घर छाडेर योगी बनेका आदित्यले लिए मुख्यमन्त्रीको शपथ

चैत ७  |   एजेन्सी

घर छाडेर योगी बनेका आदित्यले लिए मुख्यमन्त्रीको शपथ

भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पाँच पटकसम्म लोकसभामा प्रतिनिधित्व गरेका कट्टर हिन्दुवादी नेता योगी आदित्यनाथले उत्तर प्रदेश (युपी)को मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लखनउमा आयोजित विशेष समारोहमा योगीले सपथ लिएका हुन् । भाजपाका विधानसभा सदस्यहरूको शनिबार लखनउमा सम्पन्न बैठकले ४४ वर्षीय योगीलाई मुख्यमन्त्रीमा चयन गरेको थियो । सपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साहलगायत भाजपाका उच्च तहका नेता र साधु तथा सन्तको उपस्थिति रहेको थियो । निवर्तमान मुख्यमन्त्री अखिलेश यादव र समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादव पनि सपथ समारोहमा सहभागी भएका थिए । आइतबार नै दुई उपमुख्यमन्त्री र ४९ मन्त्रीले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।
भेदभाव हुनेछैन नवनियुक्त मुख्यमन्त्री योगीले सरकारले विनाभेदभाव समाजको सम्पूर्ण वर्गका लागि काम गर्ने बताएका छन् । निर्वाचनअघि पार्टीले गरेका संकल्प पूरा गर्ने उनले प्रतिबद्धता जनाए । मुख्यमन्त्री योगीले १५ दिनभित्र मन्त्रीमण्डलका सम्पूर्ण सदस्यलाई सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित मुख्यमन्त्री योगीलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । योगी नेतृत्वको सरकारले उत्तर प्रदेशलाई उत्तम प्रदेश बनाउने विश्वास मोदीले व्यक्त गरे ।

नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथको जन्म राजपुत परिवारमा सन् १९७२ को जुन ५ मा भएको थियो । उनको वास्तविक नाम अजयसिंह विसेत हो । योगी हुनुभन्दा अगाडि उनी खासै चर्चामा थिएनन् । गणितमा स्नातक गरेका योगीले २१ वर्षकै उमेरमा घरपरिवार छाडेका थिए । महन्थ अवैद्यनाथको शिष्य बनेका उनी गोरखनाथको मुख्य पूजारीसमेत बनेका थिए ।

घर छाडेपछि योगी सन्यासी बने । उनले हिन्दू धर्मसम्बन्धी  विभिन्न पुस्तक अध्ययन गरे र पाँच वर्षमै गुरु अवैद्यनाथको ‘प्रिय शिष्य’बन्न सफल भए । हिन्दू धर्मका ज्ञाता योगीले धर्मसम्बन्धी थुप्रै पुस्तक लेखेका छन् । योगीले विद्यालय तथा कलेज सञ्चालन गर्नुका साथै अस्पताल व्यवस्थापन गरेका थिए ।

योगी सन् १९९६ मा महन्थ अवैद्यनाथको निर्वाचन प्रचार प्रमुख बनेका थिए । सन् १९९८ मा महन्थले सक्रिय राजनीतिबाट विश्राम लिएपछि उनी महन्थको उत्तराधिकारी बने । सन् १९९८ मा लोकसभाको सदस्यमा निर्वाचित हुँदा उनी केवल २६ वर्षका थिए । त्यस यता लगातार पाँचपटकसम्म लोकसभामा निर्वाचित भएका छन् । योगी युपीमा भाजपाबाट निर्वाचित तीन सय ११ विधायकमध्येका लोकप्रिय सदस्य हुन् । हिन्दू धर्मको प्रचारक हुँदै भाजपाको राजनीति गरेका योगीले दलित समुदायमाझ लोकप्रिय हुन हिन्दू कार्ड प्रयोग गरेका छन् ।

गोरखपुर क्षेत्रमा योगीको मुख्य पकड रहेको छ । उनी पाँच दशकदेखि भाजपाको राजनीतिमा सक्रिय छन् । सन् २००५ मा युपीको एउटा सहरका एक हजार ८ सय इशाई धर्मावलम्बीहरूलाई करकापमा पारी हिन्दू धर्मावलम्बी बनाएको आरोप उनीमाथि लागेको छ । उनीमाथि जातीय दंगा फैलाएको आरोप पनि लागेको छ । गत महिना सम्पन्न निर्वाचनमा चार सय तीन विधानसभा सदस्य रहेको युपीमा भाजपा गठबन्धनले तीन सय २५ सिट ल्याएको थियो । भाजपाले १४ वर्षपछि तीनचौथाइ बहुमतसहित युपीको राजनीतिमा ‘कमब्याक’ गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल