जय मधेस, खाउ मधेस : मुरलीधर

जय मधेस, खाउ मधेस : मुरलीधर

चर्चित कलाकार मुरलीधरले अभिनय, निर्माण, निर्देशन, गायन, संगीतलगायत सबै क्षेत्रमा काम गर्दै आइरहेका छन् । हाल भारतको मुम्बईलाई कर्म क्षेत्र बनाएका मुरलीधरले पछिल्लो समय मधेसको कथावस्तुमा खेलेको भैरव फिल्मको निकै आलोचना भयो । तर, उनी भन्छन्, मधेसको यथार्थ फिल्म हो भैरव । दसैँ मनाउन नेपाल आएका मुरलीधरसँग रातोपाटीका लागि गरिएको कुराकानीको छोटो अंशः

253762_10150212182081878_798342_n
तपाईको कर्मथलो भारत हो, नेपाल आउनुभएको छ । दसैँ मनाउन आउनु भएको हो कि केही विशेष कामले आउनु भएको ?

–म नेपालको मान्छे, नेपाल आउनका लागि मैले कुनै साइत हेराउनु पर्दैन । तर, यसपाली असोज १४ गते पोखरामा एउटा कार्यक्रम थियो, त्यसमा भाग लिन आएको थिएँ तर १५ गतेदेखि दसैँ पर्यो । अब दसैँ यतै मनाएर भारत फर्किने सोच बनाएको छु । भारतबाट आउँदा मैले सोचेको थिइँन कि दसैँ नेपालमै मनाउनुपर्छ तर अवस्था यस्तो भयो कि मनाउनु पर्यो । म आफ्नो गाउँ (सिरहाको औरही) जान्छु । त्यहाँ इष्ट मित्रहरुसँग रमाइलो गरि दसैँ मनाउँछु ।

तपाइँ मधेसमा जन्मे हुर्केका मान्छे, दसैँ कसरी मनाउने योजना छ त ?

–मधेसमा जसरी दसैँ मनाउँछ त्यसरी नै मनाउँछु । मधेसतिर टिका हुँदैन । मेला लाग्छ । ठाउँ ठाउँमा माटोको मुर्ति बनेको हुन्छ । साँस्कृतिक कार्यक्रमहरु भइरहेका हुन्छन् । आफन्त र इष्टमित्रहरुसँग भालकुसारी साटासाट गरी दसैँ मनाइन्छ । म पनि त्यसरी नै मनाउँछु । मेरा थुप्रै पुराना साथीहरु छन् । दसैँमा गाउँ गएपछि त्यही पुराना साथीहरुसँग भेटघाट गर्छु रमाइलो गर्छु । दसैँमा खासै यही गर्छु भने कुनै योजना छैन ।

मधेसमा तीन तीन पटक आन्दोलन भयो तर मधेसी जनताले केही पाएन तर, नेताहरुको हेर्नुस् सबैले काठमाडौँमा घर बनाई सके । काठमाडौँमा घर नहुनेले बाहिर पनि बनाएका छन् ।

तपाई कलाकार मान्छे मधेसमा भइरहेका साँस्कृति कार्यक्रमहरुमा भाग लिनुहुन्छ कि लिनु हुन्न ?

– त्यस्तो कुनै योजना छैन । म आफ्ना घरपरिवार, इष्टमित्र र समाजलाई भेट्न गइरहेको छु । तर, मेरा गाउँका दाजु, भाइ तथा दिदी बहिनीको आग्रह भयो भने त्यसलाई अस्वीकार गर्न पनि सकिदैन । तर मान्छेमा एउटा नराम्रो संस्कृतिको विकास हुँदै गइरहेको छ । कुनै कार्यक्रममा मगाउनुछ वा त्यसमा भाग लिन लगाउनुछ भने अग्रिम रुपमा भनेका हुँदैनन् । मुरलीधर नेपाल आएको थाह पाए फलानो ठाउँमा कार्यक्रम छ आइ दिनुपर्यो, फलानो ठाउँमा तपाईलाई सम्मान गरेको छ आइ दिनुपर्यो भन्छन् । यसरी भन्छन् कि बाध्य नै बनाइदिन्छन् तर त्यो राम्रो काम होइन । म पनि यति टाढाबाट आएको हुन्छु, मेरा पनि विभिन्न कामहरु हुन्छ । खर्च भएको हुन्छ । ती सबै कुरालाई ख्याल नै नगरी एकैचोटी निमन्त्रणा नै दिन्छन् । काठमाडौँबाट सिधै फोन गर्छन् र एकैचोटी सोध्छन् दाइ तपाइँ काठमाडौ कहिले आउनु हुन्छ यहाँ फलानो दिन एउटा कार्यक्रम छ ।

ती त तपाईका शुभचिन्तकहरु पनि हुनसक्छ नि ?

–हो, ती सबै मेरा शुभचिन्तक नै हुन् । तर कार्यक्रमका लागि अग्रीम समय लिए राम्रो हुन्छ, त्यति मात्र भन्न खोजेको हो ।

तपाईको क्षेत्र कलाकारीता भएपनि नेपालको राजनीतिक बारे पनि रुची राख्नुहुन्छ । अहिलेको नेपालको राजनीतिक बारेमा के भन्नुहुन्छ ?

– समाचारहरु पढेर अलि अलि जानकारी राखेको हुन्छु । मलाई लाग्छ विश्वमा अभिभावक नभएको कुनै देश हो भने त्यो हो नेपाल । यहाँ नेताहरु मोटाएका छन् भने जनता दुब्लाएका छन् । राजनीति गर्ने नेताहरुको अवस्था हेर्नुस्, हिजोका नेता आज कहाँ पुगी सके । हात्ती छाप चप्पल लगाएर आएका नेताहरुसँग आज काठमाडौमा आलिसान बंगलाहरु छन् । छोराछोरीहरुलाई विदेशमा पढाई रहेका हुन्छन्, कहाँबाट आउँछ त्यत्रो पैसा ? कुनै पनि आन्दोलन होस्, भरिभराउ मान्छे भेला गर्छन् । तडक भडक पनि त्यतिकै हुन्छ ती सबै कहाँबाट आउँछ । पक्कै पनि कतै न कतैबाट लिएका हुन्छन् । कोही नकोही त पक्कै प्रायोजक हुन्छ । मधेसकै कुरा गर्ने हो, भने सबै मधेसवादी दलका नेताहरुमा परिवर्तन आएको छ तर जनतामा परिवर्तन आएको छैन । मधेसी जनता जहाँको त्यही छ तर नेताहरु माथि माथि पुगिसके । मधेसमा तीन तीन पटक आन्दोलन भयो तर मधेसी जनताले केही पाएन तर, नेताहरुको हेर्नुस् सबैले काठमाडौँमा घर बनाई सके । काठमाडौँमा घर नहुनेले बाहिर पनि बनाएका छन् । अनि उनीहरुले मधेसी जनताका मुक्तिका लागि लडिरहेका छौँ भनि गर्ने दावी सबै झुठा हुन् ।

रेडियो नेपालमा चार चारचोटी भ्वाइस टेस्ट दिए । फेल गरियो । नाच घरमा जागिरका लागि फर्म भरेका थिए । सबै कुरामा पास भए अन्तिममा भारतीय हो भनेर जागिर दिएनन् । यस्ता धेरै पीडा छन् नेपालमा, यो सानो कुराकानीमा म कति भन्नुँ ।

त्यसो भए तपाइँको विचारमा यी नेताहरुले के गरिदिनुपर्यो त ?

–म त भन्छु नेपाल जस्तो मुलुकका लागि संघीयता चाँहिदैन, चाहिदैन । यहाँ तानाशाहको आवश्यकता छ । गणतन्त्र आएपछि यो देश कति बर्बाद भएको छ, त्यसको हिसाब किताब कसैसँग छैन । अहिले देखिएका कुनै पनि नेताहरुले देशलाई अगाडि बढाउन सक्दैनन् । खाली ठूला ठूला कुरा गर्छन्, काम केही गर्दैनन् । जे काम गर्छन् आफ्नो स्वार्थ अनुसार गर्छन् ।

जनता जाए भाँडमे । म नेपालका धेरै पत्रकारहरुलाई हेर्छु, उनीहरुले कसरी मेन्टेन गर्छन् । कलम चलाएर यत्रो मेन्टन गर्नै सक्दैनन् । म पनि अलि अलि पत्रकारिता बुझेको छु । नेपालको पत्रकारिता र मिडिया हाउसहरुको बारेमा पनि जानकारी राखेको छु । काठमाडौ यस्तो महँगो ठाउँ हो जहाँ पत्रकारलाई टिक्न निकै गाह्रो छ तर ठाटबाठले जीवन चलाइरहेका छन् । ती सबै कहाँबाट आउँछ प्रश्न यहाँ छ ।

तपाइँ माथि पनि आरोप छ, नेपालमा जन्मे हुर्केको मान्छे नेपाललाई सेवा गर्ने समय आयो अनि भारत गएर बस्यो, के यो सही हो त ?

–(हाँस्दै) यस्तो अरोप लगाउने मान्छेले सायद नेपालमा मेरो स्ट्रगल हेरेको छैन । रेडियो नेपालमा चार चारचोटी भ्वाइस टेस्ट दिए । फेल गरियो । नाच घरमा जागिरका लागि फर्म भरेका थिए । सबै कुरामा पास भए अन्तिममा भारतीय हो भनेर जागिर दिएनन् । यस्ता धेरै पीडा छन् नेपालमा, यो सानो कुराकानीमा म कति भन्नुँ । खासमा म भारत संगीत सिक्नका लागि गएको थिएँ । संगीत सिक्दै कामहरु पनि गर्न थाले । अवसरहरु आउन थाल्यो, त्यहीँ बसे ।
नेपाल यस्तो देश जहाँ जे कुरामा पनि लविङ चाहिन्छ । जहाँ जानुस् केही गराउनु छ भने कुन पार्टीको मान्छे हो, यसको लिंक कुन नेतासँग छ आदि आदि सोध्न थाल्छन् । विना लिंकको कुनै काम हुँदेन यहाँ । तर भारतमा त्यस्तो छैन । क्षमता छ भने काम गर्न कसैले रोक्न सक्दैन ।

तैपनि म मुम्बई छाडेर नेपाल आउन कतिपटक प्लान बनाए तर के के काम आइहाल्छ त्यसमै व्यस्त भएर प्लान समाप्त हुन्छ । म मुम्बईमा भएपनि मेरा आत्मा नेपालमै छ । म नेपालमा पनि काम गरिरहेको छु । नेपाली गीत संगीतमा रमाई रहेको छु । फिल्महरु खेलिरहेको छु । कसैले बोलाएमा आइरहन्छु । आफ्नो कामले पनि पटक पटक आइरहन्छु । मलाई मेरो लागि नेपाल नै प्यारो छ तर बाध्यताले भारतमा बसिरहेको छु ।

फिल्मको कुरा गर्नुभयो, तपाइँले हालै खेलेको भैरव फिल्मको निकै आलोचना भएको छ । मधेसी भएर मधेसलाई होच्याउने किसिमको फिल्म (भैरव) खेल्नु भएको भन्ने कुरा मधेसी समुदायको छ, किन त्यस्तो ?

–मलाई लाग्छ, जसले यो भैरव फिल्म हेरेको छैन, त्यसले आलोचना गरिरहेको छ । यदि कसैले राम्रोसँग फिल्म हरेको छ भने त्यसले आलोचना गर्दैनन् । भैरव फिल्म हेरेका कतिपय मधेसी दाजु भाइले मलाई फोन गरेर भन्नुभयो, ‘दाजु यो फिल्म अलि पहिले बनेको भए मधेसमा आन्दोलन नै हुँदैन्थ्यो ।’ अर्थात मधेसको असली चित्रण फिल्मले गरेको छ । फिल्म भनेको समाजको ऐना हो । समाजमा जे छ, त्यो देखाई दिने हो । मैले भन्ने गरेको एउटा डायलोग ‘जय मधेस, खाउ मधेस’ हो जसले मधेसको यर्थात अवस्थालाई चित्रण गरेको छ । मधेसी नेताहरुले जय मधेस भन्छन् तर मधेसलाई खाइरहेका हुन्छन् । मधेसको नाममा आफ्नो भूँडी भरिरहेका हुन्छन् । यहाँ काठमाडौमा अल्झिनु भन्दा त जनतामा रहेर आफ्नो बहुमत ल्याउने काम गरोस् न । मधेसी जनताबाट बहुमत ल्याएर आफ्नो शक्ति निर्माण गरुन् र अधिकार लिउन् । मधेसमा जित्न सक्दैनन्, अनि यहाँ काठमाडौमा लड्न आउँछ । काठमाडौमा केही गर्यो भने दगुरेर दिल्ली जान्छन् । यो कस्तो पोल्टिक्स हो ? मधेसी नेताले भन्छन्, मधेस हाम्रो हो, मधेस छुट्याई दिनुस् तर त्यहीका मधेसीले उनीहरुलाई जिताएर पठाउँदैन अनि कसरी भयो उनीहरुको मधेस ।

मधेस हुनका लागि त मधेसम एकक्षत्र राज्य हुनुपर्यो नि । त्यसैले यो भैरव फिल्म बनाएर मलाई कुनै पश्चाताप भएको छैन । बरु मधेसको जे अवस्था छ, त्यसलाई मैले फिल्मको मार्फत देखाएको छु, त्यसमा गर्व छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल