हो, हाम्रो पार्टी छाताजस्तो भएको छ

हो, हाम्रो पार्टी छाताजस्तो भएको छ

 ram bahadur thapa badal all party meeting (4)

तपाईंले ०६९ साल असारमा पार्टी विभाजन गर्दै पेरिसडाँडाँबाट बुद्धनगर पुग्नुभयो । चार वर्षपछि पेरिसडाँडा फर्कनु भएको छ । कस्तो रह्यो पेरिसडाँडाँदेखि पेरिसडाँडाँसम्मको यात्रा ?

खासमा यो पेरिसडाँडाँ त्यो पेरिसडाँडा होइन, हामीले पुरानो पेरिसडाँडा र पुरानो बुद्धनगर भत्काइदिएका छौँ, एउटा नयाँ पार्टी निर्माण गरेका छौँ । हामी नयाँ ठाउँमा आएका छौँ । नयाँ पार्टी माओवादी केन्द्र निर्माण गरेका छौँ । यहाँ आइपुग्नुको अर्थ हामीले जनता, कार्यकर्ता र इतिहासको आवश्यकतालाई सही ढंगले सम्बोधन गरेका छौँ । वास्तवमा माओवादीहरूबीचको एकता इतिहासको अपरिहार्य आवश्यकता हो भन्नेमा हामी सबै माओवादी सहमत भयौँ । आत्मसमीक्षाको दृष्टिकोणले हेर्दा, हामीले हाम्रा कमजोरी र मनोगतवादलाई सच्याएर वस्तुवादी भएका छौँ । हामी एउटा वस्तुगत धरातलमा उभिएका छौँ ।

तपाईंहरूले हिजो फुट्दा पनि अपरिहार्य भन्नुभएको थियो, आज जुट्दा पनि त्यही भनिरहनुभएको छ । आफ्ना जुनसुकै कदमलाई पनि अपरिहार्य भन्ने कम्युनिस्टहरूको चलन नै छ । खासमा हिजो प्रचण्ड नेतृत्वको पार्टीमा के कमजोरी थियो जो आज सुधार भयो भन्ने मान्छेले मेसो पाएका छैनन्, तपाईंहरूले के सुधार देख्नुभयो र जुट्नुभयो?

सुधारभन्दा पनि हामीले कतिपय सवालमा गम्भीर आत्मसमीक्षा गरेका छौँ । हिजो हामीबीच कैयौँ वैचारिक तथा राजनीतिक मतभेद देखा परे । तिनले हामीमा विभाजन देखा पर्‍यो । जनजीविका तथा जनतन्त्रजस्ता नेपाली क्रान्तिका आधारभूत राजनीतिक सवालमै पनि भिन्नता आए । तिनलाई बुझ्ने तथा निरुपण गर्ने सवालमा हामीबीच गम्भीर फरकपना आए । त्यसैले फुट अपरिहार्यजस्तो बन्न गयो ।

ती मतभेदमध्ये कतिपय जायज थिए भने कतिपय मनोगतवादी सावित पनि भए । जुन परिणाम आज देखा परेको छ, त्यसले हामीले फेरि एउटै धरातलमा उभिनुपर्ने आवश्यकता बनेको छ । माओवादी जुटेर मात्र आजका चुनौतीको सामना गर्न सकिन्थ्यो । यही अनुभूतिले हामीलाई एक ठाउँमा ल्याएको हो । इतिहासले हामीलाई एकताबद्ध हुने आदेश दियो, हामीले त्यसको पालना मात्र गरेका हौँ ।

तर, हिजो पार्टी फुट्दा प्रचण्डलाई तपाईंहरूले नवसंसोधनवादी भन्नुभएको थियो, आज तपाईंलाई त वैद्यहरूले आत्मसमर्पणवादी र नवसंशोधनवादीको पनि पुच्छरसम्म भन्नुभएको छ । आरोप त झन् गम्भीर लाग्यो नि तपाईंहरूमाथि ?

उहाँहरूले जुन आरोप लगाउनुभएको छ, त्यो एकदम बेठीक छ । नेपालको कम्युनिस्ट आन्दोलनमा जुन संकीर्णतावाद छ, त्यसका निरन्तरताको रूपमा हामीले यसलाई बुझेका छौँ । यो एकता अभियानलाई एउटा निष्कर्षमा पुर्‍याउने, एकता इतिहासको आवश्यकता हो भन्ने तत्कालीन क्रान्तिकारी माओवादीको निर्णयको पनि विरुद्धमा छ । उहाँहरूले हामीलाई लगाउनुभएको नवसंशोधनवाद र पुच्छरवादको पुष्टि गर्न सक्नुहुनेछैन । कमरेडहरूलाई हाम्रो अनुरोध के छ भने कम्युनिस्ट आन्दोलनको यो संकीर्णता र जडतालाई अब तोड्नुपर्छ । तर यो विषय सायद हामीले बुझाउन सकेनौँ, बुझाउन सकेको भए एकतामा आउनुहुन्थ्यो । अर्कोतिर हेर्दा उहाँहरूले बुझ्नुभएन । हामीले बुझाउन त खोज्यौँ, तर बुझ्नुभएन । त्यसैले हाललाई एकताबद्ध हुन सक्नुभएन । हाम्रो एकतापछि किरणजीहरूले दिनुभएको वक्तव्यमा हाललाई एकता प्रक्रिया स्थगित गरेको भन्नुभएको छ । हाललाई भन्ने शब्द ‘नोटेबल’ छ । भोलि नयाँ परिस्थितिमा एकता प्रक्रियामा उहाँहरू आउनुहुनेछ भन्ने लाग्छ ।

हिजो तपाईंहरू फुट्दा वैद्य, बादल र विप्लवहरू अन्त कतै जान हिाडे भन्ने थियो । तर, तपाईं अन्त कतै नगएर केही समय अलमल गरी फर्कनुभयो, तपाईंहरूको राजनीतिलाई अनुमान गर्ने पर्यवेक्षक पनि अलमलमा परेका छन्, तपाईंलाई कस्तो लाग्छ ?

विशेषगरी चुनवाङ बैठकसम्म आइपुग्दा हामीले माओले विकास गर्नुुभएको कार्यदिशाबाट अघि बढ्न सकिँदैन भन्ने निष्कर्ष निकाल्यौँ । नयाँ रणनीति र कार्यनीतिक शृंखलाबाट मात्र क्रान्तिलाई पूरा गर्न सकिन्छ भन्ने विश्वाससहित हामी शान्ति–प्रक्रियामा आएका थियौँ । संविधानसभा, अन्तरिम सरकार र जनसंविधानको निर्माण गर्ने कार्यनीतिक शृंखला बनाएका थियौँ । शान्तिपूर्ण ढंगले क्रान्तिको तयारी गर्ने र पूरा गर्ने योजनासहित आएका थियौँ । तर, त्यसो हुन सकेन । एक ढंगले रणनीति र कार्यनीतिलाई विकास गर्ने सम्बन्धमा हामीबीच मतभेद देखा पर्‍यो । केही कमरेड अलि बेग्लै ढंगले जान थाल्नुभयो । संविधानसभा विघटन भयो । सेना समायोजनको प्रश्नमा पनि हामीमा मतभेद देखा पर्‍यो । त्यो फौजी कार्यदिशाको सवाल थियो । त्यसलाई कसरी लागू र विकास गर्ने भन्नेमा दुई मत भए । राष्ट्रियताको सवालमा पनि हामी एकै ठाउँ उभिन सकेनौँ । परिणामस्वरूप विभाजन भएको हो ।

तर, यहाँसम्म आइपुग्दा हामीले जुन–जुन कार्यदिशा अवलम्बन गर्‍यौँ, त्यसले हाम्रो लक्ष्य पूरा हुन सकेन । हामीले अवलम्बन गरेका कार्यदिशा असफल सावित भए । त्यसले नेपाली क्रान्तिलाई पूर्णता दिन पनि सकेन । त्यो अनुभव र त्यो आत्मसमीक्षासहित हामीले यो कोर्स सुरु गरेका हौँ । हामीले नेपाली क्रान्ति पूरा गर्न नयाँ कार्यदिशा जरुरी छ, विचारलाई विकास गर्न जरुरी छ र नयाँ पार्टी आवश्यक छ भन्ने समीक्षा गरेका छौँ । त्यो विकास गर्न विभाजित माओवादी एकै ठाउँ आई संयुक्त पहल गर्न जरुरी छ । र, यसरी नै अहिले सामना गर्नुपरेका चुनौतीलाई परास्त गर्न सकिन्छ । यी दुई निष्कर्षसहित हामी एकताबद्ध भएका हौँ।

एमाओवादीले नयाँ संविधानको अपनत्व लिएको थियो । तपाईंहरूले त दोस्रो संविधानसभाको निर्वाचन नै सक्रिय बहिष्कार गर्नुभयो, सकेसम्म संविधानसभालाई असफल पार्ने तपाईंहरूको रणनीति थियो, अब दुई विपरीत मान्यताका नेताहरू संविधानको विषयमा कसरी मिल्छन् ?

दोस्रो संविधानसभाको निर्वाचन प्रायोजित हो भन्ने हाम्रो निष्कर्ष थियो । त्यस्तो निर्वाचनबाट बन्ने संविधानसभाबाट जनताको संविधान बन्दैन भन्ने हाम्रो मत थियो । त्यसकारण हामी त्यो निर्वाचनमा सहभागी भएनौँ । एमाओवादी भन्ने बन्छ भन्दै निर्वाचनमा सहभागी भयो । परिणामले दुवै सही थिएनन् भन्ने देखायो । हामीले भनेअनुसार पनि भएन, एमाओवादीका साथीहरूको आँकलनअनुसार पनि भएन । जनयुद्ध, जनआन्दोलन एवम् मधेस आन्दोलनलगायत संघर्षको परिणामस्वरूप संविधानमा जनताका केही अधिकार सीमित रूपमै भए पनि संस्थागत भएका छन् । संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता उपलब्धि नै हुन्, त्यसको स्वामित्व लिनुपर्छ, तिनको रक्षा गर्नुपर्छ । त्यसमाथि टेकेर जनताको अधिकारलाई पूर्णता दिने आन्दोलनलाई जारी राख्नुपर्छ । अर्कोतर्फ संविधानमा प्रतिक्रियावादी, यथास्थितिवादी प्रावधान पनि छन् । यसले जनविरोधी शक्ति र वर्गको अधिकारलाई पनि संस्थागत गरेको छ, संसदीय व्यवस्थाजस्तो जनताको अहित गर्ने व्यवस्थासमेत संस्थागत गरेको छ । हामीले नयाँ संविधानलाई हेर्न द्वन्द्ववादी नीति लिएका छौँ । त्यसमा भएका सकारात्मक उपलब्धिको रक्षा गर्नुपर्छ, स्वामित्व लिनुपर्छ । र, तिनीमाथि टेकेर पूर्ण अधिकारका निम्ति संघर्ष जारी राख्नुपर्छ । जुन नकारात्मक र प्रतिक्रियावादी, यथास्थितिवादी प्रावधान छन्, तिनलाई खारेज गर्नतिर लाग्नुपर्छ । यही नीति र दृष्टिकोण नै पार्टी एकताको राजनीतिक आधारका रूपमा लिएका छौँ । पार्टी एकताको आधारको रूपमा रहेको १३ बुँदामा यो एउटा महत्त्वपूर्ण बुँदा बनेको छ ।

त्यसो भए तपाईंहरूले संविधानको स्वामित्व लिनुभएको हो ?

समग्रतामा हामीले यसको स्वामित्व लिएका होइनौँ । हामी यसको सकारात्मक पक्ष, जसले जनताका अधिकारलाई संस्थागत गर्छ, त्यसको स्वामित्व लिन्छौँ । यसका जनविरोधी प्रावधान, जस्तै– संसदीय व्यवस्थाको स्वामित्व लिएका होइनौँ । महिलाहरूको विशेषाधिकारको मुद्दा, मजदुर किसानको राज्यव्यवस्थामा उचित प्रतिनिधित्वको सवाल, पहिचानलाई स्थापित गर्ने विषय आदिमा यो संविधानमा खास केही भएको छैन । कैयन विषयमा अन्तरिम संविधानभन्दा पनि पछाडि फर्कने काम भएको छ, अधिकार खोस्ने काम भएको छ । तिनको हामी कसरी स्वामित्व लिन सक्छौँ ? तात्कालिक एमाओवादीले पनि संसदीय व्यवस्थालगायत कतिपय प्रावधानमा ‘नोट अफ डिसेन्ट’ राखेको थियो । यथास्थितिवादी प्रावधानको विरोध गरेको थियो । त्यो भनेको संघर्षलाई निरन्तरता दिने भनेको हो । अब एकताबद्ध भएको स्थितिमा तिनीहरूविरुद्ध संघर्ष गर्न जरुरी छ । मधेसी, जनजातिहरू जो सडकमा छन्, उनीहरूले पनि यही कुरा उठाइरहेका छन् । किनकि, उनीहरूका अधिकार संविधानमा संस्थागत गरिएका छैनन् भन्ने छ ।

एकतापछि पार्टीको केन्द्रीय कमिटी बैठक पार्टी प्यालेसमा गर्नुपर्ने अवस्था आयो । केन्द्रमा सात सय मान्छे राख्दा पनि धेरैको गुनासो सुनियो, अझै विस्तार गर्दा केन्द्रीय कमिटीको बैठक टुँडिखेलमै गर्नुपर्ने दिन पनि आउला, ग्रासरुट लेभलमा सुक्दै जाने माथितिर फुक्दै जाने तरिकाले पार्टीलाई कसरी अघि बढाउला ?
अहिले हामीले जे गरेका छौँ, ठीक गरेका छौँ । आजको आवश्यकता भनेको हाम्रा सबै सदस्यलाई समेट्ने हो । सबैलाई समेट्दा कमिटी ठूला हुन्छन् । यो वर्तमानको ठोस आवश्यकता हो । तर, सधँैभरि यस्ता किसिमका कमिटीले क्रान्तिको नेतृत्व गर्न सक्दैन, त्यसलाई सफलतासम्म पुर्‍याउन सक्दैन । भोलि यो अवस्थालाई बदल्नैपर्छ । हो, अहिले छाताजस्तो संगठन बनेको छ ।

तर, यसो भनेर हाम्रो संगठनात्मक कार्यदिशामा त्रुटि नै छैन भन्दिनँ । माथि बस्न खोज्ने, आधारमा काम गर्न नचाहने समस्या छ । यसको अर्थ नेता, कार्यकर्ताको दिमागमा संगठन निर्माणसम्बन्धी, कमिटी निर्माणसम्बन्धी केही त्रुटि छ भन्ने नै हो । यो सोच बदल्नुपर्छ । संगठनात्मक कार्यदिशा विकास गरेर यो अवस्थाको अन्त्य गर्न सकिन्छ । वास्तवमा संगठनात्मक विधि विकास गरी पार्टीलाई सुदृढ बनाउन हामीले पार्टी एकता गरेका हौँ । हाम्रो चाहना संगठनात्मक एकाकारले जनतासँग साक्षात्कार गरोस् भन्ने हो । जनताबाट अलग भएर माथि मात्रै थुप्रिने सोच भएका नेता वा कार्यकर्ताले राजनीतिको नेतृत्व गर्न सक्दैन ।

हो, अहिले हाम्रो पार्टी एक ढंगको मञ्चजस्तो भएको छ । संयुक्त मोर्चाजस्तो पनि छैन । अहिले हामीले मञ्च खडा गरेका छौँ, फरक–फरक कित्तामा रहेका माओवादीलाई एउटा मञ्चमा ल्याएका छाँै । मञ्चबाट नयाँ पार्टी निर्माण गर्ने प्रक्रिया सुरु गर्छौं । बाह्य रूपबाट हेर्दा निश्चय पनि जम्बो केन्द्रीय कमिटी बनेको छ । तर, यो अस्थायी हो । यो अहिलेको बाध्यता पनि हो । सधैँभरि यस्तो हुँदैन । हाम्रो लक्ष्य संख्यालाई गुणमा बदल्ने हो, गुणमा बदल्दा यो संख्या आफैँ घट्छ । महाधिवेशनसम्म जाँदा संगठनात्मक कार्यदिशा, विधि–विधान नयाँ ढंगले विकास गर्छौं । महाधिवेशनले सात सयको कमिटी बनाउने छैन, एउटा सुन्ना घटेर ७० जनाको बनाउन सक्छ ।

10 maoist parties unification (18)माओवादीले नयाँ–नयाँ प्रयोग गर्ने र त्यसलाई प्रमाणित गर्न इतिहासको आवश्यकता हो भन्ने गरेको पाइन्छ । अहिले जिल्ला तहमा रहेकालाई केन्द्रमा ल्याउने, पछि त्यही व्यक्तिलाई जिल्लामा पठाउँदा त्यसको मनोबल घट्ला कि बढ्ला ? पार्टी सुदृढ होला कि कमजोर ?

त्यस्तो सोच राख्ने व्यक्ति पार्टीको सदस्य हुन सक्दैन । त्यस्तो व्यक्ति बुर्जुवा पार्टीको सदस्यभन्दा पनि तल्लोस्तरको हो । समकालीन राजनीतिमा हेर्दा बुर्जुवा पार्टीमा समेत एकपटक अध्यक्ष भएको व्यक्ति फेरि सदस्य भएर काम गरेको पाइन्छ । बिजेपीका सात–आठजना पूर्वअध्यक्ष केन्द्रीय सदस्य मात्र भएर काम गरिरहेका छन् । युरोपका पार्टीमा हेर्ने हो भने आजीवन अध्यक्ष भन्ने हुन्न । अध्यक्ष भएको नेता साधारण सदस्य भएर रहन्छ । बुर्जुवाहरूले आफ्नो सोचलाई त्यहाँसम्म उठाएर आफ्नो वर्गलाई एकीकृत राखेका छन् । आफ्नो एकाधिकारलाई संसारभर कायम राखेका छन् । तर, सर्वहारा वर्गले त्यतिसम्म पनि गर्न सकेन । यो सर्वहाराको सांगठनिक चिन्तनमा आएको विचलन हो । हामीले अब मुख्य पदबाट साधारण सदस्यमा आउँदा पनि त्यत्तिकै उत्साहित हुने चिन्तनको विकास गर्न जरुरी छ । त्यस्तो पद्धति र विधान निर्माण गर्न जरुरी छ । अहिले केन्द्रमा आएका सबै तलका कमिटीमा बसेर काम गर्न तयार हुनुपर्छ । पदाधिकारी केन्द्रीय सदस्य मात्र भएर काम गर्न तयार हुनुपर्छ । आवश्यकताअनुसार कार्यविभाजनको जिम्मेवारी लिन हरेक पार्टी सदस्य तयार हुनुपर्छ । त्यो पद्धतिलाई आत्मसात् गर्न तयार हुनुपर्छ । पदबाट तल झर्दा मेरो बेइज्जत र अपमान हुन्छ भन्ने ठान्यो भने त्यसले कम्युनिस्ट पार्टीको विधि–विधान नै बुझ्न सकेन भनेर जान्नुपर्छ । ती पलायन पनि हुन सक्छन् ।

कार्यकर्तालाई त त्यसो भन्न सक्नुहोला, तर पदाधिकारीमा सिट सुरक्षित गर्न पनि विवाद भएको देखिन्छ । शीर्ष नेताकै यो दौडधूपले के सन्देश देला ?

त्यसो गर्नुहुँदैन । पदका निम्ति मरिहत्ते गर्न हुँदैन । तर, त्यसको अर्थ पद चाहिँदैन भन्ने होइन, पद भनेको जिम्मेवारी र भूमिका हो । पार्टीमा रहेका हरेक सदस्यले क्रान्तिका निम्ति योगदान गर्ने अवसर पाउनुपर्छ । भूमिकाको सम्मान र संरक्षण हुनुपर्छ । यसो गरेर मात्र हामी सही कम्युनिस्ट पार्टी निर्माण गर्न सक्छाँै । गलत मूल्यांकन हुने भनेको योगदानको अपमान गर्नु हो । त्यसकारण हरेक पार्टी सदस्यले एकअर्काको सही मूल्यांकन गर्न जरुरी छ । जिम्मेवारी र भूमिका वस्तुवादी रूपमा वितरण गर्न आवश्यक छ । योग्यताको कदर गर्नुपर्छ । सबैलाई योग्य बनाउने नीति अवलम्बन गर्नुपर्छ । पदाधिकारी निश्चित गर्ने भनेको यो पार्टीमा योगदान गरेकाहरूको सम्मान गर्ने पनि हो । उनीहरूलाई आफूलाई विकास गर्न अवसर दिने पनि हो । तर, यसलाई यो रूपमा नबुझी यसलाई आफ्नो व्यक्तिगत प्रतिष्ठाका निम्ति हानथाप भयो भने पार्टी व्यक्तिवादी हुन्छ ।

जनयुद्ध सुरु गर्ने मुख्य चारजनामध्ये दुईजना पार्टीबाहिरै हुनुहुन्छ । वैद्य बाहिरै हुनुहुन्छ । बाबुराम कम्युनिस्ट पार्टी नै छाडेर नयाँ पार्टी गठन अभियानमा हुनुहुन्छ । यस्तोमा तपाईंलाई कुनै दिनमा यी चारैजना एउटै संगठनमा एकै ठाउँमा उभिन सक्छन् भन्ने लाग्छ ?

सैद्धान्तिक रूपमा भन्दा त्यस्तो सम्भावनालाई अस्वीकार गर्न सकिन्न । जहाँसम्म बाबुरामजीको सवाल छ, उहाँले माक्र्सवाद, लेनिनवाद, माओवाद नै छाडिसकेको हुनाले त्यस्तो सम्भावना अब म देख्दिनँ । तथापि, सिद्धान्तत: त्यो सकिन्छ भनेर एउटा परिकल्पना त गर्न सकिन्छ । तर, ‘प्राक्टिकल्ली’ भने छाडेरै गइसकेको हुनाले त्यो सम्भव छ भन्ने लाग्दैन । तर, कमरेड किरण, कमरेड विप्लवलगायत अन्य साथीहरू जो–जो हुनुहुन्छ, जसले माक्र्सवाद, लेलिनवाद, माओवाद मान्नुहुन्छ, उहाँहरूले त्यो दर्शनलाई सिद्धान्तका रूपमा स्विकारुन्जेल एकताको सम्भावना जीवितै रहिरहन्छ । त्यसैले बाबुरामजीबाहेक हामी अरू भविष्यमा ढिलोचाँडो एकै ठाउँमा उभिन सक्ने आधार जीवितै छ ।

एकतापछि दोस्रो नेता को हुने भन्ने प्रश्न उठिरहेको छ । तपार्इं प्रचण्डको पुरानो सहयात्री हुनुहुन्छ, दोस्रो वरियताको नेताको रूपमा वा प्रचण्डको उत्तराधिकारीको रूपमा आफूलाई कहाँ पाउनुहुन्छ ?

मैले आफूलाई दोस्रो, तेस्रो वा पहिलोका रूपमा सोचेको छैनँ । एउटा पार्टी केन्द्रीय सदस्यको हैसियतले मैले क्रान्तिमा योगदान गर्न पाउनुपर्छ भन्ने मेरो सोच हो । कुन सदस्यलाई कुन भूमिका दिने भनेर निर्धारण गर्ने केन्द्रीय कमिटीले हो । केन्द्रीय कमिटीले नै राजनीतिक क्षेत्रको भूमिका दिने, संगठनात्मक क्षेत्रको भूमिका दिने वा अन्तर्राष्ट्रिय सेक्टरको भूमिका दिने भनेर निर्णय गर्छ । नेतृत्वको खासखास क्षमता वा योग्यताका आधारमा जिम्मेवारी दिने हो । अहिले, हाम्रो पार्टीमा दोस्रो, तेस्रो वा पहिलोको विवादजस्तो पनि देखिन्छ । तर, कुनै नेता वा कार्यकर्तालाई के भूमिका दिने भन्ने सम्बन्धित व्यक्तिले होइन, कमिटीले हो । उसको क्षमताअनुसार उसलाई कुन भूमिका उपयुक्त हुन्छ भन्ने निर्धारण अरूले नै गर्ने हो । अहिले पार्टीभित्र छलफल चलिरहेको छ, त्यसैले पहिलो र दोस्रो को भन्ने विषयभन्दा पनि कसलाई के भूमिका दिने भन्ने बहस चलिरहेको छ । कार्यविभाजको एजेन्डामा प्रवेश गरेपछि त्यसले पूर्णता पाउँछ । तर, अहिले जुन ढंगले बहस उठिरहेको छ, त्यो गलत दिशातिर गइरहेको हो कि जस्तो देखिन्छ । तर, भोलिका लागि पार्टीको मूल नेतृत्व तयार गर्ने सन्दर्भमा सबै सदस्यले सोच्नुपर्छ । सदस्यहरूले त्यसलाई महत्त्वाकांक्षाका रूपमा होइन, दायित्वका रूपमा बुझ्नुपर्छ । यदि दायित्वका रूपमा बुझ्न छाडेर व्यक्तिगत महत्त्वाकांक्षाका रूपमा त्यसलाई लिइयो भने त्यसले पार्टीमा विभाजन ल्याउने खतरासमेत हुन्छ ।

‘प्रचण्ड कमरेड र मेरो स्वभाव मिल्दैन’

कुनै जमानामा प्रचण्ड र बादल नारायणीको तिरमा भावुक भएर क्रान्तिका गीत गाउाथे भन्ने सुनिन्छ, चुनवाङ बैठकको भिडियो त दुनियाले देख्यो जसमा नेताहरू भावुक भएर, रोएर एक–अर्कामा बिलीन भएको घोषणा गर्दैथिए । चुनवाङ बैठककै नीतिअनुसार शान्तिप्रक्रियामा आएपछि प्रचण्ड र बादलबीच फेरि असमझदारी भयो । ०६९ सम्म आइपुग्दा त एक–अर्कालाई गम्भीर आरोप लगाएर पार्टी नै विभाजित हुने अवस्था बन्यो । चार वर्ष नपुग्दै उनीहरू ‘गम्भीर आत्मसमीक्षा’ गर्दै जुटेका छन् । कहिले आगालो मारेर रुवाबासी गर्ने र कहिले संसारको सबैभन्दा ठूलो दुश्मनलाई जस्तो अभियोग लगाउने उनीहरूको सम्बन्ध खासमा के हो ? बादलको जबाफ :

हाम्रो सम्बन्धमा निश्चय पनि उतारचढाब आउने गरेका छन् । विशेषगरी पछिल्लो समयमा अलि ठूलै उतारचढाब पनि देखा पर्‍यो । तर, हाम्रो सम्बन्ध, हाम्रो सोच आधारभूत रूपमा सही नै थिए । हामी दुवैका आ–आफ्ना विशेषता छन् । कमरेड प्रचण्ड बहिर्मुखी हुनुहुन्छ भने म अन्तर्मुखी छु । त्यसैले पनि हाम्रो स्वभाव मिल्दैन । म अलि बढी आन्तरिक संगठनको क्षेत्रमा सक्रिय हुने र त्यसैको सुदृढीकरणमा लागिपर्ने स्वभावको छु भने कमरेड प्रचण्डले बाह्य रूपमा वा राजनीतिक रूपमा अलि बढी सक्रिय भूमिका खेल्दै आउनुभएको छ । कतिपय विषयमा म अलि बढी अडिग रहन्छु भने कमरेड प्रचण्ड अलि बढी गतिशील र लचक देखिनुहुन्छ ।

हामी दुईको सम्बन्ध यही अन्तर्मुखी र बहिर्मुखी प्रवृत्तिबीचको परिणति हो । हाम्रो सम्बन्ध गतिशीलता र दृढताको सम्बन्ध हो । पार्टीमा राजनीतिक र संगठनात्मक काम दुवैलाई मिलाउँदा मात्र पार्टी र क्रान्तिको कामले पूर्णता पाउन सक्छ । हामी दुवै अलग–अलग पृष्ठभूमिबाट आयौँ । म अलि उत्पीडित जातिबाट आएँ भने कमरेड प्रचण्डचाहिँ शासक जातिबाट आउनुभयो । यसरी हामी शासक र शासित पृष्ठभूमिको पनि प्रतिनिधित्व गर्छौँ । तर, यो सामाजिक सम्बन्धहरूमा यही जातीय सम्बन्धले पूर्णता दिन सक्छ । यही विपरीत सम्बन्धले नै हामीले पार्टीलाई यहाँसम्म ल्यायौँ र यसलाई अझै टाढासम्म लानुपर्छ भन्ने हाम्रो सोच छ ।

फेरि यो इतिहासको द्वन्द्ववाद पनि हो । फुट्नु जुट्नु, एकअर्कालाई आरोप लगाउनु, फेरि मिल्नु राजनीतिक भाषामा ऐतिहासिक भौतिकवाद र द्वन्द्ववादको नियम हो । यसबाट कोही पनि अलग हुन सक्दैन । मिलन र बिछोड, हार र जित, कहिले वस्तुवादी हुनु त कहिले मनोगतवादी हुनु, यो सब विकासको नियम हो । त्यसैअनुसार हिजो हामी मिलेका थियौँ, बीचमा अलग भयौँ, अहिले फेरि मिल्यौँ । अब सधैँभरि एकै ठाउँ हुन्छौँ भन्ने पनि छैन, फेरि सम्बन्ध–विच्छेद हुन सक्छ । त्यसकारण अहिले जे भएको छ, ठीक भएको छ । तर, यो एकता सधँैभरि यस्तै रहन्छ भनेर इतिहासको नियमले भन्न सक्दैन । भोलि गएर हामीमा विचलन आयो भने फेरि विभाजन पनि हुन पनि सक्छ ।

बाबुराम, वैद्य र विप्लवबारे बादल
अन्तर्वार्ताका लागि हामी पेरिसडाँडाँ पुग्दा बादल हेडक्वार्टरको बैठकमा थिए । बैठक कक्षाबाट निस्किदा अघिअघि कृष्णबहादुर महरा र पछिपछि बादल थिए । एउटा कोठामा पुगेपछि महराले बादललाई भने, ‘ल कमरेड पहिले यो कोठा बाबुरामजीको थियो, अब तपाईंको भयो ।’ चारैतिर मोटामोटी हेरेपछि ठीक छ भन्दै टाउको हल्लाएर उनी सोफामा बसे । उता टेबुलमा बाबुरामले छोडेको हासिया हथौडा अंकित कम्युनिस्ट झन्डा चुपचाप थियो । बाबुराम हुादा बुद्धनगर सरेका बादल बाबुराम हिाडेपछि पेरिसडााडा फर्किएका छन् । सायद संयोगले बाबुरामकै कुर्सीमा बस्न पुगेका बादल बाबुरामबारे के सोच्छन् ? हामीलाई सोध्न मन लाग्यो । उनले बाबुरामबारे मात्र होइन, वैद्य र विप्लवबारे पनि हाम्रो जिज्ञासा मेटाए ।

बाबुरामजीको भविष्य अन्धकार छैन

बाबुरामजीले साम्यवादी सिद्धान्त नै परित्याग गर्नुभयो । यस कोणबाट हेर्दा अबको कम्युनिस्ट आन्दोलनमा उहाँको भविष्य छैन, त्यसको घोषणा स्वयम उहांले नै गर्नुभएको छ । अब उहाँले जुन दर्शन र राजनीति अवलम्बन गर्नुभएको छ, त्यो बुर्जुवा, पुँजीवादी राजनीति नै हो । पुँजीवादी राजनीतिका लागि यो देशमा पर्याप्त वस्तुगत आधार छन् । त्यसैले पुँजीवादी पार्टी वा त्यो वर्गको राजनीति गर्दा उहाँको भविष्य राम्रै हुन सक्छ । आत्मगत रूपमा पनि उहाँले सो वर्गको राम्रो प्रतिनिधित्व गर्न पनि सक्नुहुन्छ । उहाँले बुर्जुवा वर्गको राम्रै सेवा गर्न पनि सक्नुहुन्छ । यस कोणबाट उहाँको भविष्य मत्यति अँध्यारो देख्दिनँ । तर, उहाँसामु ठूलो चुनौती भने छ । नेपालको बुर्जुवा राजनीतिमा उहाँभन्दा स्थापित पार्टी तथा नेता छन् । उनीहरूसित उहाँले निकै कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

वैद्यजीको भविष्य उज्यालो छैन

उहाँले जुन एकांगी ढंगको कार्यदिशा अवलम्बन गर्नुभएको छ, त्यसका आधारमा भन्नुपर्छ, उहाँको भविष्य त्यति उज्यालो छैन । उहाँको राजनीति विसर्जनतिर जान्छ । बाटो नै त्यही हो, जनताबाट अलग हुने बाटो हो भन्ने हाम्रो बुझाइ छ । उहाँ अहिले जुन बाटो हिँडिरहनुभएको छ, यसले उहाँलाई कम्युनिस्ट आन्दोलनबाटै अलग गर्छ । यसले उहाँलाई एउटा संकीर्णतातिर धकेल्छ । एउटा गुटका रूपमा त उहाँ रहन सक्नुहुन्छ तर एउटा आन्दोलनको नेतृत्वचाहिँ उहाँले गर्न सक्नुहुन्न । त्यस्तो त विल्पवसंग पनि उहांको कुराकानी भइरहेको छ भन्ने हामीले सुनिरहेका छौँ । उहाँहरू एकताबद्ध हुने, ध्रुवीकरण हुने सम्भावनालाई नकार्न सकिन्न । उहाँहरू ससानो गुटका रूपमा रहनुभन्दा एकताबद्ध हुँदा नै कम्युनिस्ट आन्दोलनलाई फाइदा पुग्छ । त्यसैले उहाँहरूलाई हाम्रो शुभकामना छ । अझ हामी त सबै माओवादी पार्टी एकै ठाउँमा एउटै आधारमा उभिनुपर्छ भन्ने हो ।

विप्लवजी अर्थात् वामपन्थी दक्षिणपन्थी

विप्लवजीको कार्यदिशा अस्पष्ट छ । उहाँहरूले दीर्घकालीन जनयुद्ध पनि होइन भन्नुहुन्छ । विद्रोहको कार्यदिशा भने पनि त्यो प्रस्ट छैन । एकीकृत क्रान्तिको सिद्धान्त त भन्नुहुन्छ, तर त्यो अस्पष्ट छ । न त उहाँहरू अहिले शान्तिपूर्ण ढंगले क्रान्तिको तयारी गर्ने दिशामा हुनुहुन्छ, न युद्धलाई मूल साधन बनाएर जनताको राज्यसत्ता स्थापनार्थ क्रान्ति गर्ने बाटोमै हुनुहुन्छ । शब्दमा विद्रोहका कुरा गरे पनि व्यवहारत: उहाँहरूले केही गर्नुभएको छैन । त्यसैले, राजनीतिक कोणबाट भन्नुपर्दा यो वाम रूपको दक्षिणपन्थी प्रवृत्ति नै हो । यो धेरै दिन अघि जान्छ भन्ने हामीलाई लाग्दैन ।
विल्लवले जुन ढंगको राजनीतिक बाटो समातिराख्नुभएको छ, त्यसको भविष्य छैन भन्ने नै हाम्रो राजनीतिक आँकलन रहेको छ । त्यसले उहाँले राखेको लक्ष्यसम्म पुर्‍याउन सक्दैन । हिजो उहाँले जे दाबी गर्नुभएको थियो, अहिले यहाँसम्म आइपुग्दा त्यो सही साबित हुन सकेको छैन । यसले गर्दा पनि उहाँहरू एकता अभियानमा समाहित हुनुहुन्छ भन्ने हामीलाई आशा छ । तत्काललाई भने त्यो सम्भावना छैन ।

10 maoist parties unification (6)‘आफ्नै प्रवृत्तिविरुद्ध पनि म संघर्षमा छ’

नामजस्तै बादल कहिलेकाहीा गड्याङगुडुङ गर्छन्, असिना पानी झारिहाल्छन् जस्तो पनि गर्छन् र केही समयपछि चुपचाप लाग्छन् अथवा हराउाछन् । आमराजनीतिक नेताहरूको जस्तो ‘कन्सिस्टेन्सी’ बादलमा देखिादैन । यो स्वभाव उनी आफैलाई कस्तो लाग्छ ? हाम्रो प्रश्नमा बादलको जवाफ :

यो मेरो कमजोरी नै हो जस्तो लाग्छ । किन र कसरी यस्तो भयो भनेर म समीक्षा पनि गर्छु । मैले पञ्चायतकालबाटै क्रान्तिकारी राजनीति सुरु गरेँ । त्यतिखेर खुला रूपमा आफ्ना विचार राख्ने वा संगठन निर्माण गर्ने अवस्था थिएन । राजनीतिक प्रतिबन्धले गर्दा त्यतिखेर हाम्रा सबै क्रियाकलाप भूमिगत थिए । त्यस्तो अवस्थामा मिडिया अथवा मासमा छाउने सम्भावना थिएन । भइहाले पनि छद्मनाममा प्रचारमा आउनुपथ्र्यो । तर, जब हामी जनयुद्धमा प्रवेश गर्‍यौँ, त्यतिखेर त झन् पूर्ण रूपले भूमिगत नै रह्यौँ । हामी गुमनाम नै रह्यौँ । हामीले आफूलाई कतै सार्वजनिक गरेनौँ । त्यसैले पनि त्यो नै मेरो प्रवृत्ति बन्न गयो । जसको प्रभावस्वरूप आज पनि अन्तरमुखी छु । बाहिर कम आउाछु । तर, यो मेरो बल होइन । खुला राजनीति अर्थात् शान्तिपूर्ण परिवर्तनको चरणमा आइसकेपछि पर्याप्त रूपमा बाहिर आउनुपर्ने हो । यसले क्रान्तिलाई नै फाइदा पुग्ने थियो । अहिलेसम्म जे भयो ठीकै छ, अब नयाँ पार्टीको सदस्यका हैसियतले मैले आफ्नो यस्तो प्रवृत्तिविरुद्ध जुध्नुपर्छ ।

उमेश चौहान दीपक\सापकोटा
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नयाँ पत्रिकाबाट

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल