पूर्व राष्ट्रपति भन्न हुने भने पूर्व श्री ५ महाराजधिराज भन्न किन नहुने ? (अन्तर्वार्ता)

कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर चेतनशील भए । चेतनशील भएपछि काङ्ग्रेस नै देशको उद्धारक हो भनेर बुद्धिजीवी कहलिए । बुद्धिजीवी भएपछि देशमा काङ्ग्रेस होइन राजसंस्था चाहिँदो रहेछ भनी निचोड निकाले । उनी आफ्नो कुरामा कैयौँ दृष्टिकोण बोकी हिँड्दैनन् । भन्छन्, म ‘स्पष्ट र सपाट’ छु ।

बबरमहलस्थित कार्यालयको उनको कार्यकक्षमा देशी–विदेशी ‘तानाशाह’हरुको तस्बिर फ्रेम गरेर गौरवपूर्ण तवरले झुण्ड्याइएको छ । जसमा विश्वका अत्यन्त बदनाम तानाशाह हिटलरदेखि स्वदेशी तानाशाह जङ्गबहादुर राणा हुँदै चुनाव जितेर फासीवादको अभ्यासमा लागेको आरोप झेलिरहेका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म छन् ।

अचम्म के भने त्यहाँ स्वतन्त्रताका लागि लड्ने र स्वतन्त्रताको घाँटी निमोठ्नेहरुलाई एउटै दर्जामा राखिएको छ । यस्तो किन त ? उनको सीधा जवाफ छ– म राष्ट्रवादीहरुलाई निकै मन पराउँछु, चाहे ती हिटलर हुन् अथवा गान्धी । हाम्रो देशको पीडा के हो भने हामी हिटलर पनि जन्माउन सक्दैनौँ । भन्नुको अर्थ हिटरल पनि अरुले नै जन्माइदिनुपर्ने अवस्था नेपालको छ । उनै पत्रकार देवप्रकाश त्रिपाठीसँग रातोपाटीका लागि अन्तरवार्ता गरेका छन् नेत्र पन्थी र नरेश ज्ञवालीले ।

पूर्वराजाले विज्ञप्ति मार्फत के सन्देश दिन खोजेका हुन् ?
यसको पहिलो र सीधा सन्देश राष्ट्र धेरै अप्ठ्यारोमा पर्न थाल्यो । त्यसैले जनताले सोच्नु पर्नेभयो । दोस्रो अप्रत्यक्ष सन्देश भनेको नाराणहिटी छोडेर निर्मल निवास पुग्नुभएका राजाको चिन्ता राष्ट्रप्रति अहिले पनि छ । राष्ट्र चिन्तनले ग्रस्त भएर अब सहन गारो भयो भनी प्रकट भएको अभिव्यक्ति हो ।

हामीले कस्तो खाले गणतन्त्र ल्यायौँ त ? चुप लागेर घरमा बसेको राजाले देशको चिन्ता गर्दा गणतन्त्र हल्ली हाल्ने । ढल्न ढल्न खोज्ने । प्रतिगमनतर्फ गइहाल्ने । जनताको बलमा ल्याएको भनिएको व्यवस्था यति कमजोर छ ? कि सुतेर बसेको राजाले आँखा झिम्क्याउँदा भङ्ग भइहाल्ने ।

पूर्व राजाको विज्ञप्तिपछि पहिलो प्रतिक्रिया दिने बाबुराम देखिए भने मन्त्रीपरिषदमा समेत यसबारे छलफल भयो । सामाजिक सञ्जालमा एक किसिमको भूकम्प पैदा भयो । यो स्वभाविक हो अथवा यसमा कुण्ठा जोडिएका छन् ?
यसलाई दुई–तीनवाट कोणबाट हेर्नुपर्ने हुन्छ । माओवादी, नयाँ शक्ति अथवा काङ्ग्रेस जसका रुप फरक तर सार एउटै हो । उहाँहरुले जुन मिसनका लागि काम गर्नुभएको थियो, त्यसका लागि राजतन्त्र अन्त्य पहिलो र अनिवार्य सर्त थियो । त्यसैले राजा भन्ने कुरा उहाँहरुले सुन्नै चाहनुहुन्न । तर पूर्व नै भन्दाभन्दै पनि उहाँहरुलाई राजा एउटा शक्ति हो भन्ने थाहा छ । राजाको पक्षमा जनता छन् भन्ने पनि थाहा छ । उहाँहरु चाहनु हुन्छ राजा चुप लागेर हामीलाई आफ्नो मिसनमा काम गर्न दिए हुन्थ्यो ।

त्यो इच्छामा ठेस लाग्दा उहाँहरुलाई मन पर्दैन । क्याबिनेटमा पनि सबैभन्दा चर्को गरी बोल्ने को थियो ? हेक्का गर्दा हुन्छ । अरुका लागि गरिदिने मिसनमा ठेस लाग्दा त्यही मान्छे आक्रामक हुन्छ जो हिजैदेखि मिसनमा छ । अर्को भनेको हामीले कस्तो खाले गणतन्त्र ल्यायौँ त ? चुप लागेर घरमा बसेको राजाले देशको चिन्ता गर्दा गणतन्त्र हल्ली हाल्ने । ढल्न ढल्न खोज्ने । प्रतिगमनतर्फ गइहाल्ने । जनताको बलमा ल्याएको भनिएको व्यवस्था यति कमजोर छ ? कि सुतेर बसेको राजाले आँखा झिम्क्याउँदा भङ्ग भइहाल्ने । महत्वपूर्ण कुरा के हो भने वर्तमान संस्थापन पक्षमा लघुताभास छ । यी विभिन्न कुरा त्यही लघुताभासको अभिव्यक्ति हो ।

तर यससँग जोडिएर आएको अर्को कुरा भने निकै हास्यास्पद छ । राजाको वक्तव्य आए लगत्तै क्याबिनेटमा छलफल गरेर राजदरबार हत्याकाण्डबारे छानविन गर्नुपर्यो भन्नु कस्तो राजनीति हो ? यति तल्लो तहको राजनीति पनि हुन्छ ? तर्साउन खोज्ने ? एउटा सचेत नागरिकको हैसियतमा म पनि जान्न चाहन्छुु राजदरबार हत्याकाण्ड कसले गरेको थियो भन्नेबारे । त्यसको सत्ययता बाहिर ल्याइयोस् भन्ने म पनि चाहन्छु । तर राजाको वक्तव्य आउने बित्तिकै छानविन गरिदिऊँ भनेको कुरा पहिले नै निर्णय गरेर छानविन भन्ने कुरा मात्र हो । यो भनेको दरबार हत्याकाण्डको निहुँमा दुःख दिऊँ, जेल हालौँ अथवा देश निकाला गरौँ भन्ने आशय हो । त्यसैले यो निम्न कोटीको सोचको उपज हो ।

राजाको विज्ञप्तिलाई कतिपय मानिस बेजिङ र दिल्ली भ्रमणसँग गाँसेर हेर्छन्, तपाईंलाई के लाग्छ ?
यो प्रश्न राजालाई नै सोध्नु बेस हुन्छ । उहाँले कुन मनसायले त्यो भ्रमण गर्नुभयो । हामीले बाहिरबाट विश्लेषण गर्ने हो । यो विज्ञप्ति राजको चाइना भ्रमण अथवा अन्य कुनै देशको भ्रमणसँग जोडिएर आएको भन्ने मलाई लाग्दैन । यो देशको आन्तरिक परिस्थितिको उपज हो । वर्तमानमा देशले जुन नियति भोगिरहेको छ, त्यसैको उपज हो ।

गणतन्त्र जोगाइराख्ने सन्दर्भमा पूर्व राजाबाट केही खतरा छ ?
मैले देखेअनुसार गणतन्त्रलाई सबैभन्दा धेरै खतरा गणतन्त्रवादीहरुबाटै छ । गणतन्त्र आइसकेपछि राजाको पालामा भन्दा बेसी राष्ट्रियता, सार्वभौमिकता, आर्थिक विकास र समृद्धि भइदिएको भए गणतन्त्रलाई खतरा हुने थिएन । हाम्रा नेताहरु भ्रष्टाचारमा नडुबेको भए गणतन्त्र खतरामा पर्ने थिएन । वर्तमान नेतृत्व जसले गणतन्त्र ल्याएको दावी गरेका छन् जब कि उनीहरु निमित्त पात्र मात्र हुन् ।

सीके राउत र विप्लवलाई भेट्ने षड्यन्त्रकारी अधिकार विमलेन्द्र निधीलाई मात्र छ ? मलाई लाग्छ त्यो अधिकार सप्पै आम नेपाली जनतालाई पनि छ र राजालाई पनि छ । यद्यपि तरिका नपुगेको होला ।

खैर गणतन्त्र अर्कैको एजेन्डा हो । तिनै निमित्त नायकहरुको भूमिकाको परिणाम स्वरुप गणतन्त्र खतरामा पर्न गयो । त्यसैले गणतन्त्रवादीहरु नै गणतन्त्रका निम्ति खतरनाक पात्र भए । यो कुरा हामीले बिर्सन हुँदैन । रह्यो कुरा राजाको सैद्धान्तिक रुपमा यो भइहाल्छ । किनभने राजतन्त्र र गणतन्त्र एकै ठाउँमा रहनै सक्दैन । दिन र रात एकै ठाउँमा रहन नसके जस्तै कुरा हो । तर यी राजा जसले सजिलै नारायणहिटी छोडे तिनीबाट गणतन्त्रलाई खतरा छ भन्नु मेरो जानकारीमा छैन ।

पूर्व राजाले सीके राउतदेखि विप्लवसम्मलाई भेटेर शक्ति सन्तुलन फेरबदल गराउन खोजे भन्ने आरोप छ नि ?
विमलेन्द्र निधीजी गृहमन्त्री हुनुहुन्छ, उहाँको स्रोत र साधन हामी जनताको भन्दा धेरै बलियो भएको हुनाले उहाँँसँग सूचनाहरु धेरै होलान् । तर धेरैजसो कुरा यहाँ काल्पनिक कथामा आधारित रहेर तर्जुमा गर्ने गरिएको छ । त्यसैले उहाँले भनेजस्तो कुरा मेरो जानकारीमा छैन । तर यसको अर्को पाटो, ल भेट्नुभयो भने पनि के भेट्नै पाउनु हुन्न ?
के त्यो अधिकार विमलेन्द्रजीलाई मात्र छ ? सीके राउत र विप्लवलाई भेट्ने षड्यन्त्रकारी अधिकार विमलेन्द्र निधीलाई मात्र छ ? मलाई लाग्छ त्यो अधिकार सप्पै आम नेपाली जनतालाई पनि छ र राजालाई पनि छ । यद्यपि तरिका नपुगेको होला । फरक विचार, फरक शैली होला त्यो भिन्दै कुरा हो । तर मेरो जानकारीमा भेटेका हुन भन्ने पनि छैन ।

मैले प्रजातन्त्र ल्याउन ठूलो योगदान नगरे पनि राजतन्त्र गइसकेपछि गणतन्त्र गलत रहेछ, राजसंस्था हुनुपर्दो रहेछ भनेर किन भनेँ होला ? तपाईंहरुले त्यो सोच्नु पर्यो । म राजतन्त्र भएको बेलामा यो निर्णयमा पुगेको होइन । कुनै राजालाई खुसी बनाउन भनेको होइन । यहाँसम्म कि भोलि राजतन्त्र फर्किन्छ भनेर भनिएको पनि होइन ।

एउटा पत्रकारले पूर्व राजालाई सम्बोधन गर्नुपर्दा पूर्व श्री ५ महाराजधिराज भनेर भक्तिभाव देखाइराख्नुपर्छ र ? भनेर टिप्पणी गरिन्छ तपाईं के भन्नु हुन्छ ?
म बाल्यकालदेखि गणतन्त्र ल्याउनुपर्यो राजतन्त्र अन्त्य गर्नुपर्यो भनेर हिँडेको मान्छे । ०६२/०६३ को आन्दोलनमा लागेको । नेपाली सेनाले हाम्रो अखबारमा ५ हप्तासम्म सम्पादकको भूमिका निर्वाह गरेको । हामीले धेरै दुःख पायौँ । सम्पादकलाई सेनाले पक्राउ गरेर लग्यो । यति गरेर आएको मान्छे हुँ म । कतिपय मान्छेहरु राजतन्त्र छउन्जेल राजावादी, गणतन्त्र आएपछि गणतन्त्रवादी बन्छन् । पशुपति शमशेर राणा र कमल थापा त हिजोआज गणतन्त्रको पक्षमा जानुपर्छ भन्छन् ।

यस्तो बेलामा, मैले प्रजातन्त्र ल्याउन ठूलो योगदान नगरे पनि राजतन्त्र गइसकेपछि गणतन्त्र गलत रहेछ, राजसंस्था हुनुपर्दो रहेछ भनेर किन भनेँ होला ? तपाईंहरुले त्यो सोच्नु पर्यो । म राजतन्त्र भएको बेलामा यो निर्णयमा पुगेको होइन । कुनै राजालाई खुसी बनाउन भनेको होइन । यहाँसम्म कि भोलि राजतन्त्र फर्किन्छ भनेर भनिएको पनि होइन । म यो कुरा सैद्धान्तिक आधारमा भनिरहेको छु । भनेपछि मलाई राजसंस्थाप्रति कुनै भक्तिभाव होइन । तर श्री ५ महाराजधिराज भनेको त पद हो । हामीले पूर्व प्रधानमन्त्री भन्न हुने । पूर्व राष्ट्रपति भन्न हुने भने पूर्व श्री ५ महाराजधिराज भन्न किन नहुने ?

राजसंस्था आवश्यक छ भन्न खोज्नुभएको ?
देशको अहिलेको अवस्था, मान्यता र चरित्रका हिसाबले देश जोगाउने हो भने कुनै न कुनै रुपको राजसंस्था चाहिन्छ ।

राजतन्त्र नै फर्काउने कुरा गरिरहँदा तपाईं र पूर्व राजाको सम्बन्ध कस्तो छ बताइदिनुस् न ?
वि.स. २०५८ सालमा राजा हुनु अगाडि मैले उहाँको नाम सुनेको र तस्बिरहरु देखेको । तस्बिरमा देख्दा यो मान्छे अलिक अहंकारी, टफ होला भन्ने लागेको थियो । राजा भइसकेपछि मैले पहिलो पटक भेट्ने मौका पाएँ । उहाँलाई भेटेर आफ्नो मनको कुरा भन्नु नै मेरो इच्छा थियो । तर राजाको अगाडि सबै कुरा भन्न सक्छु कि सक्दिन भनेर राजाको अगाडि आफ्नो कुरा राख्न पाऊँ है मनकामना माई भनेर राजालाई भेटेको मान्छे । पैसा, मन्त्री, पद, प्रतिष्ठा चाहिन्छ भनेर गएकै होइन । भेटेपछि मैले मेरा मनमा लागेका कुरा सबै राजालाई भनेँ । उहाँले– यो देश बनाउने अधिकार मलाई भएन । संविधानमा देश बनाउने अधिकार मलाई कहाँ छ भन्नेबाट कुरा सुरु भयो ।

मैले यो देश बनाउन खोज्ने बेला होइन सरकार, अहिले बदनाम भएको राजसंस्थालाई लोकप्रिय बनाउने समय हो भनेँ । यद्यपि राजा हुँदा मैले धेरै पटक संवाद गर्ने मौका पाएँ । हरेक पटक मैले सरकार प्रजातन्त्रलाई तलमाथि गर्ने काम गर्नु हुँदैन भनेको हो । यदि टेकओभर भयो भने देशमा के हुनसक्छ र कस्तो परिस्थिति बन्नसक्छ भनेर मैले आफूले देखेको कुरा राख्ने गरेको थिएँ । यो कुरा उहाँको दिमागमा रहेछ भन्ने कुरा कहिले मात्र थाहा भयो भने जब गणतन्त्र घोषणा भएको छ महिनापछि फेरि दर्शन भेट पाएँ । त्यसबेला उहाँले भन्नुभयो– देव तपाईंले भनेको कुरा मैले सिरियस्ली लिएको थिइनँ । तपाईंको कुरा सही रहेछ ।

तुलसी गिरीले पनि भनेको कुरा मैले बाई गर्न (स्विकार्न) चाहिनँ । अनि मैले सोधेँ– सरकार मेरो धेरै कुरा थियो, कुन चाहिँ कुरालाई गम्भीरतापूर्वक नलिई बक्सेको ? उहाँले भन्नुभयो– तपाईंले प्रजातन्त्रलाई तलमाथि गर्नु हुँदैन है भनेको कुरा । जनता प्रजातन्त्रको पक्षमा कुनै न कुनै रुपमा छन् भन्नु भएको थियो । त्यो कुरा मलाई पनि हो भन्ने विश्वास भयो । नेपाली जनताले प्रजातन्त्र चाहेकै रहेछन् भन्ने मलाई लाग्यो । त्यो दिन मलाई बडो खुसी लाग्यो । तर त्यो कुरा उहाँलाई ढिला लागेछ । मैले भनेकै समयमा लागेको भए, टेकओभर नै नहुने सम्भावना पनि रहेछ ।

जात, क्षेत्र, भाषा, धर्म आदिका नाममा जनतालाई लडाइँको उत्कर्षमा पुर्याएर कसैले कसैको अस्तित्व नस्विकार्ने अवस्थामा पुर्याएर बहुसङ्ख्यक जनतालाई दुःखी बनाउँदै जारी गर्न खोजिएको संविधानले झनै ठूलो समस्या ल्याउँछ भनेर मैले व्यक्तिगत रुपमा केपी ओलीलाई पनि भनेको हो ।

अनि मेरो जिज्ञासा तुलसी गिरीले के भन्नु भएको थियो भन्नेमा गयो । उहाँले भन्नुभयो– तुलसी गिरीले कि प्रेस र दलहरुमा प्रतिबन्ध लगाएर पुरै शासन गरौँ कि पुरै छोडिदिऊँ र संवैधानिक भएर बसौँ । यो बीचको तरिका भएन भन्नुभएको थियो । उहाँको कुरा बाई गर्न चाहिनँ भन्ने उहाँको शब्द थियो । यसबाट तपाईं मेरो र राजाको सम्बन्ध कस्तो थियो भन्ने बुझ्नुस् । पत्रकारिता गरेर बसिरहेको एउटा किसानको छोराले राजालाई सही समयमा सही सुझाव दिएको थियो । जुन सुझाव सुनिदिएको भएदेखि टेकओभर हुँदैनथ्यो । टेकओभर नभएको भए त्यो प्रकारको रियाक्सन हुँदैन्थ्यो । देशीविदेशी शक्तिले खेल्न पाउँदैन्थे । आजको परिस्थिति नहुन सक्थ्यो ।

पछिल्लो भेट कहिले भएको थियो ?
पछिल्लो साढे पाँच वर्षदेखि मैले उहाँको दर्शन भेट पाएको छैन ।

आज भन्नुपर्यो भने के कुरा भन्नु हुन्छ ?
सामान्य त्यस्तो उल्लेख्य केही हुँदैन । उहाँको इच्छा लागेर नारायणहिटी छोडेर निर्मल निवास गएको भए सरकार अब नारायणहिटी सर्नुपर्यो भन्ने हुन्थ्यो । उहाँको इच्छाले गएको होइन । अरु कसैको इच्छा र प्रयासले गएको म फर्किऊँ र राष्ट्रका लागि केही गर्नुपर्यो भन्ने हुँदैन ।

बरु पछिल्लो भेटमा उहाँको एउटा चिन्ता थियो । उहाँले भन्नु भयो– देव देश यति अस्तव्यस्त बनाउन थाले अब मै फर्किएर आएँ भने पनि सकिन्छ र ? उहाँमा देशको स्थिति देखेर त्यो खालको चिन्ता प्रकट भएको थियो । तर अहिले साढे पाँच वर्षदेखि मेरो संवाद छैन । मैले कहिलै पनि राजालाई दर्शन भेट चाहियो भनेर भनिनँ । राजा पावरमा हुँदा पनि नहुँदा पनि उहाँले मलाई भेट्ने इच्छा व्यक्त गर्नुभएको छैन । त्यस कारणले मैले भेटेको छैन ।

एक पटक तपाईंले ओलीलाई निकै राष्ट्रवादी नेताका रुपमा चित्रित गर्नुभयो, पछि धन्यवाद दिएको पनि फिर्ता लिनुभयो । एउटै नेतामाथि दुईथरी दृष्टिकोण किन ?
एउटै नेताको दुईथरी भूमिका भएपछि दुईथरी टिप्पणी हुन्छन् । परिस्थितिहरु बदलिरहेका हुन्छन्, मानिसहरुको भूमिका बदलिरहेको हुन्छ । अनि मेरो दृष्टिकोण चाहिँ एउटै हुनुपर्छ त ? भगवान कृष्णले मान्छे मार्दा पनि ठीक मान्छेलाई बचाउँदा पनि ठीक ? यस्तो हुँदैन । ओली राष्ट्र अनूकुलको भूमिका हुँदा सकारात्मक थिएँ, भूमिका बदलियो दृष्टिकोण पनि बदलियो ।

ओलीलाई दिएको धन्यवाद फिर्ता लिएँ भनेर लेख्नुभयो । त्यसको टर्निङ प्वाइन्ट के थियो ?
संविधान जारी नभएसम्म जनतामा संविधान जारी भएपछि सबै कुराको समाधान हुन्छ र यो अवस्थाको अन्त्य हुन्छ भन्ने आशा थियो । जब संविधान जारी भयो, त्यसपछि आशाको समाप्त भयो । संविधान जारी हुनुपूर्व आमजनताले सकारात्मक सोचिरहेका थिए । जनतामा आवेग थिएन, विभाजित हुन खोजेको समाज एकत्रित हुन खोज्दै थियो । त्यस्तो बेलामा संविधान जारी गर्यो भने त्यसले सकारात्मक दिशा लिन्छ भन्ने थियो । मनोविज्ञानको नियम छ, संवेदनाहरु उत्तेजित भएको बेलामा गरिने निर्णयहरु गलतै हुन्छन् ।

जात, क्षेत्र, भाषा, धर्म आदिका नाममा जनतालाई लडाइँको उत्कर्षमा पुर्याएर कसैले कसैको अस्तित्व नस्विकार्ने अवस्थामा पुर्याएर बहुसङ्ख्यक जनतालाई दुःखी बनाउँदै जारी गर्न खोजिएको संविधानले झनै ठूलो समस्या ल्याउँछ भनेर मैले व्यक्तिगत रुपमा केपी ओलीलाई पनि भनेको हो । मैले भनेको उहाँले मान्नुपर्छ भन्ने होइन । मेरो काम देखेको कुरा सुनाइदिने हो । सबैथरीलाई वा धेरैथरीलाई खुसी बनाउन खोज्दा जम्मै थरीलाई दुःखी बनाइन्छ भन्ने मेरो विचार थियो र छ ।

हिजो जसले जुन–जुन माग राखे आज त्यही संविधानका समर्थकहरु पनि दुखित छन् । जस्तैः नेपाली काङ्ग्रेस संसदीय प्रजातन्त्र छोड्नुपर्यो, अर्कै रुपको प्रजातन्त्र आयो भनेर दुःखी छ । आफूले चाहेको जस्तो भए योभन्दा फरक संविधान आउने उसको निष्कर्ष छ । एमाले पनि आपूmले चाहेको जस्तो भए अहिलेको भन्दा फरकखालको संविधान आउने थियो भन्नेमा छ । माआवादी पनि आपूmले चाहेको जस्तो भएको भए योभन्दा धेरै क्रान्तिकारी संविधान आउने थियो भनिरहेको छ । अन्य जातिवादी र क्षेत्रीयतावादीहरु पनि माग पूरा भएन भन्छन् । अब बहुसङ्ख्यक जनता जो हिन्दू राष्ट्रको पक्षमा छन् उनीहरु त सबै भन्दा धेरै दुःखी छँदैछन् ।

सबै असन्तुष्ट हुने संविधान आउँदै छ भन्ने कुरा मलाई थाहा थियो । यही कुरा केपी ओलीलाई भन्दा उहाँले हो कि हो कि जस्तो पनि गर्नु भएको थियो । तर पछि यो सबै कुरा छोडेर उहाँ प्रधानमन्त्री हुने लाइनमा लागेर संविधान जारी गर्न सहमत हुनुभयो । मैले सोचेको थिएँ, उहाँले पदका लागि भन्दा पनि राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नु हुन्छ । तर उहाँ प्रधानमन्त्री हुने भएपछि संविधान जारी गर्न तयार हुनुभयो । संविधानप्रति असन्तुष्टी रहेछ भन्ने कुरा त अहिले उहाँको अभिव्यक्तिबाट थाहा हुँदैन र ? उहाँको भूमिका परिवर्तन भयो । उहाँको आलोचना गर्ने र असहमति राख्नुका कारण भूमिकामा फरक परेर नै हो ।

यहाँले चाहिँ संविधान नै कार्यान्वयन गर्न पर्दैन भनेर बारम्बार भनिरहनुभएको छ । संविधान कार्यान्वयन नै नगर्ने भए मुलुकलाई संविधान किन चाहिएको ?
यो संविधान मुलुकलाई चाहिएकै होइन । यो संविधान मात्र होइन कुनै पनि संविधान मुलुकलाई चाहिएको होइन । मुलुकलाई चाहिएको शान्ति, स्थिरता, समृद्धि र विकास हो । संविधान नहुँदा पनि मुलुकलाई चल्छ भन्ने उदाहरण बेलायत र इजरायलमा छ । त्यसकारणले संविधानले न मुलुक चल्छ भन्ने होइन । यो संविधानले झनै समस्याको समाधान गर्न सक्दैन । यो पहिले नै थाहा थियो । अब रह्यो संविधान कार्यान्वयनको कुरा यही अन्तरवस्तु बोकेको संविधान जारी नै नभएको भए पनि हुने थियो । किनभने मानिसहरुमा आशा हुन्थ्यो मानिसमा भविष्यमा संविधान बनेपछि अझै राम्रो हुन्छ भन्ने आशा हुन्थ्यो अब जारी भयो यो कार्यान्वयन गर्न थालियो भने हजार वर्षसम्म पनि कार्यान्वयन हुन्न ।

यसको अन्तरवस्तु संविधान आफैले सबै कुरा भनेको छ । अब संशोधन गर्दै, लडाइँ झगडा गर्दै कार्यान्वयन भयो भन्ठान्नु चाहिँ एउटा कुरा हो । हामीले खोजेको संविधानको कार्यान्वयन भएपछि समग्र देशले स्थिरता र शान्तिको बाटो लिनुपर्छ भन्ने हो । हामी सबैको काम भनेको अब देशमा समृद्धि खोज्ने मात्र हो । एकथरीले लडाइँ गर्दै जान्छ त्यसलाई सम्बोधन गर्दै जाने, फेरि अर्कोथरीलाई सम्बोधन जाने हो भने त त्यो सम्भव हुँदैन । नाइजेरियामा संविधान बनेको १०२ वर्ष भयो हाम्रो जस्तै अवस्थाबाट गुज्रिरहेको छ । लडाइँ पनि सक्किएको छैन, संविधान कार्यान्वयन पनि भएको भन्ने कि नभएको भन्ने ।

मानवीय स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारको कुरा गर्नु हुन्छ भने यो हिन्दू धर्ममा जस्तो कुनै धर्ममा छैन । जस्तैः तपाईं मुसलवान हुन मोहम्मदलाई मान्नुपर्यो । तपाईं इसाई बन्न पनि क्राइस्टलाई मान्नै पर्यो । तर हिन्दू हुनका लािग तपाईं आकार ईश्वरलाई माने पनि हुन्छ, निराकार ईश्वरलाई माने पनि हुन्छ ।

यसको विकल्प के त ?
यसलाई सच्याउनुपर्छ । पहिलो– देशको माया छ भने अहिलेका नेताहरुले राजनीतिबाट सन्न्यास लिने र नयाँ पुस्तालाई छोडिदिने । सीधै छोड्न सकिँदैन भने सबै राजनीतिक दलका नेताहरुले हामीले सकेनौँ भन्ने अनि क्षमा माग्ने । नेताहरुल्ले आफूलाई सच्याउन चाहन्छौँ अब एक पटक निश्चित समयका लागि मौका दिनुस् भनेर समय मागेर आफूलाई सुधार्ने प्रयास गर्ने । दोस्रो– जुन विन्दुबाट गल्ती भएको छ, त्यही विन्दुबाट सच्याउन प्रयास गर्ने । तेस्रो– जुन हुनेवाला छ । जनतामा हिजो निरङ्कुश राजतन्त्रप्रति जुन प्रकारको वितृष्णा थियो, त्यही स्तरको वितृष्णा पैदा भइसकेको छ । त्यसले एउटा विष्फोटको रुप लिन्छ र निकास पनि दिन्छ ।


त्यो विष्फोट हुन कति समय लाग्ने अनुमान गर्नु भएको छ ?

यदि मानिसहरु वैदेशिक रोजगारीमा बाहिर गएका हुँदैन थिए भने अस्ति नै परिवर्तन भइसक्थ्यो । त्यो लड्ने र भिड्ने युवा जमात, जसले आफ्नो भविष्य यही देशमा खोज्न थालेको भए लाखौँ मान्छे सडकमा आइसक्ने थिए । अब यहाँ भएका मान्छे पेशा व्यवसायमा लागेका छन् । त्यसैले यहाँ ढिला भएको हो । नभए यहाँ वास्तविक क्रािन्त उहिले नै भइसक्ने थियो ।

तपाईं वामपन्थी पृष्ठभूमिबाट आएर पनि हिन्दू धर्मप्रतिको कट्टरता किन ?
मानवीय स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारको कुरा गर्नु हुन्छ भने यो हिन्दू धर्ममा जस्तो कुनै धर्ममा छैन । जस्तैः तपाईं मुसलवान हुन मोहम्मदलाई मान्नुपर्यो । तपाईं इसाई बन्न पनि क्राइस्टलाई मान्नै पर्यो । तर हिन्दू हुनका लािग तपाईं आकार ईश्वरलाई माने पनि हुन्छ, निराकार ईश्वरलाई माने पनि हुन्छ । तपाईंले देवीलाई माने पनि देवतालाई माने पनि हुन्छ । म आकाशगङ्गालाई मात्र मान्छु भने पनि हुन्छ ।

जलदेवीलाई मान्छु भने पनि हुन्छ । वनदेवीलाई मान्छु भने पनि हुन्छ । म मन्दिर गइरहन्छु भने पनि हुन्छ । म कहिलै मन्दिर जान्न भने पनि हुन्छ । आजको मितिसम्म म आफै पशुपतिनाथ मन्दिर गएको छैन । ममा शिवजीप्रति धेरै ठूलो झक्तिभाव छ । त्यसैले उनको दर्शन गर्न नगएको । किनभने शिवजी मभित्र पनि हुनुुहुन्छ । त्यसकारणले हिन्दू धर्म भनेको जीवन पद्धति मात्रै हो । मैले हिन्दू राष्ट्र हुनुपर्छ भन्नुका मूलतः दुईवटा कारण छन् । पहिलो– नेपाल विश्वको एक मात्र हिन्दू राष्ट्र हो ।

विश्वमा हामीलाई चिनाउका लागि त्यो सजिलो थियो । दोस्रो– गोसाइँकुण्डको आसपास बस्नेहरु दर्शन गर्न लुम्बिनी जान्छन्, लुम्वीनी आसपासका मान्छेहरु गोसाइँकुण्ड र मुक्तिनाथ जान्छन् । तराईका नेपालीहरु र हिमालका नेपालीहरु हामी सबै ओमकार परिवारका सनातनी हिन्दू हौँ । हाम्रो साझा राष्ट्र हो भन्ने अनूभूति थियो । त्यसलाई जीवित राख्न, त्यो भावना जगाउनका लािग समाजिक सद्भाव बढाउनका लागि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेको हुँ ।

हिन्दू धर्म भन्ने वित्तिकै भारतीय संस्थापन पक्षको राजनीति पनि जोड्नेहरु छन् । यो मुद्दामा भारतको सद्भाव छ भन्ने गर्छन् । यो कत्तिको सत्य हो ?
भारतले नेपालमा प्रमोट गर्न चाहेको कुन चाहिँ कुरा भएको छैन ? म त भारतले चाहेको चीज प्रमोट नै भइरहेको देख्छु । यदि हिन्दू राष्ट्र होस् भन्ने चाहेको हो भने यो पनि प्रमोसनमा आउँछ । तर मैले चाहिँ आजसम्म के महसुस गरेको छैन भने भारतले नेपालमा हिन्दू राष्ट्र बनाउन सहयोग गरेको अथवा गर्न चाहेको । मलाई थाहा पनि छैन ।

पहिलो चुनावमा गणतन्त्र, दोस्रो चुनावमा सङ्घीयता र संविधान जारी गर्ने विषयलाई लिएर चुनाव लडियो । तपाईं काङ्ग्रेसको राजनीति नजिकबाट लड्दै हुनुहुन्छ । अबको चुनावमा नेपाली काङ्ग्रेसले हिन्दू राष्ट्रको मुद्दालाई आफ्नो बनाउने सम्भावना कत्तिको छ ?
काङ्ग्रेस प्रजातन्त्रवादी पार्टी हो । यसमा अझै पनि कतै धुकधुकी बाँकी छ कि जस्तो लाग्छ । म त काङ्ग्रेस छोडेर वामपन्थी भएको मान्छे मैले कम्युनिस्ट छोड्दा त सबै कुरा छोडेर आएको हो । कुनै पद पाउन त आएको थिइनँ । म त विचार परिवर्तन भएर आएको हो । तर मैले छोडेर आएको जति सबै काङ्ग्रेसले समाएर हिँड्यो ।

जे–जे विचार मैले छोडेर आएँ त्यो सिङ्गै काङ्ग्रेसले बोकेर हिँडेको छ । म छक्क परिरहेको छु । काङ्ग्रेसमा अझै पनि धुकधुकी छ । काङ्ग्रेस आफ्नो पुरानो कुरामा फर्किंदा अथवा काङ्ग्रेस काङ्ग्रेस जस्तो हुँदा उसले हिन्दू राष्ट्रको मुद्दा बोकिहाल्छ । प्रजातन्त्रवादी पार्टीले बहुसङ्ख्यक जनताको भावनाको प्रतिनिधित्व गर्छ, गर्नुपर्छ । त्यो एक न एक दिन गर्छ ।

मेरो मात्रै हो र ? राष्ट्रकै टाउको दुखाइ हो । यो सङ्घीयता मैले मेरो टाउको दुखेर भनेकै होइन । पहिलो दिनदेखि नै यो हुनुहुँदैन भनेर मैले कतिवटा लेख लेखेको छु । जुन बेला चित्रबहादुरजीहरुले पनि बोल्न थाल्नुभएको थिएन ।

शेरबहादुर देउवाको नेतृत्वले गर्छ कि गर्दैन ?
काङ्ग्रेसका बहुसङ्ख्यक साथीहरु त्यो पक्षमा जानुभयो भने उहाँले त्यसमा बाधा पुर्याउनु हुन्न । किनभने उहाँको कार्यशैली भनेको धेरैजसो मानिसको धारणा सुनेर बुझेर निर्णय लिने खालको छ । गिरिजाप्रसादको जस्तो के मन लागेको छ र के सपनामा देखेको छु भनेर त्यसको आधारमा निर्णय गर्ने मान्छे शेरबहादुर होइन ।

तपाईंलाई त सङ्घीयतासँग पनि टाउको दुखाइ छ है ?
मेरो मात्रै हो र ? राष्ट्रकै टाउको दुखाइ हो । यो सङ्घीयता मैले मेरो टाउको दुखेर भनेकै होइन । पहिलो दिनदेखि नै यो हुनुहुँदैन भनेर मैले कतिवटा लेख लेखेको छु । जुन बेला चित्रबहादुरजीहरुले पनि बोल्न थाल्नुभएको थिएन । मैले त्यसबेलादेखि यो कुरा उठाउँदै आइरहेको छु । त्योबेलामा म र भिमार्जुन आचार्यजीले मात्रै सङ्घीयता हुनु हुँदैन भनेका हौँ । जब सङ्घीयतामा जाने भन्ने कुरा भयो, अनि मैले आफूले पनि केही विचार त दिनुपर्यो । अनि मैले विश्वका २७ वटा सङ्घीयता भएका देशको इतिहास पढ्नु पर्यो ।

त्यसपछि मैले यो खालको सङ्घीयता हुनुपर्छ भनेर वकालत गर्न थालेँ । तर पछि सङ्घीयतामा गयौँ भने हामी बर्बाद हुन्छौँ भन्ने थाहा भयो । सैद्धान्तिक रुपमै हामी सङ्घीयतामा जानु गलत थियो । यो अहिले देखिएको परिणामगत कुरा मात्र हो । विश्वमा दुइटा मोडेलका सङ्घीयता छन्, कमिङ टुगेदर र होल्डिङ टुगेदर । तर यहाँ त यो दुवै नभएर तेस्रो खालको फरक विधि अपनाइएको छ । एकात्मक अभ्यासमा रमाइरहेको देशलाई सैद्धान्तिक रुपमा सङ्घीयता गलत कुरा हो । यो थानको कपडा झिकेर त्यसलाई बलियो बनाउन काटेर गाँसेपछि राम्रो र बलियो हुन्छ भनेजस्तो कुरा भयो । यो जाली कुरा हो ।

देशको सार्वभौमसत्ता जानिबुझी खण्डित गरेर अनि त्यसपछि हाम्रो एकता बलियो भयो भन्नु हामी कुती लाग्यौँ तर हामी काशी पुग्दैछौँ भने जस्तै हो । अब यो सङ्घीयताले के के ल्याउँदै छ, हेर्दै जानु होला । अहिले यो प्रारम्भिक कुरामै अल्झिएको छ । हामी सङ्घीयताबाट फर्कियौँ भने एक क्षेत्रका मानिसले आन्दोलन गर्लान् । हामीले त्यसको राम्रो एउटा विकल्प विकेन्द्रीकरण दिनुपर्छ । यही सङ्घीयतामा गयौँ भने यो देश विघटन नभएसम्म या सङ्घीयताबाट नफर्किएसम्म युगान्डालेझैँ यो देशको तनाव र विवाद कायम रहन्छ ।

तपाईंले भनेजस्तै सङ्घीयताले पार्न सक्ने घाटाको मूल्याङ्कन गरेर एमालेले आफ्नो विचार सार्वजनिक गरेको हो वा राजनीतिक लेनदेनको मुद्दा हो ?
नेपालका राजनीतिक दलका नेताहरु सत्ताभन्दा माथि उठेको अनुभूति भएको दिन म उसको गोडा ढोग्न तयार छु । केपी ओली मृगौला फेल भएपछि राष्ट्रका लागि अब उसले गर्नुपर्ने योगदान गर्छन कि जस्तो लागेको थियो । मसँग भनेका पनि थिए । मैले पनि हो कि भन्ठानेको थिएँ । ठूलो सम्मानभाव पैदा भइरहेको थियो । उसले समेत प्रम बन्न सम्झौता गरेपछि पद प्राप्तिभन्दा माथि उठ्न सकेनन् भन्ने देखिएको छ ।

अहिले एमालेले निर्वाह गरेको भूमिका रुखको फेद काट्ने, ढलेको रुखको पात सुम्सुम्याएर कठै बरा यसलाई जोगाउनु पर्यो भन्नेखालको राष्ट्रवाद हो । यसलाई जोगाउनुपर्छ भनेर त फेद काट्ने बेलामा सोच्नुपर्यो नि । एमालेको अलिक अवसरवादी चरित्र छ । केपी ओलीजीको अर्को चरित्र भनेको एउटा अडान लिने र पछि त्यसलाई चटक्क छोडिदिने हो । त्यसैले पूरापूर भरोसा गर्न सकिँदैन । एमालेले कुनै पनि बेला सत्ता या अरु कुनैको नाममा सम्झौता गर्छ कि भन्ने मलाई लागिरहेको छ ।

प्रचण्ड सरकारको जरा काट्ने बेला भयो कि बाँकी छ ?
यो सरकार जसरी जुन तवरले बन्यो बनाउनेहरुले इच्छा राखुन्जेलसम्म यो सरकार चलिरहन्छ । यो सरकारको तपाईं हामीले खुट्टा काटेर काट्न सकिँदैन । किनभने यसको खुट्टै छैन । यो अर्कै तवरले बनेको सरकार हो । त्यसैले यो सरकार हिँड्दैन । झुन्डिएको छ । त्यहाँबाट यसले ट्याङट्याङ गरेर कराउँछ मात्र । यसलाई जसले बनाएको हो त्यसका लागि काम गर्छ र यसको उपयोगिता सकिएको दिन खस्छ । यसको अर्कै उपयोगिता छ । सरकार अहिले ढल्दैन ।

अब हुने चुनावमा दलहरुको के कस्तो अवस्था होला ?
यो भनाइ मेरै लागि पनि अप्रिय हुन सक्छ । तर मैले देखेको कुरा भनिरहेको छु । यही अवस्था रहिरहने हो भने एमाले पहिलो हुन्छ । काङ्ग्रेस दोस्रो र राप्रपा नेपाल र माओवादीका बीच तेस्रोका लागि प्रतिस्पर्धा हुन्छ । बाबुरामजीले पनि पार्टी खोल्नु भएको छ । प्रत्यक्षतर्फ उहाँलेसम्म जित्ने सम्भावना हुनसक्छ । नभए नयाँ शक्तिको पनि कुनै भविष्य छैन । कुनै गुन्जाइस छैन । त्यो राष्ट्रले मागेर गठन भएको पार्टी पनि होइन । राष्ट्रले त्यति चासो गरेको पनि छैन । क्षेत्रीयतावादी र जातीयतावादी दलहरुको पनि मैले केही भविष्य देखेको छैन । तर मलाई दुःख केमा लागेको छ भने त्यत्रो युद्ध लडेर आएको पार्टी प्रत्यक्षतर्फ २६ भए पनि सिट ल्याएको थियो अबको आउने चुनावमा माओवादी केन्द्रले ७ भन्दा बढी सिट ल्याउला भन्ने मलाई लागेको छैन ।

family planning
Golden Oak

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल