एक्लै चीन गएर आएका आपूर्तिमन्त्रीले भने– कैयौँ प्राइभेट कम्पनी पनि इन्धन दिन तयार छन्, छिटै इन्धन सहज हुन्छ

एक्लै चीन गएर आएका आपूर्तिमन्त्रीले भने– कैयौँ प्राइभेट कम्पनी पनि इन्धन दिन तयार छन्, छिटै इन्धन सहज हुन्छ

भारतको नाकाबन्दीका कारण देशमा इन्धन आपूर्तिमा समस्या छ । यसका लागि सरकारले भारतीय एकाधिकार तोड्दै चीनबाट इन्धन ल्याउने भएको छ । चीनसँग इन्धन ल्याउने पहल गर्न आपूर्तिमन्त्री गणेशमान पुन भर्खरै चीन गएर फर्केका छन् । अर्कोतर्फ देशमा आपूर्ति व्यवस्थामा अनियमितता भएकाले थप समस्या उत्पन्न भएपछि सरकारले छानबिन समिति समेत गठन गरेको छ । यसै विषयमा केन्द्रित रहेर डिएनएन प्रतिनिधि भरत पाण्डेयले मन्त्री पुनसँग गरेको कुराकानीः

चीनसँग इन्धन सम्झौता गर्न कसरी सम्भव भयो ?
इन्धनका लागि हामी सधैँ भारतको एउटा बजारको एउटा कम्पनीसँग भरपर्दा समस्या भयो । अहिले सबै कम्पनीसँग पहल गर्नुपर्ने भएको छ । नेपाली जनताले पनि यसमै जोड दिएका छन् । त्यसैले बाटो खोल्नुपर्यो, व्यापार विविधीकरण गर्नुपर्यो भनेर सरकार पनि लाग्यो । त्यसपछि दशैँ र तिहार जस्तो नेपालीको ठूलो चाडमा पनि आराम नगरेर यो मन्त्रालयमार्फत हामीले कहिले औपचारिक त कहिले अनौपचारिक पहल गर्यौं । टोली पठायौँ । टोली गइसकेपछि पहिला एमओयुमा हस्ताक्षर भयो । त्यसपछि मैले कसरी सहज ढंगले अघि बढ्न सकिन्छ भनेर अनौपचारिक छलफल गरेँ । अहिले चाइना आयलले कमर्सियसल सम्झौताका लागि बोलाएको छ । अब छिटै टोली पठाउँदै छौँ । ganeshman pun
इन्धन कहिलेदेखि आउँछ भनेर ठ्याक्कै तोकेर त भन्न सकिँदैन । अनुदानको तेल त आइ पनि सक्यो । अब व्यापारिक प्रयोजनको तेल ल्याउन तीव्र गतिमा काम भइरहेको छ । अब सरकारी तहमा भएको सम्झौतालगत्तै त्यो पनि आउँछ ।
कैयौँ प्राइभेट पार्टीहरू पनि सप्लाई गर्नका लागि तयारी अवस्थामा छन् । चाइनाकै कैयौँ कम्पनी पनि सप्लाईका लागि तयार छन् । पहिला त सरकारी तहबाटै आउँछ, तर निजी क्षेत्रबाट पनि इन्धन ल्याउन सक्ने पछिल्लो निर्णय भएको छ । हामीले आवश्यकता अनुसार तेल ल्याउन सक्छौँ ।

बाटोको कुरा के हुन्छ ?
बाटोको पनि कुरा भइरहेको छ । खासगरी चीनतर्फको यातायातको त्यतिधेरै समस्या छैन । नेपालतर्फको यातायातको समस्या समाधानका लागि पनि सम्बन्धित मन्त्रालयमा पटकपटक प्रधानमन्त्रीको नेतृत्वमा भएको टास्कफोर्सले पनि निर्णय गरेको छ । खासगरी तातोपानी नाका खोल्नका लागि पहल भएको छ । अध्ययन गरेर टोली गइसकेको छ । अब तुरुन्तै खुल्छ ।
नेपालको सडक खोल्नकै लागि चाइनाको सहयोग आवश्यक पर्दैन । खुलिसकेको सडक हो, स्तरोन्नति हाम्रो संयन्त्रले पनि गर्न सकिहाल्छ । तर, सडक मात्रै भन्दा पनि तेलका लागि सबै पूर्वाधार निर्माणका लागि सहयोग गर्ने कुरा भएको छ ।
इन्धनको मूल्यबारे के कुराकानी भएको छ ?
अनौपचारिक रुपमा उहाँहरूसँग भएको कुराकानीअनुसार स्थानीय कर नलिएर बेच्ने भन्ने भएको छ । तर, औपचारिक रुपमा सम्झौतापछि यसको टुंगो लाग्छ । यदि हामीले स्थानीय कर नतिर्ने गरी सम्झौता गर्न सक्यौँ र अन्तर्राष्ट्रिय बजारअनुसार ल्याउन सक्यौँ भने मोटामोटी धेरै ठूलो फरक पर्दैन ।
चीन किन एक्लै जानुभयो ?
किनकि, यो भ्रमण अनौपचारिक थियो । केही राजनीतिक लेभलमा र केही सरकारका इमर्जेन्सी सप्लाईसम्बन्धी केही अधिकारीसँगको भेटघाट थियो । खासगरी तिहारको समय, नेपालीहरूको ठूलो चाड । त्यसैले म अनौपचारिक तरिकाले गएको हुँ । म अलिकति अनौपचारिक र अलिकति राजनीतिक प्रकृतिको भ्रमणमा गएको हुनाले यसमा सरकारी अन्य अधिकारी जाने स्थिति बनेन ।
ग्यास पनि आउँछ त ?
अलिकति हाई अल्टिच्युड (अधिक उचाई) का कारण समस्या हुने कुरा आइराखेको छ । तर, सबै अरु सम्बन्धित विज्ञ र व्यापारीको अहिलेसम्मको होमवर्कअनुसार लिन सकिन्छ भन्ने छ । चाइनाले रिफिलिङ सेन्टर लगायत सबै खालका पूर्वाधार निर्माणका लागि सहयोग गर्ने सम्भावना छ, हामीले पहल गर्यौँ भने । यसलाई हामीले प्राथमिकतामा पनि राखेका छाँै । आयल निगमले पनि राख्नुपर्छ ।
ग्यास ल्याउनका लागि तत्काल चाइनामा भएको बुलेटमा आउन सम्भव छैन । त्यसैले हामीले सानो खालको बुलेट खरिद गर्ने तयारीमा छौँ । पहाडमा गुड्ने सानो खालको बुलेट खरिद गरी त्यसको माध्यमबाट ल्याउने तयारी छ ।
जनताले कहिलेसम्म सहज रुपमा इन्धन पाउँछन् ?
हामी एकदम कोसिस गरिरहेका छौँ । जनता एकदम प्रताडित छन् । वार्ता छलफल भइरहेको छ । छिटै सहज हुन्छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशकज्यूको संयोजकत्वमा रहेको अनुगमन समितिलाई पनि प्रभावकारी बनाउने निर्णय भएको छ । त्यसबाहेक हालको समितिलाई प्रभावकारी बनाउनुका साथै हटलाइन, उजुरीपेटिका र गृहसँगको समन्वयमा कन्ट्रोल रुममार्फत अनुगमन प्रभावकारी बनाउने निर्णय गरेका छौँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल