आत्मसमर्पण गरेर एकता गर्न सकिँदैन : सिपी गजुरेल

-  |   उपाध्यक्ष, नेकपा (क्रान्तिकारी) माओवादी

आत्मसमर्पण गरेर एकता गर्न सकिँदैन : सिपी गजुरेल

सिपी गजुरेल तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा प्रत्यक्ष रुपमा होमिए, जेलनेल पनि भोगे । माओवादी पहिलो संविधानसभाबाट ठूलो दल बन्दै सत्ता र सरकारमा गए पनि त्याग र बलिदान गरेका उनले लाभको पद लिएनन् । बरु, पार्टी नेतृत्वको गलत कार्यशैलीप्रति प्रश्न उठाउने हार्डलाइनर नेताका रुपमा चिनिने गजुरेलले निरन्तर औंला ठड्याइरहे । शान्ति शान्ति प्रक्रियामा आएपछि एमाओवादीले दोस्रोपटक भोगेको विभाजनमा सिपी गजुरेल पार्टी विभाजन गरेर नयाँ बनाउनु पर्छ भन्ने लाइनको निर्णायक बनेर खडा भए । अहिले एमाओवादी र उनको पार्टी नेकपा (क्रान्तिकारी) माओवादीबीच एकताको कुरा चलिरहँदा पनि उनी एकताको विपक्षमा देखिएका छन् । भन्छन् – ‘अहिलेकै अवस्थामा एमाओवादीसँग समूहगत एकता असम्भव छ ।’ गजुरेलसँग दुई माओवादी एकता, कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा केन्द्रीत रहेर रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :

cp gajurel
दुई माओवादीबीच एकताको सम्भावना टरेकै हो त ?
हामीहरुको पार्टीमा एकीकृत माओवादीसँग वार्ता कुन आधारमा गर्ने र एकताका आधारहरु के–के हुन्छन् भन्ने विषयमा छलफल चलिनै रहेको छ । केन्द्रीय समितिको बैठकमा पनि छलफलको मुख्य विषय यही नै बनेको थियो । त्यहाँ थोरै मतभिन्नता देखिएकाले ४ जना पूर्व पदाधिकारी बसेर सहमति निकाल्न भनिएको थियो । सहमतिमा पुग्न छलफल पनि भयो । तर,सहमति हुन सकेन । गृहकार्य नपुगेको ठानेर हामीले केन्द्रीय समिति बैठक केही पर सारेर छलफललाई तीव्रता दिइरहेका छौं । अहिले हामी छलफलकै चरणमा छौं, के गर्ने कसो गर्ने भन्नेकुराको निक्र्योल गर्न गृहकार्यमा छौं । एकता गर्ने वा नगर्ने भन्ने पार्टीको आधिकारिक निर्णय भइसकेको छैन ।
एकतानजिक पुगिसकेको भनिए पनि अहिले फेरि दूरी बढेको जस्तो देखिँदैछ, खासमा यस्तो किन हुँदैछ ?
एकीकृत नेकपा माओवादीसँग हामीले सम्बन्ध विच्छेद गरेर नेकपा–माओवादी गठन गर्दा एमाओवादीमा नवसंशोधनवादी भड्काव छ र यसको नेतृत्वले क्रान्तिप्रति गद्धारी गर्यो भन्ने निष्कर्ष थियो । नवसंशोधनवादी बाटो पक्डेको एमाओवादीलाई सुधार्न धेरै प्रयास गर्दा पनि नसकिएकाले त्यो पार्टीसँग सम्बन्धविच्छेद गरेर माक्र्सवाद, लेनिनवाद र माओवाद विचारधाराका आधारमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादतिर अगाडि बढ्नुपर्छ भन्ने निर्णय सातौं महाधिवेशनले गरेको थियो । नेकपा–माओवादी र नेकपा एकीकृतको बीचमा पार्टी एकता गर्न जुन संयुक्त अधिवेशन भएको थियो, त्यसले पनि एमाओवादीलाई नवसंशोधनवादी र दक्षिणपन्थी नै भनेको छ । अब एमाओवादी नसुध्रिएको यस्तो पुरानै अवस्थामा भएकाले कसरी पार्टी एकता हुन सक्छ भन्ने प्रश्न गम्भीर ढंगले हाम्रो पार्टीमा उठेको छ । अहिलेको हाम्रो पार्टीको अवस्था यही हो ।

हिजो जनयुद्धमा साथ नदिएकासँग एकता गर्न हुने तर विगतमा सँगै लडेकाहरुसँग एकता गर्ने कुरामा अनेक शब्दलाज बिच्छ्याएर समस्या खडा गर्ने, यो द्वैध चरित्र भयो भन्ने छ नि ?
ठीकै हो । यो प्रश्न हामीले अन्यसँग एकता गरिरहँदा पनि उठेको थियो, अहिले पनि फेरि उठेको छ । मुख्य कुरा के हो भने राजनीतिक पार्टीका नेताहरु र पार्टीहरु हरेक चिज गतिशील भएजस्तै गतिशील हुन्छन् । यी सधैंभरी एकैठाउँमा बसिरहँदैनन् । कुनै बेलाका क्रान्तिकारीहरु कुनै बेला प्रतिक्रान्तिकारी हुन्छन्, कुनै बेलामा अलि दक्षिणपन्थी खालका बाटोतिर पनि जान्छन् । यी दुवै प्रक्रिया अघि बढिरहन्छन् । हामी सहयात्री नै हौं, प्रचण्ड र हामीबीच ३५–४० वर्षसम्म सहयात्रा भएको छ । हाम्रै नेतृत्वमा जनयुद्ध पनि गरियो, उथलपुथलकारी आन्दोलन गरियो । तर, प्रचण्ड र बाबुरामले विविध कारणले क्रान्तिको बाटो छाड्नुभयो, देश र जनताप्रति कुठाराघात गर्नुभयो । छोटो समयमा यसको व्याख्या–विश्लेषण गर्न असम्भव छ ।
अब क्रान्तिविरोधी बाटो पक्डेर अर्कै कित्तामा गइसकेपछि पनि उहाँहरु हामै्र साथीहरु हो, सँगै हिँडेको भनेर राजनीतिमा चल्दैन । सही हुँदासम्म हामीले कुनै कन्जुस्याइँ नगरी सम्मान गरेर प्रचण्डको नेतृत्व मानेकै हौं, अगाडि बढाएकै हौं । अब अहिले प्रचण्डले प्रतिक्रान्तिको बाटो रोजिसकेपछि एक समयमा हामी सँगै थियौं भनेर चल्दैन । अहिलेको त्यो पार्टीको नीति के हो भन्ने कुराले त्यो पार्टीसँगको सम्बन्धलाई निर्धारण गर्छ । एमाओवादीको पछिल्लो चरित्र हेर्ने हो भने यो पार्टी एमालेभन्दा खासै फरक देखिँदैन । त्यसैले हामीले यसलाई नवसंशोधनवादी भनेका हौं ।

एमाओवादीको नेतृत्व अहिले पनि यो संविधानलाई संसारकै उत्कृष्ट भनिरहनु भएको छ । यो संविधान जारी हुनुको जस सबैभन्दा बढी एमाओवादीको भागमा पर्नुपर्छ भनेर दाबी गरिरहनु भएको छ । जबकि हामी यसलाई हामी प्रतिगामी र प्रतिक्रियावादी संविधान भनिरहेका छौं । अनि खै कहाँ कुरा मिल्छ र एकता गर्ने ?

प्रचण्डले सार्वजनिक रुपमै विगतका कमी–कमजोरी ‘करेक्सन’ गरेर अघि बढ्न तयार छु भनिरहनु भएको छ त ?
सुध्रिने कुरा भनेर हुँदैन, व्यवहारमा देखिनुपर्छ, अहिलेसम्म यस्तो देखिएको हुन्छ । हामीले खरिपाटीदेखि पालुङटारसम्म लगातार ५ वर्ष अन्तरसंघर्ष चलायौं, गलत लाइन सच्याउने विषयलाई लिएर । साढे ६ हजारको भेलामा उहाँले गल्ती गरियो, अब सुध्रिन्छु, अवसर दिनुस् पनि भन्नु भएकै हो । तर, खै कत्ति पनि सुध्रिनु भएन त ? बरु उल्टो दक्षिणपन्थी बाटो रोज्नुभयो र जनवादी क्रान्तिको बाटो नै छाडिदिनुभयो । सुध्रिनेभन्दा पनि एकपछि अर्को विचलन भित्राउँदै थप एमालेकरण गराउँदै पार्टीलाई लैजानु भयो । उहाँहरु सुध्रिनु भएको हुन्थ्यो भने हामी किन अलग–अलग पार्टी बनाएर जान्थ्यौं र ? सामान्य बुद्धि भएको मान्छे पनि शक्तिशाली हुन चाहन्छ भने हामी फुटेर यसरी किन कमजोर बन्थ्यौं होला र ? कसैको पनि चाहना पार्टी टुक्रा–टुक्रा होस् र कमजोर बनोस् भन्ने हुँदैन, हाम्रो पनि छैन । हामी पनि शक्तिशाली भएर सँगै जान चाहन्छौं । तर, एमाओवादीले लिएको दक्षिणपन्थी लाइनले हामीलाई एकता गरेर जान रोकेको छ, नैतिक रुपले कठीन बनाएको छ । एमाओवादीको नेतृत्व अहिले पनि यो संविधानलाई संसारकै उत्कृष्ट भनिरहनु भएको छ । यो संविधान जारी हुनुको जस सबैभन्दा बढी एमाओवादीको भागमा पर्नुपर्छ भनेर दाबी गरिरहनु भएको छ । जबकि हामी यसलाई हामी प्रतिगामी र प्रतिक्रियावादी संविधान भनिरहेका छौं । अनि खै कहाँ कुरा मिल्छ र एकता गर्ने ?
बाहिर देखिँदा सिद्धान्त र लाइनमा कुरा नमिलेको जस्तो देखिए पनि भित्री कारण अरु नै भएको र एकता प्रक्रियामा तपाईंलगायतले नकारात्मक भूमिका खेलेको भन्ने आरोप लागिरहेको छ नि ?
यस्तो कुरा मैले पनि सुनेको छु । यो गलत कुरा हो । यसमा कुनै सत्यता छैन । एकातिर एमाओवादीलाई नवसंशोधनवादी भयो, नयाँजनवादी कार्यदिशा छाड्यो भन्ने आरोप लगाउने, प्रतिक्रियावादी संविधान बोकेर हिँड्यो पनि भन्ने ? अनि पार्टी एकता गर्ने पनि भन्ने ? यो दोहोरो चाल हुन सक्दैन । यदि कसैले एकता गर्न चाहन्छ भने विश्लेषण सच्याउँदै भन्न सक्नुपर्यो – एमाओवादी खाटी क्रान्तिकारी रहेछ, बिग्रिएका त हामी पो रहेछौं । पुनर्गठन गर्न पनि गलत रहेछ । यदि होइन भने यही अवस्थामा एकता हुन सक्दैन । विश्लेषण सच्याएर पार्टी एकता गर्ने कुरा मिल्न सक्ने विषय भयो । तर, एकातिर नवसंशोधनवादी भन्ने, त्यो महाधिवेशनको लाइन ठीक थियो भन्ने, संविधान प्रतिगामी भयो पनि भन्ने र एमाओवादीसँग पार्टी एकता गर्नुपर्यो अब भन्ने कुरा पूरै विसंगतिपूर्ण कुरा हो । विसंगतिपूर्ण निर्णय हामीले कदापि गर्नुहुन्न, इतिहासले यस्तो निर्णयलाई क्षमा दिँदैन । हामीले निर्णय गर्दा संगतिपूर्ण निर्णय गर्नुपर्छ, जे सही हो त्यही निर्णय गर्नुपर्छ । हो, पहिले ठूलो पार्टी थियौं, अहिले कमजोर भइयो । तर, कमजोर भइयो, पहिलेको ठूलो पार्टी सानो भयो, कसैले गनेनन् भन्दैमा व्यवहारिक कुराहरुलाई देखाएर कुनै पार्टीसँग एकता गर्ने भने कुरा मान्य हुँदैन । यो गलत हुन्छ ।
जहाँसम्म म एकताविरोधी भन्ने कुरा छ, यो गलत कुरा हो । म किन एकता विरोधी हुने ? नेपालमा जनवादी क्रान्ति आफ्नै जीवनकालमा स्थापित गरौंला भन्ने आकांक्षा बोकेर पार्टीमा लागेको म यस्तो सोच्न सम्म पनि सक्दिन । सच्चा कम्युनिष्ट पार्टी बलियो र दह्रो चाहिन्छ भन्ने मान्यतामा म अहिले पनि दृढ छु । मेरो भनाइ असैद्धान्तिक एकता गर्नु भनेको पार्टी एकता होइन, आत्मसमर्पण भन्ने मात्र हो । एकताका नाममा आत्मसमर्पण गर्न हुँदैन भन्ने मान्यता मेरो हो ।

यदि कसैले एकता गर्न चाहन्छ भने विश्लेषण सच्याउँदै भन्न सक्नुपर्यो – एमाओवादी खाटी क्रान्तिकारी रहेछ, बिग्रिएका त हामी पो रहेछौं । पुनर्गठन गर्न पनि गलत रहेछ  । यदि होइन भने यही अवस्थामा एकता हुन सक्दैन ।

तपाईंहरुले एकता गर्न हुँदैन भनिरहँदा बादल नेतृत्वको झन्डै ९० प्रतिशत नेता कार्यकर्ता एमाओवादीमा फर्कने तयारीमा छन् भनेर आइरहेको छ नि ?
कसैले ९० प्रतिशतको सपना देखेका छन् भने त्यसमा मेरो भन्नु केही छैन । तर, ९० प्रतिशत त परै जाओस् उहाँहरुले बहुमत पुर्याएको कुरा समेत मेरो जानकारीमा अहिलेसम्म आएको छैन । बहुमत पुर्याउन महिनौं दिनदेखि लागिरहनु भएको उहाँहरुले बहुमत पुगेको भए सञ्चारमाध्यममा सार्वजनिक गर्नुहुन्थ्यो होला नि त ?

एउटा कुरा के हो भने हाम्रो पार्टीमा अहिले नै लम्पसार परेर सिद्धान्तहीन एकता गरेर जानुपर्छ भन्नेमा त्यति ठूलो जनमत नै छैन । कसैलाई कठीन स्थिति सामना गर्न गाह्रो भयो र फरक जीवन ज्युन मन लागेर कुनै पार्टीमा जान्छन भने हाम्रो भन्नु केही छैन । समूहगत रुपमा पार्टी एकता गर्नुपर्छ भनेर हामीले निर्णय नगरेकाले मलाई प्रतिक्रियावादीकरण भइराखेको पार्टीमा लर्को लागेर साथीहरु जान्छन् भन्ने लाग्दैन ।
पार्टीनीति नै एकता गर्ने छैन भन्नुभयो । अब पार्टीलाइन विपरीत उभिनेहरुलाई के गर्नुहुन्छ ?
अहिले हामीले कारबाही गर्ने भन्ने सोचेका छैनौं । कतैतिर आधिकारिक रुपमा हस्ताक्षर नभएकाले र व्यक्तिगत रुपमा यस्ता गतिविधि सञ्चालन भइरहेकाले त्यसमा हामीलाई चासो छैन । त्यस्तो धन्दा गर्न नहुने हो तर, यसको पछि लागेर कारबाही गर्ने पक्षमा हामी छैनौं । मन परेको काम गर्न उहाँहरु स्वतन्त्र हुनुहुन्छ ।

हामीले एमाओवादीसँग अलग भएर क्रान्तिको झन्डा उठाएको पनि धेरै भएको छैन । तर २–३ वर्षमा नै उहाँहरुमा यतिधेरै थकावट किन आयो ? मलाई यसमा आश्चर्य लागेको छ । यो प्रश्न मलाई भन्दा पनि बादलजीसँग सोध्न पाएर राम्रो हुन्थ्यो ।

एमाओवादी अध्यक्ष प्रचण्डले तपाईंहरुको पार्टी अध्यक्षसँग बादल नेतृत्वको समूह लैजान अनुमति लिइसक्नुभयो रे नि होइन ?
अनुमति नै दिनुपर्दैन, लिने र दिने कुरा होइन यो । हरेक व्यक्ति आफूलाई मन लागेको काम गर्न स्वतन्त्र भएकाले जान मन गर्नेहरुले धक फुकाएर जान सक्छन् । प्रचण्डजीले जान चाहनेहरुलाई लैजान अनुमति लिइराख्नु नै पर्दैन ।
बादल समूह एमाओवादीसँग एकता गर्न किन यतिधेरै हतारिनु भएको होला ?
हामीले एमाओवादीसँग अलग भएर क्रान्तिको झन्डा उठाएको पनि धेरै भएको छैन । तर २–३ वर्षमा नै उहाँहरुमा यतिधेरै थकावट किन आयो ? मलाई यसमा आश्चर्य लागेको छ । यो प्रश्न मलाई भन्दा पनि बादलजीसँग सोध्न पाएर राम्रो हुन्थ्यो ।
विप्लव समूह चोइटिएर जाँदा ठूलो नोक्सानी ब्यहोर्नु भयो । अब बादलले ठूलो समूह लिएर जाँदैछन् । पार्टी त थला नै पर्ने भयो नि हगि ?
होइन, यस्तो थला पर्ने भन्ने हुँदैन । मुख्य कुरा एजेन्डा हो । हाम्रो पार्टी नेपालमा नयाँजनवादी क्रान्ति पूरा गरेर समाजवादतिर जाने, यो देशलाई सम्पूर्ण रुपले विकास गर्ने, साधन स्रोतहरु देश र जनताको पक्षमा पारेर अघि बढ्ने भनेर निर्माण भएको हो । जनयुद्ध पनि यसैका लागि गरिएको थियो । राष्ट्र यी समस्या हल भएको भए औचित्य समाप्त हुने थियो, तर, समस्या झन् थपिँदै गएको छ । यस्तो बेला हाम्रो पार्टी थला पर्ने होइन, थप सशक्त बनेर आउने सम्भावना छ । क्रान्ति र परिवर्तनले मात्र समस्याको समाधान गर्छ भन्ने ठूलो समूह हाम्रो पार्टी र देशभित्र रहेकाले दुई चारजना जाँदैमा मान्छेको कमी हुँदैन ।
हिजो एमाओवादीले केही गरेन, अब हामी गर्छौं भनेर पार्टी फुटाएर जानु भयो, तर कुनै हस्तक्षेपकारी भूमिका खेल्न सक्नुभएन । त्यसैका कारण तपाईंहरुभित्रै अर्को टुटफुट देखापर्यो । अब झनै बादल समूह फुटेर जाँदै छ । यस्तो अवस्थामा कायापलट नै गर्छौं भनेर भन्नु दिवासपना भएन र ?
हो, यस्तो प्रश्न उठेको छ । विगतमा हामीबाट जनताले गरेको अपेक्षा पूरा नभएकाले यस्तो प्रश्न उठ्नु स्वभाविक पनि हो । तर मुख्य कुरा के हो भने क्रान्तिपछि बाबुराम र प्रचण्डको नेतृत्वमा ठूलो प्रतिक्रान्ति भयो । प्रतिक्रान्ति ठूलो हो , प्रतिक्रान्तिको असर समाजमा केही समय रहन्छ । प्रतिक्रान्ति हुने बित्तिकै अर्को क्रान्ति भइहाल्नुपर्छ भनेर कसैले भन्छ भने त्यो गलत बुझाई हो । अपेक्षा र आकांक्षा राख्नु त ठीक हो, तर यसले २–३ वर्षमा केही गरेन भन्नु जायज होइन । सबैकुरा सकिएको बेला क्रान्ति भइहाल्नुपथ्र्यो भन्नु उचित होइन ।

बाबुरामजी त माक्र्सवादी कित्ताबाटै अलग भइसक्नु भयो । उहाँहरुलाई माक्र्सवाद चाहिँदैन भन्ने पार्टीको कित्तामा राखेर विश्लेषण गरे हुन्छ । अहिले उहाँलाई कम्युनिष्ट समूहभित्र राखेर विश्लेषण गर्न म आवश्यक देख्दिनँ ।

निकै अप्ठ्यारो परिस्थिति आउँदैछ, कसरी अघि बढ्नुहुन्छ अब ?
विचार र कार्यदिशाले सबै कुरा निर्णय गर्छ भनेर माओले भन्नु भएको छ, जुन कुरा हामीले जीवनमा भोगेका छौं । जनयुद्ध सुरु गर्दा हामी थोरै मान्छे मात्रैथियौं । विचार र कार्यदिशा सही भएकै कारण हामीले २–४ जनाबाट सुरु गरेको जनयुद्धले के गर्यो सबैलाई थाहै छ । माओले भन्नु भएको थियो – सही विचार–कार्यदिशा भयो भने सानै समूहमा बनेको पार्टी पनि ठूलो बन्छ, सेना छैन भने त्यो पनि बन्छ, सत्ता छैन भने प्राप्त हुन्छ, तर गलत विचार र कार्यदिशा छ भने प्राप्त भएका पनि सबै कुरा गुम्छ । उहाँले भनेजस्तै गरी हामीले व्यवहारिक रुपमा त्यो भोगेको हुनाले हामीलाई आफूले अवलम्बन गरेको सही विचार र कार्यदिशाले एकदिन फेरि सफल बनाउँछ भन्नेमा पूर्ण विश्वास छ ।
मान्छेहरु त अब यस्तो जडसुत्रवादी तरिकाले हुँदैन । यो पार्टी अब क्लबमा परिणत हुन्छ भनिरहेका छन् नि ?
जनयुद्ध गर्ने बेला पनि हामीलाई जडसुत्रवादी नै भन्थे । नवसंशोधनवादीहरुले दक्षिणपन्थीहरुले जहिले पनि क्रान्तिकारीहरुलाईं जडसुत्रवादी नै देख्छन् । विद्धान भएर जनयुद्धको कुरा गर्नुभएको छ, केही नभएकोले यत्रो सपना देखेर हुन्छ भनेर मलाई पनि जनयुद्ध गर्ने भनेर लाग्दा धेरै लागेका थिए । तर हामीले गरेर देखाइदियौं । अहिले नवसंशोधनवादी र क्रान्तिी छाडेका र शाषकवर्गमा पुगेकाहरुले हामीलाई जडसुत्रवादी देख्छन्, त्यो अस्वभाविक होइन ।
ठूलो सपना देखाएर जनतालाई युद्धमा पनि होमाउनु भयो । कति तपाईंहरुकै कुरा पत्याएर शहीद भए, कति युद्धको घाइते शरीर घसारेर हिँडिरहेका छन् । जनतामा तपाईंहरुप्रति ठूलो अपेक्षा पनि थियो । तर, हेदाहेर्दै छिन्नभिन्न भएर ओरालोमा गुल्टिएको ढुंगाजस्तो हुनुभएको छ । कहिलेकाहिँ विगत फर्केर हेर्दा दिक्क लाग्दैन ?
लाग्दैन । किन लाग्दैन भने माक्र्स र माआवाद भनेको निरन्तर क्रान्तिको सिद्धान्त हो । निरन्तर क्रान्ति गरिरहनुपर्छ भन्ने सिद्धान्त हो माक्र्सवाद, लेलिनवाद माओवाद । क्रान्ति कुनै मोर्चामा हामी जित्छौं, कहिले हार्छौ्र । क्रान्तिको ग्राफ सीधा रेखामा जाँदैन , तलमाथि गर्दै अघि बढ्छ । यो कुरा हामीले बुझिसकेको हुनाले त्यति अनौठो लाग्दैन । ०६२/६३ मा हामीले जित्नै लागेका थियौं तर, हार्यौं । यसका कारण लामो छन् । जे भए पनि हामीले हारका कारण पत्ता लगाएर क्रान्तिलाई अघि बढाउने क्रान्तिकारीहरुको दायित्व हो । त्राmन्ति हारियो भनेर निराश भएर रुदै कराउँदै कहाँ छाहारी पाइएला भन्दै हिँड्ने काम सच्चा क्रान्तिकारीले गर्नु हुँदैन ।
प्रसंग बदलौं, विप्लव र बाबुराम भट्टराईलाई हेर्ने तपाईंहरुको दृष्टिकोण के हो ?
विप्लवजीहरुले उग्रवापन्थी खोलमा थोरै दक्षिणपन्थी दिशा लिनुभएको छ । कुरा उग्रवापन्थी टाइपको गरेर अहिले नै हतियार उठाउने गर्नुहुन्छ, तर सारमा उहाँहरुको लाइन फेरि पनि दक्षिणपन्थी नै हो । उग्रवामपन्थीको खोलभित्रको दक्षिणपन्थी कमजोरी उहाँहरुमा छ भन्ने हाम्रो विश्लेषण हो ।
बाबुरामजी त माक्र्सवादी कित्ताबाटै अलग भइसक्नु भयो । उहाँहरुलाई माक्र्सवाद चाहिँदैन भन्ने पार्टीको कित्तामा राखेर विश्लेषण गरे हुन्छ । अहिले उहाँलाई कम्युनिष्ट समूहभित्र राखेर विश्लेषण गर्न म आवश्यक देख्दिनँ ।
जीवनभरी नै परख गरेको सिद्धान्त नै छाड्ने निष्कर्षमा बाबुराम किन पुगे होलान् ?
यो विडम्बनापूर्ण कुरा हो । जनयुद्ध र नेपालको कम्युनिष्ट आन्दोलनको नकारात्मक पक्ष हो यो । बाबुरामप्रवृत्ति मान्छे कतिसम्म परिवर्तन हुँदो रहेछन भन्ने नकारात्मक उदाहरण बनेको छ ।
राष्ट्रिय राजनीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
संविधान बनेपछि संक्रमणकाल सकियो भनेर शाषकवर्गका पार्टीले भनिरहेका छन् । तर, नेपालको संक्रमणकाल अन्त्य भएको छैन । जुनसुकै संविधान बनाए पनि देशकतातिर जाने भन्ने निश्चित भइकेको छैन । यहाँका समस्या विकराल छन् । क्रान्तिकारी शक्ति कमजोर भएकाले फिल्डमा त्यति ठूलो आन्दोलन र संघर्ष भएको छैन । तर क्रान्तिकारी शक्ति सधैंभरि कमजोर हुँदैन । अलिकति बलियो हुने वित्तिकै नेपालमा ठूलो क्रान्ति र आन्दोलन अघि बढ्ने सम्भावना विद्यमान छ ।
अन्तिममा केही भन्नु छ ?
देश अहिले संक्रमणकालबाट गुज्रिरहेको छ । ठूलो बलिदानपछि पनि समस्या ज्यूँकात्यू भएर गएको छ । यसलाई चिर्नका लागि नेपालमा ठूलो क्रान्तिकारी आन्दोलन आवश्यक छ । त्यसैका लागि उभ्भिन म आम सर्बसाधारणलाई आग्रह गर्न चाहन्छु । सत्तापक्षको मात्रै कुरा गरेर क्रान्तिकारी शक्तिको राम्रा पक्ष नै नदेखाउने काम मिडियाले गरिरहेका छन्, उनीहरुलाई म राम्रा कुरा देखाएर मिडियाको भूमिका निर्वाह गर्न आग्रह गर्न चाहन्छु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल