६ महिना अगाडि नेपाल आएका योगी आदित्यनाथले भनेका थिए– राजा किन हटाएको ?

 चैत्र ७

६ महिना अगाडि नेपाल आएका योगी आदित्यनाथले भनेका थिए– राजा किन हटाएको ?

काठमाडौं – हिन्दु कट्टरपन्थी योगी आदित्यनाथ भारतको सवैभन्दा ठूलो राज्य उत्तरप्रदेशको मुख्यमन्त्री बनेका छन् । नेपालको सीमा जोडिएको उत्तरप्रदेशमा राजसंस्था र हिन्दु राज्यको पक्षमा लागेका व्यक्ति मुख्यमन्त्री बनेपछि नेपालमा राजसंस्था र हिन्दु राज्यका पक्षपाती उत्साही पनि बनेका छन् ।

गोरखपुरस्थित गोरखनाथपीठका पीठाधीश भारतीय जनता पार्टीका सांसद योगी आदित्यनाथ गत कार्तिकमा काठमाडौंमा भएको हिन्दु महासम्मेलनमा सहभागी भएका थिए, जुन सम्मेलनको सूत्रधार उनलाई नै मानिएको थियो ।

वनकालीको विश्व सम्मेलनमा भाजपा अध्यक्ष अमीत शाहले आफ्नो दलको प्रतिनिधिका रूपमा आदित्यनाथका अतिरिक्त भाजपा नेता रघुनन्दन शर्मालाई पनि पठाएका थिए । भाजपामा प्रधानमन्त्री नरेन्द्र मोदी, अध्यक्ष शाह र आदित्यनाथको राजनीतिक लाइन एउटै हो ।

सम्मेलनमा अमीत शाहको प्रतिनिधिका रूपमा सहभागी भाजपा नेता रघुनन्दन शर्मा सहभागी भएका थिए । त्यसबेला नेपाल आएका आदित्यनाथले एक साप्ताहिक पत्रिकालाई दिएको छोटो अन्तर्वार्तामा खुलेरै राजसंस्था र हिन्दु राज्यको कुरा गरेका छन् ।

कार्तिक पहिलो साता भएको कार्यक्रममा सहभागी हुन आदित्यनाथको नेपाल साप्ताहिकमा प्रकाशित अन्तर्वार्ता यस्तो छ

हाम्रो मिसन हिन्दु राजा, हिन्दु प्रजा’ – योगी आदित्यनाथ, भाजपा सांसद

तपाईंको नेपाल मिसन के हो ?
हामी नेपालमा पुरानो पहिचान पुन:स्थापना गर्ने आन्दोलनमा छौँ । बेलायत, थाइल्यान्डले राजा राखेर प्रगति गरेका छन् । यहाँ राजा किन हटाएको ?

तपाईं भाजपाको सांसद पनि हुनुहन्छ, के भाजपा पनि राजतन्त्र फर्काउन चाहन्छ ?

प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमीत शाह दुवै जना नेपालमा शान्ति र स्थिरता चाहनुहुन्छ । यो सम्मेलनमा उहाँहरूले सफलताको शुभकामना दिनुभएको छ र अध्यक्षको प्रतिनिधिका रूपमा भाजपाका नेता रघुनन्दन शर्माजी सहभागी हुनुहुन्छ । उहाँले हिन्दु राष्ट्र र हिन्दु पहिचान कायम गर्न प्रस्ट मन्तव्य दिनुभएको छ । त्यसको अर्थ नेपालमा हिन्दु राजसंस्था स्थापनाको चाहना समग्र भारत र भारतवासीको मात्र होइन, संसारका हिन्दुहरूको हो ।

हिन्दु अधिराज्य बन्न सम्भव छ र ?

नेपालको राजसंस्था एकता र भ्रातृत्वको प्रतीक हो । राजा संसारभरिका हिन्दुका सम्राट् हुन् । राजा हिन्दु पहिचानका प्रतीक हुन् । संविधानमा राखिएको धर्मनिरपेक्षता शब्द विकृत मानसिकताको उपज हो । नेपालको वास्तविक पहिचान हिन्दु हो । हिन्दु पहिचानका प्रतीक राजा हुन् । हिन्दु राजा, हिन्दु प्रजा नेपालको अस्तित्व हो, त्यो कायम हुनुपर्छ । हामी यसका लागि सक्रिय छौँ ।

गणतन्त्र संस्थागत भएको देशमा धर्मको नाममा राजनीति गर्नु हुन्छ ?

नेपाल सनातन हिन्दु राष्ट्र हो । भगवान् गोरखनाथको कृपा नेपाल राज्य र यहाँको राजसंस्थाप्रति रही आएको छ । हामी चाहन्छौँ नेपाल एक होस्, स्वतन्त्र होस् र सुरक्षित होस् । त्यसको लागि हिन्दु पहिचान पुन:स्थापना हुनुपर्छ । भारत र नेपाल दुईवटा शरीर हुन् तर आत्मा एउटै छ । त्यो आत्मा हिन्दुत्व हो । भारत र नेपालको साझा सांस्कृतिक विरासत भएको हुनाले हिन्दुत्वको रक्षा गर्न दुवै देशका हिन्दुहरू एक जुट हुनुपर्छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल