मलाई आरक्षण कोटाबाट पटक–पटक लड्नु छैन : बहादुर सिंह लामा

मलाई आरक्षण कोटाबाट पटक–पटक लड्नु छैन : बहादुर सिंह लामा

बहादुर सिंह लामा  (तामाङ) दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन एमाओवादी महासचिव पोष्टहादुर बोगटीलाई हराएर चर्चामा आए । २०४२ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति सक्रिय राजनीति गरिरहेका उनले १३ औं महाधिवेशनमार्फत कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । कांग्रेसभित्र इमान्दार र युवा नेताको छबि बनाएका उनीसँग रातोपाटीका लागि राजकुमार सिग्देलले गरेको कुराकानीको सम्पादित अंशः

१३ औं महाधिवेशन नजिकिँदै छ, यहाँको तयारी के छ ?

नेपाली कांग्रेसको महाधिवेशन राष्ट्रको चासोको विषय बनेको छ । नेपाली कांग्रेस ठूलो पार्टी भएको हैसियतले महाधिवेशनको तयारी भइरहेको छ । यो महाधिवेशनले के सन्देश दिँदैछ भन्ने पब्लिकले चासोका साथ हेरिरहेका छन् । देश संकटको अवस्थामा छ, भुकम्पले ठूलो जनधनको क्षती भयो । यो बीचमा ७० वर्षको प्रतिक्षापछि नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको छ । तर, संविधान जारी भएपनि मधेसमा समस्या उस्तै छ । यस्तो अवस्थामा कांग्रेसले कस्तो भूमिका खेल्छ, भन्ने आम नेपाली जनतामा चासो छ । यस्तो अवस्थामा महाधिवेशनबाट नेतृत्व परिवर्तनमात्रै गर्ने भन्दा पनि जनताको चाहना, आर्थिक समृद्धिलगायत विषयमा कसरी अघि पढ्ने भन्ने सबाल मुख्य हो । Exif_JPEG_420
म नेपाली कांग्रेसको एक सिपाही हुँ । जहाँ मैले ४२ सालदेखि काम गर्दै आएँ । नेबिसंघबाट कांग्रेसको राजनीति गरेको म क्षेत्रिय सभापति हुँदै जिल्ला कमिटीसम्म आइपुगेँ । जिल्ला उपसभापति पनि भए भने ५४ सालमा गाबिस अध्यक्ष पनि । यसरी स्टेपबाई स्टेप गरि म तीन पटकसम्म महाधिवेशन महासमिति सदस्य पनि भएँ । नुवाकोट जिल्ला सभापतिमा लडेँपनि म थोरै भोटले पराजित भएको थिए । यसो त ०६४ को पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर तीनबाट थोरै मतले पराजित भएँ । तर ०७० मा एमाओवादीका दिबंगत नेता पोष्टबहादुर बोगटीलाई भारी  मत अन्तरले हराउँदै विजयी भएँ । मैले विजय प्राप्त गरेसँगै जनताको पक्षमा धेरै योजना बनाएको छु, काम गरेको छु । त्यही अनुसार नुवाकोटमा विकासले फड्को मारेको छ। पूर्वाधारको निर्माण प्रक्रिया पनि धेरै अघि बढेको छ । जनताको पक्षमा सकेजति काम गरिरहेकै बेला सबै साथीहरुले मलाई केन्द्रमा जान सुझाव दिनु भएको छ । सबैको सल्लाहबमोजिम आरक्षण कोटाबाट केन्द्रिय सदस्य पदमा चुनाव लड्दैछु ।

तपाई कांग्रेसका हस्तीहरु भएको जिल्लाको नेता हुनुहुन्छ । तपाईँको अगाडि चुनौतिहरु पनि होलान् नि ?

राजनीतिमा सबै कुराको चुनौति हुन्छन् नै । सबै कुराको सामना गर्दै जाने हो । चुनौतिको सामना गरेर नै म आफ्नो अस्तित्व कायम गर्न सफल भएको छु । मैले आफ्नो क्षेत्र, इलाका र भेगको लागि काम गरेको छ । उहाँहरुले सहयोग गर्नुभएको पनि छ ।

तपाईँलाई त बलियो दाबेदार हुँदाहुँदै जिल्ला सभापतिबाट पाखा लगाइयो भनिन्छ, केन्द्रमा पनि यही क्रम दोहोरिनसक्छ भन्नेहरु पनि छन् नि ?

हेर्नुस्, महाधिवेशनमा ७५ ओटा जिल्ला र २४० निर्वाचन क्षेत्रका प्रतिनिधिहरुको सहभागिता हुने हो । सबैले नेतृत्व परिवर्तन आवश्यक छ भनेर बुझिसक्नु भएको छ । को सक्षम छ, कसलाई नेतृत्वमा लैजानुपर्छ भन्ने उहाँहरुले उहाँहरु स्पष्ट हुनुहुन्छ । त्यसैले पनि मलाई अत्याधिक मत दिनुहुन्छ भन्ने मैले विस्वास लिएको छु ।

कांग्रेस केन्द्रिय सदस्य पदका लागि आकांक्षीहरु धेरै छन्, तपाईको दाबेदारीचाहिँ किन ?

राजनीतिमा आकांक्षा सबैको हुन्छ । ८ पढेपछि ९ कक्षा , ९ पछि १० कक्षा पढ्नुपर्छ भनेजस्तै राजनीतिमा पनि क्रमिकरुपमा माथिल्लो लेभलमा गएर जनताको पक्षमा काम गर्ने आकंक्षा हुन्छ । कांग्रेसको विधानअनुसार जनजातीहरुको लागि आरक्षण कोटाको व्यवस्था गरिएको हुन्छ, सोहि कोटामा म केन्द्रिय सदस्य पदमा लड्न लागेको हुँ । म तपाईमार्फत यो घोषणा गर्छु कि मलाई आरक्षण कोटाबाट पटक–पटक लड्नुछैन । एक पटक भन्दा दुई पटक लड्दिन । त्यसपछि खुल्ला प्रतिस्पर्धाको माध्यमबाट अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । आरक्षणमा सँधै बसिरह्यो भने त्यो राम्रो पनि हुँदैन। वास्तवमा अहिले मलाई धेरै साथीहरु नचिन्न सक्नुहुन्छ , यो उपयोग गर्दा उहाँहरुले मलाई नजिकबाट चिन्न सक्नुहुन्छ ।
कुनै समुदायको प्रतिनिधित्व तथा सो समुदायको पार्टीमा अपनत्व बोध गराउन तथा नेपाली कांग्रेसलाई आकर्षक पार्टी बनाउन मेरो उम्मेद्वारी हो । म नेतृत्वमा आउन सक्दा तामाङ समुदायमा कांग्रेसप्रति सकारात्मक भाव पैदा हुन्छ । नुवाकोट, रसुवा, सिन्धुपाल्चोक धादिङ, काभ्रे, दोलखा लगायतका तामाङ बाहुल्य क्षेत्रका मानिसहरु पक्कैपनि आफ्नै मान्छे नेतृत्वमा पुग्न सकेको खण्डमा खुसी हुन्छन् । पार्टीप्रति अपनत्व बोध गर्छन् ।

मलाई आरक्षण कोटाबाट पटक–पटक लड्नुछैन । एक पटक भन्दा दुई पटक लड्दिन । त्यसपछि खुल्ला प्रतिस्पर्धाको माध्यमबाट अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।

कतिले मलाई कांग्रेसको यो अवस्थामा एकैपटक फुत्त आएको भन्छन्। त्यो बिल्कुल गलत हो । माथि पनि भने, म ४२ सालबाट नेबिसंघको राजनीतिहुँदै बिभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको हुँ । र, पार्टीको लागि यति योगदान दिइसकेपछि अव जाने ठाउँ भनेको केन्द्र नै हो । यो पनि भन्न चाहन्छु कि म भन्दा उपयुक्त साथीहरु छन् भने म ठाउँ खाली गर्दिन पनि तयार छु । तर मैले जुन किसिमको काम गरेको छु, नेतृत्व गरेको छु । अनुभव बटुलेको छु , सोको आधारमा आफू दाबेदार देख्छु । जनजाती त्यसमा पनि विशेष गरि तामाङ समुदायको पार्टीमा नेतृत्व पनि भएको छैन यस्तो अवस्थामा कांग्रेस प्रतिनिधिहरुले सोच्नैपर्छ ।

तपाईले जनजातीको कुरा गर्नुभयो तर कतिपयले कांग्रेसलाई बाहुनहरुको पार्टी भन्छन्, तपाई जनजातीको बाहुनहरुको पार्टीमा भूमिका के ?

पहिला जनजाती र तामाङको प्रतिनिधित्व गर्ने भीमबहादुर तामाङ हुनुहुन्थ्यो। तर अब उहाँलाई समेत देखाउने ठाउँ नभएपछि मेरो उम्मेद्वारी आएको हो । तामाङको बाहुल्य भए ठाउँ छ, जनजातीको आरक्षण पनि भएको छ तर, प्रजातान्त्रिक व्यवस्थमा तामाङको मात्रै नभएर बाहुनहरुको पनि भोट चाहिन्छ । यो कुरा सबैले बुझ्नु भएको पनि छ ।

म भन्दा उपयुक्त साथीहरु छन् भने म ठाउँ खाली गर्दिन पनि तयार छु ।  तर मैले जुन किसिमको काम गरेको छु, नेतृत्व गरेको छु । अनुभव बटुलेको छु , सोको आधारमा आफू दाबेदार देख्छु ।

महाधिवेशनमा चर्को गुट छ, तपाईँचाहिँ कसको पक्षमा हुनुहुन्छ ?

पक्ष र विपक्ष भन्दा पनि नेतृत्व परिवर्तनको सबाल छ । हालै सुशील दा’को देहबासन भयो । अब पार्टी हाँक्न सक्ने मान्छेको खाँचो छ । यसका लागि को सक्षम छ भन्ने सबालनै मुख्य हो । अधिकांश साथीहरुले कसलाई नेतृत्वमा ल्याउने भन्ने पनि बुझिसकेका छन् । अहिले मैदानमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल देखिनुभएको छ । शेरबहादुर देउवा धेरै पटक प्रधानमन्त्री भइसक्नु भएको छ । पार्टी हाक्ने क्षमता पनि छ । यस्तै रामचन्द्र पौडेल पनि आदरणीय नेता हुनुहुन्छ । सबै साथीहरुले जस्तै म पनि पार्टी हाँक्न सक्नेलाई सघाउँछु ।Exif_JPEG_420

तपाई एक युवा नेता पनि हुनुहुन्छ, जनजातीलाई जस्तै युवालाई पनि कांग्रेसले स्थान नदिएको हो ?

केहि पहिले मात्रै एक मित्रले मलाई सोध्नुभएको थियो–होइन तपाईलाई कांग्रेसले कसरी चुनाव लड्न टिकट दियो ? (हाँस्दै) ६० वर्षसम्म हाम्रो पार्टीमा युवा हुन्छ । बाउआमाले जहिले पनि छोरालाई बच्चै देख्छ । नेपाली कांग्रेसमा ७०–८० वर्षसम्म पनि नेतृत्वमा रहिरहने विगतले नै देखाउँछ । यो कारणले पनि युवाहरुलाई स्थान खाली हुनै सकेन। त्यही कारणले गर्दा पनि ६० वर्षबित्दा समेत युवा भनिने गरिएको छ । यसका लागि कुनै क्राइट एरिया तोकिएको छैन । तर पछिल्लो समय युवा सहभागिता बढेको चाहिँ साँचो हो ।

युवाको सबालमा यो महाधिवेशनबाट के अपेक्षा गर्न सकिन्छ ?

अहिले महाधिवेशन प्रतिनिधिहरु चुनिएर आउनु भएको छ, जसमा युवा सहभागिता बढेको छ । उनीहरुले कांग्रेसलाई बुझेका पनि छन् । र, उहाँहरुले युवालाई अघि बढाउन महत्वपूूर्ण भूमिका खेल्नुपर्छ भन्ने म ठान्दछु । उहाँहरुको निर्णयले नै यो महाधिवेशनबाट हुने युवा सहभागिताको टुंगो लाग्दछ ।

कांग्रेसमा विधानको तीब्र उलंघन हुने गरेको छ, यसरी विधान उलंघन हुने पार्टीको तपाई केन्द्रिय सदस्यमा निर्वाचित हुनुभयो भने के परिवर्तन गर्न सक्नुहुन्छ ?

स्पष्टै छ , त्यही भएर त अहिले नेतृत्व परिवर्तनको सवाल उठेको छ । पार्टीलाई सहि दिशा दिन, विधान अनुसार अघि बढ्न, संगठन चुस्त दुरुस्त राख्न नेतृत्व परिवर्तनको जरुरी भएको हो । यसो हुन सकेको अवस्थामा कुनै समस्या रहँदैन। म निर्वाचित हुन सकेको खण्डनमा विधानमात्रै नभएर पार्टीलाई अझैं जनतामुखि बनाउन सशक्त भूमिका निर्वाह गर्छु, यो सबैलाई विस्वास दिलाउन पनि चाहन्छु ।Exif_JPEG_420

कांग्रेसका गाउँदेखि जिल्ला अधिवेशनसम्म पैसा र पहुँच हुनेहरुले चुनाव जिते भन्ने चर्चा छ जुन केन्द्रमा पनि दोहोरिन्छ भन्नेहरु पनि छन् नि ?

पैसा एक साधन हो साध्य होइन । यस्तो हो भने पैसावाल मारबाडीहरुले किन जितिरहेका छैन त ? एकाध केसमा यस्तो हुन पनि सक्छ तर बास्तवमा चुनाव चित्ने भनेको उसको लगनशीलता, संगठन, काम र योगदानकै आधारमा हो । पैसाले माथि आएको भन्ने जुन आरोप छ त्यो निराधार हो । अब झिना मसिना कुराहरुलाई बिर्सेर आर्थिक क्रान्तितिर लाग्नुपर्छ । अहिले राजनीतिक क्रान्ति भइसकेको जस्तो लाग्छ, राजनीतिक क्रान्तिले मात्रै देशको विकास सम्भव हुने होइन, आर्थिक क्रान्ति नै अहिलेको आवश्यकता हो ।

कांग्रेसलाई धनाड्यहरुको पार्टी भनिन्छ, यो पार्टीलाई जनताको पार्टीचाहिँ कसरी बनाउनु हुन्छ ?

कृष्णप्रसाद भट्टराईले के लिएर जानुभयो ? उहाँ कति सरल र निष्ठाको राजनीतिक गर्नुहुन्थ्यो । वीपी, सुशील दा’हरुले पनि त्यस्तै निष्ठाको राजनीति गर्नुभयो । पार्टीमा केहि धनाड्यहरु पनि हुनसक्छन् तर त्यो भन्दैमा धनाड्यको पार्टी भनिहाल्न मिल्दैन । बरु कांग्रेस भन्दा त अरु पार्टी नै धनाड्य छन् नि ! ति धनाड्य पार्टीहरु गरीब र दुखीहरुको पार्टी हुम् भनेर बखान गर्न थाक्दैनन् । तर, गरीबको थिचोमिचो गर्छन् उनीहरु नै । गरीबको थिचोमिचो गरेर गरीब पार्टी हु भन्न सुहाउँछ ? हामी त खुल्ला छौं । स्वतन्त्रताको पक्षमा छौं । तपाईलाई यो पनि भनौं, वर्षौ वितिसक्दा एउटा राम्रो पार्टी कार्यालय निर्माण गर्न समेत कांग्रेसले सकेको छैन । तर अरु कम्युनिष्ट पार्टीहरुले सरकारमा गएको नौं महिना पुगेको छैन, पार्टी कार्यालय ठड्याइसकेका हुन्छन् ।

  • कतिले मलाई कांग्रेसको यो अवस्थामा एकैपटक फुत्त आएको भन्छन्। त्यो बिल्कुल गलत हो । 

  • ७०–८० वर्षसम्म पनि नेतृत्वमा रहिरहने विगतले नै युवाहरुलाई स्थान खाली हुन सकेन। 

  • राजनीतिक क्रान्ति भयो अव आर्थिक क्रान्तिमा जोड  दिनुपर्छ 

नेपाली जनताले राम्ररी बुझसकेका कि कुन पार्टीले राम्रो गर्न सक्छ कसले गफमात्रै दिन्छ भन्ने । नेपाली कांग्रेसले प्रजातन्त्रप्रति राखेको स्पष्ट अडानमाथि जनता प्रष्ट छन् । सोहि कारण जनताले विगतमा पनि विस्वास गरेकै हुन् र आगामी दिनमा पनि गर्नेछन् । यसमाथि आगामी नेतृत्वले जनताको पक्षमा धेरैभन्दा धेरै काम गर्नेछ । त्यसकारण पनि जनताले नेपाली कांग्रेसलाई ठूलो पार्टी, राम्रो पार्टी बनाउने छन् भने

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

१३ औं महाधिवेशनमा जनजाती कोटाबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिँदैछु । जिल्ला सभापति , क्षेत्रीय सभापति, महासमिति, महाधिवेशन प्रतिनिधि साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने जनजातीको छोरो मैले उम्मेद्वारी दिन लागेको सन्दर्भमा मलाई एक पटक सहयोग गर्न आग्रह गर्दछु । हुनत म भन्दा योग्य कोहि भएको खण्डमा अरु नै नेतृत्वमा आएपनिकेहि फरक पदैन तर नेपाली कांग्रेसमा लामो समय खर्च गरेको छु । गाबिस अध्यक्षदेखि जिल्लाको सबै तह र तप्कासम्म काम गर्नुको साथै संविधान निर्माण प्रक्रियामा समेत सामेल भएको छु । मेरो योगदानलाई उहाँहरुले मूल्यांकन गर्नुहुन्छ भन्ने मैले ठानेको पनि छु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल