अब म गर्छु कमल थापालाई कारबाही : केशरबहादुर विष्ट (अन्तर्वार्ता)

अब म गर्छु कमल थापालाई कारबाही : केशरबहादुर विष्ट (अन्तर्वार्ता)

 

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै राप्रपा नेपालले सहअध्यक्ष केशरबहादुर विष्टलाई तीन वर्षका लागि निलम्वन गर्यो । तर, कारबाहीको कुनै औपचारिक जानकारी नआएको दाबी गर्ने विष्ट कारबाही गरिएकै भए पनि त्यसको कुनै अर्थ नभएको तर्क गर्छन् । राप्रपा नेपाल एजेन्डामा विचलित हुन नहुने, पार्टी सरकारबाट बाहिरिनुपर्ने, एकीकृत राप्रपा निर्माणमा पार्टी इमानदार हुनुपर्नेजस्ता फरकमत राखेका विष्टले यसै सेरोफेरोमा आफ्नै निवासमा रातोपाटीका राजकुमार सिग्देलसँग कुराकानी गरेका छन् । कुराकानीको अंश :

Keshar Bahadur Bista (10)पार्टीले तपाईंलाई निलम्वन गरिसक्यो, अब कसरी अघि बढ्नुहुन्छ ?

निलम्वन गरेको भन्ने सुनेको छु । तर, मलाई यसको कुनै मतलब छैन । मैले गरेको काम के हो भने माओवादीहरू एकथरी माक्र्सवादी, एकथरी लेनिनवादी मिलेर एमाओवादी बनाए । एकीकृत भए अर्थात् उनीहरूले नामै एकीकृत माओवादी राखे । एकीकृत भएबापत उनीहरूले धेरै कुरा पाए । धेरै जिते । त्यहाँभित्र पनि स–साना फ्याक्सन भएको भए सायद उनीहरूले जित्न सक्दैनथे होला । त्यस्तै माक्र्सवादी र लेनिनवादी मिलेर एमाले बनाए । उनीहरूले पनि धेरै जिते । यस्तै फाटेका नेपाली कांग्रेस पनि मिले, उनीहरूले पनि धेरै कुरा जिते । अर्थात् मिलेपछि धेरै कुरा जितिन्छ । सोही कारण त्यही विचारबाट प्रेरित भएर हिजोका पञ्च, हिजो राजासँग मिलेर काम गरेका, धर्म मान्ने, हिन्दुत्व चाहने, संघीयताले देशलाई विखण्डन गर्छ भन्नेहरू एकठाउँमा बस्नुपर्छ । एराप्रपा बनाउनुपर्छ । तर, यहाँ उसै त सानो राप्रपा त्यसमाछि अहिले छिन्नभिन्न भएर चारवटा भएका छन् ।

अब प्रजातन्त्र मान्ने, कांग्रेस नमान्ने र बाध्य भएर कांग्रेसलाई भोट हाल्ने एकथरी छन् । साम्यवाद मान्ने तर एमालेले ठाउँ छाड्यो भनेर पनि बाध्य भएर त्यहाँ भोट हाल्नेहरू पनि छन् । यस्तो अवस्थामा त्यस्तो प्रजातान्त्रिक वैकल्पिक शक्ति बनोस्, जसबाट सुख मिलोस् । सोहीअनुसार एकीकृत राप्रपा हुनुपर्छ भनेर मैले आवाज उठाएको हुँ । एकीकृत राप्रपा त बनाउनुपर्छ तर मैले भनेजस्तै हुनुपर्छ, म अध्यक्ष हुनुपर्छ भन्ने एकथरी मान्छे छन् । अब अध्यक्षचाहिँ महाधिवेशन गरेर जसले जित्छ, त्यो नै हुने हो भन्ने मेरो भनाइ हो । यही कुरा मिलेन ।

गलत प्रक्रियाबाट गरिएको निष्कासनको कुनै अर्थ हँुदैन । किनभने अहिलेसम्म देशको तीस जिल्लाका जिल्ला सभापतिले बैठक बसेर के अपराध गरिएको छ र कारबाही गरियो भन्दै विरोध गरेका छन् । पार्टीले गलत बाटो लियो भन्दैमा अपराध हुन्छ ? एजेन्डा छाड्यो भन्दैमा अपराध हुन्छ ? हामी एजेन्डाका लागि मात्रै काम गर्ने हो । सरकारमा जानका लागि होइन । बरु एजेन्डा रक्षाका लागि सरकारबाट बाहिरिनचाहिँ सक्नुपर्छ । वीरगन्जस्थित सुरज होटलको ३ नम्बर कोठामा १४ जना केन्द्रीय सदस्य बसेर अवैध बाटोबाट कारबाहीको प्रचार गरियो । दुई सयको हाराहारीमा केन्द्रीय सदस्य भएको पार्टीमा १४ जना बसेर यस्तो काम गरिनु आफैंमा हास्यास्पद छ ।

देशभरिका जिल्ला समिति तथा नगर समितिले हाम्रा जहाँ–जहाँ संगठन छन्, कार्यकर्ता र केन्द्रीय सदस्यले कारबाही गलत छ भनेर खेद व्यक्त गर्दै आउनुभएको छ । हामीले गलत काम गर्नेलाई सच्चिन मौका दिने हो । अरू त के नै गर्ने हो र ! त्यसो गर्दा पछि गल्ती सच्याइएन भने एउटा भेला गर्छु । आफ्ना थप कुरा बाहिर ल्याउँछु ।

 

वीरगन्जस्थित सुरज होटलको ३ नम्बर कोठामा १४ जना केन्द्रीय सदस्य बसेर अवैध बाटोबाट कारबाहीको प्रचार गरियो । दुई सयको हाराहारीमा केन्द्रीय सदस्य भएको पार्टीमा १४ जना बसेर यस्तो काम गरिनु आफैंमा हास्यास्पद छ ।

 

Keshar Bahadur Bista (1)
विमति पार्टीभित्रै राख्न सक्नुहुन्थ्यो तर केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा छुट्टै भेला गरेर हतारमा असन्तुष्टि पोख्नुभयो नि ?

मैले कुनै भेला गरेको होइन । आफ्ना कुरा विज्ञप्तिमार्फत बाहिर ल्याएकोमात्रै हो । बरु अबचाहिँ देशभरिका राष्ट्रवादी कार्यकर्तालाई समेटेर बृहत् भेला हुनेछ । जहाँसम्म विज्ञप्तिको सवाल छ, यो एकताको आह्वानसहित बाटो बिराउनेलाई एजेन्डा स्मरण गराउनका लागि जारी गरिएको हो । पार्टी एजेन्डा छाड्नुभन्दा त सरकारको एजेन्डा छाड्नुपर्छ । सरकारका लागि मरिहत्ते गर्नु अहिलेको माग होइन । जुन वक्तव्य मैले पार्टीको जिम्मेवार नेताको हैसियतले आफ्नो विचारको स्वतन्त्रता प्रयोग गरेको दिएको हुँ । हो, मैले पार्टीमा आफ्नो कुरा राख्नुपथ्र्यो । तर, म अहिलेसम्मचाहिँ चुप लागेर बसेको पनि थिइनँ नि । जहाँसम्म वीरगन्ज बैठक भयो, भन्न पनि लाजमर्दो छ, कुनै खबरसम्म गरिएन । केही महिनायता पार्टीमा मनपरी छ । त्यसअघि यस्तो थिएन । महिना दिनअघि कार्यसम्पादन समिति बैठक बसेको थियो रे ! समान विधानधारा संघ–संस्था समन्वय समिति भन्ने समिति संयोजक म रहेको छु । त्यसैले विभिन्न पार्टीसँग एकीकरणका लागि हामी कुरा गरिरहेको छौं । मेरो मतमतान्तर हुनेबित्तिकै मलाई नबोलाई, कुनै जानकारी नै नदिई बैठक बसेर मलाई हटाएर अर्को मान्छे राखिएछ । यस्तो गलत प्रवृत्ति पार्टीमा छ ।

पार्टीका हरेक निर्णय एकलौटी गरिन्छ भन्न खोज्नुभएको हो ?

सबै निर्णय त नभनौं तर अहिलेको ‘सिनारियो’ हेर्दा त्यस्तै देखिएको छ ।

विवाद लामो समययता रहेको संकेत गर्नुभयो तर अहिलेचाहिँ किन आक्रामक रूपमा प्रस्तुत हुनुभएको त ?

यही त भन्दै छु । आन्तरिक रूपमा गर्दा केही नलागेपछि बाहिर आएको हो । आन्तरिक रूपमा प्रशस्त आवाज उठाएकै हो । गएको ६ महिनाअघि अर्थात् पार्टी सरकारमा जानुअघि, संसद्मा विरोध प्रस्ताव राख्ने बेलादेखि, संसद् बहिष्कार गर्ने नगर्ने भन्ने बेलादेखि, अझ  (यादगर यो पनि छ कि पार्टीले अघिल्लो दिन संसद् बहिष्कार गर्ने निर्णय गर्यो तर त्यसको भोलिपल्टै निर्णय उल्ट्याइयो) यो घटनाले पनि पार्टीभित्र त्यतिबेलैदेखि मतमतान्तर रहेछ भन्ने त देखाइहाल्यो । यतिमात्रै होइन, पदमा गएपछि मनपरी भयो, कार्यकर्ताको दुःख सुखको वास्ता गरिएन । त्यसैले त बाध्य भएर बाहिर बोल्नुपर्ने अवस्था आयो । ६ महिनासम्मको निरन्तर मतभिन्नताको परिणाम हो यो ।
तपाईंको माग के–के हुन् ?

अब माग नेतृत्वसँग मात्रै पनि होइन । हामी सबै एकीकृत राप्रपा हुनुपर्छ । अब टुक्रे राप्रपा (राप्रपा, राप्रपा नेपाल, राप्रपा नेपाल समानान्तर, राप्रपा राष्ट्रवादी) होइन न कि एकीकृत राप्रपा हुनुपर्छ । हाम्रा एजेन्डामाथि खुला रूपमा छलफल र बहस हुनुपर्छ । पार्टीभित्र कसैको मतभिन्नता छ भने त्यो खुला रूपमा राख्न पाउनुपर्छ । एकीकृत राप्रपाका लागि महाधिवेशन गरेर नेतृत्व चयन हुनुपर्छ । त्यो महाधिवेशनबाट चयन भएको नेतृत्वले पार्टी हाँकेर लैजानुपर्छ ।

Keshar Bahadur Bista (8)

तपाईं नै पार्टी सरकारबाट बाहिरिनुपर्छ भन्ने अनि आफ्नै छोरालाई त्यही मन्त्रिमण्डलमा राख्ने, फेरि त्यही सरकार र आफ्नै पार्टीको विरोधमा विज्ञप्ति निकाल्ने, यो त अलि असुहाउँदो भएन र भन्या ?
पार्टी ठूलो हुनुपर्छ, एकीकृत हुनुपर्छ भन्दा कसरी असुहाउँदो हुन्छ ? जहाँसम्म छोरालाई मन्त्री बनाएकोसवाल छ– मैले व्यक्ति होइन पार्टीको कुरा गरिरहेको छु । मान्छेले किन अनेक टिप्पणी गर्छन्, मैले केही बुझिरहन सकेको छैैन । हेर्नुस्, ललितपुर जिल्ला नेपाल अधिराज्यको २४० निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र वाइज हाइएस्ट भोट आएको जिल्ला हो । ललिपुरमै उम्मेदवार भएर चुनाव लड्दा म हारें । तर, पार्टीको तीन निर्वाचन क्षेत्र भएको ललितपुरमा लगभग ३८   हजार भोट आएको छ ।
जहाँ कि १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा एक लाख १० हजार भोट आयो भने झापामा ३६ हजार भोट आयो । तर, यहाँ ३८ हजार भोट आयो । यो भोट कसले ल्यायो ? विराटबहादुर विष्ट (छोरा) को योगदान हुँदैन ? ४० वर्ष उमेर पुगेको पढेलेखेका शिक्षित युवालाई बाबुसँग मात्रै जोडेर हुन्छ ? यो फैलाइएको गलत भ्रममात्रै हो । बरु यो मान्छे ठीक छ कि छैन भन्नेर परीक्षण गर्ने अधिकार ललितपुरका मतदातामा हुन्छ । तर, जनताले विश्वास गरिसकेपछि संसद्मा जानु उसको हक रहन्छ ।
पार्टीको नीति छ कि समानुपातिकमा पुग्ने बराबरको भोट जुन जिल्लाले ल्याउँछ । त्यो जिल्लाको मान्छे समानुपातिकमा पर्छ । बरु म आफैं नालायक भन्छु, म हारें । जिन्दगीमा निकै कम हारेको मान्छे हुँ । ललितपुरमा राजनीति गरेको ४० वर्ष भयो र पनि म हारें तर पार्टीको नीति हारेन । अहिले पार्टीले नीतिको रक्षा गर्न सकेन ।

 

पदमा गएपछि मनपरी भयो, कार्यकर्ताको दुःख सुखको वास्ता गरिएन । त्यसैले त बाध्य भएर बाहिर बोल्नुपर्ने अवस्था आयो । ६ महिनासम्मको निरन्तर मतभिन्नताको परिणाम हो यो ।

Keshar Bahadur Bista (6)
राष्ट्रवादी पार्टीबीच संयुक्त राष्ट्रवादी शक्ति बनाउनेगरी छलफल चलिरहेको बेला तपाईंको पार्टीमा विवाद देखिनु अलि रहस्यमय भयो नि ?
एकथरी (कमल थापा) अध्यक्ष म नै हुने भए एकीकरण हुन्छ भन्ने भए । मचाहिँ निर्वाचन लडेर जितेर खाऊ भन्ने पक्षमा भएँ । मैले त्यसो भन्नु एकीकरणको विरोध गरेको हो र ? दुनियाँमा सबैले सबैलाई मान्दैनन् पनि । लोकेन्द्रबहादुर चन्द भूतपूर्व प्रधानमन्त्री हुनुहुन्छ । पशुपतिशमशेर राणा पनि हुुनुहुन्छ । जवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, डा. प्रकाशचन्द्र लोहनी हुनुहुन्छ । यतिधेरै व्यक्तित्व भएको पार्टीमा नेतृत्वको कुनै अभाव हुँदैन । त्यति ठूला व्यक्तित्वहरूले एउटा फुच्चेलाई बिहान बेलुका नमस्ते गर्ने ? त्यसैले औषधि नै प्रतिस्पर्धा हो । प्रतिस्पर्धाबाट जसले सक्छ उसैले चलाउने हो ।
बहुमतले अस्वीकृत गरिसकेको हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा उठाउनुको औचित्य छैन भन्ने धेरै छन् । यस्तो औचित्यहीन मुद्दालाई तपाईंंहरूचाहिँ किन बोक्नुहुन्छ ?
भन्नेहरूले भनिरहन्छन् । आधुनिक प्रजातान्त्रिक परिपाटीमा भिन्नमत राख्न पाइन्छ । कतिले राजा चाहिन्छ भन्लान् । कतिले चाहिँदैन । कतिले धर्म चाहिन्छ भन्लान् कतिले चाहिँदैन पनि भन्लान् तर निर्णायक त जनता हो नि । जनतामा जानुपर्यो । जनमतसंग्रह गर्नुपर्यो । जनतालाई यो अधिकार त दिनुपर्यो नि । हामीले भनेको यति हो । हामी जबरजस्ती गर्दैनौं । मन नपर्नेले अस्वीकार गर्न सक्छन् । राजाले पुनःस्थापित गरिदिएको संसद्मा आधारातमा यो चाहिन्छ र यो चाहिन्न भनेर सुरु भएको मतभिन्नता आजसम्म कायम छ ।

जनता भनेको आवधिक छ । हिजो माओवादी एक नम्बरको पार्टी थियो, आज तेस्रोमा छ । भोलि कति हुन्छ उही जानोस् । दुई सिट भएको भारतीय जनता पार्टी उता राज्य गरिरहेछ अहिले । राप्रपा नेपालकै सवालमा पनि हिजो चार सिट भएको पार्टी अहिले २५ भएका छौं । अर्कोपटक बढ्न या मासिनै पो पनि सक्छौं कि ! त्यो त आवधिक निर्वाचनमा हुने कुरा हो । कुनै पनि कुरा अपरिवर्तनीय छैन । संविधान नै पनि दुईतिहाइ बहुमतले परिवर्तन गर्न सकिन्छ । जनताले गर्ने निर्णय समयको मागसँगै बदलिइरहन्छ । भोलि फेरि दुईतिहाइ मतको बलमा अहिलेको व्यवस्था नै नबदलिएला भन्न सकिन्न । जनताले मागेर चाहे हुन्छ ।
अलि स्पष्ट जवाफ दिनुहोस् न, यो देशमा राजसंस्था फेरि फर्कन्छ भन्ने लाग्छ तपाईंंलाई ?
त्यो नलागेको भए त म यति लामो कुरै गर्दिनथें नि । किन नलाग्ने ? नलाग्न पर्ने कारण के छ ? विश्वका कैयौं देशले फ्याँकिएको राजा फर्काएका छन् । हेर्नुहोस् अबको ५० वर्षमा यो देशले पूर्वराष्ट्रपतिहरूलाई थेग्न र पाल्न पनि सक्दैन । दल कुन बेला बिक्छ भन्ने ठेगान नहुने देशमा, नेताले कुन बेला गद्दारी गर्छ भन्ने देशमा, उनीहरूले देश नै नबेच्ला भन्न सकिन्न । तर, राजाले भने देश कहिल्यै पनि बेच्दैन किनभने देश नरहे राजा नै रहँदैन । अहिले कुन पार्टीको यस्तो नेता छ, जो उभिँदा सबै जातजाति, भाषाभाषीले मानोस् । त्यही भएर सबैले मान्ने एउटा संस्था होस् भन्ने मेरो मान्यता हो । कुनै एउटा राजालाई मन नपराउने हुन सक्छ । तर, जब देशलाई संकट परेको बेला राजा जहिले संकटमोचकका रूपमा उभिएको हुन्छ । राजालाई दुःख पर्दा देशलाई दुःख परेको इतिहास छ । त्यही भएर दुई लफंगा हाहु गर्दैमा राजसंस्था नआउने वा दुई चाकडीबाजले आउँछ–आउँछ भन्दैमा आउने भन्ने पनि हुँदैन । यो जनता, राष्ट्र र धर्म संस्कृतिको विषय हो । यहाँ आफूविपरीत बोल्नेबित्तिकै काटुँला, मारुँलाजस्तो गर्छन् अनि कहाँबाट बोल्छन्, जनता ? एकथरीले बन्दुकै बोकेर चुनाव लड्दा के गति भयो भन्ने हामीले देखेकै हौं ।

Keshar Bahadur Bista (5)
राजसंस्थाको विषयमा यति अडिग भएर बस्नुभएको छ । यस विषयमा पूर्वराजासँग पनि छलफल हुन्छ होला नि होइन ?
(हाँस्दै) मैले पूर्वराजासँग संगत गरेर यसो भनेको होइन । यो संस्था रहेन भने देश बिग्रिन्छ भन्नेमात्र मेरो भनाइ हो ।

भनेपछि भेटघाट नै हुन्न ?

होइन, किन नहुनु । म त मन्त्री भएर उहाँसँग काम गरेको मान्छे । बेलाबेला छलफल हुनु स्वाभाविकै हो । तर, उहाँले भनेको हुनाले वा उहाँलाई चिनेको हुनाले यस्तो अडान लिएको होइन । यो संस्थाको देशलाई आवश्यकता छ, पात्र जो पनि हुन सक्छ ।

अहिले हामी निरपेक्ष भएका छौं भन्छौं तर कहिले अनुमान गर्नुभएको छ, अधिकांश हिन्दु भएको र हिन्दु परम्परा मान्ने देशमा क्रिस्टियन राष्ट्रपति भयो भने के होला ? रीतिरिवाज, परम्परा, जात्रा आदिलाई उसले कसरी धान्ला ? यति कुरा पनि किन ख्याल नगरेको ? विश्वमा अहिले ७० भन्दा बढी क्रिस्टियन देश छन्, जहाँका राष्ट्रपति वा राजा क्रिस्टियन धर्मबाहिरको हुन पाउँदैन । उनीहरू बाइबल छोएर शपथ खान्छन् । त्यस्तै प्रावधान ४२ मुस्लिम राष्ट्रमा पनि त्यस्तै प्रावधान छ, जहाँ कुरान छोएर शपथ ख्वाइन्छ । हाम्रो देशमा मात्र स्वतन्त्रताको नाममा ८१ प्रतिशत हिन्दु, ओमकार परिवार जोड्यो भने ९४ प्रतिशत, भएको देशमा यस्तो लथालिंग र मनपरी छ । संसारभरि बुद्ध धर्मावलम्बी, मुस्लिम र क्रिस्टियनको पहिचान हुन पाउने तर विश्वको हिन्दुको प्रतिनिधित्व गर्ने यो मुलुकको पहिचान मास्ने ? यसले तपाईंं हामी होइन, अरू कसैलाई फाइदा पुग्दै छ । त्यही भएर मैले अवाज उठाएको हुँ । यो सिद्धान्त र एजेन्डा बोकेको हुनाले म यस पार्टीमा लागेको हुँ ।

म कुनै व्यक्तिगत लाभका लागि पार्टीमा आएको होइन । त्यसो भएको भए, म अस्ति कमल थापासँग कुनै पदका लागि प्रतिस्पर्धा गर्थें होला । मलाई अहिले निकै दुःख लागिरहेको छ । अहिले देशलाई राजनेता आवश्यकता हुँदा कोही व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेको छैन । साँचिक्कै भन्दा म राप्रपा नेपालको मान्छे भएर पनि बीपी कोइरालाको भक्त हुँ । राजाले उनलाई ११ वर्ष जेल हाले, झन्डै झुन्ड्याए तर उनले मेरो गर्धन तल, राजको गर्धन माथि, राजा नरहे देश रहन्न भनेर वक्तव्य दिनुपछाडिको रहस्य के होला ? राजनेता भनेको त्यस्तो हुनुपर्छ । त्यही भएर कुनै व्यक्तिसँगको सम्बन्धभन्दा पनि देशका लागि राजसंस्थाको आवश्यकता रहेको विषयमा मैले वकालत गरेको हुँ । राजा आउलान्, जालान्, कुनै व्यक्ति ठूलो विषय होइन ।

 

लोकेन्द्रबहादुर चन्द भूतपूर्व प्रधानमन्त्री हुनुहुन्छ । पशुपतिशमशेर राणा पनि हुुनुहुन्छ । जवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्तीमगर, डा. प्रकाशचन्द्र लोहनी हुनुहुन्छ । यतिधेरै व्यक्तित्व भएको पार्टीमा नेतृत्वको कुनै अभाव हुँदैन । त्यति ठूला व्यक्तित्वहरूले एउटा फुच्चेलाई बिहान बेलुका नमस्ते गर्ने ?

Keshar Bahadur Bista (2)

तपाईंंले भनेजस्तै राजसंस्थाको पुनःस्थापनाका लागि राष्ट्रवादी शक्तिबीच एकताको सम्भावना कति छ ?

मेरो पनि त्यही हैरानी छ । यस विषयमा मानिसलाई जति चाँडो बुझाउन सके, तपाईंं हाम्रो भविष्य उति चाँडो सुदृढ हुने हो । यो अहिलको स्वप्न दुनियाँ या फेन्टासीबाट देशलाई जोगाउन पाए हुन्थ्यो भन्ने हो ।
आफूलाई राष्ट्रवादी भन्न रुचाउने पार्टीमा रहेका पूर्वपञ्चको जुँगाको लडाइँका कारण एकता जटिल भएको भन्छन् नि ।

यो सही हो । पार्टी फुटाउनमा पूर्वपञ्चहरूजत्तिको च्याम्पियन कोही पनि छैनन् । जसरी कम्युनिस्टको दर्जनौं पार्टी छ, राप्रपा भन्ने पार्टीमात्र पनि चारवटा छ । लोग्नेस्वास्नीको मात्र पार्टी भए पनि त्यसलाई राप्रपा नाम दिने परिपाटी छ । त्यसो हुनु भएन भन्ने मेरो धारणा हो । देशमा तीनदेखि चारवटा पार्टीमात्र भए राम्रो हुन्छ भन्ने मलाई लाग्छ । उदाहरणका लागि कांग्रेस सेन्ट्रिस्ट पार्टी भयो भने उता लेफ्टमा एमाले र फार लेफ्टमा माओवादी, यता वैकल्पिक प्रजातान्त्रिक पार्टी राप्रपा हुन सके बल्ल देशमा एकप्रकारको स्थिरता हुन्छ । नेतृत्वको भनेको समयको कुरा हो । समयले आजको आवश्यकताअनुसारको नेता ल्याउला भन्ने आशा गरौं ।

राजालाई दुःख पर्दा देशलाई दुःख परेको इतिहास छ । त्यही भएर दुई लफंगा हाहु गर्दैमा राजसंस्था नआउने वा दुई चाकडीबाजले आउँछ–आउँछ भन्दैमा आउने भन्ने पनि हुँदैन । यो जनता, राष्ट्र र धर्म संस्कृतिको विषय हो । यहाँ आफूविपरीत बोल्नेबित्तिकै काटुँला, मारुँलाजस्तो गर्छन् अनि कहाँबाट बोल्छन्, जनता ?

 

राप्रपाबीच एकता हुनुपर्छ भन्ने आसयको वक्तव्य निकाल्दा पार्टीले कारबाही गरेको अवस्था छ । अहिले तपाईंं एउटा समूह लिएर राप्रपा एकताका लागि लाग्नुहुन्छ भन्ने चर्चा छ नि ।

यो बिल्कुलै गलत हो । म कुनै एक्लो पार्टीमा लाग्दिनँ । मैले यो कुनै पार्टी खोल्नका लागि गरेको पनि होइन । म केचाहिँ गर्न सक्छु भने एकीकृत राप्रपा बनाउनेक्रममा कोही एउटा मान्छे या सानो समूहचाहिँ छुट्टिन सक्छ । बन्ने एकीकृत राप्रपा नै हो । एउटा राप्रपाको अंगसँग अर्को राप्रपाको अंग मिल्न गएर के नै हुन्छ र ? त्यो मैले गर्न खोजेको होइन । पार्टीलाई टुटफुटभन्दा पनि एकीकृत गराउन खोजेको हुँ । यो देशमा मै हाकिम नभए हुँदैन भन्छ, मै अध्यक्ष नभई हुँदैन भन्छ भने तपाईंं एक्लै भइराख्नुहोस् भन्छु । तपाईंंलाई सबैले मान्नुपर्छ भन्ने छैन । सबै मिलेर बस्नुपर्ने ठाउँमा म नभई हुँदैन भन्छ र आफ्नो वरिपरिका छुल्यामुलालाई मात्र लिएर हिँड्छु, चाकडीबाजको मात्र समाज बनाउन खोज्छ भन्छ भने त्यसको कुनै ओखति छैन । तैपनि कुनै एक्लो पार्टीमा चाहिँ म मिसिन जान्न ।

पार्टी फुटाउनमा पूर्वपञ्चहरूजत्तिको च्याम्पियन कोही पनि छैनन् । जसरी कम्युनिस्टको दर्जनौं पार्टी छ, राप्रपा भन्ने पार्टीमात्र पनि चारवटा छ । लोग्नेस्वास्नीको मात्र पार्टी भए पनि त्यसलाई राप्रपा नाम दिने परिपाटी छ । त्यसो हुनु भएन भन्ने मेरो धारणा हो ।

 

तपाईंंको योजना के त ?

देशभरबाट फरक मत राखेकै आधारमा गरिएको कारबाहीको तीब्र आलोचना भएको छ । अहिले तीस ओटा जिल्ला र नगरसमितिले कारबाहीको विरोध गरिसकेको खबर छ। ४० अ‍ोटा पुगेपछि मलाई होइन, म चाहिँ उसलाई कारबाही गर्छु । बहुमतले विरोध गर्छन् भने त्यस्तो पनि कारबाही हुन्छ ? अब पार्टीको ७५ जिल्लाको ५० प्रतिशत भन्दा बढीले यो गलत निर्णय हो फिर्ता लेउ भन्दा मानिएन भने के हुन्छ ? त्यो त लुटाहा, हुल्याहा गुण्डा कुरा भयो । गलत निर्णय त फिर्ता गर्नुको विकल्पै रहँदैन । फिर्ता नलिने हो भने कारबाही उसैले भोग्नुपर्छ । कुरा क्लियर छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल