खुला मञ्चमा आमरण अनशन बसेका सागर खासमा के चाहन्छन् ?

-  |   चन्द्रबहादुर थापा ‘सागर’ संयोजक, रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान

खुला मञ्चमा आमरण अनशन बसेका सागर खासमा के चाहन्छन् ?

कुनै बेला काठमाडौंमा सागर भनेपछि डन, चुल्ठे, मुन्द्रेहरू पनि तर्सन्थे । जुन बेला भर्खरै जनयुद्ध लडेर आएका गुल्मीका चन्द्रबहादुर थापा वाईसीएल उपत्यका इन्चार्ज थिए । उनका पछाडि हजारौं युवा थिए । त्यसपछि संविधानसभा निर्वाचनमा निर्वाचित भएर संविधान बनाउने ठाउँमा पुगे । तर, संधिवानसभा कार्यकाल आधा नसकिँदै पार्टीबाट निष्क्रिय भएर बेरोजगार युवा संघ गठन गरे । फेरि पछि दोस्रो संविधानसभा चुनावमा प्रचण्डकी छोरी रेणु दाहालको चुनाव प्रचार समिति संयोजक भएर काठमाडांैमा खटे । एनेकपा माओवादी काठमाडौंको उपाध्यक्ष रहेका सागर अहिले १२ युवकयुवतीसाथमा काठमाडांैको खुला मञ्चमा आमरण अनशनमा छन् । पार्टी राजनीति छाडेर अनशनमा बसेका थापासँग रातोपाटीकर्मी भरत पाण्डेयले गरेको कुराकानी :IMG_1944

यो सामूहिक आमरण अनशन केका लागि ?
नेपालमै नेपाली युवालाई योग्यता, क्षमता, दक्षता र सीपअनुसारको रोजगारी ग्यारेन्टी हुनुपर्छ । नेपालमा भएका बन्द उद्योग सञ्चालन हुनुपर्छ । नेपाली युवाले हात पारेका सर्टिफिकेटको मूल्य हुनुपर्छ भन्ने विषयलाई केन्द्रबिन्दुमा राखेर आमरण अनशन सुरु गरेका हौँ ।

यी सबै समस्या समाधानका लागि हिजो जनयुद्ध लड्नुभयो, आज देशमा गणतन्त्र आइसकेपछि फेरि अनशन बस्नुपर्ने अवस्था आयो । हिजोको युद्धले काम गरेन हगि ?

हिजोको युद्धले राजनीतिक सत्ता परिवर्तनका निम्ति काम गर्यो । त्यसैकारण देशमा गणतन्त्र आएको हो । सायद हिजो लडाइँ नलडेको भए अहिले यसरी जनजीविकाको सवालमा संघर्ष गर्न हामीलाई निकै कठिन हुन्थ्यो होला । बोल्ने, पढ्ने अधिकार त पायौं तर भोको पेटमा हाँस्न पर्ने, भोको पेटमा नाच्नुपर्ने, भोकै पेटमा काम गर्नुपर्ने, जुन हिजोकै स्थिति रह्यो त्यो स्थिति परिवर्तन गर्नुपर्छ भनेर यो आमरण अनशन सुरु गर्नुपरेको हो । हामीले के भनेका छौं भने खाना खाएर कमसेकम एक पेट भरी पेटमा बोल्न पाउनुपर्यो, हाँस्न पाउनुपर्यो, नाच्न पाउनुपर्यो भन्ने विषय नै हाम्रो हो । त्यो भनेको काम गरेर खान पाउनुपर्यो । हिजो गणतन्त्र नआउँदा पनि नेपाली युवा भारतलगायत अरब मुलुकमा जानुपर्ने बाध्यता छँदै थियो ।

आज देशका स्रोत र साधन परिचालन गर्ने हो भने एक करोड ९२ लाखभन्दा बढी युवाले नेपालमा रोजगारी पाउँछन् तर विडम्बना देशका उद्योग बन्द गर्ने र बेरोजगार बनाएर नेपाल सरकारले अरबमा बेच्ने अझ फ्री भिसा, फ्री टिकटको नाममा । आज कसैको मृत्यु हुँदा लास बोक्ने युवा देशमा छैनन् । घर भत्कियो भने घर बनाउने मानिस छैनन् । त्यो स्थिति अन्त्य भएन भने यो वास्तविक सक्कली गणतन्त्र हुने छैन । नक्कली हुनेछ । त्यसैले हाम्रो लडाइँ भनेको सक्कली गणतन्त्रका लागि हो ।

आज गणतन्त्र आइसकेपछि पनि राजतन्त्र भएका मुलुकमा फेरि काम गर्नुपर्ने, यो स्थिति अन्त्य हुनुपर्छ । आज जति नेपाली युवकयुवती विदेश गएका छन्, तिनीहरूको पारिवारिक स्थिति पनि डामाडोल भएको छ । सिंगो राष्ट्रिय स्रोत र साधन पनि परिचालन गर्न सकेका छैनौं । सिंगो देशको अर्थतन्त्र पनि समृद्ध हुन सकेको छैन । दिनप्रतिदिन नेपाली युवा विदेश पलायन हुने र राष्ट्र झन् खोक्रो हुने स्थिति रह्यो भने यो गणतन्त्र नेपाली जनताका निम्ति, नेपाली युवाका निम्ति र जसले यो संघर्ष गरेर गणतन्त्र ल्यायो त्यसैका निम्ति बेल पाक्यो हर्ष न बिस्मात्जस्तो भयो । जसले गणतन्त्र लडेर ल्यायो, त्यही मानिस आज बाँच्न सन्दर्भमा राजतन्त्रात्मक देशमा जानुपर्ने विषय सदाका निम्ति अन्त्य गर्नुपर्छ भनेर फेरि अर्को जनजीविका, रोजगारी सवालमा हामीले संघर्ष गर्दै छौं ।

आज आमजनतामा रोजगारी भनेको पैसा कमाउनेमात्रै भन्ने बुझाइ छ, त्यो होइन । रोजगारी भनेको औद्योगिकीकरण र व्यवसायीकरण हो । यो भनेको समृद्धि हो । समृद्धि भनेको राष्ट्रियता हो । राष्ट्रियता भनेको स्वाभिमान हो । आज देशका स्रोत र साधन परिचालन गर्ने हो भने एक करोड ९२ लाखभन्दा बढी युवाले नेपालमा रोजगारी पाउँछन् तर विडम्बना देशका उद्योग बन्द गर्ने र बेरोजगार बनाएर नेपाल सरकारले अरबमा बेच्ने अझ फ्री भिसा, फ्री टिकटको नाममा । आज कसैको मृत्यु हुँदा लास बोक्ने युवा देशमा छैनन् । घर भत्कियो भने घर बनाउने मानिस छैनन् । त्यो स्थिति अन्त्य भएन भने यो वास्तविक सक्कली गणतन्त्र हुने छैन । नक्कली हुनेछ । त्यसैले हाम्रो लडाइँ भनेको सक्कली गणतन्त्रका लागि हो ।


जनयुद्ध र जनआन्दोलनमा त्यति धेरैको बलिदानबाट त्यो सक्कली गणतन्त्र बनाउन किन सम्भव भएन ?

किन सम्भव भएन भने आज जति राजनीतिक दल देखापरे ती दलका सैद्धान्तिक हिसाबमा जे भने पनि अन्ततः उनीहरूको उद्देश्य भनेको सत्ता रहेछ भन्ने कुराको पुष्टि भयो । यही खुलामञ्च हो, जतिखेर एक जमानामा काँग्रेसका नेता, एक जमानामा एमालेका नेता र पछिल्लोपटक माओवादीका नेता आउँदाखेरी खुलामञ्चमा उनीहरूका कुरा सुन्न र उनीहरूलाई भेट्न, हेर्न लाखौं लाख मानिस आउने गर्थे । तर, आज उनीहरूको नाम सुन्नेबित्तिकै ढ्ुंगाले हान्नुपर्छ भन्ने भयो । किनभन्दा जे सोचसाथ उनीहरूले आमनेपाली जनतालाई कन्भिन्स गरेका थिए र जे सोचसाथ हामी लडेका थियौं, अन्ततः व्यवहारमा त्यो लागू हुन सकेन । सत्तामा मात्र केन्द्रित भयो ।

कसरी मानिस जिउने, कसरी मानिसले आफ्नो परिवार र जीवन धान्ने ? कस्तो प्रकारको शिक्षा, स्वास्थ्य प्रणाली लागू गर्ने, कस्तो प्रकारको रोजगारी व्यवस्था गर्ने भन्ने विषयमा राजनीतिक दल जान नसक्दा आज त्यो लडाइँ अपूरो भयो । अब अपूरो लडाइँलाई शान्तिपूर्ण ढंगले पूर्णतामा लैजानुपर्छ भनेर हामीले राजनीतिक दल हैन स्वतन्त्र, साझा नागरिकस्तरबाट एउटा अभियान चलाएका छौं र यो अभियानले निरन्तर शान्तिपूर्ण संघर्षको माध्यमबाट अगाडि बढेर मात्रै सम्भव हुन्छ भन्ने सोचसहित हामी अगाडि बढ्न बाध्यात्मक स्थिति खडा भएकाले आमरण अनशनमा छौं ।

यहाँले सँगै लडेको पार्टीले जनताका समस्या समाधान नगरेकै कारणले गर्दा हो यहाँले एकीकृत नेकपा माओवादी छाडेको ? वा अरू केही असमझदारी हुन् ?

एकदम । अहिले मैले तीनवटा घोषणा गरेको छु । एउटा माओवादीमा मेरो पदीय जिम्मेवारी थियो । ती जिम्मेवारी त्यागेको छु । म फेरि बेरोजगार वर्गको मुक्ति नहुन्जेसम्म कुनै चुनाव नलड्ने घोषणा गरेको छु । अर्को म बेराजगार वर्गको मुक्ति नहुन्जेलसम्म कुनै पनि राजनीतिक लाभको पद हासिल गर्ने छैन । त्यसो भन्दा केही साथीले नकारात्मक कुरा पनि गर्न सक्छन् । तर, आमनेपाली जनता सकारात्मक पनि हुनुहुन्छ । मेरो भनाइ के छ भने अब नेपालमा राजनीतिक दल असफल भएको अवस्थामा राजनीतिक व्यवस्था असफल भएको बेला सामाजिक अभियानले नेतृत्व गर्नुपर्दोरहेछ । त्यही सामाजिक अभियानको नेतृत्व आज रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानले गरेको छ । म कुनै पार्टीप्रति आग्रह वा पूर्वाग्रह छैन । कुनै नेताहरूको आलोचना पनि गर्न चाहन्न । किनभने उहाँहरू आफ्नो कालखण्डमा संघर्ष गरेर नै आएको हो ।

संघर्ष विभिन्न रूपमा गरेर आएको कुरालाई म सम्मान गर्छु तर उहाँहरूको संघर्षले आज नेपाली युवाहरू देशमा बस्न पाएनन् । यो कुरा उहाँहरूले पनि बुझ्नुपर्छ । हामीले पनि बुझेका छौं । हामी युवा डिग्री पास गरेका, डिप्लोमा पास गरेकाहरू पुनः कोरियाली भाषा पढ्नुपर्ने, फेरि हिब्रु भाषा पढ्नुपर्ने । आफ्ना डिग्रीका सर्टिफिकेट सिरानीमा राखेर फेरि पनि अरबको खाडीमा भेडा हेर्न जानुपर्ने फर्केर आउँदाखेरी श्रीमती अर्कैले लगिसकेको हुन्छ, बुवाआमा वृद्धवृद्धा भइसकेका हुन्छन् । आफूले बनाएर छाडेर गएको घर भत्किइसकेको हुन्छ । खेतबारी बाँझै भइसकेका हुन्छन् । फर्केर आउँदा आफूले पठाएको पैसा त पाउन्न–पाउन्न आफ्नो परिवार पनि नपाउने जुन अवस्था छ, यो अवस्था हामी आमयुवाले बुझ्ने नेपालका यी ठूला नेताले नबुझ्ने कारण के हो ? यो अब यही आन्दोलनले फैसला गर्दै छ भन्ने मेरो बुझाई हो ।

तपाईंलाई लाग्छ– यो आन्दोलन निष्कर्षमा पुग्ला र बेरोजगारी समस्या समाधान होला ?
संसारमा असम्भव भन्ने केही पनि छैन । हामीले मंगल ग्रह मागेका छैनौं, बुध ग्रह मागेका होइनौं । हामीले एट्लान्टिक महासागर मागेका छैनौं । हामीले काम गरेर खान पाउनुपर्यो भनेका छौं । यदि काम गरेर खाने कुरामा यो व्यवस्थाले दिएन भने व्यवस्था संकटमा पर्छ । म यो व्यवस्थालाई संकटमा पार्न चाहन्न । म यो सत्ता, सरकारलाई संकट पार्न चाहन्न । यदि हामीलाई काम गरेर खान दिने हो भने उहाँहरूलाई एक वर्ष होइन, १० वर्ष सत्ता चलाउन म आग्रह गर्न चाहन्छु । एकजना चिनियाँ राजनीतिशास्त्रीले भनेका छन्– बिरालो कस्तो छ त्यो मेरो विषयको कुरा हैन, त्यो बिरालोले मुसा मार्छ कि मार्दैन मुख्य विषय हो हो भनेजस्तै सरकारमा को जान्छ, कसले चलाउँछ त्यो हाम्रो सरोकारको विषय होइन ।

हाम्रो विषय के हो भने योग्यता, क्षमता, सीप, कलाअनुसार काम गरेर खान पाउने व्यवस्थाको ग्यारेन्टी सरकारले गर्नुपर्छ । यो विषयमा जसले अवरोध गर्छ, त्यसविरुद्ध फेरि हामी बिस्तारै राजनीतिक र सैद्धान्तिक ढंगले केन्द्रित हुनुपर्ने, सांगठनिक ढंगले केन्द्रित हुनुपर्ने अवस्था आउनेछ । त्यो स्थिति आउन नदिनका निम्ति म सत्तामा रहेका, प्रतिपक्षमा रहेका र विभिन्न दलको नेतृत्व गरिरहनुभएका सबै दलसम्बद्ध प्रतिनिधिलाई यही अपिल गर्न चाहन्छु् । हामीले काम गरेर खान पाउनुपर्छ भनेर १२ जना साथी आमरण अनशन बसेका छौं । यदी हामी असफल भयौं भने राज्य असफल हुन्छ । यो व्यवस्था नै असफल हुन्छ । त्यसैले हाम्रो माग पूरा हुन्छ भन्नेमा म विश्वस्त छु ।

IMG_1945नयाँ संविधान बनिसकेपछि, गणतन्त्र आइसकेपछि यी सबै समस्या समाधान हुन्छन् भनेर तपाईं युद्ध लड्नुभयो । नीति निर्माण तहमा पनि पुग्नुभयो तर समस्या समाधान हुनेगरी संविधान किन लेखिएन ?

संघर्ष गर्ने बेलामा, प्रतिपक्षमा बस्ने बेलामा जुन प्रकारका राजनीतिक दलका नेताका अभिव्यक्ति आउँछन्, सत्तामा गइसकेपछि सबै बिर्सिइँदारहेछन् । त्यही भएर म निर्वाचिन सभासद् हुँदै आन्तरिक ढंगले सभासद्बाट राजीनामा दिएको थिएँ । यही तरिकाले नेपाली जनताको भविष्य बन्दैन । जसले मलाई भोट दिए, उनीहरूका लागि मैले पासपोर्ट बनाइदिएर अरब पठाउनुपर्यो । जसले मलाई जिताए, तिनीहरू अरबबाट फर्कंदा श्रीमती अर्काले उडाइसकेका थिए । जसले मलाई भोट दिए, तिनका छोराछोरी बालआश्रममा बस्नुपर्ने अवस्था आयो । यो स्थिति देखिसकेपछि म चुनाव जितेर सभासद् हुनुको अर्थ देखिनँ । त्यस्ता मन्त्री हुने र सरकार चलाउनेलाई मैले यही आग्रह गरें ।

पहिलो कुरा नेपाली युवा परिवर्तनका संवाहक हुन्, त्यसैले युवाको माग सम्बोधन हुनुपर्छ । युवाको माग सम्बोधन हुनु भनेको बच्चाको माग पनि हो, वृद्धको माग पनि हो र सिंगो देशको माग पनि हो भन्ने कुरा म सभासद् हुँदै लडाइँ थियो । त्यहीबेलै मैले बेरोजगार युवा संघ बनाएर आन्दोलन अगाडि बढाएको थिएँ । अन्तिममा जाँदाखेरी बेरोजगार युवा संघ अलि साँघुरोजस्तो लागेर पछि साथीहरूको केन्द्रीकरणपछि बेरोजगार युवा संघले लिएका उद्देश्यलाई नै केन्द्रबिन्दुमा राखेर रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान बनाएको आज ११ महिना पाँच दिन भयो । त्यही ११ महिना पाँच दिनको तयारीबाट हामीले आमयुवा, व्यवसायी, बुद्धिजीवी, पत्रकार, नागरिक समाजका अगुवासहित जोडेर यो अभियान अगाडि बढाएका हौं ।

हिजो भूमिगत हिसाबले लड्नुपथ्र्यो, आज खुला चउरमा राजधानीमा बसेर आन्दोलन गरेका छौं । हिजोको संघर्षले मलाई आज यो ठाउँमा ल्याएर आफ्ना युवा, जनताको पीडा सार्वजनिक गर्ने मौका दिएको छ । कोही न कोही आन्दोलनका हिसाबले त विषय मिल्न सक्छन्, भावना मिल्न सक्छन्, क्षण मिल्न सक्छन् । त्योभन्दा पनि म धेरै फरक ढंगबाट अगाडि बढेको अनुभूति गरिरहेको छु ।

यो अगाडि बढाउने कुरामा मेरो अनुभूति के हो भने सत्तामा गइसकेपछि नेताका आँखा बन्द हुने रहेछन्, कान नसुन्ने रहेछन् र शरीर पनि निष्क्रियजस्तो हुँदोरहेछ । हिजो जनताकहाँ गरेका प्रतिबद्धता भुलेकै कारणले आज यो अवस्था आएको हो । म फेरि पनि विभिन्न राजनीति दलसम्बद्ध नेतालाई हिजो तपाईंले जनताका घरमा भोट माग्न जाँदा नेपाली युवालाई के आस्वासन दिनुभएको थियो, त्यो पूरा गर्नुहोस् । यदि तपाईं सत्तामा जाने नेपाली युवा अरबमा पठाउने अवस्था देखियो भने अब आउने चुनामा तपाईंलाई कुनै पनि चुनावमा नेपाली युवाले स्वीकार्ने छैनन ।

हिजो यहाँले युद्ध लड्दा जनसेनाको नेतृत्व गर्नुभयो, जनआन्दोलनक्रममा काठमाडौंमा लाखौं मानिस उतार्न धादिङमा बसेर नेतृत्व गर्नुभयो, वाईसीएल काठमाडौं उपत्यका इन्चार्ज हुँदा हजारौँ युवा परिचालन गर्नुभयो तर आज त तपाईंको पछाडि त्यति धेरै युवा छैनन् त ?

पहिलो कुरा हिजो जो–जो साथी जनसेना वा वाईसीएलमा थिए, तिनीहरूमध्ये धेरै अहिले अरबमा छन् । त्यो मेरा पछाडिमात्र होइन, प्रचण्ड, बाबुरामका पछाडि पनि छैनन् । मलाई लाग्छ– अहिले प्रचण्ड, बाबुरामले आन्दोलन गर्ने हो भने यति पनि आउँदैनन् । हाम्रो नयाँ जेनेरेसनमा पनि उद्घाटनको समयमा हजारौँ युवा सहभागी हुनुभयो । मैले जसलाई हिजो संगठित गरेर उनीहरूको हक–हितका लागि लडे उनीहरू त अहिले देशमा टिक्न नसकेर पार्टीका नेताहरूले व्यवस्थापन गर्न नसकेर आज अरबमा पसिना बगाउन बाध्य छन् । उहाँहरूले त्यहीँबाटै सन्देश दिनुभएको छ– दाइ तपाईंले जुन अभियान सुरु गर्नुभयो, त्यसमा हाम्रो साथ छ । ऐक्यबद्धता छ । हामी छिट्टै नेपाल आउँदै छौं, तपाईंले आन्दोलन नछाड्नुस् भन्नुभएको छ । कलेजका डिग्रीहोल्डर साथीहरूले मलाई साथ दिइरहनुभएको छ । नयाँ शिराबाट आन्दोलन अगाडि बढेकाले देशमा नयाँ परिवर्तन हुन्छ भन्ने मेरो विश्वास छ ।

प्रसंग बदलौं, हिजो जनयुद्धकालमा तपाईं जंगलमा परालमा सुतेर युद्धमा सहभागी हुनुभयो । बीचमा सुखसयलमा रहनुभयो । आज धेरै वर्षपछि फेरि यसरी सामूहिक रूपमा साथीहरूसँग पल्टिनुभएको छ । जनयुद्धकालको सम्झना आएन ?

हिजोको जनयुद्ध पनि यस्तै पीडादायी क्षणबाट हामीले बिताएका थियौं । राज्यसत्तासँगको लडाइँमा त्यो वर्गसंघर्षको लडाइँमा, त्यो वर्गसंघर्षको लगाइमा पीडासँगै खुसी पनि थियो । म आफ्नो लक्ष्यप्रति दृढ थिएँ, त्यसैले मलाई त्यस्तो दुःखको अनुभूति भएन । अहिले पनि म आफ्नो लक्ष्यप्रति, बेरोजगार वर्गको मुक्तिका निम्ति दुढ छु । हिजो सर्वहारा वर्गको मुक्ति भन्थ्यौं, मजदुर वर्गको मुक्ति भन्थ्यौं तर आज अध्ययन गर्दा नेपालमा न सर्वहारा वर्ग छ न मजदुर वर्ग छ । सर्वहारा वर्ग किन छैन भन्दा थोरै न थोरै सम्पत्ति भएको मानिसको बाहुल्य छ । त्यसैले सर्वहारा वर्ग छैन । सारा उद्योग बन्द हुँदा मजदुर वर्ग पनि छैन । अब नेपालमा को छ त भन्दा लाखौं युवा बेरोजगार छन्, त्यसैले बेरोजगार वर्ग छ । र, बेरोजगार वर्गको मुक्ति नहुँदासम्म म निरन्तर संघर्षमा हुनेछु भनेर लागेकाले म यो पीडाको बेलामा पनि खुसी छु । मलाई कुनै हीनताबोध, कुनै दुःखको अनुभूति, कुनै भोकको अनुभूति भएको छैन । हिजो भूमिगत हिसाबले लड्नुपथ्र्यो, आज खुला चउरमा राजधानीमा बसेर आन्दोलन गरेका छौं । हिजोको संघर्षले मलाई आज यो ठाउँमा ल्याएर आफ्ना युवा, जनताको पीडा सार्वजनिक गर्ने मौका दिएको छ । कोही न कोही आन्दोलनका हिसाबले त विषय मिल्न सक्छन्, भावना मिल्न सक्छन्, क्षण मिल्न सक्छन् । त्योभन्दा पनि म धेरै फरक ढंगबाट अगाडि बढेको अनुभूति गरिरहेको छु ।

अन्त्यमा केही भन्नु छ कसैलाई ?
हामीले अहिले जुन आन्दोलनको नेतृत्व गरेका छौं, यो कुनै पार्टीविशेषको होइन, कुनै क्षेत्रको होइन, यो कुनै लिंगको होइन । यो आमनेपाली युवाको र सिंगो राष्ट्रको भएको हुँदाखेरी यदि राष्ट्रको जगेर्ना गर्ने हो भने यदि यही देशमा बस्ने हो भने आफ्ना बच्चाबच्चीसँगसँगै जीवनयापन गर्ने हो भने यो आन्दोलनलाई साथ दिनका निम्ति सारा युवा, व्यवसायी, उद्यमीलाई अपिल गर्न चाहन्छु । देशमै राजनीति गर्ने हो भने सारा राजनीतिक दलका नेतालाई भन्न चाहन्छु– यदि कोरीयामा गएर, दुबई, कतारमा पुगेर राजनीति गर्ने हो भने मैले भन्नु केही छैन । तपाईं जनताका नेता हुने हो भने यो आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरे हामीले गरेको सामूहिक आमरण अनशनमा हामीले उठाएका माग पूरा गर्ने वातावरण बनाइदिनुहुन समग्र युवा, व्यवसायी, राजनीतिक दलका नेता, संघ–संस्था, पत्रकार, नागरिक समाजलाई एकमुष्ट अपिल गर्न चाहन्छु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल