महेन्द्रले भनेका हुन् भने म त्यो विचारको पक्षपाती हो : बामदेव गौतमको अन्तर्वार्ता (भिडियोसहित)

महेन्द्रले भनेका हुन् भने म त्यो विचारको पक्षपाती हो : बामदेव गौतमको अन्तर्वार्ता (भिडियोसहित)

फागुन २० गते दिउँसो १२ बजे भैँसीपाटीस्थित निवासमा पुग्दा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम खाना खाँदै थिए । केही बेरको पर्खाइपछि उनले अन्तर्वार्ताका लागि आफ्नो कोठामा लगे । ०५४ सालमा स्थानीय निकायको चुनाव हुँदा गृहमन्त्री रहेका गौतममाथि धाँधली गरेर एमालेलाई जिताएको आरोप पनि लागेको थियो । १९ वर्षपछि स्थानीय निकाय नभई तह (स्थानीय निकायको पुनसर्रंचनापछि) को चुनावको घोषणा भएको छ, उनी उत्साही देखिएका थिए । पार्टीले सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका लागि झापा उड्नुपूर्व गौतमले ०५४ सालको स्थानीय निकायको चुनाव, सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव, संविधान संशोधन, एमालेको मेची–महाकाली अभियान र सत्ता गठबन्धनमा भइरहेका भनिएका  संवादमाथि रातोपाटीका लागि नेत्र पन्थी र नरेश ज्ञवालीसँग कुरा गरेका छन् ।

तपाईं गृहमन्त्री हुँदा भएको स्थानीय निकायको निर्वाचन १९ वर्षपछि फेरि स्थानीय तहका रुपमा हुँदैछ, यसलाई कसरी लिनुभएको छ ?

मैले सामान्य रुपमा लिएको छु । धेरैअघि निर्वाचन भइसक्नु पर्दथ्यो । अहिलेसम्म त चारवटै निर्वाचन भइसक्नुपर्दथ्यो । एउटा समान्य नागरिकले आफ्नो अधिकार प्रयोग गर्दा जसरी सोच्दछ र राज्य सञ्चालन गर्ने ठाउँ पुगेका उपल्लो तहका नेतृत्वदायी व्यक्तिहरुले जसरी सोच्दछन्, मैले पनि त्यही ढङ्गले सोच्दछु ।

त्यतिबेला तपाईंले गृहमन्त्रालयको शक्ति प्रयोग गरेर आफ्नो पार्टीलाई जिताउनुभयो भन्ने चर्चा भइरहन्छ, किन ?

मानिसहरुले पराजय स्वीकार गर्न नसक्दा लगाएको आरोप थियो त्यो । त्यसबेलाका प्रमुख निर्वाचन आयुक्तले मलाई मन्त्री निवासको डेरा र सिंहदरबारभन्दा बाहिर जान प्रतिवन्ध नै लगाएका थिए । कहीँ जान नपाउने अवस्था थियो । एक–दुई पटक बाहिर गएँ तर लिखित रुपमै सचेत गराइयो । त्यति मात्र होइन त्यसबेलाका सभामुख रामचन्द्र पौडेलले प्रत्येक दिन संसदमा हाजिर गराउने काम गर्नुभयो । नेपाली काङ्ग्रेसले प्रत्येक दिनजसो केही न केही विषयहरु झिकेर गृहमन्त्रीले जवाफ दिनुपर्ने भन्थ्यो र सभामुखले रुलिङ गर्नुहुन्थ्यो ।

त्यस कारण मैले शक्ति प्रयोग गरेँ भन्नु विल्कुल गलत हो । त्यसबेला मैले एउटा मात्र काम गरेको थिएँ । आईजीपी अच्यूतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेर उहाँको ठाउँमा एआईजीपी धु्रवबहादुर प्रधानलाई ल्याएको थिएँ । त्यसो गर्नुको पछाडि मैले खरेललाई चुनावमा सुरक्षा दिन सक्नुहुन्छ भन्दा सक्दिन भनेपछि गरेको थिएँ । त्यति बेला एमालेले निर्वाचनमा राम्रो परिणाम ल्याउनुका पछाडि नेपाली काङ्ग्रेसको कुशासनका विरुद्धमा जनतामा रहेको आक्रोस र निष्पक्ष निर्वाचनको परिणाम थियो । धाँधली कतिपय ठाउँमा हुँदै भएन भन्न सकिँदैन । तर मूल रुपमा निर्वाचन निष्पक्ष र स्वतन्त्र नै भयो । कतिपय ठाउँमा निर्वाचन आयुक्तले पटक–पटक निर्वाचन रद्द गर्नुभयो तर जति गरे पनि ती ठाउँहरुमा फेरि एमालेले नै जित्यो ।

एमालेमा लाग्ने व्यक्तिहरुलाई झुठा मुद्दा लगाएर सताउने काम व्यापक भएको थियो । कहाँसम्म भने काङ्ग्रेसका नेताहरुले भोट नहालेको भनेर पनि जनतालाई कारवाही गरे । त्यस्तो अत्याचारविरुद्ध जनताको भावाना भड्किराख्याथ्यो । त्यसको विकल्पमा एमालेबाहेक अर्को कुनै पार्टी थिएन ।

तपाईंलाई एमालेले निर्वाचन जित्दैछ भन्ने केही पूर्वानुमान थियो कि ?

थिएन । वि.स. २०४९ सालको निर्वाचनमा ६ जिल्ला विकास समितिका सभापति हाम्रो पक्षमा थिए । त्यसबेलामा पनि जनता सन्तुष्ट थिएनन् । एमालेमा लाग्ने व्यक्तिहरुलाई झुठा मुद्दा लगाएर सताउने काम व्यापक भएको थियो । कहाँसम्म भने काङ्ग्रेसका नेताहरुले भोट नहालेको भनेर पनि जनतालाई कारवाही गरे । त्यस्तो अत्याचारविरुद्ध जनताको भावाना भड्किराख्याथ्यो । त्यसको विकल्पमा एमालेबाहेक अर्को कुनै पार्टी थिएन । त्यसैले गर्दा एमालेले शानदार जित हासिल गर्यो ।

निर्वाचनमा सफल भएपछि गृहमन्त्रीको हैसियतमा पार्टीले तपाईंलाई के भनेर धन्यवाद दियो त ?

एउटा सभामा पार्टी अध्यक्ष मनमोहन अधिकारीले– धन्यवाद छ गृहमन्त्रीलाई, निष्पक्ष निर्वाचन गराउनुभएकोमा भन्नुभयो । जतिबेला म उपप्रधानमन्त्री भएर पार्टी अध्यक्ष मनमोहन अधिकारीकोमा शुभकामना लिन गएको थिएँ । उहाँले त्यतिबेला नै भन्नु भएको थियो– तपाईंले अरु केही नगर्नुस् निर्वाचन गराउनुस् । निर्वाचन जनताको अधिकार हो । नेपाली काङ्ग्रेसले गराउन हुँदैन भनिराख्या छ । उसले निर्वाचन गराएन तपाईंले गराउनुस्, यति भए पुग्छ ।

त्यसपछि म सोझै महासचिव माधवकुमार नेपाल कहाँ गएँ । उहाँसँगै अहिले हाम्रो पार्टीका अध्यक्ष केपी कमरेड पनि बसिरहनुभएको थियो । मैले अब के गर्नु पर्नेछ भनेपछि केपीजीले पहिले आईजीपी हटाएर देखाउनुस् भन्नुभयो । मैले माधव नेपालतिर फर्केर मैले त तपाईंसँग सोधेको हो, उहाँसँग त सोधेको पनि होइन तर उहाँले यसो भन्नुभयो । तपाईंको विचार के छ भन्दा उहाँले मेरो विचार पनि त्यही हो भन्नुभयो । मैले साच्चै हो ? कि यसले के भन्छ ? यसले जाँच्न खोज्नु भएको भनेर सोधेँ । उहाँले मैले साँच्चै भनेको तपाईंले हटाएर देखाउनुस भन्नुभयो ।

मैले कति दिनभित्र गरौँ भनेर सोधेँ । केपी ओलीले अबको १५ दिनभित्र भन्नुभयो । मैले यो पार्टीको निर्देशन हो ? भनेर सोधेको दुवै जनाले हो मात्र भन्नुभयो । त्यसपछि मैले त्यति नै समय त थोरै हुन्छ कि कति समय थप्नुहुन्छ भन्दा २० दिनभित्र भन्नुभयो । त्यसपछि मैले गर्छु नै त भन्दिन तर कोसिस गर्छु भनेँ । त्यसो भएर म गृहमन्त्रीको हैसियतमा पार्टी र जनताप्रति जिम्मेवार हुँनै पर्दथ्यो । त्यही भएर मेरो पहिलो जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु थियो । गृहमन्त्रीको हातमा अरु हुने कुरा आएन । त्यसैले मैले सुरक्षा व्यवस्थाको अवस्था बुझ्न आईजीपीलाई बोलाएर चुनाव गराउन सकिन्छ कि सकिँदैन भनेर सोधेँ ।

मैले आईजीपीलाई चुनावको सुरक्षाको जिम्मा दिएको थिएँ । उहाँले सकिन्न भन्नुभयो । त्यो सकिन्न भन्नुको पछाडि के कारण थियो, मलाई थाहा भएन । म पर्खने अवस्थामा थिइनँ ।

उहाँले मैले त्यसै भन्न सक्दिन, दुई दिन समय चाहिन्छ भन्नुभयो । दुई दिनपछि आएर उहाँले सकिँदैन भन्नुभयो । अहिले चुनावको वातावरण छैन । हामीसँग शक्ति छैन । चरण चरणमा गराउने हो भने सकिन्छ, नभए सकिँदैन भन्नुभयो । त्यसपछि मैले सुरक्षाका निम्ति सेना आयो भने के गर्नु हुन्छ भनेको म हेर्छु भनेर फेरि दुई दिनको समय माग्नुभयो । त्यसपछि मेरा अगाडि कि त राजीनामा गरेर पार्टीमा फर्कने कि निर्वाचन गराउनुपर्ने अवस्था थियो । त्यसपछि मैले आईजीपीलाई सरुवा गरेर राष्ट्रिय अनुसन्धान विभागमा पठाएँ र अर्कालाई बढुवा गरेर ल्याएँ । उनालई निर्वाचनको सम्पूर्ण तयारी गर्नुस् भनेर लगाएँ ।

भन्नुको अर्थ पार्टीको योजना, केपी ओलीको चुनौतीमा खरो उत्रिन आईजीपीलाई घानमा पारियो ?

मैले आईजीपीलाई चुनावको सुरक्षाको जिम्मा दिएको थिएँ । उहाँले सकिन्न भन्नुभयो । त्यो सकिन्न भन्नुको पछाडि के कारण थियो, मलाई थाहा भएन । म पर्खने अवस्थामा थिइनँ ।

त्यसो भए उहाँले सकिन्न भन्नु नै तपाईंहरुका लागि बरदान सावित भयो ?

म त्यस्तो धूर्त र चलाख मान्छे होइन । दश कुरा सोच्दा पनि सोच्दिनँ । तपाईंले आजसम्मको मेरो जीवन हेर्नुभयो भने थाहा पाउनु हुन्छ, एउटा काम गर्ने भनेपछि एउटा मात्र गर्ने गर्छु र त्यो सकेपछि मात्र अर्को काम गर्छु । पहिले नै सोचेर मैले यो गर्छु त्यसपछि यो गर्छु भनेर काम गर्ने गरेको छैन । पार्टीको निर्देशन भएको हुनाले मैले भनेको काम गरेर देखाएँ । निर्वाचनमा कसैको जित र कसैको हार त स्वभाविक हो । मेरो भित्र के नियत थियो, इत्यादि खोज्ने काम नगर्नुस् । किनभने त्यो एतिहासिक घटना बनिसकेको छ ।

तत्कालीन समयको निर्वाचन आयोगले सीडीओलाई निर्वाचन अधिकृत नबनाएर अरुलाई नै निर्वाचन प्रमुख तोकेर अगाडि बढ्नुपर्छ भन्दा तपाईंंहरुले मान्नु भएन भन्ने कुरा छ नि ? ती दिनहरु सम्झना छ ?

त्यो शत प्रतिशत गलत कुरा हो । त्यसो गर्नका निम्ति अरु धेरै समय खर्चिन पर्ने हुन्थ्यो । धेरै विचार विमर्श हुन्थे पत्रपत्रिकामा आउँथे ।

रातोपाटीसँगको अन्तर्वार्तामा तत्कालीन निर्वाचन आयुक्त डा. वीरेन्द्र मिश्रले निर्वाचनको निष्पक्षताका लागि सीडीओलाई निर्वाचन अधिकृत बनाउनुको सट्टा अरुलाई नै निर्वाचन प्रमुख तोकेर अगाडि बढौँ भन्दा एमालेले नमानेको प्रसङ्ग हामीसँग कोट्याउनुभएको थियो ।

वीरेन्द्र मिश्रजीले त्यसो भन्नुभयो भन्ने गलत हो । कसैले पनि मसँग त्यस्तो प्रस्ताव लिएर आएन । निर्वाचन आयोगले पनि प्रस्ताव ल्याएन ।

डाउट त हुन्छ नै । काङ्ग्रेसको चरित्र त्यसमा पनि माओवादी र काङ्ग्रेस मिलेर हामी मिलेर खाउँ भन्दै गर्दा जे पनि स्थिति हुन सक्छ ।

डा. वीरेन्द्र मिश्रको अन्तर्वार्ता पढ्न यहाँ जानुहोस् ।

कसरी भएका थियो २०५४ मा स्थानीय निकायको चुनाव (डा.वीरेन्द्र मिश्रको अन्तर्वार्ता)

यसपालिको निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउन पर्ने ठाउँ छ कि छैन ?

विद्यार्थीहरुको निर्वाचन भइराख्याछ, यो निर्वाचनमा पुलिसको प्रयोग भएका छ । काङ्ग्रेस र माओवादीले जितून् भनेर उनीहरुले काम गरेको रिपोर्ट आएका छन् । यसलाई हेर्दा यो प्रयत्न हुन्छ भन्ने लाग्छ । मैले मेरै प्युठान जिल्ला हेरेको छु । शक्ति चाहिँ दुरुपयोग भइराख्या छ । तर जतिसुकै शक्तिको दुरुपयोग भए पनि स्थानीय तहको निर्वाचनमा नेपाली जनताको प्रवृत्तिलाई हेर्दा एमालेले फेरि अर्को पटक जाज्वल्यमान स्थिति कायम गर्न सक्छ भन्ने लाग्छ ।

डाउट त हुन्छ नै । काङ्ग्रेसको चरित्र त्यसमा पनि माओवादी र काङ्ग्रेस मिलेर हामी मिलेर खाउँ भन्दै गर्दा जे पनि स्थिति हुन सक्छ ।

डाउट गर्नै नपर्ने शक्ति भनेको एमाले त्यसमा पनि बामदेव, मानिसहरु विश्वास गर्लान् ?

अब शङ्का गर्ने ठाउँ छ । तर जतिसुकै शङ्का गरे पनि जतिसुकै बोक्न खोजे पनि केही थोरै मात्रै तल माथि हुन्छ होला । एमालेको दिग्वीजयलाई कसैले रोक्न सक्दैन ।

एमालेले थालेको मेची–महाकाली अभियान चुनावको तयारी हो ?

चुनाव हुने भयो र यो चुनावको तयारी हुने भैदियो । वास्तवमा यो चुनावको तयारी होइन । यो देशको रक्षा अभियान हो । नेपाली जनताको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डतासहितको अधिकार रक्षाको अभियान हो । नेपाली जनतालाई एकताबद्ध बनाउनका लागि सञ्चालन गरेको अभियान हो । अहिले देशको स्वतन्त्रतालाई कमजोर बनाउन धेरै किसिमका षडयन्त्रहरु भएका छन् । देशको अखण्डतामाथि धावा बोल्ने काम सुरु भइसकेको छ । त्यही भएर यो अभियान चालिएको हो ।

मधेसी दलहरुले एमालेमुक्त मधेस अभियान चलाइरहँदा तपाईंहरुले गरेको मेची–महाकाली अभियानले टकरावको स्थिति पैदा गर्दैन र ?

हामीले यो अभियान हाम्रा अध्यक्षलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि गर्ने भनेर निर्णय गरेको हो । त्यसो हुँदा आज उनीहरुले आन्दोलन गर्ने भन्छन् भने त्यो संयोग हो । नत्र मधेसवादी पार्टीहरुको निर्णयसँग हाम्रो कुनै सरोकार छैन ।

महेन्द्रवादी सोच भनेको के हो ? महेन्द्रवादी सोचले यदि हिमाल, पाहाड र तराईलाई एकीकृत गर्नुपर्छ भन्ने सोच्छ भने जसले यसलाई मान्दछन्, म उहाँलाई बधाई दिन चाहन्छु । यदि त्यो महेन्द्रले भनेका हुन् भने म त्यो विचारको पक्षपाति हो ।

गृहमन्त्री विमलेन्द्र निधि र तपाईंका अध्यक्षका बीच वाकयुद्ध चलेजस्तो छ किन ?

गृहमन्त्रीले जे भन्नै नहुने त्यही भन्नुभएको छ । मधेसमा जहाँ–जहाँ एमाले छन् त्यहाँबाट लखेट्नुपर्छ, साफ गुर्नुपर्छ भन्नुभएको छ । गृहमन्त्रीको हैसियतले त्यस्तो अचाक्ली भन्नै नहुने, अत्यन्त अनैतिक कुकृत्य उहाँले गरेको हो । बोल्नै नहुने त्यस्तो कुरा उहाँले केका निम्ति गुर्नभएको छ, त्यो हामीलाई चासो छैन तर भन्न नहुने कुरा पटक–पटक भन्नुभएको छ ।

हाम्रो अध्यक्षले त्यस्ता कुराको विरोध गरिरहनुभएको छ । हामीलाई टक्कर दिने प्रयास भैराख्या छ । किनभने एउटा–एउटा बाहाना खोजेर हाम्रो अभियानलाई अवरोध गर्ने, बाधा गर्ने कोसिस भैराख्या छ । यसमा अरु धेरै हुन नहुने घटाना घटाउने षडयन्त्र पनि सँगसँगै भएको छ ।

गृहमन्त्रीले एमालेको महेन्द्रवादी सोचका कारण समस्या पैदा भएको बताएका छन् नि ?

महेन्द्रवादी सोच भनेको के हो ? महेन्द्रवादी सोचले यदि हिमाल, पाहाड र तराईलाई एकीकृत गर्नुपर्छ भन्ने सोच्छ भने जसले यसलाई मान्दछन्, म उहाँलाई बधाई दिन चाहन्छु । यदि त्यो महेन्द्रले भनेका हुन् भने म त्यो विचारको पक्षपाति हो । जसरी पनि पहाड तराईबाट अलग गर्नैपर्ने, पाहाडलाई मिसाएर तराईको कुनै प्रशासनिक एकाइ बनाउनै नहुने भनिएको छ, युगौँदेखि बनिराखेको अवस्थालाई तोडेर तराई–पाहाड अलग्गै गर्नुको औचित्य के ?

त्यसो के कारणले गर्न खोजिएको छभन्दा देश टुक्र्उनका लागि । देश टुक्र्उनेविरुद्ध नजाने कोही नेपाली हुन् सक्छ ? एउटा देशभक्त नेपाली भएको नाताले हाम्रो पार्टीका जुनसुकै कार्यकर्ताले यो कुरा उठाउँछन् भने अत्यन्त जायज कुरा उठाउँछन् । किनभने राष्ट्र निर्माणमा राजाहरुले मुख्य भूमिका खेलेका हुन्छन् । महेन्द्रले खेलेको भूमिका एकदम सही भूमिका हो । हामीलाई महेन्द्रवादी भनेर उल्याउन खोज्नेहरु राष्ट्र विघटन गर्ने, तराई, पहाड र हिमाललाई अलग–अलग गर्ने र टुक्र्याउनुपर्छ भन्ने पक्षका मान्छे हुन भन्ने स्वतः स्पष्ट हुन्छ ।

‘एउटै भाषा एउटै भेष, एउटै राजा एउटै देश’ भन्ने महेन्द्रीय परिकल्पना मानिन्छ । गणतन्त्र आइसकेपछि सबै जाति, भाषा, संस्कृतिको साझा पहिचान स्थापित हुनुपर्छ भन्ने मान्यता आयो । एमालेले यसको गलत व्याख्या गरेर देशै टुक्र्याउन लागे भनेर राष्ट्रियताको अभियान चलाउन थाल्यो । यो सत्ता छाडेपछिको रियाक्सन हो जस्तो पनि देखिन्छ ?

एक भाषा, एक भेष भन्ने न त्यति बेला भनियो न सरकारी नीति बन्यो । तर पञ्चहरुले यो कुरालाई अगाडि बढाएका थिए । सम्पर्क भाषा र मुख्य भाषा एउटै हो । नेपालका बोलिने सबै भाषाहरुबीचमा सम्बन्ध बनाउने भाषा नेपाली भाषा नै हो । यसरी गइरहेको हुनाले त्यो भाषाको आधारमा पञ्चायती शासनलाई टिकाउनका निम्ति उनीहरुले एउटा भाषा एउटा भेष एउटा राजा एउटा देश ल्याए । उनीहरुले त्यो राजालाई बलियो बनाउनका निम्ति ल्याए । त्यससँग हाम्रो सम्बन्ध छैन ।

कैयौँ कुरामा हामीले मधेसी समुदायमाथि आशङ्का गरेजस्तो लाग्दैन ?

पहिलो कुरा मधेस भनेको के ?

तिलाठीमा भारतीय पक्षसँग भएको झडपमा घाइते भएका मधेसीलाई तपाईंहरुले सम्मान पत्र दिने तर मधेसीको आत्मसम्मानको कुरा गर्दा भारतीय देख्ने ? अधिकार र आत्मसम्मानको कुरा गर्दा राष्ट्रवाद जाग्नुपर्ने किन ?

तपाईंले जे भनिरहनुभएको छ त्यो अनुचित र नबुझेर भनिराख्नु भएको छ भन्ने मलाई लागिराख्या छ ।

कृपया, बुझाइदिनुस न ?

मधेस भनेको के हो ? मधेसी भनेको के हो ? मधेसीलाई अधिकारबाट वञ्चित गर्ने भनेको के हो ? मैले बुझिन मलाई बताइदिनुस् । मधेसीलाई अधिकारबाट वञ्चित गर्ने, मधेसलाई अधिकारबाट वञ्चित गर्ने भनेको के हो ? को अधिकारबाट वञ्चित भएको छ भन्नुपर्यो नि । के हो ? मधेसको नाममा कुर्लने सारा उनीहरु जनताको प्रतिनिधि होइन । आज ठूलो मधेसी–मधेसी भनिराख्या छ । तराईमा बसोवास गर्ने सारा जनताको प्रतिनिधिको रुपमा आइराख्या छैन । प्रतितिधिका रुपमा आउँथ्यो भने निर्वाचन परिणामले देखाउँदैनथ्यो । कहाँ, को, कसरी प्रतिनिधित्व गरी राख्या छ भन्ने हामीलाई थाहा छैन ?

कञ्चनपुरदेखि झापासम्मको पाहाड छुट्याएर एउटा प्रदेश चाहिन्छ, त्यसलाई हामीले राष्ट्र बनाउँछौँ, चित्त बुझेन भने हामी छुट्टिएर अर्कै देश बनाउँछौँ भन्ने कुरा उनीहरुको अधिकारको कुरा हो । हामीले त्यसलाई मान्दैनौँ किनभने यो कुनै पनि समयमा थिएन । राजा जनक र राजा हरि सिंह कर्नाडको पालामा पनि थिएन । सेन वंशी राजा र जतिबेला पश्चिमको तराई डोटेल राजाको अधीनमा थियो त्यसबेला पनि थिएन । कहिलै पनि थिएन । जनक राजा जो मिथिलाका सन्तान थिए, उनीहरु समाप्त नहुँदासम्म उनीहरुको सिमाना उत्तरमा हिमाल र दक्षिणमा गङ्गा थियो ।

तपाईंले कहिलै देख्नुभएको छ, तराईको मात्र राज्य भएको । इतिहासका तथ्य प्रमाणहरुले भन्छन् कि तराई छुट्टै राज्य कहिलै भएन । दिल्लीका मुसलमान राजाले आक्रमण गरेर सिम्रौनगढ ध्वस्त भएपछि शरण लिन आएका हरि सिंह कर्नाड वंशी राजा काठमाडौँको ललितपुरमा नातिको पालसम्म ६५ वर्षसम्म राज गरे । उनको सिम्रौनगढ राज्यको सिमाना मकवानपुरको पाहाडसम्म छ । कुन चाहिँ तथ्य प्रमाण छ मधेस मात्र अलग्गै राज्य भएको अध्ययन गर्नुस् । सबै अध्ययन गर्न पर्यो ।

तपाईं जनकपुर जाँदा तनावको स्थिति देखा पर्यो त्यो के परिस्थिति थियो ?

त्यो अराजकताको, उदण्डताको र संस्कारहीन असभ्य जङ्गली प्रवृत्तिको परिचय थियो । म एउटा घरमा बसेको थिएँ, मलाई ‘डिस्टर्भ’ गर्न गेटमा आएर केही उफ्रे, केहीले ढुङ्गा हाने । यसो नगर भन्न हाम्रा साथीहरु गएको ‘भाग रे भाग’ भन्दै कुलेलाम ठोके । अनि जनकपुर शान्त भयो । बेलुका हाम्रा साथीहरुले शान्तिपूर्ण जुलुस निकालेर उनीहरुलाई कुना–कुना पठाइयो, अब कहिलै पनि ननिस्कनु भनेर आदेश दिएर आयौँ भन्नुभयो ।

संविधान संशोधनका विषयमा सरकारले अघि सारेको विधेयकमा आफैपछि हटेजस्तो देखिन्छ, एमालेलाई आनन्द भयो होला है ?

होल्ड गर्ने होइन कि फिर्तै लैजानुपर्छ । एमालेलाई त्यसबेला आनन्द हुनेछ जब सरकारले अबदेखि कहिलै पनि संविधान मिचेर देशको एकताको विरुद्धमा कुनै काम गर्दिनँ भन्छ । कसैको उक्साहटमा आइने छैन भनेपछि मात्र शान्ति हुन्छ । नभए हामीलाई शङ्का छ ।

यसमा मधेस आन्दोलनको भूमिका छ कि ?

तपाईंहरु जसरी मधेस आन्दोलन भन्नुहुन्छ, त्यो अराजकताभन्दा केही थिएन । पहिलो पटकको आन्दोलनमा शान्तिपूर्वक मिलेर बसेका त्यहाँका पहाडी मूलका व्यक्तिहरुलाई लखेट्ने काम भयो । दोस्रो पटक भयो पहाडियालाई लखेट्ने कामबाहेक केही भएन । अहिले गरेको भनेको बाँकी रहेकाहरुलाई लखेट्ने काम नै हो । त्यो अराजकता सप्तरीदेखि पर्सासम्मको कुरा हो । त्यहाँभन्दा न पूर्व न पश्चिम जान सक्ने अवस्था छ । सरकार डराउनुपर्ने छैन । सबैभन्दा पहिले तीन तहको निर्वाचन गराऊँ । त्यसका निम्ति एमाले सहयोग गर्न तयार छ । के गर्दा निर्वाचनमा सहयोग हुन्छ, हामी तयार छौँ ।

यदि मधेसकेन्द्रित दलहरुले निर्वाचनमा भाग नलिने अवस्था आयो भने त्यसले अप्ठ्यारो पर्दैन ?

हाम्रो संविधानमा चुनावमा भाग लिन्नौँ भन्नेलाई कारवाही गर्ने कुनै व्यवस्था छैन । कसैले निर्वाचनमा जाँदैनौँ भन्छ भने त्यो उसको अधिकारको कुरा हो । कुनै पार्टीले हामी निर्वाचन बहिष्कार गर्छौँ भन्छ भने त्यसलाई हामीले अन्यथा लिनु हुँदैन । यदि चुनाव गराउन दिन्नौँ भन्छ कसैले भने त्योभन्दा ठूलो अराजकता हुन सक्दैन ।

दुई तीन दिनयता नयाँ गठबन्धनको अभ्यास भइरहेको समाचार आएका छन्, त्यस्तो अभ्यास भएकै हो ?

मसित यो सम्बन्धित छैन । जतिबेला सुशील कोइरालाको सरकार बनाएका थियौँ, त्यसबेला पनि हाम्रो पार्टीको विचार तीनवटै दल मिलेर सरकार बनाऊँ भन्ने थियो । संविधान जारी भएपछि पनि हामीले नेपाली काङ्ग्रेसलाई अनेक पटक अनुरोध गर्यौँ मिलेर जाऊँ भनेर तर कसरी टक्कर लिन सकिन्छ भनेर सुशील कोइराला बूढालाई उम्मेदवारै बनाए र केपीसँग भिडाएर हराउने काम भयो । जसले गर्दा बूढाको निधन पनि भयो । त्यसो हुँदा यदि त्यस्तो अवस्था आउँछ र संविधान कार्यान्वयन गराउने बेलासम्म तीनवटै पार्टीहरु सहमत भएर अगाडि बढ्न भने एमाले सहयोग गर्न तयार छ । हामी शेरबहादुर र प्रचण्डलाई फुटाएर सरकार बनाउने पक्षमा छैनौँ । हाम्रो पार्टीभित्र पनि केही व्यक्तिले त्यस्तो गरेका छन् भने गलत कुरा हो ।

निर्वाचनपछि सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको छ भनेर प्रचण्ड–शेरबहादुरले भनेका छन् ।

भद्र होइन, लिखितै भएको छ । शेरबहादुरले लिखित नगरिकनै प्रचण्डलाई प्रधानमन्त्री बनाउनै चाहेनन् । किनभने अघिल्लो पटक लिखित प्रतिबद्धता नगरेको हुनाले सुशीललाई उठाउने घटना घट्यो । त्यसैले लिखितै गर्नुपर्छ भनेर उनले लिखितै गरेका छन् ।

यदि प्रचण्ड–शेरबहादुरबीच दूरी देखिएमा एमाले मैदानमा प्रवेश गर्छ कि गर्दैन भन्न खोजेको ?

दूरी देखा पर्यो, सरकारलाई टुक्र्याउनुपर्ने भयो, एमालेकै नेतृत्वमा सरकार बनाऊँ भन्ने प्रस्ताव आयो भने एमालेपछि हट्ने कुरै भएन । पटक–पटक राज्य सञ्चालन गरेका राजनीतिक दलहरुबीच सबैभन्दा राम्रो राज्य सञ्चालन गर्न सक्ने क्षमता भएको पार्टीले त्यो अवसर किन गुमाउँछ र ?

यही सरकारलाई निरन्तरता दिएर जाने खण्डमा एमालेको भूमिका के हुन्छ ?

त्यस्तो अवस्था पैदा भयो भने सोचौँला । त्यति बेला यस्तो हुन्छ र त्यस्तो गर्नुपर्छ भन्ने कुराको पछाडि नलागौँ । प्रचण्डजीले स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुहुन्छ । जेठ १५ भित्र जसरी पनि बजेट पेश हुनैपर्छ । त्योभन्दा अघि नीति तथा कार्यक्रम तयार हुनैपर्छ । त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ । शेरबहादुरजीले म प्रधानमन्त्री बन्दिन र एमालेसहितको सरकारमा मात्र जान्छु भन्नुभयो भने त्यो नयाँ परिस्थितिमा एमाले सरकारमा जान्छ । त्यसमा प्रधानमन्त्री पाउने र नपाउने कुरा छलफल गर्दा टुङ्गिने कुरा हो ।

तपाईं आफै पटक–पटक उपप्रधानमन्त्री भएको हुनाले नयाँ समीकरणमा प्रधानमन्त्रीको दौडमा जाने केही सोच छ कि ?

मैले त्यस्तो दाबेदारी गर्दिनँ । आवश्यकताले जिम्मेवारी लिनुपर्ने परिस्थिति आयो भने पछि हट्दिन ।

प्रचण्डसँग यहाँको पछिल्लो संवाद कहिले भएको छ ?

केही दिनअघि मात्रै भेटेको हो । स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्ने भन्नेबारे कुराकानी भए ।

उहाँको कार्याकालको मूल्याङ्कन ?

निर्वाचन सम्पन्न गराउनुभयो भने एउटा उपलब्धि लिनुभयो, नत्र उहाँको सकारात्मक मूल्याङ्कन गर्ने ठाउँ छैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल