आइरहेको थियो ।

एमाले पार्टीले आफ्ना पार्टीका विभिन्न मुद्दा, विषय र सन्दर्भ लिएर आम जनताका बीचमा जाने दुई महिनाअघि मेची महाकाली शान्तिपूर्ण अभियानको उद्घोष गरेको थियो । यही शान्तिपूर्ण अभियान नै सप्तरीमा हताहतीको कारण हो भन्न कुनै पनि लोकतान्त्रिक पार्टीलाई सुहाउँछ ? एमालेको अभियानका कारण सप्तरी अशान्त भएको भन्ने हुइयाँ चलेको छ । यस खालका कुतर्कको श्रीकृष्ण अनिरुद्ध गौतमले यही फागुन २७ गतेको एक प्रसिद्ध दैनिक राष्ट्रिय अखबारमा प्रकाशित लेख ‘सप्तरीको कठोर शिक्षा’ नामक लेखमा खण्डन गरेका छन् ।

गौतमले शान्तिपूर्ण राजनीतिक अभियानलाई नै साङ्घातिक द्वन्द्व, ध्वंश र भौतिक रुपमा निषेध गर्न खोजेको अभियान भनी दोषारोपण गर्ने कुराले मुलुकको लोकतान्त्रिक मौलिक राजनीतिक अधिकार समाप्त पार्नेसम्मको खेल बताएका छन् । त्यसमा पनि मधेसी मोर्चाका नेताहरु म बोल्छु, तिमी नबोल र कोही पनि नबोल अनि मधेसमा तिमी पस्दै नपस भन्ने घोर अतिवादी चिन्तनग्रस्त भएको गौतमले बताएका छन् । फेरि सप्तरीमा एमालेको कार्यक्रम सकिएपछि प्रहरी र आन्दोलनकारीका बीच मुठभेट भएकामा यसमा एमालेलाई मुछ्न मिल्छ ? एमालेले बताएअनुसार यो अभियान राष्ट्रिय एकता, अखण्डता, जातीय सद्भाव विकास गर्नु र संविधानका सबालमा उठेका सारा भ्रम निवारण गर्नु रहेको छ । यस्ता जनजागरणका अभियान जन चेतनाका लागि सबै पार्टीहरुले गर्दा हुन्छ ।

सही सिद्धान्त, नीति र कार्यक्रम हुने पार्टीहरुले एमालेलेझैँ बारबार जनजागरणका अभियान सञ्चालन गर्दा हुन्छ, एमाले पार्टीले यस्ता अनेक अभियान विगत वर्षदेखि सञ्चालन गर्दै आएको देखिन्छ । लोकतन्त्र र गणतन्त्रमा अमुक पार्टीलाई शान्तिपूर्ण राजनीतिक गतिविधि गरेर अमुक पार्टीले नेपालको अमुक भूभागमा शान्तिपूर्ण राजनीतिक गतिविधिलाई निषेध गर्न सुहाउँछ ? बोलीको प्रतिवाद बोलीले गर्नुपर्छ, किनकि कुरा बाझ्नु मान्छे नबाझ्नु भनेर पुर्खाहरुले उहिल्यै भनेका होइनन् र ? ओलीले तराई मधेसी नेतालाई घोचपेच गरे भन्ने सबाललाई अतिशयोक्ति गरिएको पाइन्छ । ओलीको सघन विम्बमय सशक्त अभिव्यक्ति र उक्तिलाई मधेसीमोर्चा सम्बद्ध पार्टीका नेताले अन्यथा अर्थ, आशय र सन्दर्भ भरेको देखिन्छ । सूर्य अस्ताए भन्दा यसका लाक्षणिक अर्थ अनेक हुन्छन्, गोठाला, खेताला, गृहस्थी र भर्खर विवाहित जोडीले आआफ्ना अर्थ आशय र सन्दर्भ बुझ्छन् तर चोरले सूर्य अस्ताए भनेपछि अब खन्ती, भाला, छुरा, गाँती लिएर राति चोरीडकैती गर्न तयार हुनुपर्ने कुरा मात्र बुझ्दछ, ठीक यही चाला मधेसी मोर्चाको देखिन्छ ।

ओलीको लाक्षणिक तथा व्यञ्जनात्मक अर्थ बोधमा गम्भीर वा बनिबनाऊ समस्या हो भन्ने स्पष्ट हुन्छ । यो के निहुँ पाऊँ, कनिका बुकाऊँ भनेझैँ मोर्चाका अनेक दाउपेच, छलछाम र फरेब दुनियाँलाई थाहा भइसकेको छ । एक मधेस, एक प्रदेश, दुई मधेस, प्रदेश, पहाडसित नजोडिएको अलग मधेस प्रदेश अनि फेरि कुरा फेरेर दुई नम्बर प्रदेशलाई पहाडसित नजोडिएको सामथ्र्यबिनाको प्रदेश आदि नानाभाँती पाइलै पिच्छे कुरा फेर्ने मधेसी मोर्चा पिँधबिनाको लोटा हो । यसको नियत देश र मधेस विखण्डनसित जोडिएको अरु स्पष्ट भएको देखिन्छ ।

अहिले मोर्चाको मागअनुसार संविधान संशोधन भए पनि नमान्ने तर यसलाई एउटा मुद्दा बनाइरहने नियत मोर्चाको देखिन्छ । मोर्चापिच्छैका अलगअलग धारणा रहेका छन् । एमाले पार्टीमा तराई मधेसका विभिन्न जाति, जनजाति, तह र तप्काका अनेकौँ मानिस पार्टीका विभिन्न नेतृत्व तहमा रहेका छन् । पूर्व मालेको कठोर भूमिगत कालदेखि अहिलेसम्म पनि अनवरत रहेका नेता कार्यकर्ताको लामो कतार यस पार्टीमा छ तर तिनलाई पनि ओलीले बोलेको कुराले चित्त दुख्नुपर्ने हो नि । तर अचम्म के छ भने सीके राउतले नेपाल आमालाई सफा, सपाट, स्पष्ट र सोझो भाषामा वेश्याभन्दा मधेसी मोर्चाका नेताको चित्त नदुख्ने कस्तो चित्त हो तिनको ? अनि आँप झरेको विषयलाई मधेसी कार्यकर्ता मरेको र झरेको भनेर अपव्याख्या गर्ने मोर्चा नेताले आफैँले आफ्नो चित्त चिमोटेर दुखाएको स्पष्ट हुन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल