युनाइटेड पाँचौ स्थानमा उक्लियो, सिटी लिभरपुल बराबर

चैत ७  |   एजेन्सी

युनाइटेड पाँचौ स्थानमा उक्लियो, सिटी लिभरपुल बराबर

लण्डन – मिडल्सब्रोलाई हराउँदै म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा युनाइटेड ३–१ गोलअन्तरले विजयी भएको हो ।

एस्ली यंगको पासमा मारुयेन फेलानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए भने दोस्रो हाफमा जेसे लिन्डगार्डले उत्कृष्ट गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

तर, खेलको ७७ औँ मिनेटमा क्रिस स्मालिङको गल्तीको फाइदा उठाउँदै रुडी जेस्टेडेले बोरोका लागि एक गोल फर्काए ।


यद्यपि, खेलको अन्त्यमा युनाइटेडका पूर्व गोलकिपर भिक्टर भाल्डेजले गल्ती गरेपछि एन्टोनियो भ्यालेन्सियाले युनाइटेडका लागि अर्को गोल थपे ।

जीतसँगै आर्सनल र एभर्टनलाई उछिन्दै युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

हिजो भएको अर्को खेलमा स्ट्राइकर ह्यारी केन बिना उत्रेको टोटनहम हटस्पर्सले साउथह्याम्पटनलाई हराउँदै शीर्ष स्थानमा रहेको चेल्सीसँगको दुरी घटाएको छ ।

पहिलो हाफमा क्रिस्टियन एरिक्सन र डेली अलीको गोलको मद्दतले टोटनहमले २–० को अग्रता बनाएको थियो ।


तर, दोस्रो हाफमा जेम्स वार्ड प्रावसेले गोल गर्दै टोटनहमको गोलअन्तर घटाए ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र टोटनहम २–१ ले विजयी बन्यो ।

२८ खेलपछि टोटनहमको ५९ अंक रहेको छ । शीर्ष स्थानमा रहेको चेल्सीको समान खेलबाट ६९ अंक रहेको छ ।

आइतबार राती नै भएको अर्को रोमाञ्चक खेलमा म्यान्चेस्टर सिटी र लिभरपुलले १–१ को बराबरी खेलेको छ ।

सजिलो गोलको अवसर गुमाउने देखि रेफ्रीको गल्तीले दुई हेभिवेट टोलीबीचको खेललाई रोमाञ्चक बनाएको थियो ।


खेलको ५१ औँ मिनेटमा पेनाल्टीमार्फत आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै जेम्स मिल्नरले लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६९ औँ मिनेटमा सर्जियो एगुएरोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

सिटी पछिल्लो ७ खेलमा अपराजित रहेको छ । पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीको सबैभन्दा लामो अपराजित यात्रा हो ।

उता, लिभरपुलले शीर्ष ६ टोलीबाट सबैभन्दा धेरै अंक बटुल्न सफल भएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल