यो सिस्टम भनेकै क्र्याक सिस्टम हो

यो सिस्टम भनेकै क्र्याक सिस्टम हो

वरिष्ठ पत्रकार किशोर नेपाल राजनीतिक टिप्पणीकार पनि हुन । राजनीतिलाई निकै नजिकबाट नियालेका उनले पत्रकारितामा लामो समय बिताएका छन् । विविध प्रकारका निर्वाचनहरुलाई नजिकबाट नियालेका उनले संघिय संरचनामा गई सकेको स्थानीय तहको निर्वाचनलाई कसरी हेरेका छन् त भन्ने जान्न खोजेका छन् नरेश ज्ञवालीले ।

स्थानीय तहको चुनाव हुने पक्का भैसकेको देख्दादेख्दै पनि जनतामा त्यति उत्साह आएको देखिँदैन किन ?

मलाई सम्झना छ, चुनाव घोषणा हुन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले नहुने चुनावको घोषणा गर्नुभयो भन्ने थियो । मलाई के लागेको छ भने उहाँमा त्यो चुनाव हुन्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास नै थिएन । किनभने एमालेले जनताको मत आफ्नो पक्षमा पार्न रणनीतिकै रुपमा जसरी महेन्द्रीय राष्ट्रवादलाई प्रयोग गरीरहेको छ त्यसले गर्दा सोझा जनता उता लाग्छन भन्ने बुझिसकेका थिए जस्तो लाग्छ । जे होस् अहिले त्यो अलिक मथ्थर भएको छ । मलाई पनि प्रचण्डले त्यतिबेला ठिकै भने जस्तो लाग्छ । अहिले जनता विश्वस्त हुन नसक्नुको कारण पनि त्यति नै हो जस्तो लाग्छ । किनभने दलहरुनै के हुन्छ भन्नेमा विश्वस्त छैनन् ।

मधेसवादी दलहरुलाई नलिइकन चुनाव गर्नुको केही अर्थ छैन । त्यसमा फेरी एमालेले भनेको हुनु प¥यो । एमालेले मधेसीहरुलाई कामै नलाग्ने, भारतीय लगायत कुरा भनेको छ । कि त त्यो प्रदेशलाई फुटाएर भारतको जिम्मा लगाई दिनुप¥यो होइन भने त त्यहाँ भएकाहरुलाई नेपाली सरह व्यवहार गर्नुप¥यो नी । बोल्दा मधेस, पहाड र हिमाल मिलेर बस्नुपर्छ भन्ने तर व्यवहारमा भने अर्कै गर्ने गरिरहेको छ एमालेले । म भर्खरै मधेस भ्रमणबाट आउँदैछु मधेसको मानसिकता पनि त्यस्तै विकास भएको छ । उनीहरुलाई नेपाली भूमिबाट लखेटन खोजिएको भन्ने परेको छ । उनीहरुले त्यो कुरा स्पष्ट भनिरहेका छन् तर सुनवाई गर्ने कस्ले ? मलाई लाग्छ उनीहरुलाई चुनावमासँगै लिएर जान नेपाली जनताले पहल गर्नुपर्छ । नेपाली जनता भनेको संसद हो ।


भन्नुको अर्थ आगामी स्थानीय तहको निर्वाचनमा मधेस समावेस हुने कुरा मुख्य मुद्दा हो ?
मधेसको मुद्दामा एमालेले जडता देखायो भनौँ न । एमाले अगाडि बढ्न चाहेन । देशका सबै जात–जातिलाई सँगै लिएर अगाडि बढ्न चाहेन उ । उ एक्लै अगाडि बढ्न चाह्यो । एमालेले के ठान्छ भने उ एक्लै अगाडि बढ्दा जनताले उसलाई भोट दिन्छन् र पहाडिया भोट लिएर जित्छु । उ दिवा सपनामा भुल्यो र देशको खास राजनीतिक मुद्दालाई आफ्नो एजेण्डाबाट किनारा लगाई दियो ।

त्यस्तो हुनु एमालेको कारण हो अथवा सत्ता गठबन्धनले एमालेलाई किनारा लगाउन खोजेर त्यस्तो भएको ?
एमालेलाई किनारामा परिएको होइन । अरुलाई जस्तै मलाई पनि एमाले–माओवादी गठबन्धन टिक्दैन भन्ने लागेको थियो । किनभने माओवादीमा एमालेमा भन्दा धेरै राजनीति गर्ने नेताहरु छन् । मैले माओवादी र नेपाली काँग्रेसका बीच राज्य पुनःसंरचनाको मुद्दामा वार्ता, पावर शेयरिङ नभईकन यो समस्या समाधान हुँदैन भन्दै आएको छु । म अहिले पनि त्यही धारणामा दृढ छु । समयले नेपाली काँग्रेस र माओवादीलाई सँगै हिँड्नु पर्ने बनाइदियो र उनीहरुबीच पनि सहमतिमा आउन सक्दा रहेछन् भन्ने प्रमाणीत भयो ।

काँग्रेसले आफूलाई माओवादी नेतृत्व मातहत राख्न तयार हुनु भनेको ठुलो कुरा हो । यसलाई सानोतिनो परिवर्तन भन्न मिल्दैन । कसैले काँग्रेस भन्दा एमाले ठुलो पार्टी हो भनेर हेरेको छ भने ‘गईल भैंस पानी में’ भने हुन्छ । नेपाली राजनीतिको मुल भनेकै काँग्रेस हो । यहाँका पुराना भाई–भारदार, मिल मालिक, भूमिपति, नयाँ वुर्जुवाहरु, बुद्धिजिवी, लोकतन्त्रवादी, प्रजातन्त्रवादी उदार राजतन्त्रबादी, धर्मनिरपेक्ष र हिन्दु धर्म पक्षधरहरु सबैलाई समेटने क्षमता राख्ने पार्टी भनेको काँग्रेस नै हो । यो भनेको भारतीय नेशनल काँग्रेस जस्तो क्षमता भएको पार्टी हो ।

काँग्रेस सिद्धिएर गएको पनि होइन । सिध्धीन त एक दिन माओवादी, एमाले पनि सिद्धिएर जान्छ । नयाँ पुस्तासँगै अर्को शक्तिको उदय हुन्छ त्यो भिन्नै कुरा हो । त्यसकारण पुरानो शक्तिको रुपमा नेपाली काँग्रेस र नयाँ शक्तिको रुपमा माओवादीको मेलमिलाप नभईकन सुखै छैन । परिवर्तन पनि यी दुई शक्तिको कारणले आएको हो । गिरिजाप्रसाद कोईराला र प्रचण्ड नभएको भए राज्यको रुपान्तरणको मुद्दा नै आउने थिएन । यिनै दुई जना नेता एक नभएको भए नेपालमा यो परिवर्तन पनि आउने थिएन । मात्र भएको के हो भने देशमा आएको परिवर्तन यहाँका नेताहरुलाई बोकाको मुखमा कुभिन्डो भएको झैँ भएको छ । उनीहरुले यो परिवर्तन पचाउन सकेका छैनन् । उनीहरुले परिवर्तनको आयतनलाई आफ्नो दृष्टिबाट हेर्नै सकेका छैनन् ।

एमालेको भूमिकाको कुरा गरी रहँदा केन्द्रमा एक दिन एमालेसँग मिलेको जस्तो र एक दिन मधेस केन्द्रीत दलहरुसँग मिलेको जस्तो देखिन्छ । मधेसमा भने त्यो सिधा लडाई एमालेसँग भएको जस्तो देखिन्छ भने एमालेको यो राष्ट्रवादी पोजिसनले उसलाई कहाँ पु¥याउँला ?
केपी ओलीले नेपालका ‘अर्थोडक्स’ राष्ट्रवादीहरुको भेला गरेर त्यसको बटालियन बनाउन खोजेका हुन् । त्यसैको पछिल्लो कडी राजतन्त्रवादी कमल थापासँग गरिएको चुनावी तालमेल हो । गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली भन्ने गीत गाउने अनि चीनले केरुङदेखि लुम्बीनीसम्म रेल ल्याईदिने काम हाम्रो पालामा भएको हो भन्ने, भोट जम्मा पारेर शासन गर्ने भन्दा कुनै ठुलो उद्धेश्य एमालेले बोकेको जस्तो मलाई लागेको छैन । घोषणा पत्र र नेताका भाषणहरुमा जे भनिए पनि त्यो भाषण मात्र हो । त्यसको देश बनाउनेसँग कुनै साईनो छैन ।


मधेसको सन्दर्भमा जसरी भएपनि मधेसीलाई पहाडीहरुको कब्जामा राख्नुपर्छ भन्दै परम्परागत रुपमा राजा महेन्द्रले जे गर्थे त्यसैलाई टपक्क टिपेर कार्यान्वयन ग¥यो भने शान्ती हुन्छ भन्ने भ्रम छ¥यो । एमालेले मधेसलाई नेपालबाट अलग हुनुपर्छ पनि भन्दैन नेपाल भित्रै मिलाएर राख्न पनि सक्दैन । अनि नचाहिने कुराको बाबाल खडा गरी रहन्छ । अब अंगिकृत नागरिकलाई माथिल्लो पोष्ट दिनु हुँदैन भनेर सबैलाई भन्दै हिँड्छ । यो कुरा त उनीहरुले भनेको मात्र होइन नी संविधानमा अंगिकृत नागरिक ठूलो पोष्टमा जान पाउँछ भनेर कहाँ लेखेको छ । जहाँसम्म भाषाको कुरा छ त्यो त सबै भाषालाई समान व्यवहार गरे भैहाल्यो नी ।

एमालेको मेची महाकाली यात्रादेखि हालसम्म आई पुग्दा त्यसले एमालेलाई फाइदा हुने देख्नु हुन्छ कि कस्तो देख्नु हुन्छ ?

राजविराजको औद्योगिक क्षेत्र मलेठमा भएको हिँसाले पहाडमा पनि बसी रहेकालाई एमाललाई पनि निकै दुःखी बनाएको छ । पहाडीया भुकम्प पिडित जील्लाकै कुरा गर्ने हो भने पनि पाहाडियाहरुको आँखामा मधेसीहरुको स्तर निकै माथिल्लो छ । उनीहरु चामल, पिठो, सातु र चाउचाउ बोकेर भुइँचालो पिडितको उद्धार गर्न पुगेका छन् । त्यसैले पहाडियाहरुले पनि मधेसीलाई नेपाली भनेर नै चिन्छन् तर ओलीजीले मधेसी जति नेपाली हुँदै होइनन् भन्छन् ।

तपाईको तात्पर्य एमाले परिवर्तन रोक्ने शक्तिको रुपमा उदायो भन्न खोज्नु भएको ?

त्यो त स्पष्टै कुरा छ । अहिलेलाई सबै भन्दा ठूलो परिवर्तन भनेको संघीयता हो । त्यो परिवर्तन रोक्न धेरै थोरै उसका गठबन्धनमा रहेकाहरुले पनि गरिरहेका छन् । हाम्रो यो सिस्टम भनेकै क्रयाक सिस्टम हो । किनभने हामीले संघीय मन्त्री नै कसलाई बनाएका छौँ भन्दा राजतन्त्रलाई पुनःस्थापित गर्न लागि परेको मान्छेलाई । यसैबाट थाहा हुन्छ हामी कति विसंगत स्थितिमा छौँ ।

मुद्दाका हिसावले हिजो राजनीतिक दलहरुले लिएको एजेण्डा र अबको स्थानीय निर्वाचनमा दलहरुले लिने एजेण्डमा केही भिन्नता देख्नु हुन्छ ?
हिजोका सबै एजेण्डाहरु फेल भैसके । माओवादी, काँग्रेस एमाले, मधेसी र अन्य पार्टीको एजेण्डा पनि फेल भैसके । राज्य पुनरसंरचनाको नारा लिएर माओवादीहरु जसको अधारमा शान्ति सम्झौतामा आएका थिए र जसमा टेकेर बिस्तृत शान्ती सम्झौता भएको थियो त्यो अनुसार कामै भएको छैन । माओवादीहरुले पनि सत्ताको चमकदमकमा आफ्ना एजेण्डा छोडे । अब काँग्रेसका लागि पनि यो सकसपूर्ण थियो । एमालेको त कुरै नगुर्नस् । उ निर्वाचनबाट दोस्रो पार्टीको रुपमा उदायपछि त्यतिकैमा उसलाई पुग्यो । परिवर्तनपछि पार्टीहरुले एजेण्डालाई मजबुत बनाउँदै समाउँदै गएको भए हामीले यति दुःख पाउने थिएनौँ ।

सबै एजेण्डा फेल भएपछि दलहरुका भावि एजेण्डा कस्ता होलान त ?
संघीयता, स्थानीय तह, प्रादेशिक सरकारको कुरामा धेरै असहमति छैन । काँग्रेसमा आजको मितिमा कुनै पनि नेताले धर्मनिरपेक्षता चाहिँदैन भन्न सक्दैन । चिया गफमा भन्ला त्यो भिन्न कुरा हो । त्यो इमान्दारिता एमालेले देखाएन । एमालेले सत्ता सम्भाल्न पाउने हो भने कतिसम्म भन्थ्यो होला भने पाँच हजारबाट बढाएर बृद्ध भत्ता आठ–दश हजार गराई दिन्छु । बृद्धभत्तालाई त एमालेले एजेण्डा नै बनायो । हाम्रो जस्तो देशले पाँच हजार बृद्धभत्ता दिनसक्ने क्षमता राख्छ कि राख्दैन त्यो पनि कसैले हेरेन ।

यो पुपुलिस्ट नारा भयो ?
पपुलिजमलाई पनि तपाईले भोली संस्थागत निर्णय गर्ने गरी अगाडि बढ्नुभयो भने त्यसलाई देशले कसरी धान्ला भनेर सोच्नु पर्दैन ?

स्थानीय निर्वाचनमा राष्ट्रवाद र आर्थिक विकास एजेण्डाका रुपमा आउलाँन् कि तपाईले कसरी हेर्नु भएको छ ?
मलाई के लाग्छ भने यी दुबै एजेण्डा होइनन् । आजको युगमा राष्ट्रवाद कस्तो हुनुपर्छ भन्ने कसैले बुझेकै छैन । अब चिनियाँ रेल चढ्नु, हैदराबाद हाउसमा भोज खानु र लैनचौरमा चिया खानु राष्ट्रवाद हो कि राष्ट्रघात हो कसैले बुझेका छैनन् । हामी बौद्धिकहरु पनि ठोस कुरा भन्दा झिनामसिना कुरामा धेरै अल्झियौँ । निकासबारे त दलहरुसँग कुनै सपना नै छैन । यिनीहरुको मुल कुरा भनेकै यथास्थितिबादलाई निरन्तरता दिने हो ।

सबैले आ–आफ्नो यथास्थितिवादलाई अगाडि बढाई रहेका छन् । हिजो केपीओलीले जहाँबाट सरकार छोडेका थिए अथवा प्रचण्डले जहाँबाट सरकार आफूले लिएका थिए एमाले, काँग्रेस माओवादीको नीति त्यहीबाट शुरु हुन्छ । यिनीहरुसँग भन्ने नयाँ कुरा केही छैन । केही भए पनि यिनीहरु केही भन्न सक्दैनन् किनभने अवस्था निकै तरल छ ।

स्थानीय तहको निर्वाचनमा बाबुराम भट्टराईको नयाँ शक्तिको अवस्था कस्तो देख्नु हुन्छ ?
उहाँको वरीपरी बस्ने स्प्नद्रष्टाहरुले नै उहाँलाई छोडेर हिँडेपछि तपाईले कुरा बुझ्नु् भयो होला ।

उहाँको आर्थिक समृद्धिको नाराले काम गर्ला कि नगर्ला त ?
बाबुरामजीले आफूलाई राजनीतिज्ञको रुपमा भन्दा पनि अर्थशास्त्रीको रुपमा आफूलाई स्थापित गर्न खोजेको हो कि जस्तो लाग्छ । त्यसैले उहाँ थोमस पिकेटीको कुरा गरी राख्नुहुन्छ तर पिकेटीले भनेको अर्थतन्त्र र हामीले धान्दै आएको अर्थतन्त्रको कुरा कहीँ पनि मिल्दैन । त्यसो त नयाँ शक्तिमा चामात्कारिक मान्छेहरु पनि छन् त्यसैले केही सिट आउँछ कि भनेर मानिसहरुले अनुमान लगाई रहेका छन् । तर मलाई तात्विक परिवर्तन ल्याउने गरी केही गर्ला भन्ने लाग्दैन ।

अबको चुनावी मैदानमा कसले आफूलाई स्थापित गर्न सक्ला भन्ने देख्नु हुन्छ ?
त्यसको बारेमा अहिले केही पनि अनुमान गर्न सकिदैन । दुई–चार पैसा खल्तीमा हुनेहरुलाई र राजनीतिमा रुची हुनेहरुलाई मात्र चुनाव लागेको देखेको छु । त्यसो त म गाउँघर जान पनि पाएको छैन त्यसैले धेरै भन्न नमिल्ला तर अखबारका पानामा र फेसबुकमा चुनाव लागेर हुँदैन । वास्तविक चुनाव जनताको घर आँगनमा लाग्नुपर्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल