बाँच्ने कुरालाई मैले धेरै प्राथमिकता दिने गरेको छैन (टेकनाथ रिजालसँगको अन्तर्वार्ता)

बाँच्ने कुरालाई मैले धेरै प्राथमिकता दिने गरेको छैन  (टेकनाथ रिजालसँगको अन्तर्वार्ता)

भुटानमा मानवअधिकारकोस्थिति खस्कदै गएकोमा भुटानी नागरिकको मानवअधिकारको पक्षमा वकालत गर्न सन् १९८९ अगस्तमा ‘मानवअधिकार सार्वजनीक मञ्च’को गठन गरिन्छ । जसका संस्थापक अध्यक्ष तोकिन्छन टेकनाथ रिजाल । तर मानवअधिकारको क्षेत्रमा संस्थाले काम गर्नु अगावै त्यसका अध्यक्षलाई १९८९ कै नवम्बर १६ मा बिर्तामोडबाट पक्राउ गरिन्छ र जेल जीवन बिताउन बाध्य पारिन्छ । कारण थियो– प्रजातान्त्रिक चेतनाले राजतन्त्र विरुद्ध टाउको नउठाओस् र कुनै पनि नागरिकको मानवअधिकारको कुरा कसैले नगरोस् । मानवअधिकार र नागरिकको स्वतन्त्रताको पक्षमा आवाज उठाउने उनै रिजाललाई जेल जीवनबाट मुक्त हुन दश बर्ष लाग्यो । उनी सन् १९९९ मा जेल मुक्त भए तर त्यसबेलासम्म उनलाई राष्ट्रबिहिन बनाई सकिएको थियो । उनै रिजाल जेलबाट मुक्त भए यता भुटान र भुटानी शरणार्थीको मानवअधिकारको पक्षमा लडी रहेका छन् तर उनको आवाज सुन्न कोही तयार छैन । उनै रिजालसँग निर्वासित जीवन र भुटानको अवस्थाबारे जान्ने प्रयास गरेका छन् नरेश ज्ञवालीले ।

तपाईंको स्वास्थ्य कस्तो छ ? साथै दैनन्दिन जीवन कसरी व्यतीत गरिरहनुभएको छ ?

१० वर्ष जेल परेपछि यातनाका कारण अहिले स्वास्थ्य त्यति ठीक छैन । मुटुमा समस्या देखिएको छ भने मधुमेह र प्रोस्टेड समस्याले पनि मलाई नाजुक अवस्थामा पु¥याएको छ । पारिवारिक जीवनको कुरा गर्नुहुन्छ भने एउटा शरणार्थी मान्छे हुँ । आफ्नो देश छाडेर, आफ्नो समाजबाट अलग्गिएर बाँच्नुको व्यथा छँदै छ । खान, बस्नका लागि दुःख–सुख चलिरहेको छ ।

भुटानी शरणार्थीको मानवअधिकारको वकालत गर्ने तपाईंको आजको सामाजिक, राजनीतिक र पारिवारिक जीवन कस्तो छ ?

बाँचेको छु । बाँच्ने कुरालाई मैले धेरै प्राथमिकता दिने गरेको छैन । यहाँ त्यो उल्लेख गुर्नको खासै अर्थ छैन । तर मैले जुन विचार, उद्देश्य लिएर अगाडि बढेँ, टेकनाथ रिजाल भनेर चिनिएँ, यसक्रममा मैले जेल जीवन बिताएँ । साथै दुई–दुईपटक निर्वासित जीवन व्यतीत गरेँ अथवा जुन देशबाट हिजो अपहरणमा परेर जेल जानुपर्यो आज बाध्य भएर त्यही देशमा कोचिएर बस्नुपरेको छ । आज ती सबै कुराको मूल्यांकन गर्दा मैले शक्तिको चेपारोमा परेर निकै सजिलो गरी पार गर्नुपर्ने मेरा मोडमा बाधा–व्यवधान व्यहोरेँजस्तो लाग्छ । आज खुला आकाशमुनि बन्दी बनाएर राखिदिएजस्तो महसुस गरेको छु । जुन काम मैले गर्दै थिएँ र गर्न पाउनुपथ्र्याे त्यो काम जेलबाट निस्केर गर्न नपाउँदा बन्धनमा परेको अनुभूत गर्दै छु ।

भुटान सरकारको विरोधाभास के हो भने उसले पहिले मलाई के–के विषयमा दोषी देखाएर जेल हाल्यो तर पछि निर्दोष भनेर रिहा गरिदियो । सरकारले रिहा त गर्यो तर त्यसबेलासम्म मेरो समाज बदलिसकेको थियो ।

Rizal
जब विश्व समुदायको दबाबमा मलाई छाड्नुपर्ने भयो तब यसले टाउकोमा टेक्न सक्छ भनेर त्यहाँको शासकले मलाई देश निकाला गरे । भुटान सरकारको विरोधाभास के हो भने उसले पहिले मलाई के–के विषयमा दोषी देखाएर जेल हाल्यो तर पछि निर्दोष भनेर रिहा गरिदियो । सरकारले रिहा त गर्यो तर त्यसबेलासम्म मेरो समाज बदलिसकेको थियो । यसक्रममा हाम्रा विदेशी साथीहरु, जसले भुटानमा अन्याय भइरहेको छ भन्दै भुटानलाई नजिकबाट हेर्दै थिए । जस्तै, भारतमा आनन्दस्वरुप वर्मा, नेपालमा कृष्ण पाहाडी, पुरूषोत्तम दाहालहरुले निकै काम गर्नुभएको छ । जेलबाट निकालिएपछि पनि मलाई नैराश्य बनाउने र मेरो मस्तिष्क नियन्त्रण गर्नेगरी भुटान सरकारले काम गरिरह्यो । धेरैले यो कुरा पत्याएनन् तर यो मेरो जीवनमा घटेको घटना हो । मेरो अनुभवमा विश्व समुदाय पनि एउटै हुँदैन एउटा मिलाउन खोज्ने र अर्को बिगार्न खोज्ने हुन्छ । यिनै चेपुवाबीच काम भइरहेको छ तर कुनै उल्लेख्य काम भने हुन सकेको छैन ।

आज भुटान र भुटानी शरणार्थीको मुद्दा खिचडी भएको छ । तपाईं त्यसलाई जता पनि तन्काउन सक्नुहुन्छ । एउटा स्वार्थी र भ्रष्ट गिरोह खेल्न पाइरहेका छन् ।

भुटानको मानवअधिकार आन्दोलनमा विदेशीको भूमिका नकारात्मक थियो भन्न खोज्नुभएको ?

विदेशी भनेर सबैलाई एउटै घानमा हाल्न मिल्दैन । मैले गरेको अनुभव के हो भने विरोधीभन्दा पनि त्यसको दलाल निकै विषालु हुन्छ । मानिलिनुस् कसैसँग मेरो झगडा भयो भने पनि कुनै दिन दुवैमध्ये एउटाले गल्ती आत्मसात् गरेर मित्रताको हात बढाउन सक्छ र पुनः मित्रता हुन सक्छ । तर, त्यो मित्रतामा दलालको भूमिका जोडिएर आयो भने उसले त्यो मित्रतालाई सकारात्मक दिशामा अगाडि बढाउन भूमिका खेल्दैन । म भुटानबाटै त्यस्ता तत्वबीच परेँ । मेरो मुद्दालाई नकारात्मक कोणबाट उछालियो । यसक्रममा बनावटी कुरामात्र बाहिर ल्याइयो । जो साथीहरुले यसलाई इमानदारपूर्वक अगाडि बढाउँदै थिएँ उनीहरुले निरन्तरता दिन सकेनन् । बनावटी प्रश्नको जबाफ दिँदादिँदा मुद्दाको गम्भीरतामा कसैले पनि ध्यान दिन सकेनन् ।

भुटान र भुटानी शरणार्थीको मूल मुद्दा के हुन् ?

आज भुटान र भुटानी शरणार्थीको मुद्दा खिचडी भएको छ । तपाईं त्यसलाई जता पनि तन्काउन सक्नुहुन्छ । एउटा स्वार्थी र भ्रष्ट गिरोह खेल्न पाइरहेका छन् । भुटान विकासको दृष्टिकोणले निकै कान्छो देश हो । भुटानको मुद्दा भनेको बिल्कुल ‘एथ्निक लेजिन’ हो । ‘इथ्निक लेजिन’लाई जानीबुझी निर्माण गर्ने र स्थापित गर्ने गरिएको हुँदा त्यहाँका मान्छेले मुक्ति पाउन सकेका छैनन् । राजा त्यहाँको मुख्य कर्ता हो भने छिमेकी (भारत) त्यसलाई झनै तन्काउने पक्षमा भइदिएको हुनाले त्यसलाई रोक्ने ठाउँ भएन । नेपालको शरणार्थी क्याम्पमा रहेका भुटानी हुन कि होइनन् भनेर छानबिन गर्नेक्रममा ९९ प्रतिशत मान्छे भुटानका भएपछि भुटानी प्रतिनिधि मण्डल भागेर भुटान गयो । त्यसपछि त के थियो र तेस्रो मुलुक लैजाने कुरा आइहाल्यो ।

शरणार्थी समस्यामा नेपाल–भुटान सरकारबीच भएको वार्तामा शरणार्थीका प्रतिनिधि राखेको भए समस्या समाधान गर्नतर्फ कत्तिको प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ ?

यो नितान्त मेरो विषय नै थिएन र होइन । यो त ती भुटानीको थियो, जो आफ्नै देशबाट लखेटिएका थिए । यो उनीहरुको कुरा थियो जो आज भुटानको जेलमा जेल जीवन बिताइरहेका छन् । यो उनीहरुको कुरा थियो, जसका बाबु र छोरालाई खाँबोमा बाँधेर आमा र बहिनीलाई पालैपालो बलात्कार गरियो र त्यसको मुद्दा उनैमाथि लगाइयो । यो कुरा ती मान्छेहरु मात्रको थिएन, जो नेपालीमूलका भएको नाताले लखेटिएका थिए । यो त भुटानका आदिवासी सेरछुप्पाको पनि थियो । त्यहाँको मानवअधिकारसँग जोडिएको कुरा थियो । भुटानले देशबाट निकालेको सम्बन्ध गोर्खाल्यान्ड आन्दोलनसँग छ भनेको छ तर खोई एकजना पनि गोर्खाल्यान्डमा लागेको भनेर पक्राउ परेको छैन । चाहे त्यो भुटानमा होस् अथवा भारतमा । भुटानसँगका ती वार्तामा हामीलाई पनि सहभागी गराएको भए हामीले समस्या समाधानमा सकारात्मक भूमिका खेल्ने थियौँ भन्नेमा कुनै शंका छैन । मलाई पहिला साथीहरुले सोध्ने गर्थे यसमा भारतको हात छ भनेर । मैले छैन भन्ने गरेको थिएँ । भारतको भूमिका सकारात्मक हुनुपर्छ भनेर मैले भारतलाई आक्रमण गर्न चाहन्नथेँ । तर, आज मैले भन्नैपर्ने हुन्छ, ‘भारत सरकारको स्वार्थका कारण शरणार्थी समस्याले निकास पाउन नसकेको हो ।’

मूल नेपाली र नेपालीमूलका दुवै कर्मठ र ‘लोयल’ हुँदारहेछौँ । जहाँ गयो त्यहीँको भइहाल्ने हुँदारहेछौँ । त्यसो गर्दा माया पनि पाइँदोरहेछ । त्यसरी छरिनेक्रममा नेपाली आसाम, भुटान, बर्मा हुँदै थाइल्यान्डसम्म पुगेका छन् ।

शरणार्थी समस्या समाधानमा नेपालले प्रभावकारी भूमिका खेल्न नसक्नुका कारण के होलान् ?

नेपालले यो समस्या समाधान गर्न सक्ने थियो तर यसका दुई कारण छन् । पहिलो– अप्रमाणिक, शंका गरिएको कुरा । त्यो के भने नेपालको तर्फबाट वार्ता गर्ने प्रतिनिधिलाई भुटानले आर्थिक प्रलोभनमा पारिदिएको हुनुपर्छ । दोस्रो– भारतलाई दोष लगाइबस्ने तर कुरा नगरिदिने ।

तपाईंलाई के लाग्छ– भुटानको मुद्दालाई भारत किन बल्झाउन चाहन्छ ?

मूल नेपाली र नेपालीमूलका दुवै कर्मठ र ‘लोयल’ हुँदारहेछौँ । जहाँ गयो त्यहीँको भइहाल्ने हुँदारहेछौँ । त्यसो गर्दा माया पनि पाइँदोरहेछ । त्यसरी छरिनेक्रममा नेपाली आसाम, भुटान, बर्मा हुँदै थाइल्यान्डसम्म पुगेका छन् । यसरी छरिएर बसेका नेपाली ती ठाउँमा गएर ‘सेटल’ भए । भलै त्यसरी ‘सेटल’ गराउनुमा त्यहाँका शासकका निहित उद्देश्य थिए । त्यही भएर ती देशमा नेपाली राम्रो ओहोदासम्म पुगेका छन् । नेपालीको सभ्यता विकासमा चाहिएका थिए । जसमा ब्रिटिसले पनि भूमिका खेले । यसरी त्यहाँसम्म पुगेको म । म अर्थात् ती सबै नेपालीले के सोच्दारहेछौँ भने हामी भनेको नेपाली हौँ । तर, नेपालको आँखामा हामी नेपाली होइन, प्रवासी नेपाली भइँदोरहेछौँ ।

जतिबेला भुटानमा जनगणना गरियो र एक लाख मान्छेलाई विदेशी भएको बताइयो, त्यसै समय भारतले सिक्किमलाई आफूमा गाभेको थियो । गोर्खाल्यान्डको आन्दोलन चलि रहँदा भुटानमा स्थापित भएकाको नेपालको दरबारसँग राम्रो सम्बन्ध थियो । यो परिस्थितिमा आउने दिनमा नेपालीले हामीलाई अप्ठेरो सिर्जना गर्छन् भनेर भारतसँग सल्लाह गरेर भुटानले हामीलाई हाम्रो आफ्नै देशबाट निकालेको हो । यसैमा अर्को कुरा के पनि हो भने भारतले भुटानमा नेपाली प्रभुत्व भएको छुट्टै राज्य भएको देख्न चाहँदैन ।

तपाईं सन् १९८९ देखि मानवअधिकार सार्वजनिक मञ्च स्थापना गरेर भुटानको मानवअधिकारको पक्षमा वकालत गर्दै हुनुहुन्छ । भुटानमा मानवअधिकारको अवस्था कस्तो देख्नुभएको छ ?

भुटानमा मानवअधिकारको स्थिति थाकमाथि थाक लागिरहेको छ । जुन देशमा कानुन छैन, जुन देशमा राजाको प्यारो भएका आधारमा न्यायाधीश नियुक्त हुन्छन्, जुन देशको न्यायालयले राजनीतिक मुद्दा हेर्न पाउँदैन, जुन देशको न्यायालयले सरकारको गतिविधिमा रोक्का लगाउन पाउँदैन, त्यो देशको मानवअधिकारको अवस्था कस्तो होला तपाईं आफैँ बुझ्न सक्नुहुन्छ । नाममात्रको प्रजातन्त्र छ । व्यवस्था जहीँको तहीँ छ । एउटा राजामाथि दुई राजा बसेका छन् । हिजोका थाती मुद्दा जहीँको तहीँ छन् । बालबालिका विद्यालय जान पाएका छैनन् । जनताले नागरिकता पाएका छैनन् । लुटिएपछि भुटानी नागरिक परिचयविहीन छन् । जमिन किन्न पाउने व्यवस्था छैन । एकबाट अर्को ठाउँमा यात्रा गर्न पाइँदैन भने कुटपिट हुँदासमेत न्याय नपाउने अवस्था हुँदा त्यहाँको मानवअधिकार कस्तो हुन्छ होला ।

सन् १९८९ नोभेम्बर १६ मा पक्राउ गरी तपाईंलाई जेल चलान गरेयता आजसम्म कतिलाई देशनिकाला गरियो ?

भारतले सिक्किममा नियन्त्रण कायम गरेपछि भुटानले त्यहाँका नेपालीलाई निकाल्नका लागि नै जनगणना गर्यो । जसमा उसले दक्षिणी भुटानमा एक लाख विदेशी रहेको बतायो र पछि तिनलाई भारतको सल्लाहमा धपाउन सफल भयो ।

मैले अघि पनि भनेको छु– नेपालीको मुद्दा भनेर कता–कता अलिक नाक खुम्च्याएरमात्रै सुन्ने प्रवृत्ति भारतीय नेता, पार्टीका साथीहरु र व्युरोक्रेटका मान्छे मैले पाएको छु ।

तेस्रो मुलुक प्रवासनमा गएका शरणार्थीले विभिन्न कारणले आत्महत्या गरेको सार्वजनिक भएको छ, त्यस्तो किन हुन गएको हो ?

संयुक्त राज्य अमेरिकामा अर्को मुलुकबाट गएर बस्ने नयाँ मान्छेमा सबैभन्दा धेरै आत्महत्या गर्नेमा भुटानी छन् भनिएको छ । त्यो त हुने नै भयो । मैले यही कुराको डर मानेर तेस्रो मुलुक सारिनुहुँदैन भनेको थिएँ तर मेरो कुरा सुनिएन । एकातर्फ त गाउँबाट तहस–नहस बनाएर आगो लगाएर, आँखा अगाडि दिदीबहिनीलाई बलात्कार गरेर शरणार्थी बन्न बाध्य बनाइने अनि विदेश पठाएपछि के हुन्छ ? गाउँबाट एकाएक सहर जाँदाको अवस्था निकै दुःखदायी हुने गर्छ । यहाँ र त्यहाँको सिष्टममा निकै भिन्नता हुँदा साथीभाइ आफन्तसँग टाढा भएर बस्नुपर्दा त्यस्तो हुन गएको हो ।

शरणार्थी समस्या समाधानका लागि भारत सरकारका प्रतिनिधिसँग पनि तपाईंको छलफल भएको थियो । भारतको भनाइ के पाउनुभएको छ ?

मैले अघि पनि भनेको छु– नेपालीको मुद्दा भनेर कता–कता अलिक नाक खुम्च्याएरमात्रै सुन्ने प्रवृत्ति भारतीय नेता, पार्टीका साथीहरु र व्युरोक्रेटका मान्छे मैले पाएको छु । मैले यो समस्या भारतसँग राख्न निकै प्रयास गरेँ । उनीहरुलाई यो समस्याको जड के हो भन्ने पनि थाहा छ । यो पनि थाहा छ कि यिनीहरु माथि अन्याय भएको छ । तर, उनीहरु आफ्नो स्वार्थले गर्दा उनीहरु पटक्कै बोल्न चाहँदैनन् । उनीहरुलाई मैले ब्याट्री डाउन भएको रेडियोजस्तो पाएँ ।

photo : http://www.bhutandnc.com/

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल