नागरिकमा नैतिकताको आवश्यकता

नागरिकमा नैतिकताको आवश्यकता

बद्रीबहादुर कार्की

नैतिकता भन्नाले नीतिवान बन्नु, आचार–संहिताको पालना गर्नु, समाजका असल नीतिको पालना गर्नु भन्ने बुझिन्छ । नैतिकताले सामाजिक, सांस्कृतिक बहुलतावादको सम्मान गर्दै उन्नत, सभ्य, आदर्श व्यवहार अनुसार कार्यसम्पादन गर्नु भन्ने बुझिन्छ । नैतिक ‘मोरल’ शब्द ल्याटिन भाषाको ‘मोस’बाट उत्पत्ति भएको हो जसको अर्थ ‘प्रथा’ भन्ने हुन्छ । नैतिकता कुनै सैद्धान्तिक अवधारणा नभएर व्यावहारिक विज्ञानको आत्मअनुशासनको एक रुप हो । नैतिकताले व्यक्तिको अन्तर्मनको आदेशलाई निर्देशित गर्दछ । यो पालना नगरे आफैमा असन्तुष्टि वा असहजताको भाव पैदा हुने गर्दछ । नैतिकता कानुनभन्दा माथि रहन्छ । नैतिकताले व्यक्ति, परिवार, समाज र सिङ्गो राज्यलाई नियमित र नियन्त्रित गर्ने क्षमता राख्दछ । आजको विकसित समाजमा रहन सहन, संरचना, व्यवहार, प्राथमिकता, सम्बन्ध फेरिएका छन् । नैतिकताले यस नविन परिवेशमा समेत सन्तुलित सामाजिक संरचना र सन्तुलित सामाजिक सम्बन्ध स्थापना गर्न सघाउँदछ । कानुनको प्रभावकारिताले नैतिकतासँग समानुपातिक सम्बन्ध राख्दछ । संविधान, अन्तर्राष्ट्रिय महासन्धि, सन्धि–सम्झौता, द्वि–पक्षीय, क्षेत्रीय, बहु–पक्षीय सम्झौताहरू, सयौँ क्षेत्रगत नीतिहरू, योजना, कार्यक्रम, बजेट, निर्णय जारी भएका हुन्छन् र यिनीहरूको कार्यान्वयन पक्ष नागरिकको नैतिकतासँग जोडिएको हुन्छन् ।


अब जिज्ञासा हुन सक्छ नैतिकताको दायरा सबैको समान हुन्छ वा फरक–फरक हुन्छ ? समाजका कुन–कुन पात्र नैतिकताको दृष्टिले बढी संवेदनशील रहनुपर्दछ ? कुनै पनि सामाजिक प्राणीका लागि नैतिकता सबैभन्दा महत्वपूर्ण पक्ष बन्दछ । यद्यपि जो व्यक्ति धेरै सामाजिक सांस्कृतिक परिवेशमा सहभागी हुन्छ, जो व्यक्ति सक्रिय सामाजिक जीवन व्यतित गरिरहेको हुन्छ, ऊ अझ बढी सचेत र संवेदनशील बन्नु पर्दछ । मूलतः सामाजिक भूमिकामा युवा पुस्ताको सर्वपक्षीय भूमिका रहने भएकाले युवा पुस्तामा नैकिताको महत्व उच्च रहन्छ । अहिलेको परिवेशमा युवा पुस्तामा नैतिक मूल्य स्खलित भएको अनुभव गरिएको छ, यसलाई पुनरावृत्ति गराई राष्ट्र निर्माणमा उपयोग गर्नु चुनौती बनेको छ ।

नैतिकताको सबैभन्दा पहिलो विषय वैयक्तिक नैतिकता हो । आत्म अनुशासन कायम गर्दै अरुको भलाइका लागि सोच्ने, अध्ययनशील बन्ने, व्यावसायिक बन्ने, अनुचित पदार्थको सेवन नगर्ने, स्वच्छ जीवनशैली व्यतित गर्ने, विलासिताबाट टाढा रहने, व्यक्तिगत क्षमता उजागर गर्दै अन्तर्राष्ट्रिय परिवेशमा प्रतिस्पर्धा गर्न सक्ने व्यक्तित्वको निर्माण गर्ने वैयक्तिक नैतिकताका मूल्य मान्यता हुन् । यसरी नैतिकताले व्यक्तिको राम्रा गुणको उजागर गराउँदै ‘ग्लोबल सिटिजन’ अर्थात् ‘विश्वव्यापी नागरिक’ बन्न सघाउ पुर्याउँदछ ।

त्यसैगरी नैतिकताको दोस्रो विषय राजनीतिक आयामसँग जोडिएको हुन्छ । नेपालको वर्तमान सन्दर्भमा नेपालले सङ्घीय लोकतान्त्रिक पद्धति अवलम्बन गरेको छ । वि.सं. २०७४ माघ ७ गतेको समय सीमामा तीनै तहको निर्वाचन सम्पन्न गरी राज्यको सङ्घात्मक स्वरुप स्थापित गर्नु चुनौतीकै विषय बनेको छ । राज्य निर्माणको यसै महाअभियानमा नागरिकको नैतिक मूल्यको अर्थपूर्ण भूमिका रहेको हुन्छ । निर्वाचनको वातावरण निर्माण गर्न सघाउने, निष्पक्ष रुपमा उपयुक्त उम्मेदवारको छनौट, स्थानीय लोकतन्त्रको निर्माण र सुदृढीकरणमा योगदान पुर्याउने, मूल्यको राजनीतिमा जोड दिने, राजनीति र अपराधिक क्रियाकलाप मिसिन नदिने, राजनीतिक क्रियाकलापमा स्वतन्त्र नागरिकको भूमिका निर्वाह गर्ने, राष्ट्रिय पोशाक, सङ्केत तथा चिन्ह, विभूति र सहिदको सम्मान तथा गौरव गर्ने चरित्र उच्च राजनीतिक नैतिकताका विषयवस्तुहरू हुन् ।

नैतिकताको तेस्रो आयाम भनेको आर्थिक पारदर्शिता हो । नेपालमा संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक तथा प्रशासनिक पुनर्संरचना गरिने अवसर प्राप्त भएको छ । संवैधानिक रुपमा सात प्रदेशको सङ्घात्मक स्वरुप व्यवस्था गरिएको छ । अब हरेक प्रदेश–प्रदेशबीच आर्थिक उन्नति र प्रगतिको प्रतिस्पर्धा हुनुपर्दछ । हरेक गाउँपालिकाहरू बीच विकासको प्रतिस्पर्धा हुनुपर्दछ । यी हरेक प्रतिस्पर्धाहरूको साक्षी रहने, फैसला गर्ने, दण्ड वा पुरस्कार दिने अधिकार हरेक नैतिकवान नागरिकको हुनेछ । स्थानीय स्वयात्त शासनमा स्रोत, साधन, अधिकार र जिम्मेवारीको उपयोग गर्दै स्थानीय स्रोतको विवेकशील र औचित्यपूर्ण उपयोग गर्ने, व्यावसायिक संस्कृतिको निर्माण गर्ने, स्रोत साधनको न्यायोचित वितरणमा सघाउने, स्थानीय उत्पादन उत्पादकत्व अभिवृद्धि गर्ने आदि आर्थिक नैतिकतको दायराका सन्दर्भहरू हुन् ।

नैतिकताको अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक(सांस्कृतिक आयाम हो । नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विशेषतायुक्त सामाजिक संरचनामा रमाउँदै सामाजिक न्याय र समानता प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने, विभेदको अन्त्य गर्ने, सामाजिक हितको संरक्षण गर्ने, सामाजिक संरक्षण र सुरक्षामा योगदान पुर्याउने नैतिकताको विषय हुन् । त्यसैगरी धार्मिक, सांस्कृतिक, जातीय द्वेष र विभेदलाई अन्त्य गर्दै सहिष्णुतामा आधारित सामाजिक संरचना निर्माणमा सघाउनुपर्दछ । सामाजिक–सांस्कृतिक बहुलतावादको सम्मानमा हिस्सेदारी भूमिका निर्वाह गर्नु हरेक नैतिकवान् नागरिकको दायित्व हो ।

अबको आगामी दिनमा आप्नो हक, अधिकार र कर्तव्यप्रति सचेत रहँदै लोकतन्त्र, कानुनको शासन, नागरिक स्वतन्त्रता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानताको वकालत गर्ने नैतिकवान नागरिकको आवश्यकता रहेको छ । नेपालको संविधानको धारा ४८ मा उल्लेखित चारवटा नागरिक कर्तव्यको पालना गर्दै क्षेत्रगत नीतिले तोकेका र अपेक्षा गरेका कर्तव्य र जिम्मेवारी निभाउनु नागरिकको दायित्व हो । स्थानीय विभेद र शोषणको अन्त्य गर्दै न्याय र कानुनको पक्षमा उभिने, आर्थिक पारदर्शिता, उत्पादनशील, समन्वयकर्ताको भूमिका निर्वाह गर्न सक्ने नैतिकवान नागरिकको आवश्यक रहेको छ । हाम्रा हरेक क्रियाकलापको केन्द्रमा लोकतन्त्र, सामाजिक न्याय, समृद्धि र दिगो आर्थिक विकासको नीति रहनुपर्दछ । यसले हामी सबैको उज्ज्वल भविष्य निर्माण गर्न सघाउ पुर्याउँदछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल