बिना विलम्ब माओवादीबीच एकता हुनुपर्छ : पम्फा भुसाल

बिना विलम्ब माओवादीबीच एकता हुनुपर्छ : पम्फा भुसाल

प्रचण्ड नेतत्वको एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीवीच अहिले एकताको विषय चर्चामा छ । यी दुई पार्टीभित्र एकताका लागि के–के प्रयास भएका छन् र एकता कति नजिक छ ? डिस्कवरी न्यूज नेटवर्क डिएनएन गेष्ट रुममा आउनु भएकी नेकपा क्रान्तिकारी माओवादीकी नेतृ पम्फा भुसालसँग नेत्र पन्थीले माओवादीहरुबीचको एकता र डा.बाबुराम भट्टराईको नयाँ शक्तिको भविष्यमाथि कुरा गरेका छन् ।

pampha bhusal (1)
नेकपा एकीकृतसँग एकता गरेर पार्टीको नाम क्रान्तिकारी माओवादी बनाउनुभयो । क्रान्ति गर्न नपर्ने नाममात्र राख्छन् भनेर आलोचना भयो नि ?
खासमा माओवादी आफैमा क्रान्तिकारी शक्ति हो । यसलाई थप कुनै विशेषण दिनु जरुरी हुँदैन । तर, हाम्रो यो टुटफुटको इतिहासमा विभिन्न विश्लेषण दिएर फुट्ने भयो । यो एकता फेरि माओविचारधारा मान्ने एकीकृतसँग भएकोले एउटा अर्कोमा प्रवेश गरेजस्तो नहोस् भनेर नाम क्रान्तिकारी माओवादी राखिएको हो । माओवादी चाहिँ चाहिने अनि एकताको पनि भाव होस भनेर यस्तो नाम राखिएको हो । यसमा अरु केही छैन् ।

एकीकृत माओवादी र तपाईंको पार्टीवीच एकताका लागि संवाद बाक्लिएका छन्, केही प्रगति भएको छ ?
हो, संवाद बाक्लिएका छन् । प्रगति पनि भएको छ । उच्चस्तरको नेतृत्ववीचमा एकताका लागि वार्ता चलिरहेको छ । अस्ति भर्खर मात्र हामी सचिवालयको बैठक बसेर दुईवटै पक्षका उच्चस्तरका नेता बसेर मिल्ने विषयजतिमा एकरुपता बनाउने कुरा भएकोछ । मुलत: आधारभूत हिसावको कुरा मिलाइयो भने कतिपय विषय चाहिँ बहसमा राख्ने र एउटा विधि–पद्धती निर्माण गरेर टुग्याँउन सकिन्छ भनेर छलफल भएको छ । दुईवटै माओवादीवीच त भयो नै, त्यसबाहेक माओविचार मान्ने अरु क्रान्तिकारी कम्यूनिष्ट–शक्तिवीच एकता हुनुपर्छ भन्ने हाम्रो पहल हो । मूर्तिकृत ढंगले एकीकृत माओवादीति एकताको विषय अलि नजिक पुगेको छ ।

तीनवर्ष अगाडी विभिन्न आरोप–प्रत्यारोप हुँदै तपाईहरु प्रचण्डलाई छाडेर जानुभयो । आजको दिनसम्म आउँदा देशको राजीनिक हिसावले वा माओवादी आन्दोलनको पुनर्गठनको हिसाव कुन कुराले एकताको महत्वबोध भयो ?

यसमा राजनीतिक र धुव्रीकरण दुईवटै कुरा हुन्छ । पहिलो त देशको वस्तु्गत आवश्यकता हो यो एकता । देशको अहिलेको अग्रगामी परिवर्तनको बाहक माओवादी हो । यसको नेतृत्व माओवादीले नै गर्नुपर्छ । एजेण्डा चाहिँ माओवादीको हुने अनि नेतृत्व चाहिँ यथास्थितिबादी शक्तिको हुने हुँदैन । देश चाहिँ यथास्थितिको गोलचक्कर फस्ने र अझ पश्चगमनतिर पनि जानसक्ने राजनीतिक परिस्थिति विकास भएकोले यसलाई अग्रगमनतिर लैजानकाका लागि एकता जरुरी छ । माओवादी क्रान्तिकारीको रणनीतिक उद्धेश्यतिर जानका लागि माओवादीवीचको एकता जरुरी छ । माओवादी टु्टफुट हुँदै पाँच–छ वटा चिरा हुँदा मूल धार पनि हराउलाजस्तो भयो । सबै धारमा सवल पाटा पनि छन् र सबैमा कमजोर पाटा पनि छन् । यथास्थितिको राजनीतिको गोलचक्करतिर देश गईराखेको छ । यसबाट निकास र अग्रगमनको नेतृत्वका लागि माओवादी एकतावद्ध हुनु पर्छ ।
हो, माओवादीबाट कमी–कमजोरी भएका छन् आफ्नैभित्र पनि समस्या छन् । आफ्नै समस्या हल गर्न नसक्ने र फूटमा जाने यो हाम्रो आत्मगत कमजोरी हो । तर यो कमजोरीले देशलाई नै पश्चगमनतिर लैजाने, यथास्थितिको गोलचक्करभन्दा अगाडी जानै नसक्ने स्थिति भएको छ अहिले । राष्ट्रियता गम्भीर विषय बनेको छ । जनताका जनजीविकाका विषय झन् जटिल बनेर गएका छन् । जनतन्त्रका अधिकारका निम्ति लडिएको जनयुद्ध र त्यसले स्थापना गरेका विषयलाई भनेजस्तै गरेर स्थापित गर्न पनि सकिएको छैन । भएका विषयलाई कार्यान्वयन पनि गर्न नसक्ने ठाउँमा पुगेको अवस्था छ । यसको पहिलो आवश्यकता भनेको माओवादीवीचको एकता नै हो ।

२१ औं जनयुद्ध दिवस अर्थात फागुन १ मै दुई माओवादीवीच एकता हुन सक्छ भनेर प्रचार पनि भएका छन् । यो सम्भावना कति हो ?

अहिले त्यस्तो त नभनौँ । फागुन १ भनेको हाम्रा ेलागि एकदम गौरवपूर्ण इतिहासको दिन हो । त्यस्तो भए हुन्थ्यो भन्ने हाम्रो पनि चाहना हुने र अरुले पनि त्यसलाई लक्षित गरेका छन कि भन्ने कुरा हो । ठ्याक्कै, एकताका लागि त्यहीँ मिति भन्ने भएको छैन । किनभने राजनीतिक विषयबस्तुमा नै केन्द्रित भएर बहस चलेको छ । योे विषय नुटंगिएसम्म एकताका लागि मिति तोक्ने कुरा हुँदैन । मुख्य त ः राजनीतिक–वैचारिक पक्षमा नै सहमति खोज्ने हो । त्यसपछि मात्र मितिको कुरा आउँछ ।

pampha bhusal (2)तपाईले राजनीतिक–वैचारिक कुरा गर्नुभयो । एकीकृत माओवादीले हेटौंटा महाधिवेशनबाट समाजवादी क्रान्तिको कार्यदिशा पारित गरेको छ, यहाँहरुको डकुमेन्टमा जनवादी क्रान्ति कै कुरा छ । मूलभूत कुरामै देखिएको यो अन्तरविरोधले एकतामा समस्या देखाउँदैन ? यो विषयमा त पार्टीभित्र बहस होला नि ?

उहाँहरुले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको दिशमा अगाडि बढने भयो भन्नुभएको छ । वार्ता–छलफलमा जनवादी क्रान्ति त पूरा भएको छैन नि भन्ने बहस छ । े सामान्य तरिकाले हेर्दा नै भन्न सक्छाँै– राजनीतिक प्रणालीमा थोरै परिवर्तन भएपनि राज्यसत्ताका प्रशासनिक, सुरक्षा, न्यायिक लगायतका जुन अंगहरु छन्, ति धेरै पूराना छन् । केही निकायले परिवर्तनलाई अलि–अलि अंगीकार गरेजस्तो छ । तर, केही त यति प्रतिगामी छन कि तिनले परिवर्तन भन्ने सुन्ने नचाहने अबस्था छ, स्विकार्ने त कुरै छाड्दिनुस् ।
पछिल्लो पटक विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको कुरा पनि अस्ति भर्खर अदालतले उल्ट्याएको छ । जुन सम्झौता संविधानकै अंग बनेर र त्यसैको जगबाट देश यहाँ आईपुग्यो । यसले के देखाउँछ भने राजनीतिक प्रणालीमा थोरै परिवर्तन आएपनि राज्यसत्तामा कुनै परिवर्तन आएको छैन । आर्थिक स्थितिमा पनि त्यसले आमूल परिवर्तन ल्याउन सकेको छैन ।

यो एउटा पाटो हो । तर फेरि ००६ सालमा भन्ने जनवाद, ०५२ सालमा हामीले भन्ने जनवाद र अहिले देशमा भएको परिवर्तन र केही चिज फरक ढंगले अगाडी गईराखेका छन् । यति ठूलो यूवाशक्ति विदेश छ । देशको अर्थतन्त्र रेमिटेन्सले चलेको छ । यो दशेको एउटा महत्वपूण आयाम बनेको छ । औद्योगीकरण हुन सकेको छैन । कृषिमा पनि आकर्षण घटेको छ । यसले गर्दा हाम्रो देशको आर्थिक–सामाजिक स्थितिको अलिकति नयाँ ढंगले अध्ययन गरेर त्यसको संश्लेषणमा पुग्नै पर्छ । त्यसपछि हामी जनयुद्धदेखि यहाँसम्म आउँदाको राजनीतिक प्राप्ति उपलब्धि र हामीले गर्न नसकेका कुराको नयाँ ढंगले समीक्षाको खाँचो छ । त्यसैले आधारभूत कुरा मिलिसकेपछि बाँकी विषय आपसी छलफलबाट ट्ुग्याउन सकिन्छ भन्ने हाम्रो विश्वास हो । नेतृत्वमा पनि विश्वास देखिन्छ ।

किरणजी नेता पनि हुनुभएको छ, प्रचण्ड कमरेड नेता पनि हुनुभएको छ । दुवै प्रति दुवैको एकदमै सम्मान छ । हामीवीच राजनीतिमा, सिद्धान्तमा मदभेद भए, अन्तसंघर्ष भए । हामीले विद्रोह पनि गर्यौँ । तर, त्यतिकै सद्भाव पनि छ आपसमा । सबैलाई एउटा भाव विभोर बनाउने ढंगको सामीप्यता पनि छ उहाँहरुवीच ।

दीर्धकालीन महत्वको विषय छलफलमै टुंगिएला । तर, केही तत्कालीन विषय छन् । जस्तो कि यही संसद हो, जसलाई तपाईंहरुले बहिस्कार गर्नुभयो, यहि संविधान हो जसलाई कालो भनिरहनुभएको छ । उता प्रचण्डले यहीबाट बनेको संविधानलाई राम्रो भन्नुभएको छ । संसदको उपयोग गरिरहनुभएको छ । एकताका लागि यो विषयमा एकरुपता चाहिएला नि ?

यो जति हो त्यतिकै रुपमा लिनुपर्ने हुन्छ । साङ्गोपांगो रुपमा हामीले समिक्षा गर्यौँ भने मिल्न नपर्ने कुरा छैन । एउटा, क्रान्तिकारी कम्यूनिष्ट जसले समाजवाद,साम्यवादको उद्धेश्य राख्छ, त्यसको निम्ति संविधान या संविधानसभा भनेको राजनीतिक कार्यनीतिक विषय हो । दोश्रो, संविधानसभा हामी माओवादीको जनयुद्धको एजेण्डा हो । गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता जस्ता विषय जनयुद्ध र माओवादीकै एजेण्डा हुन । ति अहिले राष्ट्रका एजेण्डा भनेर कार्यान्वयन भएका छन् । यो सकारात्मक नै कुरा हो । तर, हामीले राज्य संयन्त्रमा कुनै परिवर्तन गर्न सकेका छैनौँ । आर्थिक–सामाजिक स्थितिमा खासै गुणात्मक परिवर्तन गर्न सकेका छैनौँ । त्यसैले जति चिज प्राप्ति हो त्यसलाई आत्मसाथ गर्नुपर्छ । संविधान वा संविधानसभाको विरोध गर्दा पनि हामीले केही सकारात्मक परिवर्तन छन् भन्ने कुरा स्किारेका छौँ । तर, यहि संविधान सबै भन्ने हो भने त फेरि पार्टी आन्दोलनको के औचित्य भयो र ? त्यसैले यो जति हो, त्यति बुझ्नुपर्छ, आत्मसाथ गर्नुपर्छ । यसले नै जनवाद, समाजबाद, साम्यवाद, प्राप्ति गर्यो भन्ने र यो केही पनि हैन भन्ने हो भने दुईवटा अति हुन्छ । यो दुईवटा अतिबाट बचेर जाने हो भने हामी यो अन्तरविरोधलाई साँघुरो बनाउन सक्छौँ ।
पहिलो, बस्तु्वादी–बैज्ञानिक बनेर हामी यसको समीक्षा गरेर ठीक निष्कर्षमा पुग्न सक्छौँ । दोश्रो, संसदीय व्यवस्था त कम्युनिष्टले मान्दैनन् । हामीले पनि मान्दैनौँ । तर, संसदवाद–संसदीय व्यवस्थालाई नमान्नु र यसको उपयोग गर्नु भन्ने कुरा फरक हुन । हिजो लेनिनले पनि गर्नुभो । हामीले ०४७/०४८ मा पनि गर्यौँ । अन्तरिम संविधानसभा–संसदमा हाम्रो पार्टीका दुई–दुई जना प्रधानमन्त्री पनि बनायौँ । त्यो त्यसैको सन्दर्भ थियो ।
pampha bhusal (4)एकताको अर्कोपक्ष संगठनात्मक हुन्छ । एउटा सेक्टर काण्डपछि किरणले नेतृत्व प्रचण्डकहाँ पु¥याईदिनुभयो । तीन बर्ष अगाडि आफै नेतृत्व गरेर नयाँ पार्टी बनाउनुभयो । पार्टी एकता भयो भने प्रचण्डकहाँ नै नेतृत्व पुग्ने हो कि किरणले नेतृत्व गर्नुहुने हो ?

यो पनि एउटा संवेदनशिल विषय हो । तर, फेरि हामी हिँजो एउटा व्यवहारको अभ्यास गरेर आएका छौँ । किरणजी नेता पनि हुनुभएको छ, प्रचण्ड कमरेड नेता पनि हुनुभएको छ । दुवै प्रति दुवैको एकदमै सम्मान छ । हामीवीच राजनीतिमा, सिद्धान्तमा मदभेद भए, अन्तसंघर्ष भए । हामीले विद्रोह पनि गर्यौँ । तर, त्यतिकै सद्भाव पनि छ आपसमा । सबैलाई एउटा भाव विभोर बनाउने ढंगको सामीप्यता पनि छ उहाँहरुवीच । त्यसैले राजनीतिक कुरा मिलेभने सांगठनिक कुरो धेरै जटिल विषय हो भन्ने मलाई लाग्दैन । यो पनि समय–समयको सन्दर्भको कुरा हुन्छ । दोश्रो, संविधानसभाको निर्वाचनपछि तत्काल एकता गरेको भए एउटा संगठन बन्थ्यो, यो बेला आएर गर्दाखेरी कस्तो बन्ला अर्को कुरा हो । राजनीतिक –बैचारिक–सैद्धान्तिक विषयको मातहतको विषय हो संगठन । उहाँहरु सधैँ एउटाले अर्कोलाई मानेको, नेतृत्व आदान–प्रदान गरेको इतिहासले नेतत्वको विषय जटिल हुन्छ भन्ने मलाई लाग्दैन । यो समझ्दारीको कुरा मात्र हो ।

तपाईहरुले नयाँ पार्टी बनाएको तीन बर्ष भन्दा बढी भयो । पार्टी बनाउनुभयो तर न सडकमा न संसदमा हस्तक्षेप गर्न सक्नुभयो । यो तीन वर्षको समीक्षा गर्दा वेकारमा हतार–हतार पार्टी फुटालिएछ भन्ने लाग्दैन ?

त्यस्तो होईन र हुँदैन । हामीले जतिबेला माओवादी पार्टीको पुनर्गठन गरेर नयाँ बनायौँ, त्यतिबेला खासगरी पहिलो संविधानसभाको विघटन नाटकीय ढंगले भएको विषयले हामीलाई त्यहाँ पु¥याएको थियो । तर, यो तीन वर्षमा त देशमा धेरै पानी बगेको छ । यो तीन वर्ष पहिलाको र अहिलेको ठ्याक्कै एक्ै ठाउँ राखेर स्थिर ढंगले हेर्न मिल्दैन । हामी अझै धेरै गर्न सक्थ्यौँ । तर, फूटको विडम्बना छ । जस्तो पहिला हामी फूटेर आयौँ, अनि फेरि विप्लवजी फूटेर जाँदा हाम्रो पुनर्गठन पुनर्गठन जस्तो भयो । संविधानसभाको दोश्रो चुनावसम्म सडक हाम्रो हातमा थियो । त्यसपछि संविधानसभा भित्रै रहेका पार्टीहरु मध्ये एमाओवादी आयो सडकमा । हामी संयुक्त मोर्चा पनि बनायौँ । त्यसपछि हामी संविधानसभा बाहिर थियौँ । संविधानसभा भित्रको बहसले सडकमा मधेस र जनजाती पुगे । त्यो पनि एउटा बस्तुगत कारण हो । आत्मगत कारणले पार्टी फुट पनि अर्को कारण हो । तर, फेरि हामीमात्र कमजोर भयौँ, अरु चिज जस्ताको तस्तै छ भन्ने होईन । फूटले एमाओवादी पनि कमजोर भएको छ । अझ् भर्खर बाबुरामजी को बहिर्गमन भएको छ एमाओवादीबाट । हामीबाट विप्लवजी जानुभयो । ति पनि एकप्रकारको क्षति हो । यो टुटफूट भनेको हाम्रो बस्तुतगत कारणले पनि भएको छ । तर, कतिपय हाम्रा आन्दोनलको स्वार्थ भन्दा विपरित ढंगले पनि भएको स्थिति छ । त्यसैले यो बेला हामी सबै माओवादीलाई फूटले असर गरेको छ । कमजोर गराएको छ । एक ढंगले रक्षात्मक बनाएको छ । आक्रामक भएको माओवादी र उसले नेतृत्व गरेको एजेण्डा स्थापित हुँदाहुँदै पनि कार्यान्वयन नहँुने जुन बस्तुगत राजनीतिक स्थिति आयो । यो गंभीर छ भन्नेमा हामी पुग्यौँ । पहिला माओवादी एक हुनुपर्छ । त्यसपछि अरु देशभक्तसँग सके एकता, नभए मोर्चा बनाउनुपर्छ । यो अहिलेको हाम्रो वस्तुगत आवश्यकता हो । पछिल्लो पटकको नाकाबन्दीसम्म आउँदा त त्यसको अझ बढी आवश्यकता बोध हुन्छ ।

विप्लवजी जसरी नेतृत्वमा पुग्नुभयो । उहाँको आफ्नो उहाँको संघर्ष र क्षमता होला, कतै क्रेनले काम गरे होला । जसरी उहाँले पार्टी विभाजन गर्नुभयो, तपाईहरुले केही नगरेर हो कि त्यसका पछाडिी केही थिए अरु ?

अव म अहिले पुष्टि नभएका कुरा नगरौँ । तर, अहिले जे भएपनि सन्दर्भ चाहिँ आन्दोलनका केन्द्र जता–जता हुन्छन त्यहाँबाट नेतृत्वको विकास अलि बढी हुँदो रैछ । कुनैबेला झापा आन्दोलन थियो, अहिले एमालेमा त्यही नेतृत्व छ ।
हाम्रो जनयुद्ध केन्द्र राप्ती भयो, रोल्पा–रुकुम बन्यो अनि नेतृत्वमा तीब्र ढंगले विकास हुने कुरा सजिलो हुने रैछ । जे भएपनि त्यो वस्तुगत कारणले आईसकेको कुरालाई मैले अन्यथा लिन चाहन्नँ । त्यसपछि हिँजो हाम्रो पार्टी भित्र बहस– छलफल र नयाँ पार्टी बनाउने प्रकृयासम्म त ठीकै नै मान्छौँ । तर, आधारभूत कुराले धेरै कुरा फरक नभईकनै एकदम धेरै चिज गर्छु भनेर विप्लवजी गएको पनि डेढवर्ष भईसक्यो । त्यसले गर्दा फूटले आन्दोलनलाई क्षति पु¥याएको छ । यसले कसलाई फाईदा पुग्ला, कसलाई फाईदा पुग्छ भन्ने जसले पनि बुझ्छ ।

pampha bhusal (3)भनेपछि अरु एक दुईवर्ष पछि विप्पवजी पनि यतै आउनुहुन्छ, भन्ने हो ?

उहाँले जे सुके गर्नुहोला । तर बस्तु्गत हिसावले जे चिज सामुन्नेमा छ त्यो भनेको माओवादीहरुकावीचको फूटले माओवादी आन्दोलन कमजोर भएको छ ।

संविधान आएपछि बाबुरामले प्रचण्डलाई छोडेर जानुभयो । नयाँ शक्ति भनेर अन्तिरि परिषदको सूचि ल्याउनुभयो । सूचि पढेपछि नयाँ शक्तिवारे तपाईको धारणा कस्तो बन्यो ?

मानिसहरु पहिला–पहिला भन्थे ‘मान्छे २५ वर्षसम्म कम्यूनिष्ट हुन्छ, त्यसपछि घर व्यबहारबाट व्यक्तिगत जीवनतर्फ लाग्छ, अनि त्यसपछि कम्युनिष्ट हुन छोड्छ ।’ नेपालको इतिहासमा यस्तो देखिनथ्यो पनि । विद्यार्थीकालमा धेरै विद्यार्थी क्रान्तिकारी हुने, त्यसपछि क्रमशः कम्यूनिष्ट छोड्छन भन्ने कुरा नेपाली समाजमा चर्चाको विषय हुन्थ्यो । दीर्घकालसम्म मान्छे त्यही आस्था, विचार, संगठनमा टिक्ने कुरा एउटा समस्या माथिको सटीक टिप्पणी थियो । तर, यत्रो जनयुद्ध, १० हजार भन्दा बढी जनताको छोराछोरीको बलिदान र त्यही बलिदानबाट देशको प्रधानमन्त्रीसम्म बनेर भुमिका पूरा गरेको मान्छे त्यहाँ जाने र नयाँ शक्तिका नाममा पुराना राज्यसत्ताका सेवक, हिँजोका आन्दोलनका विरोधीहरुसित गठजोड गर्न जाने, यतिधेरै पश्चगामी र प्रतिगामी विचार बाबुुरामजीमा आउँछ भन्ने मैले सोच्न पनि सक्ने थिईनँ । उहाँ अलि सुधारबादी, अलि संसदबादी भएको कुरा त राम्रोसित अनुभुत हुन्थ्यो, लामो समय सहकार्य गर्दा । त्यो कुरा पटक–पटक पार्टीको जनयुद्धकालमा पनि विचार संघर्षमा तीब्र भयो । तर, यति धेरै पश्चगामी बाटोतिर बाबुराम जानुहुन्छ भन्ने कुरा मलाई लागेको थिएन ।

बाबुरामजीको नयाँशक्तिले पुरानै संसदीय व्यवस्थाको बुर्जुवा पक्षपोषण गर्दैछ । जो सातदशक देखि नेपाली समाजमा चलेको व्यवस्था हो । विश्वमा पनि त्यो असफल भएर त्यसको बैकल्पिक विचारको रुपमा कम्युनिज्म, समाजबाद, साम्यवाद आएको कुरा हो । त्यसैले बाबुरामजीको शक्ति एकदम नयाँशक्ति बनेर ०७५ मै सत्तामा पुग्छ, मैले देख्दिनँ ।

बाबुरामको नयाँ शक्तिको दुरी प्रचण्डसँग राजनीतिक हिसावले कहिले नभेटिने दुरी जस्तो बन्यो ?

विल्कुल । या त बाबुराम जी रुपान्तरण भएर फेरि कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुपर्यो । या त पेरिसडाँडाले मालेमाबादको सिद्धान्त छोडेर बुर्जुवा पश्चगामी विचारमा फर्कनुपर्यो । यो दुई विपरीत विश्वदृष्टिकोण, दुई विपरीत दार्शनिक दृष्टीकोण र दुई विपरीत राजनीतिक बाटाहरु हुन् । त्यसैले यही स्थितिमा संभव छैन ।

नेपालको राजनीतिमा केही शक्ति निर्माण गर्दा ‘गाईडेड’ भन्ने आरोप लाग्छ । यो आरोप नयाँ शक्तिमाथि पनि छ । तपाईँले बाबुरामलाई जसरी बुझ्नुभएको थियो, तपाई के भन्नुहुन्छ ?

जहिलेपनि मुख्य कुरा आन्तरिक नै हुन्छ । बाबुरामजी आफैमा मुख्य हो । उहाँको सोँच्ने तरीका नै मुख्य हो । चुनवाङ्ग बैठकबाट लोकतान्त्रिक गणतन्त्रको राजनीतिक–कार्यनीति पारि गर्दा प्रचण्ड कमरेडद्वारा प्रस्तुत गरिएको दस्तावेजमा छ, हामी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक–कार्यनीतिमा गईसक्दा त्यहाँ दुईवटा विचारका विचमा बडो तीब्र संघर्ष हुने छ, एकथरी संसदवादी संसदबादतिर प्रवेश गर्न खोज्नेछन् र हामी चाहिँ जनगणतन्त्रको बाटोतिर अगाडी जाने गरि संघर्ष हुन्छ’ भन्ने थियो । त्यतिबेलाको संश्लेषण र निष्कर्ष भनेको गैर माओवादीसित थियो, जोसँग १२ बुँदे समझ्दारी पनि बन्यो, यी शक्तिप्रति ईगित थियो । तर, भित्रैको बाबुरामजी जानुहुन्छ भन्ने थिएन । कहिले काहीँ अन्तरसंघर्षको ‘बाबुराम’ लोकतान्त्रिक गणतन्त्रसम्म जान सक्छन् त्यसपछि के हो भनेर विचार संघर्षका बेला बहस हुन्थे उतीबेलै ।

बाबुरामले रोप्नुभएको नयाँ शक्तिको विरुवा छ, रामेश्वर खनालले ०७५ सालको चुनावमा पार्टी सरकारमा जान्छ भनेर एउटा आकलन दिए । तपाई के देख्नुहुन्छ नयाँ शक्तिको भविष्य ?

राजनीति भनेको बर्गसाक्षेप हुन्छ । बर्गमा आधारित हुने र बर्गको प्रतिनिधीत्व गर्ने हो । बाबुरामजीको नयाँशक्तिले पुरानै संसदीय व्यवस्थाको बुर्जुवा पक्षपोषण गर्दैछ । जो सातदशक देखि नेपाली समाजमा चलेको व्यवस्था हो । विश्वमा पनि त्यो असफल भएर त्यसको बैकल्पिक विचारको रुपमा कम्युनिज्म, समाजबाद, साम्यवाद आएको कुरा हो । त्यसैले बाबुरामजीको शक्ति एकदम नयाँशक्ति बनेर ०७५ मै सत्तामा पुग्छ, मैले देख्दिनँ । किनकी, राजनीतिमा एउटा बर्गको प्रतिनिधीत्व गर्ने कुरा हुन्छ र त्यसको पनि एउटा मुलधार हुन्छ । यथास्थीतिबादी, पुजीवादी, बुर्जुवा, सामन्त शक्तिहरुको प्रतिनिधीत्व गर्ने नेपालमा धेरै पार्टी छन्, तर त्यो मध्येको मूलधार नेपाली काँगेस नै छ । त्यसपछि संसदवादी कम्युनिष्टहरु जसको नेपालमा राम्रो धरातल छ । त्यस्ता कम्यूनिष्ट धेरै छन्, त्यसको मूलधार एमाले हो । त्यसपछि अर्को क्रान्तिकारी धार हो । क्रान्तिकारी आफूलाई जति धेरै भनेपनि माओवादीहरु नै मूलधार हुन । त्यसैले तीनबटा धार नै मूलधार हुन् । असाध्यै पश्चगामी धार पनि छ कमलथापा जस्ताको, जसको भविष्य नै छैन ।
pampha bhusal (5)
त्यसोभए बाबुराम जी कहाँ त ? बाबुराजीको सैद्धान्तिक बैचारिक आधार हेर्ने हो भने काँग्रेसहरुले प्रतिनिधीत्व गर्ने धार, बर्ग र प्रवृत्ति छ । तर, त्यसको मूलधार अहिले भर्खर भूतपूर्व प्रशासन र सुरक्षा अधिकारीको पार्टीले गर्छ भन्ने लाग्दैन । मैले नेपाली समाजको बस्तुगत अवस्था देख्दा त्यो धार नयाँ होईन, त्यही पुरानैका विरुद्ध लडेको पनि हो । यसले माओवादी धारभन्दा फरक ठाउँ लिन्छ भन्ने लाग्दैन ।

भनेपछि संघर्षको हिसावले पनि चुनावी हिसावले पनि बामपन्थी र तपाईहरुको जनमतलाई बाबुरामबाट कुनै ‘थ्रेट’ छैन ।

पटक्कै छैन । उहाँले जुन ढंगले आफ्नो घोषणा– पत्र जारी गरेर नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यसपछि त त्यो बडा गजवको देखियो । उहाँले जुन ढंगले संगठन बनाउनुभयो त्यो आफैमा नाटकीय बन्यो । पूर्व माओवादीलाई भन्दा अग्रस्थानमा राखेर पुरानै व्यवस्थाका हस्तीलाई राखेर अगाडि जान खोज्नुभयो, जसको कुनै जनाधार छैन । उनीहरुको पुच्छर बनाएर पूर्व माओवादीलाई लैजानुभएको छ, त्यसको कुनै तुक देख्दिनँ ।

तपाईँहरु जाँदा ३५/४० प्रतिशतले सांगठनिक क्षति भयो । बाबुरामजी जाँदा पनि कहीँ न कही माओवादीलाई क्षति हुने कुरा त भयो । त्यसको क्षतिपूर्ति गर्ने कुरा के हुन्छ त प्रचण्डसँग ?

अव सबै क्रान्तिकारीसँगको एकता नै हो । त्यसले हल गर्छ । त्यसले माओवादी आन्दोलनको समस्यालाई पनि हल गर्छ र देशको राजनीतिक आन्दोलनलाई अग्रगमकारी दिशातिर लैजाने कुरामा पनि फाईदा गर्छ ।
र फेरिपनि के हो भने माओवादमा दह्रोसित खडा हुने, माओवादीहरुको सुदृढ संगठन बनाउने र आम जनतामा विस्तार गरेर जाने नै त्यसको विकल्प हो ।
स्थानीय निकायको चुनावको विषयमा तपाईँहरुको नयाँ कुरा आएको छ, यो विषयमा के छलफल भएको हो ?

हामीले केही पनि छलफल गरेका छैनौँ । राजनीति गर्ने मान्छेले जनतासित जोडिने राजनीतिक गर्नुपर्छ भनेको हो ।

तपाईँ पूर्वमन्त्री पनि हुनुहुन्छ, राज्य मेसिनरी कसरी चल्छ भन्ने कुरा ज्ञान छ । सरकारमा कम्युनिष्टहरुकै बाहुल्यता छ । सरकारको मूल्यांकन कसरी गर्नुहुन्छ ?

बाबुरामजीको नयाँ शक्ति र यो सरकारलाई राष्ट्रवादी भन्ने कुरा उस्तै–उस्तै हो । पहिला नै विस्तारबादीहरुसित एकदमै आत्मसमर्पण गरीसकेका या डामीईसकेकाको बाहुल्यता भएको सरकार राष्ट्रवादी सरकार हैन, हुनै सक्दैन । जहाँबाट नाकाबन्दी भएको छ, त्यसका विरुद्ध समस्या समाधान गर्नुपर्ने हो । भारतले त युद्ध घोषणा गरेको अबस्था हो । तीन करोड जनताले औषधि समेत खान नपाउने गरी नाकाबन्दी गर्ने भनेको युद्ध थोपरेको हो । साँच्चै भौतिक युद्ध, शैनिक युद्ध नै भएको भएपनि अव संसारभरिबाट क्षेप्यास्त्र लिएर लड्न सक्ने हुन्थ्यो । कुनैपनि जनताप्रति उत्तरदायी भएको सरकार र एउटा देशभक्त सरकारले भारत विरुद्ध ठीक कमद चाल्नुपथ्र्यो । तर, यो सरकारले केही गरेन । अनि कसरी भयो राष्ट्रवादी ? अझ् अहिले त कसरी हुन्छ नयाँ स्थितिबाट आत्मसमर्पण गरेर जान खोजेको देखिन्छ । देशका के–के चिज सुम्पेर, जनताले दुःख कष्ट भोगेर पनि सत्ता टिकाईदिए हुन्थ्यो भन्ने खेलमा प्रधानमन्त्री लागेका छन् । भारत भ्रमणका लागि रोइकराई गरेका छन् । जसरी नयाँ शक्ति जनताको हैन त्यसैगरि यो सरकार पनि राष्ट्रबादी हैन ।

अन्त्यमा, केही छ ?

२० वर्ष यताको राजनीति भनेको माओवादीको राजनीति हो । अग्रगमनको राजनीति हो । राष्ट्रिय स्वाधीनताको रक्षाको राजनीति हो । तर, त्यति गर्दा गर्दै पनि अहिले सबैभन्दा राष्ट्र संकटमा छ । इतिहासमा कहिल्यै नभएको राष्ट्रिय स्वाधीनता संकटमा छ । एउटा अघोषित नाकाबन्दीले जनताको बिहान बेलुकाको समस्या पनि जटिल बनेर गएको छ । जनताले खोजेको परिवर्तनबाट जनताको जीवनस्तर जुन ढंगले माथि उठ्ला भन्ने थियो, त्यो झन गएगुज्रेको स्थिति बनेको छ । यसको हल अहिलेको महत्वपूर्ण एजेण्डा हो । कुनैपनि राजनीतिक शक्तिले र त्यसमा पनि आफ्नो एजेण्डा र आफ्नो धार भएको कारणले गर्दा माओवादी शक्तिले गन सक्छ । माओवादीहरुको एकता ईतिहासको आवश्यकता हो । विना विलम्ब सैद्धान्तिक राजनीतिक निष्ठाका आधारमा एकताबद्ध हुनुपर्छ भन्नेकुरा अपिल गर्न चाहन्छु मैले ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल