कुनै पनि बेला रिस्क लिन सक्छु (सुविन भट्टराईसँगको अन्तर्वार्ता)

कथाकी पात्र कथा सङ्ग्रह लेखेर लेखन क्षेत्रमा उदाएका सुविन भट्टराई युवापुस्तामा निकै चर्चित नाम हो । उनले हालसम्म समर लभ, साया र मनसुन उपन्यास लेखिसकेका छन् । उनै भट्टराईसँग लेखनका यावत पक्षमा केन्द्रित रहेर डीएनएनको रातोपाटीका लागि कुराकानी गरेका छन् नरेश ज्ञवालीले

लेखनमा जुन ट्रयाक समाउनुभएको छ, त्यो निकै कमसल साहित्य भयो भन्ने मत छ, यस्तो किन ?
मेरो लेखाइको शैली सरल छ । प्रेम छ । प्रेम सँगसँगै केही यौन पनि स्वभाविक रुपमा आउँछ । विषयवस्तुका कारणले यो आरोप लाग्ने गर्छ । त्यसो भए प्रेमलाई नै कमसल भन्ने त ? म अन्य कुरालाई जस्तै गरी प्रेमलाई पनि सामाजिक विषय भन्छु । सबै लेखकहरुले समाजकै एउटा एउटा विषय टिप्ने हो । त्यो क्रममा मैले सहरिया युवा पुस्ताको प्रेम सम्बन्धलाई अभिव्यक्ति दिएको हुँ ।

अन्य साहित्यलाई उम्दा पनि प्रेम त हुन्छ नै । मात्र अन्ना कारेनेना, लोलिता अथवा युधिर थापाका उपन्यासमध्ये कुन स्तरको छान्ने भन्ने होला नि ? तपाईंको स्तर युधिर थापाको स्तरमा पुग्यो भन्ने सबैको चिन्ता छ ।
त्यो चाहिँ मलाई थाहा भएन, किनकि मैले युधिर थापा पढेको छैन । युधिर थापा र प्रकाश कोवित भनेर आरोप लगाउने गर्छन् । उनीहरु कस्तो पुस्तक लेख्छन् भन्नेसमेत मलाई थहा छैन । मैले पढेको पनि छैन । मेरो अघिल्लो पुस्तामा मैले उनीहरुको पुस्तक पढेर लेख्न जाने भन्ने रहेछ । तर त्यसो हुँदै होइन । मैले बीपी कोइराला, धु्रवचन्द्र गौतम, पारिजात, धच गोतामे आदि लेखकहरुको लेखनशैलीबाट आफ्नो लेखनीको सुरुवात गरेको हुँ । मेरो पुस्तक उनीहरुकै स्तरमा छ भन्न मैले ती पुस्ताक पढेको हुनुपर्छ तर मैले पढेको छैन । त्यसैले पढेपछि मात्र भन्न सक्छु ।

एउटा लेखकले समाजमा रहेको यौन पक्षलाई मात्र प्राथमिकता दिनु बेस होला कि अन्य विविध पक्षलाई उधिन्दै अगाडि बढ्नु राम्रो होला ?
निश्चय पनि एउटा लेखक भएपछि यौनलाई मात्र प्राथमिकता दिँदा ऊ त्यसमै फोकस हुन पनि सक्छ । तर मूल कुरा उसले कस्तो उपन्यास, के कुरामा निर्भर भएर लेख्दैछ भन्नेमा निर्भर गर्छ । यौनलाई मात्र समेटेर पनि लेख्न सकिन्छ । जस्तै बीपी कोइरालाले उपन्यास यौनमै नारी मनोविज्ञानमा केन्द्रित रहेर लेख्नुभएको छ । मैले जे लेखेको छु, त्यसमा यौनलाई मात्र प्राथमिकता दिएर लेखिएको होइन ।

सबैले बुझ्ने खालको छ । हार्ड लिट्रेचर, लामा वाक्य छैनन् । त्योबोहेक प्रत्येक युवाले आफ्नो दैनिकीमा जे जस्तो संवाद गर्छन् मेरो उपन्यासमा त्यही छ । युवाहरुमा के कस्ता समस्या छन् ती जस्ताको तस्तै पुस्तकमा उतारिएको छ ।

साढे दुई सय पानामा यौनको कुरा तीन चार पानामा पनि हुँदैन होला । तर मानिसले लगाउने आरोप त छँदैछ । मानिलिनुस् मैले सुरुदेखि अन्त्यसम्म यौनमै केन्द्रित भएर लेखेको छु । मैले आफ्ना उपन्यासहरुमा प्रेमसँगै जोडिएर आउने सामाजिक समस्याहरु जस्तैः आत्महत्या, सामाजिक विभेद, कलेज लाइफका कुरालाई समेटेको छु । मूल रुपमा मैले युवाहरुको समस्यालाई समेटेको छु । युवाहरुमा यौन समस्या पनि एउटा पाटो हो । घटनाहरुसँग जोडिएर आउने एउटा कुरा हो तर त्यसमै केन्द्रित हुने भने होइन ।

तपाईंका उपन्यासप्रति युवा पुस्ताको क्रेजको ‘कज’ के हो भन्ने लाग्छ ?
मेन कज भनेको किताब सिम्पल छ । सबैले बुझ्ने खालको छ । हार्ड लिट्रेचर, लामा वाक्य छैनन् । त्योबोहेक प्रत्येक युवाले आफ्नो दैनिकीमा जे जस्तो संवाद गर्छन् मेरो उपन्यासमा त्यही छ । युवाहरुमा के कस्ता समस्या छन् ती जस्ताको तस्तै पुस्तकमा उतारिएको छ । पाठकबाट आउने रेस्पोन्समा तपाईंको किताबमा मैले आफूलाई पाएँ भन्ने पहिलो रेस्पोन्स हो । आजसम्म कुनै पनि पाठकले तपाईंको उपन्यासमा यौनका कुरा रहेछन्, त्यसैले तपाईंको पुस्तक मन पराएँ भनेका छैनन् । मेरा उपन्यासमा यौनका कुरा मात्र गरिएका छन् भन्ने कुरा आलोचना गर्ने समीक्षकहरुको टिप्पणी हो । तर पाठकले यस्तो कहिलै भनेनन् ।

समीक्षकहरु कुण्ठा व्यक्त गर्छन् भन्ने गर्नु हुन्छ किन ?
सबै समीक्षकलाई मैले यसो भनेको होइन । केही समीक्षकहरुमा समस्या छ । मप्रति मात्रै होइन अरुप्रति पनि कुण्ठा पोखिरहेका हुन्छन् । कतिले त तेरोमेरो दोस्ती छ, तैँले मेरो पुस्तकको समीक्षा गर, मैले तेरो पुस्तकको समीक्षा गर्छु समेत भन्छन् । स्वस्थ समीक्षा थोरै मात्र देख्न पाइन्छ । त्यसैले स्वस्थ समीक्षाको खाँचो छ । मालई लाग्छ मेरो पुस्तकको समीक्षा गर्दा त्यही हाराहारीको पुस्तकसँग दाँजेर समीक्षा गर्नुपर्छ ।

मेरा उपन्यासहरुलाई तोल्सतोय, मार्खेजसँग दाँजेर समीक्षा गर्नु भनेको अस्वस्थ समीक्षा हो । मैले लेख्ने उपन्यास भनेको एउटा जानरामा रहेर लेख्ने हो । मेरो पुस्तकको समीक्षा गर्दा त्यही जानराको समझभित्र सीमित रहेर गरिनुपर्छ भन्ने मेरो मान्यता हो ।

तपाईंले आफ्नो पुस्तकबाट दिन खोजेको म्यासेज के हो ?
लेखक कुमार नगरकोटीकै जस्तो म्यासेज अगाडि राखेर पुस्तक लेखिँदैन भन्ने मान्यता राख्ने गर्छु । मलाई पुस्तक यसकारण लेख्नु छ, कि मेरो किताब पढियोस् । पाठकहरुलाई सुरुचिपूर्ण लागोस् । पुस्तक आफ्नो विषयमा सललल बगोस र केही घण्टामै सकियोस् । पुस्तक भनेको सिनेमा जस्तै छोटो हुनुपर्छ । मान्छेहरुले कल्पना गर्न सकून् । मेरा पुस्तक पढेपछि पाठकहरुले आनन्द महसुस गरुन् । पढ्ने संस्कृति र बानीको विकास होस् । साथै लेख्दै जाऊँ नाम कमाऊँ भन्ने पनि सबैको धारणा हुन्छ । मेरो पनि त्यस्तै छ ।

नाम कमाऊँ भन्ने ध्याउन्न त छ है ?
नाम कमाऊँ भन्नेमै धेरै होइन । तर मेरो मात्र होइन, सबैको नाम कमाऊँ भन्ने ध्याउन्न हुन्छ । पुस्तक लेख्ने भनेको घरमा पाण्डुलिपि थन्क्याउन होइन । लेखकले राम्रो प्रकाशकबाट प्रकाशित होस, सबै भन्दा धेरै बिक्री होस भन्ने चाहन्छ । यही कुरालाई कसैले व्यक्त गर्लान् कसैले नगर्लान् । एक दुई लाखको चेक बुझ्दा जो पनि खुसी हुन्छ । पैसा नआउँदा जो पनि दुःखी हुन्छ । घरमा चुलो बल्दा जो पनि खुसी हुन्छ । अल्टिमेट्ली कुरा त्यही हो । लेखक भनेको त्यतिबेला खुसी हुन्छ जब पाठकहरु सन्तुष्ट हुन्छन् । पाठकहरुको सन्तुष्टि नै लेखकको सन्तुष्टि हो ।

धेरै अघिदेखिको एउटा बहस छ, एउटा पक्षले भन्छ, साहित्य त्यही लेख्नुपर्छ जुन बजारले खोज्छ । अर्को पक्षले भन्छ, हामीले बजारले खोजेको होइन कि बाजारलाई हाम्रो अनुकूल बनाउनुपर्छ । तपाईंलाई कुन सही हो भन्ने लाग्छ ?
इमानदारीका साथभन्दा त्यतिबेला मलाई बजारसजार केही थाहा थिएन । पुस्तक लेखेर जीविका चलाऊँला अथवा फुल टाइम लेखनमा आउँला भन्ने समेत मैले सोचेको थिएन । मलाई त्यस बेलाको विषयवस्तुले तानेर लेखेको हो । लेखिसकेपछि त्यसले मलाई आत्मसन्तुष्टि दियो । कुनै पनि कुराले दिमागमा स्ट्राइक गरेपछि मलाई लाग्छ, त्यसले निदाउन पनि दिँदैन ।

जतिखेर पनि त्यो दिमागमा आइराख्छ । यही हुटहुटीले लेख्ने हो । पहिला बजारसजार हुँदैन । अब चाहिँ प्रोफेसनल राइटिङमा आइयो । अहिले भन्नु पर्दा अलिकति व्यावसायिक हुनुपर्छ । किन हुनुपर्छ भन्दा मैले एउटा ट्रेन्डको लेखाइ लेखेँ । त्यो लेखाइ नै पाठकहरुले रुचाइदिनुभयो । अब ह्वात्तै अर्को लेखाइमा जम्प गर्न रिस्क हुन्छ । त्यो रिस्क मैले अहिलेको स्टेजमा नलिएको हो । तर त्यो रिक्स म कुनै पनि बेला लिन सक्छु ।

भन्नुको अर्थ लेख्दै गरेको ट्रेन्डबाट जम्प गर्ने रिक्स छ ।
अबको कुनै पनि पुस्तकमा ट्रयाक चेन्ज हुन सक्छ । तर यो भन्नुको अर्थ पूरै छोडेर विधागत डेरा सराइ भने हुँदैन । कहिलेकाहीँ हटके कामहरु गरिन्छ । हुन त मैले मेरो पहिलो पुस्तक विशुद्ध प्रेममा लेखेको छैन, जसरी तपाईंले प्रश्न गरिरहनुभएको छ । कथाकी पात्र भन्ने कथासङ्ग्रहमा विभिन्न कथाहरु छन् । मनोवैज्ञानिक, सामाजिक सम्बन्धका बारे र बालमनोविज्ञानका बारेमा समेत । सुरुमै प्रुभ गरिसिकेको हो । अब फेरि त्यो ट्रयाक कुनै पनि बेलामा चेन्ज हुन्छ ।

नेपाली साहित्य कुन अवस्थामा छ ?
अझै पनि धेरै विषयमा लेखिनुपर्छ जास्तो लाग्छ । धेरै ठाउँहरुमा हात हाल्न बाँकी छ । एउटै कुराहरुमा धेरै लेखकहहरु बढीभन्दा बढी केन्द्रित भइरहेका छन् ।

हाम्रा पाठकहरुमा धेरै भेराइटी छैन । हरेकखालका किताबहरुलाई स्वीकार गर्ने र पढ्न सक्ने अवस्था छैन । पहिले पाठक तयार गर्नु पर्नेहुन्छ । पाठकको सङ्ख्या मजबुत भएपछि अनि हामी प्रयोग गर्न सक्छौँ । लेखकहरुले त्यो प्रयोग गर्न जरुरी छ ।

जस्तै ?
उही दुःख, गरिबी, राजनीतिक व्यङ्ग्य टाइपका लेखाइमा धेरै व्यस्त भएका छन् । तर सानासाना कुराहरुमा पनि हामी लेख्न सक्छौँ । मभन्दा माथिल्लो पुस्तालाई अन्तर्राष्ट्रिय साहित्य कस्ता कस्ता विषयमा लेखिएका छन् भन्ने कुरा राम्रो गरी थाहा छ । ती विषयहरुमा हामीले पनि लेख्नुपर्ने हो भनेर उहाँहरुले सोच्नुपर्ने हो । मैले पनि सोच्नुपर्नेछ । म पनि केही हदसम्म जिम्मेवार छु । सानो धुलोको कण जत्रो अंश भए पनि मेरो पनि त्यो दायित्व हुन्छ ।

मलाई पनि ती विषयहरुमा लेख्न नपाएकोमा पछुतो र लेख्न मन छ । लेख्न सकिन जस्तो पनि लाग्छ । तपाईंले अघि सोध्नुभयो नि बजार भनेर । यो कुरा त्यससँग पनि सम्बन्धित छ । हाम्रा पाठकहरुमा धेरै भेराइटी छैन । हरेकखालका किताबहरुलाई स्वीकार गर्ने र पढ्न सक्ने अवस्था छैन । पहिले पाठक तयार गर्नु पर्नेहुन्छ । पाठकको सङ्ख्या मजबुत भएपछि अनि हामी प्रयोग गर्न सक्छौँ । लेखकहरुले त्यो प्रयोग गर्न जरुरी छ ।

हाल कुन विषयमा लेख्न आफूलाई तयार गर्दै हुनुहुन्छ ?
अरु नै विषयमा केन्द्रित हुनुपर्छ जस्तो लाग्छ । तर युवा केन्द्रित हुनैपर्छ । किनभने युवा नै बढीभन्दा बढी पाठक हुन् हाम्रा । युवालाई मोटिभ र इन्पायर गर्ने खालको लेखनको आवश्यकता छ । उनीहरु जीवनबाट निराश भएका छन् । त्यसबाट ओभरकम गराउन तथा ५–७ घण्टाको मनोरञ्जन भन्दा उनीहरुको लाइफमा नै चेन्ज ल्याउने खालको लेख्नुपर्छ ।

नेपाली साहित्यमा अनुवादको खाँचो कत्तिको देख्नु हुन्छ ?
निश्चय पनि अनुवादको सेक्टर फराकिलो हुनुपर्छ । राम्रा कृतिहरु अनुवाद भइरहेका पनि छन् । तर गहकिलो अनुवाद भएको छैन । खाली शाब्दिक अनुवाद मात्र भएको छ । भावानुवाद पनि हुनु जरुरी छ । जस्तै सिद्धार्थ र खबुज जसरी अनुवाद भयो, त्यो मलाई निकै मन परेको पुस्तक हो । बाँकी अनुवाद त्यति गहन छैनन् । तर त्यतिले मात्र पुग्दैन । अनुवादभन्दा पनि मलाई लागेको के हो भने हामीले त्यस्तै खाले साहित्य आफैले उत्पादन गर्नुपर्ने हुन्छ । मौलिक भयो भने पाठकहरु माझ धेरै जान्छ । खबुजकै कुरा गर्दा त्यति राम्रो छ पाठक माझ धेरै जानुपर्नेमा अपेक्षा गरिए अनुरुप गएन । त्यसको कारण मौलिक नभएर हो । हामीले आफ्नै उत्पादनमा ध्यान दिनुपर्छ ।

लेखकको दृष्टिकोणबाट वर्तमान समाजको गतिलाई कसरी नियालिरहनु भएको छ ?
म निकै सकारात्मक छु । हामी मिडियामा, साहित्यमा, चिया गफमा प्रायः निराशाका कुरा गर्छौं । यति धेरै निराश हुनुपर्ने आवश्यकता छैन । किनभने हाम्रो राजनीतिक पृष्ठभूमि र त्यसको इतिहास अन्य देशकोसँग तुलनामा धेरै पुरानो छैन । हामी भर्खर गणतन्त्रमा आएका छौँ । अब हामी विकाससँग जोडिनुपर्छ । मानिसहरु विकासको स्वाद चाख्न हतारी रहेका छन् । यति चाँडै र छोटो समयमै विकास हुने होइन । त्यसका सकारत्मक असरहरु देखिन थालेका छन् । विकास भनेको केही मानेमा अनुशासन पनि हो । हामी अहिले एउटा प्याटर्न डेभलप गर्ने क्रममा छौँ । त्यसैले केही समय लाग्छ । अहिले विकासको मुना पलाएको छ, केही समयपछि हरियाली हुनेछ भन्नेमा म आशावादी छु ।

family planning
Golden Oak

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल