शास्त्र र विज्ञानको सामाञ्जस्यता

शास्त्र र विज्ञानको सामाञ्जस्यता

नुमनाथ पौडेल

हाम्रो शास्त्रहरुले हरेक तरहले अभौतिक चेतना शक्तिको केन्द्रतर्फ मनुष्य जातिलाई आकर्षित गर्न पूरै शब्द र शक्ति खर्च गरेकाले भौतिक जगतको वैज्ञानिक वर्णन र त्यसको आकर्षणसँग कायल मनुष्यहरुलाई शास्त्रीय वर्णन अप्रासङ्गिक र असत्य जस्तो लाग्न सक्छ । विज्ञानको प्रारम्भिक उद्देश्य भौतिक जगतको सार्थकता र त्यसको विस्तृत वर्णन गर्नु रहेकाले सारभूत औचित्य र उद्देश्य नै हाम्रो शास्त्रको भन्दा विल्कुल अलग हो । पूर्व जान हिँडेको यात्रीलाई पश्चिमको यातायातको टिकट प्रतिकूल या विपरीत लागेको जस्तै उद्देश्य फरक भएको कारणबाट विरोध र विपरीत धारणा राख्नु पनि स्वाभाविक हुन्छ ।
ब्रह्म सूत्र अनुसार परमेश्वरले आफ्नो चेतन (परा) र जड (अपरा) नामक दुई प्राकृतिक शक्तिबाट सृष्टिकालमा जगतको रचना गर्नु हुन्छ । श्रीमद भागवतको प्रथम स्कन्धको तेस्रो अध्यायमा सुरुमा परमेश्वरले महतत्व (म्याट्रिक्स) आदिबाट युक्त शक्तिका रूप लिएर यसको सानोभन्दा सानो अंशबाट सम्पूर्ण जगत र योनिको सृष्टि गर्नुहुन्छ भनिएको छ । पछि भगवानको अवतारको रूपमा मत्स्य अवतार, कुर्म (कछुवा) अवतार, बराह अवतार, नृसिंह अवतारलगायत असङ्ख्य अवतारहरु लिनुभयो ।

यो अवतारहरुको वर्णन चाल्र्स डार्बिनको पृथ्वीमा जीव विकासको सिद्धान्त बमोजिम पहिले जलचर, त्यसपछि उभयचर, थलचर र क्रमशः जीवहरुको करोडौँ वर्षमा विकास भएको अनुमानसँग तादात्म्यता राख्दछ । एक अवतार र अर्को अवतारका बीचमा लाखौँ वा करोडौँ वर्षको अन्तर हुन सक्छ । श्रीमद् भागवतको तेस्रो स्कन्धको छैठौँ अध्यायमा चराचर जगत विधमान रहेको विराट पुरुष सम्पूर्ण जीवहरुलाई साथमा लिएर पानीभित्र रहेको अण्डरुप आश्रयस्थानमा एक हजार दिव्य वर्षसम्म रहनुभयो भनिएको छ । विराट पुरुषको १ दिव्य दिन बराबर ब्रह्माको १ दिनमान्दा पनि सूक्ष्म जीवाणुको विकासमा १५ हजार ५५२ खर्ब वर्ष व्यतित भएको अनुमान गर्न सकिन्छ । गीताको श्लोक ८.१७ बमोजिम ब्रह्माको १ दिन बराबर १ हजार महायुग हुन्छ अर्थात् मानिसको ४.३२ अर्ब वर्ष हुन्छ भनिएको छ । त्यस हिसाबले पनि ब्रह्मालाई ७ दिनमा सृष्टि सम्पन्न गर्न पनि सौर्य प्रणालीको ३०.२४ अर्ब वर्ष लागेको छ । विज्ञानले अझ करोडौँ वर्षको जीवको उत्पत्ति र विकासको क्रमलाई झिनो आधारहरुमा अनुमानित समयमा व्यक्त गरेको छ ।
त्यसैगरी उक्त अध्यायमा यो विराट पुरुष नै प्रथम जीव हुनाले समस्त जीवहरुको पुर्खा र भगवानको आदि अवतार हो भनिएको कुराबाट पनि प्रथम एक जीवको उत्पत्ति वा सृष्टि र डार्बिनको कुनै एक जीवाणुबाट क्रमशः करोडौँ वर्षमा जीवहरुको विकासको मान्यतामा कुनै विरोधाभास देखिँदैन । अझ मानिसको समयको गणना र परमेश्वरको समयातीत (टाइम ट्राभल) अवस्थालाई मापन गरेर तुलना नै गर्न नमिल्ने हुनाले त्यसलाई परस्पर विपरीत मान्न सकिन्न ।

उक्त अध्यायमा आफ्नो शक्तिबाट उहाँले स्वयम् आफूलाई चैतन्यरुपले १ प्रकारको, प्राणरुपले १० प्रकारको र भोक्तृत्वरूपमा ३ प्रकारको हुनुभयो भनिएको छ । त्यसै गरी यो विराट पुरुषको अङ्गहरुबाट लोकहरु (मल्टिभर्स) र तलहरु (ब्रह्माण्डहरु) उत्पन्न भए र नाभीस्थान अन्तरिक्षको रूपमा उत्पन्न भएको कुरा उल्लेख छ । वैज्ञानिकहरूले हाम्रो सौर्य प्रणाली रहेको मिल्की वे ग्यालेक्सीको समेत मुस्किलले सानो अंशको मात्र वर्णन र मापन गर्न सकेको अवस्थामा हाम्रो शास्त्रहरुमा यो ब्रह्माण्डभन्दा बाहिरको विस्तृत वर्णन गरिएकाले त्यो कुरा विज्ञानले कल्पना मात्रै गर्न सक्ने अवस्था छ ।

भिन्नभिन्न वैज्ञानिकहरुको अनुमान अनुसार यो ब्रह्माण्डभन्दा बाहिर अन्य उस्तै ब्रह्माण्डहरु वा अरु नै भौतिक नियमअनुसार चल्ने फरक फरक ब्रह्माण्डहरु वा दुवै किसिमका मिश्रित हुन सक्छन् भनिएको छ । तर विभिन्न शास्त्रहरुमा किटानीकासाथ यो ब्रह्माण्डको नियमभन्दा फरक नियम भएको र चेतना शक्ति उपस्थित सात ब्रह्माण्डको (लोकहरुको) र यो ब्रह्माण्डको नियम जस्तै नियम भएको विभिन्न जीवहरुको उपस्थिति रहेको सात ब्रह्माण्डको (तलहरुको) त विस्तृत रूपमै वर्णन गरिएको छ । विराट पुरुषको नाभीको आकार यति ठूलो छ कि पिण्ड, ग्रह र नक्षत्रहरु त्यो नाभीमा प्रवेश गरेमा सदाका लागि लोप हुने गरी हराउने भनी गरिएको पुराणको वर्णन त झन्डै ब्ल्याक होलसँग मेल खाएको देखिन्छ ।

हरेक ब्रह्माण्डको सृष्टि गर्न अलग ब्रह्माको रचना भएको कुरा ब्रह्माले कृष्ण र तिनका ग्वाला सखाहरुको गौहरण पछिको कृष्णको लीला वर्णनमा उल्लेख छ । त्यहाँ यो हाम्रो ब्रह्माण्डको ब्रह्मालाई अन्य ब्रह्माण्डको बारेमा ज्ञान नै नभएकोबाट पनि अन्य ब्रह्माण्डको बारेमा विज्ञान वा उपकरणहरुबाट मापन वा भेउ पाउन असम्भव जस्तै देखिन्छ । पृथ्वीबाहेक अन्य ग्रह वा भूमण्डलमा जीव भएको वा नभएको सम्बन्धमा शताब्दीदेखि बहस र अनुमान गर्ने विज्ञान जगतले एक्काइसौं शताब्दीमा आएर हरेक ग्यालेक्सी वा ब्रह्माण्डमा जीव हुन सक्छ भन्ने सकारात्मक अनुमानलाई स्वीकार गर्न थालेको छ । वैज्ञानिक लेखक कार्ल सगन र फ्रित्जोफ क्याप्राको भनाइअनुसार पनि ब्रह्माण्डको उत्पत्तिको पछिल्ला वैज्ञानिक आँकलनसँग हिन्दू शास्त्रको ब्रह्माको दिन र रातको गणनासँग सबैभन्दा मिल्दोजुल्दो छ ।

श्रीमद् भागवतको तेस्रो स्कन्धको दसौँ अध्यायमा ६ प्रकारका प्राकृत (गुणवत) सृष्टिहरुपछि सातौँ सृष्टि छ प्रकारका स्थावर वृक्षहरुको हुन्छ, यिनीहरूको आहार तलबाट माथि जान्छ । यिनीहरुमा प्रायः ज्ञान शक्ति प्रकट हुँदैन । यिनीहरूले भित्रभित्रै स्पर्शको अनुभव गर्दछन् भनिएको छ । सन् १९०१ मा वैज्ञानिक जगदीशचद्र बोसले वनस्पतिको समेत चेतना हुन्छ भनी रोयल सोसिटी अफ् इङ्ल्यन्डमा प्रयोगात्मक प्रस्तुति गर्दासमेत प्रारम्भमा त्यतिखेरका धेरै वैज्ञानिकले उनको कुरामा विश्वास गरेका थिएनन् ।

श्रीमद भागवतको तेस्रो स्कन्धको एघारौँ अध्यायमा चन्द्रमा आदि ग्रह, नक्षत्र र सूर्यले परमाणुदेखि लिएर संवत्सरपर्यन्त कालमा (वर्षौं वर्षसम्म) द्वादश राशिरूप सम्पूर्ण भुवनकोश (मिल्की वे ग्यालेक्सी) को निरन्तर परिक्रमा गर्ने गर्छन् भन्ने उल्लेख छ । पृथ्वी र अन्य ग्रहहरुले सूर्यलाई वार्षिक रूपमा परिक्रमण गरेजस्तै हाम्रो सौर्य प्रणालीले मिल्की वे ग्यालेक्सीको अनन्त (अनुमानित २३ करोड वर्ष) कालमा एक परिक्रमा गर्दछ । तर माथिको वाक्यांशलाई सूर्यले पृथ्वीलाई परिक्रमण गर्छ भन्ने अनर्थ निकाल्ने गरिएको छ । भुवनकोशको अर्थ पृथ्वी नभएर विभिन्न ब्रह्माण्डमा रहेको ग्यालेक्सी हो, किनभने हाम्रो शास्त्रहरुमा जीव र चेतना शक्तिसहितको १४ भुवनकोशको विस्तृत वर्णन गरिएको छ ।

श्रीमद भागवतको एघारौँ स्कन्धको चौधौँ अध्यायमा “त्यो परमानन्द निरपेक्षताले मात्र प्राप्त हुन्छ” उल्लेख छ । बाइसौँ अध्यायमा यो भोक्तृत्वरूपको तीन प्रकारको सृष्टि (अध्यात्म, अधिदेव र अधिभूत परस्पर सापेक्ष छन् अर्थात् यो संसार सापेक्ष छ भनिएको छ । पूर्वीय शास्त्रका ज्ञाता शिवपुरी बाबाले आइन्स्टाइनलाई भेटेको सन्दर्भ र आइन्स्टाइनले भौतिक संसारको सापेक्षतावादको सिद्धान्त (पुनः) पत्ता लगाएकोबाट हाम्रो शास्त्र पूर्ण वैज्ञानिक तथ्यमा आधारित रहेको तर हामीले त्यसलाई गलत सन्दर्भ र परिप्रेक्ष्यमा हेरेकाले मेल नखाएको हुन सक्छ ।

विगतमा सत्य मानिएको विशेष सापेक्षतावाद, परम्परागत भौतिकवाद, शून्य अन्तरिक्ष आदि सिद्धान्त कालान्तरमा असत्य प्रमाणित हुनाले साधारण सापेक्षतावाद, क्वान्टम थ्यौरी, युनिफाइड थ्यौरी आदिले प्रतिस्थापन भए । विगतमा विज्ञानले मान्यता दिएको सिद्धान्तहरुलाई हाम्रो शास्त्रमा लेखिएको कुरासँग तालमेल हुने किसिमको परिमार्जित रूपमा अधिकाधिक मान्यता दिन थालियो । उदाहरणका लागि आजको विज्ञान जगतले अन्य ब्रह्माण्डमा पृथ्वीको भौतिकशास्त्रको नियमभन्दा नितान्त फरक नियमले काम गर्ने हुन सक्छ भनेर मानेको छ भने हाम्रो शास्त्रमा अन्य ब्रह्माण्डको कैयौँ उदाहरण र दृष्टान्तहरु प्रस्तुत गरिएको छ ।

सापेक्षतावाद र क्वान्टम मेकानिक्सलाई एकीकृत गर्न बनाइएको स्ट्रिङ्ग थ्यौरीलाई प्रमाणित गर्न र डार्क म्याटरको प्रत्यक्ष अवलोकन गर्न सङ्घर्षरत विज्ञान जगत फ्र्याक्टल कस्मोलोजी र डिभाइन म्याट्रिक्स जस्ता सिद्धान्तहरू मार्फत अभौतिक जगतको अस्तित्व स्वीकार गर्नैपर्ने काल खण्डमा आइपुगेको भए पनि त्यसको कुनै मापन र व्यक्त गर्ने उपाय नभएर स्थापित मान्यता र सिद्धान्तहरुले नै मौन बस्नुबाहेक अन्य विकल्प नदिएको अवस्था छ ।

वेदान्तले युगौँ पहिले निकालेको कतिपय निष्कर्ष नै आधुनिक विज्ञानले फरक तरिकाले पदार्थको भाषामा व्यक्त गरेर निकालेको अन्तिम निष्कर्ष हो भनेर विवेकानन्दले भनेका थिए । आधुनिक विज्ञान भौतिक जगतको लेखाजोखामा केन्द्रित रहन कोसिस गर्दछ तर हाम्रो शास्त्रले विज्ञानले गरेको वर्णनलाई नकार्दैन बरु त्यसको औचित्य सीमित छ र थुप्रै सीमाहरु छन् भनेर सारभूत रूपमा वर्णन गर्दछ ।

पश्चिमा सभ्यताले गरेको अध्ययन र अनुसन्धानबाट सिकेर भए पनि हामीले विज्ञान र अध्यात्मको संयुक्त विकास गर्ने वेद, उपनिषद्, गीता, पुराण तथा अन्य प्राचीन शास्त्रहरूको उचित सदुपयोग गरेमा वैज्ञानिक र अध्यात्मिक उचाइ प्राप्त हुन सक्दछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल