ठूलो पार्टी प्रतिपक्षमा बस्ने, साना–साना पार्टीले बहुमत पुऱ्याएर प्राविधिक सरकार चलाउने ? (अन्तर्वार्ता)

-  |   बालकृष्ण खाँण, केन्द्रीय सदस्य नेपाली कांग्रेस

ठूलो पार्टी प्रतिपक्षमा बस्ने, साना–साना पार्टीले बहुमत पुऱ्याएर प्राविधिक सरकार चलाउने ? (अन्तर्वार्ता)

नेविसंघ र तरुण दलको अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा छाएका बालकृष्ण खाँण लामो समयदेखि लगातार केन्द्रीय समिति सदस्यमा निर्वाचित हुँदै आएका छन् । हकी स्वभावका खाँण कम बोल्छन् तर बोली फेर्दैनन् । कांग्रेसको संगठनमा राम्रो पकड राख्ने खाँणले १३औं महाधिवशेनमा खुलातर्फको केन्द्रीय सदस्य पदमा छैटौं नम्बरमा विजयी भए । शेरबहादुर देउवानिकट मनिने खाँणसँग कांग्रेस, सरकार र देउवालगायतका विषयमा रातोपाटीकर्मी राजेश भण्डारीले गरेको कुराकानिको सम्पादित अंश :

balkrishna khad (2)

राजनीतिमा तपाईंले धेरै चुनाव लड्नुभयो, सांसद/मन्त्री बन्ने चुनाव र कांग्रेसको केन्द्रीय सदस्य हुन पाउने चुनावमा कस्तो फरक पाउनुभयो ?

सांसद बन्ने चुनाव होस् या स्थानिय चुनाव, त्यसमा पार्टीको उम्मेदवारका पछाडि सिंगो पार्टी हुन्छ । पार्टीले पूरै साथ सहयोग गर्छ । आममतदातालाई उम्मेदवार र पार्टीले आफ्नो पक्षमा परिचालन गर्छन् । त्यसैले कतिपय सन्दर्भमा यो चुनाव सजिलोजस्तो लाग्छ ।

तर, पार्टीभित्रको आन्तरिक चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । पार्टीभित्रको चुनाव लड्न खास ठूला मुद्दा हुँदैन तर नेताको व्यक्तित्वको प्रभाव भने रहन्छ । पार्टीका साथीहरूसँगको सम्पर्कले ठूलो प्रभाव पारेको हुन्छ । पार्टीको चुनावमा मतदाता निश्चित संख्यामा हुन्छन् । आमचुनावमा निर्वाचन क्षेत्रका जनता सबै मतदाता हुन् । उनीहरू कतिपय राजनीतिक रूपमा तटस्थ हुन्छन्, कोही अर्को पार्र्टीमा लागेका हुन्छन् । कुनै पार्टीमा नलागेका ‘तटस्थ मत’लाई कसरी प्रभाव पार्ने भन्ने चुनावी रणनिति लिएर संसदीय चुनाव लड्नुपर्छ । तर, पार्टीको चुनावमा सबै चिनेका साथीहरू नै हुन्छन् ।

पार्टीको चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ भन्नुको मतलब संसदीय चुनाव त्यतिसाह्रो घिनलाग्दो र अस्वस्थ भइसक्यो ?

होइन । त्यसमा तटस्थ मतदाता हुन्छन्, उनीहरूलाई प्रभाव पार्न त्यहीअनुसारको र्याली, जुलुस, प्रचार सामग्री चाहिन्छ । घरदैलोमा जानुपर्छ, ठुल्ठूला आमसभा गरेर यो उम्मेदवारको पक्षमा जनता र मतदाता रहेछन् भनेर प्रभाव पार्नलाई ठूलै शक्ति प्रयोग गर्नुपर्ने हुन्छ ।

तर, यो त पार्टीको आन्तरिक राजनीति हो । त्यसैले साथीहरूलाई फोन र एसएमएसमार्फत अथवा भेटेर ‘म, उम्मेदवार छु, सहयोग गर्नुस्’ भनेर अपिल गर्नेमात्र हो, नारा जुलुस चाहिँदैन ।

१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यको चुनाव जित्न धेरैले अनेक जुक्ति लगाएको देखियो, मतदाता प्रभावित पार्न तपाईंले चाहिँ के–के गर्नुभयो ?

महाधिवेशन प्रतिनिधि चुनिन सफल सबै साथीलाई बधाइ र शुभकामनापत्र पठाएँ । एसएमएसमार्फत बधाइ दिएँ, आफू केन्द्रीय सदस्यको उम्मेदवार भएको सुचित गराउँदै सदाझैँ माया र सहयोगको अपिल गरेँ ।

१३औं महाधिवेशनमा आफ्ना लागि भोट माग्ने समय नै भएन । कांग्रेसभित्र एकता, सद्भाव र मेलमिलाप कायम गर्न शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनुपर्छ भन्ने क्याम्पेनमा हामी लाग्यौँ । एउटा समयमा विभाजित कांग्रेसलाई गिरिजाप्रसाद कोइराला र शेरबहादुर दुवै मिलेर एक बनाउनुभयो ।

हामी चाहन्थ्यौँ, १३औं महाधिवेशनले शेरबहादुर देउवालाई नै सभापति बनाओस्, जसले पार्टी एकताबद्ध भएको सन्देश जान्छ । अहिले पार्टीलाई नयाँ व्यवस्थापन खाँचो छ, बलियो र सुदृढ कांग्रेस जनताको चाहना हो । त्यही चाहना पूरा गर्न शेरबहादुर सभापति बनेमा सजिलो हुन्छ भनेर हामीले सबैलाई आग्रह गर्यौँ । पुरानो पुस्ताको त्याग, बलिदान र नयाँ पुस्ताको मेहनतले कांग्रेस शक्तिशाली बन्यो, त्यो कडीलाई हामीले टुट्न दिनुहुन्न भन्यौँ । त्यसैले हामी पार्टी सभापतिमा शेरबहादुरको विजयलाई कसरी सुनिश्चित गर्ने भन्नेतिर नै केन्द्रीकृत भयौँ । व्यक्तिगत रूपमा भोट माग्दै हिँड्ने खास समय भएन ।

शेरबहादुरका लागि किन खटेको ? कांग्रेसमा कुनै ठूलो नेताको पछि नलागीकन राजनीतिमा टिक्न सकिँदैन ?
शेरबहादुरको कार्यशैली र क्षमताले गर्दा उहाँले राम्रो गर्न सक्नुहुन्छ । पार्टीभित्र एकता स्थापित गराउन उहाँले भूमिका खेल्न सक्नुहुन्छ । अहिलेको राष्ट्रिय राजनीति चुनौतीपूर्ण अवस्थामा छ, कांग्रेसलाई पनि चुनौती छ । मुलुक र प्रजातन्तका लागि शेरबहादुर दाइले चुनौती र अवसर सदुपयोग गर्न सक्नुहुन्छ । कांग्रेसलाई पुनर्ताजगी दिँदै जनताको पक्षमा काम गर्न सक्नुहोला भन्ने विश्वसकै आधारमा धेरै लामो सयमदेखि उहाँसँग हामी लागिरहेका छौँ । यो महाधिवेशनमा उहाँलाई सफल गराउने अभियानका लाग्नु हाम्रो कर्तव्य हो । हाम्रो आफ्नो भूमिका के हुन्छ ? पोजिसन के हुन्छ भन्नेतिर सोच्नेभन्दा पनि हामी शेरबहादुरलाई सभापति बनाउने अभियानमा थियौँ ।

कांग्रेसको चिर्वाचन हुँदै गर्दा, रोबोट प्रयोगदेखि आकाशेपुलमा विज्ञापन टाँस्ने, पत्रपत्रिकामा अन्तर्वार्तालाई विज्ञापन बनाएर छपाइएको देखियो । कतिपयले पैसा बाँडेको हामीले देखेका थियौँ, यी दृश्य तपाईंले पनि देख्नुभयो होला, मन धुकचुक भएन ?

पार्टी कार्यालय, बानेश्वरस्थित शेरबहादुर दाइको सम्पर्क कार्यालय र आफ्नै घरमा बढी समय बिताएँ । अधिवेशनको उद्घाटनस्थल, भृकुटीमन्डप र राष्ट्रिय सभागृहमा हामी गयौँ, जहाँ बन्दसत्र र निर्वाचन कार्यक्रम थियो । साथीहरू भेट्नेक्रममा एक दिन मुस्किलले दुई घन्टा गौशाला गएर भेटघाट गरेँ ।

चुनावअघि धेरै घुम्न पाइनँ, गृहजिल्लाका साथीहरू सुन्धारा बस्नुभाथ्यो, त्यहाँ पनि पुग्न पाइनँ । उहाँहरू मेरो निवासमै आउनुभयो । भृकुटीमन्डपमा सबैले पोस्टर र होर्डिङबोर्ड झुन्ड्याएको देखेपछि साथीहरूले भन्नुभयो, ‘तपाईंको पनि पोस्टर टाँस्नुपर्यो ।’

पार्टीको आन्तरिक चुनाव भएकाले भड्किलो प्रचार नगर्ने पक्षमा थिएँ । तरुण दल र नेविसंघका साथीहरूको आग्रहपछि मैले आफूले कुनै पोस्टर छापिनँ बरु साथीहरूलाई भनेँ, ‘तपाईंहरूले धेरै ठूला नबनाइदिनुहोला, साना–साना बनाएर केही टाँसिदिनुभयो भने खुसी नै हुन्छु ।’ त्यसका लागि मैले खर्च जुटाउनु परेन, प्रतिनिधि साथीहरूले नै पोस्टर बनाइदिनुभयो । अधिवेशन सकिएपछि खबर आयो, ‘तपाईंको होर्डिङबोर्ड सुन्धारामा अझै झुन्डिरहेको छ ।’ दुई तलामाथि झुन्डिएको त्यो होर्डिङबोर्ड निकाल्न नगरपालिकालाई समेत गाह्रो भएछ । पछि साथीहरू भन्नुहुन्थ्यो, ‘तल लत्रियो, हामीले भर्याङ खोजेर माथि–माथि झुन्ड्याइदियौँ ।’ तर, ती पोस्टर मैले हेर्न पाइनँ किनिक अधिवेशनभरि सुन्धारा क्षेत्रमा पुग्दै पुगिनँ ।

महाधिवेशनमा तपाईले कति खर्च गर्नुभयो ?
पाँच हजार कपी भिजिटिङ कार्ड बनाएँ । साथीहरूले झुन्ड्याउने लकेट पाँच सयजति थियो होला, फलानो उम्मेदवारलाई जिताऔं भन्ने । चिट्ठीपत्र तयार गरेँ, घरमा कम्प्युटर र प्रिन्टर भएकाले चिट्ठीपत्र बनाउन कागजमात्रै किनेँ । पछाडि क्यालेन्टर र अगाडि तस्बिर भएको ‘मत दिनुहोला’ भन्ने सानो प्रचार सामग्री पाँच हजारप्रति छापेको थिएँ । त्यसका लागि छपाइ र कागजमा जति खर्च लाग्यो त्यति नै हो मेरो चुनाव खर्च ।

balkrishna khad (4)
०५६ देखि ०५९ सम्मको राजनीतिलाई फर्केर हेर्दा जनताले देउवालाई त्यति राम्रो मान्दैनन् नि ?
शेरबहदुर पहिलोपटक प्रधानमन्त्री हुँदा कस्तो भयो भने उपसचिवस्तरका कर्मचारीले गाडी चढेर हिँड्थे । नगरपालिकाको मेयर र जिविस सभापतिलाई गाडीको सुविधान हुन्थ्यो तर सांसद त्यत्तिकै हिँड्थे । माननियलाई पनि सवारीसाधन दिनुपर्छ भन्ने बहस हुँदा तत्कालीन प्रधानमन्त्री देउवाले सादगीपूर्ण रूपमा सस्तोखालको गाडी किन्दा भन्सार छुट दिने निर्णय गर्नुभयो । त्यसपछि धेरै माननियले गाडी किन्नुभयो, अहिलेसम्म चढ्नुभा’छ । त्यही निर्णयलाई पछिका प्रधानमन्त्रीले परिवर्तन गरेर जतिसुकै महँगो गाडी किन्न पाउने भन्दै प्राडो र पजेरो किन्नुभयो । आर्थिक स्थिति कमजोर भएका सांसद आफूले पाउने भन्सार सुविधाको गाडी अरू व्यापारीलाई बेचर सानो गाडी लिनुभयो र थोरबहुत पैसा व्यापारीसँग लिनुभयो । माननियले पाउने सुविधा पाउनु सकारात्मक नै होला तर आफ्नो सुविधा बेच्नु गतल काम थियो । त्यो हामी सबैले गरेको हो, दोष शेरबहादुर देउवालाई मात्र गयो ।

दोस्रोपटक प्रधानमन्त्री हुँदा माओवादीको बिगबिगी थियो । माओवादीले दाङको सैनिक क्याम्पमाथि आक्रमण गरेर सेनाका धेरै सामान लुटेर लगेपछि उहाँको मन्त्रिपरिषद्ले सेना परिचालन गरेको हो, त्यसमा पार्टीको केन्द्रीय समितिले संविधानमा भएको सबै प्रावधान प्रयोग गर्ने भन्दै सेना चलाउन अनुमति दिएको थियो ।

सभामुख तारानाथ रानाभाट, न्यायाधीश र विज्ञहरूले सेना परिचालनलाई निरन्तरता दिन सुझाए । पार्टी सभापति गिरिजाबाबुलाई सोधेर संकटकालको समयावधि थप्ने प्रस्ताव क्याबिनेटले पास गर्यो तर कांग्रेस केन्द्रीय समितिले संकटकाल फिर्ता गर्नुपर्ने निर्णय लियो । यही द्विविधाबीचमा उहाँले ‘पार्लियामेन्ट डिजल्भ’ गरेर अगाडि बढ्नुभयो ।

कांग्रेसलाई फुटाउँदा लागेको घाउ अझैं निको हुन सकेको छैन नि ?
संसद् विघटन गरेपछि पार्टीले प्रधानमन्त्रीलाई कांग्रेसको सदस्यबाट हटाएर पार्टीविहीन बनाइदियो । कुनै राजनीतिककर्मी पार्टीविहीन भएर बस्न सक्दैन । उहाँले फेरि कांग्रेसलाई जोडेर पार्टी बनाउनुभयो । शेरबहादुरले फेरि नेपाली कांग्रेस बनाउनुभयो, निर्वाचन आयोगले उहाँको नेपाली कांग्रेसलाई अस्वीकार गर्यो, रूख चिह्न दिएन । उहाँले प्रजातान्त्रिक थपेर कलश चिह्न लिनुपर्यो । त्यो पुरानो कुरा भयो । उहाँले पार्टी विभाजन गर्नुभयो, प्रजातन्त्र कमजोर पार्नुभयो भन्ने आरोप छ तर त्यस्तो आरोपको पछाडि सत्यता छैन ।

खासगरी देउवा घोषित निर्वाचन गर्ने पक्षमा हुनुहुन्थ्यो तर सबै दलको बैठकले माओवादी द्वन्द्वका कारण असहज अवस्था भएकाले चुनाव सार्न लिखित आग्रह गरे । त्यही निर्णयका आधारमा राजासमक्ष चुनाव सार्न आग्रह गर्दा उहाँलाई अक्षम भनेर राजाले हटाइदिए ।

–शेरबहादुरलाई जिताउन लागेँ, आफ्ना लागि भोट माग्ने समय भएन
– अधिवेशन सकिएपछि खबर आयो, ‘तपाईंको होर्डिङबोर्ड सुन्धारामा अझै झुन्डिरहेको छ
–दाङ आक्रमणपछि केन्द्रीय समितिले शेरबहादुरलाई सेना चलाउन अनुमति दिएको थियो
–गिरिजाबाबुलाई सोधेर संकटकालको समयावधि थपिएको थियो
–राजतन्त्र फर्किन्छ, व्युतिन्छ भन्ने बजार हल्लामात्र हो
–कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रमै विश्वास गर्छ
–जनता समृद्धि चाहन्छन्, कुनै पनि बहानामा धार्मिक द्वन्द्व ल्याउनुहुँदैन
– शेरबहादुर सबैका सभापति हुन्, अहिले धेरै ठूलो दबाबमा सभापतिले काम गर्नुहुँदैन
–६०÷४० को फर्मुला पुरानो भइसक्यो
–मुलुकको समस्या समाधान गर्न कांग्रेसको नेतृत्वमा सरकार
– जनताको आम्दानि बढेको छैन, खर्च बढेको बढ्यै छ
– महँगी र अभाव बढ्दै गयो, सरकारले कालाबजारी रोक्न सकेन

अहिले, हिन्दु धर्मको वकालत गर्ने र भ्रष्ट राजनीतिज्ञको छवि बनाएका खुमबहादुरको वैसाखीको भरमा सभापति बनेको भन्छन् नि देउवालाई ?
हाम्रो स्पष्ट धारणा छ, नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रमै विश्वास गर्छ । नयाँ संविधानका प्रावधानलाई अगाडि बढाउनु कांग्रेसको दायित्व हो । संघीयतालाई हामीले सफल गराउनुपर्छ, गणतन्त्रलाई सफल गराउनुपर्छ । राजतन्त्र फर्किन्छ, व्युँतिन्छ भन्ने बजार हल्लामात्र हो ।

धर्मनिरपेक्षता भनेको पनि धार्मिक स्वतन्त्रता नै हो, व्यक्तिको धार्मिक आबद्धता हुन्छ । राष्ट्रको धार्मिक आबद्धता हुँदैन भन्ने नै सिद्धान्त छ । कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा छ । नेपालभित्र जुनसुकै धर्म, रीतिथिति अवलम्बन गर्न पाइन्छ । हामी अधिकांश हिन्दु छौँ, हिन्दु हुँदाहुँदै उदारवादी छौँ, व्यक्तिले इच्छाअनुसार धर्म मान्न पाउनुपर्छ भन्नेमा हामी हिन्दु नै छौँ ।

धर्मबारे पार्टीका केही साथीले जसरी अनौपचारिक कुरा उठाउँदै आउनुभएको छ, त्योचाहिँ पार्टीको मूल मुद्दा होइन । पार्टीको मुद्दा त संघीय लोकतान्त्रिक गणतन्त्र हो । यसबाट कांग्रेस पछि हट्दैन ।

खुमबहादुरले हिन्दु धर्म हुनुपर्छ भनेर दबाब दिएमा के गर्नुहुन्छ ?
होइन, हामी नेपाली ठूलो संख्यामा हिन्दु नै छौँ नि होइन र ? हिन्दुबीचमा यति राम्रो सहिष्णुता छ । विभिन्न राजनीतिक आन्दोलनमा हामी सहभागी भयौँ, त्यसले नेपालमा राजनीतिक सेटलमेन्ट भयो । हामीले राजनीतिक द्वन्द्व व्यवस्थापन भर्खरै गर्यौँ, के अब फेरि नेपालमा धार्मिक द्वन्द्व ल्याउने त ? नेपाल र नेपाली जनतालाई चाहिएको शान्ति र समृद्धि हो । हामी सबैलाई समृद्ध नेपाल चाहिएको बेला फेरि कुनै बहानामा अर्को द्वन्द्व सुरुवात गर्नुहुँदैन । त्यो हाम्रो आग्रह हो, त्यसमा जनताले पनि साथ दिनेछन् । टुंगो लागिसकेको विषयलाई तत्कालै नउठाउन नेताहरूलाई मेरो आग्रह छ ।balkrishna khad (1)

कांग्रेसको ६०/४० को राजनीतिमा शेरबहादुरको भागको ४० प्रतिशत खुमबहादुरले लिनेगरी सहमति भएको भनिन्छ, यो कुरा साँचो हो ?
शेरबहादुर देउवा सभापति बन्नेक्रममा उहाँले धेरै नेतालाई भेट्नुभएको छ । त्यतिबेला कोसँग के संवाद अथवा सहमति गर्नुभयो ? मेरो आग्रह के छ भने कसैलाई कुनै जिम्मेवारी दिने वचन दिनुभएको छ भने त्यो वचन पूरा गर्नुपर्छ । त्यसबाहेक अन्य कुरामा पार्टीको आवश्यकता र नेताको औचित्यलाई ध्यानमा राखेर जिम्मेवारी दिनुपर्छ । अहिले धेरै ठूलो दबाबमा सभापतिले काम गर्नुहुँदैन । उहाँ सबैका सभापति हुन्, त्यसले कुनै व्यक्तिविशेषभन्दा पनि आमकार्यकर्ताको चाहनाअनुसार अगाडि बढ्नुपर्छ ।

अब तपाईंहरूले ६० प्रतिशत लिने र रामचन्द्र पौडेलले ४० प्रतिशत पाउनेगरी अगाडि बढ्छ, कांग्रेस राजनीति ? किनकि पौडेल समूहले आफ्नो भाग त छाड्दैनन् होला ?
होइन, पार्टी नफुट्नुपथ्र्यो नि ? फुट्नु नै मुलुक र जनताका लागि दुर्भाग्य भयो । सबैको मन खिन्न भयो । जिल्ला–जिल्लामा दुई–दुई सभापति भए, पदाधिकारी धेरै भए । पार्टी जुटेपछि मिलाउन ६०÷४० को फुर्मलामा समायोजन गरियो । त्यो फर्मुला पुरानो भइसक्यो ।

अबको फर्मुला के हुन्छ ?
सभापतिले रामचन्द्र पौडेलदेखि उमाकान्त चौधरीसम्मलाई मनोनीत गर्नुभयो । नरहरि आचार्य अस्वस्थ भएकाले महाधिवेशनमा भाग लिन पाउनुभएन, उहाँको पोटेन्सियालिटीलाई कांग्रेसले सदुपयोग गर्नुपर्छ भनेर उहाँलाई पनि मनोनीत गर्नुभयो । त्यसैले आवश्यकता र औचित्यका आधारमा गर्नुभयो । अब पनि पार्टीको आवश्यकता र औचित्यका आधारमै निर्णय गर्नुपर्छ ।

शेरबहादुर सभापतिमा निर्वाचित भएको रात तपाईंले आगामी सरकारको नेतृत्व देउवाले गर्ने घोषणा गर्नुभाथ्यो, कुन आधारमा टेकेर त्यस्तो घोषणा गर्नुभयो ? कि जितको खुसियालीमा ?
मैले धेरै पहिलेदेखि भन्दै आएको थिएँ, नयाँ संविधानमा प्रतिनिधिसभाको ६० प्रतिशत प्रत्यक्ष चुनाव हुन्छ, ४० प्रतिशत समानुपातिकबाट आउँछन् । प्रदेशसभामा पनि त्यस्तै हुने भएकाले, यस्तो मिश्रित चुनावी पद्धतिमा एउटै पार्टीले बहुमत ल्याउन धेरै गाह्रो हुन्छ । संविधान नै हामीले मिलिजुलीखालको बनायौँ, सत्तापक्ष र प्रतिपक्षभन्दा पनि मिलेर राष्ट्रिय समस्या समाधान गर्नेखालको कल्चरमा हामी आयौँ ।

हाम्रो संविधानमुताविक सरकार कसरी बनाउने त ? ठूलो पार्टी प्रतिपक्षमा बस्ने, अनि साना–साना पार्टीले बहुमत पुर्याएर प्राविधिक रूपमा सरकार चलाउने ? त्यो त अप्राकृतिक गठबन्धनजस्तो भयो । त्यसैले सुरुदेखि मैले भन्दै आएको के हो भने नयाँ संविधानअनुसार राष्ट्रिय सरकार बनाउनुपर्छ । त्यो भनेको केन्द्रीय सरकारको प्रधानमन्त्री सबैभन्दा ठूलो पार्टीले बनाउँछ । दोस्रो पार्टी दोस्रो पोजिसनमा बस्छ, अरूले आ–आफ्नो पोजिसनअनुसार स्थान पाउँछन् ।
प्रदेशमा पनि ठूलो पार्टी मुख्मन्त्री बन्छ । दोस्रो पार्टी दोस्रो पोजिसनमा बस्छ । यो फर्मुलामा हामी गयौँ भने सरकार बनाउने र गिराउने खेलमा कोही लाग्नै परेन । नेपाल त्यो कोर्समा गइसकेको हुनाले संविधान लागू गर्ने प्रारम्भिक दिनमा अहिलेको व्यवस्थापिका संसद्मा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी छ । नेपाली कांग्रेस सहमत नभईकन दुईतिहाइ बहुमत नै पुग्दैन, राष्ट्रिय सहमति नै जुट्दैन । त्यसैले कांग्रेसको नेतृत्वमा सरकार निर्माण गरेर सबैलाई समेटेर अगाडि बढेमात्र मुलुकको समस्या समाधान हुन्छ भन्ने मेरो विश्वास हो ।

संविधान बने पनि नाकाबन्दी र मधेस आन्दोलनले अझ धेरै समस्या सिर्जना भयो । आर्थिक बाटोमा मुलुक अगाडि बढ्छ भनेको त्यसरी बढ्नै सकेन । जनताको आम्दानी बढेको छैन, खर्च बढेको बढ्यै छ । महँगी र अभाव बढ्दै गयो, सरकारले कालाबजारी रोक्न सकेन । संविधान संशोधन गर्न सक्ने संख्या पनि सरकारसँग नभएको हुनाले यो अप्राकृतिक गठबन्धन आफैँ भंग भएर जान्छ । नयाँ ढंगले मुलुक सञ्चालनका लागि हामी तयार हुनुपर्छ ।

नाका खुलेपछि, मधेस आन्दोलन रोकिएपछि बल्ल काम गर्ने वातावरण बनेको छ । यस्तो बेला सरकारलाई तपाईंहरू हट्नुस्, हामी आउँछौँ भन्न कसरी मिल्छ ?
संविधान जारी गर्दा हामी सबै सँगै थियौँ, त्यतिबेला मधेसकेन्द्रित साथीहरूलाई सँगै लैजान सकेनौँ । मधेसका मुद्दा सम्बोधन गर्ने सवालमा कांग्रेस नेतृत्वको सरकारले नै संशोधन प्रस्ताव दर्ता गरेको थियो । अब फेरि पनि संशोधन ल्याउनुपर्ला ।

राजतन्त्र व्युताउँछु र संघीयता मान्दैनौँ भन्नेहरू पनि यो सरकारमा छन्, गणतन्त्रका लागि योगदान पुर्याउने पार्टी र नेताहरू भएकाले यो सरकारको गठबन्धन नै अप्राकृतिक भयो । त्यसैले ‘नेचुरल एलाइन्स’ हुन जरुरी छ, संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिबद्ध भएका सबैले मिलेर मुलुकलाई निकास दिनेतिर हामी केन्द्रीकृत हुनुपर्छ ।

balkrishna khad (3)
त्यसो भए कांग्रेस मधेसवादीलाई साथमा लिएर सरकार चलाउन खोज्दै छ ?
होइन, होइन । कांग्रेस एमाले माओवादी र मधेसकेन्द्रित दलबीचमा सहमति हुन जरुरी छ । यो चार शक्तिको सहमतिबाट अहिलेको समस्याबाट मुलुकलाई मुक्त गराउने हो, निकास निकाल्ने हो । यसका लागि आवश्यक परेमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । राष्ट्रिय सहमतिको सरकार बनाउन सकिएन भने पनि संविधान लागू गर्न व्यवस्थापिका संसद्को दुईतिहाइ समर्थन भएको सरकार चहियो ।

नेपाली कांग्रेसका अबका चुनौती के–के हुन् ?
मुलुकमा शान्ति स्थापना गर्नु नै हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी हो । त्यसको साथसाथै लोकतान्त्रिक पद्धति र प्रक्रियालाई पनि जनताबीचमा स्थापित गर्नुपर्छ । ००७ सालमा कांग्रेसको आह्वानमा राणा शासन अन्त्य भयो, ०४६ सालमा कांग्रेसकै आह्वानमा निर्दलीय पञ्चायती व्यवस्था ढल्यो । ०६२/६३ मा हामी सबैको प्रयासले गणतन्त्र आयो तर जनताको जीवनमा कुनै परिवर्तन आएन । हाम्रो हार्दिक चाहना के भने जनताको जीवनमा परिवर्तन ल्याउन सकौँ । सबै नेपालीले देशमै रोजगारी पाउन सकून् । नेपालको भौगोलिक विविधतालाई हामीले कसरी सदुपयोग गर्ने ? त्यसका लागि राजनीतिक द्वन्द्व व्यवस्थापन गरेर आर्थिक बाटोमा अग्रसर गराउनुपर्छ ।
(तस्बिर : अशोक दुलाल)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल