काठमाडौंमै आएर अशोककुमार मेहताले भने, लिपुलेक पनि नेपालको भूभाग होइन

काठमाडौंमै आएर अशोककुमार मेहताले भने, लिपुलेक पनि नेपालको भूभाग होइन

Ashok-mehta
चीन र पाकिस्तानलाई लिएर भारत नेपालप्रति किन सधैँ सशंकित देखिन्छ ?

नेपाल दुई ठूला मुलुक चीन र भारतको बीचमा छ । यसैले पृथ्वीनारायण शाहले भनेका हुन सक्छन् दुई ढुगांबीचको तरुल हो नेपाल । यी दुई देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको र रहँदै आएको छ । यद्यपि भारत र चीनबीचमा एउटा युद्ध भएको थियो, सीमाको समस्यालाई लिएर । त्यति बेलादेखि भारत र चीनको राम्रो सम्बन्ध छैन । चीनले पाकिस्तानलाई सहयोग गरिरहेको छ, जब कि पाकिस्तान भारतको दुश्मन हो । यसरी पाकिस्तान, चीन र भारतबीच त्रिकोणीय सम्बन्ध छ । भारतका लागि जुन सुरक्षा चासोको कुरा छ, यसमा नेपाल पनि जोडिएर आएको बुझिन्छ । चीनले नेपालमा गरेका गतिविधिबाट भारत असन्तुष्ट आउँछ । चीनसँग सीमा जोडिएकाले पनि भारतले नेपाललाई विशेष नजरले हेरेको पाइन्छ । यता, नेपालमा चीनको चासो बढ्दै गएको छ । नयाँ–नयाँ कुराको प्रवेश नेपालमा गराउँदै छ । खासगरी दशवर्षे जनयुद्ध ताकादेखि नै चीनले नेपालमा आर्थिक गतिविधि बढाएको छ । ३० भन्दा बढी चिनियाँ सेन्टर, ठमेलमा चिनियाँ रेस्टुरेन्टलगायत थुप्रै सञ्जाल नेपालमा रहेका छन् । यस्ता गतिविधिका कारण भारत नेपालप्रति सशंकित देखिएको छ ।

भारतले नेपालमा आफ्ना गतिविधि गर्न पाउने तर चीनले किन नपाउने ?

मैले गतिविधि गर्न पाइँदैन भनेको होइन । तर, नेपालले यो कुराको ख्याल गर्नुपर्छ कि चीनको गतविधिका कारण भारत असुरक्षित नहोस् । नेपालमा चीनको गतिविधिले भारतको सुरक्षामा असर नपरोस् । भारतमा जति पनि आतंककारी गतिविधि हुनेका गरेका छन्, यस्तोमा नेपाललाई नै माध्यम बनाएका हुन्छन् । चाहे कास्मिरी आतंकवादी होस्, पाकिस्तानी आतंकवादी होस्, या भारतीय जालीनोटको कारोबार होस्, सबैमा नेपाललाई सेन्टर प्वाइन्ट बनाइएको हुन्छ । पाकिस्तानी आतंकवादीले नेपालबाट भारतको प्लेन हाइज्याक (अपहरण) गरेकै हो नि । चीनले नेपालमा डेभलपमेन्टको नाममा आफ्नो ठाउँ बनाउँदै छ । ठाउँ बनाइसकेपछि उसले के गर्छ, सबैलाई थाह छ । चीनले पटकपटक नेपाललाई भन्दै आएको छ कि नेपालको पोलिटिक्समा हाम्रो केही इन्ट्रेस्ट छैन । तर हेर्नुस्, नेपालको पोलिटिक्समा चीनको कस्तो प्रभाव छ, छर्लंग देखिन्छ । राजा महेन्द्रको समयमा चीनले तराई मधेसमा कुनै पनि प्रोजेक्ट तथा अन्य कुनै पनि गतिविधि गर्न नपाउने भनी नेपाल र भारतको बीचमा सम्झौता भएको थियो । तर, अहिले हेर्नुस्, उनीहरू तराईमा छिरेर त्यहाँ एयरपोर्टहरू बनाउन थालेका छन्, बाटो बनाउन थालेका छन् । चाइना सेन्टर खुलेका छन् ।

Ashok-Mehta-3
यी त विकासका काम भए, भारत किन तर्सिनुपर्यो ?

चीन त हाम्रो दुश्मन हो नि, ऊसँग हामीले युद्ध लडेको हो । एक–अर्कालाई हामी त्यही नजरले हेरिरहेका छौँ । उसको मान्छे तराईमा आयो भने त्यो त भारत पसेजस्तो भयो नि । त्यसैले मेरो विचारमा चीनका लागि नेपालमा गतिविधि गर्ने रेडलाइन (सीमा) हुनुपर्छ, उसले यहाँसम्म मात्र काम गर्न पाउनुपर्छ भन्ने । त्यो रेडलाइन भन्दा अगाडि जान पाउँदैन । पूर्व–पश्चिम राजमार्ग बन्दाखेरि चीनले कोहलपुर सडकको काम पाएको थियो तर राजा महेन्द्रले चीनलाई नदिएर भारतलाई दिएका थिए ।

तपाईंले भनेजस्तो रेडलाइन कहाँदेखि कहाँसम्म हुनुपर्छ ?

त्यो त नेपालले विचार गर्नुपर्ने कुरा हो । चीनका लागि भारत कति संवदेनशील हो भन्ने कुरा नेपालले बुझ्नुपर्ने हो । नेपाल आफैँमा स्वतन्त्र देश हो । चीनलाई जहाँ पनि काम गर्न दिन सकिन्छ तर त्यसले अरुलाई कति असर गर्छ÷गर्दैनन्, त्यो कुराको ख्याल गर्ने जिम्मेवारी नेपालको नै हो । चीनले काठमाडौंसम्म रेल ल्याउने कुरा गर्दै छ । त्यसको आवश्यकता किन पर्यो ? आज काठमाडौंसम्म ल्याउने कुरा मात्र हुँदै छ भोलि तराईसम्म जाला । अनि त्यसले भारतको अवस्था के होला ? नेपालले एकपटक पनि विचार गरेको छ ? के ती रेलमा चिनियाँ टुरिस्ट मात्रै आउने हो त ? डेभलपमेन्टका लागि त्यो राम्रो हुन सक्छ । तर, म मिलिट्रीको मान्छे, त्यो नजरले हेर्दिनँ । सुरक्षाका दृष्टिकोणले हेर्छु । विकासको नाममा सुरक्षा गर्ने भनी चीनका सुरक्षाकर्मी नेपाल आउँछन् । त्यसपछि सेना आउँछ । सेनालाई सुरक्षा दिन इन्टलिजेन्स आउँछ, सादा पोसाकका सुरक्षाकर्मी आउँछन् । यसरी विभिन्न किसिमका सुरक्षाकर्मीहरू नेपालमा आउँछन्, पछि यसले भारतलाई च्यालेन्ज गर्छ ।

भारतले नेपाललाई स्वतन्त्र देश पनि भन्छ । तर, यो गर त्यो नगर पनि भन्छ । के नेपाललाई सुरक्षाका दृष्टिले अर्को भुटान बनाउन खोजिएको हो ?

त्यस्तो होइन, नेपालको हित चाहनेमध्ये एक भारत पनि हो । भुटान बनाउने कुरा कहाँबाट आयो ? मोदीले पनि नेपाल आएर पटकपटक नेपाल स्वतन्त्र देश हो भन्नुभएको छ । भारतले मात्र यो चाहन्छ कि अरु कुनै देशले नेपाललाई प्रयोग गरेर गलत गतिविधि नगरोस् । नेपाल त्यसमा सचेत रहोस् । यदि नेपाल श्रीलंकाको ठाउँमा भएको भए हामीलाई कुनै चासो हुँदैन्थ्यो । तर चीन हाम्रो दुश्मन भएका कारण उसको गतिविधि नेपालमा बढ्यो । भारत र नेपालबीच खुला सिमाना भएका कारण मात्र हाम्रो चासो बढेको हो । नत्र श्रीलंकाको ठाउँमा भएको भए यति सारो चासो हुने थिएन ।

तपाईं नेपालका कारण भारतलाई सुरक्षाको चुनौती बढेको भन्नुहुन्छ, तर नेपालले त ठुल्ठूला अपराधीलाई समातेर भारतलाई बुझाएकै छ त ?

हो, ठीक भन्नुभयो । अहिले आएर त्यस्तो भएको छ । पहिला त्यस्तो थिएन । पहिला नेपाल आइएसआईको जड थियो । कर्णाली होटलमा आइएसआईको अखडा नै थियो । अप्रेसन टोफेल यहीँबाट खेलिरहेको थियो । हवाईजहाज यहीँबाट हाइज्याक भएको हो । जालीनोटको कारोबार यहीबाट हुन्थ्यो । अहिले आएर पाकिस्तानलाई लिएर नेपालले भारतसँग राम्रो सहकार्य गरेको छ । चीनका लागि पनि त्यस्तै होस् भन्ने चाहन्छ ।

Ashok-Mehta-4

तपाईंको विचारमा भारतको विरुद्धमा गतिविधि गर्न चीन र पाकिस्तानलाई नेपालले सहयोग गरिरहेको हो ?

मैले त्यस्तो भनेको होइन । चीनले तिब्बतको कुरा गर्दाखेरी नेपाल एकदम एलर्ट हुन्छ । दलाई लामाका अफिसहरू बन्द गराउँछ । दलाई लामाका मान्छेलाई समाउँछ । उसको गतिविधिमा रोक लगाउँछ । तर, भारतले चीनबारे पटकपटक भन्दा पनि कुनै वास्ता गर्दैन । यसो किन हुन्छ ? हाम्रो चासो यति हो । सन् १९७७ मा खम्पा विद्रोह हुँदा चीनले त्यसलाई रोक भन्दा नेपालले रोकेको हो नि । तिमीले रोकेनौ भने हामी आएर रोक्छौं भनेर चीनले भनेकै हो । तपाईं नै भन्नुस्, भारतले त्यस्तो भन्न पाउँछ कि पाउँदैन ? नेपालले चीनका गतिविधिमा सहयोग गरेको छ भनेर भारतले भनेको छैन । तर गतिविधिमाथि निगरानी राख्नुपर्छ भनेको हो ।

चीन र पाकिस्तानका कारण भारतले नेपालसँँग कस्तो सम्बन्ध राख्न चाहन्छ ?

नेपाल स्वतन्त्र देश हो, स्वतन्त्र रहनुपर्छ । भारत यही चाहन्छ । तर, चीनले यहाँ के गरिरहेको छ ? पाकिस्तानले के गरिरहेको छ ? त्यो भारतको हितअनुकूल छ कि छैन ? भारतको चासो यसैमा हो ।

भारतले नेपाललाई चीनसँग नमिल भन्छ, उसको गतिविधिमा निगरानी राख भन्छ । तर, आफू भने चीनसँग मिलेर नेपालको लिपुलेक लिन्छ । नेपाल चीनसँग मिल्न नहुने यस्तो किन ?

यहाँ लिपुलेक लिनुको सवाल होइन । चीन र हामीबीच व्यापार भइरहेको छ । लिपुलेकबाट व्यापार गर्ने कुरा मात्र हो । नाथुला नाकाबाट पनि हाम्रो व्यापार भइरहेको छ । यस्ता थुप्रै नाका छन्, जहाँबाट हामी चीनसँग व्यापार गरिरहेका छौँ ।

नाथुल्ला त भारतको भूभाग भयो, त्यसलाई भारतले व्यापारिक नाकाको रूपमा प्रयोग गर्न पायो । नेपाली भू–भाग लिपुलेकबाट पाउँछ र ?

लिपुलेक पनि नेपालको भूभाग होइन ।

अहिले त भारतले लिपुलेकमा कब्जा जमायो । स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकलाई विवादित क्षेत्रको रूपमा स्वीकार गरेका छन् नि ?

यो क्षेत्र अहिले नेपालका लागि मात्र विवादित हो । यो विवाद त धेरै पहिले समाधान भइसकेको हो । यस विषयलाई ‘राजनीतिक भकुन्डो’ मात्र बनाउन खोजिएको हो । नत्र तपाईं आफैँ भन्नुस्, किन लिपुलेकको विषयमा नेपालका कम्युनिस्ट पार्टीले मात्र कुरा उठाउँछन् र नेपाली कांग्रेसले यसलाई उठाउँदैन । किन नेकपा (एमाले) वा नेकपा (माओवादी) मात्र लिपुलेक पहाड चढ्न खोज्छ ? पहिले वामदेव गौतमहरूले यो कुरा उठाए, अहिले आएर फेरि मोहन वैद्यको पार्टी त्यहाँ जान खोजिरहेको छ ।

तपाईंको मतलब नेपाली कांग्रेस भारत भारत निकट र अन्य कम्युनिस्ट पार्टी चीन निकट भन्ने हो ?

यो पनि राम्रो प्रश्न हो । यस विषयमा अध्ययन गर्न सकिन्छ ।

फरक प्रसंगमा, नेपालमा अहिले ६ प्रदेशसहितको संघीय संरचना बनाउन दलहरूबीच सम्झौता भएको छ । रोचक कुरा, यो सम्झौता नेपालका दुई पूर्वप्रधानमन्त्रीको भारत भ्रमणपछि सम्भव भयो । के अहिलेको संघीय संरचनाले भारतको चासोलाई सम्बोधन गरेको हो ?

मलाई के लाग्छ भने दुई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भारत भ्रमण र ६ प्रदेशमा भएको सहमतिबीच कुनै सम्बन्ध छैन । किनभने, दलहरूबीच संविधान जारी गर्ने विषयमा सोह्रबुँदे सम्झौता त उहाँहरूको भारत भ्रमणअघि २५ जेठमै भइसकेको थियो ।

तर, त्यतिबेला त आठ प्रदेशमा सहमति भएको थियो । ६ प्रदेश त उहाँहरूको भारत भ्रमणपछि सम्भव भयो नि ?

६ प्रदेशको खाका भारतको चासोभन्दा नेपालको आन्तरिक मामिला हो । यो त चार दलका शीर्ष नेताले गरेको निर्णय हो । यसमा भारतको केही भूमिका म देख्दिनँ ।

नेपाल ६ प्रदेशमा जाने भएपछि भारतको सुरक्षाबारे चासो के छ ?

यो विषयमा अहिले नै टिप्पणी गर्नु हतार हुनेछ । अझै हेर्न बाँकी छ । किनभने अहिले ६ प्रदेशको विरोध सुरु भइसकेको छ । दलहरूले गरेको संघीय सीमांकनबारे विभिन्न सुझाव आइरहेका छन् । यसमा परिवर्तन पनि हुन सक्छ, त्यो भविष्यको कुरा भयो । तर अहिले तत्काललाई भन्ने हो भने नेपाल ६ प्रदेशमा जाँदा भारतलाई कुनै सुरक्षा थ्रेट छैन ।

Ashok-Mehta-2
भनेपछि भारत ६ प्रदेशको संघीय सीमांकनबाट खुसी छ ?

भारतले नेपालको कुनै पनि निर्णयको समर्थन गर्छ । म के भन्छु भने नेपालमा जति ठूला राज्य भए त्यति राम्रो, किनभने नेपाल देश सानो छ । जति कम राज्य भए, तिनीहरूको व्यवस्थापन गर्न त्यति सजिलो हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालमा सहमतिमै संविधान बन्नुपर्छ’ भन्ने खालको कुरा दोहोराइराख्नुहुन्थ्यो । उहाँको चासो विशेषगरी मधेसी दलहरूप्रति रहेको बुझिन्थ्यो । तर सोह्रबुँदे सहमतिपछि उनीहरू विरोधमा छन् । अब के होला ?

मेरो विचारमा प्रधानमन्त्री मोदीले ‘सहमति’ भनेर गलत गर्नुभयो । उहाँले यस विषयमा ‘नेपालको राज्य पुनर्संरचनामा भाग लिइरहेका दलहरूले नै निर्णय गर्ने हो, सहमति भए राम्रो’ भनेको भए हुन्थ्यो । सहमतिबाट मात्रै संविधान जारी गर्नुपर्छ भन्ने मोदीको गलत सुझाव हो ।

सहमतिमा संविधान जारी नहुने भएपछि दिल्लीको आगामी कदम के होला ?

दिल्लीले के गर्ला र ? अहिले नै नेपालमै ६ प्रदेशको विरोध सुरु भएको छ । यहाँका नेताले जनताको मागलाई सम्बोधन गर्छौं भनेका छन् । मैले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई भेट्दा उहाँले पनि सकेसम्म महिला, जनजाति, दलित सबैको चासो सम्बोधन हुने कुरा भन्नुभएको छ । यहाँ के कुरा प्रस्ट हुनुपर्छ भने संविधानको पहिलो ब्लुप्रिन्टले सबैको चित्त बुझाउन सकिन्न । भारतले जब संविधान बनायो, त्यतिबेलाका धाराभन्दा अहिले संशोधन बढी भएका छन् । यदि सबैको चित्त बुझाएर मात्र संविधान बनाउँछु भन्न थालियो भने कहिल्यै संविधान नै बन्दैन । त्यसै पनि संविधानका लागि २० वर्ष गुमाइसक्यो नेपालले, १० वर्ष सशस्त्र विद्रोह र झन्डै १० वर्ष संविधान लेखनमा । अब सबैको चित्त बुझाउन अझ कति पर्खने ? त्यही भएर अहिलेको सहमति अहिलेका लागि उत्तम छ । शतप्रतिशत राम्रो बनाउन सकिन्न, सकेसम्म राम्रो बनाउने हो । बिस्तारै त्यो समयसँग परिमार्जित हुँदै जानेछ ।

नेपाल हिन्दू राष्ट्र भएमा भारतका लागि राम्रो हुने हो ? हिन्दू राष्ट्रको मागमा भारतीय लगानी पनि छ भन्ने नेपाली मिडियामा आएका छन् नि ?

त्यो बिल्कुल गलत हो । मिडिया आफ्नो कुरा लेख्न स्वतन्त्र छ तर मिडिया सरकार होइन । सरकारले कहिल्यै यस्तो कुरा गर्दैन ।

तर, नेपालमा हिन्दूवादी आन्दोलनको केन्द्र बनिरहेको इटहरी क्षेत्रको नजिक विराटनगरमा ‘रअ’ का मान्छे भेटिनु, पैसा बाँडेको खबर आउनु, त्यो शंकास्पद भएन र ?

‘रअ’को काम भनेकै त्यस्ता गतिविधिमाथि नजर राख्नु हो । उसले त्यहाँ बसेर नियालिरहेको होला । तर, यत्तिमै भारतले हिन्दू राज्यको वकालत गर्छ भन्ने प्रमाणित हुँदैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै संस्था राष्ट्रसेवक संघ (आरएसएस) का नेता अहिले काठमाडौंका विभिन्न होटलमा बसेका छन् । उनीहरू हिन्दूवादीको कार्यक्रममा पनि भाग लिन्छन्, यसलाई कसरी बुझ्ने ?

मोदीसँग नजिक भनिएका आरएसएस, विश्व हिन्दू परिषद्लगायत अन्य दल सरकार होइनन् । मोदी सरकार र ती संस्थाबीच कुराकानी हुन्छ तर आरएसएसले भनेको कुरा सरकारको कुरा कदापि होइन । मैले अहिलेसम्म कुनै पनि केन्द्रीय तहका नेताले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेको सुनेको छैन ।

भनेका छन् नि, बिजेपीकै नेता विजय जोलीले खुला रूपमा नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेका छन् त ?

विजय जोली को हुन् र ? कोही पनि होइनन् । उनी त मजस्तै सामान्य भारतीय नागरिक हुन् । मैले पो नेपाललाई बुझेको चिनेको छु, जोलीले त नेपाललाई बुझेका छैनन् । यहाँ आउँछन्, के के बोलेर जान्छन् । अहिले नेपालमा मात्र होइन, श्रीलंकामा पनि यस्ता धेरै नेता छन्, जो आफूलाई मोदीको विशेष दूत भन्दै घुम्छन् ।

नेपाल संघीयतामा जाँदै छ, तपाईं त भारतको मेजर जनरल भइसकेको मान्छे, नेपालको प्रदेश सुरक्षाबारे तपाईंको सुझाव के छ ?

नेपाललाई बाह्य सुरक्षा थ्रेट त्यति छैन । किनभने भारत वा चीनले नेपाललाई कहिल्यै आक्रमण गर्दैनन् । नेपालको प्रमुख चुनौती भनेको आन्तरिक सुरक्षा नै हो । अझै पनि एमाओवादीबाट टुक्रिएर रहेका मोहन वैद्य र नेत्र विक्रम चन्द राजनीतिक प्रक्रियाबाट बाहिर रहेका छन् । यो चुनौतीको विषय हो ।

अब प्रदेश गठनपछि प्रदेश सुरक्षाको जिम्मा त्यहाँको प्रदेश सरकारको चुनौती हुनेछ । त्यही भएर विभिन्न प्रदेशमा आन्तरिक सुरक्षाका दृष्टिले कति संख्यामा सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर निर्धारण गर्ने हो, त्यो ख्याल गर्नुपर्छ ।

नेपालको सेना समावेशी नभएकोमा पनि भारतको चासो हो कि ?

सेना समावेशी भएको राम्रो । नेपाली सेना समावेशी नै नभएको होइन तर जति हुनुपर्ने हो त्यति नभएको मात्र हो । मधेसी जनताले कुरा उठाएका थिए कि उनीहरुको पनि सेनामा पहुँच हुनुपर्यो । अहिले नेपाली सेनामा गुरुङ, मगरलगायतको छुट्टै बटालियन छ । मधेसी जनताको जनसंख्याका आधारमा सेनामा प्रवेश पाएको राम्रो ।
तर, भारतीय सेनाले पनि गोर्खा सैनिकमा मधेसीलाई लिँदैनन् त । किन गुरुङ, मगर आदिलाई मात्र लिन्छन् ?
यो कुरा त्यहाँ पनि उठेको छ । यस विषयमा विचार भइराखेको छ होला त्यहाँ पनि ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल