कपडामा मात्रै वार्षिक ६ लाख खर्चिने नायिका

कपडामा मात्रै वार्षिक ६ लाख खर्चिने नायिका

दीपेन्द्र राई

‘धर्मबुवाआमा जीवित रहुन्जेलमात्रै जर्मनी बस्छु,’ जर्मनीमा कार्यरत स्टाफ नर्स आशिका तामाङले निर्धक्क सुनाइन्, ‘धर्मबुवाआमा ८० वर्ष पुगिसक्नुभयो । अभिभावक बनेर मलाई यहाँसम्म ल्याइपुर्याउनुभयो । मैले छोरीको भूमिका निर्वाह गर्नुपर्यो नि ।’

‘भविष्य,’ स्टाफ नर्स तामाङले भनिन्, ‘नेपालमै खोज्ने हो । अहिलेसम्म मेरो हरियो पार्सपोर्ट नै छ । रातो पासपोर्टमात्रै होइन, जर्मनीको नागरिकतासमेत लिएको छैन । मैले रातो पासपोर्ट नलिएकोमा साथीहरू अचम्म मान्छन् ।’


जर्मनी धेरैका लागि सपनाको देश हो । चलचित्र ‘सुश्री’ की नायिका तथा निर्मातासमेत रहेकी आशिका तामाङलाई भने त्यस्तो लाग्दैन । जर्मनीमा कार्यरत उनलाई नेपाल नै प्यारो लाग्छ । नेपाल र जर्मनीको जीवनशैली आकाश/जमिनको फरक छ । नेपालमा रहँदा दालभात, तरकारी मन पराउने उनलाई जर्मनीमा रहँदा चिकेन सिजलरको स्वाद विछट्टै लाग्छ । ‘नेपालीले बिहान बेलुका खाना खान्छन्,’ उनले भनिन्, ‘जर्मनीमा सातामा एकपटकमात्रै खाना खाने गर्छन् ।’

जर्मनीमा शनिवार र आइतवार बिदा हुन्छ । उनी खानकै लागि आइतवार रेष्टुरेन्ट पुग्छिन् । जर्मनीमा रगतसहित ‘हाफ बोयल’ गरेको मासु खाने चलन हुन्छ । उनलाई त्यो मन पर्दैन । त्यतिमात्रै होइन, उनलाई घिरौंला र फर्सीको तरकारीसमेत मन पर्दैन रे ।


‘समाजमा पाच्य फेसन गर्न मन पर्छ,’ कपडाको प्रसंग जोड्नबित्तिकै उत्साहित हुँदै उनले जानकारी गराइन्, ‘अरूले लगाइरहेकोभन्दा फरकखालको कपडा लगाउन मन पर्छ । महिना पाँच सय युरो अर्थात् नेपाली ५० हजार रुपैयाँ कपडामा खर्च गर्छु ।’ कपडामा नुडमोह छँदै छ । प्रायः रेडिमेड कपडा लगाउने उनी कपडाको ‘क्वालिटी’ मा विश्वास गर्छिन् ।

स्टाफ नर्स । नायिकासमेत । स्वास्थ्यमा ध्यान नदिने कुरै भएन । उनी बेलुका पाँचदेखि आठ बजेसम्म जिम्न्यास्टिक गर्छिन् । जिम्न्यास्टिक गर्न अल्छी लागे स्वीमिङ जान्छिन् । दैनिक १० किलोमिटर हिँड्न अल्छी गर्दिनन् ।

पेसा नर्सिङ भए पनि चलचित्रसम्बन्धी रुचि छ । त्यही भएर सोही विषयका किताब अध्ययन गर्न जाँगर चलेको बताउँछिन् । घुमफिरमा त्यत्तिकै रुचि भएको उनी सातामा एकपटक टाढै पुग्छिन् । अस्ट्रिया, फ्रान्स, स्वीट्जरल्यान्ड र भारत घुमेकी उनलाई स्वीट्जरल्यान्ड असाध्यै मन परेको थियो । उनलाई पोखरा पनि त्यत्तिकै मन पर्ने ठाउँ हो । मनाङ, मुस्ताङ र इटाली पुगिछाड्ने उनको योजना छ । भनिन्, ‘जर्मनीमा वर्ष दिनमा दुई महिना बिदा हुन्छ । त्यतिबेला मज्जाले घुम्ने हो ।’


गजुरी–२ धादिङनिवासी उनलाई १० कक्षा पढ्दासम्म डन्डिबियो, घ्वाइँ, भलिबल खेले पनि फुटबल हेर्न रमाइलो लाग्छ । उनी क्रिस्टियाना रोनाल्डोकी ‘फ्यान’ हुन् । जर्मनीमा बसोबास गर्ने मानिसले कस्तो मोबाइल बोक्लान् ? उनले देखाइन्– सोनी एक्सपारिया जेड रहेछ । तीन÷चार वर्षदेखि प्रयोग गर्ने मोबाइलको मूल्यचाहिँ सात सय युरो ।

जर्मनीको फ्राइबग (फ्राइबग सिटीको अलि भित्रीगाउँ) मा बसोबास गर्ने नेपाली चलचित्र ‘सुश्री’ की नायिका आशिका तामाङले पछिल्लो समय ‘जात्रा’ हेरेकी रहिछन् । जर्मनीका मानिस फिल्मभन्दा थिएटरमा रमाउँछन् । उनी भने नेपाल आउँदा धितमरुन्जेल नेपाली चलचित्र हेर्ने गर्छिन् ।

‘संसारको सबैभन्दा खुसी मै हुँ जस्तो लाग्छ,’ कुराकानीक्रममा उनले थपिन्, ‘शारीरिक अभ्यास गर्छु । खानेकुरामा ध्यान दिन्छु । महिनैपिच्छे होलबडी चेकअप गर्छु । सकारात्मक सोच्छु । खुसीभन्दा ठूलो सम्पत्ति अरू हुँदैहुँदैन ।’


नेपाली भएपछि नेपाली गीत/संगीत नसुन्ने विरलै होलान् । उनी नेपाली र अंग्रेजी गीत सुन्न मन पराउँछिन् । अञ्जु पन्त, मेलिना राई र प्रमोद खरेलका आवाज उनलाई त्यत्तिकै मन पर्छ ।

मानिस हो, जानअन्जानमा भूल गरिहालिन्छ । उनी हाँसिन्, ‘सबैभन्दा धेरै गल्ती गर्ने मै हुँला । मैले यस्तो भूल गरें माफ गर्नुहोला भन्दा ८० वर्षीय धर्मबुवाले तैंले भूल गरें भन्छस् त्योभन्दा दोब्बर मैले गरेको छु भन्नुहुन्छ ।’ कक्षा १० को परीक्षा चलिरहेको थियो । गणितमा कमजोर भएकाले चिट सारिरहेकी थिएँ, सरले देख्नुभएपछि मलाई बाहिर निकालिदिएको आजसम्म बिर्सन नसकेको उनले बताइन् ।

युरोपमा कलरिङ गर्ने फेसन चलेको छ । उनले नगर्ने कुरै भएन । गत वर्ष ‘ब्लु’ गरे पनि कपाल कालो भएकाले देखिएन रे । सातामा एकपटक ओयल मसास र फेसियल गर्ने उनले दैनिक सनब्लक प्रयोग गर्छिन् । घरबाहिर निस्कँदाचाहिँ मेकअप । उनले सातामा एकपटक घरमै अनुहारको स्टीम लिन बिर्संदैनन् ।

प्रेमप्रसंग कोट्याउँदा उनी मज्जाले हाँसिन् । दुई वर्ष ‘रिलेसनसिप’ मा रहे पनि छुटेको उनले बताइन् । उनले प्रस्ट्याइन्, ‘म अलि स्वतन्त्र टाइपकी छु । उस (चिकित्सक) लाई कोहीसँग नबोलोस्, नहिँडोस् लाग्ने । जेमा पनि निगरानी गर्ने भएपछि अलग भयौं । हिजोआज साथीसाथी छौं ।’

सन् २०११ मा जर्मनी पुगे पनि भविष्य नेपालमै खोज्ने सपना देखेकी उनलाई नेपालका प्रत्येक गाविसमा एउटा सुविधायुक्त स्वास्थ्यचौकी भइदिए हुन्थ्यो भन्ने लाग्छ । कतिपय स्वास्थ्यचौकी पियन धानेको उनले देखेकी छन् । त्यो अवस्था अन्त्य गर्न पाए कति जाती हुन्यो होला भनेर परिकल्पनासमेत गर्छिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल