‘साग’ मा झन्डा बोक्न नपाएकी स्नेहाको बयान– बस्नै मन लागेन, आँसु पुछ्दै मैदान छाडेँ

‘साग’ मा झन्डा बोक्न नपाएकी स्नेहाको बयान– बस्नै मन लागेन, आँसु पुछ्दै मैदान छाडेँ

राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको निर्णयअनुसार १२औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झन्डा बोक्न मैदान पुगेकी स्नेहाराज्यलक्ष्मी राणाले अन्ततः सुनौलो अवसर गुमाइन् । इन्चोन एसियाडमा झन्डा उठाइसकेकी सुटिङकी खेलाडी राणा तालिमका साथै मेडिकल शिक्षाको पढाइ छाडेर तीन दिनअघि नै भारतको गुवाहाटी पुगेकी थिइन् । राखेप र नेपाल ओलम्पिक कमिटी पदाधिकारीमध्ये केहीले औपचारिक पोसाक नलगाएकाले उनले झन्डा बोक्न नपाएको दाबी गरेका छन् भने केहीले उद्घाटन समारोहको अन्त्यतिर मात्रै इन्दिरा गान्धी रंगशालामा पुगेको दाबी गरेका छन् । गत माघ २२ गते साँझ दक्षिण एसियाली खेलकुद उद्घाटन हुँदा बेन्चमा बस्न बाध्य उनले मार्चपासमा झन्डा उठाउन नपाएपछि आँसु पुछ्दै आमालाई फोन गरेर मैदानबाट बाहिरिइन् । उनले झन्डा उठाउन किन पाइनन् ? यो प्रश्नको उत्तर आजसम्म कसैले दिएका छैनन् । यसै प्रसंगमा सुटिङ खेलाडी स्नेहासँग रातोपाटीका लागि राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :
बाह्रौं साग उद्घाटन समारोहमा तपाईंले झन्डा बोक्ने भनेर निर्णय भएको थियो, त्यो अवसर गुमाउनुपर्दा कस्तो अनुभव भयो ?
एकदमै निराश भएँ । एकदमै नरामाइलो लाग्यो । म आफ्नो टिमलाई छाडेर त्यत्तिका लागि भारत आएकी थिएँ । झन्डा बोक्नु भनेको एकदमै गर्वको कुरा हो तर बोक्न नपाउँदा एकदमै निराश छु । मैले झन्डा बोक्न किन पाइनँ ? के भयो ? भनेर बुझ्ने ठाउँ पनि कहीँ भेटिनँ । त्यसैले मेरो ‘मोरल डाउन’ भयो । कुनै कारणवश बोक्न नपाएको हुन सक्छ । मैले कसैलाई के भयो भनेर बुझ्न पनि पाइनँ ।
टिमलाई छाडेर भन्नुको अर्थ, तपार्इं सुटिङ टिमसँगै आएको होइन ?
नेपालबाट हाम्रो टिम ७ तारिख हिँड्ने कुरा थियो । अचानक मैले झन्डा बोक्ने निर्णय भएछ । त्यसपछि मलाई तिमी ३ तारिख जानुपर्छ ‘ओपनिङ सेरेमोनी’ का लागि भनेर ओलम्पिक कमिटीका सरहरूले टिक बनाइदिनुभो । काठमाडौंबाट भद्रपुर जान एक्लै त्रिभुवन विमास्नथल पुगें । फेब्रुअरी ३ मा त्रिभुवन विमानस्थल पुग्दा केही अफिसियल भेटिए । उनीहरूको टिम ठूलो थियो । मसँग केही कुरा भएन । उनीहरू र मेरो फ्लाइट छुट्टै थियो । भद्रपुरमा महिला फुटबल टिमका दिदीहरू भेटिए । मलाई एक्लै देखेपछि सँगै जाऔं भन्नुभयो । फुटबलका दिदीहरूसँगै भद्रपुरको न्यु गोर्खा होटलमा बसें । भद्रपुरबाट बागडोग्रासम्म उहाँहरूसँगै आएँ । तर, उहाँहरू र मेरोे फ्लाइट छुट्टै थियो ।
Sneha 11.2......गुवाहाटी ओर्लेपछि कुन होटलमा बस्न भन्नुभएको थियो ?
गुवाहाटी विमानस्थलमा ‘हेल्प डेस्क’ रहेछ । सबै खेलाडीका लागि होटल बुक भइसकेको थियो । म ‘हेल्प डेस्क’ मा गएँ । उनीहरूले तपार्इं फलानो होटलमा जानुस भनेको एकछिनपछि गाडी लिन आयो ।
गुवाहाटी आउँदा तपार्इंको एक्रिडिटेसन कार्ड बनिसकेको थियो ?
अहँ थिएन् । ४ तरिखमा गुवाहाटी आइपुगेकी थिएँ । मसँग कसैको नम्बर पनि थिएन । भोलिपल्ट बिहान ओलम्पिक कमिटीका सुजन सरलाई फेसबुकमा मेसेज गरें । म यसरी आएकी छु, फलानो होटलमा बसेकी छु । आज उद्घाटन भनिएको थियो, म कसलाई सम्पर्क गरौं भनेर सोधें । उहाँले पछि भनौंला भनेर ‘मेसेज रिप्लाइ’ गर्नुभयो ।
साँझ उद्घाटन हुँदै थियो । अपराह्न एक बजे फोन आयो । होटल मेनेजरले मलाई ल्यान्डमार्क होटलमा जान जानकारी गराएपछि म दुई बजे त्यहाँ पुगें । त्यहाँ नीरज सरसँग भेट भयो । सवा चार बजेतिर मेरो एक्रिडिटेसन कार्ड बन्यो । पाँच बज्न पाँच मिनेट बाँकी हुँदा म ओलम्पिक कमिटी सचिवालय रहेको ल्यान्डमार्क होटलबाट १२औं दक्षिण एसियाली खेलकुद उद्घाटन हुने मैदानतर्फ लागेकी थिएँ ।
तपाईं इन्दिरा गमन्धी एथ्लेटिक्स स्टेडिमय पुग्दा उद्घाटन समारोह सुरु भइसकेको थियो ?
सुरु भइसकेको थियो । पाँच बजे भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो । तर, हामी पाँच बज्न पाँच मिनेटमा बल्ल होटलबाट हिँडेका थियौं । हकी र फुटबल टिमले हामी मार्चपासमा जाँदैनौं भने । ड्रिमल्यान्ड होटल पुग्दा कोही थिएनन्, होटलको रिसेप्सनमा भनेर ओलम्पिक कमिटीका नीरज सरलाई फोन गर्न लगाएँ । लन्च खाएको थिइनँ । स्विमिङको एकजना सरसँग भेट भयो । उहाँले लन्च खुवाउनुभयो ।
हिँड्ने बेला सेक्युरिटी नभईकन गाडी हिँड्न मानेन । मैले म बस्ने होटलमा फोन गरेर सुटिङ टिमलाई उपलब्ध सेक्युरिटी टिम पठाइदिन आग्रह गरें । गाडी चढ्ने बेला अफिसियलहरू गाडीभरि बसेका थिए । दुई÷तीनजना उभिएका थिए । मैदान पुग्दा श्रुतिका सिंहले झन्डा बोकिसकेकी थिइन् । मार्चपास सुरु भइसके पनि डेपुटी सेभ दी मिसनले अर्कै झन्डा दिएर बैनी जाऊजाऊ भनेर जबरजस्ती मैदान जान दबाब दिए । म जान्न भन्दा उल्टो ठुल्ठूलो स्वर गरे ।
मैले बोक्ने भनेको झन्डा अर्कै खेलाडीले बोकेर मार्चपासमा गएको देखेपछि म करिब पाँच मिनेटमात्रै मैदानमा बसें ।
पहिले गएकै गाडीमा फर्कनुभयो कि ?
होइन । खेलाडीलाई स्कर्टका लागि सेक्युरिटी टिम दिइएको थियो । उहाँलाई फोन गरेर फर्कें ।
उद्घाटनसत्र हेर्न मन लागेन ?
अहँ । एकदमै पीडा भयो । मामुलाई फोन गरें । धेरै रोएँ । डेनमार्कमा पढ्ने मेरी दिदी दिव्या राणा गुवाहाटी पुग्नुभएको थियो तर उहाँलाई भित्र पस्ने पास पाइएन । दिदीलाई पास मिलाउन मैले सुटिङ संघ, ओलम्पिक कमिटी र मेरो प्रशिक्षकलाई अनुरोध गरें । रंगशालाभित्र प्रवेश गरेपछि करिब दसजनालाई भनें । तर, पास पाइएन । उद्घाटनसत्र नहेरीकन दिदी फर्कनुभयो ।
ओलम्पिक कमिटी र राखेपले तपाईंले झन्डा बोक्ने भने पनि अन्तिम समयमा त्यो अवसर दिइएन । किन त्यस्तो भयोजस्तो लाग्छ ?
मैले खासै केही बुझिनँ । मलाई झन्डा बोक्नकै लागि अरूभन्दा पहिले बोलाइएको थियो । म दुई बजे नै होटल ल्यान्डमार्क पुगेकी थिएँ । त्यहाँ पुग्दा कोही थिएनन् । यति ठूलो प्रतियोगितामा नेपालको तर्फबाट गरिनुपर्ने व्यवस्थापन शून्य थियो । इन्डिया कमिटीले जति गरेको छ, त्योबाहेक नेपालको तर्फबाट १ प्रतिशत पनि व्यवस्थापन गरिएको थिएन । हामीलाई केही समस्या पर्यो भने कसलाई भन्न जाने भन्नेसम्म पनि बुझिनँ ।
झन्डा बोक्न नदिइएकोबारे नेपाली अफिसियलले तपाईंलाई केही भनेका छैनन् ?
कुरा भएको छैन । १० तारिखमा सुटिङ रेन्जमा सेभ दी मिसन केशवकुमार विष्ट र नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ आउनुभएको थियो । उहाँहरूले केही कुरा गर्नु भएन । दुई मिनेट भेटेर फोटो खिचाएपछि उहाँहरू फर्कनुभो ।
तपाईंको खेलचाहिँ कस्तो भयो ?
‘गेम एभरेज’ रह्यो । धेरै राम्रो भयोजस्तो लाग्दैन, नराम्रो पनि भएको होइन ।
झन्डा बोक्न नपाउँदाको पीडाले नतिजामा प्रभाव पारेको त होइन ?
त्यो पीडाले खेलमा खास फरक नपर्नुपर्ने हो । किनभने त्यो छुट्टै विषय हो । खेल्नका लागि आएको हुनाले मेरो प्राथमिकता झन्डाभन्दा पनि खेल थियो । २९ तारिखमा दिल्लीबाट फर्केकी थिएँ । दिल्लीमा ओलम्पिक ‘क्वालिफाइङ म्याच’ थियो । त्यसमा राम्रो अंक आएको थियो । सम्भवतः क्वालिफाइड हुन्छु होला । २९ तारिखमा नेपाल फर्केपछि तीन दिन खेलकुदकै काममा लागें । ३ तारिखमा काठमाडौं छाडिहालें । त्यसो हुनाले मैले ‘सुटिङ गन’ ल्याउन पाइनँ । किनकि गनका लागि छुट्टै प्रक्रिया पूरा गर्नुपर्छ । त्यसैले गन ८ तारिखमा आउँदै थियो । गन नभएकाले मैले तालिम गर्न पाइनँ । ९ तारिखको ‘अफिसियल ट्रेनिङ’ मात्र गरेर १० तारिखमा प्रतिस्पर्धामा उत्रनुपर्दा मेरो प्रदर्शन सोचेजस्तो भएन ।
म झन्डा बोक्न भाग्यशाली थिइनँ । तर, १० दिन तालिम गर्न नपाउँदा यसपटकको दक्षिण एसियाली खेलकुदमा नतिजा राम्रो आएन ।
झन्डा बोक्न तपार्इंले मेडिकलको कक्षा छाडेर आउनुभएको थियो होइन ?
म नेपाल मेडिकल कलेजमा अध्ययनरत छु । पढाइ चलिरहेको छ । २० दिनको छुट्टी लिएकी हुँ ।
समग्रमा यसपटकको साउथ एसियन गेम कस्तो लाग्यो ?
ब्यक्तिगत रूपमा एउटा खेलाडीको नजरबाट हेर्दा यहाँको आयोजकले धेरै राम्रो गर्नुभएको छ । तर, नेपालको तर्फबाट चाहिँ केही भएको पाइनँ । ‘इभन लन्च’ व्यवस्थासमेत राम्रो छैन । ‘लन्च’ का कारण पनि मेरो प्रदर्शन राम्रो हुन सकेन । ग्यास्ट्रिक समस्या थियो । चार दिनसम्म लन्चका रूपमा निरन्तर स्यान्डविच खाएँ । यो त सामान्य कुरा हो तर खेलालीलाई त्यस्तै साना कुराले पनि फरक पार्छ ।
अरू समस्या के–के छन् ?
होटलमा बस्न दिइएको छ । गाडीको सुटिङ रेन्जदेखि होटलसम्म आउने गाडीको सुविधा छ । तर, आफ्नो देशको तर्फबाट हुनुपर्ने उत्तरदायित्वचाहिँ भएन ।
हामी देशका लागि खेल्न आएका हौं । तसर्थ, नेतृत्वपंक्तिले आफ्नो उत्तरदायित्व भुल्नु भएन । मैले ‘गोल्ड मेडल’ जितेकी भए सबै भेट्न आउँथे । सबैले स्नेहा, स्नेहा भन्थे । मैले झन्डा बोक्न नपाउँदा र सोचेजस्तो प्रदर्शन गर्न नसक्दा पनि उसले उत्तरदायित्व लिनुपर्यो नि । जितेपछि मात्र उत्तरदायित्व लिएर हुन्छ ?
मैले पाँच गोल्ड ल्याएको भए माहोल अर्कै हुन्थ्यो । नल्याउँदा बैनी के भयो ? किन यस्तो भयो भनेर कसैले सोधेनन् । एउटा खेलाडी हार्दा पनि देशको पनि हार हो, जित्दा पनि देशकै इज्जत हो । तर, यसरी कसैले सोचेनन् । एकदमै चित्त दुखेको छ ।
तपाईंले खेल्न थालेपछिको सबैभन्दा खुसीको क्षण ?
ओलम्पिक खेल्न पाउनु मेरा लागि खुसीको क्षण थियो । यो मेरो एकदमै ठूलो उपलब्धि पनि हो भने एसियन गेम्समा मैले झन्डा उठाउँदा त्यत्तिकै खुसी भएकी थिएँ ।
दुःखको दिन ?
दक्षिण एसियाली खेलकुदमा झन्डा उठाउन नपाउनु मेरा लागि दुःखद दिन थियो । मलाई यस्तो नरमाइलो भयो कि त्यसको मुख्य कारण भनेको म टिमसँग नआउनु हो । एक्लै आएँ । मेरो तालिममात्रै होइन, पढाइ पनि छुट्यो । खालि झन्डा बोक्नका लागी अगाडि आएकी थिएँ । मैले झन्डा बोक्ने निर्णय गर्नुअघि मलाई एकपटक सोधिएन ।
परिषद्ले पत्रकार सम्मेलन गर्नुअघि तपाईंलाई जानकारी गराएको थिएन ?
अहँ । जानकारी थिएन । मलाई बाबाले फोन गरेर छोरी तिमीले झन्डा बोक्ने भनेर पत्रिकामा आएको छ भन्नुभएको थियो । त्यो मेरा लागि ठूलो अवसर थियो । त्यसकारण मलाई किन जानकारी गराइएन भनेर भन्ने कुरा भएन । तर, त्यही निर्णय गरेकै दिनबाट गैरजिम्मेवारीपन सुरु भइसकेको थियो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल