२४० स्थानीय तहको नतिजा सार्वजनिक : कहिले आउँछ चार महानगरको अन्तिम नतिजा ?

२४०  स्थानीय तहको नतिजा सार्वजनिक : कहिले आउँछ चार महानगरको अन्तिम नतिजा ?

काठमाडौ, जेठ ५ – तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानमा गत आईतबार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन सम्पन्न भएको ५ औ दिन शुक्रबार बिहानसम्म २८३ मध्ये दुईमा निर्विरोध भएबाहेक २ सय ८१ स्थानमा चुनाव भएकोमा २४० स्थानको परिणाम सार्वजनिक भइसकेको छ ।

अहिलेसम्म कसले कति जिते ?
जसमा एमालेले ९७ तहको प्रमुख पदमा विजयी हासिल गरिसकेको छ भने दोस्रोमा नेपाली कांग्रेसले ९४ र तेस्रोमा माओवादी केन्द्रले ४४ तहको स्थानीय निकायको प्रमुख पदमा विजयी हासिल गरेको छ । त्यस्तै राप्रपा, जनमोर्चा र नयाँ शक्तिले समान एकएक पद जितेका छन् भने स्वतन्त्रका उम्मेदवरले तीन पद हात पारेका छन् ।
यद्यपी निर्वाचन आयोगले भने शुक्रबार विहान १० बजेसम्म एक सय ६१ स्थानको मात्र नतिजा आएको जनाएको छ । संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) को हवाला दिदै आयोगले शुक्रबार बिहान १० बजेसम्ममा १६१ स्थानीय तहको मतगणना कार्य समाप्त भई उम्मेदवारहरूको विवरण प्राप्त भएको जनाएको हो । आयोगको विवरण अनुसार, नगरप्रमुख वा अध्यक्ष १६१, उपाध्यक्ष÷उपप्रमुख १६१, वडाध्यक्ष १ हजार ३२२, वडा सदस्य २ हजार १९२, महिला सदस्य १ हजार ९५ र दलित महिला सदस्य १ हजार ३० निर्वाचित भइसकेका छन् ।
कति निर्वाचित हुँदैछन् ?
पहिलो चरणमा २८३ प्रमुख तथा उपप्रमुखसहित तीनवटै प्रदेशमा १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुदैछन् । त्यति जनप्रतिनिधि निर्वाचित हन ४९ हजार तीनसय ३७ जना उम्मेदवार प्रतिश्पर्धामा उत्रिएका थिए । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार मैदानमा उत्रिएका थिए ।
आयोगको प्रतिवद्धता पुरा नहुने संकेत
निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको एक साताभित्र मतपरिणाम सार्वजनिक गर्ने दावी गरेपनि उसले तोकेको समयसिमामा भने सवै तहको मतपरिणाम नआउने निश्चित भएको छ । तर, निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार बाँकी स्थानको मतगणना पनि तीव्र भएकाले चार महानगरबाहेक अन्य स्थानको मतपरिणाम भोली अर्थात शनिबारसम्म सकिसक्ने छ ।
प्रवक्ता शर्माले सोमबारसम्म चार महानगरको पनि परिणाम सार्वजनिक गर्नेगरी गणना भइरहेको जनाए । चार महानगरमा अन्य स्थानको तुलनामा मतदता धेरै र उम्मेदवरसमेत बढि हुनु तथा त्यसका कारण मतपत्र ठुलो भएकाले मत गणना गर्न कठिन भएको शर्माको भनाई छ ।
बदर मत २ प्रतिशत मात्रै
निर्वाचन आयोगले मतदाता शिक्षा अभावमा धेरै मत बदर भएको भन्ने आरोपको पनि खण्डन गरेको छ ।‘अहिल्यै केहि स्थानको केही मत बदर भयो भन्दैमा त्यसैलाई आधार बनाएर धेरै मत बदर भयो भनेर प्रचार प्रसार गरिएको छ त्यसरी विश्लेषण गर्नु गलत हुनेछ । ’ प्रवक्ता शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगका अनुसार अहिलेसम्म जम्मा २ प्रतिशत मात्र मत बदर भएको पाइएको छ ।
चार महानगरको सोमबारसम्म आइसक्ने
काठमाडौँ महानगरसहित काठमाडौका सात नगरको मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ भने ललितपुर महानगरमा एक नगर र भक्तपुरका चार नगरपालिकाको मतपरिणाम पनि आउन बाँकी नै रहेको छ ।
उता, चितवनको भरतपुर महानगरपालिकासहित चारवटा नगरको परिणाम आउन बाँकी छ भने पोखरा लेखनाथ महानगरसहित अन्य केही स्थानीय तहको पनि परिणाम आउन केही समय लाग्ने आयोगले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल