DNN Ground Zero : चुनावबारे मधेशका जनता र व्यापारी के भन्छन् ?

DNN Ground Zero : चुनावबारे मधेशका जनता र व्यापारी के भन्छन् ?

काठमाडौँ, वैशाख ८ – बैशाख ३१ को लागि घोषणा भएको स्थानीय तहको चुनावले तराई–मधेशमा तनाव बढाउने आशंका गरिएको छ । आशंका यसकारण कि, सरकार, निर्वाचन आयोग र प्रमुख दल चुनावतिर दौडिरहेका छन्, उता मधेशी मोर्चा र संघीय गठबन्धन चुनावको विरोधमा । चुनाव गराउने र भाड्ेने कहाँ ठोक्किने हुन्, यहीँ विषयमा तराई–मधेशमा तनावको आंशका बढेको छ । चुनावमा सहभागी हुने प्रमुख दल र चुनावको विपक्षमा उभिएका मधेशी मोर्चाका नेता–कार्यकर्ताको चेपुवामा त्यहाँका जनता परेका छन् । त्यसको मार व्यापारीले पनि भोग्नपर्ने अबस्था छ ।

तराई–मधेशमा अहिले कोही चुनाव सफल बनाउन लागेका छन्, कोही असफल बनाउन, अर्थात मधेशमा जुनसुकै बेला तनाव बढ्ने खतरा छ । मधेश आन्दोलनमा बेला–बेला भएका तनावले राज्य, प्रमुख दल र मधेशी मोर्चा आफै पनि चिन्तित छन् । तर, राजनीति सहमति खोजन सकेका छैनन् । अर्थात झन्डै दुई बर्षदेखि मधेशको अबस्था यथावत छ । तराई–मधेशका विषयमा नेताहरुका आ–आफ्ना अडान र भनाईहरु बाहिर आउँदा मधेशको रियालिटी के छ त यो, सवैभन्दा महत्वपूर्ण प्रश्न हो । र, चुनाववारे मधेशका जनता के भन्छन् ?

हामी यहीँ जवाफ खोज्न तराई–मधेशका केही जिल्लामा पुगेका थियौँ । ठूलो विषय र मुद्दाहरुमा ग्राउन्ड जिरोमा पुगेर त्यहाँको बस्तुस्थितिवारे हामीले सधै रिर्पोर्टिङ गर्दै आएका छौँ । नाकाबन्दी र मधेश आन्दोलनको तनावमा पनि रातोपाटीले ग्राउन्ड जिरोमा त्यहाँको अबस्थावारे रिपोर्टिङ गरेको थियो । चुनावको विरोधमा मधेशी मोर्चाको कडा आन्दोलन आएपछि मधेशमा एकखालको तनाव पनि देखिन थालेको छ । खासमा मधेशमा के छ, हामीले यहीँ जान्न खोजेका थियौँ ।
हिजोको ‘बिग क्वेशन’ मा हामीले धनुषाका राजनीति पार्टीका नेता–कार्यकर्ता के सोचिरहेका छन्, भन्ने विषयमा विस्तृत रिपोर्टिङ गरेका थियौँ । आज हामी, महोत्तरी र घनुषाका सर्वसाधरण र व्यापारीहरु चुनाव र आन्दोलनको यो मौसममा के सोचिरहेका छन् भन्ने विषय पस्कदैछौँ ।

महोत्तरी र धनुषा जिल्लाका सर्वसाधारण तथा ब्यापारीहरुलाई स्थान दिँदैछौँ । हामीले २ नंबर प्रदेश अन्र्तगत धनुषा र महोत्तरीमा पुगेर सरकारले घोषणा गरेको स्थानीय तहको प्रभाव कस्तो छ, सर्वसाधारण तथा ब्यापारीले यसलाई कसरी लिएका छन् भनेर बुझ्ने प्रयास गरेका छौँ ।

कार्यक्रमको शूरुवातमा हामी महोत्तरीको बर्दिबासका स्थानीय र जनकपुरका स्थानीयबासीको चुनाव प्रतिको धारणा प्रस्तुत गर्दैैछौँ भने त्यसपछि महोत्तरी र धनुषाका उद्योगी ब्यापारीको भनाई छन् ।

शूरुमा महोत्तरीको बर्दिबासका सर्बसाधारणको चुनावी प्रतिक्रिया के छ त ? हाम्रा संबाददाता शम्भु दंगाल र क्यामेरा पर्सन कृष्ण खड्काले त्यहाँका केही स्थानीयबासीसँग कुराकानी गरेका छन् ।

बर्दिबासका नवराज तामाङ प्राथमिक तहको बिद्यालयमा अध्यापन गर्छन् । सरकारले स्थानीय तहको चुनाव घोषणा गरेको प्रति उनलाई खुसी लागेको छ । तर तराईमा जारी चुनाव विरोधी गतिबिधीका कारण स्थानीय तहको निर्वाचन नहुने पो हो कि भन्नेमा उनको पनि आशंका र चिन्ता छ ।

धुर्मुस सुन्तलीले महोत्तरीको बर्दिबासमा निमार्ण गरेको मुसरहर बस्ति हेर्न परिवार सहित पुगेका थिए स्थानीयबासी दिनेश श्रेष्ठ । तराईमा मोर्चाले गरेको आन्दोलनको प्रभाव स्वरुप हालसम्म बर्दिबासमा राजनीतिक दलले उम्मेद्धदार छान्न नसकेको उनको भनाई थियो । नेतृत्वले चुनावको बिरोध गरेपनि तराईका जनतामा चुनावमा भाग लिन चाहिरहेको उनको भनाई थियो ।

महोत्तरीको बर्दिबास क्षेत्रमा मधेस केन्द्रीत दलको न्यून प्रभाव रहेको स्थानीयले हामीलाई जानकारी दिए । यस्तै सदरमुकाम जलेश्वर क्षेत्रमा भने मधेसकेन्द्रीत दलको प्रभाव बढी रहेको उनीहरुको भनाई थियो । महोत्तरीको दक्षिणी भूभाग छोडेर अन्य क्षेत्रमा चुनावको संभवना भएको स्थानीयको बुझाई थियो । महोत्तरी बर्दिबास भेटिनु भएकी मिनादेवि न्यौपानेको भनाई यस्तो थियो ।

महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तलीले निमार्ण गरेको एकीकृत मुसहर बस्तिको अवलोकन गर्न पुगेकी थिइन सुनिता महासेठ । धनुषाकी स्थायी बासिन्दा महासेठले गाँउघरमा चुनाव हुन नदिने बताँउने गरे पनि आफूले चुनाव होस भन्ने चाहना राखेको बताईन् । जसले जे माग राखेको छ त्यो पनि पूरा होस र चुनाव पनि गर्नुपर्छ भन्ने उनको मान्यता थियो ।

महोत्तरीको बर्दिबासमा भेटिएका स्थानीयको चुनावी प्रतिक्रियापछि अब हामी धनुषाको सदरमुकाम जनकपुरमा भेटिएका सर्बसाधारण धारणा प्रस्तुत गर्दैछौँ ।

जनकपुरको बिडारी चोकमा जनकपुरका अटोरिक्सा चालक मदन साहलाई हाम्रा संवाददाताले भेटेका थिए । उनको परिवार पाल्ने मेले नै दिनहुँ अटोरिक्सा हाक्ने काम हो । दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका साहले स्थानीय चुनावको कुनै मतलब नभएको बताए । उनले चुनाव भए पनि नभएपनि आफूलाई केही फरक नपर्ने बताएका थिए ।

पहाडका स्थानीय जस्तै तराई मधेसका स्थानीयहरु पनि आफ्नो क्षेत्रमा विकास निमार्णको कामले गति नलिएकोमा निरास छन् । उनीहरु चुनावका साथसाथै आफ्नो राजनीतिक दलका नेताहरुले आफू बसेको स्थलमा विकास निमार्णका काम अघि बढाँउन र आफ्नो जीवनस्तर सुधारुन भन्ने चाहिरेका छन् ।

घर बनाँउने काम सकेर साँझ साइकल चलाँउदै घर फर्किरहेका मोहम्मद जनिर नदाफलाई हाम्रा संवाददाता शम्भु दंगाल र अमरेन्द्र यादवले जनकपुरको भनुचोकमा भेटेका थिए । ५२ बर्षका नदाफको ८ जनाको परिवार छ । उनले जनतालाई चुनावभन्दा पनि विकास निमार्ण र जिवनस्तर सुधार चाहिएको प्रतिक्रिया दिएका थिए ।

जनकपुरमा हाम्रा संवाददाताले २ जना महिलाको पनि प्रतिक्रिया लिएका छन् । स्थानीयबासी मञ्जु यादव पेसाले बिद्यार्थी हुन् । उनी काठमाडौं बसेर क्याम्पस तहमा अध्ययन गर्छिन । यतिबेला भने उनी जनकपुरमा आफ्नो घरमा पुगेकी छिन् । पसलमा कपडा खरिदका लागि पुगेकी मञ्जुलाई हाम्रा संवाददाताले स्थानीय तहको निर्वाचनका लागि धारणा मागेका थिए । उनले मधेसी मोर्चाले उठाएको माग पूरा गरेर मात्रै स्थनानीय तहको निर्वाचन गर्नुपर्ने बताएकी थिइन तर मोर्चाले उठाएको मागबारे भने उनलाई ज्ञान थिएन ।

जनकपुर स्थायी बसोबास र सोही स्थलमा रहेको एक क्याम्पसकी बिद्यार्थी समेत रहकी अल्पना कुमारी गोइतलाई स्थानीय तहको निर्वाचनका बारेमा अलि अलि जानकारी त छ तर पूर्ण रुपमा कस्तो प्रकारको चुनाव हो भन्नेबारेमा बुझेकी छैनन् । उनका अनुसार तराईमा घर बाहिर ननिस्कने महिलाका लागि त सरकारले चुनाव घोषणा गरेको छ भन्ने कुराको जानकारी समेत नभएको उनकोल भनाई थियो । हुन पनि तराईमा न त दलहरुले चुनावको प्रचार गरेका छन् न त निर्वाचन आयोग नै मतदातासम्म पुग्न सकेको छ । जनकपुरकी मञ्जुको भनाईले पनि यही कुराको पुष्टि गर्छ ।

हामीले मधेसका सर्वसाधारणसँग मात्र हैन, त्यहाँका ब्यापारीहरुसँग पनि स्थानीय तहको निर्वाचनको विषयलाई लिएर कुराकानी गरेका छौँ । हाम्रा संवाददाताले जनकपुरका होटल ब्यवसायी अभिषेक झुनझुनवालालाई उनी आवद्ध वेलकम होटेल नजिकै भेटेका थिए । ६ महिना लामो मधेस बन्दका क्रममा उनको होटेल पनि प्रभावित भएको थियो । स्थानीय तहको चुनावका विषयमा उनले शान्तिपूर्ण रुपमा चुनाव र स्थिर सरकार चाहिएको प्रतिक्रिया दिएका थिए ।

धनुषाको जनकपुरमा भेटिएका सर्वसाधारणको प्रतिक्रियापछि अब हामी ब्यापारीहरुको भनाईलाई प्रस्तुत गर्दैछौँ । सबैभन्दा पहिले महोत्तरी बर्दिबासका ब्यापारी सरकारले घोषणा गरेको स्थानीय तहको चुनावका बारेमा के भन्छन त्यो देखाँउदैछौँ । त्यसपछि जनकपुरका ब्यापारीको भनाईलाई जोड्नेछौँ ।
महोत्तरी बर्दिबासका स्टेशनरी ब्यवसायी कैलास पोखरेल पेसाले बिद्यार्थीका साथै ब्यापारी पनि हुन् । सरकारले २० बर्षपछि स्थानीय तह निर्वाचनको घोषणा गरेको भन्दै उनले खुसी ब्यक्त मात्र गरेनन्, निर्धारित मितिमा चुनाव हुनुपर्ने उनले बताए ।

महोत्तरीको बर्दिबासमा झन्डै १७ बर्षदेखि किरानापल संचालन गर्दैै आइरहेका ब्यवसायी
आनन्द फुयाँलले आफ्नो पसल अगाडिको चोकमा हालसम्म कुनै चुनावी सभा तथा जुलुस देख्न पाएका छैनन् । तर पनि उनी स्थानीय तहको निर्वाचनको पक्षमा छन् । १७ बर्ष पहिले रामेछापबाट तराई झरेका उनी राजनीतिक स्थीरता र शान्तिको पक्षमा छन् । हेरौँ, चुनावबारे उनको यो बिचार ।

सर्लाही घर भएका राजेन्द्र ठाकुरको महोत्तरीको बर्दीबासमा कपाल काट्ने शैलुन छ । बर्दिबास चोकमा निकै पहिलेदेखि उनले कपाल काट्ने सैलुन संचालन गर्दै आएका छन् । उनी पनि चुनावको पक्षमा छन् । राजनीतिक दल र सरकारले शान्तिपूृर्ण रुपमा ब्यवसायीहरुलाई आफ्नो काम गर्न दिनुपर्ने उनले बताए ।

महोत्तरीको बर्दिबासका ब्यापारीको चुनावी प्रतिक्रियापछि अब हामी धनुषाको जनकपुरमा भेटिएका ब्यापारीको प्रतिक्रियालाई जोड्दैछौँ ।
जनकपुरको भानुचोकमा रहेको कपडा पसलका मालिक हुन बीरेन्द्र प्रसाद साह । उनी ब्यापार ब्यवसायमा आवद्ध हुनुका साथै जनकपुरमा रहेको एक क्याम्पसमा लेक्चर समेत हुन् । सरकारले मधेसी मोर्चाको माग पूरा गरेर चुनाव भयो भने आफ्नो ब्यापारलाई सहयोग पुग्ने उनको विश्वास रहेको छ ।

जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका उद्योगपति रमेश साह जनकपुरको प्रसिद्ध जलासय गंगा पोखरीमा भेटिएका थिए । जहाँ हरेक साँझ गंगा आरतीको कार्यक्रम हुने गरेको छ । गएको बर्ष नाकाबन्दीको मार खेपेका उद्योगपति साह पनि नेपालमा शान्ति र स्थिर सरकार चाहन्छन् । तर सरकारले एकतर्फी रुपमा चुनावी कार्यक्रम घोषणा गरेको भन्दै मधेसी मोर्चाको माग पूरा नभएसम्म २ नंबर प्रदेशमा चुनावको बाताबरण नबन्ने उनको भनाई थियो ।

जनकपुरमा रहेको वेलकम होटलमा आवद्ध ब्यवसायी अभिषेक झुन झुनवालाले ६ महिने तराई बन्दका क्रममा भएको क्षतिलाई नजिकबाट नियालेका थिए । मधेसी मोर्चाको सहमति सहितको चुनाव भए देशमा शान्ति फर्किने र आफ्नो ब्यवसाय निर्धक्क गर्न पाइने उनको बिचार छ ।

थानीयबासी तथाको भनाई अनुसार स्थानीय एफ. एम. रेडियो र टिभीले समेत चुनावको पक्षमा कार्यक्रम सामाग्री बनाएका छैनन् । जसका कारण पनि घरबाहिर ननिस्कने गृहणी तथा सर्बसाधरणलाई सरकारले चुनाव घोषणा गरेको बारेमा समेत जानकारी छैन् । यता उद्योगी ब्यापारीहरुले भने मधेसकेन्द्रीत दल तथा सरकार बिच सहमति सहितको स्थानीय निकायको चुनाव र स्थिर राजनीति चाहिएको बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल