भविष्य निर्माताहरु विद्यालयमा छन्, विद्यालयलाई हेर्ने सरकारी दृष्टिकोण कमजोर छ (अन्तर्वार्ता)

भविष्य निर्माताहरु विद्यालयमा छन्, विद्यालयलाई हेर्ने सरकारी दृष्टिकोण कमजोर छ (अन्तर्वार्ता)

लामो समयदेखि शिक्षण पेसालाई कर्मथलो बनाएकी  अक्षरा स्कूलकी प्रिन्सिपल अन्जु भट्टराईसँग बालबालिको सिकाइमा शिक्षा नीति, पाठ्यक्रम र शिक्षकको भूमिकाका बारेमा रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी ।

तपाईं शिक्षा क्षेत्रमा कसरी प्रवेश गर्नुभयो र शिक्षक र शिक्षा व्यवसायीबीच कस्तो भिन्नता पाउनुभयो ?

म शिक्षण पेसाबाट यो क्षेत्रमा प्रवेश गरेकी हुँ । मेरो घरका सदस्यहरु सबै सरकारी जागिरमा हुँदैगर्दा मैले शिक्षण पेसा रोजेँ । यो पेसा रोजेपछि अभिभावकले मैले राम्रो पेसा रोजिन भन्ने गुनासो भइरह्यो । तर म भने पहिलेदेखि नै शिक्षा क्षेत्रलाई मन पराउने । मलाई यो पेसामा मेरो प्यासनले तानेर ल्याएको हो । तर पहिले र अहिलेमा निकै भिन्नता छ । पहिले शिक्षक थिएँ । अहिले शिक्षाको म्यानेजमेन्ट हेर्छु । यहाँसम्म आइसकेपछि मैले यो दुवैका बीच निकै ठूलो खाड्ल पाएकी छु ।

जति बेला म शिक्षक थिएँ, मेरो धारणा सङ्कुचित थियो । मेरो जिम्मेवारी कक्षाकोठालाई राम्रो बनाउनु थियो । भन्नुको अर्थ विद्यार्थीमा ध्यान केन्द्रित गर्नुपर्ने मेरो जिम्मेवारी थियो । तर जब म म्यानेजमेन्टमा आएँ, मलाई त्यति जिम्मेवारीले पुग्दैन । मैले समग्र विद्यार्थी, शिक्षक, विद्यालय र विद्यालयले समाजमा पार्ने प्रभावको पनि हेक्का राख्नुपर्ने हुन्छ ।

विद्यालयको कुन स्तरको अध्यापनबाट आफूलाई शिक्षण पेसामा लगाउनुभएको हो ?

मैले नर्सरी र पीजीबाट अध्यापन सुरु गरेकी हुँ । हाम्रोमा अर्ली चाइल्ड एजुकेसनलाई त्यति महत्व र प्रतिष्ठाकासाथ हेरिँदैन तर यो निकै महत्वपूर्ण विषय हो । किनभने कलिला बालबालिकाको निर्माण यही हुने गर्छ ।

आमाको काखबाट विद्यालयको काखमा पुग्ने बालबालिकाको निर्माणमा शिक्षाको कस्तो भूमिका हुन्छ त ?

सबैले जानेकै कुरा हो, असल र राम्रो मान्छे निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । त्यसमध्ये अर्ली चाइल्ड एजुकेसन त झनै महत्वपूर्ण छ । विद्यालय प्रवेश गर्दा बालबालिकाको दिमाग खाली हुन्छ । घरमा आमाबाबाबाट बालबालिकाले संस्कार र सभ्यता सिके पनि विद्यालयले त्यसलाई व्यवस्थित रुप प्रदान गर्छ । दिगो कुराहरु सिक्न ऊ विद्यालयमा निर्भर हुन्छ । विद्यालयले उनीहरुलाई संस्कार, सभ्यताका साथै सकारात्मक सोच र हौसला पनि प्रदान गर्ने गर्छ । किनभने बालबालिकालाई समर्थनको निकै खाँचो हुन्छ ।

हरेक बालबालिकासँग आफ्नै प्रकारका क्षमता हुने गर्छन् । विद्यालयले त्यसको पहिचान गरेर त्यसै दिशामा उसलाई तिखार्नुपर्ने हुन्छ । विद्यालयले बालबालिकाको क्षमता अनुकुलको वातावरण दिनुपर्ने हुन्छ । हामी अधिकांशतः के पाउँछौँ भने सबै बालबालिकालाई एउटै खाले व्यवहार गरिराखिएको हुन्छ, जुन सर्वथा गलत हो । विद्यालयमा हामीले बालबालिकाको शारीरक, समाजिक, भावनात्मक र बौद्धिक विकासलाई निकै महत्वका साथ हेर्ने गर्छौँ । यी चार पाटाहरुमा कहीँ पनि कमी हुन पुग्यो भने बालबालिको समग्र विकास हुन सक्दैन ।

बालबालिकाको वृत्ति विकासमा शिक्षकको भूमिका कति महत्वपूर्ण हुन्छ ?

शिक्षकको भूमिका कति हुन्छ भनेर तपाईंले एउटा उदाहरणबाट बुझ्न सक्नुहुन्छ । जस्तै कुनै विषयमा घरमा सिकाइएको कुरा र विद्यालयमा शिक्षकद्वारा सिकाइएको कुरामा अन्तर पर्यो भने उसले घरमा आएर अभिभावकलाई यो हाम्रो सरले सिकाएको हो भन्छ । यो भनेको शिक्षकप्रति बालबालिकाको विश्वास हो । भलै यस्तो अवस्थामा बच्चा अलमलमा पर्छ तर शिक्षकले भनेको कुरा उसको दिमागमा छापिएको पनि हुन्छ । मलाई चाहिँ त्यसैले एउटा शिक्षकले बालबालिकालाई गर्ने व्यवहारले पनि त्यो बालबालिको व्यक्तित्व विकासमा भूमिका खेल्छ भन्ने गरेकी छु ।

बालबालिकाको व्यक्तित्व विकासमा त्यति धेरै महत्व राख्ने शिक्षकको सामाजिक सुरक्षाको विषय ध्यान दिन योग्य होइन र ? तपाईंलाई पढ्ने र पढाउनेहरु बीच लुप होल छ भन्ने लाग्दैन ?

आजको समाजमा शिक्षण पेसा निकै चुनौतीपूर्ण बन्न पुगेको छ । प्यासनेबल शिक्षकहरुको कमी छ । एउटा शिक्षक बन्नमा आर्थिकले भन्दा पनि उसमा कत्ति चासो र प्यासन छ भन्ने कुराले रिजल्टमा भूमिका खेल्छ । शिक्षक आफ्नो पेसामा कति रम्न सकेको छ भन्ने महत्वपूर्ण कुरा हो । शिक्षकले यदि म समाज बदल्न भूमिका खेल्ने मान्छे हुँ भन्ने हो भने शिक्षकले गर्न सक्ने धेरै छ । तर मैले प्यासन भएका शिक्षकहरु निकै कम देखेकी छु ।

भारतका शिक्षक गिजुभाइ शैक्षिक प्रणाली नै गलत रहेको तर्क औँल्याएका छन् । तपाईंको आफ्नो अनुभवले के बताउँछ ?

जब म शिक्षा, शिक्षण र बालबालिकाको क्षेत्रमा हुन्छु, त्यसबेला उहाँले भनेका कुराले मलाई निकै छुने गर्छ । जस्तै हामी बालबालिकालाई के बनाउन चाहन्छौँ, त्यसमै जोड दिइरहेका हुन्छौँ । त्यसैका लागि दबाब र वातावरण बनाउने गरेका हुन्छौँ । तर हामी के बिर्सन्छौँ भने ती बालबालिका हामीले जन्माएका मात्र हौँ । जब कि उसको आफ्नो पहिचान छ, क्षमता छ । मैले जन्माएको सन्तान भन्ने सोचभन्दा माथि उठेर हेर्ने हो भने ऊ देशको नागरिक हो । यसमा बालबालिको रुचि, क्षमता र सम्भावना एकातर्फ हुन्छ भने अभिभावकको अर्कोतर्फ । यी कुराहरुको बीचमा दूरी छ, जसले सिकाइमा अवरोध पु¥याइरहेको छ । त्यसैले बालबालिका हिजोआज दबाबमा छन् र उनीहरुलाई च्यालेन्ज पनि थपिएको छ ।

कस्ता च्यालेन्जहरु ?

प्रतिस्पर्धा निकै बढेर गएको छ । प्रविधिले गर्दा आजको भोलि हरेक कुरा परिवर्तन भइरहेका छन् । परम्परावादी र आधुनिकतावादीको बीचमा परेर हामी अलमलमा भए जस्तो लाग्छ । समाज न त पूरै परम्परावादी छ न पूरै आधुनिक, त्यसैले हामी सङ्क्रमणमा छौँ । त्यो सङ्क्रमणले बालबालिकामा अलमल निम्त्याएको मैले पाएकी छु ।

बाहिरबाट दिइने दबाब बालबालिको भविष्य निर्माणमा सकारात्मक हुन्छन् अथवा नकारात्मक ?

तिमी सानै छौ, तिमीलाई केको तनाव भनेर हामीले कहिले काहीँ बालबालिकालाई भन्ने गर्छौं । जब कि वास्तवमा त्यस्तो हुँदैन । यसो सोच्नुस् त– शिक्षकले गणित पढाएकै बेला गणित पढ्नुपर्ने ? अथवा नेपाली पढाएकै बेला नेपाली पढ्नुपर्ने ? यो भनेको बाहिरी दबाब हो । यो दबाब अनुशासन निर्माण गर्नका लागि बनाइएको हो । तर कालान्तरमा यही अनुशासन बालाबालिका लागि कठोर नियम बन्न पुग्दछन् र उसको स्वच्छन्द उडानका बाधक हुन पुग्दछन् । त्यस्तै घर, परिवार, समाज, विद्यालय, शिक्षक सबैले बालबालिकाबाट आफू अनुकुलको परिणामको अपेक्षामा झनै दबाब सिर्जना गर्ने गर्दछन् । यसले बालबालिकाको विकासमा चुनौती थप्ने गर्छन् ।

त्यति मात्र होइन, विशिष्ठ श्रेणी ल्याएर विद्यालयको नामसमेत राखिदिनुपर्ने हुन्छ । यसरी चल्दै गरेको शिक्षण संस्कारमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छैन ?

यस्तो संस्कारमा परिवर्तन ल्याउनै पर्नेछ । त्यसैले अक्षरा जस्तो विद्यालय खुलेको हो । गुरुकुल पद्धतिबाट बढेको शिक्षण प्रक्रिया आज डिजिटलमा आउदासमेत आत्मनिर्भर बन्न सकेको छैन । त्यसैले प्रोग्रेसिभ एजुकेसनको आवश्कता खड्किएको छ । हामीले प्रोगेसिभ एजुकेसनलाई स्वीकार नगर्ने हो भने हामी धेरै पछि हुन्छौँ ।

नेपालको शिक्षण विधि र पाठ्क्रमलाई पनि पुनरलेखन गर्नुपर्ने हो कि ?

सरकारले शिक्षामा जति ध्यान दिनुपर्ने हो, त्यति ध्यान नदिएकै हो । भविष्य निर्माताहरु विद्यालयमा छन्, विद्यालयलाई हेर्ने सरकारी दृष्टिकोण कमजोर छ ।

तर नेपालको पाठ्क्रम नराम्रो छैन । सरकारले निकै राम्रो पाठ्यक्रम बनाएको छ । यसमा कार्यान्वनयको कमी हो । यसको अनुगमन र मूल्याङ्कनको प्रक्रिया निकै कमजोर छ । हामी साना कुराहरुले गर्दा राम्रो नतिजा ल्याउन सकिरहेका छैनौँ । पाठ्क्रमलाई मात्र पछ्याउने हो र यसको उच्च अनुगमन र मूल्याङ्कन हुने हो भने हामीले आउने १०–१५ वर्षमा कायापलट गर्न सक्छौँ । हाम्रो शिक्षाको सबैभन्दा ठूलो अर्को कमजोरी भनेको हामी माटोसँग जोडिएनौँ ।

माटो सुहाउँदो शिक्षाका लागि के गर्नु पर्ला ?

माटो सुहाउँदो करिकुलम बनाउन अलिकति वर्क आउट गर्नुपर्छ । यसमा विभिन्न सिद्धान्तकारका आ–आफ्नै धारणा रहेको छ । जस्तै कसैले बालबालिका प्रकृतिबाट सिक्छन् भन्छन् भने कोही आइडिया पहिला आउने हुनाले बालबालिकालाई आइडिया सिकाउनुपर्नेमा जोड दिन्छन् । मलाई के लाग्छ भने हामीले कुनै एउटा फिलोसोफी बालबालिकालाई दिएर उसको पूर्ण निर्माण हुन सक्दैन । हुन त हामी आधुनिकताको नाममा ‘वेस्टर्न कल्चर’मा ‘डिक्लाइन’ भयौँ । हामीले हाम्रो दर्शनलाई बिर्सियौँ । हामीले हाम्रो दर्शन बिर्सेको हुनाले सिर्जनशीलता बिर्सेको हो । हाम्रा बालबालिकालाई माटोसँग जोड्न सक्यौँ भने विदेश जाने परम्परामा पनि न्यूनता आउने छ ।

भन्नुको अर्थ विदेश पढ्न गएकाहरु नेपाल फर्कन नचाहनु भनेको माटो सुहाउँदो शिक्षाको कमी हो ?

तपाईंले ठीक भन्नुभयो । हाम्रो शिक्षा किताबमा केन्द्रित भयो । यसलाई माटोसँग जोड्न सक्यौँ भने हामीले शिक्षामा फड्को मार्न सक्छौँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल