बहस : ‘महिलाको शरीरको दुरुपयोग कहाँ भएको छैन ?’

बहस : ‘महिलाको शरीरको दुरुपयोग कहाँ भएको छैन ?’

अधिकांश पुरुषले महिलालाई राम्री र नराम्रीको कोटीमा विभाजन गर्छन् । तर स्वयम् महिलाले आफूलाई अथवा आफ्नो वर्गलाई कसरी हेर्ने गर्छन् ? समाजमा र विश्वमा यो वर्गलाई हेर्ने दृष्टिकोण कस्तो छ ? हाम्रो समाजमा पुरुष र महिलाको निर्माण कसरी गरिन्छ ? अध्येता तथा विश्लेषक सावित्री गौतमसँग रातोपाटीका लागि नरेश ज्ञवालीले कुरा गरेका छन् ।

गौतमसँग गरिएको कुराकानी ‘नेपाली महिला र सङ्घर्ष, सुन्दरता र सौन्दर्य प्रशाधन, विवाह, परिवार र महिला, वेश्यावृत्ति र समाज, यौन उद्योग र महिला तथा डोनाल्ड ट्रम्प र महिला मार्च’ उपशीर्षकमा छन् ।

पाठकका लागि अन्तर्वार्ता लामो लाग्न सक्छ, तर बहसका लागि यो सामाग्री राखेका छौँ । 

नेपाली महिला र सङ्घर्ष

‘नेपाली महिला’ भनेको के हो र कुन–कुन तत्व तथा सामाजिक परिघटनाले यसको निर्माण हुन्छ ?

भूगोल, लिङ्ग र संस्कृतिको आधारमा नेपाली महिलाको निर्माण हुन्छ । नेपालको नक्साभित्र पर्ने ठाउँमा बस्ने स्त्रीलिङ्गी जति नेपाली महिला भए । नेपालमा बसेर नेपाली रहनसहन, जीवनशैली, भेषभूषा, संस्कृति र धर्मसमेत आदिको पालना गर्नेलाई पनि नेपाली महिला भन्न सकिन्छ । योबाहेक वर्षौंसम्म नेपालबाहिर बसेका, नेपाली नागरिकता नै त्यागिसकेका तर नेपाली रहनसहन पालना गरिरहने महिला पनि नेपाली महिला नै हुन् । किनभने भावनात्मक रुपमा उनीहरु नेपालमै हुन्छन् । त्यसमा उनीहरुले बनाउने खाना— गुन्द्रुक, मस्यौरा, योमरी, तोङ्बा तथा लगाउने— सारी—चोलोे, हाकुपटासी–बख्खु, तिलहरी र तीज, योमरी पुण्ही वा लोसारजस्ता चाडबाड सबै जोडिन्छन् ।

यसबाहेक शारीरिक, मानसिक, बाह्य र घरेलु हिंसाको सम्भावित खतरामा रहिरहने महिला पनि नेपाली महिला नै हुन् । यी सबैको बारेमा प्रश्न गर्ने, संस्कृति र रहनसहनको परम्परागत फ्रेम पालना नगर्नेे महिला पनि नेपाली महिला नै भए । जस्तै, आस्था राउतले गाएको गीत छ ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा… मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ ।’ यस्ता अरु धेरै आधार हुन सक्छन् ।

‘नेपाली महिला’को वर्तमान सामाजिक–राजनीतिक चरित्र के हो ?
सामाजिक— राजनीतिक चारित्र भन्नुको अर्थ ‘क्यारेक्टरस्टिकस्’ भन्न खोज्नुभएको होला । नेपाली महिलाको सामाजिक विशेषता भन्नेबित्तिकै मेरो दिमागमा इनहेरिटेड (विरासत) ज्ञान प्रचुर भएका तर शिक्षाको आवश्यक अवसर नपाएका, जुनसुकै काम गर्न सक्ने तर कामको रोजाइको अत्यन्त सीमित अवसर पाएका, मानसिक शारीरिक रुपमा अत्यन्त बलिया तर सधैंभरी कमजोर उपाधि दिइएका, संसार नै विजय गर्न सक्नेजस्तो आत्मविश्वास भएका तर हिँडडुलको स्वतन्त्रता निकै कम पाएका, आफूभित्र प्रशस्त विद्रोह वा प्रश्नहरु हुँदाहुँदै पनि परिवार वा समाजको कथित ‘शान्ति’ नखल्बलियोस् भनेर कैयौँपटक प्रश्न नगर्ने महिलाको चित्र आउँछ । तर, यो सर्वमान्य भने होइन ।

जस्तो कि नेपालमा पहरा फोरेर पुल बनाएका, बन्दुक बोकेर लडेका, विश्वविद्यालयमा प्राज्ञिक शोध गर्नेदेखि लिएर विज्ञानका प्रयोगशालाहरुमा अनुसन्धान गरिरहेका वा सर्वोच्च अदालतको इजलास सम्हालिराखेका सबैथरी महिला छन् । तर एसएलसी पास गरेपछि कलेज पढ्न नदिई परिवारद्वारा विवाह गर्न बाध्य पारिएका महिला पनि हाम्रै समाजमा छन् । राज्यको तहमा नेपाली महिलाको स्थान कहाँ छ भन्ने कुरा यसमा जोडिएर आउँछ । यो हिसाबले नेपाली महिला भनेका नेपाली नागरिकताधारी महिला भए । तर त्यो नागरिकता उसले निरपेक्ष वा निःशर्त प्राप्त गर्न सक्दिन । बाबुकी छोरी वा लोग्नेकी स्वास्नी भएको आधारमा मात्रै उसलाई प्राप्त हुन्छ । अर्थात् उसले म आफै ‘यो देशको नागरिक हुँ’ भन्न पाउँदिन । कसैले ‘हो’ भनिदिएपछि मात्रै बन्छे र उसले जन्माएको सन्तानले पनि त्यही नियति भोग्छ । त्यसैले नेपालको राज्य वा कानुनले नेपाली महिलालाई उनीहरुको सार्वभौमिकताबाट वञ्चित राखेको छ । राज्यको कानुनले उनीहरु सार्वभौम नागरिक हुन् भन्ने कुरालाई पूरै नकारेको छ ।

धेरै हदसम्म नेपाली महिलाको सार्वभौमिकता सामाजिक रुममा स्थापित हुन बाँकी छ । शिक्षा, रोजगारी, वैवाहिक स्वतन्त्रता, प्रजननको अधिकार, एकल मातृत्वको अधिकार, आफ्नो शरीरमाथि आफ्नै अधिकार, मल्टिटास्किङ भनिने महिलाको अतिरिक्त कार्यबोझ कम गरिनुपर्ने अवस्था, र आफ्ना सन्तानलाई निःशर्त नागरिकताको अधिकार जस्ता सबै आधारभूत अधिकारहरु स्थापित हुन बाँकी छ । यी सबै राज्य र समाजप्रदत्त हुनुपर्ने अधिकार हुन्, जो महिलालाई कसैसँग झगडा र लडभीड नगरी, घरबाट नभागी, प्रेम वा विवाह जस्ता मानवीय सम्बन्धहरुबाट वञ्चित नभइकन पनि, समग्रमा आफ्नो टाउकामा घमण्डी, उत्ताउली, छाडा, लोग्नेलाई हेप्ने, उद्दण्ड, विद्रोही, भाग्यमानी, साहसी वा बोल्ड नै किन नहोस् जस्ता पगरी नगुथीकनै प्राप्त हुनपर्ने अधिकार हुन् ।

अर्थात् बोल्न नसक्ने, दौडिन नसक्ने, आँखा देख्न नसक्ने, कान सुन्न नसक्ने महिला, ह्विलचेयरमा बस्ने वा आर्थिक विपन्नताका कारण अवसर खोज्न घर वा गाउँबाहिर जान नसक्ने महिलाका लागि पनि उत्तिकै आधारभूत र घरमै बसेर प्राप्त हुनुपर्ने अधिकार हुन् । कुनै महिलाले व्यक्तिगत सङ्घर्षको मूल्यमा, परिवार विशेषको हौसला वा विरोधमा, मानसिक शारीरिक तनाव भोगेर पनि यी सबै कुरा प्राप्त गर्लान्, त्यो बेग्लै कुरा हो । तर मैले जुन विषयमा कुरा गरिरहेकी छु, त्योविना कुनै सङ्घर्ष पाउनुपर्ने न्यूनतम सार्वभौमिक अधिकार हो । एकल आमा बन्ने जस्तो अधिकार प्रयोग गर्ने महिला पनि छन् तर आम नेपाली महिलामा उत्तिकै लड्ने क्षमता, कानुनी प्रक्रियाबारेका जानकारी वा स्रोतको पहुँच वा आत्मविश्वास नहुन सक्छ । जबरजस्ती लडभीड गरेर व्यक्तिगत रुपमा अवसर वा अधिकारको प्रयोग गर्ने काम कति पुस्ता लम्ब्याउने । अब त स्थापित हुनुपर्यो भनेको ।

यो भनेको कुनै एउटा डेङ्गु वा मलेरियाग्रस्त बस्तीमा गएर झुल ओढेर सुत्नुजस्तै हो । बस्ती त रोगग्रस्त छ नै, तपाईं आफै पनि झुलबाहिर कुनै बेला त निस्कनै पर्छ । भनाइको अर्थ व्यक्तिगत रुपमा हामी जति सीपयुक्त र सशक्त भए पनि राज्य र समाजमा महिलाको समग्र जनसङ्ख्या (टाठाबाठा वा सशक्तदेखि साधारण भनिने सबै) को सार्वभौमिकता स्वीकार्य नहुन्जेल त्यो उपलब्धि अपूरो रहन्छ । राज्यले हामीलाई हेर्ने एटिट्युड नै हेपाइयुक्त रहुन्जेलसम्म त्यो सार्वभौमिकता प्रमाणित हुँदैन । अहिलेलाई यसको सबैभन्दा ठूलो र बलियो उदाहरण महिलालाई निःशर्त नागरिकताको अधिकारबाट वञ्चित राखिनुु नै हो । त्यसैले नेपाली महिलाको सामाजिक राजनीतिक विशेषतालाई एकै वाक्यमा समेट्ने हो भने उनीहरुलाई असार्वभौमभन्दा सबै समेटिन्छ । महिलाले जिन्स लगाए, अङ्ग्रेजी बोले वा गाडी चलाउन थाले, ‘लिभ—इन रिलेसन’मा बस्न थाले जस्ता कुराले यो असार्वभौमिकतालाई छोप्न सक्दैन । सार्वभौमिकता वा सार्वभौमसत्ता सम्पन्न भन्ने शब्दको चस्मा लगाएर हेर्नासाथ नेपाली महिलाको सामाजिक राजनीतिक विशेषता सार्वभौमसत्ता प्राप्त नभएका वा असार्वभौम नागरिक हुनु नै हो ।

‘नेपाली महिला’को सङ्घर्षलाई कसरी हेर्नुभएको छ ? नेपाली महिलाको सशक्तीकरणमा जनयुद्ध कस्तो परिघटना हो ?

नेपाली महिला आन्दोलन भन्ने शीर्षकलाई म रिजर्भेसनसहित स्वीकार गर्छु । नेपालमा महिलाकै नामबाट कुनै आन्दोलन भए भन्ने म ठान्दिनँ । भए पनि ती रेकर्डेड भएनन् अथवा यस्ता अभियानमा सञ्चालकहरु बीच नै ग्याप रह्यो । योगमायाको आत्महत्या महिला आन्दोलनको सुरुवात वा महत्वपूर्ण कडी थियो । तर योगमायाको आन्दोलन आधारभूत रुपमा राणाशासन विरुद्धको आन्दोलन नै थियो । यद्यपि उहाँ बालविधवा हुनुहुन्थ्यो र त्यो बेलामा पुनर्विवाह गर्ने जस्तो दुस्साहसी मानिने काम पनि गर्नुभएको थियो । यदि योगमायाको त्यही विद्रोहको जगमा टेकेर नेपालमा केही महिलाकै नामका सैद्धान्तिक वा व्यावहारिक आन्दोलन निरन्तर भएका भए पश्चिमको नारीवादी आन्दोलनसँगै जोड्न सकिने थियो होला ।

उता (पश्चिम)का महिलाहरुले महिलाकै विभिन्न अधिकारका लागि सडकमा निस्केर प्रदर्शन गरे । त्यसलाई सैद्धान्तिकीकरण गरियो जसलाई हामी फेमिनिज्मको नामबाट चिन्दछौँ । नेपालमा भने केही महिला वा उनीहरुका परिवारले व्यक्तिगत रुपमा सशक्तीकरणका प्रयासले उदाहरण प्रस्तुत गरे र सर्वसाधारणमा पनि त्यो फैलँदै गयो । जस्तो बी.पी. कोइरालाका घरका छोरीबुहारीलाई कृष्णप्रसाद कोइरालाले घोडा चढ्न पठाउने गर्थे । धर्मरत्न यमीले आफ्ना छोरीहरुलाई इन्जिनियर बनाए । सहाना प्रधान स्कुल पढ्न जाँदा उनीहरुका छिमेकीले काठमाडौंका झ्यालझ्यालबाट हेर्थे जस्ता कुरा हामीले पढ्छौँ । यी कुराहरुले सर्वसाधारणलाई छोरीहरुलाई शिक्षित गर्न प्रेरित गर्ने वा हिम्मत दिने काम चाहिँ गर्यो र केही सम्भ्रान्त परिवारले व्यक्तिगत जोखिममै परिवारका छोरी—बुहारीलाई शिक्षा वा अन्य अवसर प्रदान गर्ने काम गरे ।

हो, व्यवस्था परिवर्तनका आन्दोलन भने बारम्बार भए । जसरी समाजका अन्य समुदायले पनि व्यवस्था परिवर्तनसँगै आफ्नो स्थितिमा पनि परिवर्तन आउला भनेर आश गर्दै गए । हामीले पनि पुस्तापिच्छे त्यसरी नै आश गर्दै गयौँ । व्यवस्था परिवर्तनका आन्दोलनमा नीति निर्माण तहबाट केही सैद्धान्तिक सुधार हुँदै पनि गए । हरेक व्यवस्था परिवर्तनसँगै महिलाहरुले पनि सङ्गठित भएर समयसापेक्ष अधिकारका माग गर्दै गए । जस्तो कि २००७ सालपछि भएको पहिलो चुनावमा काठमाडौँमै महिलाहरुलाई मताधिकार प्राप्त थिएन । त्यतिबेला द्वारिकादेवी ठकुरानी, मङ्गलादेवी सिंह र सहाना प्रधानहरुले गरेको लडाइँ विस्तारै पुस्तापिच्छे अर्को चरणमा प्रवेश गर्दै आज सुरक्षित गर्भपतनको अधिकारदेखि पैतृक सम्पत्तिमा दाबीसम्मको चरणमा पुग्यो ।

आज हरेक क्षेत्रमा महिलाको समानुपातिक सहभागिताका लागि उठाएको आवाजदेखि ‘अकुपाई बालुवाटार’सम्मका प्रदर्शनहरु सबै उहाँहरुले गरेका आन्दोलनकै जगमै उभिएका छन् । यसमा बिर्सनै नहुने दुई जनाको नाम छ । वि.स. २०६६ सालको ‘मन्दिर प्रवेश आन्दोलन’का प्रणेता मिठाइदेवी विश्वकर्मा र मोतीमाया कपाली । जसको सशक्त अगुवाइले पशुपतिनाथ मन्दिर प्रवेशद्वारमा अङ्कित गरिएको ‘दलितलाई प्रवेश निषेध’ भन्ने सूचना हटाएर मन्दिर प्रवेश गर्न सफलता हासिल गर्यो ।

जनयुद्ध महिलाको सशक्तीकरणका लागि अत्यन्त महत्वपूर्ण कालखण्ड थियो । सबभन्दा प्रमुख कुरा त यसले नेपाली समाजमा प्रचलित ‘बायोलोजिकल जेन्डर आइडियोलोजी’लाई परिवर्तन गर्ने कोसिस गर्यो । समाजमा पुरुष भनेको बहादुर र महिला भनेको कोमलता भन्ने धारणा थियो । महिलाका लागि वर्जितजस्तै मानिएको बन्दुक बोकेर महिनौँ, वर्षौं लडाइँ गर्नुपर्ने, ठूलो शारीरिक शक्ति प्रदर्शन गर्नुपर्ने क्षेत्रमा महिलाको प्रवेशले पुरानो स्थापित मान्यताको जग भत्काइदियो । यद्यपि यो वर्षौंसम्मको थिचोमिचोका कारण महिलाले देखाएको स्वाभाविक प्रतिक्रिया थियो वा लडाकु बन्ने भित्री चाहना ? भन्ने आलोचनात्मक प्रश्न सुनिएका छन् । सन्तानका आमा बनिसकेर पनि लडिरहेका र ‘मर्न–मार्नका लागि तयार’ हरुको त्यतिबेलाको मनस्थितिको पाटो छलफलमा आउनै बाँकी छ ।

अर्को महत्वपूर्ण कुरा, त्यो कालखण्डमा ठूलो सङ्ख्यामा पुरुषहरुले घर छोडे । दोस्रो, गाउँमै भएका पुरुषहरु पनि खुलेर सामाजिक गतिविधिमा भाग लिन हिचकिचाए । महिलाहरुलाई घर धान्नुका साथमा आफ्ना पतिकै प्रतिनिधित्व गरेर विभिन्न सामाजिक, सांस्कृतिक गतिविधिमा सामेल हुनुपर्ने अनिवार्यता आइपर्यो । यही कारण त्यो कालखण्डमा महिला समूहको स्थापना सबैभन्दा बढी भयो । अतिरिक्त कार्यबोझ निकै बढ्यो महिलालाई । तर अतिरिक्त कार्यबोझकै साइड इफेक्टका रुपमा केही सकारात्मक परिवर्तन पनि देखियो । जतिसुकै लजालु र अन्तर्मुखी महिला पनि महिला समूहका सदस्य बने र समूहका साथीहरुसँग खुल्न थाले । आज हामी देख्न सक्छौँ, बाटो, पुल बनाउने, सामूहिक खेती गर्ने, बचत समूह गठन गर्नेजस्ता काम गरेर उनीहरु शारीरिक र आर्थिक रुपमा सशक्त पनि भएका छन् । समूहकै भ्रमण कार्यक्रममार्फत देश घुम्न थालेका छन् । गाउँ विकास समितिमा गएर महिलाहरु हाम्रो नाममा आएको बजेट खै भनेर सोध्न सक्ने भएका छन् ।

महिला अधिकारका पक्षमा सङ्घर्ष गर्ने राजनीतिकर्मी र उनीहरुको मुद्दामा वकालत गर्ने एनजीओकर्मीमा भिन्नता र समानता पाउनुहुन्छ ?

एनजीओकर्मी महिलाले अधिकारका विषयमा संस्थागत भएर आवाज उठाउने हुन् । अझ नेपालमा त महिला सशक्तीकरण भन्ने प्रक्रिया नै विकासमा महिला अवधारणा अर्थात् एनजीओमार्फत सुरु भयो भन्न मिल्छ । पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित अवस्थामा रहेकाले पनि विकासमा महिलाको अवधारणामार्फत महिलाको व्यक्तिगत व्यावसायिक क्षमता अभिवृद्धि र उनीहरुलाई अधिकारसम्पन्न बनाउने कोसिस भयो । अधिकारका विषयमा यी काम हुन बाँकी छन् वा यहाँनिर यो कुरा अन्यायपूर्ण भयो, यतियति कानुनी कारबाही गरिनुपर्छ भन्ने बारेमा एनजीओकर्मी महिलाले संस्थागत रुपमा आवाज उठाउने वा सडकमा प्रदर्शन नै गर्नेसम्मको काम गरेर नीतिनिर्मातालाई दबाब दिन सक्छन् ।

जबकि राजनीतिकर्मी महिला, जो नीति निर्माण तहमा सांसद वा सरकारमा प्रतिनिधित्व गर्दछन्, उनीहरु सीधै नीतिनिर्माण तहमा के भइरहेका छन् वा के गर्न सकिन्छ भन्ने स्थानमा हुन्छन् । कैयौँपटक हस्तक्षेप गर्न सक्ने स्थानमा पनि हुन्छन् । सङ्गठित भएर अधिकारका मुद्दालाई नीति निर्माणको तहमा समावेश गर्न पनि सक्छन् । जस्तै ३३ प्रतिशत महिला सहभागिताको कुरामा आवाज उठाउने अधिकारकर्मीको तर्फबाट उठेको आवाजलाई नीति निर्माण तहमा समेट्न कोसिस गरेर अर्को उचाइमा लैजान राजनीतिकर्मी महिलाको योगदान रह्यो । सुरक्षित गर्भपतनका कुरा, हिंसाविरुद्धको अभियान वा महिला सुरक्षा गृहको स्थापनाका लागि पहल गर्ने काम एनजीओकर्मीकै सक्रियतामा भए ।

हालसालै देवानी कानुन संशोधनको विरोधमा पनि एनजीओकर्मी महिलाले सङ्गठित भएर विरोध गर्ने, प्रदर्शनहरु गर्ने वा लेख लेख्ने काम गरिरहे । तर ती कुरा नीति निर्माण तहमा समेटिन सकेन भने त्यो आवाजमै सीमित रहन्छ । त्यसमा राजनीतिकर्मीको हात रहन्छ । सबैभन्दा ठूलो समानता दुवैथरी महिलाले सर्वसाधारण महिलाभन्दा बढी मुखर रुपले अधिकारका मुद्दा उठाउन सक्छन् । किनभने उनीहरुसँग संस्थागत तागत हुन्छ । तर दुवैथरी एक प्रकारको परिधिमा बा“धिएका हुन्छन् । एनजीओकर्मीको आफ्नो कार्यक्षेत्र र क्षेत्राधिकार हुन्छ । अब कुनै क्षेत्रमा हेर्नै नसकिने गरी कुनै अधिकारको हनन् भएको छ, तर उनीहरुले काम गरिरहेको एनजीओको कार्यक्षेत्र वा क्षेत्राधिकार त्यो विषयको पदैन भने त्योभन्दा बाहिर गएर उनीहरुले बोल्नसमेत मिल्दैन ।

कैयौँपटक अधिकारका मुद्दा उठाउने एनजीओका श्रव्यदृश्य कार्यक्रममा बोलाउ“दा हामीलाई ‘पत्रिकामा लेखेजस्तै गरी कडासँग नबोलिदिनुहोला है’ भन्छन् । यो उनीहरुको सीमा हो । त्यस्तै राजनीतिकर्मी महिलाहरुको पनि आफ्नैखाले सीमा हुने गर्दछन् । उनीहरु आफ्नो पार्टीको नीतिभन्दा बाहिर गएर बोल्न वा काम गर्न मिल्दैन । अब कैयौँपटक आफ्नो दलले संसदको बैठक बहिष्कार गर्दा महिला सांसद पनि सँगै बाहिरिरहेका हुन्छन् । जबकी ‘हैन मैले महिलाका यतियति कुरा उठाउनु थियो’ भनेर बस्न मिल्दैन । त्यस्तो आफ्नो स्वविवेकले केही गरे पार्टीले गर्ने अनुशासनको कारबाही गर्न सक्छ । त्यसैले उनीहरु चाहेजति स्वतन्त्र हुन सक्दैनन् र सम्बन्धित पार्टीको ‘माउथपिस’ मात्रै बनिरहेका छन् ।

मुलुकी ऐनदेखि नयाँ संविधानसम्म आइपुग्दा नेपाली महिलाले कुन अवस्था पार गरेको ठम्याउनुभएको छ ?

सामाजिक रुपमा उनीहरुको अवस्थामा प्रशस्त सुधार आएको भन्न सकिन्छ । महिलाहरुको साक्षरता दरमा निकै ठूलो परिवर्तन आएको छ । उनीहरुको भेषभूषामा विविधता देखिन थालेको छ । देशका सबै भूभागमा शिक्षा र रोजगारीको समान अवसर भइनसके पनि अवसर प्राप्त भएका ठाउँहरुमा किशोरी र युवतीहरुले पढ्नका लागि छान्ने विषय र कामहरु पनि विविधतायुक्त छन् । समाजका हरेक वृत्तमा पहिलाभन्दा महिलाको उपस्थिति बाक्लो देखिन्छ । चाहे त्यो कुनै प्राज्ञिक निकाय होस् वा पब, डिस्को वा पार्टी प्यालेसजस्ता सार्वजनिक स्थान वा गाउँघरमा महिला समूह, गाविस भवन वा टोल विकास समितिले गर्ने विभिन्न कार्यक्रमहरुमा । विशेषगरी छैठौँ पञ्चवर्षीय योजनापछि विकासमा महिला अवधारणा अन्तर्गत छुट्टै परिच्छेद बनाएर कामहरु हुँदै आएपछि र सन् १९९५ मा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको स्थापनापछि लैङ्गिकताका अवधारणाहरु झन् मुखरताका साथ भित्रिए ।

त्यसपछि सिद्धान्तमा र व्यवहारमा पनि लैङ्गिक संवेदनशीलता अपनाउनका लागि नीति निर्माण तहबाटै पनि प्रशस्त काम भएका छन् । कम्तीमा केही सीमित व्यक्तिहरुकै बीच किन नहोस्, कुनै पनि व्यवहार वा बोलीचाली गर्नुअघि वरिपरिका महिलाको उपस्थितिलाई याद गरिने प्रचलन आएको छ । छात्राहरुका लागि शैक्षिक छात्रवृत्ति, सरकारी गैरसरकारी रोजगारीमा महिलालाई दिइएको प्राथमिकता, सरकारी वा सामुदायिक सङ्घसंस्था वा जनप्रतिनिधिको रुपमा महिलाको उपस्थितिको अनिवार्यता, सरकारी कार्यालयहरुले पालना गर्नैपर्ने जेन्डर रेस्पोन्सिब बजेट वा जेन्डर बजेट अडिटिङदेखि, मातृशिशु स्याहारका कार्यक्रम र सवारी साधनमा आरक्षित सिटदेखि राजनीतिमा महिलाको ३३ प्रतिशत सहभागिता र आजको नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भएको जस्तो अभूतपूर्व कालखण्ड जस्ता सबै कुरा यसभित्र पर्छन् ।

तर मैले माथि नै भनेको जस्तो महिलाको आधारभूत सामाजिक अवस्थामा परिवर्तन भने आइसकेको छैन । पोषणमा, शिक्षामा, रोजगारीमा, पुँजीमा, सम्पत्तिमा महिलाको पूर्ण अधिकार छैन । नियन्त्रण त झन् हुने कुरै भएन । गरिबी वा कृषिको महिलाकरण र महिलाविरुद्धको हिंसा घना रुपमा बाँकी नै छ । राजनीतिक रुपमै पनि महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको कुरा उम्मेदवारीमा मात्रै सीमित छ । जसबाट जितेर आउनेको सङ्ख्या निकै न्यून हुन्छ र उनीहरुको आवाज हामीले खोजेजति मुखर हुन सक्दैन ।

महिलाको आँखामा नयाँ संविधान कति प्रगतिशील छ ?

तपाईं कुनै सुन्दर घर बनाउँदै हुनुहुन्छ । घरका लागि नगरपालिका वा गाविसबाट सबै आवश्यक प्रक्रिया पूरा गरिसक्नुभयो । घरका भित्ता, झ्याल, ढोका, कोठा, भान्सा सबै कुरा आफ्नो छनौटका, डिजाइनका बनाइसकेपछि अन्तिममा तपाईंलाई नगरपालिका वा गाविसले छाना छाउने अनुमति दिँदैन । त्यतिबेला कस्तो लाग्छ ? त्यो घरमा छिर्ने कि नछिर्ने ? ‘यति त पाइस् नि, अब छाना भन्ने कुरा भन्दाभन्दै कहाँ पाइन्छ ? विस्तारै हुन्छ’ भनेर कसैले भन्यो भने कस्तो लाग्छ ? मेरो नजरमा नयाँ संविधान त्यही हो । महिलाका धेरै अधिकारलाई स्थापित गरिएको छ भनेर जतिसुकै भनिए पनि मेरो नजरमा ती ‘धेरै अधिकार’ उही घरका भित्ताजस्ता हुन् र आमाको नामबाट सन्तानलाई निःशर्त नागरिकता दिने प्रावधान नहुनु छाना छाउन नदिएजस्तै हो ।

अन्तरिम संविधानले एक कदम अगाडि पुर्याएको महिलाको अधिकारका मुद्दालाई नयाँ संविधानले दुई कदम पछाडि धकेलिदिएको छ । नयाँ संविधानले महिलालाई पुरुषजत्तिकै सार्वभौम नागरिकका रुपमा समेत स्वीकार गरेको छैन । यसले समाजमा प्रचलित ‘छोरीमान्छे– अर्काको घर जाने जात’ भन्ने भनाइलाई संस्थागत गर्छ । नयाँ संविधान जारी भएको दुई हप्ता जति अवसादका कारण म शिथिल भएँ । देशको संविधानले हामीलाई कोखबाहेक केही ठानेन । यो कुरा कति पीडादायी होला ? तपाईं अनुमान गर्न सक्नु हुन्छ ? जबकि व्यवस्था परिवर्तनका हरेक लडाइँमा महिलाले सक्रिय भूमिका निर्वाह गरेका छन् । आज व्यवस्था परिवर्तनका उपलब्धिहरुमा उनीहरुलाई हिस्सेदार नबनाइनु कति अपमानजनक होला ।

संविधानसभाको पहिलो चुनाव भएको बेला मेरो छोरा ५ वर्षको थियो । त्यतिबेला म केमा आशावादी थिएँ भने मेरो सन्तानले मेरै नामबाट नागरिकता पाउनेछ । ऊ हुर्कंदै गरेका वर्षहरुमा म उसँग यसबारे गफ गर्थेँ । हामी यहाँसम्म कसरी आइपुग्यौँ भन्ने बारे म ती कुराहरु उसलाई सुनाउने गर्थेँ । त्यतिबेला हामीले गर्ने गफहरु पूरै आशा र उत्साहका हुन्थे । अहिले ऊ १४ वर्षको भयो । नागरिकता लिन २ वर्ष मात्र बाँकी छ । तर आज हामी कहाँ छौँ ? त्यसैले नयाँ संविधानका बारेमा जतिसुकै फूलबुट्टा गाँसेर गफ गरिए पनि यो संविधान मेरो नजरमा एक प्रतिशत पनि प्रगतिशील छैन ।

सुन्दरता र सौन्दर्य प्रसाधन

महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने– सुन्दर र कुरुप, कमजोर र बलशाली भन्ने धारणा हाम्रो मस्तिष्कमा कसरी निर्माण हुनेगर्छ ? टोलिभिजन, रेडियो र पत्र–पत्रिकाहरुमा फलानो क्रिम लगाउनुस् र हप्ता दिनमा गोरो हुनुस् भनेर विज्ञापन आइरहेका हुन्छन् । समाजमा सुन्दरताका मानकहरु जसरी विकसित गरिए त्यसको समाजशास्त्रीय विश्लेषण के हो ?

एकल वैवाहिक व्यवस्थाका कारण विस्तारै महिलाहरु घरभित्र समेटिन थाले र पुरुषहरु काम वा शिकारको खोजीमा टाढाटाढा जान थाले । सन्तान उत्पादन र उसलाई हुर्काउनेजस्तो विशिष्ट प्राकृतिक जिम्मेवारीका कारण महिलाले घरभित्र धेरै समय बिताउन थालेसँगै महिलाहरु कमजोर भए र घरबाट निस्कन नसकेको भन्ने धारणा स्थापित हुँदै गयो । बलियो र कमजोरको अवधारणा यहीँबाट विकसित भयो । इतिहासको अध्ययनमा राजा महाराजाहरुले राज्य विस्तारको क्रममा जुन राज्य जित्यो त्यहीँकी राजकुमारी बिहा गरेर फर्केको देखिन्छ । त्यसकारण पहिली पत्नीले राजालाई आफूप्रति आकर्षित पारिराख्न पनि रुपरङको बढी स्याहार गर्नुपर्ने भयो । यो शक्तिको राजनीति भयो । राजा सबभन्दा शक्तिशाली, राजाकी प्यारी रानीले पनि त्यही अनुपातमा शक्ति प्राप्त गर्ने । यो कुरा ‘प्रजा’मा पनि स्वाभाविक रुपमा लागू हुने भयो । परिवारमा लोग्ने शक्तिशाली, उसलाई रुपकै भरमा भएपनि ‘रिझाइराखे’ शक्तिहीन हुन नपर्ने भन्ने मनोविज्ञान हुनसक्छ ।

केही ऐतिहासिक पौराणिक कथाहरु पढ्दा वा तिनैमा आधारित टेलिभिजन सोहरु हेर्दा लाग्छ पुरानो समयमा महिला मात्र होइन पुरुषहरुका लागि पनि सौन्दर्य प्रसाधनका सामग्रीहरु बनाइन्थे । उनीहरुले प्रयोग गर्थे जुन आज पनि बनाइन्छन् । सुन्दरताका मानकहरु पुरुषका लागि पनि छन् । बजारमा फेयर एन्ड लभ्ली मात्र होइन फेयर एन्ड ह्यान्डसम क्रिम पनि बिक्छ । ब्युटी पार्लरका साथमा ह्यान्डसम पार्लर पनि छन् । यतातिर गोरो हुनेजस्तैै पश्चिममा ब्राउन हुने क्रिम बिक्छन् । त्यसैले सौन्दर्यका मानकहरु भूगोलको आधारमा पनि निर्धारित हुन्छन् । पुरुषका लागि पनि अग्ला वा बलिष्ठ (म्यास्कुलिन), टल डार्क ह्यान्डसम जस्ता विशेषणहरु प्रचलित नभएका होइनन् । यसको प्रभाव उनीहरुको जीवनमा पनि पर्छ । तर यसको घनत्व महिलाको तुलनामा कम चाहिँ पक्कै छ ।

राम्रो हुने दबाब पुरुषलाई तुलनात्मक रुपमा कम हुनु उनीहरुको हातमा भएको सीप वा पैसा कमाउने क्षमता हो । गाउँघरमै तपाईं हामी सुन्छौँ बिहे गर्ने बेला कुनै केटाको शारीरिक अवस्थितिबारे चित्त नबुझाएकी केटीलाई आफन्तहरु सम्झाउँछन् ‘कमाएर खुवाइहाल्छ नि, रुप चाट्ने हो र ?’ भन्नुको अर्थ पुरुष शिक्षित छ । सीपयुक्त छ । पैसा कमाएर खुवाउन सक्छ । त्यसैले छनौटको अधिकार उसको हातमा छ । ऊ ‘राम्रो’ नभए पनि हुन्छ । पुरुषमा आश्रित भएकीलाई भने रिझाउनकै लागि पनि ‘राम्री’ हुनुपर्छ । तर समाजका सबै पुरुष वा महिलाले यी सबै प्रयोग गर्छन् भन्ने छैन । आजभोलि सौन्दर्यका यस्ता परम्परागत मान्यताहरु प्रशस्त भत्किन थालेका छन् ।

भारतमा गोरो हुने क्रिमका विज्ञापनमा काम गर्न नमानेर कंगना रनावतजस्ता अभिनेत्रीहरुले यस्ता क्रिम बनाउने कम्पनीहरुलाई आलोचनाको भुइँमा नराम्ररी लतारिदिइन् । फिल्मस्टारको बोली बिक्ने भारतजस्तो ठाउँमा यसको सामाजिक असर पनि व्यापक भयो । केही वर्षअघि त्यही नै गोरी भएर जागिर पाएको भनेर देखाइएको एउटा विज्ञापन त प्रतिबन्धित नै भयो । नेपालमै पनि कस्मेटिकको भन्दा व्यक्तित्वको ‘क्वालिटी’ बढी चम्किलो हुन्छ भन्ने प्रशस्त चेतना युवतीहरुमा आइसकेको छ । उनीहरु यस्ता क्रिमभन्दा बढी व्यक्तित्व विकासका अन्य काममा बढी सक्रिय देखिन्छन् । अब महिलाले पनि ‘रुप चाट्ने हो र ?’ भनेर कुनै ‘हुनेवाला दुलहा’लाई नसोध्लिन भन्न सकिँदैन ।

सुन्दरी प्रतियोगितालाई महिला अधिकारवादीहरु विश्व स्तरमै आलोचना गर्ने गर्छन् । सुन्दरी प्रतियोगिताको आयोजना गर्ने मूल उद्देश्य के हो ? के यसको साइनो सौन्दर्य प्रसाधन कम्पनीहरुसँग गाँसिएको छ ?

म किशोरी हुँदा यस्ता सौन्दर्य प्रतियोगिता खुब चासो दिएर कुन दिन आउँछ भनेर बसेकी हुन्थेँ र हेर्थेँ । विशेषगरी सुस्मिता सेन, ऐश्वर्या रायजस्ता भारतीय युवतीले विश्वस्तरका सुन्दरी प्रतियोगिता जितेपछि मेरो चासो चुलिएको थियो । प्रतियोगिता आयोजकहरुले र प्रतिस्पर्धीहरुले पनि महिलाको व्यक्तित्व विकास हुन्छ भन्ने दाबी गर्थे । म पत्याउँथेँ । तर एकपटक मिस वल्र्ड प्रतियोगिता हेरिरहँदा एउटा कुरा देखेर जिल परेँ— मिस वल्र्ड प्रा.लि. का अध्यक्ष र सहअध्यक्ष भनेर एक दम्पतीलाई स्टेजमा बोलाइयो । ए… यो त व्यापार पो रहेछ भन्ने थाहा पाएँ । केही विरोध प्रदर्शन पनि देख्थेँ तर मलाई त्यसबारे चासो वा जानकारी थिएन । तर पछि थाहा पाएँ– सौन्दर्य प्रतियोगिता व्यापार नै हो ।

जस्तो सन् २००० को दशकमा भारतका सुस्मिता सेन, ऐश्वर्या राय, डायना हेडेन, युक्ता मुखी, लारा दत्ता, प्रियङ्का चोपडाहरुले लगातार जित्दाखेरी भारत अब विश्वबजारप्रति खुला भएको छ र यसैको फाइदा उठाउनका लागि र सौन्दर्य प्रशाधनको बजार विस्तारका लागि भारतीय युवतीहरुलाई जानीबुझीकन जिताइएको हुनसक्छ भन्ने चर्चा भएकै हो । यसबाहेक यो एउटा इभेन्ट हो । जस्तो अरु ‘रङ्गारङ्ग’ भनिने साङ्गीतिक वा नृत्यका कार्यक्रम वा कन्सर्टहरु दर्शकले टिकट काटेर हेर्छन् र आयोजकलाई नाफा हुन्छ, यो पनि त्यस्तै हो । त्यसमाथि यसमा त महिलाको शरीर नै प्रदर्शन हुन्छ । सो बिजनेस त्यसमा पनि महिलाको शरीर सो गरेर गरिने बिजनेस । त्योभन्दा बढी नाफाको बिजनेस अरु के होस् ।

सुन्दरी प्रतियोगिताबाट विजित सहभागीको आत्मगौरव तत्क्षण त उँचो हुन्छ होला तर त्यसबाट हार्नेहरुको मनोभावनाबारे तपाईंले केही अध्ययन गर्नु भएको छ ?

जित्नेले कुनै ठूलै कारनामा गर्छन् जस्तो मलाई लाग्दैन । हो, उनीहरुलाई आर्थिक रुपमा भने फाइदा हुन्छ । जस्तो कि सन् १९९७ कि मिस वल्र्ड भारतकी डायना हेडेनले सुन्दरी प्रतियोगितामा किन भाग लिएको भनेर सोध्दा ‘मिस वल्र्ड भएबापत पुरस्कारमा पाइने एक लाख डलरका लागि’ भन्ने जवाफ दिएकी थिइन् । तर हार्नेहरुले पनि ‘ओहो खुब ठूलो उपलब्धि गरेँ, धेरै कुरा सिकेँ, देश घुमेँ’ नै भनिराखेका हुन्छन् । अब उनीहरुले नै त्यसो भनेपछि हामीले होइन तिमीहरुको मनोविज्ञान बिग्रेको छ कसरी भन्नु । जितेकाहरुलाई पनि कति समयसम्म आफ्नो तौल १ ग्राम पनि बढाउन नपाउने वा आयोजकको अनुमतिबिना कतै यात्रासमेत गर्न नपाउने आदि अनुबन्धहरु हुन्छन् । अब महिलाको स्वतन्त्रता, सब्स्ट्यान्स जस्ता कुरा खुब उठाइने यस्ता प्रतियोगिताका आयोजकहरु वा सहभागीहरु यसबारे भने मौन रहन्छन् ।

प्रतियोगिता जितेबापत प्राप्त हुने मोडलिङ, फिल्मका अफर, घुमघाम र चमकदमकयुक्त जीवनशैलीले शायद सहभागीहरुको मुख बन्द राख्छ । अर्को तरिकाले भन्दाखेरि धेरै पैसाले उनीहरुको मुख टालिएको हुन्छ । यो बाहेक सुन्दरी प्रतियोगिताको औचित्यकै बारेमा उठाउन मिल्ने प्रश्नहरु नै अनगिन्ती छन् । जस्तो विश्वस्तरको प्रतियोगितामा जानुअघि नै उनीहरु राष्ट्रिय प्रतियोगितामा जितेर गएका हुन्छन् । त्यसका लागि उनीहरु कति महिना वा वर्ष पातली देखिनका लागि खानेकुरा नखाई बस्छन् र पोषणबाट वञ्चित रहन्छन् । शरीरका लागि अत्यावश्यक पोषक तत्वका अभावले उनीहरुको शरीर निर्माण (जुन एक दिनको प्रक्रिया होइन) मा कति नकारात्मक असर पर्छ ? रक्तअल्पताजस्ता समस्या भोग्ने ‘सुन्दरी’ कति होलान् ? भविष्यमा उनीहरु गर्भवती वा सुत्केरी हुने बेला के असर पर्छ ? जस्ता अनगिन्ती प्रश्न छन् ।

एकपटक नेपालकै सुन्दरी प्रतियोगिता हेर्दैगर्दा निर्णायकहरुले युवतीहरुको कपाल समातेर केस्राकेस्रा केलाएको देखेँ । सायद त्यो ‘ब्युटिफुल हेयर कन्टेस्ट’ थियो । त्यो देखेर मलाई विरक्त लाग्यो । त्यसैगरी मुस्कानका लागि वा बिच—वेयरमा को सबभन्दा राम्री देखिन्छे वा फोटोमा को राम्री आउँछे भन्नेजस्ता प्रतियोगिता पनि हुने गर्छन् । जबकि यी सबै जन्मजात र प्रकृतिप्रदत्त कुरा हुन् । यिनको आधारमा कसैलाई कम वा बढी नम्बर दिइनेजस्ता प्रतियोगिता आफैंमा वाहियात हुन् । कसैको कपाल वा मुस्कानको आधारमा मूल्याङ्कन गरिनु त वस्तुकरणको सबैभन्दा निकृष्ट उदाहरण हो । यसले सुन्दरता वा व्यक्तित्वका एकात्मक मान्यताहरुलाई प्रवद्र्धन गर्छ । बिचवेयर जस्ता प्रतियोगिता राखिनाले त स्विमसुट वा बिकिनी लगाउन पातली नै हुनुपर्छ भन्ने मान्यता स्थापित गरिन्छ । जबकि जो महिला पातली छैनन् उनीहरु पनि त समुद्र किनार वा पौडी पोखरीमा गएर बिकिनी वा स्वीमसुट लगाएर पौडिन उत्तिकै स्वतन्त्र छन् ।

अझ समुद्र किनार वा स्विमिङ पुलमा लगाइने लुगा लगाएर महिलाहरुलाई स्टेजमा भेडाबाख्रा जसरी हिँडाइनु नै कतिसम्मको वाहियात र अपमानजनक गतिविधि हो । जबकि हामी कतिपय ठाउँमा जाँदा ड्रेसकोडको पालना गर्छौँ । पश्चिममा त यो झन् बढी पालना गरिन्छ । कुनै ठाउँमा जाँदा ह्याट र पन्जा नलगाई छिर्नै नपाइने भनेजस्ता ड्रेसकोड पालना गरिने देशमा समुद्र किनारमा लगाइने लुगा लगाएर जब महिलाहरु स्टेजमा हिँड्छन् भने त्यो कुन हदको वस्तुकरण हो । अनि यस्ता प्रतियोगितामा भाग लिएर बुद्धि र व्यत्तित्वको विकास तथा महिलाको सशक्तीकरण हुन्छ भन्ठान्ने हो भने त्यसमा भाग लिनेहरुले नै यो कुरा उठाउनु पर्ने हो । यसैमा अर्को कुरा पनि छ त्यो भनेको यसमा हुने भनिने कथित अङ्गप्रदर्शन । मलाई माथिका तर्क र प्रश्नहरुको सन्दर्भमा यो विषय निकै गौण र महत्वहीन लाग्छ ।

सुन्दरी प्रतियोगितासँगै विद्यालयहरुले पनि यसै शीर्षकमा स्कुलका बाल–बालिकाबीच यही मोडेलको प्रतियोगिता गराउने चलन बढेको छ । बालबालिकाको व्यक्तित्व निर्माणमा के यो सकारात्मक कदम हो ?

हामीकहाँ २०६२÷६३ सालदेखि एउटा शब्दावली निकै प्रचलित छ ‘समावेशी समाज’ भन्ने । समावेशी समाज भनेको सबै जात, वर्ग, धर्म, रुप—रङ्ग, शारीरिक—मानसिक क्षमता भएका व्यक्तिहरुका लागि समाज उत्तिकै खुला, लचिलो, पहुँचयुक्त र भेदभावमुक्त हुनुपर्छ भन्ने धारणा हो । यसले ‘एक्सिलेन्स’ अर्थात् उत्कृष्टताको सिद्धान्तलाई सीधै नकार्छ । समावेशी समाजको बनावट त्रिकोणीय नभई वृत्ताकार हुन्छ । जहाँ समाजका स्रोत, अवसर र अधिकारसँग समाजका सबै सदस्यको दूरी, निकटता वा पहुँच बराबर हुन्छ । समावेशी शिक्षाको अवधारणाभित्र कक्षामा विद्यार्थीलाई प्रथम, दोस्रो, तेस्रो बनाइने वा एबीसी जस्ता ग्रेडिङ गरिने जस्ता प्रणाली त पर्दैन भने यस्ता प्रतियोगिता कताबाट पर्नु ।

यो पनि माथि भनेजस्तै इभेन्ट अर्गनाइजेसन वा व्यापार नै हो । सकारात्मक त कुनै कोणबाट पनि होइन । तर स्कुल र बच्चाहरुका अभिभावकलाई नै यो कुरा थाहा हुँदैन । त्यसैले कसैलाई यस्ता प्रतिस्पर्धामा भाग लिन वा नलिन जबरजस्ती गर्नुभन्दा बढी यस्ता प्रतियोगिताहरु के हुन् भनेर बुझाउनु जरुरी हुन्छ । यस्ता प्रतियोगिताले समाजमा कुनै एकै खालको व्यक्तित्व, रुपरंग र क्षमता भएका व्यक्तिबाहेक अरुलाई बहिस्करणमा पारेको हुन्छ । ‘एक्स्क्लुजन’ सभ्य नागरिक, समाज वा राज्यको पहिचान होइन भन्ने ‘स्कुलिङ’को सुरुआत गरिनुपर्छ ।

विवाह, परिवार र महिला

विद्यालय र कलेज पढ्दै गरेका महिलाहरुमा निकै कमले अगाडिको पढाइलाई निरन्तरता दिन सकेको देखिन्छ । भन्नुको अर्थ पढ्दा पढ्दै उनीहरु विवाह बन्धनमा बाँधिन्छन् । झण्डै कस्तो लाग्छ भने आफूले पढ्दै गरेको भन्दा उपल्लो कक्षाको पुरुषसँग विवाह गरी दिनका लागि मात्र परिवारले उनीहरुलाई पढाइरहेको हुन्छ । समाजको यो परिघटना जसले महिलाको समग्र जीवनमा प्रभाव पार्ने क्षमता राख्छ यसलाई तपार्इंले कसरी हेर्नु भएको छ ?

‘छोरीलाई स्कुल पठाएबापत मटितेल सित्तैमा’ जस्ता सरकारी स्किमहरु आज पनि प्रचलित छन् हाम्रो देशमा । नेपालमा अझै पनि शिक्षा भाग्यमानीहरुको पहुँचमा छ र छोरीहरु यो मामलामा अतिरिक्त भाग्यमानी हुनुपर्ने अवस्था अझै पनि छ । शिक्षाले जोसुकैका लागि आत्मनिर्भरताको बाटो खोल्छ यो साँचो हो । स्कुले शिक्षा बल्लबल्ल दिलाए पनि विश्वविद्यालय स्तरको शिक्षामा लगानी गर्न हिचकिचाउने, ‘चाहिए त्यसकै घरका (बिहे भएर गएको घर) ले पढाउँछन्’ भन्ने बाबुआमा कैयौँ छन् । अब अर्काको घर भनिने लोग्नेका परिवारलाई बुहारीको पढाइ चाहिन्छ नै भन्ने के ग्यारेन्टी । पढाइ अधूरै राखेर बिहे भएको र श्रीमानको मृत्यु भइदिनाले आत्मनिर्भरताको बाटो समात्न निकै लामो समय लागेका महिलाका उदाहरण प्रशस्तै छन् । यसमा छोरीमाथि लगानी गरेको फिर्ता आउँदैन भन्ने धारणा नै मुख्य हो ।

कतिपय परिवारका छोरीले अलिकति बढी उमेरसम्म विवाह नगरेका, राम्रो शिक्षा प्राप्त गरेका, राम्रो काम गरेर पैसा कमाइरहेका पनि छन् । तर यस्तै परिवारका बाबुआमा पनि छोरीको कमाइ खाएको आरोप लाग्छ भनेर छोरीको कमाइ प्रयोग गर्न हिचकिचाएको देखिन्छ । यसरी हेर्दा पनि त उनीहरुले छोरीमाथि गरेको लगानी खेर गएको नै मान्न मिल्ने भयो । माथिल्लो कक्षाको वा धेरै पढेको केटासँग बिहा गराउन खोज्नुको कारण पनि उही केटा उमेरमा जेठो, धेरै पढेको र केटीलाई कमाएर खुवाउन सक्ने हुनुपर्छ भन्ने सामाजिक मान्यता हो । पढाइ नै अधूरो राखेर छोरीको बिहे गराउन परिवार आत्तिने अर्को मुख्य सामाजिक कारण समाजमा केटीमान्छेका लागि तोकिएको ‘यौवन’को अवधि छोटो हुनु हो । ‘छिटो बिहे गरिहाल्नुपर्छ नत्र छिप्पिन्छन्’ जस्ता भनाइ नेपाली परिवारहरुमा छ्याप्छ्याप्ती सुन्न पाइन्छ । एउटी २५ वर्षकी केटी बिहेका लागि प्रशस्त छिप्पिसकेकी मानिन्छे जबकि ३५ नाघेको केटा पनि खासै छिप्पिएको मानिँदैन । छोरीहरुको पढाइ अधूरो रहनुको मुख्य कारण यो पनि हो ।

विवाह भन्ने संस्था नै हामीलाई कति आवश्यक छ ? विवाह नामक संस्थाको विघटन भएको दिन परिवारको संरचना कस्तो हुन्छ होला केही विश्लेषण गर्न सकिन्छ ?

विवाहको इतिहास पाँच हजार वर्ष पुरानो मात्रै हो भनिन्छ । विवाह संस्था जन्मिनुअघि मान्छेहरु समूहमा बस्थे । अझै पनि कतिपय ठाउँमा आदिवासीहरुको अस्तित्व छ । त्यहाँ उनीहरु समूहमै बस्छन् । त्यसरी पनि परिवारको संरचना अस्तित्वमै थियो र छ । मात्रै परिवारको साइज सानो ठूलो भन्ने कुरा हो । समाजमा विवाह एउटा सामाजिक अनुबन्धको रुपमा विकसित हुँदै आएको हो । विशेषगरी मानिस जब व्यक्तिगत सम्पत्तिको युगमा प्रवेश गर्यो त्यहाँदेखि एकल बैबाहिक व्यवस्थाको (एकनिष्ठ विवाह प्रणाली) सुरुआत भयो भनिन्छ । जब व्यक्तिलाई आफ्नो सम्पत्ति आफ्नै सन्तानमा हस्तान्तरण होस भन्ने लालसा जाग्यो, त्यतिबेला समूहमा बस्दा आफ्ना सन्तान चिन्न गाह्रो भयो र विवाह भन्ने संस्था जन्मियो ।

विवाह भन्ने संस्था यति छिटै विघटन होला जस्तो लाग्दैन । किनभने मानिसहरुका लागि विवाहको कानुनी मात्र होइन सामाजिक, सांस्कृतिक, भावनात्मक महत्व पनि छ । यो धेरै दिनसम्म घरमा चहलपहल रहने, आफन्तहरु भेट्ने, राम्रो लगाउने, मीठो खाने, नाच्ने, गाउने अर्थात ‘सेलिब्रेसन’को एउटा अवसर भएको छ । दैनिक जीवनका उतार चढावबाट ब्रेक लिन पनि मान्छेहरु यस्ता सेलिब्रेसनलाई निरन्तरता दिइराख्छन् । हाम्रो जस्तो देशमा विवाह अनिवार्य मानिनुको अर्को मुख्य कारण जन्मेको बच्चाको कानुनी हैसियत के हुने भन्ने नै हो । राज्य आफ्ना नागरिकप्रति जिम्मेवार रहने हो भने पूर्वीय समाजमा पनि विवाह नामक संस्थाको उपस्थिति रहनु नरहनुले फरक पार्दैन । यो एउटा रोजाइ मात्रै बनेर रही रहन सक्छ । विवाह नभए पनि ‘परिवार’को संरचनामा कुनै फरक पर्छ जस्तो मलाई लाग्दैन । जसरी पश्चिमका थुप्रै देशमा जवान छोराछोरीका बाबुआमा एक अर्कासँग अविवाहित नै हुन्छन् र पनि उनीहरु परिवारकै रुपमा रहन्छन् ।

समाजशास्त्रीय दृष्टिकोण र अध्ययनहरुले एकल बैबाहिक प्रथाले महिलाको सामाजिक शारीरिक स्वतन्त्रतालाई कुण्ठित नै गरेको मान्छन् । एकल बैबाहिक व्यवस्थामा महिलाहरु घर सम्हाल्ने पुरुषहरु बाहिर जाने चलनले पुरुषहरु झन् बढी स्वतन्त्र र फैलँदै गए र महिलाको हिँडडुल गर्ने स्वतन्त्रता त्यही अनुपातमा कम हुँदे गयो । अहिले पनि स्थिति त्यही नै छ । यसमा धेरै परिवर्तन आएको छैन । अझै पनि कलेज पढ्ने बुहारीले जाँचको बेला पढ्ने समयका लागि माइत जानुपर्ने, सुत्केरी भएपछि बच्चा बोकेर माइतै जानुपर्ने र बच्चा अलिकित हुर्केपछि र घरको काम गर्न सक्नेगरी शरीर तङ्ग्रिएपछि तुरुन्त फर्केर शारीरिक श्रम गर्नुपर्ने जस्ता प्रचलन बाँकी नै छन् ।

बुहारीलाई उसको पढाइ र स्वास्थ्यका लागि समयसमेत लगानी नगरिदिने चलन छ । अब झन् बुहारीले कुनै आर्थिक कारोबार गर्नुपरेमा पतिको परिवारले उसका लागि अचल सम्पत्ति धितो राख्न दिनेसम्मको अवस्था त झन कल्पनाबाहिर नै छ । महिलाको व्यक्तित्वले माग गरेका आराम, शिक्षा, रोजगारी, हिँडडुलको स्वतन्त्रता वा आर्थिक लगानीजस्ता कुरालाई विनाशर्त स्वीकार गरिने परिवारमा बिहा हुने हो भने विवाह संस्थामा छिरेर पनि व्यक्तित्व समृद्ध भएका केही महिलाको उदाहरण छ । तर यी अपवाद मात्रै हुन् । जसलाई हामी सामान्यीकरण गर्न सक्दैनौँ । तर अब नयाँ पुस्ताका महिलाले विवाहपछि पनि आफ्ना पूर्ववत व्यवहार, अवसर र अधिकारको प्रयोग वा माग विस्तारै गर्न थालेका छन् । पतिको परिवारलाई सुरुमा असहज लागे पनि, यस्ता दृश्य बिझाए पनि यो स्वीकार गर्नुको विकल्प छैन ।

अवसर खोज्न पुरुष अथवा महिला विदेश जान थालेसँगै नेपाली महिला चरित्रहीन भए भन्ने कुरा उठेको छ । त्यसो त गाउँमै बसेको अथवा विदेश गएको पुरुषको चरित्रको विषयमा कहिलै कुरा उठ्दैन । यो मानसिकताको निर्माण कसरी हुने गर्छ कि महिला चरित्रहीन हुने अवस्थामा पुरुष चरित्रवान नै रहन्छ ?

यो चरित्र भन्ने कुराको मेरो आफ्नै परिभाषा छ । तपाईं कसैलाई लुट्नुहुन्न, चोरी गर्नुहुन्न, कसैलाई होलोहोचो भेदभाव, थिचोमिचो गर्नुहुन्न । एउटा सभ्य नागरिकको रुपमा देशको शासन व्यवस्था पालना गर्नुहुन्छ, आफ्नो व्यक्तिगत फाइदाका लागि अनेकथरी तिकडम गर्नुहुन्न, देशको कर छली गर्नुहुन्न भने तपाईं चरित्रवान नागरिक वा मानव हो । कसैको चरित्र भन्ने कुरा उसको शारीरिक वा भावनात्मक सम्बन्ध कोसँग छ भन्ने कुराले निर्धारण गर्दैन । चरित्रका सन्दर्भमा समाजमा जुन मान्यता स्थापित छ म त्यो मान्यतालाई मान्दिन । त्यसैले तपाईंले सोध्न खोज्नुभएको ‘चरित्र’बारेको उत्तर एक प्रकारले यहीँ सकिन्छ ।

अब यो कथित ‘चरित्र’ को दोहोरो मान्यतालाई कसरी मलजल गरिन्छ भन्ने कुरासँग पूर्वीय दर्शन र जीवनशैली आदिका कुरा जोडिन्छन् । अन्य सम्प्रदायकोबारे म बिना अध्ययन बोल्न सक्दिन । तर तपाईं र म जुन सम्प्रदायमा जन्मियौँ, हुर्कियौँ त्यहाँ महिला र पुरुषको लागि बनेका उखानटुक्का, उक्तिहरु र पढिने किताबहरु हेर्दा थाहा हुन्छ । यस्ता खालका दोहोरो मानसिकतालाई यिनैले मलजल गरेका हुन् । ‘पतिव्रता नारी’ र ‘मर्दका दशवटी’ भन्ने जस्ता विरोधाभासी उक्तिहरु एकै समयमा प्रचलित रहेको समाजमा बस्ने तपाईं हामीले यो प्रश्नको उत्तर एकअर्कालाई नसोधीकनै बुझ्न सक्छौँ । पतिव्रता धर्म नष्ट भएमा तेरो लोग्नेलाई यतियति नराम्रो हुन्छ भनेर सधैँ त्रस्त बनाइने पत्नी राम्ररी दाँत देखाएर हाँस्न पनि हिचकिचाउँछे । तर एउटा लोग्नेले पहिली पत्नीलाई थाहै नदिई घरमा अर्की भित्र्याउनेसम्मको हिम्मत सजिलै गर्छ ।

जेठी चुपचाप सहेर बस्न बाध्य हुन्छे । जे भए नि मिलेर बस भनेर त्यही समाज उसलाई सम्झाउँछ । र केही समयपछि दिदीबहिनी भनेर मिलेर हिँड्न बाध्य हुन्छे । कमाएर खुवाउने भन्ने कुरामा पुरुषको पहुँच र महिलालाई कमाएर खुवाउनेले जे गरे नि सहनुपर्छ भन्ने मान्यताकै आधारमा यो कुरा स्थापित भएको हो । वैदेशिक रोजगारीमा गएका पतिका पत्नीलाई पनि उसैलाई पाल्नका लागि विदेश गएकोले उसलाई (पति) केही भन्नु हुँदैन भन्ने मान्यता स्थापित गरिएको हो । वैदेशिक रोजगारीकै कारण सही, अब बिस्तारै महिलाहरुले आफ्नो सामाजिक स्थान र यौनिकताको बारेमा मौन रुपमै भए पनि आवाज उठाइरहेका छन् । उनीहरुले चरित्रको दोहोरो परिभाषाकै बारेमा नबोली नबोली प्रश्न उठाएका छन् । यो कुरा एक दिन त पक्कै सुनिने गरी बहसमा आउला ।

प्रेममा निर्लिप्त भएर सम्पूर्ण समर्पण गरेकी प्रेमिका डराउँदै प्रेमीलाई भन्छे– ‘तिमीलाई के, तिमी त छोरा मान्छे हौँ केही हुन्न, म त महिला हुँ मेरो इज्जतै जान्छ । म समाजमा मुख देखाउन लायक हुँदिनँ’ इज्जत अर्थात चरित्रहीन घोषित हुने डरको धारणा कसरी निर्माण हुन्छ ? सामाजिक प्रतिष्ठाको कुरा स्वतन्त्र यौन जीवनसँग कसरी गासिँने गर्छ ?

यसको कारण महिलाको यौनिकता समाजको नियन्त्रणमा रहनु हो । सामाजिक प्रतिष्ठाको कुरा पनि महिलाको स्वतन्त्र यौनजीवनसँग मात्रै जोडिएको छ । पुरुषसँग होइन । विवाह अघिसम्म केटी ‘कुमारी’ नै रहनुपर्ने भन्ने धारणा छ । पुरुष ‘कुमार’ छ कि छैन भन्ने खोजी गौण रहन्छ । अर्को कुरा विवाह भन्ने संस्था समाज र राज्यको कानुन दुवैद्वारा संरक्षित र संस्थागत छ । कसैले ‘बिटुल्याएकी’ केटीसँग बिहा नगर्ने भन्नेजस्ता एकाङ्गी धारणा महिलाका लागि मात्रै ‘एप्लिकेबल’ छ । जबकि एउटा प्रेमसम्बन्ध टुट््नु त के कुरा घरमा पत्नी नै हुँदा पनि कुनै पुरुषले ढुक्कले अर्को बिहेसमेत गर्न पाउँछ । त्यसैले प्रेमीसँगको सम्बन्ध बाहिर आइसकेपछि त्यो टुट्यो र अर्कोसँग बिहा हुने स्थिति आएमा के गर्ने भनेर उनीहरु डराउँछन् । तिमीलाई के छ र जस्ता प्रश्न गर्छन् ।

अर्को कुरा प्रेम सम्बन्धबाट गर्भ रहे वा बच्चा जन्मे आफ्नो भविष्य के हुने भनेर पनि प्रेमिकाहरु डराउँछन् । किनभने यस्ता सम्बन्धबाट जन्मेको बच्चाको बाबु सधैँ अदृश्य हुन्छ । तर आमाले त अदृश्य हुन मिलेन । साढे नौ महिना पेटमा राख्नु नै पर्यो । जन्माउन हुर्काउन नै पर्यो । अब त्यो बच्चाको कानुनी हैसियत के हुने । गर्भपात नै गरे पनि त्यसका लागि स्याहार सुसार र समय चाहियो, जुन अदृश्य बनेर प्राप्त हुँदैन । जन्मेको बच्चाको लागि सधैँ आमालाई दोषी देखाउने प्रचलन बन्द हुनका लागि जन्मने बच्चा स्वतः राज्यको संरक्षणमा जाने दिन आउनुपर्छ । यो कुरा उही आमालाई आफ्नो सन्तानलाई निःशर्त नागरिकता दिने अधिकारसँग जोडिन्छ । अनि मात्र महिलाको स्वतन्त्र यौनजीवन र कथित इज्जतको सम्बन्ध गाँसिदैन । नत्र ‘बाबुको पत्ता नलागेको’ भनेर नागरिकतामा लेखिनुपर्ने जस्तो कानुनी प्रावधान जहिलेसम्म देशमा रहन्छ महिलाको स्वतन्त्र यौनजीवनसँग इज्जत जोडिने प्रचलन बन्द हुँदैन ।

काम र अवसरको खोजीमा विदेश जाने प्रक्रिया बढेसँगै विवाहाउत्तर सम्बन्धमा वृद्धि भएको अनुमान गरिएको छ, यसले समाजमा कस्तो प्रभाव पार्छ ?

विवाहउत्तर सम्बन्धका अरु पनि थुप्रै कारण छन् । वैदेशिक रोजगारी यो मध्येको एउटा कारण हो । तर यही मात्रै अन्तिम कारण होइन । लामो समय सम्पर्कविहीन भएपछि कुनै पनि व्यक्तिका बीचको सम्बन्धको घनत्व कम हुँदै जान्छ । यो प्रेमी प्रेमीकाका लागि पनि उत्तिकै लागू हुन्छ । बाबु आमा र छोराछोरी बीच पनि । विवाहउत्तर सम्बन्धको कारण पनि यही हो । एउटी वयस्क महिलाका लागि विवाह दालभात खाएर पालिनु मात्रै हो वा अरु पनि केही हो ? तँलाई पालेको छु भन्ने आधारमै उसलाई उसका यौनजीवन र प्रजननजस्ता वयस्कताका अधिकारबाट वर्षौँवर्ष वञ्चित गर्न पाइने हो कि हैन ? विवाह एकजना वयस्क व्यक्तिका लागि भावनात्मक, मानसिक सुरक्षा र साथ त हो नै हाम्रो जस्तो देशमा यौन अधिकारको वैधानिकता प्राप्त गर्ने प्रक्रिया पनि हो ।

यदि कुनै महिलाले मेरा लागि विवाह पतिका घरका हजारवटा धन्दा गर्नु, उसका बिरामी र वृद्ध बाबुआमा स्याहार्नु, बच्चा हुर्काउनुबाहेक अरु पनि केही हो भनेर आवाज उठाएका छन् भने त यसको सुनुवाइ हुनै पर्यो । विवाह भन्ने संस्थालाई वर्षौंवर्ष आफ्नो मात्र काँधमा धान्ने जिम्मेवारी महिलाको मात्र हो कि होइन भन्ने प्रश्न मुख्य हो । तपाईंले राम थापाले गाएको गीत सुन्नुभएको छ ? ‘मैले के गरुँ तिमी आउँछौ कि अर्कै बे (बिहे) गरुँ’ । नेपाली महिलाको अहिलेको आवाज पनि यस्तैयस्तै हो, कि ‘म एक्लोपनाबाट वाक्क भएँ, तिम्रो साथ वर्षौंवर्ष नपाउने हो भने मैले अर्को साथी खोज्नुपर्छ ।’ समाजमा यसको असर ठ्याक्कै यही होला भनेर त कसरी भन्ने । तर के अनुमान गर्न सक्न्छि भने ‘स्वास्नी पोइला जान्छे’ भन्ने डरले युवाहरुको विदेशिने क्रम रोकिएला अथवा विदेश गए समय समयमा घर आउलान् अथवा त्यस्तो देशमा जालान् जहाँ पत्नी वा परिवार लैजान मिल्नेछ । यसो हुन नसके समाजमा विवाहउत्तर सम्बन्ध, पुनर्विवाह वा बैबाहिक सम्बन्धविच्छेदलाई हेर्ने समाजको नजरिया पहिलेको भन्दा सहज हुँदै जाला ।

वेश्यावृत्ति र समाज

ण्डी, वेश्या भन्ने प्रचलन पनि  छ । समाजमा हावि भएको यो मानसिकताको कुरा गर्नुअघि महिलाहरुलाई यौनकर्मीको रुपमा विकास गर्ने प्रक्रिया कस्तो रह्यो बताइदिनुस न ?

वेश्यालयको स्थापना वा निर्माण ठ्याक्कै कहिले र कसरी भयो भन्ने तिथिमिति नै त थाहा छैन । तर राजा महाराजाको पालामा एउटा राजाले अर्को राज्यलाई जितेपछि त्यहाँका महिलाहरुमाथि जितेकाहरुले यौन दुव्र्यवहार गर्दथे भन्ने पढेकी छु । भारतमै गयाशुद्धीन तुगलकजस्ता शासकका सैनिकहरुले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी घरका छोरीबुहारीहरुलाई बलात्कार गरे भनेर पढ्न पाइन्छ । त्यस्तै पृथ्वीनारायण शाहका सैनिकहरुले कुमाउ गढवालमा जीत हासिल गरेपछि गरे भन्ने पनि पढ्न पाइन्छ । यसमा जितेको राज्यबाट अपहरण गरेर ल्याएका महिलालाई सामूहिक रुपमा एकैठाउँमा राखियो र उनीहरुलाई यौनकर्मीका रुपमा प्रयोग गरेर यो प्रक्रियाको सुरुआत भयो होला भनेर पनि जोड्न मिल्छ । राजा महाराजा वा नगरप्रमुखहरुले नगरवधुहरुलाई आश्रय र विशेष सम्मानसमेत दिएर राख्थे भन्ने कुरा पनि यहाँ जोडिन सक्छन् ।

नेपालमा पनि तिब्बतसँग व्यापार गर्नेबेला तामाङ युवतीहरुसँग मालसामान साटिने चलन थियो र त्यो प्रचलनले आजसम्म पनि निरन्तरता पाएको छ । बेचबिखनमा पर्नेहरुमा तामाङ युवतीहरुको सङ्ख्या सबभन्दा बढी हुनुको कारण त्यही हो भनेर अध्येताहरु बताउँछन् । अर्को कुरा युद्धको समयमा सैनिकहरु लडाइँ छोडेर घर नफर्कुन् उनीहरुलाई आफ्नी पत्नी वा प्रेमिकासँगको शारीरिक साथको याद नआओस् भनेर पनि उनीहरुका लागि महिलाको व्यवस्था गर्न थालियो र यौनकर्मीको रुपमा उनीहरुको निर्माण भयो भनिन्छ । तपाईंले पहिलो प्रश्नमा भनेका जस्ता सम्बोधनमाथि पुग्नुअघि नै हाम्रो समाजमा प्रचलित अरु भनाइबारे सोच्नुस् न । कुनै पुरुषलाई नालायक घोषित गर्नका लागि आइमाइजस्तो भन्ने प्रचलन वा कुनै मान्छेलाई जनावरजस्तो, कुकुरजस्तो भन्ने प्रचलनबारे ।

कुनै पनि जनावारका आफ्नै विशेषता हुन्छन् र प्रकृतिको जैविक विविधतामा उनीहरुका आफ्नै विशिष्ट स्थान पनि रहन्छ । तर कुनै पनि समाजमा निमुखा मानिनेहरुमाथि सजिलै टिप्पणी गर्न सजिलो हुन्छ । किनभने उनीहरु आवाज उठाउँदैनन् । महिला र जनावरमाथि गरिने यस्ता टिप्पणी उनीहरुलाई निमुखा ठानेरै गरिएको हो । त्यसमाथि हाम्रो समाजमा मानिसले गर्ने कामअनुसार उसको सोसल स्टाटसको पनि वर्गीकरण हुन्छ । तपाईंले टेबलकुर्सीमा बसेर गर्ने काम राम्रो, माटोमा टेकेर गर्ने काम नराम्रो भन्नेजस्तो । त्यसैले महिला त्यसमा पनि यौन व्यवसाय जस्तो कथित ‘तल्लो स्तर’को काम गर्नेहरुलाई उनीहरुको पेसासँगै जोडेर जेसुकै नामले बोलाए पनि हुन्छ भन्ने हेय दृष्टिकोणको उपजस्वरुप यस्ता सम्बोधनहरु प्रयोग गरिने हुन् ।

आधुनिक समाजमा यौनकर्म पनि पेसा हो भन्ने धारणा राख्न थालिएसँगै यसको उचित व्यवस्थापनको कुरा उठिरहेको छ । रेडलाइट एरियाको निर्माण यसको उचित व्यवस्थापन हो, अथवा पुँजीवादी अभ्यासको विषाक्त अभ्यास् ?

महिलाहरुलाई उपभोग्य वस्तुका रुपमा प्रयोग गरिनु आफैमा पुँजीवादी समाजको विषाक्त अभ्यास हो । यौनव्यापार जुनसुकै अवस्थामा भए पनि अस्तित्वमा छ, यो सत्य हो । अधिकारको क्षेत्रमा बोल्ने—लेख्ने, काम गर्नेहरुका अनुसार रेडलाइट एरियाको निर्माण हुनु भनेको यौन व्यवसायीहरुको आधारभूत स्वास्थ्य र मानवअधिकार रक्षाको प्रत्याभूति हुनु हो । उनीहरु भन्छन्— यौन व्यवसाय गर्ने महिलाहरुलाई एचआईभी एड्स, अनिच्छित गर्भधारण वा असुरक्षित गर्भपतन वा अनधिकृत ठाउँमा व्यापार गर्दा बेला कुबेला प्रहरीले मार्ने छापाका कारण उनीहरुको पारिवारिक र सामाजिक जीवनमा पर्ने नकारात्मक असर आदिबाट बचाउन रेडलाइट एरियाको घोषणाले मद्दत गर्दछ ।

अब कुनै महिलाले जीविकाका लागि कर्पोरेट दुनिया वा यौन व्यवसाय छान्नुमा पक्कै परक त हुन्छ नै । कोही पनि खुशीले वा छनौटले यौन व्यापारमा पक्कै लाग्दैन होला । रेडलाइट एरियाको अस्तित्व कुनै समाजमा हुनु पुँजीवादी समाजको अनुहारको कुरुप पाटो हो भन्न सकिन्छ । तर समाजमा लुकिचोरी नै सही भइरहेको यौन व्यापार र त्यसका क्रेता चोखो छोडिनु र विक्रेताको मात्रै मर्यादा हनन हुनु कत्तिको न्यायसङ्गत हो ? यसको विकल्प के हो भन्ने प्रश्नको उत्तर नआउन्जेल रेडलाइट एरिया यौनव्यापारको उचित व्यवस्थापन नै हो भनेर मान्नैपर्ने अवस्था रहन्छ ।

पुँजीवादको चरम अभ्यास गर्दै गरेका विकसित मुलुकमा महिलालाई वस्तुको रुपमा ठूलो सिसाको सोकेसमा सजाएर राख्ने गरिन्छ । त्यसरी सजाइएका महिलालाई उपभोक्ताले खरिद गरेर यौन आनन्द लिन सक्छन् । दास युगमा दासहरुलाई किन्ने परम्परा थियो, पछि दास महिलाहरुको पनि त्यसैगरी खरिदबिक्री हुने गर्दथ्यो । आज त्यसको विकसित रुप देखिन्छ । तर पनि महिला अधिकारको पक्षमा विश्वलाई नयाँ दृष्टिकोण दिने महिला अधिकारवादीहरुको आवाज मुखर भएको पाइँदैन किन ?

महिलाको शरीरको दुरुपयोग कहाँ भएको छैन ? पुँजीवादमा महिलाको स्थान सम्मानजनक छैन तर समाजवादमा निकै सम्मानित छ भन्ने दाबी पनि हामी गर्न सक्दैनौँ । यसरी सोकेसमा राखेर मात्रै उनीहरुको शोषण भएको छ भन्ने व्याख्या एकोहोरो हुन जान्छ । ओलम्पिक वा विश्वकप फुटबलजस्ता विश्वस्तरीय प्रतिस्पर्धा र युद्धको समयमा समेत महिलाको शरीरको दुरुपयोग गरिएको छ भनेर महिलाको क्षेत्रमा अनुसन्धान गरेका हाम्रा अग्रजहरु हामीलाई भन्छन् । पहिलो र दोस्रो विश्वयुद्धको बेला लडाइँको क्रममा गाउँगाउँ पुगेका सैनिकहरुले स्थानीय युवतीहरुलाई बलात्कार गरेको कुरा, अमेरिका र भियतनामको युद्धपछि दक्षिण पूर्वी एसियाका थाइल्यान्ड, कम्बोडिया, उत्तर कोरियाका युवतीहरुको बेचबिखन बढेको कुरा वा नेपालमै क्यान्टोनमेन्टबाट साना बच्चा लिएर घर फिर्ता भएका युवतीहरु आदिको कुरा वा खोलामा बगेका भ्रूणहरुका कुरा ।

अर्को कुरा, हामी लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र आदि व्यवस्था भएका देशमा बस्छौँ । खुला बजार र वैयक्तिक स्वतन्त्रताजस्ता शब्दावलीहरुको भरपूर प्रयोग गछौंँ । त्यही कारण शोकेसमा सजाइएका महिलालाई कुनै पनि अधिकारकर्मीले तिमी यहाँभित्र नबस भनेर जबरजस्ती बाहिर निकाल्न मिल्दैन । यो कसैको पेसा छनोट गर्ने स्वतन्त्रताभित्र पनि पर्छ । बरु अधिकारको क्षेत्रमा काम गर्नेहरुले उनीहरुलाई तिमीले गरिरहेको काम यतियति कारण उपयुक्त छैन भनेर अभिमुखीकरणजस्ता कामसम्म गर्न मिल्छ । महिलालाई सोकेसमा सजाइने प्रणाली गलत हो भनेर प्रशस्त छलफल गर्न मिल्छ र तपाईंले यो बारेमा अनुसन्धान गर्नुभयो भने थाहा पाउन्ुहुन्छ, छलफल भएका पनि छन् । तर आधारभूत कुराहरुकै लागि चर्को आवाजमा लड्नुपर्ने अवस्था रहेकोमा यस्ता कुराका लागि लडेको लडाइँको बल र आवाजको चर्कोपना अलि कम भएको छ जस्तो लाग्छ ।

महिलाको स्विकृतिमा यौन सम्पर्क गर्दा इज्जत नलुटिने तर त्यही काम बिनास्विकृति भएमा बलात्कार हुने र ती महिलाको इज्जत लुटिएको ठानिन्छ । के जबरजस्ती यौन सम्पर्क गर्दैमा कसैको इज्जत लुटिन्छ, जसरी हामी ठान्ने गर्छौं ?

स्वीकृतिमा हुने यौनसम्पर्क, बिनास्वीकृति हुने यौन सम्पर्क, बलात्कार र इज्जत लुटिने जस्ता फरक फरक प्रसङ्गलाई तपाईंले एकदम खतरनाक तरिकाले एउटै डालोमा हालेर प्रश्न गर्नुभएको छ । बिनास्वीकृतिको जुनसुकै यौनसम्पर्क बलात्कार नै हो । तर यसको सिभियारिटीमा भने फरक हुन्छ जुन सिभियारिटिप्रति तपाईंको प्रश्न ‘के जबरजस्ती यौनसम्पर्क गर्दैमा इज्जत लुटिन्छ…’ भन्ने लाइन अलि असंवेदनशील भएजस्तो लाग्यो मलाई । बलात्कारको सिभियारिटीकै कारण कानुनमा पनि बलात्कारीले पाउने दण्ड सजाय र त्यसको समयावधि फरक फरक हुन्छ । जस्तै एउटा पतिले पत्नीलाई गोप्य कोठामा बिछ्यौनामा गर्ने वैवाहिक बलात्कार र एउटी युवतीलाई खुला सडकमा सामूहिक गरिने बलात्कारको सिभियारिटी तुलना गर्नुस् ।

दामिनी केस त तपाईंलाई यादै होला, सार्वजनिक बसभित्र फलामे छडले हिर्काइ हिर्काइ गरिएको बलात्कार कल्पना गर्नुस् वा अस्ति भर्खर बलात्कारपछि हत्या भएकी एलकेजी क्लासमा पढ्ने बच्चीमाथिको बलात्कारको कल्पना गर्नुस् । बीसौँ नातिनातिना हुर्काइसकेकी १०१ वर्षकी वृद्धामाथिको बलात्कारको सिभियारिटी कति हुन्छ कल्पना गर्नुस् । उनलाई आफ्नो के–केसम्म लुटिएको महसुस हुन्छ होला । अब जबरजस्ती यौन सम्पर्क गर्दैमा इज्जत लुटिन्छ भन्ने प्रश्न— महिलाको इज्जत स्वीकृतिमा, अस्वीकृतिमा यौन सम्पर्क हुँदा र बलात्कार समेत हुँदा कुनै पनि बेला लुटिँदैन । एकदमै गोप्य तरिकाले, एकदमै गोप्य ठाउँमा, आफ्नो पूर्ण स्वीकृतिमा हुने यौनसम्पर्क जस्तो कुरा खुला ठाउँमा, कतिपय पटक धेरै व्यक्तिहरुले कुटपिटका साथमा लछार पछारसमेत गरीकन गरिइने हुँदा यसमा महिलाको स्तन, नितम्ब, योनी र पुरै शरीर मात्र होइन आत्मबल र आत्मासमेत पनि लुटिन्छ ।

यसमै तपाईंले सोध्नुभएको शारीरिक बलात्कारको त्यत्रो प्रभाव किन भन्ने कुराको जवाफ पनि आउँछ । तर बलात्कृत महिलाको इज्जत कदापि लुटिँदैन । यो समाजले बनाएको गलत र अन्यायपूर्ण न्यारेटिभ हो । लुटिनुपर्ने त बलात्कारीको इज्जत हो । त्यस्तो घृणित काम गरेबापत उसले समाजमा मुखै देखाएर हिँड्न नपाउने गरी इज्जत लुटिनुपर्ने हो । तर समाजले बनाएको महिला र पुरुषको यौनिकताको दोहोरो मापदण्डका कारण बलात्कारी पुरुषको इज्जत लुटिनुसट्टा हामीकहाँ महिलाको इज्जत लुटिने भन्ने गलत न्यारेटिभ स्थापित छ । जुन तोडिन जरुरी छ । अब बलात्कारमा परेका महिला किन आत्महत्यासम्मको बाटो अपनाउँछन् भन्ने पनि यही न्यारेटिभकै कारण हो । अस्ति भर्खर समाचारमा तपाईंले पढ्नु नै भयो होला, बलात्कारमा परेकी युवतीकोे बिहे रोकिएको । उनलाई बलात्कार गरेकाले त सयौँ केटीहरुमध्ये छानेरै बिहा गर्ला । एक त बलात्कार जस्तो शारीरिक मनोवैज्ञानिक त्रासदीबाट गुज्रेकी महिला उल्टो समाजको बहिष्कार वा अस्वीकृतिमा पर्छिन् भने उनलाई बाँच्ने इच्छा कत्तिको रहन्छ यो हामी सजिलै सोच्न सक्छौँ नि ।

साहित्यकार तथा राजनीतिकर्मी आहूति भन्छन्– ‘अपवाद छोडेर समाजका सबै पुरुषमा बलात्कारी पुरुषको सोच हुन्छ, मात्रै त्यसको स्तरमा भिन्नता छ ।’ तपाईं यस भनाइसँग कत्तिको सहमत हुनुहुन्छ ?

यो उहाँको व्यक्तिगत विचार हो । कुन हिसाबले भन्नुभयो यो उहाँलाई नै थाहा होला । मलाई उहाँको धारणामाथि टिप्पणी गर्ने क्षेत्राधिकार रहँदैन । मेरो मामलामा म यति ठूलो स्टेटमेन्ट कुनै तथ्याङ्कीय जानकारीविना दिन सक्दिन । समाजका सबै पुरुषमा बलात्कारी पुरुषको सोच हुन्छ भनेर मैले बोल्नुअघि मैले संसारका सबै पुरुष जनसङ्ख्यामाथि शोध गर्नुपर्ने हुन्छ उनीहरुभित्र बलात्कारी सोच छ कि छैन भनेर । कम्तीमा नेपाली समाज जहाँ म बस्छु त्यसभित्र त पक्कै गर्नुपर्छ । अब नेपालको पुरुष जनसङ्ख्या कति करोड छ ती सबैलाई बलात्कारी सोच भएका हुन् कि होइनन् भनेर प्रमाणित गर्नुअघि मैले करोडमाथिको जनसङ्ख्यामा कसरी कति वर्षमा शोध गरिसक्नु । त्यसैले यो मेरो वशको कुरो होइन ।

महिला अधिकारवादी सिमोन द बुउवारले द सेकेन्ड सेक्समा ‘महिला जन्मिदैनन् बनाइन्छन्’ भनेकी छन्, नेपालमा हिजोसम्म महिलाहरुको निर्माण कसरी भइरहेको थियो र आज कसरी भइरहेको छ ?

सिमोनले भनेकै कुरा नेपालमा पनि लैङ्गिक विश्लेषकहरुले भनिराख्छन् । जस्तो लैङ्गिक विश्लेषक प्राध्यापक चन्द्रा भद्राले ‘नेपालमा छोरीको नाम फूलमाया राखिन्छ र छोराहरुको नाम वीरबहादुर ।’ भनेर लेख्नुभएको छ । यसले के मनोविज्ञान निर्माण गर्छ भने छोरीहरु फूलजस्तै कोमल हुनु पर्यो, माया बर्साइराख्नु पर्यो र छोराहरु वीर माथि पनि बहादुर हुनुपर्यो । पिङ्किफिकेसन भन्ने अर्को शब्द पनि छ, महिलाहरुको बारे कि छोरीहरुलाई सानैदेखि तुलनात्मक रुपमा नरम मानिने गुलाबी रङका लुगा, जुत्ता वा ब्याग प्रयोग गर्न लगाइने प्रचलन । पोखराकै एकजना मेरो साथी हुनुहुन्छ सहारा स्कुलकी प्राचार्य लोचना अधिकारी, उहाँ स्कुलले जीवनको स्मरण गर्दै भन्नुहुन्छ, अतिरिक्त क्रियाकलाप हुने बेला भलिबल खेल्न अति रुचि भएकी उहाँलाई शिक्षकहरु तिमी त केटी भनेर उफ्रिने डोरी वा रिङ दिन्थे । अझै पनि स्कुलमा स्कर्ट लगाउन पर्ने नियमका कारण छात्राहरु स्कुलमा दैनिक खेलिने भलिबल, बास्केटबल वा फुटबल जस्ता खेलबाट वञ्चित हुन्छन् । अझै पनि कार्यालयहरुमा महिलालाई रिसेप्सनिस्ट, सार्वजनिक कार्यक्रम वा बौद्धिक छलफलहरुमा कार्यक्रम उद्घोषक वा सेसन मोडरेटर भन्दा माथिको हैसियतमा हेर्न हिचकिचाइनु पनि यही ‘महिला बनाइने’ प्रवृत्ति नै हो । अझै पनि ठूलो स्वरले बोल्ने केटीलाई ‘यसले कसरी घर गरेर खाली’ भनिन्छ, कस्मेटिक प्रयोग नगर्ने केटीलाई कस्ती केटाजस्ती भनिन्छ ।

उसमा केटीहरुमा हुने जस्ता प्रजनन अङ्ग छन् कि छैनन्, प्रजननको क्षमता छ कि छैन होला जस्ता भद्दा टिप्पणीसमेत समाजमा गरिन्छन् । मजस्ता कस्मेटिक र सारी चोलोको आंशिक प्रयोग गर्नेलाई मेरै साथीहरु ‘छापामार’ भनेर बोलाउँछन् । महिला जन्मिने होइन बनाइने हो भनेको यही हो । यही नै बायोलोजिकल जेन्डर आइडियोलोजी हो । विस्तारै यो प्रचलन तोडिँदै छ । यसका उदाहरण त मैले माथि नै दिइसकेँ, कसरी द्वन्द्वकालमा महिलाले बन्दुक बोकेर हिँडेर पनि यो केही हदसम्म तोडियो । आजका बाबुआमा छोरीको नाम फूलमाया र छोराको नाम वीरबहादुर राख्ने घेराभन्दा केही पर अवश्य पुगेका छन्, केही सीमित परिवारमा मात्रै । यो बायोलोजिकल जेन्डर आइडियोलोजी जति धराशायी हुनुपर्ने हो त्यति भइसकेको छैन ।

यौन उद्योग र महिला

हलिउड, बलिउड र कलिउडको उद्योग भएजस्तै यौनको पनि उद्योग छ जसमा कयौँ प्रकारका प्रोडक्टहरु उपभोक्ताले खरिद गर्न पाउँछन् । तथ्याङ्कहरुले पोर्न साइट हेर्नेहरुमा सबैभन्दा धेरै टिनएजका हुने गरेको देखाएको छ । पोर्नोग्राफी हरेर हुर्किएको पुरुष अथवा महिलामा कस्तो मानसिकताको विकास हुन्छ होला ? यो समाज विकासका लागि घातक कुरा हो कि सहायक ?

पोर्नोग्राफी वा पोर्न फिल्म उद्योग आफैमा एउटा डरलाग्दो शोषणको उद्योग हो, यसमा कुनै शङ्का छैन । २ वर्षअघि केही अधिकारकर्मीहरुसँग छलफल हुँदा उहाँहरुले कसरी पोर्न फिल्महरुमार्फत महिलाको शोषण हुन्छ भन्ने कुरा गर्नुभएको थियो । मलाई लाग्दैन यसमा पुरुष पनि कम शोषित हुन्छन् । यौनसम्बन्धी सरुवा रोगहरु वा एचआईभी एड्सको जोखिममा उनीहरु पनि हुन्छन् । तर महिला त असुरक्षित गर्भधारणको थप जोखिममा पनि रहन्छन् । खुला बजार वा खुला अर्थतन्त्रको एउटा कुरुप पाटो पोर्नोग्राफी पनि हो । यसले सूचना प्रविधि कस्तो बनाउने र कस्तो ग्रहण गर्ने भन्ने अधिकारको कुरालाई पुरै ट्विस्ट गरिदिन्छ । टिनएजकाहरु किन पोर्न साइटहरुमा आकर्षित हुन्छन् भन्नेबारेमा उनीहरु आफ्नो हुर्कंदै गरेको शरीर र त्यसप्रतिको जिज्ञासाका कारण हो भनेर भन्ने गरिन्छ ।

तर पोर्नोग्राफी मात्रै हेरेर कोही हुर्कन्छ भन्ने मलाई लाग्दैन । कुनै क्षणिक जिज्ञासाका कारण हेरे पनि जिन्दगीभरि त्यति मात्र काम गरेर बस्न कुनै पनि मानिसलाई पुग्दैन । अब कस्तो खालको सूचना वा प्रविधि कसले आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्छ, यो उसको गोपनीयताको कुरा पनि भयो । त्यस्तो विधि मानसिक धारणाकै निर्माण पोर्नोग्राफीले गर्छ जस्तो पनि मलाई लाग्दैन । पोर्न उद्योग समाज विकासका लागि फाइदाजनक अवश्य होइन । तर पोर्नोग्राफीको लत नै नभएका मान्छे अति ‘सज्जन’ हुन्छन् भनेर पनि म भन्दिनँ । हाम्रो दुनिया आशाराम बापुहरुको पनि अस्तित्व रहेको दुनिया हो ।

पोर्नोग्राफीमा महिलालाई जसरी प्रस्तुत गरिन्छ त्यो हेरेर हुर्किएको युवा अथवा प्रौढले सडकमा हिँड्दै गरेकी महिलाप्रति बनाउने धारणा कस्तो हुन्छ ? तपाईंलाई के लाग्छ पोर्नोग्राफीले समाजमा भावि बलात्कारीहरुलाई जन्म दिन्छ अथवा यौन कुण्ठाको व्यवस्थापनको विकल्प दिन्छ ?

पोर्नोग्राफीहरुमा प्रस्तुत गरिएकै आधारमा कसैले महिलामाथि कुनै धारणा बनाउँछ जस्तो त मलाई लाग्दैन । यो व्यक्तिविशेषको मानसिकताको कुरा हो । किनभने एकदमै बन्द भनिने देशहरु, सूचना प्रविधिको पहुँच नपुगेका समाज र किताब नै नपुगेका समुदायहरुमा पनि महिलाको शोषण एकदम चरम रुपमा भएको पाइन्छ । नेपालमै पनि सूचना प्रविधि नभित्रिँदै अडियो भिजुअल सामग्रीको यो तहको उपलब्धता नहुँदा बलात्कारका घटनामा कमी त थिएन नि ।

यसले भावी बलात्कारीलाई जन्म दिन्छ वा बलात्कारको मानसिकता हुँदै नभएको मान्छे पोर्नोग्राफीका कारण बलात्कारी बन्छ भन्नु चाहिँ अलि बढी होला । बरु जो बलात्कारी मानसिकताको छ ऊ बढी ‘प्रोभोक्ड’ हुन्छ यस्ता सामग्रीबाट भन्न चाहिँ मिल्छ होला । अब यो यौन कुण्ठाको विकल्प दिने भन्ने कुरा पनि मैले यत्तिकै भन्न मिल्दैन । यस्ता कुरा पोर्न सामग्री हेर्ने व्यक्तिहरु किन हेर्छन् र के प्राप्त गर्छन् भन्ने शोधमार्फत मात्रै बोल्न सकिन्छ ।

पारिश्रमिक लिने गर्छन् तर जीवनको उत्तरार्धमा विच्छोड र एक्लोपनको शिकार भएर अधिकांश पोर्न स्टारहरुले आत्महत्या रोज्ने गरेका छन् । यसलाई हामीले कुन अर्थमा बुझ्ने ?

आत्महत्या त जोसुकैले पनि गर्छन् । भारतमा नफिसा जोसेफ जस्ती मिस इन्डिया बनिसकेकी सफल मोडलले पनि यौवनावस्थामै आत्महत्या गरेका उदाहरण छन् । आत्महत्याका विभिन्न कारणमध्ये जुनसुकै कारणले पनि पोर्नस्टार वा अरु जो सुकैले जीवनको पूवाद्र्ध वा उत्तरार्धमा आत्महत्या गर्न सक्छन् । पोर्नस्टार किन एक्लोपनको शिकार हुन्छन् भन्नेबारेमा चाहिँ अरु कारण हुन सक्छन् । जस्तो अरु खालका फिल्ममा काम गर्ने कलाकारले उमेर ढल्केपछि नै पनि सहायक रोलमा अभिनय गरेर जीविका चलाउन पाउँछन् ।

यसबाट उनीहरु आफ्ना सहकर्मीहरुसँग नियमित सम्पर्कमा रहने भए । आर्थिक रुपमा पनि रोजगार नै रहने भए । जबकि पोर्न चलचित्र त विशुद्ध यौवनको व्यापार भयो । यसमा त प्रौढावस्थाका कलाकारको कुनै काम हुने भएन । त्यसकारण पनि उनीहरुले उमेर ढल्केपछि रोजगारी पाउँदैनन् । अब बेरोजगारीका कारण घरमै बस्ने र सामाजिक सम्पर्कबाट टाढा भएकाले एक्लोपन र आर्थिक समस्याका कारण उनीहरु आत्महत्यासम्म पुगेका हुन् कि भनेर अन्दाज गर्न सकिन्छ ।

डोनाल्ड ट्रम्प र महिला मार्च

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ खाएको भोलिपल्ट नै विश्वभर महिलाहरुले महिला मार्च निकालेर खबरदारी गरे । त्यस परिघटनाले समग्र विश्व र नेपालको महिला आन्दोलनमा कस्तो प्रभाव पार्ला ?

ट्रम्पजस्ता व्यक्तिको विजयले समग्र विश्वका महिलाको स्वतन्त्रता, मर्यादा, र शरीरमाथि नै प्रभाव पार्छ । महिलाले आजसम्म लामो लडाइँमार्फत स्थापित गरेका अधिकारका मुद्दा नै डगमगाउँछन् वा डगमगाउन सुरु गरिसके भनेर नै विश्वभरि ट्रम्पविरुद्ध खबरदारी गर्दै र्याली निकालिएको हो । ट्रम्पजस्ता महिलाविरोधी ९ःष्कयनथलष्कत० हरु संसारका हरेक कुनामा छन् । अमेरिका जस्तो प्रभावशाली देशमा ट्रम्पजस्ता व्यक्ति शक्तिमा आउनु भनेको महिला विरोधी भूमण्डलीकृत विश्वको निर्माण हुनु हो भनेर संसारभरका महिलाहरु एक भएका हुन् । ट्रम्पको विजयले नेपालमा अवश्य असर पार्छ । यसमा एउटा मात्रै उदाहरण भनेको अमेरिकाकै ‘ग्लोबल ग्याग रुल’ भनिने ‘मेक्सिको सिटी प्लान’ले परिवार स्वास्थ्य र परिवार नियोजनसम्बन्धी काम गर्ने संसारभरका थुप्रै गैरसरकारी संस्थालाई फन्डिङ गरिरहेको थियो ।

ग्लोबल ग्याग कार्यक्रम बन्द गरिनेसाथ यसले महिलाको प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन र परिवार नियोजनसम्बन्धी कैयौं कार्यक्रमहरुलाई प्रत्यक्ष असर गर्छ । निकट भविष्यमै तपाईंले नियमित टेलिभिजनमा देखिराख्ने ‘स्मार्ट दम्पती’ जस्ता विज्ञापन देख्न छोड्नुभयो भने अचम्म नमाने हुन्छ । गर्भपतनलाई अनैतिक र चरित्रहीन भनेर नेपालमा अझै पनि व्याख्या गरिन्छ । यस्तो देशमा बलात्कारबाट रहेको गर्भ, आमाको कम उमेरमा गर्भधारणा गरेका कारण शरीर जोखिमयुक्त रहेकाले, आमामा रक्तअल्पता वा कमजोर स्वास्थ्यका अन्य कारणले रहेको गर्भ आदि कारण सुरक्षित गर्भपतन गर्न पाउनुपर्छ भनेर नेपालमा कानुन पास गराउन यहाँका महिलाले कति लामो सङ्घर्ष गरे होलान् ।

अब ट्रम्पजस्ता ‘गर्भपतन अनैतिक हो, भगवानको मर्जीको खिलाफ हो’ भन्ने व्यक्ति अमेरिकाको सत्तामा रहेपछि यो कार्यक्रमका लागि गरिने लगानी त बन्द हुने नै भयो । नेपालजस्तो देशका महिलाको स्वास्थ्यमा अत्यन्त कम लगानी गरिने ठाउँमा यस्ता सहुलियतमार्फत चलेका कार्यक्रमको महत्व निकै हुन्छ । त्यसैले ट्रम्पको विजयले सबै ठाउँको महिला आन्दोलनमा अवश्य असर पार्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल