व्यस्त मानिसका लागि ‘गजव’ सर्भिस : कार्यालयकै टेबलमै पुग्छ ‘लन्च बक्स’

चैत ६

व्यस्त मानिसका लागि ‘गजव’ सर्भिस : कार्यालयकै टेबलमै पुग्छ ‘लन्च बक्स’

टुना भट्ट

काठमाडौँ– तपाईं सरकारी वा निजी कम्पनीमा काम गर्नुहुन्छ ?

कि आफ्नै व्यवसाय छ ?

जेसुकै होस्, कामको चाप छ भने तपाईं अवश्य घरबाट बिहानै निस्कनुहुन्छ होला नै । त्यसो भए खानाको नियमित तालिका पनि छैन होला तपाईंको ।

जब खानाका लागि नियमित तालिका छैन, तपाईं र तपार्इंको परिवारको चिन्ता हुन्छ– आजको खाना के लिने ?

त्यसमाथि केही रोगले शरीरमा डेरा जमाएको छ भने त खानाको विषयले थप तनाव हुने भैहाल्यो ।

यस्तै व्यस्त र तनाव हुनेहरुका लागि काठमाडौँमा यस्तो सेवा आएको छ, तपाईंका लागि निकै कामलाग्दो हुन सक्छ ।

आज म एउटा त्यस्तो पात्रको कथा पस्कँदै छु, जो व्यस्त जीवन वितराइरहेकाहरुका लागि सहयोगी हुन सक्छ । यो कथा हो भान्साभित्र उद्यम चलाएकी शारदा आचार्य सिजापतिको । जसले व्यस्त मानिसको टेबुलमा खाना त पुर्याउँछिन नै, यो पेसाले उनलाई आत्मनिर्भर पनि बनाएको छ ।

व्यस्त जीवनशैली, दुषित वातावरण, असन्तुलित खानपान अनि महँगीबाट राजधानीका मानिस आजित छन् । तीनै मानिसका लागि सेवा दिन्छिन् शारदा ।

घरमै बनेको स्वास्थ्यकर खाना उनी कार्यालयको टेबलसम्म लैजान्छिन् । त्यो पनि रेस्टुरेन्टको तुलनामा सस्तो मूल्यमा । हसिलो मुहार र मिठासपूर्ण अभिव्यक्तिसहितको ‘लन्च बक्स’ ।

शारदाको यो सेवाका अरु पाटा खोतल्नुपूर्व म उनको दिमागमा यो कुरा कसरी आयो भन्ने बताउँछु ।
दश महिना अगाडिको कुरा हो, लक्ष्मी बैङ्कमा कार्यरत भान्जाले एक दिन काममा धेरै व्यस्त भइने र खाना खानलाई समस्या भएको कुरा गरे । ठीक त्यहीबेला शारदाको माइन्डमा क्लिक भयो– ‘लन्च बक्स बिजनेस’ ।

जे कामका लागि पनि पहिला सपना देख्ने हो । सपना देखेपछि न सम्भव हुने हो । आफ्नो सपनालाई शारदाले पूरा गर्ने योजना बुनिन् । हुन त ‘म पनि उद्यम गर्न सक्छु’ भन्ने आत्मविश्वाससहित काम गर्ने हो भने असम्भव सायद छैन । यो पुरुष वा महिला दुवैको हकमा लागू हुन्छ । शारदा यसबाट अलग रहने कुरा पनि भएन ।

घरव्यवहार, बच्चाबच्चीको स्कुल फीदेखि आफ्नो दैनिक खर्चसम्म सधैँ श्रीमानले काँधमा बोक्नुपर्ने थियो । आफूले पनि केही आम्दानी गर्न सके श्रीमानलाई मात्र भार नपर्ने उनको सोचमा भ¥याङ बनेर उभिदियो ‘लन्च बक्स बिजनेस’ ।

आफूलाई कहिल्यै कमजोर नठान्ने शारदाले योजना बनाइन् र यसमा साथ दिए श्रीमान राजेशले ।

योजना त बन्यो । तर, समस्या थियो, स्थान छनौट र बजार प्रबद्र्धनको । उनलाई लाग्यो– घरमै बनाउने । आफ्नै किचेनको प्रयोग गर्ने ।

श्रीमानले इन्डियाबाट ९० पिस हट्केस मगाइदिए । खाना पकाउनका लागि ठूला ग्याँस चुल्हो र भाँडा जोरजाम गरिदिए । सरसमान त जुटे, ग्राहक कसरी बनाउने अझै अनिश्चित थियो ।

शारदाले सुरुमा एक्लै आँट गरिन् । विभिन्न कार्यालयमा धाइन् आफ्नो लन्च बक्सबारे जानकारी गराउन । तर सुरुमा उनलाई विश्वास कमैले मात्र गरे । चिनेजानेका व्यक्तिमार्फत यो कुरा प्रचार भयो । र केही बैङ्कका कर्मचारीले उनको अर्डर लिन थाले । यस्तो अर्डरले क्रमशः शारदाको आत्मबल बढ्दै गयो ।

‘सुरुका दिनमा निकै कठिन भयो । घर परिवारको जिम्मेवारी थियो नै । अनि लन्च बक्स तयार गर्नु कठिन काम नै भयो ।’ उनी सम्झन्छिन् । अहिले भने उनकोे सम्पूर्ण काममा श्रीमानले सघाउँछन् । उनका एक छोरा र एक छोरी छन् । ४ जनाको सानो अनि खुशी परिवार छ उनको ।

साताभरिमा कुन बार के बनाउने ? उनीसँग मेनु तयार छ । आफ्ना ग्राहकको भाइबर ग्रुप पनि छ । भाइबरमा हप्ता दिनको मेनु सेयर गरेपछि त्यसको लागि सामान जुटाउन उनी दौडधूप गर्छिन् ।

शारदालाई खाना पकाउने सौख सानैदेखि थियो । विभिन्न परिकार बनाएर घर परिवार आफन्तलाई खुवाउन निकै जा“गर चल्थ्यो उनलाई । गुगल र युट्युबमा सर्च गर्दै पकाउने तरिका पनि हेर्थिन् उनी । पकाउने कोसिस उनले सानैदेखि गर्दै आइन्, जो आज उनको जीवनका लागि अर्थपूर्ण बन्दैछ । हुन त नेपाली समाजमा हरेक महिला भान्छाको कामका लागि योग्य नै हुन्छन् । शारदा यसबाट टाढा रहने कुरा पनि भएन् ।

प्लास टु सकेर विवाह बन्धनमा बाँधिएकी शारदालाई घरपरिवार सम्हाल्दैमा फुर्सद भएन । मन त थियो– पढाइलाई निरन्तरता दिने अनि ब्युटिसियन बन्ने । तर, त्यो सपना पूरा हुन सकेन । भन्छिन्, ‘सोचेजस्तो हुन्न जीवन ।’

काठमाडौँको गौरीघाटमा जन्मी हुर्किएकी शारदाले यो दुःखको काममा किन हात हाल्न चाहेकी होलिन् ? मैले प्रश्न गर्न नभ्याउँदै जवाफ दिइन्, ‘आखिर दुःख नगरी सुख त आउँदैन । त्यसैले आफ्नो सीप, क्षमता अनि अनुभवको काम थाले । कुनै दिन त अवश्य सफल भइएला नि ।’

व्युटिसियन बन्ने सपना भए पनि सबैले एकै प्रकारको व्यवसायलाई पच्छ्याउनुभन्दा पनि भिन्न प्रकारको व्यवसाय अपनाउनु राम्रो हुन्छ भन्ने शारदाको नवीन सोच छ ।

३७ वर्षीय शारदालाई आफ्नो हातमा विश्वास छ । बिहान सबेरै उठ्नु अनि मेनु अनुसारको खाना तयार गर्नु अहिले उनको दिनचर्या हो । अघिल्लो दिन बेलुका नै किनमेल सकेर भोलिपल्टका लागि तयारी सुरु हुन्छ ।

‘हरेक दिन भिन्न स्वाद दिने कोसिस गरिरहेकी छु’, उनी भन्छिन् । नेपाली मौलिक स्वाद दिने कोसिस पनि गरिन उनले । तर, ग्राहकको चाहना अनुसार कहिले काहीँ इन्डियन स्वादमा पनि खाना तयार गर्छिन् उनी ।

शुक्रबार भने प्रायः मःमः पाक्छ शारदाको भान्छामा । मःमः सबैले मन पराउने र अर्डर धेरै आउने हुनाले शुक्रबार मःमः डे भन्छन् उनका ग्राहक ।

शुक्रबारका लागि भने उनलाई अलि धौ–धौ हुन्छ । त्यस दिनको अर्डर ९० प्लेटभन्दा माथि हुन्छ । अन्य दिन भने ५० देखि ६० वटा अर्डर हुन्छ ।

पहिले पहिले १०० देखि १२० प्लेटसम्म अर्डर लिन्थिन् उनी । अहिले भने अलि कम भएको छ । मानिसलाई यतिको खाना त आफै घरबाट ल्याउन पनि सकिने भन्ने परेकाले हो या स्पाइसी र स्वादको लागि रेस्टुराँमा जाने बानीले गर्दा शारदाका कतिपय ग्राहक नियमित छैनन् । ‘सधैँ एकैनास कहाँ हुन्छ र कहिले तल कहिले माथि त हुनेनै भयो नि’ उनको सहज उत्तर छ ।

सुन्दर, मीठो बोली अनि आत्मविश्वासी शारदालाई उनको श्रीमानको पूर्णसाथ छ । बजारको माग के छ, कस्ता कार्यालयलाई बढी प्राथमिकता दिर्ने शारदाको श्रीमान बुझिरहन्छन् । अनि शारदालाई त्यही अनुसारको खाना बनाउन सुझाउँछन् ।

बिहान खाना बनाउन आफ्नी बहिनीले सहयोग गर्छिन् उनलाई । खाना पु¥याउन एकजना सायोगी (डेलिभरी ब्वाई) राखेकी छन् । भाँडा माझ्न र सरसफाइका लागि एकजना महिलालाई पार्टटाइम काम दिएकी छिन् । पकाउन भने अरुलाई दिन्नन् उनी । अर्थात भान्सा शारदाकै कब्जामा छ, किनभने ग्राहकले राम्रो स्वादमा खाना पाउनुपर्छ भन्नेमा उनी गम्भीर छिन् ।

आफूले सोचेको र आफ्ना ग्राहकले खोजेको स्वाद उनको हातमा बसी सकेकाले अरुलाई पकाउन दिन मन लाग्दैन उनलाई । उनी चिल्लो–पिरो अनि मसलेदार भन्दा पनि सादा खानामा जोड गर्छिन् ।

धेरै मानिसमा सुगर, प्रेसर अनि कोल्डस्टोर जस्ता समस्या छन् । ‘टेबलवर्क’ गर्नेहरुलाई धेरैथरी रोगले सताउँछ पनि । यस्ता मानिस सादा र सन्तुलित खाना चाहन्छ भन्नेमा शारदा सचेत छिन् ।

त्यसैले उनले मसला पनि आफै तयार गर्छिन् । बजारिया मसालाको प्रयोग भन्दा आफैले तयार पारेको गरम मसला, बदाम, काजु, पेस्ता, किसमिसको प्रयोगले खाना स्वादिलो अनि स्वास्थयकर हुने उनको दाबी छ ।

कहिले काहीँ साह्रैनै दिक्क लाग्छ रे उनलाई । किन ? ‘मानिसले मेरो मिहिनेत देख्दैनन्, सबैका लागि फरक स्वादको खाना तयार गर्न सम्भव हुँदैन । एउटा स्वाद सबैलाई मन पर्छ भन्ने पनि छैन ।’ उनले जवाफ दिइन् ।

‘मानिसको हात हो कहिले काहीँ सोचेजस्तो नहुन पनि त सक्छ । त्यस्तो बेला खाना फालिदिन्छन् अनि चित्त दुख्छ ।’ उनले सुनाइन् ।

कुनै प्रतिक्रिया नै भएन भने त फेरि आफूले कसरी थाहा पाउने कि कसको चाहना के छ ? आफूले बनाएको खाना कस्तो छ ? यही सोचेर चित्त बुझाउँछिन् उनी ।

कतिले त साह्रै होच्याएर पनि बोल्छन् रे । खाना पकाउने आइमाई भन्छन् रे । तर, उनलाई त्यसमा गर्व लाग्छ । ‘जसले जति बुझ्न सक्छ, त्यतिनै देखाउने हो, त्यसैले बेलाबेला चित्त दुखे पनि त्यही मेरो सफलता हो ।’ उनी थप्छिन् ।

‘म मेरो कामप्रति इमानदार हुनुपर्छ । कसले के भन्छ ? त्यो मेरा लागि उपदेश हुनेछ ।’ उनको आत्मविश्वास उजागर हुन्छ ।

उनले फोनबाट नै आफ्नो सेवाका बारेमा प्रतिक्रिया लिन्छिन् । मन त लाग्छ प्रत्यक्ष भेटेर प्रतिक्रिया बटुल्ने तर समय पुग्दैन उनलाई । तपाईं स्वयं जानुभयो भने त एकै दिन ट्रिपल अर्डर थपिन्छ होला है ? मेरो जिज्ञासामा लामो हाँसोसहित भनिन्, ‘सुरुमा त आफै खाना बोकेर अफिस अफिस गएँ, कतिले त नपात्याउने, यस्तै हो ।’

कतिपयले ‘तपाईं नै हो खाना बनाउने ? भनेर सोध्ने गरेको र आफू नै हो भन्दा नपत्याउने गरेको’ शारदाको अनुभव छ । खाना बनाउने अनि स्वयं पु¥याउन हिँड्ने गर्दा धेरै नै समस्या भयो अनि एक जना स्टाफ डेलिभरीको लागि राखिन् ।

शारदाको के दाबी छ भने उनले दिने खाना रेस्टुराँको भन्दा धेरै सस्तो र स्वस्थ्यकर छ । यति सस्तोमा त्यो पनि आफैले तयार गरेर तातो र फ्रेस रहोस भन्नका लागि हटकेसको प्रयोग गरेर टेबलमा पु¥याउनु सहज छैन । तर, त्यो मिहिनेतलाई कहिले काहीँ विश्वास नगरिदिँदा भने मन मरेर आउँछ रे उनको ।

महँगी यस्तो छ कि ग्याँस, पानी, खाद्यान्न, तेल, डेलिभरीका लागि यातायात यी सबै म्यानेज गर्न धेरै गाह्रो भएको छ उनलाई अहिले । दैनिक ४ देखि ५ हजारसम्मको व्यापार हुन्छ । अहिलेसम्म ४ लाखको लगानी भएको छ उनको यो व्यापारमा ।

पहिले अर्डर धेरै थियो राम्रै आम्दानी भएको थियो तर अहिले अर्डर निकै कम भएकाले ३ महिनादेखि घाटामा चलिरहेको उनी बताउँछिन् । ‘हाम्रो सङ्घर्ष जारी छ, हेरौँ कति अघिसम्म जान सकिन्छ ।’ उनले भनिन् ।

शारदाको लन्च बस्क हाल ग्लोबल बैङ्क, लक्ष्मी बैङ्क, नेवील बैङ्क, सिद्धार्थ बैङ्क, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी एलिको लगायतका कार्यालयमा बढी जान्छ ।

मुम्बइमा डब्बावाला बारे उनले धेरै पहिले नै सुनेकी थिइन् । डब्बावालाको काम भने घरघरबाट कार्यालयसम्म खाना पु¥याइदिने डेलीभर पर्सन मात्र हो । भारतमा यो व्यवसाय धेरै पहिलेदेखि नै प्रख्यात छ ।

शारदाले भने घरको स्वाद दिने, समयमा खाना पु¥याउने, स्वस्थ र सन्तुलित खानामा जोड गरेको बताउछिन् । घरेलु महिलाहरुका लागि यो व्यवसाय सहज र सानो लगानीमा आफ्नै घरभित्र आम्दानीको स्रोत भएको बताउँछिन् शारदा ।

उनको काम भान्साभित्रको एउटा उद्यम हो, जसलाई एउटा व्यावसायिक रुप दिन चाहन्छिन् शारदा ।

सरकारले हाल उद्यम गर्न चाहने महिलाका लागि विनाधितो ५ लाखसम्म ऋण दिने व्यवस्था गरेको छ, यसको सदुपयोग गर्ने सोचमा छिन् शारदा ।

लन्च बक्स बिजनेसलाई अब कार्यालयहरुमा मात्र सीमित नगरी अन्य व्यक्तिहरुको पहुँचमा पनि पु¥याउने योजना छ शारदा र उनको श्रीमानको । उनले अब व्यावसायिक कुक राख्ने योजना पनि बनाएकी छिन् ।

पारिवारिक सहयोग, पु“जी, लगानी, प्राविधिक ज्ञानको कमी, बजार व्यवस्थापन र प्रवद्र्धनमा समस्या अनि जोखिमयुक्त कार्यलाई बहन गर्न नसक्नाले पनि उद्यम क्षेत्रमा महिला सहभागिता बढ्न सकिरहेको छैन । तर साना उद्योग व्यवसायको क्षेत्रमा महिला सहभागिता विगतमा भन्दा सन्तोषजनक नै पाइन्छ ।

शैक्षिक अनि चेतना स्तरमा आएको वृद्धिले महिलाहरु आत्मनिर्भर बन्न थालेका छन् । सानै किन नहोस तर आफ्नै व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न उद्धत देखिन्छन् ।

विशेष गरेर नेपाली महिलाहरुको सम्पत्तिमा अधिकार नहुँदा लगानी गर्न समस्या छ, त्यसैले पनि ठूला व्यवसायमा लगानी गर्न नसक्दा सानै व्यवसायमा अल्झिन बाध्य छन्, नेपाली महिलाहरु ।

घरपरिवार सञ्चालन गर्न, छोरा–छोरी पढाउन अनि आफ्नो दैनिक खर्च सञ्चालन गर्न सानै किन नहोस् तर आफ्नो क्षमता र खुबी अनुसारको काम गर्न सके आत्मनिर्भर भइने सोचका साथ अगाडि बढिरहेकी एक महिला हुन् शारदा ।

आफ्नो सीप, क्षमता अनुसारको केही न केही काम गर्न सके रोजगारीको लागि अन्यत्र धाउनु नपर्ने उनको सोच छ । उनी भन्छिन्, ‘बजारको चाहना के छ ? के भिन्न गर्न सकिन्छ त ? भन्ने सोचका साथ हामी अगाडि बढ्ने छौँ ।

‘घरको लन्च बक्स’ यही नारामा शारदा रमाइरहेकी छिन् र उद्यम विस्तारको सपना बुनिरहेकी छिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल