भूकम्पले हाम्रो मानसिकतामा परिवर्तन ल्याइदिएको छ : ठुले राई

-  |   अन्तरवार्ताकार– नरेश ज्ञवाली

भूकम्पले हाम्रो मानसिकतामा परिवर्तन ल्याइदिएको छ : ठुले राई

पछिल्लो समय गएका विभिन्न भूकम्पमध्ये विनाशकारी भूकम्प झेलेका हैटीवासीले आफ्नो ‘अनुभव र पीडा’ विश्वसँग साझा गर्दै थिए कि नेपालले पनि ठूलो भूकम्पको सामना गर्नुपर्यो । नेपालमा भूकम्पले निम्त्याउने मानवीय र भौतिक क्षतिबाट जोगिन पूर्वतयारी नभएका होइनन् । तर, पाँचतारे होटलका पूर्वतयारीका कार्यक्रमले भूकम्पपीडित नेपालीलाई खासै सेवा दिन नसकेको जनता र विज्ञले अनुभव गरे । २०७२ वैशाख १२ मा गएको भूकम्पले आगामी असोज १२ गते डेढ वर्ष पुग्दै छ । भूकम्पपछि पार गर्नुपर्ने महत्वपूर्ण चरण खोज तथा उद्धार, राहत र पुनर्वासका चरणमा हामीले दुई चरण जेनतेन पार गरिसकेका छौँ तर भूकम्पपीडितको पुनर्वासको टुंगो अझै लागिसकेको छैन ।

यसै सन्दर्भमा पंक्तिकार त्यस्तो व्यक्तिको खोजीमा थिए, जसले भूकम्पले निम्त्याएको विपत्तिलाई नजिकदेखि नियालेको÷बुझेको होस् तर धेरै चर्चामा नआएका पात्र । भूकम्पजस्तो ‘जियोलोजिकल’ विषयलाई ‘दैवीशक्ति’ ठान्दै मानिसलाई दैवीकृपामा छाड्न चाहने राज्यको नीति निर्माताका अगाडि त्यस्ता मानिसको अनुभव साट्न चाहन्थें, जसले राज्यका आध्यात्मिक जियोलोजिस्टलाई वैज्ञानिक नीति बनाउन सहयोग पुर्याओस् । आखिर मानिसको जीवनमा अनुवभले धेरै कुरा सिकाएको हुन्छ । भूकम्पको मारमा उद्धार गरेका त्यस्ता व्यक्ति, जसले पेसाभन्दा प्यासनले मान्छेको ज्यान जोगाउने कामलाई रोजे । उनको नाम हो– ठुले राई

राई नेपाल प्रहरीको विपत् व्यवस्थापन महाशाखा प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) को हैसियतमा आफ्नो जिम्मेवारी पूरा गर्दै छन् । साधारण मानिसको नजरमा उनको हैसियत नीति निर्माताको लाग्न सक्छ तर उनी नीति निर्माताभन्दा पनि नीतिलाई व्यवहारमा अनुशरण गर्ने सच्चा सिपाही हुन् । ती सिपाहीलाई भूकम्पले निकै कुरा सिकायो । उनी आफूले सिकेको कुरा आफ्नो पुस्तालाई सिकाउन आतुर देखिन्छन् । पंक्तिकार सामाखुसीस्थित उनको हेडक्वार्टर पुग्दा उनी ‘एप्रोन’ लगाएर आफ्ना प्रशिक्षार्थीलाई खोज तथा उद्धारका अनेक विधि सिकाइरहेका थिए । म भने अबोध बालकसरी उनको क्रियाकलाप नियालिरहेको थिएँ । निकै कम बोल्ने अन्तरमुखी स्वभावका राईलाई केले तान्यो त खोज, उद्धार तथा विपत् व्यवस्थापनतर्फ । उनी भन्छन्, ‘मासिनको अमूल्य जीवन जोगाउन पाउँदाको आनन्द र खुसी नै अर्कै हुँदोरहेछ, त्यसैले म यसतर्फ लागें ।’

उनले सन् २००१ माएसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर (एडीपीसी) द्वारा नेपालमा दिइएको तालिमबाट यसमा पहिलो पाइला चाले । पछि थाइल्यान्डको बैंककबाट क्षेत्रीय प्रशिक्षकको तालिम लिई आफूलाई यस क्षेत्रमा रूचि भएको जनाउ दिए । नेपाल प्रहरीले उनको रूचि देखेर फिलिपिन्समा ‘मास्टर इस्टक्टर’को कोर्स गर्न पठायो । आखिर नेपाल प्रहरीलाई पनि त्यस क्षेत्रमा विज्ञको आवश्यकता खड्किरहेको थियो, जसले गर्दा उनले नेपालसहित फिलिपिन्स, बंगलादेश, भारत र पाकिस्तानमा समेत विज्ञका रुपमा काम गर्ने अवसर पाए । हाल उनी नेपाल प्रहरी विपत् व्यवस्थापन महाशाखाको तालिम सञ्चालन गर्ने ‘कोर्स मनिटर’ तथा ‘कोर्ष को–अडिनेटर’ भई तालिमको रुपरेखा तयार गर्ने तथा जनशक्ति परिचालन गर्ने गर्छन् । उनले तालिम दिएका धेरै फौजी तथा गैरफौजीले यस कामको महत्व बुझेर आफ्नो जीवन यसैमा होमेका छन्, जसको एकमात्र उद्देश्य विपत्तिमा जनधनको सुरक्षा गर्नु हो ।

thule-rai
विपत्ति के हो र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

विपत्तिलाई हामीले सामान्य ढंगबाट बुझ्दा विनाकुनै सूचना ठूलो अथवा सानो स्तरमा मानवीय र भौतिक क्षति पुर्याउने परिघटना भन्न सक्छौं । त्यसबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने प्रयासलाई हामीले विपत् व्यवस्थापन भन्ने गर्छौं । कतिपय घटनाको पूर्वानुमान गर्न सकिन्छ भने कतिको हामीले पुर्वानुमान गर्नुअगावै घटिसकेका हुन्छन् । विपत्तिका विभिन्न रुप हुन्छन् । जस्तै, प्रकृति सिर्जित भूकम्प, बाढीपहिरो, हिमताल फुट्ने हुन्छन् भने मानवसिर्जित युद्ध, आगलागी, महामारी आदि हुन्छन् । हामीले हालैमात्र त्यसको एउटा रुप भूकम्पमा भोगेका छांै । विपत्तिलाई रोकथाम गर्नका लागि त्यसको पूर्वतयारीको महत्पूर्ण भूमिका हुन्छ । विपत्सँग सम्बन्धित खतरा र जोखिमको अध्ययन गरेर पूर्वतयारीले विपत्सँग सम्बन्धित खतरा र जोखिम अध्ययन गरेर गरिएको पूर्वतयारीले सोबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र सुरक्षित समाज निर्माण गर्न मद्दतमात्र गर्दैन, यसले कालान्तरमा मुलुकको दीर्घकालीन विकासमा समेत ठूलो सहयोग पुर्याउँछ । विपत् व्यवस्थापन भनेको बहुनिकायले गर्ने साझा प्रयासले मात्र सम्भव हुन्छ । जसका लागि अन्तरनिकायबीच समझदारी र उच्च समन्यवय आवश्यक पर्छ । नेपालको सन्दर्भमा यसको समन्वय, रेखदेख तथा नियन्त्रणका लागि गृह मन्त्रालयले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

विपत् व्यवस्थापन गर्ने प्राविधिक कोण के–कस्ता हुन्छन् र तपाईंले देख्नुभएको अन्तर्राष्ट्रिय अभ्यास के छ ?

कुनै पनि विपत्तिको व्यवस्थापनको काम एक÷दुई दिन अथवा एक÷दुई महिनामा पूरा हुन्छ भन्ने हुँदैन । विपत् व्यवस्थापनको एउटा चक्र हुने गर्छ, जसलाई सामान्यतया जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणका चरण भनिन्छ । प्रभावकारी विपत् व्यवस्थापनका लागि यी प्रत्येक चरणको महत्वपूर्ण भूमिका हुने गर्छ । तुलनात्मक रुपमा कुरा गर्ने हो भने समग्र विपत् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीको अहम् भूमिका रहन्छ भन्ने लाग्छ । जुन कुराले विपत् व्यवस्थापनका प्रत्येक चरणलाई चुस्त र दुरूस्त हालतमा राख्न मद्दत गर्छ । चक्र सुरू गर्नुअगावै हामीलाई विपत् के हो भन्ने जानकारी हुनु जरूरी छ । त्यसपछि मात्र त्यसको व्यवस्थापनको पाटोमा प्रभावकारी काम गर्न सक्छौं । तयारी गर्दागर्दै डिजास्टरले स्ट्राइक गरिहाल्यो भने त्यसको प्रतिक्रियामा काम गर्नुपर्ने हुन्छ । कुनै पनि प्रतिक्रिया जनाउनका लागि रेस्क्युवर र रेस्पोन्डर तयारी अवस्थामा हुनुपर्छ । त्यसका लागि प्रशिक्षित मान्छे र प्रविधि चाहिन्छ ।
हामीसँग दक्ष जनशक्ति र साधन स्रोत भएन भने कुनै पनि विपत् व्यवस्थापनलाई सार्थक र परिणाममुखी बनाउन विभिन्न असहज परिस्थिति सामना गर्नुपर्ने हुन्छ । त्यसपछिको काम भनेको पुनर्वास र पुनःनिर्माणमा हामीले ध्यान दिनुपर्ने हुन्छ । पुनःनिर्माणको काम सकेपछि हामीले पुनः विपत् व्यवस्थापनको काम गर्छौं । त्यसरी एउटा सर्कल पूरा हुन्छ । एउटा सर्कल पूरा भयो अब काम सकियो भनेर हुँदैन । एउटा चक्र पूरा गरेपछि भोलि पनि आउन सक्ने विपत्को पूर्वतयारीमा लाग्नुपर्ने हुन्छ । उपयुक्त साधन स्रोत र जनशक्तिमा हामीले जति लगानी गर्छौं, त्यसको प्रभावकारिता त्यति नै हुने हो ।

विपत् व्यवस्थापनका लागि कस्ता संयन्त्र मुलुकमा क्रियाशील छन् ?

दैवीप्रकोप उद्धार ऐन २०३९ नै राज्यको मूल कानुन हो, जसले हामीलाई दिशानिर्देश गर्ने गर्छ । त्यस ऐनअन्तर्गत रहेर विभिन्न दस्तावेजसमेत तयार भएका छन् । विशेषगरेर गृह मन्त्रालयले यसको नेतृत्व गर्छ । त्यसैको वरिपरि रहेर कृषि, स्वास्थ्य, जलस्रोत, सुरक्षा निकायले आ–आफ्ना जिम्मेवारी पूरा गर्ने गर्छन् । यस्ता अन्य कैयौं निकाय छन्, जो यस्तो विपत्को बेलामा गृह मन्त्रालयको संयोजकत्वमा खटिने गर्छन् । जस्तो कि नेपाल रेडक्रस सोसाइटी, विभिन्न गैरसरकारी संघ–संस्था, समुदायस्तरका विभिन्न स्वयम्सेवक टोलीलगायतका विभिन्न निकाय यस्तो बेलामा गृह मन्त्रालयको समन्वयनमा काम गर्ने गर्छन् ।

ती विभिन्न संयन्त्रले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो बारम्बार सुनिने गर्छ, यस्तो किन ?

केही वर्षयता पूर्वतयारीका काममा तदारुकतासाथ काम हुँदै आइरहेको छ । तर, अन्य मुलुकको तुलनामा हाम्रो मुलुक कुन स्तरमा थियो र हामी अहिले कहाँ छांै भनेर हेर्ने हो भने त्यो गति निश्चय पनि सुस्त छ । तर, त्यो भिन्न कुरा हो । सरकारले यसको पहल लिएसँगै केही सकारात्मक कदम चाल्दै गरेको हामीले पाउँछौं । यसको परिणामस्वरुप नै विभिन्न निकायले आ–आफ्नोमातहतमा विभिन्न इकाइ निर्माण गरी पूर्वतयारी तथा क्षमता अभिवृद्धिको काम गरिरहेका छन् । तपाईंले हाम्रै माहाशाखाको कुरा गर्नुभयो भने पनि पहिले यो थिएन । तर, अहिले यसको स्थापना हुनु भनेको यसप्रति नेपाल प्रहरी र सरकारको भविष्यप्रतिको संवेदनशीलता नै हो । तर, यति हुँदाहुँदै पनि हामीले धेरै गर्न बाँकी नै छ ।

सुरक्षा निकायको भूमिका पनि यहाँ जोडिएर आउँछ होइन र ?

रेस्क्युवरको संगठित जनशक्ति भएको अर्को छुट्टै प्रभावकारी निकाय नभएको हुनाले, ठूलो अथवा सानो स्तरको विपत्मा सुरक्षा निकायको भूमिका अहम् हुने गर्छ । तर, यहाँ चाखलाग्दो कुरा के छ भने यस्तो अभ्यास हामी अन्य विकसित मुलुकमा पनि भएको पाउँछांै । तपाईंले अमेरिका, बेलायत अथवा जापानलाई समेत हेर्नुभयो भने सुरक्षा निकायको भूमिका अहम् पाउन सक्नुहुन्छ । किनभने यो यस्तो संगठित र समर्पित जनशक्ति हो, जो २४ सै घन्टा उद्धार र राहतका लागि तयारी अवस्थामा बसेको हुन्छ ।

हाम्रो महाशाखाको सन्दर्भमा पनि त्यो लागू हुन्छ । हाम्रो केन्द्र र पाँचै विकास क्षेत्रमा रहेको टोली हरेक विपत्का लागि तम्तयार अवस्थामा बसेको हुन्छ । यसमा अर्को महत्वपूर्ण कुरा के हो भने यस्तो जनशक्तिसँग चाहिने साधन स्रोत पर्याप्त छन् कि छैनन् भन्ने महत्वपूर्ण कुरा हो । कुनै पनि सम्भावित विपत्का लागि राज्य र सुरक्षा निकाय एलर्ट हुनुपर्छ भनेर तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमा यसको छुट्टै कम्पोनेन्ट नै खडा गरिएको छ ।

अन्तर्राष्ट्रिय अनुभव हेर्ने हो भने विपत् व्यवस्थापनका लागि छुट्टै विभाग अथवा मन्त्रालय नै गठन गरेर अगाडि बढेको देखिन्छ । तपार्इं नेपालमा त्यस्तो कुनै निकायको आवश्यकता कत्तिको महसुस गर्नुहुन्छ ?
विपत् व्यवस्थापनमा छुट्टै समर्पित निकाय भएमा त्यो धेरै राम्रो हुन्छ । यस विषयमा के भइरहेको छ भन्नेबारे मैले धेरै भन्न सक्ने अवस्था छैन किनभने म नीति निर्माण तहको व्यक्ति होइन । तर, वर्तमान अवस्थामा सुरक्षा निकायभित्रका विङलाई अझै दक्ष तुल्याउनुपर्छ भन्ने बहस बाक्लिएको हामी पाउँछौँ ।

सुरक्षा निकायका तीनवटै संगठनमा उद्धारकर्ताको जनशक्ति कति छ ?

नेपाल प्रहरीले यसलाई सम्बोधन गर्न वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा महाशाशाखा नै गठन गरेको छ । जसमा एक हजार ७२ को दरबन्दी स्वीकृत भएर लगभग दरबन्दी पूर्ति हुनेक्रममा छ । चार सय ५० जनाको जनशक्ति महाशाखामा रहन्छ भने एक सय २५ जनाको प्रत्येक पाँच विकास क्षेत्रमा एउटा युनिट हुन्छ । यो जनशक्ति भनेको विपत् व्यवस्थापनका लागि समर्पित जनशक्ति हो । यसबाहेक १४ गण र गुल्ममा रहेको जनशक्तिसमेत त्यसका लागि जहिल्यै तत्पर रहन्छ ।

त्यस्तै, नेपाली सेनामा ब्रिगेडियर जनरलको नेतृत्वमा विपत् व्यवस्थापन निर्देशनालय गठन गरिएको छ । निर्देशनालयअन्तर्गत बटालियनस्तरको टुकडी हुने गर्छ । यो निर्देशनालय डिपार्टमेन्ट अफ मिलिट्री अपरेसन (डीएमओ) अन्तर्गत सञ्चालन हुने गर्छ भने सशस्त्र प्रहरीमा कार्यविभागअन्तर्गत विभिन्न बटालियनअन्तर्गत विपत् व्यवस्थापनमा उद्धारकर्मी खटिने गर्छन् । र, यी तीनवटै सुरक्षा निकायबीच विपत् व्यवस्थापनमा बारम्बार सहकार्य, ज्वाइन्ट अपरेसन र तालिम सञ्चालन भइरहन्छन् । यस क्षेत्रमा यी निकायले निकै महत्वपूर्ण काम गरेको नेपाली जनताले पनि महसुस गरेका छन् ।

उद्धार गर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय अनुभव र नेपालमा गरिएको अभ्यासलाई दाँजेर हेर्दा तपाईंले कस्तो अनुभव सँगाल्नुभएको छ ?

विपत्को बेला हामीले अभ्यास गरेको प्रक्रिया अन्तर्राष्ट्रिय स्ट्यान्डरकै हो । फरक कुरा केमात्र हो भने हामी कस्तो अवस्थामा त्यस्तो कुराको अभ्यास गरिरहेका थियौं । ‘मेघा डिजास्टर’ को समयमा विभिन्न अन्तर्राष्ट्रिय समुदायले जसरी सहयोग गर्ने कुरा गरे, त्यसमध्ये कस्तालाई पहिले र कस्तालाई ढिलो रेस्पोन्स गर्ने भन्ने कुरा महत्वपूर्ण हो । अनुभव अभावमा हामीले छरितो ढंगले कार्य व्यवस्थापन गर्न सकेनौं कि जस्तो लाग्छ तर विगतको भूकम्पमा गरिएको अनुभवले हामीमा निकै आत्मविश्वास बढाएको छ ।

नेपाल प्रहरीको विपत् व्यवस्थापन महाशाखालाई के आत्मविश्वास छ भने यदि आगामी दिनमा हामीले कुनै पनि विपत् व्यवस्थापन गर्नुपरेमा हामी निकै छरितो ढंगले त्यो गर्न सक्छौं । हिजोको विपत्ले हामीलाई धेरै शिक्षा दिएको छ । त्यो शिक्षाले हामीमा निकै परिपक्वता ल्याएको छ । जुन हामीले हाम्रो भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने हुन्छ । हिजो विपत् व्यवस्थापनको सन्दर्भमा जुन कुराको स्वीकार्यता थिएन, आज त्यसमा नयाँ ढंगको चेतना विकसित भएको छ । यो निकै ठूलो कुरा हो । भूकम्पले हाम्रो मानसिकतामा परिवर्तन ल्याइदिएको छ ।

हामीले भूकम्पबाट धेरै शिक्षा त लियौं तर अहिले तत्काल के गर्न बाँकी छ ?

हामीले धेरै गर्न बाँकी नै छ । पहिलो कुरा हाम्रो उद्धारकर्ताको संख्या र क्षमता अभिवृद्धि गर्नुपर्नेछ । संख्यासँगै उनीहरुलाई चाहिने भौतिक पूर्वाधारदेखि तालिममा पनि हामीले ध्यान दिनुपर्नेछ । यस्तो अवस्थामा मेडिकल फेसिलिटी उपलब्ध गराउने दक्ष जनशक्ति निर्माण गर्नुपर्नेछ । यसका साथसाथै समुदायस्तरमा यस कुराको बोध गराई समुदायस्तरबाटै हामीले ठूलो संख्यामा स्वयम्सेवक निर्माण गर्नुपर्नेछ ।

भूकम्पले मात्रै विपत्ति निम्त्याउने होइन । त्यसैले विभिन्नप्रकारका जोखिम पहिचान, लेखाजोखा र त्यसको रेखांकन गर्नुपर्नेछ । ती सम्बन्धित विपत्तिका क्षेत्रको पहिचान र रेखांकन गरिसकेपछि त्यस क्षेत्रमा बसोवास गर्ने आमनागरिकलाई त्यसबारे सचेत तुल्याउनुपर्नेछ । समग्रमा हामीले अहिले जसरी एउटा चक्रमा रहेर काम गरिरहेका छौं, त्यसलाई थप परिष्कृत गर्नुपर्नेछ ।

हामीले आमनागरिकलाई विपत् व्यवस्थापनबारे तालिम दिन सक्यौं भने त्यसले हामीलाई अप्ठ्यारो परेको बेलामा थप सहयोग गर्ला नि होइन र ?

मैले विपत् व्यवस्थापनमा समुदायको भूमिका निकै महत्वपूर्ण हुन्छ भन्ने गरेको छु । हामीले समुदायलाई यस विषयमा प्रशिक्षित गर्न सक्यौं भने निकै ठूलो फड्को मार्न सक्छौं । त्यसैले हामीले समुदायलाई छाडेर अगाडि बढ्ने कुरा हुँदैन । समुदाय यस कुरामा सचेत हुनु भनेको अन्ततः राज्यलाई नै सहयोग पुग्ने कुरा हो । त्यसैले मैले धेरैभन्दा धेरै सिबिलियन नागरिकलाई तालिम दिनुपर्छ भन्ने मत राख्छु । जस्तै बंगलादेशको फायर सर्भिसले ढाका सहरमा ६२ हजार स्वयम्सेवक तयार पार्ने योजनालाई मूर्त रुप दियो । मानिलिनुस् भोलि ढाकामा कुनै विपत्ति आएमा ती ६२ हाजर स्वयम्सेवकले संगठित रुपमा काम गरे भने के हुन्छ ? त्यसले राज्यको कामलाई निकै ठूलो सघाउ पुग्छ । त्यसैले हामीले पनि स्वयम्सेवक बढाउने कुरामा जोड दिनुपर्छ । हाम्रा नीति निर्माण क्षेत्रमा रहेका योजनाकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल