रञ्जु दर्शनाको इस्टकोट

रञ्जु दर्शनाको इस्टकोट

-कृष्णज्वाला देवकोटा

सुरुमा एउटा सत्य घटना । एक जना नेताले उच्चपदस्थ एक कर्मचारीसँग पार्टीका लागि मत मागे । उनले जवाफ दिए, ‘मेरो त भइहाल्छ हजुर, तर बुढी र छोरीचाहिँ रञ्जु भन्ने एउटी केटीको चुनाव चिह्न सोध्दै थिए । अहिलेसम्म त थाहा पाएका छैनन् तर चुनावसम्म खोजिहाल्छन् होला।’

परिणामले देखायो, त्यतिवेला अरू धेरै घरमा पनि ‘एउटी केटी’ को चुनाव चिह्न खोजी भइरहेको थियो । ०१५ सालको संसदीय निर्वाचनमा परिणामसँग आश्वस्त नभएर गणेशमान सिंह मतगणना सुरु हुनुअघि नै बनेपा गएर बसेका थिए । झिनो अन्तरले नै सही, विजयी घोषणा भइसकेपछि मात्र उनी काठमाडौं फर्किए र बिजय जुलुसमा गर्जिए, ‘मुलाहरू, पहिले गणेशमानको स्वागत गर्नचाहिँ हजारौँ हजार आउने, अहिले चुनावमा चाहिँ यति थोरै मतले मात्र जिताउने ?’ ०४६ को जनआन्दोलनका यी सुप्रिम कमान्डरले ०४८ सालको संसदीय निर्वाचनमा श्रीमती र छोराको पराजयपछि त काठमाडौंका जनतालाई सार्वजनिक रूपमै ‘भेडा’ भनिदिए ।

गणेशमान प्रकरणले भन्छ, काठमाडौंवासी अहिलेदेखि होइन, उहिलेदेखि नै गज्जब छन् । यहाँबाट जित्नेहरूको सूची जति नाटकीय छ, हार्नेहरूको सूची त्योभन्दा नाटकीय छ । ०४६ को जनआन्दोलनपछि संक्रमणकालको सबैभन्दा कुशल व्यवस्थापन गर्ने कृष्णप्रसाद भट्टराईलाई काठमाडौंले हराइदियो । नेकपा (एमाले) तत्कालीन महासचिव र त्यतिखेर प्रधानमन्त्रीका प्रबल दाबेदार मानिएका माधव नेपाल माओवादी सुप्रिमो पुष्पकमल दाहालसम्मलाई काठमाडौंले पराजित गर्यो । यी परिणामले भन्छन्, ठूलो गर्धन समाउन काठमाडौंका हात चिलाइरहन्छन् । आखिर काठमाडौंवासी सधैँ सत्ताको भुइँतलामा बस्छन् । सत्ताको सबैभन्दा धेरै उपभोग गर्छन् र अचम्मसँग सत्तालाई सबैभन्दा बढी उपहास गर्छन् । यो रमाइलोका लागि होला कि हस्तक्षेपका लागि होला ?

काठमाडौंको मतदाता रहस्यमय छ । उसको उम्मेदवारले उसलाई चिन्दैन । पञ्चायतको उत्तराद्र्धमा काठमाडौंमा नानीमैया दाहाल उदाइन् । उनी आफ्ना मतदाता चिन्दैनथिन् । उनी दोस्रोपटक कहिल्यै दृश्यमा आइनन् । ०६४ को संविधानसभा निर्वाचनमा माओवादीले र ०७० को दोस्रो संविधानसभामा कमल थापाले पनि आफ्ना मतदाता चिन्दैनथे । तर, तिनले काठमाडौं अब आफ्नो भएको भ्रम पाले । ०७० मा माओवादी हार्यो र तीन वर्षअघि पूरै काठमाडौं चरेको कमल थापाको गाई तीन वर्षपछि पुच्छरसम्म नदेखिने गरी बाग्मतीमा विलायो ।

यसपटकको चुनावमा रञ्जु दर्शनाको इस्टकोट काठमाडौंलाई अलिकति छोटो होलाजस्तो छ । हरेकपटक नयाँ पात्र रच्ने र एकपटक शिरमा राखेर अर्कोपटक धुलोमा फालिदिने बानी लागेको काठमाडौंले रञ्जुलाई सम्झिराख्ला कि बिर्सेला ? रञ्जुसँग त उमेर छ तर काठमाडौंसँग धैर्य होला कि नहोला ?

घरिघरि लाग्छ, काठमाडौंवासीले हरेक निर्वाचनमा प्रतीकमा आफ्नो असन्तोष जनाउँछन् । घरिघरि लाग्छ, काठमाडौंवासी हरेक निर्वाचनलाई ठट्टा ठान्छन् । समाजशास्त्रीले भनिदिन पर्यो, काठमाडौंको यो चरित्र शिक्षित र सम्पन्न समाजले सत्तामाथि गरेको सचेत प्रतीकात्मक हस्तक्षेप हो कि अघाएको समाजले लोकतन्त्रमाथि हरेकपटक गरिरहेको ठट्टा ? काठमाडौंले सधैँ देखाइरहने यो नाटकीयताका पछाडि विवेक हाबी छ कि सनक र मनोरञ्जन ?

नयाँ पत्रिकाबाट

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल