मकालु हिमालको ताल फुट्दा अरुण थुनिएको आशंका, हेलिकप्टर जाँदै

मकालु हिमालको ताल फुट्दा अरुण थुनिएको आशंका, हेलिकप्टर जाँदै

फणिन्द्र प्रसाद नेपाल

संखुवासभा, बैशाख ८ –मकालु हिमाल मुहान रहेकोे बरुण नदिमा आएको बाढीका कारण अरुण नदि थुनिदा संखुवासभाका आधा दर्जन बस्ति जोखिममा परेका छन् ।

गएराति बरुणमा एक्कासी आएको बाढीले अरुण नदि थुनिएको हो । पानी समेत नपरी बरुणमा बाढी आउनुको कारण भने खुलिसकेको छैन । अहिलेसम्म नदि थुनिएको क्षेत्रमा झण्डै तीन किलोमिटर लामो ताल बनेको छ ।

बरुण दोभानमा नदि थुनिँदा आसपासका बरुण दोभान, गोला बजार, फ्याक्सिन्दा, सेवाबेशी, सुभाखोदो लगायतका बस्ती जोखिममा परेका हुन् । त्यस क्षेत्रका स्थानीयहरु त्रसित भएका छन् ।

ताल बनेको स्थान बरुण दोभानतर्फ गोला प्रहरी चौकीबाट नेपाल प्रहरी र नेपाली सेनाको टोली पुग्ने क्रममा रहेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले रातोपाटीलाई बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुासार मकालु हिमाल मुहान रहेको बरुण नदिमा बाढी आउनुमा हिमताल फुटेको हुन सक्ने वा कुनै स्थानमा सुख्खा पहिरो गएको हुन सक्छ । बरुणको मुहानसम्म पुग्न विकट र करिव तीन दिन हिड्नुपर्ने घिमिरेले बताए । उनका अनुसार लेकाली क्षेत्र भएकाले र पर्यटकिय क्षेत्र समेत भएकाले केही गोठ र पर्यटकहरु समेत बेपत्ता भएको हुनसक्ने भएपनि संचार सम्पर्क हुन नसक्दा त्यस क्षेत्रको अवस्था अज्ञात रहेको छ ।

बरुण नदिको मुहान क्षेत्रमा पुग्न र अवस्था बुझ्न उद्धारका लागि काठमाडौबाट हेलिकोप्टर मगाइएपनि मौसमका कारण हेलिकोप्टर पुग्न नसकेको सहायक प्रजिअ घिमिरेले बताए ।

 ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने अवस्था छ । बरुण नदी अरुण नदीमा आएर मिसिन्छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार अहिले सो क्षेत्रमा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लामै रहेका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नदी थुनिएको क्षेत्रतर्फ गएका छन् ।

यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा थुनिएको पानी सावधानीपूर्वक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री निधिको निर्देशनपछि गृह मन्त्रालयबाट प्राविधिक टोली हेलिकोप्टरबाट सङ्खुवासभा जाने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो टोलीमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाको प्राविधिक टोली, सशस्त्र प्रहरी तथा जल उत्पन्न प्रकोप विभागका प्रतिनिधिलगायत छन् ।

पहिराका कारण चीनसँगको नाका किमाथाङ्का जाने बाटोसमेत बन्द भएको गृह मन्त्रालयले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल