बुक टकः कतिले भने– ‘सेक्स सिन’ दिएको उपन्यास कसरी प्रगतिवादी हुन्छ ?

-  |   विष्णु भण्डारी, आख्यानकार/कवि

बुक टकः कतिले भने– ‘सेक्स सिन’ दिएको उपन्यास कसरी प्रगतिवादी हुन्छ ?

विष्णु भण्डारी कवितामा चिनिएका नाम हुन् । ४० को दसकको सुरुवातदेखि नै कविता लेखनमा सक्रिय उनको सात काव्य कृति प्रकाशित छन् । त्यसपछि भने उनी उपन्यासका साथ देखा परेका छन् । ‘पहेँलो घाम’ उनको पहिलो उपन्यास हो । आख्यानकारको पहिचानसँगै उनको दौडधूप पनि बढेको छ । आज बिहान पनि पोखरामा उनको पुस्तकमाथि बहस भएको छ । प्रस्तुत छ, पोखरा जानुअघि उनले कला अनुरागीसँग गरेको कुराकानी :

कविता लेख्न थालेको तीन दसकपछि एक्कासी आख्यानमोह किन देखियो तपाईंमा ? ढ्याक्कै उपन्यास लिएर पो देखा पर्नुभयो त !

मैले लामो समय कविता विधामा कलम चलाएँ । खण्डकाव्य, महाकाव्य र कविता सङ्ग्रह प्रकाशित भए । कविताको शक्ति र सामथ्र्यका हिसाबले जुन ठाउँमा भए पनि मेरो पहिचान कविका रूपमा सार्वजनिक भयो । फेरि मलाई पढ्न र लेख्न मन पर्ने विधा पनि कविता नै हो । पछिल्लो समय महाकाव्य पनि लेखें । त्यस क्रममा लाग्यो– अहिलेको समय, मैले भोगेको समाज र मान्छेको वास्तविक चित्र उतार्न कविताभन्दा आख्यान सहज र फराकिलो छ । त्यसैले आख्यानमा हात हालेको हुँ । 11393083_121706924828803_6998972225535969658_n

तीन दसक कविता लेख्दा नपाएको चर्चा, ‘मिडिया स्पेस’ एउटै उपन्यासले दियो है ? यसो किन हुन्छ, तपाईंको विश्लेषण ?

उपन्यास सामान्य साक्षर व्यक्तिले पनि पढ्न र बुझ्न सक्ने विधा हो । कवितामा जस्तो बिम्ब र प्रतीकको आधिक्यता नहुने हुँदा सरल र सहज हुन्छ । पाठकले पढ्दै जाँदा कहीँ न कहीँ आफूले भोगेको समय र समाजको कथा भेट्छ । आफूले बोल्ने भाषाका साथै आफूलाई भेट्छ र रमाई–रमाई पढ्छ । सायद मेरो उपन्यासमा पनि त्यस्तै भयो होला । फेरि कविता अहिलेको समाजमा सबैभन्दा बढी लेखिने र सबैभन्दा कम पढिने विधा हो । त्यसको असर मेरा कवितामा पनि पर्यो होला ।

तपाईंलाई आख्यान र कवितामध्ये कुन विधाले बढी प्रभाव पारेको छ ? कुन¬–कुन कृतिको प्रभाव सघन रह्यो ? कुनै उपन्यास छ, जसले तपाईंलाई यस्तै लेख्न पाए हुन्थ्यो भनेर घच्घच्यायो ?

मैले पहिले पनि भनें, मलाई पढ्न मन पर्ने विधा त कविता नै हो । कवितामा जीवनको त्यस्तो झिल्को हुन्छ, ग्रीष्मको त्यस्तो चट्याङ हुन्छ जुन आख्यानमा हुँदैन । तर मलाई ग्रीष्मको हुन्डरी र चट्याङसँगै असारको दबदबे हिलोमा खेल्न र साउने झरीमा भिज्न असाध्यै मनपर्छ । बुझिहाल्नुभयो। मलाई पद्यमा छोटा कविता र आख्यानमा उपन्यास मन पर्छ ।
जहाँसम्म कुन विधाले बढी प्रभाव पारेको छ भन्ने प्रश्न छ, त्यो त कविताले नै हल्लाएको छ । भनिहालेँ, कविता बैशाख जेठमा हावाहुन्डरीसँगै बर्सिने पानी हो भने उपन्यास वर्षे झरी । यी दुबैको शक्ति र सामथ्र्य उत्तिकै छ ।
सानो छँदा पढेकामध्ये महाभारत र रामायणले गहिरो प्रभाव पारेका हुन् । पछि जीवन र जगतलाई नयाँ दृष्टिका साथ बुझेपछि भने सबैभन्दा प्रभाव पारेका कृतिमा म्याक्सिम गोर्कीको ‘आमा’, निकोलाई चेर्नोसेब्स्कीको ‘के गर्ने ?’, पारिजातको ‘शिरीषको फूल’ र विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ हुन् । भाषा, सम्वाद र विषयवस्तुको प्रस्तुतिका हिसाबले मलाई मनपर्ने उपन्यास इभान तुर्गनेभको ‘पिता र पुत्र’ हो । मलाई नेपाली भाषा साहित्यमा यस्तै उपन्यास भैदिए कति मजा हुन्थ्यो होला भन्ने कुराले घोचिरहन्छ ।

कविताबाट आख्यान लेखनमा आउँदा तपाईंले पाएका पहिला तीन प्रतिक्रिया (पहिलो– पाठक, दोस्रो– साथी र तेस्रो– परिवारको) के–के हुन् ? जसले तपाईंको लेखन योजनालाई प्रभावित पार्यो ?

लेखनमा आउँदा भन्दा पनि उपन्यास प्रकाशन भएपछि भन्दा राम्रो होला । उपन्यास बजारमा आएपछि पहिले त मेरा पाठक जसले पहिला कविता पढेका थिए, केही उत्साहित र केही निराश भए । उनीहरूको प्रतिक्रिया थियो– किन यो उमेरमा आख्यानमा हाम फालेको होला ? कतै बजारले त प्रभाव पारेन ? तर पनि उनीहरूले न्यानो स्वागत गरे ।
साथीहरू, जसलाई मैले मेरो विचार र राजनीतिको निकट सम्झिन्थेँ र उनीहरूबाट उल्लेख्य सहयोग प्राप्त होला भन्ने सोचेको थिएँ, उनीहरूबाट भने अप्रत्यासित प्रतिक्रिया पाएँ । सामाजिक सञ्जालमा ‘कमेन्ट’समेत गरेनन् । यसलाई ‘चिसो स्वागत’ भन्ने कि ‘इग्नोरेन्स’ भन्ने ? उनीहरू सामाजिक सञ्जाल, ‘मिडिया’ र ‘माउथ पब्लिसिटी’मा चुपचाप छन् । धेरैले त पढेकै छैनन् ।
जहाँसम्म परिवारको कुरा छ, मेरी जीवनसाथी पार्वता भण्डारीको साथ र सहयोग नपाएको भए म यहाँसम्म आउने नै थिइनँ । पाण्डुलिपी पढेपछि उनको प्रतिक्रिया थियो, ‘पार्टीले तपाईंलाई कारबाही गर्छ ।’ छोरा र छोरीहरूले पनि उपयुक्त वातावरण बनाउन भरपुर सघाए ।

तपाईंको उपन्यासको नाम ‘पहेँलो घाम’ छ । यो कस्तो घाम हो, यसको अर्थ कसरी खुल्छ उपन्यासमा ?

‘पहेँलो घाम’ अर्थात अस्ताउँदो सूर्य । जसमा राप र ताप न्यून हुँदै गएको हुन्छ । यसको अर्थ हो मूल्य विघटनको दिशामा उन्मुख आन्दोलन । विचलनतिर गएको पार्टी र उसका नेता कार्यकर्ता । पार्टी र नेतालाई शून्यबाट उठाएर सत्तामा पु¥याउने छापामारलाई अयोग्य बनाएर निकाल्ने काम मूल्य विघटनको दिशामा उन्मुख नेताले मात्र गर्नसक्छन् । क्रान्तिकारी पार्टीका नेताले गर्न सक्दैनन् ।12196326_908697975845362_7370064265682863338_n

तपाईंको उपन्यासबारे परिचर्चा कार्यक्रमपछि केही आलोचनात्मक प्रतिक्रिया आए । जस्तो कि, ‘तपाईंले उपन्यासमा जनयुद्धलाई संयोग प्रमाणित गर्नुभएको छ । जनयुद्धमा हिँड्नेबीच बलात्कारको घटना हुन्थे भन्नुभएको छ ।’ तपाईंले त्यसको खण्डन गर्दै फेसबुकमा चुनौतीसहित ‘स्ट्याटस’ पनि लेख्नुभएको थियो । खास के छ उपन्यासमा, जसका कारण त्यस्ता प्रतिक्रिया आए ?

म आलोचना मनपराउने व्यक्ति हुँ । जो मान्छे अरूका कुरा सुन्न र गाली सहन सक्दैन, ऊ लेखक हुन सक्दैन । तर जसरी ‘मेरै खास’ भनिनेहरूद्वारा उपन्यासको विषयवस्तुलाई विद्रूपिकरण गर्ने प्रयत्न गरियो, त्यसको खण्डन गरेको हुँ मैले । खासमा, परिचर्चा कार्यक्रममा बोल्ने वक्ताले ‘जनयुद्धलाई संयोगमा भएको भनेर प्रमाणित गर्न खोजे र जनयुद्धमा हिड्नेबीच बलात्कारका घटना हुन्थे’ भनेर भने भन्ने कुरा आयो । त्यसको खण्डन गरेको हुँ ‘स्ट्याटस’मा । परिचर्चा कार्यक्रममा बोल्ने वक्ताले त्यस्तो वाइयात कुरा बोलेकै छैनन् । वक्ता मन परेन भन्दैमा बोल्दै नबोलेको कुरा बोले भनेर अतिरञ्जना गर्नु त भएन नि !

तपाईंले उपन्यासमा उल्लेख गर्नुभएका केही घटना संवेदनशील प्रकृतिका छन्, जस्तो कि, कमाण्डरले आफ्नै योद्धालाई यौन प्रस्ताव राख्छ । क्यान्टोनमेन्टमा रहेका सेनाका कमाण्डरले जनसेनाको तलब नै कुम्ल्याएर हिँड्छ । नेताहरू आलिसान महल बनाउन चन्दाको दुरुपयोग गर्छन् । यी घटना वास्तविक हुन् कि तपाईंले लेखकीय कल्पनाको अधिकारलाई प्रयोग गर्नुभएको हो ?

प्रमाणित भएको भए यसो गर्नेहरू कानूनतः जेल जानुपर्ने थियो । प्रमाणित नभएको वा लुकाइएको भएर लेख्नु परेको हो । लेखक त्यस्तो प्राणी हो, जसले पर्दा पछाडिका वा छायामा परेका तर समाजमा छ्याप्छ्याप्ती घट्ने घटनालाई ‘लेखकीय कल्पनाको अधिकार’ प्रयोग गरेर उजागर गर्छ । जनयुद्ध शान्तिप्रक्रियामा आएपछि त्यसका नेता कार्यकर्तामा सांस्कृतिक विचलन देखापरेको कुरा त मैले भनिरहनुपर्ने कुरा हैन । यो त घाम जत्तिकै प्रष्ट छ । एउटा कमाण्डरले कसरी क्यान्टोनमेन्टमा आर्थिक विचलन गर्न सक्छ ? एउटा पूर्णकालीन नेता कार्यकर्ताले कसरी महल बनाउनसक्छ ? यी प्रश्नहरू मेरामात्रै होइनन् । मैले असाध्यै आदर गर्ने नेता नै एउटा व्यापारी वा पुँजीपतिको भन्दा उपल्लो तहको जीवन जिउन थाल्छ भने एउटा लेखक हुनुको नाताले म कसरी चुपचाप बस्न सक्छु ? हिजोको ‘सार्पसुटर’ छापामार भोकभोकै छ । ऊ बाँच्नका लागि बालुवा चाल्न विवश छ तर एउटा नेता असी लाखको गाडीमा गुड्छ । कसरी यस्तो फरक हुन सक्छ एउटै आन्दोलनमा ? यो सबैले देखेकै कुरा हो ।

तपाईंले उपन्यासमा शिवा र सोहनको प्रेमकथावरिपरि अरू कथा बुन्नुभएको छ । राजनीतिक कथा भन्न प्रेमको सहारा लिनुभएको देखिन्छ । तर तपाईं जुन वृत्तमा हुनुहुन्छ, त्यहाँ त प्रेम र यौन लेख्नेबित्तिकै ‘सांस्कृतिक विचलन’मा फसेछ भन्ने चर्चा चल्न थाल्छ । तपाईंको चर्चा चलेको छैन ?

स्वघोषित वरिष्ठ साहित्यकार र वर्षमा एउटा पनि राम्रो सामालोचना नलेख्ने तर समालोचक भै टोपलेका समालोचकहरूले यसो भनेको सुनेको छु । उपन्यास नपढिकनै विभिन्न आरोप लगाउनेको पनि कमी छैन । जस्तो कि, उपन्यास खत्तम छ, माओवादीलाई गाली गरेको छ, जनयुद्धको विरोध गरेको छ, ‘सेक्स सिन’ दिएको उपन्यास कसरी प्रगतिवादी हुन सक्छ, आदि, आदि । यसरी पढ्दै–नपढी आलोचना गर्नेहरूप्रति दया जागेर आउँछ । तर झिँगाले सरापेर डिंगा मरेको मैले सुनेको छैन । तपाईंले भनेजस्तै म रहेको वृत्त र खरो प्रगतिशील हुँ भन्नेहरूमाझ म चर्चा र आलोचनाको पात्र भएको छु । अहिले मेरो उपन्यासलाई आधार बनाएर मलाई ‘ठोक्न’ साथीहरूले विभिन्न वादको सहारा लिँदै हुनुहुन्छ । यो÷यो कारणले विष्णु भण्डारी सांस्कृतिक विचलनमा फस्यो वा उसमा वैचारिक स्खलन आयो भन्ने तप्का पनि छ । तर म यो दुराग्रही आलोचनाबाट आत्तिएको छैन । बरु यस्ताखाले आलोचनाबाट अझ सशक्त कृति सिर्जना गर्नेतिर बल पुगेको छ ।

उपन्यासकी पात्र शिवा एकसमय निकै खरो प्रकृतिकी देखिन्छिन् । जस्तो कि, उसले अक्सर प्रेम सम्बन्धलाई नकार्दै आएकी छ, यौनको त कुरै नगरौं । तर सोहनलाई भेटेपछि चाहिँ प्रेमको त कुरै नगरौं, यौनसम्बन्धका लागि पनि सजिलै तयार हुन्छिन् । यो विरोधाभासपूर्ण भएन र ?

11988620_1191799984182991_5083421026525500355_n

पवित्र प्रेम र यौन सम्बन्धलाई बलात्कारसँग लगेर नजोड्नोस् न । बलात्कार भनेको त मानव समाजकै कलङ्क हो । एउटी क्रान्तिकारी किशोरीले कसरी सहनसक्छे बलत्कार र बलत्कारजन्य गतिविधि ? गलत दृष्टिले हेर्नु पनि यौनहिंसा हो । महिलाको रुचि र इच्छाबिना नै म तिमीलाई प्रेम गर्छु भन्नु पनि यौनहिंसा हो । प्रेम पनि एक दृष्टिमा हुन्छ ? प्रेम न रूपसँग हुन्छ न आग्रहमा । यो त दूधमा चिनी घोलिने प्रक्रियाजस्तै हो । विस्तारै विस्तारै हुन्छ । थाहै नपाई ।
दुई÷तीन वर्ष सँगैजसो रहेपछि र उनीहरूले सम्पूर्ण रूपमा एक अर्कालाई बुझेपछि प्रेम व्यक्त भएको छ मेरो कथामा । एकतर्फी हैन । दुबैले मनपराएका छन् । परिपक्व रूपमा प्रेम झाङ्गिएपछि बल्ल एकले अर्कालाई प्रस्ताव गरेका छन् प्रेमको । प्रेमका लागि रोइकराइ गरेका छैनन् । तिमीले प्रेम नगरे म मरिहाल्छु पनि भनेका छैनन् । जहाँसम्म ‘सेक्स’को कुरा छ, प्रेम भएपछि ‘सेक्स’ त हुन्छ नै ।

तपाईं प्रगतिशील लेखनसँग सम्बन्धित संघसंस्थाको केन्द्रीय तहमा हुनुहुन्छ । तर प्रगतिशीलहरूले तपाईंको उपन्यासको खासै उच्चारण गरेको पाइँदैन । तपाईंलाई पनि त्यस्तो अनुभूति त भएकै होला । किन त्यस्तो भइरहेको त ?

मैले पहिला पनि भनिसकेँ । उनीहरूले चिसो स्वागत गरे । खुलेका छैनन् उनीहरू । खुल्न पनि मुस्किल छ । उनीहरूको यस्तै रवैयाले गर्दा त नयाँ पुस्ता प्रगतिशील भनिनेहरूप्रति खासै आकर्षित छैन । प्रगतिशील आन्दोलनमा यस्ता व्यक्तिहरू छन् जसले अहिलेको समय र आजको माक्र्सवादलाई बुझ्न सकेका छैनन् । उनीहरूले न त आन्दोलनको दिशा निरूपण गरेका छन् न प्रतिभाको संस्थागत संरक्षण गर्नेतिर ध्यान दिएका छन् । यही दम्भी, पुर्वाग्रही र पुरातन सोचले गर्दा प्रगतिशील आन्दोलन खिइँदै गएको छ ।

उपन्यास सार्वजनिक भएपछि तपाईंले एउटा अन्तरवार्तामा भन्नुभएको थियो– केही साथी मसँग खुशी छैनन् । को किन खुसी भएनन्, भन्न मिल्नेजति भनिदिनुस् न । ताकि पाठकले थाहा पाउन् एउटा लेखकले कृति निकाल्दा के कारण साथीहरू बेखुस हुँदारहेछन् !

यो गाह्रो प्रश्न हो । केही दिन अगाडि एकजना मेरा मित्र र अहिलेका सशक्त युवानेताले मलाई भने ‘उपन्यास हल्ला गरेजस्तो रहेनछ ।’ उनी साहित्यकार पनि भएकोले उनको प्रतिक्रिया सुन्न म लालायित थिएँ । जनयुद्ध लडेर आएका उनलाई कसैले ‘उपन्यासमा जनयुद्धको विरोध गरिएको छ’ भन्ने कुरा सुनाएको रहेछ । तर पढेपछि उनी त्यो भनाइबाट मुक्त भए । यसरी केही साथी भ्रम फैलाइएको कारण मसँग बेखुसी भएका हुनसक्छन् ।
चाकडी खोज्ने नेता मसँग खुसी नहुने भए नै । किनभने मैले उनीहरूको चाकडी गर्दिनँ । भ्रष्ट र वर्गउत्थानमा लीप्त नेता त स्वतः मसँग बेखुसी हुने नै भए । फेरि पार्टीमा रामभक्तहरू पनि हुन्छन् नै । रामभक्तिमा जीवन अर्पिनेहरूको कुरै नगरौँ । अनि कार्यकर्तालाई दास सम्झिनेहरू पनि हाम्रो आन्दोलनमा छन् । उनीहरूका लागि त म आँखाको कसिङ्गर भएको हुनसक्छु । फेरि हामीसँग वामपन्थी भनिने केही खतरनाक साहित्यिक वृत्त छन्, त्यसभित्रकाहरू आफूलाई बाहेक अरू कसैलाई पनि साहित्यकार मान्न तयार नै हुँदैनन् । त्यस्ता वृतले मलाई साहित्यकार देख्न रुचाउँदैन । समग्रमा भन्दा हामीसँग गल्छेडोमा बसेर छिर्किनी हान्ने र खुट्टा तान्नेको कमी छैन ।

उपन्यासतिर लहसिनुभएको छ, कवितालाईचाहिँ ‘भूतपूर्व मायालु’को व्यवहार गर्न थालिसक्नुभयो कि, अझै साथमै हो ? अब तपाईंको कृति आख्यान नै आउँछ कि कविता ?

मलाई यहाँसम्म ल्याइपु¥याउने विधा कविता नै हो । कविता मबाट कसरी अलग हुन सक्ला र ! तर यति हुँदा–हुँदै पनि, म उपन्यास नै लेख्नेछु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल