नेपालका नेता किन ब्रिफकेस लिएर दिल्ली आउँछन् ? : एसडी मुनी

नेपालका नेता किन ब्रिफकेस लिएर दिल्ली आउँछन् ? : एसडी मुनी

भारतीय नागरिक एसडी मुनी नेपाल मामिलाका जानकार मानिन्छन् । मुनी जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वप्रोफेसर हुन् भने हाल भारत सरकार मातहत रहेको इन्स्टिच्युट फर डिफेन्स इस्टडिज एन्ड एनालाइसिस (आईडीएसए) मा आबद्ध छन् । भारतले नेपालमाथि नाकाबन्दी यथावत राखिरहेको अवस्थामा भारतीय थिंक ट्यांक के सोच्दै छन् ? यसै सन्दर्भमा दिल्लीमा रहेका पत्रकार नरेश ज्ञवालीले नेपाल–भारत सम्बन्धबारे मुनीसँग जवाफ जान्ने कोसिस गरेका छन् ।

नेपालमा संविधान जारी भएको विषयलाई तपाईंंले कसरी हेर्नुभएको छ ?

संविधान बनाउनुभयो, राम्रो गर्नु भयो । तर, राम्रो, पूर्ण र समग्र संविधान बनाउनुभएन, त्यो राम्रो भएन । यस कुरालाई एकैपटक कालो र सेतो कस्तो छ भनेर भन्न सकिँदैन । जस्तो कि संविधान निर्माण निकै राम्रो अथवा निकै नराम्रो के भयो भनेर भन्न सकिँदैन । तपाईंहरूले संविधानसभा स्थापित भएको सात वर्षपछि र प्रजातान्त्रिक इतिहासमा झन्डै ६० वर्षपछि पहिलोपटक संविधानसभाबाट संविधान बनाउनुभयो निकै राम्रो गर्नुभयो । तर जब संविधान बनाउनुभयो, नेताहरूले आफ्ना सबै आफ्ना पुराना वाचा–आदर्श, जो उनीहरू आफैँले खडा गरेका थिए र अन्तरिम संविधानमा पनि सहमति गरेका थिए, ती सबैमा उहाँहरूले ध्यान दिनुभएन । त्यसैले अहिले अप्ठेरो व्यहोर्न परिरहेको छ ।SD-Muni

नेताहरूले वाचा बिर्सिए भन्नुभयो, नेताहरू र भारतबीच के वाचा भएका थिए ?

म हामीसँग गरिएको वाचाको होइन, नेपालीहरूसँग गरिएको वाचाको कुरा गर्दै छु । मैले भारतसँग यस्तो कुनै वाचा गरिएको थियो पनि भनेको होइन । भारतको प्रसंगलाई किनारमा राखौँ । नेपालले जुन संविधान असोज ३ मा जारी गर्यो, त्यो जारी हुनुअघि नेपाली नेताहरुले मधेसीसँग, थारु, दलित, जनजाति, महिलाहरूसँग केही वाचा गर्नुभएको थियो, ती पूरा किन नगरेको ?

९० प्रतिशत जनताका प्रतिनिधिले संविधानसभाबाट संविधान जारी गरेका छन्, के यसके कुनै माने छैन ?

संविधानसभाको ९० प्रतिशत मत तथा सहमतिको संविधान भन्नेजस्ता कुरा गरेर तपाईंले कम्तीमा मजस्तालाई मूर्ख बनाउन सक्नुहुन्न । किनभने, जुन ९० प्रतिशतको सहभागितामा संविधानको रुपरेखा तयार भएको कुरा तपाईं गर्दै हुनुहुन्छ, त्यो तीन पार्टीका पाँच–पाँचजना मिलेर १५ जनाले तयार गरेका हुन् । जुन निर्णय पछि पार्टीमाथि थोपरिएको छ । पार्टीले जे भन्यो, त्यही गर्नुपर्ने अवस्था रह्यो । केही मानिसहरू थिए, जसले विभिन्न कुरा सुधार गर्न संशोधन पनि हाले, तर उनीहरूको सुनुवाइ भएन । माओवादी जो यस प्रक्रियाको महत्त्वपूर्ण घटक हो, उसले नोट अफ डिसेन्ट लेखेर संविधानलाई पारित गर्यो । अस्ति मात्र प्रचण्डले एउटा ठूलो वक्तव्य दिएर संविधानमा यो खराबी, त्यो खराबी भन्दै बताइरहनुभएको थियो, त्यो किन भयो ? किनकि जम्मै संविधान १० दिनमा पास गरिएको थियो ।

संविधान पारित हुन लागेको समय १० दिन मात्र देख्नुहुन्छ, उसो भए विगत सात वर्षदेखि संविधानसभामा के भइरहेको थियो ?

सात वर्षसम्मको प्रक्रियामा संविधानसभाका सदस्यहरूको सहभागिता थिएन । संविधानसभामा सदस्यहरूसँग कति दिन छलफल भयो ? तर, अन्तमा जम्मै संविधानका धारा १० दिनमा पारित भए । यस्तो पनि कहीँ हुन्छ ? अनि, तपाईं भन्नुहुन्छ यो डमोक्रेटिक संविधान हो ? भोट त पाउनुभयो तर डेमोक्रेटिक सिस्टम भएन, बृहत छलफल भएन ।

तपाईंको भनाइमा नेपालको संविधान डमोक्रेटिक संविधान होइन ?

वास्तवमा नेपालमा डमोक्रेटिक संविधान बन्ने प्रक्रियामै सबै कमजोरी भएका छन् । डेमोक्रेसी भनेको कुनै प्रफेक्ट चिज होइन । डेमोक्रेसीलाई सबैले गलत ढंगले प्रयोग गरिरहेका हुन्छन् । हाम्रो देशमा पनि र अन्य देशमा पनि । डेमोक्रेसीको अर्थ भोट मात्र हुँदैन, डेमोक्रेसीको अर्थ भनेको पूर्ण समर्थन र सहभागिता हो । तपाईंको संविधानमा त्यो सहभागिता छैन । जसले भोट दिएका छन् उनीहरूको पनि सहभागिता छैन । माओवादीले संविधानमा हुनुपर्ने कुरा नभए पनि ‘नोट अफ डिसेन्ट’ राखेर संविधानलाई पारित गर्न निर्वाचन गर्ने भन्छ, यो कस्तो किसिमको सहभागिता हो र यस्तो पनि कुनै कुरा हुन्छ ? नोटअफ डिसेन्ट पनि र भोट पनि एकै साथ ? यी सबै के हुन तपाईं भन्नुस् न ?

यदि अब पनि संविधान जारी गर्न सकिएन भने, आउने दिनमा संविधान जारी गर्न झनै अप्ठेरो आउने देखेर दलहरूबीच समझदारी बनेको देखिन्छ…

(बीचमं) मैले भनेँ त, संविधान जारी गर्नु ठीक छ । धेरै राम्रो गर्नु भएको छ । धेरै अर्थमा राम्रो संविधान छ, तर जब तपाईं सात वर्ष कुर्न सक्नुहुन्छ भने के अझै १७ दिन कुर्न सक्नुहुन्न ? तपाईं मसँग डेमोक्रेसीको कुरा गर्नुहुन्छ । तीन प्रमुख पार्टीहरू र गच्छदार मिलेर अघि बढेकामा उनी नै संविधान बन्नुभन्दा पाँच दिनअघि प्रक्रियाबाट बाहिरिए किन ? सोध्नुस् आफ्ना ती नेताहरूलाई, मलाई किन सोध्दै हुनुहुन्छ ! यो पनि कुनै डेमोक्रेसी हो । जसलाई तपाईंले साथ लिएर हिँड्नुभएको थियो, उसलाई पनि सन्तुष्ट राख्न सक्नुभएन ।

डेमोक्रेसी छ भनिएको भारतले पनि नेपालको संविधानमा आफूले भनेको जस्तो भएन भनेर नाकाबन्दी गर्नु डेमोक्रेसीको परिभाषाभित्र पर्ला ?

भारतको कुरा तपाईंले छोडी दिनुस्, भारतको कुरा पछि गरौँला । तपाईं आफ्नो संविधानको कुरा गर्नुस् । भारतमा धेरै नराम्रो छ, त्यस कुरालाई छोडिदिनुस् न । भारतको संविधान तपाईंको संविधानभन्दा धेरै गएगुजे्रको छ, त्यसलाई पनि छोड्नुस र आफ्नो संविधानको कुरा गर्नुस् । तपाईंको संविधानमा संघीयतालाई लिएर पाँच कन्डिसन्स राखिएका थिए कि यी सूत्रहरूको आधारमा हामीले संघीयताको निर्माण गर्नेछौँ । प्रचण्ड भनिरहेछन्, ती सूत्रको आधारमा संविधान नै बनेन । उनीहरूले केही जिल्लालाई समाएर बसेका छन्, त्यो कैलाली, कञ्चनपुर होस् अथवा झापा, मोरङ, सुनसरी । अनि, हामीले त्यो सवाल नउठाउने ? हामीले प्रश्न उठाएपछि तपाईंले जवाफ दिनुपर्यो नि ? ९० प्रतिशतले भोट गरे भनेर निकै ठूलो डेमोक्रेटिक ठान्नु भएको छ, के भनेको हो ?

भारतीय विदेशसचिव एस जयशंकर जब नेपाल गए…

(बीचमै) अहिले संविधानका कुरा गर्नुस्, जयशंकरको कुरा नगर्नुस्, त्यो पछि गरौँला । तपाईंहरू यहाँ आउने भनेकै कसरी भारतलाई तल पार्न सकिन्छ र नीच देखाउन सकिन्छ भनेर हो । यो मेरो पहिलो अनुभव होइन्, हामी तपाईंलाई आफ्नो विचार भनिरहेका छौँ । तपाईंहरू आफैँले आफूभित्र हेर्नुस् । भारतले, अमेरिकाले, युरोपियन युनियनले के भन्छन्, त्यो पछिको कुरा हो । सबैभन्दा ठूलो कुरा के हो भने तपाईंले जुन प्रक्रिया सुरु गर्नुभएको थियो, जसको टेबल ठोकेर दावा गर्नु हुन्छ कि हामीले डेमोक्रेटिक प्रक्रियाबाट संविधान निर्माण गरेका छौँ, मैले त्यसका कमजोरीहरू बताउँदै छु ।

एक दिनमा दुई सयभन्दा पनि धेरै धारा पारित गरिदिनुभयो, यस्तो पनि कहीँ हुन्छ ? अनि, तपाईंं भन्नुहुन्छ यो डमोक्रेटिक संविधान हो ?
सात वर्ष कुर्न भयो भने १७ दिन कुर्न सकिन्नथ्यो ?
नेपाल–भारत सम्बन्धमा चिसोपना आउनुको मुख्य कारण संविधान घोषणा गरिनु
मोदीजीको ‘नेभरहुड फस्र्ट’ नीतिको आलोचना गर्ने हो भने धेरै कमजोरी छन्

नेताहरूले यो कुरा बुझ्न सकेका छन् कि छैनन् ? संविधान बनेको चौथो दिनमै संविधान संशोधन प्रस्ताव दर्ता गरे किन ? संशोधन चार दिनपछि हाल्नुहुन्छ भने चार दिनअघि किन नहालेको के जवाफ छ तपाईंसँग ? तपाईंहरू डेमोक्रेसीको कुरा मात्र गर्नुहुन्छ । तपाईंहरू भारतलाई गाली मात्र गर्नुहुन्छ । तर, जब भारतको आवश्यकता पर्छ, सबै नेताहरू एउटै स्वरमा भारतले हामीलाई सहयोग गरोस् भन्न थाल्छन् । आज भारतले अर्को समूह (मधेसी मोर्चा)लाई समर्थन गरिरहेको छ भने तपाईंहरूलाई आकासै खसेजस्तो भएको छ ।

जहाँसम्म संविधानमा किन यावत विषयलाई नसमेटेको भन्ने कुरा छ, पहिलो संविधानसभामा माओवादीसहित उत्पीडित समुदाय हाबी थियो, तर पछि त्यो अवस्था यथावत रहन सकेन, त्यसैको प्रभाव संविधानसभामा र संविधान निर्माणमा पनि देखियो, यो परिस्थितिलाई किन नजरअन्दाज गरिन्छ ?

त्यसो हो भने किन माओवादीहरूले आफ्नो नेतृत्वमा संविधान बनाएनन् त ? बाबुरामलाई र प्रचण्डलाई सोध्नुस्, किन संविधानसभा भंग गरेको ? किन नबनाएको संविधान ? कति वर्ष शक्तिमा रह्यो माओवादी, २००८ मा शक्तिमा आए र २०१२ मा संविधानसभा नै भंग गरिदिए, किन गरेको त्यस्तो ? चार वर्षसम्म हाम्रा कति लडाकुलाई जागिर खुवाउने भनेर अल्झिनुभयो संविधान त बनाउनुभएन । त्यो कुरा त उनीहरूलाई पो सोध्नुपर्छ, हामीलाई के सोधेको ? उहाँहरुले जब आफ्नो वाचा पूरा गर्नुभएन, जनताले चुनावमा हराए, त्यसपछि कमजोर हुनुपर्यो । र अहिले भन्दै हुनुहुन्छ हामी त कमजोर भयौँ । कमजोर त तपाईं आफ्नो क्रियाकलापले हुनुभएको हो ।

अहिले भइरहेको नाकाबन्दीका विषयमा…

(बीचमै) तपाईं नाकाबन्दीकै कुरा गर्न आएको हो, तपाईंहरूले पहिला भूमिका बाँध्ने मात्र हो, यो मैले धेरै राम्रो गरी बुझेको छु । यो तपाईंहरूको राम्रो तरिका होइन । आफूलाई मन नपरेको कुरा भारततर्फ देखाइदिने तपाईंहरूको मानसिकता रहेको छ । तपाईं यही कुरा काठमाडौंमा बसेर गर्नुहुन्न । तपाईंका कुन–कुन पत्रिकाले सुशील कोइरालाले संविधानमा हालेको संशोधन चार दिनपछि नै किन हालेको भनेर लेखे ? मलाई एउटा पनि पत्रिकाको नाम भन्न सक्नुहुन्छ ? र, जुन संविधान संशोधनलाई एमालेले दुई महिनापछि स्विकार्यो, त्यो पहिला किन नस्विकारेको ? कतिजनाले लेखे यो मलाई भन्न सक्नुहुन्छ ?

यो भारतीय मानसिकता तपाईं नेपालीमा पनि होस् भन्ने चाहनु हुन्छ, त्यसो त कसरी होला र ?

यो तपाईंहरूको समस्या हो । हामीले कुनै पनि विषयमा लेखौँ, नेपालीहरूले हामीलाई गाली नै गर्छन् । तपाईंहरूले हाम्रो देश, हाम्रो देश मात्र भन्नुहुन्छ, त्यसो भए राख्नुस् आफैसँग । हामीले तपाईंको देश लिनेवाला छौँ र ? तपाईंले जे काम गर्नुभएको छ, हामीले त त्यसका कमी–कमजोरीतर्फ इन्कित मात्र गरेको हो । आज विश्वमा कहीँ पनि यस्तो अवस्था छैन कि हामीले जे गरे पनि कसैले केही भन्ने छैनन् । यो ग्लोबलाइजेसनको जमाना हो । यो कम्युनिकेसनको जमाना हो । हामीले जे काम गर्नेछौँ, त्यो गलत–सही जे भए पनि तपाईंको सुझाव हुन सक्छ, हाम्रो पनि सुझाव हुन सक्छ । यस्तोमा विश्वका हरेक मानिसको सुझाव हुन सक्छ ।
जब नेपाल–भारतको सम्बन्धको कुरा आउँछ, नेपालीहरू भारतको हरेक शासकसँग सशंकित भएको पाइन्छ । किनभने, भारतको अन्य छिमेकीसँगको सम्बन्ध पनि राम्रो छैन र हामीले सिक्किम, भुटान, बंगलादेशमा भारतको हस्तक्षेप हेरिरहेका छौँ । अनि, आफ्नो राष्ट्रियताको पक्षमा कुरा उठ्नु त स्वाभाविक होला नि ?

तपाईं कस्तो कुरा गर्नुहुन्छ । ब्रिफकेस लिएर यहाँ आउँदैनन् तपाईंका नेताहरू, त्यतिबेला हस्तक्षेप हुँदैन ? किन आउँछन् ? १२ बुँदे सम्झौता यही गरिएको होइन ? किन आएको भारतमा ? किन गरेको यहाँ सम्झौता ? त्यति बेला हस्तक्षेप भएन ? राणाहरूलाई फाल्नुपर्दा यहाँ राजा आएका थिए कि थिएनन् ? जब महेन्द्रलाई हटाउनु पर्यो बीपी कोइराला आएका थिए कि थिएनन् ? किन आएका थिए ? जब तपाईंहरूको पहिलो जनआन्दोलन भइरहेको थियो, त्यसबेला गणेशमान सिंहले चन्द्रशेखरलाई बोलाएको होइन काठमाडौंमा ? यो कुरा पोलिटकल अन्डरस्ट्यान्डिङको कुरा होइन ? हामी दुवै समाज एक आपसमा अन्तर्सम्बन्धित छौं । जब हाम्रो आन्दोलन हुन्छ, तपाईंका नेताहरू आएर संघर्ष गर्नुहुन्छ । हामीले भन्दैनौँ यो नेपालको हस्तक्षेप हो भनेर ।

तपाईं बिहे भारतीयसँग गर्नुहुन्छ अनि यो हस्तक्षेप हो भन्नुहुन्छ । यो त तपाईंले भारतकी केटी बिहे गर्नुभयो र उनका आमाबुबाले केहीभन्दा तपाईंले भारतको हस्तक्षेप भयो भनेजस्तै हो । हेर्नुस् थपडी दुई हातले बज्ने गर्छ, एक हातले होइन । त्यसमा सोझो कुरा के हो भने तपाईंले आफ्नो सामाजिक, सांस्कृतिक, सभ्यता र परम्परालाई विचार गर्नुस् । चीनबाट तेल आयो भनेर चीनको झन्डा उठाएर बस्नुभएको छ, तर नभुल्नुस् हाम्रो मन, हाम्रो संस्कृति, हाम्रो भावना एक छ । एउटै समाजमा तपाईंले हस्तक्षेप गर्नुभयो भनेर कसरी भन्न मिल्छ ? नेपालका चारवटै ठूला राजनीतिक घटनामा एउटा पनि त्यस्तो घटना छैन, जसमा भारतको सहभागिता नहोस्, अनि अहिले पनि त सहभागिता हुनुपर्छ ।

विगतमा हाम्रो प्रत्यक्ष सहभागिता थियो त्यसकारण अहिले पनि आफ्नो सहभागितालाई नेपालले स्विकार्नुपर्छ भन्ने भारतको भनाइ हो ?

अहिलेको सहभागितामा नेपाललाई किन टाउको दुखाइ भएको छ ? तपाईंहरुले यो भन्नुस्, ‘मधेसीलाई तपाईंले समर्थन नगर्नुस् र त्यो समर्थन हामीलाई गर्नुस् ।’
तपाईंहरुले नेपालमा हस्तक्षेप बन्द गर्नुपर्यो भनेको होइन, तपाईंको भनाइ सोझो छ कि मधेसीलाई छोडेर हामीलाई समर्थन गर्नुस् । नेपालले भनेको हस्तक्षेप हाम्रो पक्षमा हुनुपर्यो भन्ने हो । तपाईंहरूले आफ्नो दिमागबाट हस्तक्षेपको कीरालाई निकालेर फाल्नुपर्छ, किनकि यी दुई देशका बीच हस्तक्षेप भन्ने कुरै छैन ।

भनेपछि नेपाल र भारतबीच देखिएको मनमुटावको कारण संविधान निर्माण नै हो ?

त्यसको मूल कारण भनेको नै संविधान हो तर हाम्रोबीचको सम्बन्ध निकै घनिष्ट छ ।

भारतको दृष्टिकोणबाट घनिष्ट सम्बन्ध त भुटान, बर्मा, बंगलादेशसँग पनि त छ ?

भुटानसँगको हाम्रो सम्बन्ध त्यस्तो होइन । भुटानबाट गंगामा पाप धुन भारत आउने गर्दैनन् । हामी भुटानको कुनै पनि मन्दिरमा जाँदैनौँ । नेपालमा ८० प्रतिशत हिन्दू छन् र हाम्रोमा पनि ८० प्रतिशत हिन्दू छन् । भुटानसँगको तुलना गर्नै मिल्दैन । यो तपाईंहरूको दिमागको बेकार कुरा मात्र हो । भुटानले हामीसँग सन्धिमा हामीलाई यो–यो चाहिन्छ भन्यो, हामीले सन्धि फेरिदियौँ र उनका माग पूरा गरिदियौं । तपाईंहरू सन्धि फेर्ने कुरा गर्नुहुन्छ तर के भनेर सोध्दा केही पनि भन्नुहुन्न । तपाईंहरू स्पष्ट त हुनुस्, सन्धि तोड्न चाहनुहुन्छ भने तोड्नुस् । फेर्न चाहनुहुन्छ, फेर्नुस । त्यसैले भुटानको कुरा यहाँ गर्दै नगर्नुस्, किनकि त्यो सन्दर्भ नै अप्रासंगिक छ ।

जुन देशले ‘नेभरहुड फस्र्ट’ भन्छ, त्यसैले नै छिमेकीको आत्मसम्मानमा चोट पुर्याउँछ, तपाईंहरुको पोलिसी नै कमजोर हो कि ?

ए त्यो कुरालाई पनि तपाईंले थाती राख्नुस्, किनकि त्यसमा धेरै कमजोरी छन् । मोदीजी पाकिस्तान, मालदिभ्स त जाँदै गएनन्, तर नेपालमा दुईपटक गए । उनले तपाईंलाई एक बिलियनको सफ्ट ऋण दिए, श्रीलंकालाई त दिएनन् । के कुरा गर्नुहुन्छ, त्यसमा धेरै कमजोरी छन् । त्यसको चिन्ता नगर्नुस्, त्यो हामीलाई छोडिदिनुस् र तपाईं नेपाल–भारत सम्बन्धबारे चिन्ता गर्नुस् । मोदीजीको ‘नेभरहुड फस्र्ट’ नीतिको आलोचना गर्ने हो भने धेरै कमजोरी छन्, हामी भनिरहेका छौं ।

(अन्तरवार्तामा  एसडी मुनिको तस्बीर  हुनुपर्नेमा अन्यथा हुन पुगेकोमा सच्याइएको छ–सम्पादक )

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल