प्रचण्ड, बाबुराम र विप्लवको राजनीतिक भविष्यमाथि वामपन्थी पत्रकार आनन्दस्वरूप वर्मासँग विशेष अन्तर्वार्ता

प्रचण्ड, बाबुराम र विप्लवको राजनीतिक भविष्यमाथि वामपन्थी पत्रकार आनन्दस्वरूप वर्मासँग विशेष अन्तर्वार्ता

सन् १९६८ देखि नेपालको वामपन्थी आन्दोलनलाई नियाल्न थालेका भारतीय पत्रकार तथा एक्टिभिस्ट आनन्दस्वरूप वर्मा नेपाली पाठकका लागि नौलो नाम होइन । विभिन्न कालखण्डमा दैनिक, साप्ताहिक तथा मासिक पत्रिकाको सम्पादन अनुभव बटुलेका उनले सन् १९८० देखि महाशक्ति मुलुकको प्रभुत्ववादविरुद्ध ‘समकालीन तीसरी दुनियाँ’ नामक मासिक पत्रिकाको सम्पादन गर्दै आएका छन् ।

भारतीय माओवादी आन्दोलनसँग जोडिएको आरोपमा अल इन्डिया रेडियोबाट सन् १९७४ निकालिएका उनी फेरि कहिल्यै सरकारी निकायमा जोडिएनन् । जहिल्यै आफूलाई सत्ता र सरकारको विपक्षमा उभ्याइरहेका वर्मा वर्तमान मोदी सरकारका कटु आलोचक हुन् ।

ananda swaroop verma (3)
भारतमा हुने विभिन्न सामाजिक आन्दोलन र नेपालको पक्षमा गरिने संघर्षमा होमिएका कारण उनी पटक–पटक भारत सरकारको तारो बने र गिरफ्तार पनि भए । नेपालमा जनयुद्ध चलिरहँदा ‘रोल्पा से डोल्पा तक’ (२००१) होस् अथवा शान्तिवार्तापछि ‘फ्लेम्स अफ दी स्नो’ (२००८) भन्ने डकुमेन्ट्री बनाएर होस् नेपालसँग नजिकदेखि जोडिँदै गए । उनै वर्मासँग डिस्कभरी न्युज नेटवर्क (डीएनएन) द्वारा सञ्चालित रातोपाटीका लागि नेत्र पन्थीनरेश ज्ञवालीले गरेको अन्तर्वार्र्ता ।

जेठ २७ गते नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीले नेपाल बन्दको आह्वान गरेको थियो, बन्दको प्रभाव बजारमा देखिनुअघि नै कान्तिपुर दैनिकको विचार पृष्ठमा देखिनेगरी आनन्दस्वरूप वर्माको लेख छापियो । शीर्षक थियो– ‘जनयुद्ध–२ को संकेत’ । बजारलाई दिनभरि बन्द र लेख दुवैले ततायो । कारण थियो– प्रचण्डसँग नजिक ठानिएका वर्माले बन्दको समर्थनमा लेख किन लेखे ? नेपालमा विप्लव माओवादीले गर्ने भनेको क्रान्तिको मोडेललाई गम्भीरतापूर्वक नलिइएको सन्दर्भमा भारतबाट वर्माले लेखमार्फत दिएको चेतावनीको अर्थ के थियो ?

उनको लेखले बजार तातेको थियो र मानिसबीच मिश्रित प्रतिक्रिया थियो । उनलाई नेपालको मित्रदेखि क्रान्ति र परिवर्तनको खोल ओढेर भारतीय सत्ताको योजनामा गृहयुद्ध मच्चाउन चाहने व्यक्तिका रूपमा समेत हेरिँदै थियो । हामी पनि उनका लेखन, कथन, अन्तर्वार्र्ता र उनले सम्पादन गर्ने पत्रिका मार्फत भारतमा मोदीको उदय पछि उनले लिएको अडानलाई नियालिरहेका थियौं । कुरा त्यतिमात्र थिएन मानिस भन्थे– प्रचण्डको मान्छे, बाबुरामको कार्यक्रमका लागि नेपाल आएको र विप्लवको बन्दको समर्थन गर्ने के हो यो ?

अनि हामीलाई पनि लाग्यो यी कुरा स्पष्ट पार्न सक्ने एउटै व्यक्ति हुन वर्मा । उनीसँगको अन्तर्वार्र्तालाई पाठकको सजिलोका लागि तीन खण्ड गरेर प्रकाशित गरिएको छ । पहिलो खण्डमा उनको लेख र विप्लवको राजनीतिले नेपालमा ल्याउन सक्ने उथलपुथल । दोस्रो खण्डमा बाबुराम भट्टराईको नयाँ शक्तिले ल्याएको नयाँ तरंग र दुवैको राजनीतिक विस्तारले प्रचण्डलाई पर्न सक्ने सम्भावित खतराबारे उनको विचार बुझ्ने कोसिस गरेका छौँ ।

ananda swaroop verma (8)

विप्लवराजनीति र लेख

भिक्टर ह्युगोको कथन उद्धृत गर्दै नयाँ विचारको समय आइसकेको तपाईंंले आफ्नो लेखमा उल्लेख गर्नुभएको छ । नेपालमा जनयुद्ध–२ हुने संकेत कसरी देख्नुभयो ?

यदि हामी जनयुद्ध–२ को कुरा गर्दै छौं भने जनयुद्ध–१ आरम्भ हुँदा जस्ता परिस्थिति समाजमा विद्यमान थिए, ती आजसम्म आइपुग्दा झनै सघन भएर गएका छन् । पहिलेको तुलनामा आज राजतन्त्र छैन तर पनि जनता मारमा छन् । शान्तिप्रक्रिया सुरु भएयता १० वर्ष भइसक्यो यसबीच कति सरकार बने र ढले ? जनयुद्ध–१ सुरु हुने बेलामा पनि यस्तै परिस्थिति थियो । जनआन्दोलन–१ भर्खरै सकिएको थियो, कांग्रेस र एमाले आलोपालो गरेर सरकार बनाउने, ढाल्ने गरिरहेका थिए । आज जनआन्दोलन–२ पछिको अवस्था पनि त्यसबेलाभन्दा भिन्न हुन सकिरहेको छैन ।

युवाले यहाँ आफ्नो भविष्य देख्न छाडेर खाडी मुलुकमा पलायन भइरहेका छन् । पहिले पनि यही अवस्था थियो र आज पनि यही अवस्था छ । सरकारले अनेकौं दाबी गरिरह्यो तर परिस्थितिमा कुनै परिवर्तन आएन । जब जनयुद्ध आरम्भ हुँदै थियो, त्यसको नारा ‘नेपालको सामाजिक संरचनामा आमूल परिवर्तन’ गर्ने थियो । त्यही आमूल परिवर्तनको एजेन्डालाई ध्यानमा राखेर संविधानसभा र संविधानसभाबाट नयाँ संविधान बनाउने कुरा गरिएको थियो । त्यसबेला समस्याको मूल जरो राजतन्त्र हो भन्ने सबैले बुझ्थे र राजतन्त्र अन्त्य भयो तर नयाँ नेपाल बन्न सकेन ।

बिस्तारै जनताको मोहभंग फेरि आरम्भ भएको छ । मेरो लेख त्यसैको चेतावनी हो । मैले आफ्नो मूल लेखमा ‘नेपाल ः जनयुद्ध–२ कि आहट’ लेखेको छु । नेपालमा त्यसको अनुवाद गर्दा आहटको स्थानमा संकेत भनेर लेखिएको छ । मैले केही संकेत देखेको छु, जुन लेखमार्फत मैले यहाँका राजनेताको ध्यान खिच्ने प्रयास गरेको हुँ । रह्यो त्यसको स्वरूपको कुरा, त्यो कस्तो हुनेछ भन्ने न त मैले मेरो लेखमा उल्लेख गरेको छु न भन्न आवश्यक छ । तर, एउटा उथलपुथलको अवस्था नेपालमा फेरि पैदा हुँदै छ भन्ने मलाई लाग्छ ।

यदि विप्लवले जनयुद्ध–२ को घोषणा गरे भने मलाई लाग्छ– जसरी संघर्ष र घटनाक्रम बढ्दै जानेछन्, त्यसैअनुरूप बाटो पनि स्पष्ट हुँदै जानेछ । त्यसैले कुनै पनि आन्दोलन र संघर्षबारे म पहिल्यै सफल हुन्छ कि असफल भन्न चाहन्न । मैले महत्व दिने भनेको मुद्दा हो । तपाईंले उठाएको मुद्दा जनताका हुन् कि होइनन् ?

जुन दिन तपाईंको लेख प्रकाशित भयो, त्यसै दिन विप्लव माओवादीको बन्द थियो । यो संयोग हो अथवा सन्देश ?

मेरो लेख छापिनु र त्यसै दिन विप्लवको नेपाल बन्द हुनु संयोग हो । मलाई मेरो लेख कहिले छापिन्छ भन्नेसमेत थाहा थिएन । यो लेख त मैले समकालीन तीसरी दुनियाँका लागि लेखेको हुँ, जसको संक्षिप्त रूप मैले कान्तिपुरमा दिएको थिएँ । नेपालमा माओवादी घटकलाई लिएर प्रचण्डले केन्द्र गठन गर्ने जुन ठूलो नाटक गरिरहेका थिए, त्यसैको भोलिपल्ट विप्लवको आमसभा थियो । जुन दिन काठमाडौंमा आमसभा भयो, त्यसको अघिल्लो दिनको एकताको विकल्पमा त्यसलाई चुनौती दिन र हामी यस प्रक्रियालाई लत्याउँछौँ तथा यसबाट देशमा परिवर्तन हुनेवाला छैन भन्न आयोजना गरिएकोजस्तो लाग्यो ।

विप्लवको राजनीतिक महत्वाकांक्षा देखेर नेतृत्वको बहस पनि हुनुपर्छजस्तो लाग्दैन ? तपाईंले यसबीच कैयौँपटक विप्लवसँग छलफल गर्नुभयो होला, के उनले यसको नेतृत्व गर्न सक्छन् ?

कुनै पनि नेताको क्षमताबारे अघि नै केही भन्न सकिँदैन । साथसाथै के पनि भन्न सकिन्न भने उनको भावी रोडम्याप निकै स्पष्ट छ अथवा अस्पष्ट । किनभने मलाई राम्रो गरी के थाहा छ भने नेपालमा जब जनयुद्धको सुरुवात भयो, त्यसको एक/दुई वर्षमै मैले नेपालको कुनै पत्रिकाका लागि लामो अन्तर्वार्र्ता दिएको थिएँ । त्यस अन्तर्वार्र्तामा मैले माओवादी के गर्दै छन् भन्नेबारे थाहा नभएको तथा उनीहरूले लिएको रोडम्यापमा आफू स्पष्ट हुन नसकेको बताएको थिएँ । सायद त्यतिबेलासम्म माओवादीको रोडम्यापबारे धेरै मान्छे त्यति स्पष्ट थिएनन् । किनभने मैले नेपालका साथीहरूसँग कुरा गर्दा उनीहरू भन्थे, ‘होइन–होइन यो त त्यसै दुई/चारजनाको लहड हो, केही दिनमा अन्त्य हुन्छ ।’ भन्नुको अर्थ यस्ता कुरा एउटा प्रक्रियामा स्पष्ट हुँदै जान्छन् ।

यदि विप्लवले जनयुद्ध–२ को घोषणा गरे भने मलाई लाग्छ– जसरी संघर्ष र घटनाक्रम बढ्दै जानेछन्, त्यसैअनुरूप बाटो पनि स्पष्ट हुँदै जानेछ । त्यसैले कुनै पनि आन्दोलन र संघर्षबारे म पहिल्यै सफल हुन्छ कि असफल भन्न चाहन्न । मैले महत्व दिने भनेको मुद्दा हो । तपाईंले उठाएको मुद्दा जनताका हुन् कि होइनन् ? यदि जनताका मुद्दा हुन् भने तपाईं दुईजना मात्र भए पनि आन्दोलन निश्चित रूपमा अगाडि बढ्छ तर जनताका ‘जेनुन’ मुद्दा भएनन् भने आन्दोलन जति उठाए पनि विसर्जित हुनुको विकल्प छैन । आज मलाई उनले उठाएका मुद्दा निकै सान्दर्भिक लाग्छन् ।

आन्दोलनको उठान पनि नहुने र समाजमा अन्तरविरोध पनि व्याप्त रहने जुन अवस्था देखापरेको छ, तपाईंलाई के लाग्छ यस्तोखालको परिस्थिति कहिलेसम्म रहला ?

जनयुद्ध सुरु हुँदा राजतन्त्र भएकाले वर्गदुस्मन स्पष्ट थियो । अहिले राजतन्त्र छैन भनेपछि नेपालसामु वर्गदुस्मन त्यसैगरी अस्पष्ट छ, जसरी भारतका माओवादीका अगाडि । जनतालाई सत्तामा बसेका तपाईंका मित्र होइनन् भनेर बुझाउनुपर्ने हुन्छ, जुन सजिलो काम होइन । कल्पना गरौँ कि प्रचण्ड अथवा भट्टराईले सरकारको नेतृत्व गरे, जब कि यिनीहरू क्रान्तिकारी विरासत बोकेर आएका हुन् र यिनीहरूसँग जनयुद्धको ‘लिगेसी’ हुन्छ । भाषा र नारा पनि क्रान्तिकारीजस्तै हुन्छ, जसले जनतालाई मोहित पार्न सक्छ । अथवा भनौँ तिनको नारा र भाषामा ‘पपुलिजम’ र ‘रेभुलुसन’ दुवै तत्व घोलिएका हुन्छन् ।

त्यसैले जसले जनयुद्ध–२ को सुरुवात गर्छ, त्यसले यसलाई चिर्नुपर्ने चुनौती हुन्छ । यो भनेको दुस्मनको निक्र्योल गर्दा हुने समस्या हो । तर म नेपालमा के देख्छु भने यिन (विप्लव) ले दुस्मन निर्माण गर्ने छैनन् कि दुस्मनको आफँै निर्माण र विकास हुँदै जानेछ । संविधान जारी भएसँगै मधेसको एउटा समूह असन्तुष्ट छ र आन्दोलन चलाइरहेको छ । संविधान कार्यान्वयन गर्ने काम अझैसम्म भएको छैन । आमजनताको जीवनस्तरमा कुनै पनि सुधार देख्न पाइएको छैन । न त औद्योगिकीकरणको कुनै पहल गरियो । न विदेश जाने युवाको पलायन रोक्न कुनै पहल कसैले गरे ।

न भौतिक विकासमा जोड दिइयो कि भन्न सकियोस्, ए यो काम त भयो है, त्यो पनि भएको छैन । भनेपछि यस्तो अवस्थामा जनताको पक्षमा इमानदारीपूर्वक संघर्ष चलाए पुग्छ । जनयुद्ध–२ भनेसँगै धेरैको मनमा यो हिंसात्मक नै हुन्छ होला भन्ने पर्न सक्छ । आन्दोलनको प्रारूप हिंसात्मक हुने अथवा अहिंसात्मक हुने भिन्न प्रश्न हो । युद्धको अर्थ हिंसात्मकमात्र हुन्छ भन्ने बुझ्नु गलत हो, त्यो समुदायस्तरको सामाजिक संघर्ष पनि हुन सक्छ, जुन भारतमा भइरहेका छन् । जनयुद्ध–२ हिंसात्मक हुने कि अहिंसात्मक त्यो राज्यसत्ताको दृष्टिकोण र दमनमा भर पर्छ ।

तपाईंको लेख पढ्दा र कुरा सुन्दा के शंका हुन्छ भने तपाईंले नेपालमा जनयुद्ध–२ लड्नका लागि उत्प्रेरित गरिराख्नु भएको त छैन ? आनन्दस्वरूप वर्मा जो भारतीय हुन उनले नेपालमा सबैलाई उचालिरहेका छन् भन्ने आरोप तपाईंमाथि छ के भन्नुहुन्छ ?

कुनै पनि आन्दोलन, जनयुद्धसमेत जनताको सहभागितामा हुने गर्छ । नेपाली जनतासामु संघर्षको यति लामो इतिहास छ, जसले गर्दा उनीहरू यति प्रबुद्ध भएका छन् कि कुनै एउटा पत्रकारले उचाल्दैमा उनले आन्दोलन सुरु गर्दैनन् । न त कुनै पत्रकारले दुत्कार्दैमा त्यसको अन्त्य नै गर्छन् । मेरो काम भनेको कुनै पनि कुराको प्रभाव, त्यसका आधारलाई केलाउँदै विश्लेषणमार्फत अगाडिसम्मको कुरा भन्न सक्नु हो । मेरो आँकलन÷विश्लेषण गतल पनि हुन सक्छ किनभने म कुनै भविष्यवेत्ता होइन ।

तर, मलाई के लागिरहेको छ भने देशको वर्तमान अवस्थालाई यहाँका राजनेताले कुशलतापूर्वक नेतृत्व गर्न सकेनन् भने यहाँ निकै ठूलो अराजकताको स्थिति पैदा हुन सक्छ । किनभने कुनै पनि आन्दोलन हिंस्रक हुन्छ भने त्यो आरम्भमा अराजक नै हुन्छ । र, त्यो अराजकता त्यसबेलासम्म जारी रहन्छ, जबसम्म कुशल नेतृत्वले आन्दोलनको नेतृत्व आफ्नो हातमा लिँदैन । हिजोआज मलाई के कुराको शंका लागिरहन्छ भने यदि जनयुद्ध–२ व्यापक भयो भने जब कि हालको संघर्ष पहिलो चरणको जस्तो लाग्छ तर पनि यो व्यापक भयो भने पुनः एकपटक समग्र देश त्यही अवस्थाबाट गुज्रनुपर्ने हुन्छ । जुन अवस्थालाई यहाँका जनताले १० वर्षसम्म भोगे ।

यहाँको समग्र पर्यटन, जनजीवन अस्तव्यस्त भएर जानेछ र विकासको एजेन्डा २० वर्षपछि धकेलिनेछ । त्यसकारण म जनयुद्ध–२ होस् भन्ने चाहँदिनँ । तर, यहाँ त्यस अनुकूलको वातावरण सिर्जना हुँदै छ । यहाँ जुन परिस्थिति निर्माण भएको छ, मैले त्यसलाई यहाँका राजनेताले छिटोभन्दा छिटो हल गरून् नभए जनयुद्ध–२ कसैले रोक्न सक्दैन भन्ने चेतावनी दिन खोजेको हुँ ।

ananda swaroop verma (7)
नयाँ शक्ति गठन र उडान

तपाईंलाई के लाग्छ– भावी दिनहरू विप्लवको पक्षमा हुनेछन् अथवा बाबुरामको ?

बाबुरामको पार्टीले निर्वाचनमा यतिसम्म मत ल्याउन सक्छ कि स्वयम् अथवा अन्य कोहीलाई फेरि प्रधानमन्त्री बनाउन सक्छन् । तर, त्यसपछि उनको राजनीतिको कुनै सम्भावना र आशा म देख्दिनँ । किनभने हामीले समकालीन तीसरी दुनियाँमा उनको जुन अन्तर्वार्र्ता प्रकाशित गरेका थियौँ, त्यसमा उनले माक्र्सवाद छाडेको छैन, माक्र्सवाद धर्मशास्त्र होइन, यो त विज्ञान हो, त्यसलाई जडसूत्रवादी बनाइयो र म त्यसलाई समय अनुकूल विकसित गर्न चाहन्छु भनेका थिए । तर, उनको पार्टी घोषणाको कार्यक्रम हेर्दा र उनले गरेको सम्बोधन सुन्दा उनले मानेको विज्ञान कहीँ, कतै देखिएन ।

अर्को कुरा त्यहाँ शुभकामना दिन जो–जो आएका थिए, त्यसको के अर्थ हो ? राप्रपादेखि सरकारप्रमुखसम्म शुभकामना दिन आएपछि तपाईं कसको पक्षमा काम गर्न खोज्दै हुनुहुन्छ ? तपाईंले वर्गमा आधारित आफ्नो सोच नै अन्त्य गरिदिनुभयो ? नेपाल एउटा वर्ग विभाजित समाज हो । नेपालमात्र होइन, भारत र तेस्रो विश्वका कुनै पनि राष्ट्रहरू । यहाँ वर्गको अस्तित्व छ र तिनीहरूबीच एकप्रकारको अन्तरविरोध छ, त्यसलाई भुलेर तपाईंले सबैलाई कार्यक्रममा बोलाएपछि यसको के अर्थ लाग्छ ? तपाईं अहिले त्यस्तो मुलुकमा हुनुहुन्छ, जहाँ असमानता निकै गहिरो छ ।

यस्तो समाजमा जनताका लागि केही गर्छु भन्नेले वर्गीय आधारमा सोच्नैपर्ने हुन्छ । अर्को कुरा के भने तपाईंले कुनै पनि आन्दोलन चलाउनुभयो भने त्यो बुर्जुवा होस् अथवा क्रान्तिकारी आन्दोलन । त्यसको न्यूनतम सर्त भनेको मित्रशक्ति र शत्रुशक्तिको पहिचान गर्ने हुन्छ । किनभने तपाईंको आन्दोलन कसप्रति लक्षित छ भनैपर्ने हुन्छ । तर, यहाँ त यी सबै कुरा अस्पष्ट छन् । तपाईं गरिबीको जाँतोमा पिल्सिएका जनतालाई लोकप्रिय नारा दिएर सुन्दर सपना बेच्दै दिग्भ्रमित पार्न सक्नुहुन्छ । तर, यसले जनताका समस्यालाई समाधान गर्न, असमानताको खाडल पुर्न सक्दैन ।

चौधरी, केडिया र खेतानको पनि विकास गर्ने र समाजको तल्लो तहमा रहेका उत्पीडित समुदायको पनि विकास गर्ने कुरा कसरी सम्भव छ । आजसम्म दुवै वर्गको उत्थान कुनै पनि सिद्धान्तले गर्न सकेको छैन । यो नारामा उत्पीडित अथवा गरिब जनताले फलको आसमा इमानदारीपूर्ण योगदान गर्छन् तर फल भने सधंै समाजको माथिल्लो वर्गले नै भोग गर्छ । ‘पपुलिस्ट स्लोगन’को काम भनेकै शोषित जनताको प्रयोग गरेर शोषणलाई संस्थागत गराउने हो । जसमा शोषित आफ्नै काँधमा ती हतियार बोक्न तयार हुन्छन्, जसबाट उनीहरूकै हत्या हुने निश्चित छ । नयाँ शक्तिमा ‘पपुलिजम’को नारा असाध्यै धेरै प्रयोग गरिएको छ । त्यसैले म चिन्तित र निराश छु ।

बाबुरामले उदय गराएको यही मध्यपन्थ भोलि ठूलो प्रतिक्रान्तिकारी शक्तिमा रूपान्तरण हुन पनि सक्छ । त्यसमा क्रान्तिकारी शक्तिको गुण कुनै कोणबाट देखिँदैन । मध्यमार्गी पार्टीसँग लोकप्रिय नारा असाध्यै धेरै हुन्छन्, जसको गुलियोमा जनता फस्छन् र पूरै लाभ प्रतिक्रान्तिकारीले लिन्छन् । नयाँ शक्तिको सबै क्रियाकलाप चुनावलाई केन्द्रमा राखेर गरिएको छ भने प्रचारको आक्रामक शैली मोदीबाट सापटी लिएजस्तो छ ।

ananda swaroop verma (1)
त्यसो भए बाबुरामले माक्र्सवादी राजनीति छाडे भन्नेमा तपाईं ढुक्क हुनुभयो ?

धेरै हदसम्म ।

त्यसो हो भने नयाँ शक्तिको राजनीतिक ‘स्पेस’ कहाँ छ ?

नेपालमा वामपन्थीमात्र छैनन् । नेपालको एउटा स्थायी मध्यम वर्ग छ । एउटा उकासिँदै गरेको मध्यम वर्ग । एउटा मध्यम वर्गको आकांक्षी मध्यम वर्ग र एउटा त्यो वर्ग पनि छ, जो माक्र्सवादी हुन चाहन्थ्यो र कुनै समय माओवादीको प्रभावमा पुग्यो तर आज उसको मोहभंग भइसकेको छ । भन्नुको अर्थ माओवादी आन्दोलन जति विफल हुँदै जान्छ त्यति तीव्रतामा नयाँ शक्तिले सफलता चुम्नेछ । क्रान्तिकारीको विफलताले यसप्रकारका शक्तिलाई बढावा पुग्छ ।

यसको ज्वलन्त उदाहरण भारतमा ममता बनर्जीको उदय हो । बाबुरामले उदय गराएको यही मध्यपन्थ भोलि ठूलो प्रतिक्रान्तिकारी शक्तिमा रूपान्तरण हुन पनि सक्छ । त्यसमा क्रान्तिकारी शक्तिको गुण कुनै कोणबाट देखिँदैन । मध्यमार्गी पार्टीसँग लोकप्रिय नारा असाध्यै धेरै हुन्छन्, जसको गुलियोमा जनता फस्छन् र पूरै लाभ प्रतिक्रान्तिकारीले लिन्छन् । नयाँ शक्तिको सबै क्रियाकलाप चुनावलाई केन्द्रमा राखेर गरिएको छ भने प्रचारको आक्रामक शैली मोदीबाट सापटी लिएजस्तो छ ।

नयाँ शक्तिको घोषणासभामा भारतबाट सत्तापक्षीय पार्टी बीजेपी र प्रतिपक्षी कांग्रेसका तर्फबाट कुनै प्रतिनिधि नआउनुले के संकेत गर्छ ?

हुन सक्छ यहाँबाट राम्रोसँग सम्पर्क गर्न सकिएन । मैले यसमा यति ठूलो कुरा केही देख्दिनँ । मलाई राम्रोसँग के थाहा छ भने नेपालमा माओवादी आन्दोलन कमजोर गराउन यहाँ कुनै पनि शक्ति सहयोगी साबित भए भने भारतको सत्ताधारी वर्ग दौडिएर सहयोग गर्न आइपुग्छ । त्यसका लागि तपाईंले उसैको एजेन्डामा काम गर्नुपर्छ भन्ने छैन । हुन सक्छ तपाईंको कुनै सम्पर्क नै छैन तर तपाईंको क्रियाकलाप क्रान्तिकारी धारालाई कमजोर पार्न सहयोगी छ भने भारतको सत्ताधारी वर्गले घुमाइ फिराइ कुनै न कुनै माध्यमबाट तपाईंलाई सहयोग गर्छ । नेपालको सन्दर्भमा भारत र अमेरिकालाई कुनै शक्तिसँग खतरा छ भने त्यो यहाँको क्रान्तिकारी राजनीतिक धारा नै हो ।

यस धारालाई कमजोर तुल्याउन प्रचण्डको भूमिका भए उनलाई पनि भारतले सहयोग गर्न आइपुग्छ । हुन सक्छ नयाँ शक्तिले त्यो धारालाई कमजोर पार्ने देखेपछि उनीहरू देखिनेगरी यहाँ नआएका हुन् कि ? यदि काम भइरहेको छ भने उनीहरू यहाँ किन आउने ? मलाई लाग्छ– बाबुरामको पार्टीका कारण यहाँको क्रान्तिकारी धारा कमजोर भयो भने, जुन हुन्छ पनि, उनले अन्य राजनीतिक क्याम्पबाट सहयोग पाउनेछन् । यसमा उहाँको इमानदारीले केही गर्न सक्दैन । यस्ता सहयोग मानिसले भनेजस्तै गरी सिधा–सिधा आउने गर्दैन । यसमा भारतको मात्र होइन, अमेरिका पनि सक्रिय भएर आउँछ भन्ने मेरो बुझाइ हो । यी सबै कुरा भन्दै गर्दा मैले कसैको चरित्रमा आक्षेप लगाउन खोजेको होइन । विगतका ४० वर्षमा नेपालसँग जोडिएको, देखेको, पढेको र बुझेका आधारमा मैले सैद्धान्तिक कुरा गरेको हो ।

आगामी चुनावमा बाबुरामले जसरी पहिलो हुने ‘प्रोजेक्सन’ गरेका छन्, तपाईं त्यसको सम्भावना कति देख्नुहुन्छ ?

मैले सम्भावना देखेको छु । किनभने नेपालका वामपन्थी जोसँग जनताले आशा गरेका थिए, भलै त्यो एमाले होस् अथवा माओवादी उनीहरूले नराम्रोगरी धक्का खाएका छन् । जब विश्वासमा धक्का लाग्छ, जनताले विकल्प खोज्छन् । त्यस अर्थमा जनताले नयाँ शक्तिलाई विकल्पका रूपमा हेर्न सक्छन् । बाबुरामले आफ्नो छवि पनि राम्ररी निर्माण गरेका छन् । इमानदार, पढेलेखेका र काममा खट्ने नेताका रूपमा । उनी चुनिन सक्छन् तर अझै दुई वर्ष बाँकी छ । यी दुई वर्षमा माओवादी आन्दोलनका साथीहरूले केही गर्न सक्छन् तर मलाई ठूलो निराशा भइरहेको छ, खै के भनौँ ।

नेपालको पराम्परागत राजनीतिक शक्तिलाई बाबुरामले ‘थ्रेट’ पैदा गरे भन्न खोज्नुभएको ?

निश्चित रूपमा ।

ananda swaroop verma (2)
प्रचण्ड र माओवादी केन्द्रको भविष्य

माओवादीका १० घटकबीच भएको एकतालाई तपाईंले नाटकीय एकीकरण भन्नुभएको किन ? साथसाथै यो एकीकरण कति प्राकृतिक र कति अप्राकृतिक हो ?

तपाईंले आफ्नो प्रश्नमै यस्तो शब्द प्रयोग गर्नुभएको छ– कति प्राकृतिक–कति अप्राकृतिक । यो शब्द बिल्कुल सही छ । मलाई भन्न पनि सजिलो (हाँस्दै…) यो एकता निकै अप्राकृतिक देखिन्छ ।

लगत्तै भएको एकताको विरोध गर्ने तपाईं केही महिनाअघि एकता हुनुपर्छ भनेर आफैँले पहल गरिराख्नुभएको थियो होइन त ?

निश्चित रूपमा मैले यो पहल गरेकै हो ।

एकतामा आउनुभएका बादलजीले एक/ढेड वर्ष अघिमात्र सार्वजनिक मञ्चबाट प्रचण्डलाई ‘र’ को एजेन्ट भनेका थिए । ल आफैँ भन्नुस् एक वर्षअघि ‘र’ को एजेन्ट हुने व्यक्ति आज एकाएक क्रान्ति नायक कसरी भए ? यस्ता कुरा मैले पचाउन सकिरहेको छैन । यस्ता कैयौँ प्रश्न मेरो मनमा खेलिरहेका छन् तर त्यसको उपयुक्त जवाफ मैले पाएको छैन । पार्टी एकता भनेको क्रान्तिसँग जोडिएको कुरा हो । यो दुई व्यक्तिगत कुरा होइनन् ।

त्यसो हो भने आज विरोध किन त ? विरोधको यो शैली प्राकृतिक छ त ?

सबै साथी आउनुभयो भनेर विरोध गरेको होइन । विरोधका पनि केही आधार हुन्छन् । मैले जुन एकताको पहल गरेको थिएँ, त्यसबेला किरण, प्रचण्ड र विप्लवजीसँग कुरा गरेको थिएँ । मेरो पहलको मूल मर्म भनेको माओवादीबीच भएको विभाजन मेटियोस् भन्ने नै थियो । तर, म बाहिरको मान्छे । माओवादी आन्दोलनको शुभचिन्तक हुनुको नाताले भेटघाट हुँदा त्यसबारे कुरा गर्थें । मैले सुरुदेखि भन्ने गरेको कुरा के हो भने किरण र प्रचण्ड माओवादी आन्दोलनका दुई यस्ता व्यक्ति हुन्, जसमा एउटामा अद्भुत राजनीतिक, दार्शनिक क्षमता छ भने अर्कोमा त्यो राजनीतिक दर्शनलाई व्यावहारिक रूपमा रूपान्तरण गर्न सक्ने कौशल ।

यी दुवैबीच एकता भयो भने पार्टी सही ढंगले अगाडि बढ्न सक्छ भन्ने बुझाइ हो । तर, अहिले नै जुन एकता भएको छ, त्यसभित्रका नियत मैले त्यति राम्रो देखेको छैन । क्रान्ति अथवा आन्दोलन प्रतिशोधको भावनाले हुँदैन । अहिले जुन एकता भएको छ, त्यो कोसँग भयो ? के उनीहरूबीच पार्टी एकताको विषयलाई लिएर छलफल भयो ? पार्टी किन फुटेको थियो र एकता किन हुँदै छ भनेर तपाईंले कुनै विश्लेषण प्रस्तुत गर्नुभयो ? पार्टी विभाजनका कारण तपाईंले परीक्षण र पहिचान गर्नुभएको छैन भने एकतामा कसरी जानुहुन्छ ? मैले जुन एकता प्रयास गरेको थिएँ त्यो एउटा लामो प्रक्रियाको कुरा थियो । यहाँ त विनाकुनै प्रक्रियाको एकता भयो भन्ने मेरो ठम्याइ हो ।

एकतामा आउनुभएका बादलजीले एक/ढेड वर्ष अघिमात्र सार्वजनिक मञ्चबाट प्रचण्डलाई ‘र’ को एजेन्ट भनेका थिए । ल आफैँ भन्नुस् एक वर्षअघि ‘र’ को एजेन्ट हुने व्यक्ति आज एकाएक क्रान्ति नायक कसरी भए ? यस्ता कुरा मैले पचाउन सकिरहेको छैन । यस्ता कैयौँ प्रश्न मेरो मनमा खेलिरहेका छन् तर त्यसको उपयुक्त जवाफ मैले पाएको छैन । पार्टी एकता भनेको क्रान्तिसँग जोडिएको कुरा हो । यो दुई व्यक्तिगत कुरा होइनन् । त्यसैले नेताहरूबीच एकता गर्ने कुरा सार्वजनिक हुन्छ भने उनीहरूबीच भएको छलफल पनि सार्वजनिक गरिनुपर्छ । एकताका लागि एकताको कुनै अर्थ छैन । म एकताका लागि एकताको पक्षमा कहिल्यै थिइनँ ।

भनेपछि एकताबाट माओवादी पार्टीको पुनर्जीवन होला भन्ने तपाईंलाई लाग्दैन ?

तपाईंले ठीक भन्नुभयो । मैले माओवादी पुनर्जीवनको सम्भावना देखेको छैन ।

त्यसो भए प्रचण्डको विकल्प के हो त ?

जनयुद्ध–२ । देश कहिल्यै पनि विकल्पहीन हुँदैन ।

यसको व्याख्या ?

यी सबै सैद्धान्तिक कुरा हुन्, जुन मैले भनिरहेको छु । यसको व्याख्या गर्न व्यक्तिलाई अगाडि राखेर छलफल गर्नुपर्ने हुन्छ । तर, अब प्रचण्डको विकल्प जनयुद्ध–२ नै हो । त्यो कसले नेतृत्व गर्छ, त्यसमा को–को हुनेछन्, त्यो इतिहासको गर्भमा छ । मैले प्रचण्ड भन्दै गर्दा तपाईंले व्यक्तिका रूपमा मात्र नबुझ्नुस । यो त आन्दोलनको साझा नाम हो । त्यसैले त्यो आन्दोलनको विकल्प जनयुद्ध–२ नै हो । यो आन्दोलनलाई हाँक्ने शक्ति भनेको चुनाव जित्ने आकांक्षा भएको अथवा ओली, देउवासँग सम्झौता गरेर सरकार बनाउने सपना पाल्नेले गर्ने होइन ।

मैले प्रचण्डलाई निकै दूरदृष्टि भएको नेताका रूपमा हेर्थें तर उनले यसप्रकारको बुर्जुवा राजनीतिमा आफूलाई फसाउन थालेपछि मेरो उनीप्रति मोहभंग भएको हो । सशस्त्र क्रान्तिको नेतृत्व गरेर आएको नेतृत्वबाट मैले यसप्रकारको अपेक्षा पटक्कै गरेको थिइनँ । यसले मेरो विश्वासमा समेत निकै ठूलो चोट पुगेको छ । म यसलाई प्रचण्डमात्रको असफलता ठान्दिनँ, यो हाम्रा लागि निकै दुःखको कुरा हो ।

आन्दोलनको कुरा गर्ने तपाईं ओली नेतृत्वमा सरकार गठन गर्न लाग्दा प्रचण्डको पक्षमा उभिँदै उत्साहित देखिनुहुन्थ्यो । आज तपाईंको स्ट्यान्ड के हो ?

कुनै पनि घटना अचानक नभएर त्यसको एउटा लामो प्रक्रिया हुने गर्छ । तपाईंले भनेजस्तै गरी म उत्साहित थिएँ भने त्यसपछाडिको पृष्ठभूमिलाई पनि हेर्नुस् । पृष्ठभूमिमा साउन ४ मा संविधान जारी भयो । त्यसभन्दा केही दिनअघि मात्र भारतीय विदेश सचिव एस जयशंकर नेपाल आएर संविधान घोषणा नगर्न भने । तर कांग्रेस, एमाले र माओवादी तीनै पार्टीले मानेनन् । अर्थात् भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर नेपाल आएका जयशंकरको कुरा नमानेर निर्धारित समयमै संविधान जारी गरियो । साउन ५ मा नेपालका लागि भारतीय राजदूत रन्जित रे भारत गए । मैले पाएको सूचना के हो भने भारत संविधान निर्माणपछि गठन हुने ओली सरकारको पक्षमा थिएन । ऊ चाहदैनथ्यो कि ओली प्रधानमन्त्री बनून् ।

तर, ओलीलाई प्रधानमन्त्री बनाउनेबारे दलहरूले १६ बुँदे सम्झौता गरिसकेका थिए । भलै त्यो उनीहरूबीचको ‘जेन्टिलमेन एग्रिमेन्ट’ थियो । भारतले ओलीलाई प्रधानमन्त्री बनाउन हुँदैन भन्दा प्रचण्डले प्रतिरोध गरे । भलै यसबीच अरू पनि केही घटनाक्रम रहेका छन् तर पनि ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डले भूमिका खेले यस पृष्ठभूमिमा म उत्साहित थिएँ । नेपालको इतिहासमा यहाँका शासक भारतका अगाडि झुक्ने गरेका छन् । यसपटक भने उनीहरू झुक्न तयार भएनन्, भारतसँग गरिएको यो प्रतिरोधले म उत्साहित थिएँ ।

म जनतान्त्रिक व्यक्ति भएको नाताले कुनै पनि देशले अर्को सार्वभौम देशमा हस्तक्षेप गर्नुहुँदैन भन्ने मान्यता राख्छु । जसले गर्दा भारतमा अमेरिकी हस्तक्षेप होस् अथवा नेपालमा भारतीय हस्तक्षेप, म यसविरुद्धमा उभिने गर्छु । नेपालका राजनेताले गरेको प्रतिरोधको पृष्ठभूमिमा म उत्साहित थिएँ । यसलाई म नेपालको इतिहासमा शुभसंकेत ठान्ने गर्छु । तर, पछि जसरी प्रचण्डले त्यही ओली सरकारलाई ढाल्ने भनेर सरकारबाट समर्थन फिर्ता लिने निर्णय सार्वजनिक गरे त्यसले भारतमा उनले भारतको दबाबमा यो काम गरे भन्ने सुनियो । तर, ४८ घन्टा बित्न नपाउँदै उनले जसरी पुनः समर्थन दिए त्यसमा कसैले बुझ्नै सकेनन् यो के भयो ।

तर, नेपालको पत्रपत्रिका हेरेर थाहा भयो, उनले चीनको दबाबमा ओलीलाई पुनः समर्थन दिए । मैले प्रचण्डलाई निकै दूरदृष्टि भएको नेताका रूपमा हेर्थें तर उनले यसप्रकारको बुर्जुवा राजनीतिमा आफूलाई फसाउन थालेपछि मेरो उनीप्रति मोहभंग भएको हो । सशस्त्र क्रान्तिको नेतृत्व गरेर आएको नेतृत्वबाट मैले यसप्रकारको अपेक्षा पटक्कै गरेको थिइनँ । यसले मेरो विश्वासमा समेत निकै ठूलो चोट पुगेको छ । म यसलाई प्रचण्डमात्रको असफलता ठान्दिनँ, यो हाम्रा लागि निकै दुःखको कुरा हो ।

प्रचण्डको कुरा गर्दैगर्दा उनको राजनीतिमा कसबाट खतरा देख्नुहुन्छ बाबुराम अथवा विप्लव ?

प्रचण्डजीले जुन लाइन र बाटो लिएर अगाडि बढ्दै छन्, त्यसमा धेरै खतरा नयाँ शक्तिबाटै छ । किनभने यी सबैको दिमागमा चुनाव नै मुख्य मुद्दा हो । तर, विप्लव त्यसमा सहभागी छैनन् भनेपछि त्यताबाट खतराको कुरा आउँदैन । विप्लव समग्र राज्यका लागि खतरा हुँदा प्रचण्डलाई पनि खतरा पैदा गर्लान् त्यो भिन्न कुरा हो ।

ananda swaroop verma (9)
तपाईंले प्रचण्डलाई भेट्नुभयो भने के सुझाव दिनुहुन्छ ?

तपाईंले अहिले कुन–कुन मुद्दालाई लिएर पार्टी एकता गर्नुभएको हो, त्यसबारे जनताका अगाडि स्पष्ट दस्तावेज सार्वजनिक गर्नुस् भन्छु ।

त्यसो भए तपाईंलाई के लाग्छ प्रचण्डले कहाँबाट गल्ती गरे ?

प्रचण्डले गरेको गल्तीको समीक्षा एक अथवा दुई वर्षको समीक्षा गरेर भन्न मिल्दैन । अब हामीले प्रचण्डको मूल्यांकन गर्नुपर्यो भने शान्तिप्रक्रियामा प्रवेश गरेदेखि मूल्यांकन गर्नुपर्ने हुन्छ । आज यहाँसम्म आइसक्दा मलाई पटक–पटक २९ जुलाई २००६ मा भक्तपुरको एउटा घरमा मैले प्रचण्ड र बाबुरामको संयुक्त अन्तर्वार्र्ता गरेको सम्झन्छु । मेरो त्यो अन्तर्वार्र्ता अंग्रेजीसहित विभिन्न भाषामा छापिएको थियो किनभने त्यो अन्तर्वार्र्ता व्यापक थियो । तर, मलाई दुःख छ– प्रचण्डले जे–जे कुरा भनेका थिए, त्यसमध्ये एउटा पनि म दोहर्याएर भन्न चाहन्छु । एउटा पनि कुरालाई व्यवहारमा लागू गरेनन् ।

गल्ीतको सुरुवात त्यहीँबाट भएको छ । मलाई लाग्छ– प्रचण्डले ती कुराहरू लागू गरेको भए उनी र उनका समर्थक (जब कि म आफूलाई प्रचण्डको समर्थक ठान्ने गर्छु) को लज्जित हुनुपर्ने थिएन । उनले स्पष्ट रूपमा भनेका थिए, ‘यदि हामी सत्तामा आयौँ भने हाम्रो पार्टीको पहिलो पंक्ति दैनिक सरकार सञ्चालनमा जाने छैन ।’ सरकारलाई बाहिरबाट अंकुस लगाइरहनेछ । त्यसलाई लागू गर्नु सट्टा अन्तरिमकालको बहाना बनाइयो । तर, तपाईंले एउटा विधि निर्माण गर्न सक्नुहुन्थ्यो, जब कि विधि बनाइएन । ३० प्रतिशत पार्टी संगठन भूमिगत रहने भने पनि त्यसो गरिएन । संविधानसभाबाट संविधान निर्माण नभएसम्म जनमुक्ति सेनाको समायोजन नगर्ने बताए पनि त्यसलाई व्यवहारमा लागू गरिएन ।

अरू पनि धेरै कुरा थिए, जसलाई पटक्कै व्यवहारमा लागू गरिएन । हुँदाहुँदा सत्तामा आउनासाथ तपाईंले बुर्जुवाले जसरी व्यवहार गर्न लाग्नुभयो । जसको प्रभाव पार्टी बिस्तारै–बिस्तारै अधोपतनतर्फ उन्मुख भयो । मैले एमालेको अधोपतन देखेको हुनाले त्यसै विषयमा एउटा लेख लेखेको थिएँ– ‘सेल्टरदेखि सत्तासम्म आउने त्रासदी’ शीर्षकमा । त्यसलाई माओवादी साथीले पढून् भनेर पुनः छापेँ । बाबुरामले पढेर तपाईंले यो छापेर राम्रो गर्नुभयो भने । तर, के गर्ने मलाई जे डर थियो त्यही भयो । राम्रो भन्नुस् अथवा नराम्रो नेपालका सबै कम्युनिस्ट धारामा रहेका र आन्दोलनको नेतृत्व गरेका नेतृत्वसँग म कुनै न कुनै रूपले जोडिएको छु ।

पुष्पलालदेखि विप्लवसम्म जति पनि आन्दोलनकारी छन्, सबैसम्म मेरो सम्बन्ध छ । सन् १९६८ मा कमरेड पुष्पलालसँग मेरो भेट भएको थियो । त्यसबेला उनी तुलसीलाल अमात्यको पार्टीसँग अलग भएर चौथो महाधिवेशनको तयारीमा लागेका थिए । मलाई त्यसबेलासम्म नेपालको कम्युनिस्ट आन्दोलनबारे केही थाहा थिएन । उनैलाई भेटेपछि मैले नेपालबारे पढ्न सुरु गरेको हुँ । किनभने पुष्पलाललाई भेटेर ममा निकै उत्साह पैदा भएको थियो । मलाई आज पनि सम्झना छ– उनी एउटा सानो कोठामा बसेर चारैतिर कागज छरेर आफ्नो दस्तावेज लेख्न व्यस्त थिएँ ।

यी सबै नेतामध्ये अन्य एकजना नेता पनि थिए, जो अत्यन्त प्रखर, क्षमतावान् र अध्ययनशील थिए । उनको पार्टीको नाम सुवास केसी थियो । उनको वास्तविक नाम थियो– सीपी मैनाली । अद्भुत सांगठनिक क्षमता, अद्भुत बौद्धिक क्षमता, अद्भुत विश्लेषण र तार्किकता तर हेर्नुस जब पार्टी अधोपतनतर्फ लाग्छ– कसरी ठुल्ठूला क्षमतावान् नेताहरू निमेषमै धुलिसात हुन्छन् । मैनाली प्रचण्डभन्दा कुनै पनि कुरामा कम थिएनन् तर आज उनको स्थान कहाँ छ ? तपाईं आफैँ बुझ्न सक्नुहुन्छ । मैले यी कुरा आफ्नो अनुभवबाट भन्दै छु । सीपी मैनालीको अवस्था यस्तो भयो, प्रचण्डको पनि मैले त्यही अवस्था देखिरहेको छु । मैले यो भन्नुको अर्थ के हो भने इतिहास निकै निर्मम हुन्छ । यदि तपाईंले जनताको आन्दोलनलाई विसर्जन गर्नुभयो भने त्यसले तपाईंलाई क्षमा गर्दैन ।

जस्तोसुकै अवस्था आए पनि काठमाडौँ र दिल्लीको दूरी कहिल्यै टाढा हुन सक्दैन । भौगोलिक, सामाजिक, सांस्कृतिकलगायत अनेकौँ कारण छन्, जसले गर्दा नेपाल र भारतबीचको दूरी चीनको तुलनामा सधैँ कमै रहन्छ । तर, आउने दिनले राजनीतिक स्थितिमा चीन धेरै नजिक आउन सक्ने र भारत धेरै टाढा पुग्ने सम्भावना देखिएको छ ।

ananda swaroop verma (4)
काठमाडौँ–दिल्ली सम्बन्ध ?

आजको दिनमा काठमाडौँको सत्ता दिल्लीको नजिक छ कि बइेजिङको ?

हाँस्दै… जस्तोसुकै अवस्था आए पनि काठमाडौँ र दिल्लीको दूरी कहिल्यै टाढा हुन सक्दैन । भौगोलिक, सामाजिक, सांस्कृतिकलगायत अनेकौँ कारण छन्, जसले गर्दा नेपाल र भारतबीचको दूरी चीनको तुलनामा सधैँ कमै रहन्छ । तर, आउने दिनले राजनीतिक स्थितिमा चीन धेरै नजिक आउन सक्ने र भारत धेरै टाढा पुग्ने सम्भावना देखिएको छ । किनभने भारतको शासक वर्ग असाध्यै उद्दण्ड छ । उसलाई आफ्नो शक्ति र आर्थिक हैसियतमा निकै घमन्ड छ । उसले के सोच्छ भने उसले चाहेकै दिन नेपालजस्ता मुलुकमा पाखुरा बटारेर आफ्नो कुरा लागू गराउन सक्छ ।

कतै–कतै तपाईंको विषयमा वामपन्थी देखिँदादेखिँदै पनि भारतको सत्ताधारी वर्गको विरोधमा देखिँदादेखिँदै पनि अन्ततः भारत सरकारकै कुनै एजेन्सीमार्फत काम गर्नुहुन्छ भन्ने आरोप पनि सुनिन्छ किन ? यसको वास्तविकता के हो ?

यसका लागि तपाईंले कुनै घटनाको उल्लेख गर्नुपर्यो कि कतै–कतै अर्थात् कताबाट मेरो विषयमा यस्ता कुरा आउने गर्छन् । बल्ल मैले मेरो कुरा स्पष्टतासाथ राख्न सक्छु । भन्नलाई त मानिस यो पनि भन्छन् कि नेपालको माओवादी आन्दोलन भारतले चलाएको हो तर म त यो कुरालाई खारेज गर्ने गर्छु । भनेपछि तपाईंले पनि त कुनै घटना जोडेर तपाईंले यहाँ यस्तो गर्नुभयो भन्न पर्यो । मसँग मेरो ५० वर्षको अतीत जोडिएको छ ।

त्यस अतीतको तपाईंले विश्लेषण गर्नुपर्ने हुन्छ । ५० वर्षमा कुनै पनि यस्तो वर्ष छैन, जब म बिरामी परेँ र निष्क्रिय रहेँ । म सधैँ सक्रिय नै रहेर यहाँसम्म आइपुगेको छु । मेरो अतीतलाई खोतलेर त्यसपछि बल्ल निष्कर्ष निकाल्नुस् अनि यथार्थपरक हुन्छ । त्यसपछि तपाईंलाई थाहा हुनेछ म को हुँ र मेरो क्षमता के हो । मैले सबैलाई मेरो घर लगेर देखाउन पनि सक्दिनँ कि मेरो अवस्था र स्थिति यस्तो छ भनेर । तर, मेरो जे काम हो त्यो त देखिन्छ होला नि । मेरो कामको विश्लेषण गर्नुस् म पत्रकार पनि हुँ र एक्टिभिस्ट पनि । त्यसपछि म के हुँ भन्ने तपाईं निष्कर्ष निकाल्नुस् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल