डाक्टरका कुरा : बच्चा किन जन्मजातै अस्वस्थ हुन्छन् ? स्वस्थ बच्चा कसरी जन्माउने ?

डाक्टरका कुरा : बच्चा किन जन्मजातै अस्वस्थ हुन्छन् ? स्वस्थ बच्चा कसरी जन्माउने ?

बच्चा किन जन्मजातै अस्वस्थ हुन्छन् ? स्वस्थ बच्चा कसरी जन्माउने ? यो आमचासोको विषय हुने गरेको छ । स्वस्थ बच्चा जन्माउने चाहना सबैको हुने भए पनि केही सामान्य कमीकमजोरीले अस्वस्थ बच्चा जन्मिरहेका हुन्छन् । स्वस्थ बच्चा जन्माउन ध्यान दिनुपर्ने केही विषयमा बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले जानकारी दिएका छन्

– बच्चाको स्वास्थ्यसँग आमा नै जोडिएर आएकी हुन्छिन् । आमाले अनुपयुक्त उमेरमा जन्माएको बच्चा अस्वस्थ हुने सम्भावना रहन्छ । बायोलोजिकल्ली त महिनावारी सुरु भएदेखि नसुक्दासम्म अधिकांश महिला बच्चा जन्माउन सक्षम हुन्छन् । तर, बच्चा जन्माउने उपयुक्त उमेर २० देखि ३५ वर्ष नै हो ।

२० वर्षमुनिका आमाले जन्माएको बच्चा कम तौलको हुने, समय नपुग्दै जन्मिने, जन्माउनै गाह्रो हुने, बच्चा जन्मिने क्रममा निसासिएर दुर्घटना निम्तिन सक्ने, अप्रेसन गरेर निकाल्नुपर्ने, जन्मिएपछि स्याहारमा समस्या हुनेजस्ता समस्या हुन्छन् ।

यसैगरी, ३५ वर्ष नाघेका आमाले जन्माएको बच्चा जन्मजातै रोगी हुन सक्छ । यो उमेरका आमाको अन्डा पुरानो भइसकेको हुन्छ र यस्तो अन्डाबाट जन्मिएका बच्चा कुनै न कुनै रूपले अस्वस्थ हुने खतरा रहन्छ । आमाको शारीरिक तौल र उचाइले पनि बच्चा स्वस्थ या अस्वस्थ जन्मिने कुरामा प्रभाव पारेको पाइन्छ । ४० किलोभन्दा कम तौल अर्थात् निकै पातली आमाबाट जन्मिएको बच्चाको स्वास्थ्य कमजोर हुन सक्छ । यसैगरी, आमाको उचाइ साढे ४ फिटभन्दा बढी हुनुपर्छ । त्यसो त धेरै मोटी आमाले जन्माएको बच्चा पनि अस्वस्थ हुन्छ ।

बच्चा जन्माउनै गाह्रोसमेत हुन्छ । बच्चा पेटमा रहँदा आमाले गर्ने खानपानले पनि बच्चाको स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ । पोषणयुक्त र ताजा खानपान गरेको छैन, डाइट मिलाएको छैन भने बच्चा रोगी जन्मिने खतरा रहन्छ ।

गर्भावस्थामा चुरोट र रक्सी सेवन गर्ने आमाका बच्चा पनि स्वस्थ जन्मिदैनन् । यसैगरी, गर्भावस्थामा लिनुपर्ने आराम तथा सन्तुलित व्यायामको अभावले पनि बच्चा अस्वस्थ जन्मिने खतरा रहन्छ ।

आमाले धेरै गाह्रो काम गर्दा पनि बच्चा अस्वस्थ बनिरहेको हुन्छ । रोगी आमाबाट जन्मिने बच्चा पनि स्वस्थ जन्मिने सम्भावना न्यून हुन्छ । खासगरी, एचआइभी एड्स, हेपाटाइटिसजस्ता सरुवा रोग लागेका आमाबाट जन्मिने बच्चा रोगी नै हुन्छ । आमालाई मुटुसम्बन्धी जटिल रोग छ भने पनि बच्चा अस्वस्थ जन्मिन्छ ।

साधारण मुटुको समस्या छ भनेचाहिँ रोकथामका उपाय अपनाए पुग्छ । आमालाई डायबिटिज छ भने बच्चा मोटो जन्मिने खतरा रहन्छ । बच्चालाई पनि डायबिटिज या अन्य रोग लाग्ने खतरा रहन्छ । गर्भावस्थामा आमाले औषधि सेवन गरिरहेको कुराले पनि बच्चाको स्वास्थ्यमा प्रभाव पर्छ । क्यान्सर, छारेलगायत रोगको औषधि सेवन गरिरहेको तथा केमोथेरापी दिइरहेको आमाबाट जन्मिएका बच्चा स्वस्थ हुँदैनन् । यस्ता महिलाले बच्चा नजन्माउनु नै उत्तम हुन्छ ।

घरायसी वातावरणले पनि पेटमा रहेको बच्चाको स्वास्थ्यमा असर पार्ने विभिन्न अध्ययनले देखाएका छन् । घरायसी झगडा भइरहने तथा आमा तनावमा रहिरहने गर्दा गर्भको बच्चा स्वस्थ जन्मिदैन । बच्चा पेटमा रहेका वेला आमाले हरर फिल्महरू हेर्नु पनि ठीक होइन ।

बाहिरी आवरणमा बच्चा स्वस्थ जन्मिएजस्तो लागे पनि दिमागको विकास खराब हुन सक्छ । बच्चा मानसिक रूपमा अस्वस्थ रहन सक्छ । दुई बच्चाबीचको जन्मान्तरले पनि बच्चाको स्वास्थ्यमा फरक पार्छ । पहिलो र दोस्रो बच्चाबीचको जन्मान्तर तीनदेखि पाँच वर्षको हुनुपर्छ । योभन्दा कम अन्तरमा बच्चा जन्माउँदा रोगी हुने सम्भावना बढी हुन्छ ।

नयाँ पत्रिकाबाट

family planning
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल