विश्वमै सबैभन्दा राम्रो स्मरण शक्ति भएका व्यक्ति जो विश्वका सबै क्यासिनोमा प्रतिबन्धित छन्

विश्वमै सबैभन्दा राम्रो स्मरण शक्ति भएका व्यक्ति जो विश्वका सबै क्यासिनोमा प्रतिबन्धित छन्

असोज १०
पछिल्लो १० वर्षमा उनले ८ पटक विश्व स्मरणशक्ति प्रतियोगिता जितेका छन्, उनले केही मिनेटमा नै तासको पत्तिको क्रमलाई स्मरण गर्न सक्छन् र उनलाई विश्वका सबै क्यासिनोहरुमा जान प्रतिबन्ध गरिएको छ । उनी हुन् डोमिनिक ओ ब्रायन, विश्वमै सबैभन्दा राम्रो स्मरणशक्ति भएका व्यक्ति ।
अहिले उनी विश्वकिर्तिमानधारी भएपनि ५९ वर्षीय डोमिनिकको बाल्यकाल भने फरक थियो । उनलाई एटेन्सन डेफेसिट डिसअर्डर (एडिडी) नामक रोग लागेको थियो, जसले गर्दा उनी केही कुरामा पनि ध्यान दिन सक्दैन थिए । यति मात्र होइन उनी उल्टो लेख्थे भने डिस्लिेक्सियाबाट पनि पीडित थिए ।
‘म सानो हुँदा मेरो टाउकोमा चोट लागेको थियो । म रेलसँग पनि ठोक्किएको थिएँ, त्यतिबेला केही समय मलाई रेलले घिसारेको पनि थियो,’ डोमिनिक सम्झन्छन्, ‘मेरो निधारको माथि गहिरो चोट लागेको थियो ।’
यति हुँदा हुँदै पनि उनी विश्वकै सबैभन्दा तिक्ष्ण स्मरणशक्ति भएका व्यक्ति बन्न सफल भएका छन् । र, बाल्यकालको समस्याका बावजुद जो कोही पनि यस्तो बन्न सक्ने उनी बताउँछन् । यसका लागि रचनात्मक सोच चाहिने उनको तर्क छ ।
डोमिनिकका अनुसार सन् १९८७ मा एक व्यक्तिले टेलिभजनमा एक तासको डब्बामा भएका सबै तासलाई स्मरण गर्न सकेको हेरेपछि उनले पनि स्मरणशक्तिबारे प्रशिक्षण शुरु गरेका थिए । ‘मलाई त्यो निकै रोचक लाग्यो । म त्यतिबेला मात्र उनले त्यो कसरी गरे भन्ने जान्न चाहन्थे । र, यहीँबाट शुरु भयो यो श्रृंखला,’ मेन्टल हेल्दी नामक पत्रिकासँग कुरा गर्दै उनले बताए ।
स्मरणशक्तिबारे प्रशिक्षण शुरु गर्दा उनी ३० वर्षका थिए । यस्ता अद्भूत कुरा सिक्न उनलाई मात्र दुई हप्ता लागेको दाबी गर्छन् । ‘३० वर्षको उमेरमा मैले प्रशिक्षण शुरु गरे र केही हप्ताभित्र म निकै रोचक कुराहरु गर्न शुरु गरिसकेको थिएँ,’ उनले भने, ‘तीन महिनाभित्र म तासको डब्बाको क्रम स्मरण गर्न थालेको थिएँ ।’ एक वर्षभित्र उनले ६ वटा डब्बामा रहेका सबै तासहरुको क्रम स्मरण गरेर विश्व किर्तिमान बनाइसकेका थिए । अहिले उनले ५४ वटासम्म त्यस्ता तासका डब्बाको क्रम स्मरण गर्न सक्छन् ।
डोमिनिकका अनुसार गिनिज वल्र्ड रेकर्डका संस्थापक नोरिस मेकमाइटरले त्यतिबेला अब ६ वटा तासको डब्बाभन्दा धेरै स्मरण गर्ने व्यक्ति नपाइने बताएका थिए । अहिले ५४ वटासम्म तासको डब्बालाई स्मरण गरेर डोमिनिकले उनलाई पनि गलत साबित गरिदिएका छन् ।
‘मलाई आफूले स्मरण गर्ने नयाँ तरिका पत्ता लगाएको लागेको थियो । तर, यसलाई त ग्रीकहरुले २ हजार वर्ष पहिले नै विकास गरिसकेका रहेछन्,’ उनी भन्छन्, ‘म यसलाई जर्नी मेथड भन्छु । मैले यसबारे १९९४ मा लेखेको किताबमा उल्लेख गरेको छु ।’
कसरी बन्ने त स्मरण शक्तिको विश्व च्याम्पियन ? डोमिनिक भन्छन्, ‘यसका लागि कडा मिहिनेत चाहिन्छ । शुरुमा एक घण्टामा सकेसम्म धेरै अंक सम्झने । अहिले विश्व किर्तिमान भनेको दशमलवपछि ३ हजार अंक रहेको छ । त्यस्तै एक घण्टामा सकेसम्म धेरै तासको क्रमलाई सम्झने र १५ मिनेटमा १२० वटा नाम र अनुहार सम्झने ।’ यस प्रशिक्षणलाई नियमति दोहोराए स्मरणशक्ति बनाउन सकिने उनी बताउँछन् ।
यस्तो तिक्ष्ण स्मरण शक्ति जुवा र क्यासिनोका लागि निकै फाइदाजनक हुन्छ । उनले पनि क्यासिनोमा यसको प्रयोग गरे । तासबारे सही अनुमान लगाएर त्यहाँबाट राम्रो कमाउन पनि थाले । तर, उनको बारेमा थाहा पाएपछि अमेरिका, लास भेगास र अन्य देशका क्यासिनोमा उनलाई जान प्रतिबन्ध लगाइयो । अहिले भने उनी स्कूल तथा विश्वविद्यालयमा आफ्नो ज्ञान बाँड्दै हिँडिरहेका छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल