ठूलो शक्तिको ‘इगो’ले केही न केही प्रभाव त पार्छ 

-  |   भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंह

ठूलो शक्तिको ‘इगो’ले केही न केही प्रभाव त पार्छ 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा भारतमा राजदूत रहेका दुर्गेशमान सिंह पाका कूटनीतिज्ञका रुपमा चिनिन्छन् । उनी सन् २००८ मा भारतका लागि नेपाली राजदूत थिए । त्यसअघि सन् १९९२–९७ सम्म युरोपियन युनियन मिसनका लागि नेपाली राजदूत थिए । आगामी बिहीबार प्रचण्ड पुनः प्रधानमन्त्रीको हैसियतमा दिल्ली जाने भएपछि नेपालको कूटनीतिक अवस्था र दिल्ली भ्रमणको सेरोफेरोमा सिंहसँग रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी ।

नेपालले अवलम्बन गर्ने परराष्ट्र नीति कस्तो पाउनु भएको छ ?

परराष्ट्र नीति भनेको वास्तविकताको ‘रिफ्लेक्सन’ मात्र हो । हामी दुई ठूला देशका बीचमा भएकाले हामीले हाम्रो परराष्ट्र नीतिको सञ्चालन सन्तुलित रुपमा गर्नुमा नै मैले हाम्रो भलाइ देखेको छु । भारतसँग हाम्रो भौगोलिक, आर्थिक, सामाजिक र सांस्कृतिक अन्तरघुलन रहेको वास्तविकतालाई पनि हामीले आँखा चिम्लन मिल्दैन । हाम्रो आवश्यकता भनेको हाम्रो मर्यादा, सार्वभौमिकताको अवलम्बन गर्दै अगाडि बढ्नु हो । राजा महेन्द्र सत्तामा नआउँदासम्मको अवस्थामा हाम्रो मन्त्रीपरिषद बैठकमा भारतीय राजदूत बस्ने गरेको हामीले सुनेका र पढेका छौँ । भन्नुको अर्थ त्यो परिस्थितिबाट विस्तारै गाँठो फुकाउँदै हामी यहाँसम्म आइ पुगेका हौँ ।

durgesh-manठूलो देशको छिमेकीको दृष्टिकोणबाट मैले भारतको दुईवटा स्वार्थ रहेको पाएको छु । पहिलो उसको राष्ट्रिय स्वार्थ र दोस्रो ‘इगो’ अर्थात अहंकारजन्य स्वार्थ । पहिलो आर्थिक अन्तर्गत आर्थिक गतिविधिसँगै पानीको स्वार्थ तथा सुरक्षा स्वार्थ जोडिन्छ भने दोस्रोमा उसको अहंकारको सम्मान गरिनुपर्ने रहेको देखिन्छ । त्यसलाई कम गर्नका लागि हामीले समय समयमा सही निर्णय लिँदै जानुपर्छ । कुनै पनि कूटनीतिक कदम चाल्दा वक्तव्यवाजी गर्नुको सट्टा ‘साइलेन्ट मुभ’ गर्याँै भने त्यसले भारतको अहंकारमा पनि चोट नपुग्ने र हामीलाई पनि अगाडि बढ्न सजिलो हुन्छ । होइन भने हामीलाई ‘ब्याक फायर’ हुन्छ । हामीले हाम्रो स्वार्थ पूरा गर्न अरुलाई चोट नपुर्याउने परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्छ ।

परराष्ट्र नीतिलाई ‘डोमेस्टिक फुटबल गेम’का रुपमा व्याख्या गर्ने परम्परा नै मूल कमजोरी हो । अब दैनिक राजनीति र दीर्घकालीन स्वार्थसहितको राजनीतिबीच लक्ष्मण रेखा कोरिनु जरुरी छ ।

हाम्रो परराष्ट्र नीतिको समस्याको कुरा गर्ने हो भने मलाई लाग्छ यहाँ सरकार परिवर्तनसँगै परराष्ट्र नीति पनि परिवर्तन भइरहने गर्छ । इटली पनि त्यस्तो देश हो जहाँ बारम्बार सरकार परिवर्तन भइरहन्छ तर परराष्ट्र नीति परिवर्तन हुँदैन । हामीले हाम्रो परराष्ट्र नीतिलाई ‘डोमेस्टिक फुटबल गेम’को रुपमा प्रयोग गर्दा यो समस्या देखिएको हो । त्यसकारण परराष्ट्र नीतिलाई राष्ट्रिय स्वार्थसँग जोडेर अगाडि बढाउनुपर्नेछ र सँगसँगै यसको संस्थागत विकास गर्नुपर्ने आवश्यकता मैले महशुस गरेको छु ।

सबल परराष्ट्र नीति बन्न नसक्नुका कारणहरु ?

परराष्ट्र नीतिलाई ‘डोमेस्टिक फुटबल गेम’का रुपमा व्याख्या गर्ने परम्परा नै मूल कमजोरी हो । अब दैनिक राजनीति र दीर्घकालीन स्वार्थसहितको राजनीतिबीच लक्ष्मण रेखा कोरिनु जरुरी छ । राष्ट्रिय स्वार्थसँग जोडिएको परराष्ट्र नीति कायम छ भने कुनै पनि सरकारले त्यसलाई अवलम्बन गरेमा हामी बलियो हुने दिशामा लम्कन्छौँ ।

ओली सरकारको कूटनीतिक मोबिलाइजेसन कस्तो थियो ?

ओली सरकारले ‘कनेक्टिभिटी’को कुरा गर्यो जुन सन् १९५५ देखि हाम्रो प्राथमिकतामा छ । ओली सरकारले गरेको कुरा ठीक तर शैली गैरकूटनीतिक भयो जसले गर्दा हामीमाथि नै ‘ब्याक फायर’ भयो । तर उसले उठाएको पारवाहानको कुरा हामीले अगाडि बढाउनै पर्ने हुन्छ । यहाँ के कुरा स्मरण योग्य छ भने– भारत आफैले चीनसँग व्यापार गर्छ र सन् २०२० मा त्यसलाई बढाएर दोब्बर बनाउने भनिरहेको छ भने हामीलाई चीनसँग व्यापार नगर भन्न नैतिकताले मिल्दैन । भारतको र चीनको व्यापारमा हामीले हाम्रो भूमिकालाई स्पष्ट पार्दै लैजानुपर्ने हुन्छ ।

नेपाल–भारतको सम्बन्धलाई सुधार गर्न भारतको कर्मचारी र खुफियातन्त्रमा भर परेर हुँदैन । हामीले यसलाई राजनीतिक तहमै विकास गरेर लैजानुपर्ने हुन्छ । कर्मचारीतन्त्रले डिल गर्ने हो भने नेपालको कर्मचारीतन्त्र भारतको भन्दा यति सानो छ कि उसले कप्लक्कै खाइ दिन्छ ।

नेपाल–भारतबीच सम्बन्ध बिग्रनुका कारण के थिए भन्ने लाग्छ ?

देशभित्रको निर्णय त हाम्रो हो तर यस विषयमा महत्वपूर्ण देशसँग सल्लाहा लिँदा र उनीहरुलाई ‘कन्फिडेन्स’मा लिँदा राम्रो हुन्थ्यो । हामीले उनीहरुलाई सोधेको भए रोष प्रकट गर्ने अवस्था आउने थिएन । १२ बुँदे सम्झौता हुँदै भारत एक हिसाबले सहकर्मीको रुपबाट अगाडि बढिरहेको छ । त्यस परिप्रेक्षमा ‘कन्फिडेन्ट’मा लिनु पर्दथ्यो । यहाँ कताकता हाम्रो कूटनीति चुकेकै हो । साथीहरुका बीच जस्तो अहंकार हुन्छ, त्यस्तै राष्ट्रहरुको बीचमा पनि हुँदो रहेछ । हामीले अझैसम्म संविधान जारी गर्न सकेका छैनौँ । संविधान निर्माण सरकार गठनको प्रक्रिया होइन ।

बिग्रिएको सम्बन्धलाई सही ट्र्याकमा ल्याउन के गर्नु पर्ला जस्तो लाग्छ ?

नेपाल–भारतको सम्बन्धलाई सुधार गर्न भारतको कर्मचारी र खुफियातन्त्रमा भर परेर हुँदैन । हामीले यसलाई राजनीतिक तहमै विकास गरेर लैजानुपर्ने हुन्छ । कर्मचारीतन्त्रले डिल गर्ने हो भने नेपालको कर्मचारीतन्त्र भारतको भन्दा यति सानो छ कि उसले कप्लक्कै खाइ दिन्छ । त्यसैले राजनीतिक बराबरीको डिल गर्ने हो । तर कयौँ वर्षसम्म राजदूत नियुक्त गर्न नसकेर समेत हामीपछि पर्ने गरेका छौँ । राजदूत भनेको कुनै पार्टीको नेता होइन । उदाहरणका रुपमा म राजदूतको रुपमा बेल्जियम हुँदा सबैले राम्रो काम गर्नुभयो भने त्यो किन सम्भव भयो भन्दा म राजदूत रहँदासम्म नेपालमा पाँचवटा सरकार परिवर्तन भइसकेका थिए । तर म राजदूतबाट हट्नुपरेन । तर सन् २००८ मा भारतको राजदूत हुँदा प्रचण्डको भ्रमणलाई फलदायी बनाएको भनेर प्रधानमन्त्री आफैले मलाई धन्यवाद दिनुभयो तर लगत्तै म राजदूतबाट फिर्ता बोलाइएँ । अनि त्यस्तो अवस्थामा भारतले ‘प्ले’ गर्दैन त ?

भारत हाम्रा लागि त्यस्तो देश हो जसमा निर्भरता र शङ्का दुवै निकै रहेको पाइन्छ । यसको के कारण होला ? तपाईं राजदूत भएको बेलामा कस्तो अनुभव गर्नुभयो ?

मैले भारतको नेपालप्रतिको दृष्टिकोण असाध्यै ‘पोजिटिभ’ पाएँ । किनभने मैले कैयौं सन्दर्भमा भारतीयहरुको साथ पाएको छु । रेलवेको विषयमा अप्ठ्यारो पर्दा मैले रेलमन्त्री लालुप्रसाद यादवलाई भेटेको थिएँ । उहाँले मित्रलाई जसरी मलाई निकै सहयोग गर्नुभयो । हाम्रो काम भनेको नेपालको बारेमा बुझाउने हो । कर्मचारीको हैसियतमा त्यो सम्भव छैन । सायद भारतका प्रधानमन्त्री मेरा अर्थशास्त्रका गुरु (पूर्व प्रधानमन्त्री मनमोहन सिंह) भएको नाताले पनि मलाई सहयोग भयो कि ? हामी भित्रबाट बलियो भयौँ भने मात्र बाहिर बलियो भएको सन्देस दिन सक्छौँ । नभए भारतीयहरुले ‘प्ले’ गरे भन्नुको के अर्थ ? हामीले हाम्रो विषयमा जति बुझेका हुन्छौँ त्योभन्दा दस गुना बढी भारतीयले बुझेका हुन्छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा के हुनु पर्दछ ?

नेपालको आन्तरिक सुदृढीकरण नै हाम्रो मूल एजेन्डा हो । अहिलेसम्म संविधान लागू भइसकेको छैन । त्यसलाई कार्यान्वयन गर्ने चुनौती हाम्रो माझ छ । संविधान कार्यान्वयनमा भारतको भूमिका नखोजे पनि उसको नकारात्मक भूमिका हुनुभएन । यो सद्भाव भ्रमण भएकाले नयाँ सिराबाट भारतसँग सम्बन्ध राख्न चाहन्छौँ भन्नुपर्छ । दोस्रो कुरा परराष्ट्र नीतिको निरन्तरता भएमा मात्र हामी बलियो हुन्छौँ ।

दुर्भाग्यवस नेपालमा हरेक वर्ष प्रधानमन्त्री परिवर्तन हुने परिपाटीको विकास भएको छ । तर प्रधानमन्त्री परिवर्तनभए पनि हाम्रो परराष्ट्र नीति परिवर्तन हुँदैन भन्नु पर्यो ।

तपाईंको दृष्टिकोणमा प्रधानमन्त्रीले उठाउनुपर्ने पाँचवटा विषय ?

पहिलो– सद्भावनालाई कायम राख्ने प्रयत्न । दोस्रो– अघिल्लो सरकारले अघि बढाएको विषयको निरन्तरता । भलै त्यो राजा महेन्द्रले नै अगाडि बढाएको किन नहोस् । तेस्रो– भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन । चौथो– ट्रेड र हाइवे ट्रान्समिसनको निरन्तरता । पाँचौँ– विकास निर्माणका प्रोजेक्टहरुको गति निर्धारण । ‘भेस्टेड इन्टे«स्ट’ राख्नेहरु नेपालमा मात्र होइन भारतमा समेत सक्रिय छन्, त्यसलाई चिर्न सक्नुपर्छ ।

समयसीमा तोकिएको सरकारलाई हेर्ने कूटनीतिक दृष्टिकोणमा भिन्नता आउने देख्नु हुन्छ कि ?

प्राकृतिक रुपमै भिन्नता त भइहाल्छ । दुर्भाग्यवस नेपालमा हरेक वर्ष प्रधानमन्त्री परिवर्तन हुने परिपाटीको विकास भएको छ । तर प्रधानमन्त्री परिवर्तनभए पनि हाम्रो परराष्ट्र नीति परिवर्तन हुँदैन भन्नु पर्यो ।

प्रचण्डको भ्रमणलाई दिल्लीले कति महत्वका साथ हेरेको छ ?

प्रधानमन्त्री भएपछि पहिलो पटक दिल्ली जाँदै हुनुहुन्छ भन्नुको अर्थ हामीले भारतलाई कति महत्व दिएका छौँ भन्ने कुरा यसले देखाउँछ । दिल्लीले यो भ्रमणलाई महत्व र सकारात्मकताका साथ नै हेरेको छ ।

प्रचण्डको भारत भ्रमणलाई कतिले चिनियाँ राष्ट्रपतिको भ्रमणसँग दाँजेर पनि हेरेका छन् । चिनियाँ राष्ट्रपतिको भ्रमणसँग जोडेर यसलाई हेर्न मिल्छ ?

चिनियाँ राष्ट्रपति सी जिङ पिङको नेपाल भ्रमण हाम्रा लागि महत्वपूर्ण छ । त्यसका लागि हामीले ‘कमिटमेन्ट’ दिनुपर्छ होला त्यो एउटा कुरा हो । ठूलो शक्तिको ‘इगो’ले केही न केही प्रभाव त पार्छ । त्यसैले हामीले हाम्रो राष्ट्रिय स्वार्थमा फरक नपर्ने गरी त्यसको ख्याल गर्नुपर्छ । तर हामीले उसको (भारत) ‘इगो’लाई म्यानेज गरी दिने तर हाम्रो चिन्ता उसलाई नहुने हो भने त्यो अर्राष्ट्रिय कदम हुन्छ ।

सरकारले दुई छिमेकी मुलुकमा विशेष दूत पठाएको कुरालाई यहाँले कसरी हेर्नु भयो ?

मेरो विचारमा त्यो सद्भावना भ्रमण मात्र थियो । त्यसैले त्यसको धेरै अर्थ मैले देखेको छैन । त्यो भ्रमणले गरेको भनेको प्रधानमन्त्रीको भ्रमणको आधार तयार पार्यो । हामीले दुवै मुलुकलाई उत्तिकै प्राथमिकतामा राखेका छौँ भन्ने जस्तो सन्देश दिन खोजियो त्यो सकारात्मक छ ।

तस्विर साभार : नेपालखबर

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल