केपी र प्रचण्डको उचाइ मदन र मनमोहनजत्तिकै

केपी र प्रचण्डको उचाइ मदन र मनमोहनजत्तिकै

एमाले पोलिटव्युरो सदस्य तथा सांसद कर्णबहादुर थापा यसअघिको सरकारमा उद्योगमन्त्री थिए । मन्त्रालय सम्हालेको ६ महिनामै आफ्नै पार्टीले फिर्ता बोलाएपछि थापा निरन्तर पार्टी संगठनको काममा सक्रिय छन् । दुई ठूला वाम पार्टी एमाले र एमाओवादीको सम्बन्धबारे थापासँग रातोपाटीका लागि रमन पौडेलले गरेको कुराकानी :

Karna-thapa
नयाँ सरकारको पृष्ठभुमि :
अहिलेको सरकार एकदम कठिन परिस्थितिमा बनेको हो । यो सरकार बन्नुको एउटा मुख्य आधार भनेको संविधान जारी गर्नुअघिको १६ बुँदे सहमति हो ।
त्यो सहमति नेपालको इतिहासमा मुलुकलाई नयाँ बनाउन मूल राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश पनि थियो । राजनीतिक अस्थिरताका कारण देशको दुरावस्थाबाट अघि बढ्नुपर्छ भन्ने सोचेर दूरगामी महत्वका लागि त्यो सहमति भएको थियो ।
यसरी १६ बुँदे सहमतिको पृष्ठभूमिमा यो सरकार बन्यो । त्यतिबेला सहमतिक्रममा नेपाली कांग्रेस पनि थियो । र, सबै प्रकारका शक्ति एकठाउँमा आउनुपर्छ भन्ने सन्देश थियो त्यो ।
नेपाललाई समृद्ध बनाउन मूल राजनीतिक शक्ति एकठाउँमा उभिनुपर्छ । अहिले जो राजनीतिक अस्थिरताका कारणले गर्दा आर्थिक प्रगति गर्न आवश्यक पर्ने योजना नहुँदा जुन दुरावस्था छ, यस्तो अवस्थाबाट अगाडि लैजानुपर्छ भन्ने मूल राजनीतिक पार्टीको अति महत्वपूर्ण सहमति थियो त्यो ।
संविधान जारी गर्न सबै एक हुनुपर्छ र सबै प्रकारका असहमतिलाई अहिले थाती राख्ने सैद्धान्तिक राजनीतिक मतभेद जे छन्, धारणा, दृष्टिकोण सैद्धान्तिक छन्, ती वैचारिक छन् । तिनलाई पनि थाती राखेर अहिलेको तात्कालिक मुद्दालाई अघि बढाउन यो सहमति आवश्यक थियो । तर, सो सहमतिमा पछि कांग्रेस अड्न सकेन वा टिक्न सकेन ।
त्यसमा के थियो भने संविधान जारी गर्ने, स्थानीय निकाय चुनाव गराउने । र, पछि प्रदेशको चुनाव गराउने । संघीय चुनाव पनि तीन मूल राजनीतिक शक्ति वा चार शक्ति मिलेर गर्ने बाटो प्रशस्त थियो । यसकै आधारमा अब देश अराजकताको भुमरीमा रुमलिरहन सक्दैन । अब देशले एउटा गति लिन्छ । राजनीतिक असमझदारी एकठाउँमा ल्याएर हल गर्न सकिन्छ । जे–जति दुःख नेपाली जनताले अधिकार प्राप्तिको लडाइँमा भोगे, त्यो सबै चीजको पनि अब उनीहरूले मूल्य पाउनेछन् भनेर जनताले विश्वास दिएर अगाडि बढ्ने किसिमको एउटा सहमति भएको थियो । यद्यपि, संविधान जारी गरुन्जेलसम्म नेपाली कांग्रेसको सकारात्मक भूमिका रह्यो ।
सरकारको समीक्षा 
दीर्घकालीन रूपमा देशलाई दिशा दिने सन्दर्भमा यो सरकारले अति महत्वपूर्ण काम गरेको छ । यो सरकार बनिरहेको बेला भारतको नाकाबन्दी थियो । नाकाबन्दी यो सरकारले विरासतका रूपमा लिएको थियो । अर्थात् यो सरकारभन्दा अघिल्लो सरकार सुशील कोइरालाको पालामै नाकाबन्दी थियो ।
तर, त्यस्तो जटिल अवस्थामा पनि सरकार अडिने कुरा महत्वपूर्ण हो । गलत थियो भनेर मात्रै हुँदैनथ्यो । गलत थियो भन्नका लागि सरकारले राष्ट्रिय अडान लियो । स्वाभिमानका लागि सरकारले जे गर्नुपर्ने थियो, त्यो अत्यन्तै धेरै ऐतिहासिक महत्वको काम गर्यो ।
सधैँभरि भारतसँग लडिरहने कुरा पनि थिएन । भारतसँग नेपाल सरकारको प्रधानमन्त्रीको हैसियतले केपी ओलीले नेपालको अहितमा केही सम्झौता गर्दिनँ भनेर भन्नुभयो । नेपालको हितमा मात्रै कुरा गर्छु भन्नुभएको थियो । जे भन्नुभयो त्यो गरेर आउनुभयो । त्यो पनि यो सरकारले गरेको महत्वपूर्ण दूरगामी काम हो ।
भारतको नाकाबन्दी अघोषित नै भए पनि अघोषित रूपमै हट्यो । यो पनि सकारात्मक काम थियो । तर, भारतसँग नेपाल झुकेन । नेपालको राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै नेपालको अलग अस्तित्व छ । नेपाल स्वतन्त्र राष्ट्र हो । आफ्नै विवेक र बलबुताले अघि बढ्छौँ हामी भन्ने सन्देश पनि यो सरकारले दिएको छ र स्थापित पनि भएको हो ।
भन्न त हामीले पहिलेदेखि नै भन्दै आएका थियौँ । तर, बीचमा के भयो भने भारतले जे भन्यो त्यही हुन्छ भन्ने किसिमको गलत सन्देश पनि व्याप्त थियो । यसलाई यो सरकारले तोडेको छ । र, नेपाली जनताको राष्ट्रियता प्राप्तिको भावनालाई उचाइमा पुर्याएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण भयो । चीनसँग गरिएका सम्झौता अति नै दूरगामी महत्वका छन् । भारतले जो नाकाबन्दी लगायो, नेपाललाई दबाबमा राखेर आफ्नो कुरा लाद्ने त्यो तरिका थियो । किनकि हामीले भारतको बन्दरगाह प्रयोग गर्नैपथ्र्यो ।
तर, अहिले चीनसँग भएको पारवाहन सम्झौता जो भएको छ, नेपालमाथि अब भारतको एकलौटी दबदबा समाप्त भयो भन्ने सन्देश पनि त्यो सम्झौताले दिएको छ । भारतले त्यस्तो किसिसमको गतिविधि गर्न खोज्यो भने नेपालले चीनसँग मिलेर आफ्नो हितमा काम गर्न सक्छ ।
नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाले त्यस्तो गर्न खोज्नुभयो । सम्भव भएन । कीर्तिनिधि विष्टले कोसिस गर्नुभयो त्यो पनि सम्भव भएन । बीचमा जो–जो प्रधानमन्त्री बन्नुभयो, उहाँहरूका पनि चीनसँग यो स्तरको सम्झौता होस् भन्ने प्रयत्न थिए ।
दुई देशबीचमा ट्रान्समिटर लाइन बनाउने र हिल्साबाट जो बाटो जोड्ने कुरा भएको छ, नाका खोल्ने कुरा भएको छ, त्यो आफैँमा राम्रो काम हो । चीनजस्तो ठूलो देशसँग नेपालले लिएको विश्वास निकै महत्वपूर्ण छ । यो सरकारका अति नै महत्वपूर्ण कामबारे यस्तो मूल्यांकन हुनुपर्छ भन्ने लाग्छ ।

सरकारका कमजोरी 
यो सरकारका केही कमजोरी पनि छन् । नाकाबन्दी र त्यसबाट उत्पन्न भएको कालोबजारीलाई जसरी नियन्त्रण गर्न सक्नुपथ्र्यो । जनताको दैनिक समस्यालाई प्रभावकारी रूपमा कम गराउन सक्नुपथ्र्यो । त्यो देखिएन । यो कुरा सरकारको कमजोरी नै हो ।
तर पनि सरकारले गरेका यति महत्वपूर्ण कामसँग यी कमजोरीको तुलना गरेर सरकार असफल भनेर सानो कुरालाई ठूलो बनाएर अति महत्वपूर्ण कामलाई अन्डरमाइन्ड गराइयो भने त्यो अन्याय हुनेछ । यो देशकै हितमा हुँदैन ।
माओवादीसँग एमालेको सम्बन्ध 
एमाले र एमाओवादीको सम्बन्धलाई दूरगामी हिसाबले हेर्नुपर्छ भन्ने मलाई लाग्छ । सरकार टिक्ने वा नटिक्ने भन्ने विषय त अल्पकालीनमात्रै हो । नेपालको वामपन्थी आन्दोलनका लागि नै सिंगो देशको हितलाई केन्द्रमा राख्ने हो भने नेपालमा धेरै कम्युनिस्ट पार्टीका दोकान÷पसल यति धेरै भए कि जो अहिले आवश्यक छैन । अनेक सन्दर्भ र परिस्थितिले यस्तो भयो होला ।
नेपालको इतिहास हेर्ने हो भने बीपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराई राइट फोर्सको नेतृत्व गर्नुभयो । अर्को तर्फ लेफ्ट मुभमेन्टतर्फ मदन भण्डारी, मनमोहन, पुष्पलाल, जो अहिले हुनुहुन्न ।
बाँकी अहिले जसले ती शक्तिको नेतृत्व गरिरहेका छन्, त्यही तह वा जिम्मेवारीका नेतामा केपी ओली र प्रचण्ड हुन् । उहाँहरूको उचाइ अघि नाम लिइएका नेताको उचाइमा छ । अब अहिले जीवित मान्छेबारे महत्व कम गर्ने । यही मान्छे हो, जसको अनुपस्थितिमा उसको महत्व अलि बढाउने प्रवृत्ति छ । कतै पनि बढाउन वा घटाइनुहुँदैन । सही मूल्यांकन नै गर्नुपर्छ भन्ने मलाई लाग्छ । बीपीको उचाइका लागि उनी एक्लै जिम्मेवार छैनन् । उनले निर्माण गरेका पार्टीमात्रै जिम्मेवार छैन । अन्य अन्तर्राष्ट्रिय शक्ति पनि जिम्मेवार छन् । तर, जो मैले अरू दुई नेताको नाम लिएँ, त्यो तहका थिएनन् । मदन भण्डारी सामान्य तहको मान्छे हुनुहुन्थ्यो । र, जीवित दुई नेतामध्ये प्रचण्ड वा केपी ओली सामान्य परिवारका मानिस हुन् ।
प्रचण्डको परिवार हेर्ने हो भने उहाँको परिवारका मानिस वडा तह वा गाउँ तहको समेत प्रभाव केही थिएन । आफ्नै बलबुता र विवेकले बनाएको संगठन यति धेरै मानिसलाई परिचालित गर्ने प्रभाव उहाँले बनाउनुभयो ।
त्यो प्रकारको उचाइ वैचारिक परिचालनको क्षमता र जुन संगठन निर्माण गर्नुभयो । त्यो निकै महत्वपूर्ण हो । यसलाई कमजोर भनिनुहुँदैन । केपी ओलीको सवालमा पनि उहाँको पुर्खा कुनै तहमा थिएनन् । दुवैजनालाई के आग्रह गर्न चाहन्छु भने नेपाल कता लैजाने भन्ने कुरामा सन्तुलित र दीर्घकालीन रूपमा सोचेर निःस्वार्थ ढंगले सोचेर अघि बढ्नुभयो भने यो राष्ट्रलाई सही दिशामा लैजानुहुन्छ ।
सानातिना कुरामा अल्झेर होइन । त्यस्ता साना कुराको आवश्यकता पनि छैन उहाँहरूलाई । केपी ओली र प्रचण्डलाई के कुराको आवश्यकता छ अहिले ?
निजी कुरा के प्राप्त गर्नु छ उहाँहरूलाई । देशको प्रधानमन्त्री यति ठूलो संगठनको प्रमुख भइसकेका व्यक्ति । सानातिना कुरा । सरकार ढाल्ने कि बनाउने भन्ने संकुचित कुरामा अल्झिने होइन ।
बरु देशलाई कता लैजाने भन्ने कुरामा उहाँहरू अघि बढ्नुपर्छ । उहाँहरूप्रति जनताको विश्वास के हो । हजारौँ मान्छे मर्न, मार्न तयार भए । केका लागि ? यति ठूलो साथ र सहयोग दिएका हुन् नि । त्यो सपनालाई प्रचण्ड वा केपी ओलीले बिर्सन मिल्छ ?
यो सरकार यताउता हुने भन्ने भन्दा पनि उहाँहरूबीचमा पनि के छ भने नेपाली कम्युनिस्टले यति धेरै त्याग गरे तर देशलाई अघि बढाउने र व्यवस्थापन सवालमा कम्युनिस्टको कमजोरी भयो । अब हामी हाम्रो बुद्धि लगाएर उहाँका साथमा हजारौँ हजार सिर्जनशील युवा छन् भन्ने विश्वास दिनुपर्छ ।
हजारौँ डाक्टर, इन्जिनियर केपी वा प्रचण्डको मातहतमा छन् । उहाँलाई आवश्यक पर्दा परिचालित हुनेगरी डाक्टर इन्जिनियर छन् । विश्वको सारा ज्ञान भएका मान्छे उहाँहरूको मातहतमा छन् । अहिले अमेरिकामा के चलिरहेको छ भन्ने कुरा थाहा पाउन केपी वा प्रचण्ड आफैँलाई थाहा नहोला । तर, उहाँसँग भएका मानिसले थाहा पाउन सक्छन् । यो अति नै अनुकूल परिस्थिति पनि हो । नेपालको वामपन्थी आन्दोलनलाई एकजुट र एकत्रित गर्ने यो अनुकूल अवसर हो । र, नेपाली जनताको समृद्धिको चाहना समानताको चाहना पूर्ति गर्ने युगीन अवसर र अभिभारा उहाँहरूको अगाडि छ ।
यसो भनिरहँदा हामी यो देशका थुप्रै युवा जो राजनीतिमा छौँ, हाम्रो पनि दायित्व छ । यो चाहनालाई उहाँहरूले बुझ्नुपर्छ । गलत सूचना दिने, निजी स्वार्थपूर्ति गर्न विभाजन ल्याउने । यस्ता मानिस र प्रकृत्तिबाट जोगिनुपर्छ । वस्तुगत परिस्थिति पनि बनेको छ अहिले ।
स–साना पार्टी किन बनाउने । केका लागि बनाउने भन्ने कुरा औचित्य नै छैन । स्थापनाकालदेखि नै कम्युनिस्ट आन्दोलन हेरौँ । पहिले माले थियो, जो अहिले एमाले छ । सशस्त्र विद्रोह गर्ने कुरा हामीले गर्यौँ । माओवादीले त सेना नै गठन गर्यो, डिभिजनस्तरको सेना गठन गरेर सेनाका ब्यारेकमा आक्रमण गरेर । मान्छेले विश्वास नगरीकन ज्यान फाल्न हिँडेका हुन् ?
जागरण र सचेतनता योभन्दा ठूलो के हुन सक्छ । यो कसले गर्न सक्छ त ? त्यसैले सबै प्रकारको जिम्मेवारी उहाँहरूको काँधमा छ भने उहाँहरूले हो नेपालको सिंगो कम्युनिस्ट आन्दोलनलाई एक बनाउने । र, सिंगो कम्युनिस्ट शक्तिलाई एकताबद्ध पार्ने ।
तर, निजी र संकीर्ण स्वार्थ हटाउनुपर्छ । जब हामी भारतको हस्तक्षेप मान्दैनौँ भनिरहेका छौँ भने सिंगै नेपालीलाई एकठाउँमा उभ्याउनुपर्छ कि पर्दैन ? जब हामी संसारका विकसित र समृद्ध राष्ट्रमा देशजस्तै बनाउँछौँ, भनिरहेका छौँ भने हामी स–साना कुरामा लडाइँ झगडा गरेर बसिरहन मिल्छ ? यसका लागि एकता र न्यूनतम पनि समझदारी आवश्यक छ । उहाँहरू यसमा लाग्नुपर्छ । सबै जनतालाई एक ठाउँमा ल्याउन सकिन्छ ।
एकताका जटिलता 
निजी स्वार्थ र संकीर्ण सोचले गर्दा यो अभियानअघि बढ्न सम्भव छैन । बाहिरी शक्तिको चलखेल हुन सक्छ । देशी–विदेशी र स्वार्थी संकीर्ण शक्ति नेपालभित्र र बाहिर पनि छन् । ती कुरालाई हामीले चिनिन सक्नुपर्छ । चिनेका छौँ । हामी केका लागि राजनीति गरिरहेका छौँ भन्ने जान्नुपर्यो । हामीले आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । अनेक कम्युनिस्ट पार्टी बन्नु र अलग पार्टी बन्नुमा एउटै कारण हो– संकीर्णता । यदि ठूला मतभेद भए पनि त्यो मूल कारण होइन । बहसबाट समाधान हुन सक्छ । हामीले हिजो के भन्यौँ । के प्राप्त गर्यौँ भन्ने मूल्यांकन गर्नु आवश्यक छ ।
अल्पकालिन योजना र खाका 
तत्कालीन कुरा के भने, अहिले संविधान जारी गर्यौँ । यो संविधानले विभेद र शोषण अन्त्य भएको भनी बाटो खुला गरिदिएको छ । नेपाललाई समृद्ध राष्ट्र बनाएर आर्थिक उन्नतिको बाटोमा जान यसले बाटो प्रशस्त गरेको छ । यद्यपि, केही बाधक शक्ति छिटपुट रूपमा छन् । यो संविधान मान्दैनौँ भनिरहेका छन् । केही क्षेत्रीयतावादी शक्ति र केही जातिवादी शक्ति छन् । त्यो सबैलाई पराजित गर्नका लािग पनि यो संविधान जारी गर्न एकठाउँमा आउन आवश्यक छ । यो संविधान जारी गर्नका लागि त कांग्रेस र अन्य प्रजातान्त्रिक शक्ति आवश्यक छ भने अहिले मिलेका दुई शक्ति एमाले र माओवादी त एकठाउँमा आउनैपर्छ । यसलाई विभाजित गरेर कमजोर बनाइयो भने अरू बनाउने ठाउँ हुँदैन ।
स्थानीय निर्वाचनको माग भइरहेको छ । स्थानीय निकाय चुनाव मिलेर गर्न सकिन्छ । वामपन्थी एकताको कुरा गरिरहँदा अरू तर्सिनुपर्ने छैन । अरू शक्ति पनि मिल्न सक्ने सम्भावना छ भने मिले हुन्छ । यो त खुला दृष्टिकोणको कुरा हो । राजनीति भनेको लुकेर छिपेर गर्ने कुरा होइन ।
कुनै राइटिस्ट फोर्सले पनि अलग अलायन्स बनाउछौँ भन्यो भने स्वागतयोग्य कुरा हो । स्थानीय निकाय चुनावको सन्दर्भमा पनि यो वातावरण हुन सक्छ । अहिले नै वामपन्थी एकता टाढाको कुरा छ भने स्थानीय निकाय चुनावमा सहकार्य गरेर जाउँ । कार्यगत एकता गरेर जाउँ । त्यो कार्यगत एकता सहज र अपरिहार्य पनि छ । यसका वस्तुगत आधार पनि छन् । प्रदेशको चुनावमा पनि कार्यगत एकता गर्न सकिन्छ । संघीय निर्वाचन गरौँ त्यहाँ पनि कार्यगत एकता गरौँ ।
अब यसो भनिरहँदा कसैको विरुद्ध यसो भनिरहेका छैनौँ । एउटैखालको आदर्श, विचार र सिद्धान्त लिएर अघि बढ्नेबीचमा एकता भयो भने सार्थक हुनेछ । नेपालमा धेरै पार्टी हुनु पनि आवश्यक छैन । संसारका विकसित देशमा पनि मूलभूत रूपमा दुई पार्टी छन् भने हाम्रोमा यति धेरै आवश्यक छैन । पार्टी व्यवस्था भनेको कुनै व्यवसाय होइन । यो त देशको दायित्व पूरा गर्न निर्माण गर्ने संयन्त्र हो । पार्टी खोलौँ न भनेर पसल खोलेजस्तो बनिरहेको छ । यो त समाज बदल्ने कुरा हो । फेरि पनि संकीर्णता त्याग्नुपर्छ । र, कार्यगत एकताको माध्यमबाट पार्टी एकताको तहमा पुग्नुपर्छ ।
(कुराकानीमा आधारित)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल