वैद्यलाई युवा नेता रामदीप आर्चायको प्रश्न– अध्यक्ष कमरेड केन्द्रीय समितिमा कसरी यान्त्रिक मान्छे आए ?

वैद्यलाई युवा नेता रामदीप आर्चायको प्रश्न– अध्यक्ष कमरेड केन्द्रीय समितिमा कसरी यान्त्रिक मान्छे आए ?

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र एकीकृत माओवादीलगायतका माओवादीधाराबीचको एकताको विषयमा तीव्र अन्तरविरोध देखापरेको छ । जारी केन्द्रीय समिति एक महिनाका लागि स्थगित भएको छ । तर, आ–आफ्ना गुटका बैठक भने नेताहरूले बसालिरहेका छन् । वैद्य माओवादीका केन्द्रीय सदस्य तथा युवा नेता रामदीप आर्चाय सुरुदेखि नै एकताको पक्षमा उभिएका छन् । उनी बादलले तयार पारेको १४ बुँदेसँग सहमत छन् । वैद्य माओवादीभित्रको अन्तरविरोध र आगामी दिनमा १४ बुँदेमार्फत अगाडि बढ्न सकिने कदमबारे रातोपाटीले आर्चायसँग कुराकानी गरेको छ ।

ram deep acharya (4)
पार्टी एकताजस्तो महत्वपूर्ण एजेन्डासहित सुरु भएको बैठक अचानक एक महिनाका लागि स्थगित भयो । के चमत्कार हो यो ?
समस्या समाधान गर्न यो एउटा विधि हो । समय लिएर छलफल गरौँ र आन्तरिक पार्टी एकतालाई पनि सुदृढ गरौँ, माओवादीबीचको एकता र ध्रुवीकरण प्रक्रियालाई पनि अगाडि बढाऔँ । दुईटै उद्देश्यलाई सँगसँगै पूर्ति गर्नका निम्ति एक महिनालाई सारिएको हो । यसलाई यसैका रूपमा बुझ्नुपर्छ ।
केन्द्रीय समिति बैठकमा पेस भएका फरकमतलाई समेत समेटेर महासचिव रामबहादुर थापा ‘बादल’ले १४ बुँदे नयाँ प्रस्ताव तयार पारे । यो अध्यक्ष मोहन वैद्यलाई घेराबन्दीका रूपमा आयो । यस्तो अवस्थामा अध्यक्षले आफ्नो राजनीतिक सुरक्षाका लागि बैठक स्थगित गरेको हो भनेर बुझ्दा के हुन्छ ?
पहिलो कुरा बादलजीले तयार गर्नुभएको प्रस्ताव तीन प्रस्तावको मात्रै समायोजन होइन । माओवादी धाराहरू जो विभाजित, विघटित र कमजोर भइरहेका छन्, त्यसलाई एकीकरण गर्न के हुन्छ भन्नेबारेको बुँदा हो त्यो । धेरै परामर्श र छलफलपछि बुदाँहरू तयार गरिएको हो । दोस्रो कुरा, समस्यासँग जुध्ने र समस्यालाई टार्ने दुई विधि हुन्छन् । अहिले हामीले तयार गरेको, अंगीकार गरेको विधिलाई अर्को भाषामा भागेको समस्याबाट नजुधेको टारेको भन्ने अर्थ पनि लाग्छ । तर, समस्या टारेको होइन । एक महिना त आइहाल्छ । एक महिनापछि त त्यो स्थगित गरेको समस्यासँग जुध्नैपर्छ । त्यसकारणले मलाई लाग्छ– एक महिना सार्नु भनेको समस्या समाधान होइन । हामी त जुध्नैपर्छ । महान् बहस भनेर हामीले भन्यौँ । त्यो बहसबाट निष्कर्ष निकाल्नुपथ्र्यो । तर, बहसबाट निष्कर्ष निकाल्न सकेनौँ भनेपछि समय लिएर गरौँ र एउटा साझा निष्कर्षमा पुगौँ भन्ने दोस्रो प्राथमिकताको विषय हो । आजको सापेक्षतामा ठिकै छ ।
तपाईंंको पार्टीको अध्यक्षले त बैठक एक महिना सारेर ठीक गरियो भन्ने अन्तर्वार्ता दिनुभएको छ ।
कुनै पनि घटना र विषय कत्तिको सही भन्ने कुरा व्यवहारद्वारा पनि पुष्टि हुनुपर्छ । एक महिनापछि सिंगो माओवादी धारा एकीकृत भएर उठ्यो, हाम्रो पार्टी एकीकृत भयो र नयाँ उचाइमा पुग्यो भने यो बैठक सार्ने विषयलाई राम्रै लिनुपर्ला । एक महिनापछि त्यसले परिणाम राम्रो ल्याएन भने हामी पर्खनुपर्छ । त्यसकानिम्ति धेरै हतार गर्नुहुँदैन । ठूलो आपत्ति पनि छैन । एक महिना सर्दैमा बित्यासै पर्यो भन्ने पनि होइन तर समस्यालाई देशभरिका साथी जम्मा भइसकेपछि आजै समाधान गर्नुपथ्र्यो । कसरी समाधान गर्ने भन्ने विधिबाट भाग्नुपर्ने आवश्यकता पनि म देख्दिनँ । धेरै कुरा गर्नु पनि केही छैन ।

–एक महिना सार्नु भनेको समस्याको समाधान होइन
–एक्कासि पछि हटेजस्तो देखियो यो आकस्मिक हो
–बाह्य फ्याक्टरले केही न केही काम गरेको छ
–हस्ताक्षर संख्याको घमन्ड प्रदर्शन गर्न होइन
–बहुमतलाई यान्त्रिक भन्नु सही होइन
–बादलको नेतृत्वमा अलग्गै माओवादी आवश्यकता छैन

ram deep acharya (5)
केन्द्रीय समितिमा ८–१० दिन छलफल हुँदा एकताको पक्षमा धेरै मत देखियो । एउटा जनवादी केन्द्रीयताको विधिबाट एउटा प्रक्रियामार्फत टुंग्याउन सकिन्थ्यो । पार्टी अध्यक्षले जुन कदम चाल्नुभयो, त्योचाहिँ उहाँको व्यक्तिगत सोचले मात्रै काम गर्यो होला कि अरू कुनै फ्याक्टरले काम गर्यो होला । तपाईं आफैँ बैठकमा बस्नुभयो के देखिन्छ ?
जनवादी केन्द्रीयताका लागि यो प्रचलन छ कि बहुमतको निर्णय अल्पमतले मान्ने । अल्पमतको कुरालाई पनि बहुमतले सुन्ने । यो सामान्य विधि हो । बहुमत कसरी निर्धारण गर्ने भन्दा हात उठाउने, भोटिङ गर्ने, ध्वनिमत लिने, हस्ताक्षरको कुरा हुन्छ । सिंगै केन्द्रीय समिति र पछि हामीले गरेको हस्ताक्षरले पनि एउटै कुरा भनेको छ । कमरेड किरण पार्टीको अध्यक्ष हुनुहन्छ र उहाँकै नेतृत्वमा हाम्रो पार्टीलाई एकीकरण गर्ने र सिंगो माओवादी धारालाई एक गर्ने छलफल चलिरेहेको छ । यो नै सही कुरा भन्ने हामीलाई लागेको छ । तर यसमा सबैभन्दा ठूलो जवाफ त, अस्वाभाविक र आकस्मिक भएकाले बैठक स्थगित गर्यौँ भन्नुभयो उहाँले । अस्वाभाविक र आकस्मिक कुरा त यो हो कि एकता प्रक्रियाको बहस, छलफल सबै कुराको अगुवाइ उहाँले नै गर्नुभएको थियो । एक्कासि पछि हटेजस्तो देखियो यो आकस्मिक हो । यो उहाँले जवाफ दिनुपर्छ । उहाँ एकता प्रक्रियाबाट पछि हटेकोजस्तो देखियो । पूरै रूपमा उहाँले म एकताविरोधी भन्नुभएको त छैन । तर, हाम्रो पार्टीमा सानो मत यो पनि छ कि माओवादी धाराबीच एकीकरण गर्नुहुँदैन । झुन्ड–झुन्डभित्र खेलेर खानुपर्छ, आफ्नो पद सुरक्षित गर्नुपर्छ भन्ने एउटा धारा छ । त्यो धारावरिपरि हाम्रो पार्टी अध्यक्ष कसरी पर्न जानुभयो यो आश्चर्यजनक कुरा छ । अब बाह्य कुरा गर्दा कसैलाई आरोपित गर्नु राम्रो हुँदैन । तर, देखिएको कुरा साम्राज्यवादी शक्ति, प्रतिक्रियावादी शक्तिहरू माओवादीको एकता र विजयबाट आत्तिएका छन् । उनीहरू ज्ुनसुकै मूल्यमा पनि यसलाई विभाजित गर्न चाहन्छन् । त्यो कुरालाई प्रत्यक्ष त होइन तर परोक्ष ढंगबाट उहाँले सहयोग गरेकोजस्तो देखिन्छ ।
एकजना केन्द्रीय सदस्यले हाम्रो पार्टी अध्यक्षमाथि बाबुराम र विप्लवले खेले भन्ने कुरा गर्नुभएको छ । के त्यस्तो देखिन्छ ?
सबै माओवादी धारालाई केन्द्रीकरण गर्नुपर्छ भन्दा प्रचण्डदेखि विप्लवसम्म छलफल गर्ने बेग्लै कुरा भयो । तर, त्यो छलफल माओवादी धारालाई एकताबद्ध गर्न भएको थियो कि माओवादी धाराको एकतालाई रोक्नका लागि भएको थियो भन्ने कुरा हु्न्छ । छलफल हुने कुरा स्वाभाविक कुरा हो । बाबुरामजीले माक्र्सवाद छाडेर जानुभएको छ । माक्र्सवाद छाडेर जाने कुरालाई गल्ती महसुस गराएर माक्र्सवादभित्रैबाट निकास खोज्नका लागि उहाँलाई सहमत गराउन छलफल भएको हो या बाबुरामजीले प्रचण्डलाई असफल बनाउने कार्डका निम्ति मात्रै उहाँ प्रयोग हुनुभएको हो भन्ने कुरालाई हेर्नुपर्छ । मलाई लाग्छ– बाह्य फ्याक्टरले त्यसमा केही न केही काम गरेको छ । ram deep acharya (1)

बाबुराम र विप्लवसँग तपाईंको पार्टी अध्यक्षले भेट्नुभयो । उहाँले के भनेर किरणलाई सुझाव दिएको तपाईंहरूलाई सूचना छ ?
बाबुरामजी र विप्लवजीले के भन्नुभयो त्यसको जानकारी मलाई छैन । तर, एउटा सत्य कुरा के छ भने अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको माओवादीलाई कमजोर बनाउने तीन/चार रणनीति देखिन्छन् । त्यसमध्ये एउटा लिडरको टिमलाई विभाजित गराउने, दोस्रो लिडर र क्याडरलाई अलग–अलग गराउने तथा उनीहरूको शक्तिलाई क्षीण गराउने हो । तेस्रो भनेको ती सबै लिडरमध्येको लिडर भनेको प्रचण्ड नै हुन्, हिजो जनयुद्धको नेतृत्व त प्रचण्डले गरेका थिए । जुन दिनसम्म प्रचण्डलाई पूर्ण रूपमा धराशयी बनाउन सकिँदैन त्यो दिनसम्म माओवादीलाई कमजोर बनाउन सकिँदैन भन्ने उनीहरूको बुझाइ छ । त्यसकारण माओवादी आन्दोलनलाई धराशयी गर्ने भनेको प्रचण्डलाई धराशयी गर्ने सुरुवाती चरण भन्ने उनीहरूलाई लागेको छ । त्यसमा प्रचण्ड कमरेड कत्तिको सचेत हुनुभयो र अरू कमरेडहरू कत्तिको सचेत हुनुभयो त्यसमा भर पर्छ । मलाई लाग्छ– प्रचण्डमा केन्द्रीकरण हुनुहुँदैन । प्रचण्डसहितको टिमसँग एकता हुनुहुँदैन भन्ने मन्त्रले कतैबाट काम गर्यो कि । व्यवहारले गम्भीर शंका पैदा गरेको छ ।
भारत र इयुले पनि माओवादी एकता रोक्न पहल गरेको छ भने प्रचण्डले आन्तरिक ब्रिफिङ गरेको भन्ने सुनियो । तपाईंको पार्टीसम्म आउँदा त्यो हावा हल्ला वा हस्तक्षेप देखिने तहमा महसुस भयो वा भएन ?
अहिले सबै तह मूलतः राजनीतिक पार्टी, कर्मचारी तन्त्र र अन्य निकायमा पनि वैदेशिक हस्तक्षेप तीव्र छ भन्ने कुरा हाम्रो पार्टीले स्वीकारेको छ । जनवादी क्रान्तिका दुई अभिभारा एक जनतन्त्रको मुद्दा हल गर्नु र अर्को राष्ट्रिय स्वाधीनताको मुद्दालाई हल गर्नु भनेर हामीले उठाएका छाँै । सिद्धान्ततः हामीले यो कुरा स्वीकारेका छौँ कि नेपालको नशा–नशामा हस्तक्षेप छ । तर, प्रत्यक्ष रूपमा हाम्रो पार्टीभित्र हस्तक्षेप छ जस्तो मलाई लाग्दैन । हाम्रो पार्टीभित्र कुनै शक्तिकेन्द्रका एजेन्ट छन् र उनीहरूबाट कुनै पनि नेता या कार्यकर्ता परिचालित हुन्छ जस्तो मलाई लाग्दैन । हामी आजसम्म स्वतन्त्र ढंगले नै निर्णय गर्दै आइरहेका छौँ । तर, अन्यत्र चल्ने बहस हाम्रोसम्म आइपुग्छ भन्ने हामीले स्वीकारेका छौँ । समाजमा चल्ने वर्गसंघर्ष पार्टीभित्र अन्तरसंघर्षका रूपमा अभिव्यक्त हुन्छ भन्ने हो भने समस्या त वैदेशिक हस्तक्षेपका रूपमा पनि छ । त्यसकारण त्यसको प्रभाव हाम्रो आउँदैन भन्ने मलाई लाग्दैन ।
तपाईंंको पार्टीभित्र हस्ताक्षर अभियान चल्यो । बादलले नेतत्व गर्नुभयो । यस्तो बेला बैठक स्थगित भयो । अब हस्ताक्षर गर्ने समूहसँग रहेका विकल्प के–के हुन् ?
आजका माओवादी धाराबीचमा एकता र रूपान्तरणका निम्ति हस्ताक्षर अभियान चलाएका हौँ । त्यसमा हामी जनमत तयार गर्ने, पार्टीभित्र र बाहिर पनि जनमत तयार गर्ने उद्देश्यले हामीले यो अभियान चलाएका हाँै । यसको उद्देश्य हाम्रो पार्टीको कुनै अमूक नेता वा कार्यकर्तालाई कारबाही गर्न, तर्साउन अथवा हाम्रो संख्या धेरै छ भने घमन्ड प्रदर्शन गर्न होइन । हाम्रो पार्टीभित्र जनमत तयार गर्न हामीले यो काम गरेका छाँै र जहाँसम्म लाग्छ– हामी सफल भएका छौँ । केन्द्रीय समितिका बहुमत साथीले हस्ताक्षर गरेका छौँ र केही साथीले प्राविधिक कारणले उपत्यकाबाहिर भएकाले हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर पूरा भएपछि हामी त्यसलाई हेडक्वार्टरमा बुझाउँछौँ । हाम्रो पहिलो र सर्वोत्तम विकल्प भनेको हाम्रो सिंगो माओवादी पार्टीलाई एक गर्ने । किरणकै नेतृत्वमा यसलाई एकताबद्ध गर्ने हाम्रो मूल उद्देश्य छ ।
तपाईंहरूले बहुमतले हस्ताक्षर गरेको हल्ला गर्दैगर्दा पार्टी अध्यक्षले के भन्नुभएको छ भने पार्टी विचार हो, यसमा यान्त्रिक अल्पमत र बहुमतको कुनै अर्थ रहँदैन भनेर एकखालको संकेत गरिसक्नुभयो ?
यो कुरा मलाई लाग्छ उहाँले आफँैले भन्नुभएको जस्ताको जस्तै सार्वजनिक भयो या भएन मलाई थाहा छैन । तर, अहिलेसम्म जनवादी केन्द्रीयतामा यान्त्रिक बहुमतलाई मानिने छैन र वैचारिक मतलाई मात्रै मानिनेछ भने उल्लेख छैन । मान्छेलाई कुनचाहिँ मान्छे वैचारिक बहुमतको र कुन यान्त्रिक बहुमतको भनेर छुट्याउने भनेर जनवादी केन्द्रीयताको विधि पनि विकास भएकोजस्तो मलाई लाग्दैन । बहुमत भनेको मान्छेको संख्या हो । कम्युनिस्ट पार्टीमा सदस्य हुन्छन् र त्यही सदस्यले अभिव्यक्त गर्ने मत हो । कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा भएको मान्छे विचारसहितकै हुन्छ भन्ने हो । त्यो त उहाँहरूले नै ल्याउनुभएको हो । नियुक्त गर्ने हाम्रो प्रक्रिया समितिमा भएको मान्छे विचारसहितकै हुन्छ भन्ने हो । त्यो त उहाँहरूले नै ल्याउनुभएको हो । नियुक्त गर्ने हाम्रो प्रक्रिया छ । माथिल्लो कमिटीले कार्यालयले नेताहरूले नियुक्त गरेर ल्याएको हो । विचारविहीन मान्छे केन्द्रीय समितिमा आएजस्तो मलाई लाग्दैन । ती सबै विचारसहितका मान्छे हुन् । एकताको पक्षमा कुरा गरे पनि एकताको विपक्षमा कुरा गर्ने पनि विचार हो नि सही या गलत भन्ने पो हो । त्यसकारण बहुमतलाई यान्त्रिक भन्नु सही होइन ।
बादलको १४ बुँदे प्रस्तावमा एकताको कुरा गर्नुभएको छ । एमाओवादीसँग गएर जोडिने कुरा छ । आजको दिनमा एकता हुने आधार यो–यो हुन् भन्ने के हुन् ?
हामीले राजनीतिक कोणबाट, सांगठनिक कोणबाट, वैचारिक कोणबाट एकताका आधार के–के हुन सक्छन् भनेर प्रस्ट ढंगले हिजैदेखि ६ बुँदे आधार प्रस्तुत गरेका थियौँ । त्यसलाई व्याख्या गर्ने र नयाँ समझदारीमा जान सकिन्छ । त्यो छलफल सकारात्मक रूपमै अघि बढिरहेको थियो र आज पनि छ, त्यो एउटा आधार हो । दोस्रो आधार भनेको हरेक क्रान्तिको केन्द्रीय प्रश्न भनेको सत्ताको प्रश्न हो । त्यो सत्ता जनताको स्वामित्व र अधिकारसँग सम्बन्धित प्रश्न भएकाले अहिले हामीले अरू धेरै कुरालाई अप्ठ्यारो गरी भन्नु भन्दा सरल ढंगले भन्नुपर्दा नेपाली जनता र नेपाल राष्ट्रलाई केन्द्रमा राखेर कुरा गर्नुपर्छ । माओवादी आन्दोलन कमजोर हुँदा जनता कमजोर भए । जनता कमजोर हुँदा जनताको अधिकार कमजोर भयो । जनविरोधी, राष्ट्रविरोधी शक्ति शक्तिशाली हुने भयो । यो कुरा नै आज हाम्रो एकताको मूल आधार हो । यो नै छलफलको मूल आधार हो । होइन, हामी पुस्तकालयदेखि पुस्तकालयसम्म पुग्ने हो भने त्यो कहिल्यै एकताको आधार हुन सक्दैन । सही निष्कर्षमा पुगिँदैन । पहिला थियो, माक्र्सवादलाई पुस्तकालयमा कैद गर्ने र बौद्धिक विलासितामा पुर्याउने कुरा थियो । तर, नेपालको जनयुद्धले माक्र्सवादलाई जनतासँग जोडेको छ ।
फेरि व्यवहारमा हामी भुत्ते हुँदाखेरी कहीँ न कहीँ हामीले कमजोरी देखाउँदखेरी अहिले माक्र्सवादलाई पुस्तकालयदेखि पुस्तकालयसम्मको विषय बनाउँदै छौँ । यसलाई जनतासँग जोड्नुपर्छ । त्यसपछि यो गतिशील र जीवन्त हुन्छ । धर्मशास्त्रका रूपमा माक्र्सवादलाई परिवर्तन गर्नुहुँदैन । आजका प्रश्नको समाधान हिजोको उत्तरबाट खोज्नुहुँदैन । त्यो जडसूत्रवाद हुन्छ । आजका प्रश्नको जवाफ हामीले आजै दिनुपर्छ । त्यहाँभित्र हामीले माक्र्सवाद खोज्नुपर्छ ।

कमरेड किरणको मूल्यांकन गर्दा पनि उहाँको राम्रो पक्षलाई पनि मूल्यांकन गर्नुपर्छ । उहाँ नेपाली कम्युनिस्ट क्रान्तिको एक हस्ती हो । निष्ठा र सादगीको जिन्दगीको हिसाबले महत्वपूर्ण योगदान दिनुभएको छ । व्यक्तिको अर्को पाटोबाट उहाँमा केही अन्तरमुखी स्वभाव, समाजलाई चलाउन सक्ने, कहिले लचक त कहिले कठोर हुने सवालमा उहाँका केही कमजोरी रहेछन् भन्ने कुरा हामी संगत गर्दै आउँदा धेरै कुरा थाहा भयो ।

ram deep acharya (3)
सेक्टर काण्डपछि वैद्यले पार्टी नेतृत्व प्रचण्डलाई बुझाउनुभयो । लामो समपछि आफ्नै नेतृत्वमा पार्टी पनि बनाउनुभयो । फेरि आफैँसँग सहकार्य गर्ने विप्लव छाडेर हिँडे । फेरि अर्को जुझारु व्यक्तिले छाडेर हिँड्ने संकेत गर्दै छन् । कहिलेकाहीँ लाग्दैन यी बूढाहरूमा नेतृत्व गर्ने तौरतरिका मिलेन ?
पछिल्लोपटक हाम्रो पार्टी विभाजन भएपछि नेतृत्व हस्तान्तरण गर्नु गल्ती थियो भनेर उहाँले भन्नुभयो । कमरेड किरणका पनि यस काण्डका सम्बन्धमा दुई धारणा छन् । नेपाली जनयुद्धको नेतृत्व प्रचण्डले गरेको हामीले सगर्व स्वीकार्ने हो भने यस काण्डले नेतृत्व हस्तान्तरण गरेको विषय राजनीतिक थियो र त्यो सही थियो भन्ने हामीले बुझ्नुपर्छ । अब नेतृत्वबारे मूल्यांकन गर्दाखेरी पनि समय परिस्थितिअनुसार गर्नुपर्छ । कुनै कालखण्डमा महान् क्रान्तिकारी नेतृत्व र अर्को कालखण्डमा पिछडिएको नेतृत्व पनि हुन सक्छ । त्यसैकारण व्यक्तिको मूल्यांकन गर्दा समाजको गतिसँगै व्यक्तिको रूपान्तरण भयो कि भएन भनेर गर्नुपर्छ । मलाई लाग्छ– कमरेड किरणको मूल्यांकन गर्दा पनि उहाँको राम्रो पक्षलाई पनि मूल्यांकन गर्नुपर्छ । उहाँ नेपाली कम्युनिस्ट क्रान्तिको एक हस्ती हो । उहाँले ठूलो योगदान गर्नुभएको छ । विचार, सिद्धान्त, संगठन वा विम्बको हिसाबले उहाँले ठूलो योगदान गर्नुभएको छ । निष्ठा र सादगीको जिन्दगीको हिसाबले महत्वपूर्ण योगदान दिनुभएको छ । सर्वहारा जिन्दगी बाँच्ने हिसाबले उहाँलाई राम्रो रूपले मूल्यांकन गर्नुपर्छ । व्यक्तिको अर्को पाटोबाट उहाँमा केही अन्तरमुखी स्वभाव, समाजलाई चलाउन सक्ने, कहिले लचक त कहिले कठोर हुने सवालमा उहाँका केही कमजोरी रहेछन् भन्ने कुरा हामी संगत गर्दै आउँदा धेरै कुरा थाहा भयो । हामी पछिल्लो पुस्ता हो । प्रत्यक्ष रूपमा उहाँसँगै रहँदा हामीलाई त्यस्तो अनुभूति हुन्छ ।
माओवादी आन्दोलन जुन रूपमा प्रदूषित भएको छ, यसलाई शुद्धीकरण गर्ने विषय अहिले बहस बन्न थालेको छ । तपाईंलाई के लाग्छ, तपाईंहरू एकतामा गएपछि यो हल हुन सम्भव छ ?
ध्रुवीकरण भनेको सुरुवात हो । अन्त्य होइन । आज कार्यकर्ता निराश भए र जनता निराश भए । उनीहरूमाथि चौतर्फी आक्रमण भएपछि हामी एकताबद्ध हुनुपर्ने भयो । यो भावनात्मक कुरा होइन । राजनीतिक र वैचारिक कुरा हो । यो आजको पहिलो आवश्यकता हो । यसै चरणबाट सम्पूर्ण कुरा समाधान हुँदैनन् । त्यसपछि हामी दोस्रो चरणमा जानुपर्छ । दोस्रो अवस्थामा जाने भनेको माओवादीमात्रै होइन, सम्पूर्ण कम्युनिस्ट आन्दोलनको उठान र पतनका विषयमा सम्पूर्ण आयाम खोजी गर्नुपर्छ । विश्वको तीन खण्ड भू–भागको एक खण्ड भू–भागमा कम्युनिस्टको शासन थियो । ध्रुवको हिसाबले हेर्दाखेरी एकातिर पुँजीवादी र अर्कोतिर साम्यवादी ध्रुव थियो । आशावादीताको हिसाबले हेर्दा एकातिर जनवादी आन्दोलनका लहर चलेका थिए । लाखौँ लाख मान्छे कम्युनिस्ट विचार र सिद्धान्तका लागि बलिदान दिन तयार हुन्थे । त्यो आन्दोलन किन रहेन । यसको दुई कारण खोज्नुपर्यो । एउटा कम्युनिस्ट आफैँले गरेको गल्तीका कारण, अर्को बाह्य हमलाले थेग्न नसकेका कारण । दुवै कारणको वस्तुनिष्ठताका हिसाबले समीक्षा गर्नुपर्छ । विनापूर्वाग्रह समीक्षा गर्नुपर्नेछ । आज हाम्रो आन्दोलनले पनि हामीलाई त्यही ठाउँमा ल्याएको छ । एउटा यो पक्ष हेर्नुपर्यो । दोस्रो पक्ष भनेको हाम्रो जीवन व्यवहार र आचरण, हामीले सम्बन्ध परिचालन गर्ने, जनतासँग गरेको व्यवहारको तरिका खोज्नुपर्छ । माओले सरल भाषामा यसलाई जनतासँगै रहने र जनताकै आदेशलाई शिरोपर गर्ने भनेका हुन्, जनताबाट लिने र जनतालाई नै दिने भनेका हुन् । कच्चा पदार्थ लिने र जनतालाई तयारीमा हालिदिने भनेका हुन् । सरल तरिका छ जनदिशालाई प्रयोग गर्ने । सरल भाषामा भन्नुपर्दा गाउँबाट संघर्ष गरेर जेलनेल भोगेर राजनीतिमा आउँछ, जनप्रतिनिधि भएर आउँछ । सिंहदरबार पसिसकेपछि गाउँलाई भुलिदिन्छ । गाउँका जनता जस्ताको त्यस्तै रहन्छन् । तर, यहाँ आएको मान्छे फेरिन्छ अनि जनताले चुनेको प्रतिनिधि र जनताबीचमा अन्तरविरोध पैदा हुन्छ । आफूले चुनेको प्रतिनिधिलाई जनताले आफ्नो ठान्दैन । जनता आफ्नै वर्गमा तलै छ र जनताको प्रतिनिधि उपल्लोवर्गमा पुगिसकेको छ । त्यो कुरा अन्य बुर्जुवा पार्टीसँगै कम्युनिस्ट पार्टीमा पनि देखापर्यो । कम्युनिस्ट पार्टीले यो कुरा हल गर्नुपर्छ । कसरी हामी जनतासँगै रहन्छौँ त ? कम्युनिस्ट पार्टीले भनेको त विशाल संख्याले अल्पमतमाथि शासन गर्ने हो । तर, हामीले अवलम्बन गरेको व्यवहारले त के भन्यो भन्दा मुठ्ठीभर मान्छेले बहुमतमाथि शासन गर्ने । यो त हामीले अंगीकार गरेको सिद्धान्तभन्दा विपरीत पद्धति भयो । यो कुरालाई सच्याउनुपर्छ । हाम्रो संगठन, हाम्रो विधि, हाम्रो नीति र जनतासँगको सम्बन्धमा बढाउनुपर्छ ।
पार्टीमा केन्द्रीय समिति बैठक एक महिनाका लागि स्थगित भयो । गुटका बैठक जारी छन् । यसको म्यासेज के हो ?
समस्या समाधानको एउटा तरिका हो । हामीले १० दिनसम्म पलेँटी कसेर बैठक बस्यौँ । तर, निष्कर्ष निकाल्न सकेनाँै । फेरि विचारहरूमा विभक्त भयाँै । विचार त मान्छेमै हुन्छ । ती गुटमा रूपान्तरिक भए अथवा समूह भए अथवा विचार मिल्ने साथी भए । उनीहरूबीचमा छलफल गरेपछि केही उपाय लगाउन सकिन्छ कि भनेर बैठक राखेको हो । यो सत्य कुरा हो ।
बादलको नेतृत्वमा भिन्नै माओवादी बन्ने सम्भावना कति हो ?
त्यो सम्भावना पनि छैन र आवश्यक पनि होइन । अलग्गै एउटा माओवादी घटकको स्थापना, परिचालन र कल्पना त्यो हाम्रो मुद्दा पनि होइन र आवश्यकता पनि होइन ।
बादलले जोखिम मोल्ने भनेको एकताको कोर्स अगाडि बढाउनका लागि नै हो त ?
हो, हामीले समग्र माओवादी धारालाई एकताबद्ध बनाउने भनेका छौँ र त्यसमध्येमा अहिलेको क्रान्तिकारी माओवादी पनि पर्छ । यो क्रान्तिकारी माओवादीको मामिलामात्रै होइन, समग्र माओवादी मामिलामा कुरा गरेको हुँदा एउटा अमूक नेताको नेतृत्वमा दल खोल्ने कुरा स्वाभाविक र आवश्यक दुवै छैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल