अब भारतको पनि स्पष्ट नेपाल नीति हुनुपर्छ

-  |   लोकराज बराल, भारतका लागि पूर्व नेपाली राजदूत

अब भारतको पनि स्पष्ट नेपाल नीति हुनुपर्छ

लामो कूटनीतिक अनुभव सङ्गालेका लोकराज बराल नेपाली पाठकका लागि नौलो नाम होइन । उनी भारतका लागि पूर्व नेपाली राजदूतसमेत रहिसकेका छन् । भारतीय सरकार तथा सत्तापक्षीय दलहरूको नजिक रहेर विभिन्न बौद्धिक काममा आफ्नो अनुभव साझा गर्दै गरेका बराल भारतमैत्री विचार राख्ने नेपाली कूटनीतिज्ञ हुन् । उनै बरालसँग रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको अन्तरवार्ता ।

lokraj-baralलामो समयसम्म नभएको भारतीय राष्ट्रपतिको भ्रमण हालै हुनुलाई कसरी हेर्नु भएको छ ?

नजिकको छिमेकी देशको राष्ट्रपति अथवा प्रधानमन्त्री १८ वर्षपछि आउनु सकारात्मक कुरा हो । यति लामो समयसम्म भ्रमण किन भएनन्, त्यसको आफ्नै पृष्ठभूमि होला, जसको खोजी गर्नुपर्ने हुन्छ । वर्तमान सन्दर्भमा अथवा भन्नुस् नेपाल–भारत बीचको सम्बन्ध अलिकति चिसिएको छ कि भन्ने जुन हामीलाई लागेको थियो, त्यस्तो अवस्थामा भ्रमण हुने वातावरण हुनु भनेको सम्बन्धलाई अलिकति न्यानो र तातो पार्ने काम भएको छ ।

नाकाबन्दी त अघि नै सकिएको कुरा हो तर १८ वर्षसम्म किन भ्रमण भएन त ? नाकाबन्दीले मात्र रोकेको त रहेनछ । एउटा कुरा के हो भने बहुदलिय व्यस्था आएपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा कमजोरी भएका छन् ।


नयाँ संविधानलाई स्वागत नगरी नाकाबन्दीसम्म पुगेको भारतले राष्ट्रपतिको भ्रमणमार्फत केही कूटनीतिक मुभ गरेको हो कि ? यसलाई जोडेर हेर्न मिल्दैन ?

त्यसरी जोडेर हेर्न मिल्दैन किनभने नाकाबन्दी त अघि नै सकिएको कुरा हो तर १८ वर्षसम्म किन भ्रमण भएन त ? नाकाबन्दीले मात्र रोकेको त रहेनछ । एउटा कुरा के हो भने बहुदलिय व्यस्था आएपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा कमजोरी भएका छन् । बरु राजाको समयमा यस्ता किसिमका भ्रमण बाक्लै हुने गर्थे । फ्रान्सको राष्ट्रपति, जर्मन चान्सलर, चीनका प्रधानमन्त्री र राष्ट्रपति आए त्यसबेला भ्रमण भइरहन्थे । भारतकै पनि राष्ट्रपति र प्रधानमन्त्री आउने गर्थे । यहाँ नआएको भनेको बेलायत, अमेरिका र जापानको राष्ट्रमुख मात्रै हो । त्यस सन्दर्भमा हेर्ने हो भने बहुदलपछि यस्ता भ्रमण निकै कम भए । हाम्रो तर्फबाट मात्रै पटक–पटक जाने काम चाहिँ भयो तर त्योभन्दा अरू केही काम भएन । यस्तो किन भयो ? हाम्रा कमजोरी के हुन ? भन्दा यो हाम्रो घरभित्रको कमजोरी हो । पराष्ट्र नीतिको कमजोरी हो । नेताहरूको कमजोरी हो भन्ने मलाई लाग्छ ।

बहुमत हुँदा पनि झगडा भयो । काँग्रेसभित्र मारामार भयो गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र किसुनजीका बीच बारम्बार टकराव भइरह्यो । विदेश नीतितर्फ कसैको पनि ध्यान गएन ।

बहुदलिय शासन व्यवस्थामा भन्दा राजतन्त्रमा नेपालको कूटनीति ठीक थियो, त्यसैले त्यही शासन व्यवस्था राम्रो भन्ने आशय व्यक्त गर्न खोज्नु भएको ?

त्यसलाई राम्रो भन्ने कुरा त भएन । किनकि म जीवनभर त्यसैको विरोधमा उभिएको मान्छे हुँ । मैले भन्न खोजेको कुरा हाम्रो नेताहरूमा चिन्तन भएन भन्ने हो । त्यतिबेला शक्तिको स्रोत एउटै थियो, जसलाई हामीले राजतन्त्र भन्थ्यौँ । दरबारबाटै सबै सम्बन्धको सञ्चालन हुने गथ्र्यो अरू सबै त्यसका पछि मात्र थिए । अहिले शक्तिकेन्द्र धेरै भए । एउटै राजनीतिक दलको नेता शक्तिकेन्द्र कहिलै भएन । पहिलो कुरा त संसद्मा एउटै दलको बहुमत पनि छैन । बहुमत हुँदा पनि झगडा भयो । काँग्रेसभित्र मारामार भयो गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र किसुनजीका बीच बारम्बार टकराव भइरह्यो । विदेश नीतितर्फ कसैको पनि ध्यान गएन । सबै ध्यान पार्टी राजनीति, कुर्सीको शक्ति र त्यसैलाई पाउने लडाइँमै व्यतीत भयो । अहिले पनि त्यही चलिरहेको छ ।

त्यसको परिणाम मुलुकको स्वार्थ एकातर्फ, विकास एकातर्फ, परराष्ट्र नीति एकातर्फ र कुर्सीको खेल एकातर्फ भयो । पहिले यस्तो हुँदैन्थ्यो, पहिले एउटै शक्तिकेन्द्र दरबार नै थियो । दरबारले नै सबै गथ्र्यो भने उसलाई कसैले हाँक गर्दैन्थ्यो । अहिले पनि एकआपसमा समझदारी गरेर एउटा वातावरण बनाए हुने हो तर त्यसो हुन सकेको छैन । चार–पाँच जना नेता बसेर परराष्ट्र नीति, विदेश नीति, विकास नीति, शिक्षा नीति लगायतका नीति यस्तो हुने भने पनि हुन्थ्यो तर विडम्बना त्यस्तो हुन सकेको छैन । त्यसेले यस्तो कमजोरी भएको हो ।

खुला समाजमा हजार किसिमका मान्छेले हजार किसिमका कुरा गर्छन् । सबै किसिमका भनाइको पछि लागेर अथवा फेसबुकमा कसले के भर्यो भनेर आफ्नो दृष्टिकोण बनाउने कुरा होइन । जुनसुकै मुलुकले पनि आफ्नो स्वार्थ अनुकूल आफ्नो रणनीति बनाउँछ ।

मुखर्जीको भ्रमणलाई राज्यसँग सम्बन्ध चिसिएको समयमा समेत हाम्रो सम्बन्ध जनतासँग निकै गहिरो छ भन्ने दर्साउँदै आफ्नो दबाब कायम गर्ने अर्थमा गरिएको हुन सक्छ भनिएको छ, तपाईंलाई के लाग्छ ?

खुला समाजमा हजार किसिमका मान्छेले हजार किसिमका कुरा गर्छन् । सबै किसिमका भनाइको पछि लागेर अथवा फेसबुकमा कसले के भर्यो भनेर आफ्नो दृष्टिकोण बनाउने कुरा होइन । जुनसुकै मुलुकले पनि आफ्नो स्वार्थ अनुकूल आफ्नो रणनीति बनाउँछ । त्यस्तो रणनीति चीन, रुस, अमेरिकाले पनि बनाउँछ भने भारतले पनि बनाइ हाल्छ नि । त्यसमा कुनै नयाँ कुरा भएन । हाम्रोमा भारतविरोधी भावना अलिक बढी भयो । यो भएन है भनेर त्यसलाई सपार्न समेत धेरै काम भइरहेका हुन्छन् । नाकाबन्दीको कुराले भारतलाई समेत त्यहाँ भारत विरोधी भावना बढ्यो भनेर त्यसलाई कम गर्न नै वातावरण बनाएर मधेसी नेताहरूलाई सधैँभरि यस्तो हुँदैन है भनेर भनी दियो । उसले पनि महसुस गरेरै आफ्नो कोर्स करेक्सन गरेको हो । सम्बन्ध जनस्तरमा, राज्यस्तरमा र दलहरूको स्तरमा पनि प्रगाढ हुनुपर्छ भन्ने सबैको इच्छा हुन्छ ।

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणमा एउटा कुरा समान देखिन्छ– जनकपुरको भ्रमण । मोदीले त जनकपुर गएर साइकलसमेत बाढ्ने योजना बनाएका थिएँ तर विरोधका कारण त्यसलाई स्थगित गर्न पुगे । यता राष्ट्रपति मुखर्जीले भने जनकपुरको भ्रमणलाई सफल मात्र पारेनन् कि गोर्खा भर्तीको आधारस्थल पोखराको भ्रमण गरे र, भुतपूर्व गोर्खा सैनिकलाई सम्बोधन समेत गरे । यसबाट दिन खोजेको सन्देश के हो ?

सन्देश त के दिनु नि । जनकपुर भनेको मधेस बेल्टको सेन्टर हो । अर्को भनेको तीर्थस्थल हो तर रणनीतिक रूपमा यसमा दुवै कुरा हुन सक्छन् तर नेपालको भ्रमण आइसकेपछि यहाँ जा, त्यहाँ नजा भन्न मिल्दैन । त्यो त उनीहरूले निर्णय गरेर तय गरेको कुरा हो । त्यसैले त्यो कुरा रणनीतिक होइन भन्न पनि सकिँदैन । अब यसमा दुवै कुरा छन् ।

धार्मिक दृष्टिकोणले र मधेसमा सम्पर्क बढाउने दृष्टिकोणले पनि त्यो भ्रमण भएको हुन सक्छ । त्यस्तो खाले कूटनीति त भइहाल्छ नि । त्यसको पछि लागेर हुन्छ । जस्तै मोदीले मुस्ताङको मन्दिरमा पनि जाने इच्छा राखेका थिए तर त्यहाँ जान के–के कुराले मिलेन । हुन त त्यसबेलाको समय पनि अलिक बेग्लै थियो । त्यो स्वाभाविक कुरा हो । मधेसको भ्रमण गरिनुको मूल कारण रणनीतिक पनि हुन सक्छ । उनीहरूले मधेसलाई त उ भने नि तर मलाई के लाग्छ भने भारतको पनि स्पष्ट नेपाल नीति हुनुपर्छ । मधेसमा नै खुला सिमाना छ, भारतसँग जोडिएको छ । त्यति नजिक भएको क्षेत्रमा आफ्नो प्रभाव होस् भन्ने भारतले चाहिँ हाल्छ ।

भावावेगमा आएर राजनीतिक दलको पक्षमा लागेर त्यसो गर्नु हुँदैन । हामी जस्ता मान्छेले घटनाक्रमलाई वस्तुगत रूपमा हेर्दा जतिसुकै चीनको पक्षमा लाग्छु भने पनि लाग्न सकिँदैन भन्ने निष्कर्ष निकलिन्छ । चीनसँगको हाम्रो सम्बन्ध आफ्नै खालको छ भने भारतसँगको सम्बन्ध आफ्नै खालको ।

समग्रमा मुखर्जीको भ्रमणलाई कसरी लिने ?

मैले विल्कुलै स्वाभाविक रूपमा लिएको छु, यो कुनै ठूलो कुरा होइन । चिसिएको सम्बन्धमा कुराहरू अलि–अलि गरेर अगाडि बढे त्यति हो । दुई देशको सम्बन्धलाई राम्रो बनाउने वातावरणको निर्माण भयो त्यति हो । योभन्दा बढ्ता मैले केही देखेको छैन । योभन्दा धेरै अर्थ लगाउनुको पनि काम छैन । यहाँ जहिले पनि भारतको विशेष अर्थ लाग्छ । मुखर्जी आए पनि नआए पनि भारतको प्रभाव कुनै न कुनै रूपमा परी रहन्छ । यसैबीच चीनको पनि प्रभाव पनि निरन्तर रहन्छ । तपाईंले हेर्नु भयो भने जुन इतिहासकारले पनि भनेका छन्, सुगौली सन्धिदेखि नै भारतको यस्तै प्रभाव छ ।

भारतीय सञ्चारमाध्यमहरूमा जसरी नेपाललाई चीनको काखमा गयो भनियो त्यसअर्थमा हाम्रो प्रभाव अझै पनि जनस्तरसम्म कायम छ भनेर चीनलाई दर्शाउन खोजिएको हो कि ? अथवा भारतमा नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राख्नुपर्छ भन्नेहरूलाई आश्वस्त पार्न पो खोजिएको हो कि ?

मिडियाको कुराको पछि त म लाग्दै लाग्दिन । मिडिया अनुत्तरदायि छन् । कोही अनभिज्ञ छन् । कति कुरा हावामा उडाइ दिएका हुन्छन् । यहाँको मिडियाले पनि उत्ताउलो लेख्ने, गालि गर्ने गर्छन् । भावावेगमा आएर राजनीतिक दलको पक्षमा लागेर त्यसो गर्नु हुँदैन । हामी जस्ता मान्छेले घटनाक्रमलाई वस्तुगत रूपमा हेर्दा जतिसुकै चीनको पक्षमा लाग्छु भने पनि लाग्न सकिँदैन भन्ने निष्कर्ष निकलिन्छ । चीनसँगको हाम्रो सम्बन्ध आफ्नै खालको छ भने भारतसँगको सम्बन्ध आफ्नै खालको । यी दुवैलाई तुलना गर्न मिल्दैन । भारतसँगको हाम्रो सम्बन्ध व्यापक, गहिरो, दृढ र हजार ठाउँमा जोडिएको छ भने चीनसँग त्यस्तो छैन ।

भूगोलले पनि हामीलाई तलै तिर फर्काइ दिएको छ । खुला सिमाना विकसित गरी दिएको छ । यहाँ हावाहुरी, बाढीपहिरो आउनेदेखि जनयुद्ध भयो भने समेत मानिसहरू बाँच्न कमाउन जाने भारत नै हो । हामीले बुझने भनेको यी दुई ठूला पावर हुन् यिनीहरूको सहकार्य पनि भइरहेको छ । सन् १९६२ देखि सीमामा युद्ध नै भएको छैन । त्यसलाई नियन्त्रण गरेर राखेका छन् उनीहरूले । त्यस्तै आर्थिक रूपमा पनि सहयोग भइरहेको छ । अबको राजनीति भनेको बजार नीति हो । वर्तमानमा पोलिटिक्सलाई व्यापारले नियन्त्रण गरिराखेको छ । प्रभाव क्षेत्र बनाउने काम त इतिहासबाटै चलिआएको छ । त्यसैले यो ऐतिहासिक क्रममा चलेको छ । हाम्रो रणनीति हामीले बनाउने हो । हामीले हाम्रो विकास गर्यौँ भने सबै ठीक हुन्छ ।

संविधान जारी भएलगत्तै स्वागत नगरेको भारतले राष्ट्रपतिमार्फत सानो स्वरमा भए पनि स्वागत गरेको बुझियो यसलाई कुन रूपमा हेर्नु भएको छ ?

संविधान जारी भएलगत्तै पहिलो प्रतिक्रियामा टर्रो खालको थियो । हामीले संविधान आएको कुरा थाहा पायौँ सबैलाई मिलाएर लानु भन्ने खालको । पछि संविधान आएको ठीकै छ तर प्रक्रियामा गएको राम्रो हो भन्यो तर भारतले आफ्नो कुरा अझै छोडेको छैन । संविधान जारी गर्नु अघिदेखि जे कुरा थियो, त्यही नै अहिले पनि यथावत छ । चाहे मोदीले बोलुन, चाहे परराष्ट्र मन्त्रालयमार्फत बोलुन, चाहे राष्ट्रपतिले बोलुन । भाषा त्यही नै हो । कहिले अलिक नरम होला, कहिले अलिक अर्को शब्द प्रयोग गरिएला तर मिलाएर लानुस् सबैको विकास होस्, स्थायित्व होस् भन्ने नै भारतको चाहना छ । भारतले भनेको शान्ति, विकास र स्थायित्व नै हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल