राजावादीको इशारामा पुनर्लेखनको माग सारिँदैछ (भरतविमल यादवसँगको अन्तर्वार्ता)

–  |   भरतविमल यादव, स्वतन्त्र राजनीतिककर्मी

राजावादीको इशारामा पुनर्लेखनको माग सारिँदैछ (भरतविमल यादवसँगको अन्तर्वार्ता)

२०६२/०६३ को जनआन्दोलनमा सातदलीय गठबन्धनमा सक्रिय भएर लाग्नुभएका भरतविमल यादव राष्ट्रिय छवि बनाउन सफल भएका छन् । सक्रिय राजनीतिमा नभए पनि उनको छुट्टै पहिचान छ । नेपाल सद्भावना पार्टी तर्फबाट सातदलीय गठबन्धनमा रहेर जनआन्दोलनमा भूमिका निर्वाह गरेका यादव पछिल्लो समय उपेन्द्र यादव अध्यक्ष रहेको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा जोडिएका थिए । तर, उपेन्द्रसँग कुरा नमिलेपछि उनी बाहिरिएका हुन् । उनले मधेसको पक्षमा स्वतन्त्र अभिव्यक्ति दिँदै आएका छन् । मधेसको राजनीतिकलाई नजिकबाट हेरिरहेका यादवसँग रातोपाटीको गेस्टरुममा एसके यादवले कुराकानी गरेका छन् ।

DSC_9361-001
तराई–मधेस आन्दोलनमय भएको छ । मधेस जागेको बेला तपाईं ओझेलमा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ ?

ठीक हो, म अहिले सतही राजनीतिक दृश्यमा देखिएको छैन । तर, मधेसमा भइरहेको आन्दोलन र अन्य गतिविधिबाट अनभिज्ञ पनि छैन । मधेस आन्दोलनलाई एकदमै नजिकबाट नियालिरहेको छु । साथीभाइसँग त्यसबारे विचार–विमर्श गरिरहेको छु । अध्ययन पनि गरिरहेको छु । मधेसमा ६ महिनासम्म आन्दोलन भयो । त्यो कुन फेजबाट गुज्रियो । त्यस्तो फेजबाट गुज्रिनुपथ्र्यो वा पर्दैनथ्यो, त्यो विश्लेषणको कुरा हो । मधेस आन्दोलनको कसरी देहावसान भयो म नजिकबाट नियालिरहेको छु । म सक्रिय राजनीतिमा नभए पनि मधेसको गतिविधि, देशको राजनीतिबाट टाढा छैन ।

अध्ययन र विश्लेषणबाट मधेसको अवस्था कस्तो पाउनुभयो त ?

मधेस आन्दोलन जसरी राष्ट्रिय आन्दोलनको नाममा डाइटिङ क्लब (रिलेअनशन) का रूपमा रूपान्तरित भएको छ, त्यसले मधेसको मुक्ति होला त ? सोचनीय विषय हो । जुन अधिकारका लागि मधेसले ६ महिनासम्म आन्दोलन गर्यो, त्यही अधिकारका लागि यो डाइटिङ क्लबले संघर्ष गरिरहेको छ । यो अध्ययनकै विषय हो । संविधान पुनर्लेखन कसको माग हो, के यो मधेसको माग हो त ? यस्तो उल्झनमा फस्दै छ– मधेस ।

पुनर्लेखन कसको माग हो त ?

मलाई सोध्नुहुन्छ भने संविधान पुनर्लेखनको कुरा तात्विक रूपमा भूमिगत प्रतिगामी गिरोहको माग हो । संविधान पुनर्लेखन भनेको के हो त ? संविधानसभा पुनःगठन गरेर लेख्ने काम संविधान पुनर्लेखन हो । यदि अर्को संविधानसभा माग होइन भने संविधान पुनर्लेखनको विषय उठाउने कुरै होइन । बरु संविधानको यो–यो धारा संशोधन गर्नुस् भन्नुपर्छ । संविधानमा आफ्नो कुरा कसरी समावेश गराउने हो, कुन धारा परिवर्तन गराउने ती मुख्य माग हुनुपर्ने हो ।
अधिकार कसरी प्राप्त हुने हो, त्यसमा केन्द्रित हुनुपर्ने, त्यो भइरहेको छैन । संविधान पुनर्लेखनलाई मुख्य माग बनाएर आन्दोलन गरिरहेका छन्, जुन गलत हो । धमिलो पानीमा माछा मार्ने कोसिस भइरहेको छ । अहिलेको आन्दोलनमा प्रश्नवाचक चिह्न खडा भएको छ र जसले अहिले ती आन्दोलनको नेतृत्व गरिरहेका छन्, त्यसको चरित्रमाथि पनि शंका लागेको छ ।

bharat bimal yadav (5)
अहिलेको यो आन्दोलनलाई डाइटिङ क्लब भन्नुभयो किन ?

मधेस आन्दोनललाई मैले डाटिङ क्लब भनेको होइन । मधेस आन्दोलनको नाममा ‘सोकल्ड’ नेताले जुन किसिमले मधेस आन्दोलन हाँकिरहेका छन्, त्यसमाथि मेरो टिप्पणी हो । अहिले बिहान टन्न खाएर, मञ्चमा गई रमाइलो गर्ने अनि राति फेरि गएर टन्न खाने मोजमस्ती गर्ने यो डाइटिङ क्लब होइन भने के हो । यदि अधिकारका लागि त्यसरी नै लड्ने हो भने अधिकार प्राप्त भएसम्म केही खाँदिनँ भनी आमरण अनशन बस्दा पनि हुने हो नि । तर, यहाँ के गरिएको छ भने पालो–पालो रिलेअनशनमा बस्ने, त्यो पनि बिहान बेलुका खाएर । यस्तो आन्दोलन जीवनभरि गरिरह्यो भने राज्यलाई फरक पर्दैन । त्यसैले मैले त्यसलाई डाइटिङ क्लब भनेको हुँ ।

त्यसो भए रिलेअनशनले मधेसको एजेन्डालाई सम्बोधन गर्दैन ?

कदापि गर्दैन । यो त नेताका लागि मोजमस्ती गर्ने, जनतालाई बेबकुफ बनाउने, मूल आन्दोलनबाट अलग्याउनेबाहेक अरू केही होइन । नौ दिनसम्म लगातार हामीले पानीमात्र पिएर अनशन बसेका थियौं । त्यो बेला कतिपय साथी बिरामी परेका थिए । मलाई नै हर्ट प्रोब्लेम भएको थियो । सरकार आखिर झुकियो र हाम्रो माग पूरा भएको थियो । यो फेसनबाजीले मधेसको माग पूर हुँदैन । मधेस आन्दोलन र मधेसी जनताप्रतिको इमानदारी पक्कै पनि होइन । आन्दोलन पनि टु दी प्वाइन्ट हुनुपर्छ । आन्दोलनको नाममा देशलाई बन्धकी बनाउनुहुँदैन । कसैलाई पनि अन्योलनमा राख्नुहुँदैन । प्रतिगामी शक्तिको निर्देशनमा देशलाई बर्बाद गर्ने अधिकार कसैलाई छैन ।

–मधेस आन्दोलन देहावसान भयो
–आन्दोलनले प्रधानमन्त्रीलाई मात्र फाइदा भयो
–दुई अतिवादले राष्ट्रिय एकता खल्बलियो
–आन्दोलनका नाममा डाइटिङ क्लब सञ्चालन
–यस्तो आन्दोलनले राज्यलाई फरक पर्दैन

त्यसो भए कस्तो हुनुपथ्र्यो अन्दोलन ?

पहिलो कुरा त मधेसमा ६ महिनासम्म आन्दोलन भयो । मधेसी मोर्चा कहिले पनि विवादमुक्त रहन सकेन । मधेसी मोर्चाको द्वन्द्वबाट नै मधेस आन्दोलन गुज्रियो । अहिले संघीय गठबन्धन आएको छ, त्यहाँ पनि त्यस्तै हालत छ । के मधेसी जनताले जे मागका लागि आन्दोलन गरेका थिए, त्यही माग लिएर गठबन्धनले आन्दोलन गरिरहेका छन् त ? पक्कै पनि होइन । मधेसको मुख्य माग अधिकार र उत्थान हो । मधेसी जनता त्यसैका लागि आफ्ना ज्यानको बाजी राखेर ६ महिनासम्म आन्दोलन गरे । अहिलेको यो गठबन्धनको मुख्य माग खस–आर्यलाई आदिवासीको जस्तो अधिकार दिलाउनुपर्ने । समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र हुनुपर्यो । हरेक निकायमा समानुपातिक सहभागिता हुनुपर्यो । तर, ती मागलाई प्राथमिकतामा राखिएको छैन । म खस–आर्यविरोधी होइन । उसको पहिचान प्राप्त हुनुहुँदैन भने पक्षमा छैन तर के मधेसी जनताले ६ महिनासम्म यिनै खस–आर्यको पहिचानका लागि आन्दोलन गरेको थियो त ? त्यसैले अहिलेको यो आन्दोलनमाथि ठूलो प्रश्नचिह्न खडा भएको छ ।

यो कसैको निर्देशित आन्दोलन हो भन्नुभएको छ, कसको निर्देशनमा आन्दोलन भइरहेको छ ?

–संविधान पुनर्लेखन भनेको के हो ? संविधानको पुनर्लेखन माग गरेर के गर्न खोज्या हो ? यो धारा गलत हो, यसको ठाउँमा यो हुनुपर्छ भन्नुको सट्टा संविधान पुनर्लेखन हुनुपर्छ भन्नुको अर्थ के ? ह्वाट इज दिस ? दुई–दुईपटक जनताले संविधानसभा बनाएको के संविधान पुनर्लेखनका लागि अर्को संविधानसभा बनाउने हो त ? संविधानसभा विघटन हुनुपर्यो, अर्को संविधानसभा गठन हुनुपर्यो । यो कसको माग हो, सबैले बुझेका छन् । त्यसको भित्र खोज्दै जानुस् न आफंै थाहा पाउनुहुन्छ कि यो कसको निर्देशनमा आन्दोलन भइरहेको छ । भूमिगत प्रतिगामी गिरोहको माग हो संविधान पुनर्लेखन । जसले खोजिरहेका छन् कि देशमा स्थायित्व नहोस् । कप वे पोल्टिक्स होस् । अर्थात् धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ ।

DSC_9338-001
तपाईंको इसारा राजावादीतिर हो ?

–पक्कै पनि राजावादी नै हो । गणतन्त्र नरुचाउने, राजतन्त्र फर्काउने जुन गिरोह अहिले सक्रिय छन्, उनीहरूकै इसारामा यो आन्दोलन भइरहेको छ । संविधान निर्माणमा सहभागि भइएन त्यसैले पुनःलेखन हुनुपर्यो रे । यस्तो कही संसारमा हुन्छ । गणतन्त्र भनेको पूर्ण लोकतन्त्र हो । जसले गणतन्त्रविरुद्ध कुरा गरेका छन्, जसले गणतन्त्रको विरोध गरिरहेका छन्, त्यो पक्कै पनि लोकतन्त्रवादी हुनै सक्दैन ।

त्यसो भए तपाईंको विचारमा यो आन्दोलन गणतन्त्रको विरोधमा भइरहेको छ ?

–निश्चित रूपमा हो । संघीय गठबन्धनका मुख्य पार्ट मधेसी मोर्चामा रहेका सात घटकमध्ये केही नेताजस्तो कि राजेन्द्र महतोहरूले संविधान पुनर्लेखन होइन, संविधान संशोधन हुनुपर्छ भनिरहनुभएको छ भने केही नेताले पुनर्लेखनलाई मुख्य मुद्दा बनाउनुभएको छ । संविधान पुनर्लेखन भनेको आन्दोलन अल्झाउने बाटो हो भने कुरा मोर्चाका नेता पनि बुझेका छन् तर गठबन्धनले त्यसलाई नै मुख्य एजेन्डा बनाएर अगाडि बढिरहेको छ ।

त्यसो भएर राजाको पक्षमा मधेसी मोर्चाका सबै दल होइन ?

–होइन, सबै दल छैन । केही दल भित्री रूपमा लागेका छन् । म कसैको नाम लिन्न ‘बुझ्ने बाले बुझ गए नबुझ्ने बाले अनारी है’ । कसको चरित्र कस्तो हो । कुन मान्छे कस्तो हो, त्यो कुरा तपाईंलाई पनि थाहा छ ।

६ महिना मधेसमा आन्दोलन भयो, त्यसपछि दुई दिन सिंहदरबार र एक दिन बालुवाटार घेराउ भयो । जेठ २५ देखि असार मसान्तसम्म रिलेअनशन जारी छ । त्यसमा पनि सरकारले सुनेन भने अबको आन्दोलन कस्तो हुनुपर्छ ?

–मेरो विचारमा, दुइटै पक्षले आ–आफ्नो अडान त्याग्नुपर्छ । वार्ताको वातावरण बनाएर उठाइएको माग पूरा गर्नुपर्छ । सरकारले पनि आफ्नै गोरुको बाह्रै टक्का भनेर हुँदैन । आन्दोलनकारी पनि आफ्नो गोरुको बाह्रै टक्का भनेर हुँदैन । समाधानमा जानुपर्छ । अर्को कुरा ठूला नेताले आ–आफ्ना बोलीमा सुधार गर्नुपर्छ । एमालेका नेता झलनाथ खनालले मधेस प्रदेशलाई धोती प्रदेश भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले मधेसी जनतालाई गिज्याउने काम गर्नुभयो । त्यसले गर्दा वातावरण झन् बिग्रेकोजस्तो देखियो । त्यसैले राज्यले अलिकति बढी नै संयम अपनाउनुपर्ने अवस्था देखिएको छ । यदि यी दुई पक्षले पनि समाधान भएन भने तेस्रो पक्षले पनि अग्रसरता लिएर समझदारी गराउनुपर्छ । तर, यहाँ दुईटै पक्ष अतिवादमा फसेको छ । आ–आफ्नो अडानबाट पछाडि हटेको छैन ।

तपाईंले भनेकोजस्तो दुइटै पक्ष अतिवाद हो भने यसले त राम्रो संकेत गर्दैन, यसले अर्को रूपमा लिन सक्छ कि सक्दैन ?

–दुइटै अतिवाद एउटा सम्झौताको बिन्दुमा आएन भने अर्कोले फाइदा लिन्छ । दुइटै अतिवाद आपसमा लडिरह्यो भने जुन भूमिगत प्रतिगामी गिरोह छ । त्यसले अवश्य नै फाइदा लिन्छ । उसले आफ्नो शक्ति बनाउन, आफ्नो चलखेल अगाडि बढाउन सक्छ तर अहिले नै त्यो शक्ति सफल होला भनी भन्न सकिँदैन । भोलि गएर हुँदैन पनि भन्न सकिँदैन । यसको उदाहरणका लागि धेरै टाढा जानै पर्दैन । २००७ देखिको राजनीतिक घटनाक्रम हेर्दा हुन्छ । कसरी दुइटा शक्तिले आपसमा लडेपछि अर्को शक्तिलाई फाइदा भएको छ । गणतन्त्र आउनेबेलासम्मको राजनीतिक अवस्था हेर्दा हुन्छ । यी सबै अतिवादका कारणले भएको हो । भूमिगत गिरोहले चाहन्छन् कि देशमा यस्तै आन्दोलन भइरहोस् । स्थिरता कायम रहोस् । हामी राष्ट्रको हित चाहन्छौं भने अतिवाद छाडेर अगाडि बढ्नुपर्छ ।

bharat bimal yadav (1)
यसले राष्ट्रिय एकता खल्बलिने सम्भावना कत्तिको छ ?

–राष्ट्रिय एकताका लागि ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ राष्ट्रियगानजस्तो भावना हुनुपर्छ । सबैलाई समान अधिकार दिए भने राष्ट्रिय एकताको खतरा हुँदैन । त्यसको कुनै सम्भावना पनि रहँदैन तर जब अधिकार खोसिन्छ, अधिकार दिँदैन र अतिवाद जन्मिन्छ भने त्यो खतरा कायम रहन्छ । राष्ट्रप्रतिको सोचमा अनेकताको भाव जाग्यो भने राष्ट्रिय एकता खल्बलिहाल्छ । त्यो सम्भावना अहिले छैन तर शून्यचाहिँ होइन ।

राष्ट्रिय एकता खल्बलिनेमा राज्य पक्ष बढी दोषी देखिन्छ कि आन्दोलनकारी पक्ष ?

–प्रत्यक्ष रूपमा कुनै पक्ष जिम्मेवार छैन तर अप्रत्यक्ष रूपमा आन्दोलनकारी र राज्य पक्षको गतिविधिले त्यस्ता तत्वलाई बल पुर्याइरहेका हुन्छन् । भन्दाखेरी अप्रत्यक्ष रूपमा दुइटै पक्ष जिम्मेवार देखिन्छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नै मधेसीलाई धोती प्रदेश भन्छन् भने यसले कस्तो मानसिकताको विकास गराउँछ, राष्ट्रप्रतिको सोचमा कस्तो परिवर्तन ल्याउँछ आदि कुरामा पनि ध्यान दिनुपर्छ । आन्दोलनकारीले पनि अरू प्रतिगामीको मागलाई अघि सार्नु अतिवाद हो र त्यसले अन्ततः राष्ट्रियतालाई नै असर गर्छ ।

भनिन्छ, केपी शर्मा ओलीको व्यवहारका कारण पनि राष्ट्रिय एकता खल्बलिनुमा सहयोगी बनेको छ, तपाईंको विचारमा के छ ?

–केपीजी प्रधानमन्त्री बनेपछि मात्रै होइन, सुरुदेखि नै उखानटुक्कबाजी गर्ने एउटा बानी थियो । उहाँ अब एमाले अध्यक्षमात्र नभएर देशकै अभिभावक हुनुहुन्छ । त्यसले गर्दा आफ्नो बानीमा सुधार गर्नुपर्ने देखिन्छ । उहाँको उखानटुक्काले कसैलाई असर गरेको छ भने त्यसलाई सुधार गर्दा नै राम्रो ।

राष्ट्रिय एकताको विषयमा जसरी केपी ओलीमाथि आरोप लागिरहेका छन्, त्यसको ठीक विपरीत राष्ट्रियता सवालमा दह्रोगरी उभिनुभएको छ भनिन्छ नि ?

–राष्ट्रिय एकता र राष्ट्रियता एक सिक्काका दुई पाटा हुन् । एक–अर्कालाई नजरअन्दाज गर्न सकिँदैन । ओलीजीले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा जे–जति गतिविधि गर्नुभएको छ, त्यसमा कतिपय राम्रा र कतिपय नराम्रा पक्ष पनि छन् । राष्ट्रियता भनेको दौरासुरुवाल लगाएरमात्रै हुँदैन, राष्ट्रियता भनेको आत्मीयता झल्किनुपर्छ । सबैको साझा फूलबारीजस्तै हुनुपर्छ । यदि देशका सबैभन्दा गद्दार व्यक्ति दौरासुरुवाल लगाएर आउँछन् भने त्यसलाई राष्ट्रिय व्यक्ति भन्न सकिँदैन । म कुर्तापाइजामा लगाउँछु भने गैरराष्ट्रवादी होइन । राष्ट्रियताका लागि राष्ट्रिय भावना हुनुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीमा जुन प्रकारको अडान लिनुभयो, त्यसले उहाँको जय–जय भयो यसबारे के भन्नुहुन्छ ?

–आन्दोलनकारीको गलत योजनाका कारण यो मौका प्रधानमन्त्रीलाई भेटेको हो । यसको जिम्मेवार सबै छन् । आन्दोलनकारीले जुन बाटो अपनायो, त्यो गलत थियो । आज काठमाडांै आएर जुन डाइटिङ क्लब चलाएका छन्, त्यो पहिल्यै गर्नुपथ्र्यो । आन्दोलनको यो फस्र्ट फेज हो । नाकाबन्दी भनेको सबैभन्दा लास्टको फेज हो । त्यसैले नाकाबन्दीले त्यति चर्चा पायो । र, त्यसै मौकामा ओलीले पनि आफ्नो अडान देखाएर राष्ट्रिय रूपमा आफ्नो छवि बनाउनुभयो । आन्दोलनले आन्दोलनकारीलाई मात्र होइन, प्रधानमन्त्रीलाई फाइदा भएको छ । नाकाबन्दीका कारण राजधानीवासीले भन्दा मधेसीले धेरै दुःख पाए । मधेसमा ग्यास पाइँदैनथ्यो तर काठमाडौंमा दुई हजारको ग्यास चार हजारमा पाउँथ्यो तर समस्या थिएन ।

DSC_9342-001
नाकाबन्दी मधेसवादी दलले होइन, भारतले गराएको कुरा आएको छ नि ?

–जसले गराए पनि नाकामा त मधेसवादी दलका नेता नै बसेका हुन् । त्यसको मोहरा आन्दोलनकारी नै बनेका हुन् । आज जसरी प्रतिगामीको मोहरा आन्दोलनकारी बन्दै छ, त्यो बेला हुन सक्छ कुनै देशको मोहरा बनेका होलान् ।

तपाईंले लडेर गणतन्त्र ल्याउनुभयो तर गणतन्त्रमै आएर ओझेलमा पर्नुभयो किन ?

–नेपालमा मात्र होइन, दक्षिण एसियाकै राजनीति फोहोर भइसकेको छ । जसलाई डर्टी गेम भनिन्छ । नेपालको राजनीतिक लोभ, स्वार्थ, छलकपटले भरिएको छ । यहाँ इमानदार, स्वाभिमानी व्यक्तिको कुनै गुन्जाइस छैन । यहाँ जसले जति झुटो बोल्यो, जसले जति फ्रड गर्यो त्यसकै बोलवाला छ । मलाई मधेसका साथीहरूले बेलाबेलामा धोका दिएका छन् । राष्ट्रिय नेताले पनि धोका दिएका छन्, त्यसले गर्दा ओझेलमा देखिएको मात्र हुँ तर म सबै कुरादेखि अपडेट छु । मैले राजनीतिबाट सन्न्यास लिएको होइन ।

त्यसो भए नयाँ के गर्ने सोच बनाउनुभएको छ ?

–पहिलो कुरा म जातपातको राजनीतिमा विश्वास गर्दिनँ । म जुन बेला सक्रिय राजनीतिमा थिएँ, त्यो बेला पनि यसको विरोध गरेको थिएँ । र, अहिले पनि म त्यसको विरोधी हुँ । अहिलेको राजनीतिमा जातपात निकै हाबी छ । कोही यादववाद भएका छन्, कोही बाहुनवाद भएका छन् भने कोही पचपनियाँवाद भएका छन् । यसले गर्दा मधेसको राजनीति पनि निकै फोहोर भएको छ । त्यसभन्दा अलग रहेर केही गर्ने सोच बनाउँदै छु । साथीहरूसँग कुराकानी भइरहेको छ । म कुनै जातविशेषको नेता बन्न चाहन्न । मैले मधेसको नेता मधेसवादको राजनीति गर्न चाहेको हुँ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल