स्वास्थ्यमन्त्रीज्यू, तपाईंभन्दा ६७ वर्ष जेठो यो अस्पतालको उपचार गर्न सकिएला ?

पुस २४  |   DNN

स्वास्थ्यमन्त्रीज्यू, तपाईंभन्दा ६७ वर्ष जेठो यो अस्पतालको उपचार गर्न सकिएला ?

पश्चिमाञ्चल क्षेत्रका १३ भन्दा बढी जिल्ला र भारतको उत्तर प्रदेशका केही भूभागका समेत गरी ६० लाखभन्दा बढी जनसङ्ख्या आश्रित छन् लुम्बिनी अञ्चल अस्पतालमा ।

तर, अस्पतालमा बेथिति धेरै छ । अस्पताल आफै बिरामी छ ? के यसमा सुधार गर्न सकिन्छ ? बुटवलबाट पत्रकार तेजेन्द्र केसीको रिपोर्ट :

सन्दर्भ १
–शुक्रबार बिहान ८ बजेर १५ मिनेट जाँदा म लुम्बिनी अस्पताल पुगेँ । टिकट काउन्टरमा २ सयभन्दा धरै मानिस लाइनमा थिए । पछाडि आएर लाइनमा थपिने बढिरहेका थिए ।
–बिहानको चिसो मौसममा यसरी लाइनमा बस्ने मध्ये एक थिइन्, कपिलवस्तु, जितपुरकी वसन्ती बेल्बासे । दुई वर्षको छोरा समातेर उनी लाइनमा उभिएकी थिइन् ।
–उनले आफूलाई पत्थरीको समस्या भएकाले उपचारका लागि आएको बताइन् । उनले बिहान पौने ८ बजेदेखि लाइनमा बसेको सुनाइन् ।

मसँगको कुराकानीमा उनले गुनासो गरिन्, ‘अझै यस्तै लाइन् छ । ९ बजेसम्म मेरो पालो आउँछ कि ? के भएको हो खै ? सधैँ यस्तै भीड हुन्छ । भित्र कर्मचारी पनि थोरै छन् । टिकट पनि निकै ढिला काट्छन् ।’
–अस्पताल काउन्टर बिहान टिकटका लागि साढे ८ देखि ११ बजेसम्म र शुल्क बुझाउनका लागि ९ बजेदेखि १२ बजेसम्म खुल्ने गर्दछ ।

सन्दर्भ २
शुक्रबार बिहानै ८ बजेर ३५ मिनट जाँदा म अस्पतालको कोठा नम्बर २ पुग्दा अल्ट्रासाउन कक्षमा एउटा ढोका खुलेको थियो । ढोकाको बाहिर रहेको बेन्चमा तीन जना महिला बसेका थिए । तीमध्ये एक रहेछिन्, रुपन्देही गजेडी–१, गजेडी तालनेर घर भएकी सर्मिला चौधरी ।

– गर्भवती चौधरीले जाडोका कारण बाक्लो कपडा लगाएकी थिइन् । उनले भिडियो ऐक्सरेका लागि कुरेकी थिइन् । भिडियो एक्सरे साढे १० बजेबाट सुरु हुन्छ, बिहानै किन आउनुभएको ? मधेसकै लवजमा जवाफ दिइन्, ‘चार दिन भयो अस्पताल आएको । आज त भिडियो गरेर गइन्छ कि भनेर छिटो आएको ।’

–उनका अनुसार मङ्गलबार टिकट काटेर भिडियो एक्सेर कक्षमा आउँदा बन्द थियो । अस्पतालका अन्य सेवा यथावत रहे पनि मङ्गलबार भिडियो एक्सरे कक्ष बन्द हुने रहेछ । बुधबार आउँदा उनले पालो पाइनन् । अनि शुक्रबार फेरि आइन्, पालो पाउने आशमा । ‘यहाँ दिनमा ५५ जना भन्दा धरैको भिडियो एक्सरे नगर्दा रहेछन् । त्यसैले छिटो आएको हुँ ।’ उनले बाध्यता सुनाइन् ।

सन्दर्भ ३

भिडियो एक्सरे गर्ने कक्ष नजिकै अर्को कोठा नम्बर १ लेखिएको एक्सरे कक्ष छ । त्यहाँ पुग्दा बिरामीका आफन्त एक्सरे कति बेलादेखि खुल्छ भनेर आपसमा कुराकानी गरिरहेका थिए ।
–यस्तैमा एक जना एक्सरे गराउन लाएका व्यक्ति ‘हजुरको ले नै हो, एक्सरे गराउने’ भन्दै मेरो नजिक आए । उनी अर्घाखाँची ठूलापोखरा–२ का भीमबहादुर शाही रहेछन् । उनकी आमा निर्मला शाहीलाई बिहिबारदेखि अस्पतालको आईसीयूमा राखिएको रहेछ ।
–बिहानी राउन्डमा पुगेका डाक्टरले थप भिडियो गराउन पठाएपछि भीम अलमलमा परेका थिए । ‘एक्सेर गर्ने मान्छे छैन । १५ मिनेट भयो खोजेको । छिटो गर्न पाए हुन्थ्यो ।’ चिन्तासहितको भावमा यता–उति भौँतारिरेहेका भीमले मसँग दुखेसो पोखेँ ।

सन्दर्भ ४
–कोठा नम्बर १४, जहाँ प्लस्टरको काम गरिन्छ । यो कक्षमा म ९ बजेतिर पुग्दा एक हुल कर्मचारी जम्मा भएका थिए । बिरामीका होइनन्, आन्दोलन गर्ने विषयमा छलफल गर्दै थिए उनीहरु ।
–सरकारले तह निर्धारण गरे पनि सीएमए, अहेब लगायतका विषयमा स्पष्ट रुपमा नतोकेको भन्दै उनीहरु आन्दोलनबारे विचार–विमर्शमा थिए । आआफ्ना तर्क राख्दैथिए । बिरामीलाई सेवा दिने विषयमा भन्दा आफ्ना सुविधा र बढुवामा उनीहरु बढी नै चिन्तित देखिन्थे ।

सन्दर्भ ५
अस्पतालको इमजेन्सी गेटबाट भित्र छिरेपछि रातो प्लेटका यात्रु बोक्ने गाडी, ट्याक्सी र एम्बुलेन्सको अलपत्र पार्किङ छ । जहाँ कुनै बिरामी आउनसाथ ट्याक्सी र रातो प्लटेका कारबीच ग्राहक कसले तान्ने भन्नेमा तँछाड–मछाड हुन्छ । जथाभावी पार्किङले औषधी खरिद गर्न आउने र भित्र जाने बिरामीलाई धेरै नै समस्या भएको छ । महिला र बूढाबूढीलाई त धेरै नै समस्या हुन्छ ।

–अस्पतालको इमेजेन्सी विभागका प्रमुख डा. श्यामराज उपाध्ययले भने, ‘एक ठाउँबाट बिरामी जाँचेर निस्कँदा तथा भित्र जाँदा डाक्टरहरुलाई पनि समस्या हुने गरी पार्किङ गरेका छन् । बिरामीलाई कति समस्याहोला आफै कल्पाना गर्नुहोस् ।’

सन्दर्भ ६
–०७३ मङ्सिर २८ गते । स्याङ्जा वालिङ घर भई बुटवल बेलवास बस्ने २८ वर्षकी राधिका पाण्डेको मृत्यु भयो । सुत्केरीका लागि लुम्बिनी अञ्चल अस्पतालमा आएकी थिइन् । आफन्तले चिकित्सकको लापरवाहीका कारण राधिकाकोे मृत्यु भएको आरोप लगाए । सुरक्षित रुपमा सुत्केरी भएन र उनको मृत्यु भयो भन्ने आफन्तको दाबी छ ।

–उनी पहिलो पटक मङ्सिर २४ को शुक्रबार अस्पताल गएकी थिइन् । चिकित्सकले सुत्केरी हुने बेला नभएको भनेर घर पठाए । फेरि मङ्सिर २६ गते पुनः अस्पताल गइन्, फेरि पनि खासै केही छैन भनेर डाक्टरले घर पठाए । गाह्रो भएपछि सोमबार बेलुका अस्पतालमा भर्ना भइन उनी ।

–सामान्य प्रसव पीडा लागेकाले उनलाई ३ डोज मुखमा राख्ने औषधी दिइयो । उनलाई केही फरक भएन । सामान्यतया डाक्टरले ३ डोज औषधी दिएपछि सुत्केरी नभए अप्रेशन गर्न गरेको बताउँछन् ।
–राधिकालाई सुरुदेखि हेरेका डा. बीबी राउत भन्छन्, ‘चिकित्सको कमजोरी भएको छैन ।’

–गत वर्ष फागुनमा सुत्केरी गराउन बुटवलस्थित लुम्बिनी आएकी एक महिलाको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा दिनभर तनाव भयो ।
नवलपरासीको सुनवल नगरपालिका–६ विसासय भूपू टोलकी रामकुमारी तामाङलाई सुत्केरी गराउन लुम्बिनी अञ्चल अस्पताल भर्ना गरिएको थियो ।

–प्रसवपीडा लागेपछि तामाङलाई बिहान करिब १० बजे अस्पताल भर्ना गरिएको थियो । पीडामा रहँदारहँदै उनको रक्तस्राव भयो । यसै क्रममा बिहान ५ बजेतिर उनको निधन भएको रामकुमारीका आफन्त सुनबहादुर तामाङले बताएका थिए ।

–उनको परिवार र आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले तामाङको ज्यान गएको आरोप लगाए । त्यसपछि आफन्तले अस्पतालमै हङ्गामा मच्चाए । अस्पतालले भने लापरबाही नभएको बतायो ।
–अस्पतालमा विभिन्न केलजबाट पुगेका सिकारु सीएमए, अनमी तथा नर्सहरुको भीडले बिरामी हैरान छन् । एउटै बिरामीको केसलाई १० जना सिकारु विद्यार्थीहरु झुम्मिने गर्दछन् ।
–निःशुल्क औषधी वितवरणका लागि अहिले छुटै एकाई सञ्चालनमा ल्याए पनि प्रकृया पुर्याउन नसक्दा विपन्न बिरामी समस्यामा छन् ।

–अस्पतालको ल्याब रिर्पोटमा अस्पतालका कर्मचारीले नै विश्वास नगर्ने समस्या छ । बाहिर ल्याब टेस्ट गराउन बिरामीलाई प्रोत्साहन गराउने गरिएको छ ।
माथिका घटना र पात्रका कुराले स्पष्ट गर्छ, बुटवल अञ्चल अस्पतालको स्वास्थ्य ठीक छैन । बिरामीलाई उपचार गराउने अस्पताल आफै बिरामी भएपछि के होला ? उत्तर हुन्छ– त्यहाँको सेवा सुविधा प्रभावित हुन्छ । बिरामीमाथि अन्याय हुन्छ । अहिले त्यही भइरहेको छ ।

यो समाचारमा तपाईंलाई हामी बिरामी अस्पतालको कथा पढाउँदैछौँ । आखिर अस्पताल चाहिँ बिरामी कसरी भयो ? यसमा सबैका आ–आफ्ना मत छन् ।

पछिल्लो पटक मन्त्रीको निर्देशनसमेत अवज्ञा भयो । बिरामी अस्पताललाई स्वास्थ बनाउन कति समस्या छन् भन्ने उदाहरणका हेरौँ :

मन्त्रालय र मन्त्रीको कुरा सुन्दैन अस्पलात प्रशासन

स्वास्थ्य मन्त्रालयले फार्मेसी सञ्चालनका लागि भनेर छुट्टै बजेट विनियोजन गरे पनि लुम्बिनी अञ्चल अस्पताल बुटवलले त्यसको कार्यान्वयन गर्न सकेको छैन ।
गत कात्तिक १९ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सञ्चालित नवजात शिशु सघन उपचार कक्षको उद्घाटन गर्न आएका स्वास्थ्य मन्त्री गगन थापाले भनेका थिए– ‘तपाईंहरुले फार्मेसी सञ्चालन नगरी सुख्खै छैन् । के समस्या छ, मलाई भन्नुहोस् तर चाँडोभन्दा चाडो फार्मेसी सञ्चालन गरेर बिरामीले अस्पतालबाटै औषधी खरिद गर्ने वतावरण बनाउनुपर्छ ।’

–मन्त्रीले निर्देशन दिएको दुई महिना बित्यो तर अस्पताल प्रशासनले चासो दिएको छैन । फार्मेसी सञ्चालनमा जनशक्ति र औषधी खरिदमा हुने ढिलाइलाई समस्या देखाउँदै अस्पताल प्रशासनले टार्दै आएको छ ।

–लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.विकास देवकोटाले भने, ‘हामी मन्त्रालयको निर्देशन पालना गर्न तयार छौँ । तर जनशक्ति र औषधी खरिदमा हुने ढिलाइले फार्मेसी सञ्चालनमा चुनौती छ ।’

यसअघि पनि सर्वोच्च अदालतले वीर अस्पतालको उदाहरण दिँदै अस्पताल आफंैलै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले बजेट छुट्याएर पठाएपछि फार्मेसी सञ्चालन हुने विश्वास गरिएको थियो ।

मेडिकल सुपरिटेन्डेन्ट डा. विकास देवकोटा

मेडिकल सुपरिटेन्डेन्ट डा. विकास देवकोटालले सञ्चालनका लागि प्रक्रिया थालेको बताए पनि अस्पताल हाताभित्रै सञ्चालन भइरहेको निजी फार्मेसीका बारेमा कुनै छलफल नै नभएको बताए ।
–लुम्बिनी अञ्चल अस्पतालको हाताभित्र अस्पतालको फार्मेसी भवन लेखिएको ठूलो ब्यानर टाँगेर जनप्रिय फार्मेसीले औषधी पसल सञ्चालन गरिरहेको छ ।

–जनप्रिय फार्मेसीका सञ्चालक सुरज भट्टराईले गत वर्षको असारदेखि मासिक १३ लाख १७ हजार भाडा तिर्ने गरी ८० लाख रुपियाँ धरौटी राखेर पसल सञ्चालन गरेका छन् ।
–लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले १३ लाखभन्दा बढी मासिक भाडा आइरहेकाले अस्पतालले फार्मेसी सञ्चालन गर्नु नपर्ने तर्क गरे ।
–राष्ट्रिय स्वाथ्य नीति २०७१, अस्पताल फार्मेसी निर्देशका २०७० को प्रस्तावना स्वास्थ्य मन्त्रालयको २०७०÷७१ को परिपत्रमा अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्नुपर्ने भनिएको छ ।
–अस्पतालले मन्त्रीको निर्देशन मानेन भन्ने समाचार स्थानीय मिडियामा आयो । त्यसपछि अस्पताल प्रशासनले फार्मेसी सञ्चालन गर्नका लागि एक समिति गठन गरेको हल्ला चलायो । तर, अरु कुनै निणर्य भएको छैन ।

अञ्चल अस्पताल विकास समितिका अध्यक्ष डा. प्राश्चित श्रेष्ठसँग यसबारे प्रश्न गर्दा उनले भने– ‘वैठकमा समान्य कुराकानी भए पनि ठोस निर्णय या समिति गठन भएको मलाई थाहा छैन । सरकारले सबै ठाउँमा लागू गरे अञ्चल अस्पतालमा पनि सञ्चालन हुन्छ । सैद्धान्तिक हिसाबले निर्णय ठीक भए पनि तत्काल काम अगाडि बढ्ने अवस्थामा छैन ।’
अस्पताल आफैले फार्मेसी सञ्चालन गर्नु महत्वपूर्ण कुरा हो । यसबाट प्रत्यक्ष रुपमा बिरामीलाई लाभ हुन्छ । तर, यस्तो विषयमा अस्पताल प्रशासनको खासै ध्यान जाँदैन । अझ मन्त्रीले नै ‘यो काम चाहिँ छिटो गर गर है’ भन्दा पनि अस्पताल प्रशासनले खासै ध्यान दिएन । यसले दिने सन्देश के हो भने ‘फार्मेसीका नाममा केही न केही गडबड छ ।’

सरकारी अस्पतालको नाम क्लिनिकमा दाम
–बुटवलमा अवस्थित लुम्बिनी अञ्चल अस्पतालमा यस अञ्चलका ६ जिल्लाबाहेक दाङ, रोल्पा, रुकुम, प्युठान, बागुङ जिल्लाबाट दैनिक १२ सयदेखि १५ सय बिरामी उपचारका लागि आउँछन् । तर, उनीको सपनामाथि व्यपार गरिन्छ ।

–अस्पतालमा काम गर्ने पुराना डाक्टरहरू दक्ष र अनुभवी हुन्छन् भन्ने विश्वासका साथ बिरामी यहाँ आउँछन् । तर, टाढा–टाढाबाट आउने बिरामी ती डाक्टर भेटाउन निजी क्लिनिकतिर दौड्नुपरेको छ ।
अस्पतालकै सटर र ५० मिटरको सेरोफेरोमा झण्डै डेढ दर्जन क्लिनिकमा अञ्चल अस्पतालको नाम भजाएर डाक्टरले पैसा कमाउने गरेका छन् ।

अस्पतालबाट सरकारी सुविधा पनि लिने र त्यही अस्पतालको नाम भजाएर बाहिरबाट मनोमानी कुम्ल्याउनेहरूमा त्यहाँका सबैजसो बरिष्ठ डाक्टर पर्दछन् । सकेसम्म आफ्नो ड्युटी समयमा पनि अस्पतालमा नजाने एवं गई नै हाले तापनि विभिन्न बहाना बनाएर क्लिनिकमा आउन रिफर गर्ने उनीहरूको प्रवृत्ति छ ।

अस्पताल चाहिँ बिरामीको रेखदेख गर्ने थलोको सट्टा क्लिनिकहरूको विज्ञापन केन्द्र बन्न पुगेको छ । प्रायः ती डाक्टरहरू शक्ति केन्द्रका आडमा सरुवा भई गएका हुनाले अस्पताल प्रशासनको नियमलाई पनि अस्वीकार गर्दछन् ।

अञ्चल अस्पतालका निम्न डाक्टरले निजी क्लिनिकमा खेतीपाती गर्छन् :
१ डा. विष्णु शर्मा, (नाक, कान तथा घाँटी रोग विशेषज्ञ) पुष्पा फर्मा,
२ डा. कृष्ण खनाल, (जनरल सर्जन), अस्पताल फर्मा
३ डा. श्रीधर आचार्य, (वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ), सन्तोष मेडिकल हल
४ डा. दिनेश गौतम (पेट मुटु, छाती, मधुमेह रोग विशेषज्ञ), जनभावना मेडिकल हल
५ डा. पुष्पराज जोशी, (वरिष्ठ फिजिसियन) इन्द्रेणी फार्मा
६ डा. अनुपा थापा, (महिला तथा प्रसूति रोग विशेषज्ञ) दीपिका फार्मेसी
७ डा. मनिलाल एन. श्रेष्ठ, (वरिष्ठ कन्सल्टेन्ट, छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ), सुहान यति मेडिकल हल
८ डा. भुवन पौडेल, (जनरल तथा ल्याप्रोस्कोपी सर्जर), इलाइट फार्मेसी, सक्रिय फर्मा
९ डा. एल.डी. भट्ट, (वरिष्ठ कन्सल्टेन्ट फिजिसियन), करिष्मा फर्मा
१० डा. वर्षा थापा (दाँत तथा मुख रोग विशेषज्ञ), समाज डेन्टल
११ डा. किरण खनाल, (फिजिसियन पेट, छाती तथा मुटुरोग विशेषज्ञ), सक्रिय फर्मा
१२ डा. जेवा तवस्सुम (प्रसूति तथा स्त्री रोग विशेषज्ञ), यति मेडिकल हल, दीपिका फार्मेसी
१३ डा. सुरेश थापा (कन्सल्टेन्ट रेडियोलोजिस्ट), सन्तोष मेडिकल हल
१४ डा. किशोर खत्री (हाड जोर्नी तथा नसा रोग विशेषज्ञ), सन्तोष मेडिकल हल
१५ डा. श्यामराज उपाध्याय, (छाला तथा यौन रोग विशेषज्ञ), नमस्ते फर्मा
१६ डा. बद्रीप्रसाद नेपाल, (वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ), पाल्पा भैरव मेडिकल हल
१७ डा. मञ्जु गुभाजू, (डेन्टल सर्जन), लुम्बिनी डेन्टल
१८ डा. शकुन्तला गुप्ता, (स्त्री रोग तथा प्रसूति विशेषज्ञ), फेमिली फिजिसियन), आयुष मेडिकल हल

अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका डा. राजेन्द्र खनालको नजरमा अस्पताल बेथिति यस्ता छन् ।
–लोक सेवा आयोगको प्रतिस्पर्धामा सिफारिस भई नियुक्ति पाएका र अस्पताल विकास समितिबाट नियुक्ति पाएका दुई थरी कर्मचारीलाई एउटै नियमले सरुवा, बढुवा तथा प्रोत्साहन र दण्ड सजायको व्यवस्था नहुँदा समस्या छ ।
–आफ्नो कामप्रति संवेदनशील र अनुशासित भएर लाग्नुपर्नेमा अर्मायादित र अराजक ढङ्गले अरुका कुरा काट्दै हिँड्ने प्रवृत्ति छ । आफ्नो काम सकेसम्म टारेर राजनीतिको आडमा संस्थामा विभिन्न माग र आन्दोलन गर्ने प्रवृत्ति छ ।


– विशेषगरी चाहिने ठाउँमा आवश्यक प्राविधिक जनाशअक्तिको अभाव छ भने नचहिने ठाउँमा अनावश्यक कर्मचारी बढी छन् ।

–काम नगर्नेहरूको दादागिरी चल्छ । राजनीतिक आडमा अनावश्यक काम गर्छन् । यसले काम गर्ने इमानदार कर्मचारीहरुमा नैरश्यता र उदासिनता बढाएको छ । काम नगरेर ठूलो होइन्छ भन्ने आभास दिन खोजिन्छ ।
–अस्पतालभित्र काम गर्ने राम्रो वातावरणको अभाव छ ।
–मेडिकल सुपरिटेन्डेन्टको हैसियत कमजोर बनाउने कोसिस हुन्छ ।
काम गर्नेलाई प्रोत्साहन गरिँदैन ।
सरकारी संस्थाप्रति कर्मचारीको धेरै माया छैन । अस्पताल धरासयी हुँदा आफ्नो ब्यापार सुरक्षित हुने सोच हावी भएको छ ।
–सरकारी अस्पताल वरिपरि निजी क्लिनिको अस्पतालको नाममा लुटको ब्यापार छ ।

सुधारका कामहरु
सटर प्रकरणपछि केही राम्रा कामहरु भएका छन् ।
लुम्बिनी अस्पतालमा १ सयभन्दा धरै सटर राजमार्गसँग जोडिएका छन् । ती सटरलाई दुई दशकसम्म व्यापारीले न्यून भाडा दिने र खुला रुपमा टेन्डर गर्न रोकेका थिए ।
–तत्कालीन मडिकल सुपरिटेन्डेन्ट डा. तारानाथ पौड्यालले टेन्डर प्रक्रियाबाट सटर भाडामा लगाएर अस्पतालको आम्दानी वार्षिक ३ करोड वृद्धि गराएका थिए ।

अहिले स्वास्थ्य सेवा विभाग, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखरामा निर्देशक रहेका डा. पौड्याल स्थानीयको सहयोगले नै यो काम गर्न सफल भएको बताउँछन् ।
–सटर प्रकरणपछि लुम्बिनी अञ्चल अस्पताल, बुटवलले क्रमशः स्वास्थ्य सेवा थप गर्दै लगेको छ ।
आईसीयू सेवा, एनआईसीयू हुँदै यसै साता ल्याप्रोसकोपी (दूरविनबाट प्वाल पारेर गर्ने शल्यक्रिया) सेवा सुरु गरेको छ ।

–अस्पतालको स्तर वृद्धिसँगै सेवा थप भएका छन् । १ सय २५ बेडलाई २११ मा पुर्याइएको अस्पतालका मडिकल सुपरिटेन्डेन्ट विकास देवकोटाले बताए ।
–उनले ५ सय पुर्याउने लक्ष्य रहेका बताए । अहिले इमर्जेन्सीमा २९ वटा बेड थप गरिएको, वर्षिक ९ हजारको सुत्केरी गराइएको, गत आर्थिक वर्षमा २ लाख १३ हजार बिरामीको उपचार गरिएको छ । यी अस्पतालका राम्रा पक्ष हुन् ।
–प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले अस्पतालको जग्गामा बहुउद्देश्यीय भवन बनाउने योजना रहेको बताए । अहिले गुरुयोजना अनुसार जग्गा अपुग भएपछि थप जग्गा खोजी गरिरहेको छ । अस्पतालको दक्षिणतर्फ रहेको वनको १ बिघा ५ कट्ठा जग्गालाई अस्पतालको नाममा ल्याउन पहल भएको डा. देवकोटा बताउँछन् ।
–ओपीडीको समय बढाउन अस्पताल तयारी गरिरहेको भए पनि दरबन्दी अनुसारका चिकित्सक र अन्य कर्मचारीको भने अभाव छ । तर मन्त्रालयले दरबन्दी अनुसार कर्मचारीको व्यवस्था गरिदिन तयार भएको उनको भनाइ छ ।
विशेषज्ञ चिकित्सकको अभाव छ साथै ‘मिर्गौला, मानसिक रोग, पेट, टाउकोलगायतका विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको अस्तापल प्रशासनको भनाइ छ ।

–अहिले ५०४ जनाको दरबन्दी भएको यस अस्पतालमा विकास समितिका १६२ कर्मचारी छन् भने अन्य लोक सेवाबाट सिफरिस सरकारी रहेका छन् ।
अस्पतालमा ९८ जना डाक्टरको दरबन्दी भए पनि करिब आधा मात्रै कार्यरत छन् ।

अस्पतालमा हुन्छ राजनीति
आफ्नो पार्टी स्वास्थ्य मन्त्री बनेको बेला लुम्बिनी अस्पताल अस्पतालमा विकास समितिका अध्यक्ष बन्न यहाँ कार्यकर्ता बीच तँछाड मछाड नै हुने गर्दछ ।

अहिले अस्पताल विकास समितिमा नेकपा एमालेका पदाधिकारीहरुको वर्चस्व छ । स्वास्थ्य मन्त्री खगराज शर्मा रहँदा नियुक्त भएको यो समितिको नेतृत्व डा. प्राश्चित श्रेष्ठले गरेका छन् । उनी लुम्बिनी अस्पतालका पूर्वचिकित्सक हुन् । त्यसबेला वर्तमान समितिका सदस्य टङ्क पराजुलीले अध्यक्षका लागि पार्टीको भिटो प्रयोग गरेका थिए ।

तर मुख्य सचिव लिलामणि पौड्यको निर्देशनमा विकास समितिका पदाधिकारीको योग्यता तोक्ने निर्देशिका बनेपछि डा. श्रेष्ठलाई जिल्लाबाट सिफारिस गर्न एमाले बाध्यएको थियो । अध्यक्ष श्रेष्ठले भन्छन्– ‘म चिकित्स पेसाको मान्छे हुँ तर पार्टी पठाएपछि पार्टीको योजनमा भित्रभित्र बसेर काम गर्नुपर्छ ।

२०७१ पुस २२ गते अञ्चल अस्पताल बुटवलमा शपथ ग्रहण गरी हाजिर भएका उनको कार्यालय यही पुस २२ गतेदेखि सकिएको छ । तर सदस्यहरुको भने फागनुसम्म कार्यकाल बाँकी छ । अहिले नेपाली काङ्ग्रेसले पनि अध्यक्षको खोजी गरिहेको छ ।

अध्यक्ष पदको कतिसम्म मोह गर्छन् भने स्वास्थ्य मन्त्री अर्को पार्टीको हुँदा पनि पदमा बस्न अदालत धाउने गर्दछन् । २०६९ साल कात्तिकमा सद्भावना पार्टीका नेता राजेन्द्र महतो स्वास्थ्य मन्त्री हुँदा राजेन्द्र गुप्तालाई लुम्बिनी अञ्चल विकास समितिको अध्यक्षमा नियुक्त गरेर पठाएका थिए । तर नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका रामबहादुर कार्कीले आफ्ना पद २ महिना बाँकी रहेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेर पद थमाएका थिए ।

यसका कारण गुप्ताले माघ १ गतेबाट मात्र काम सुरु गरेका हुन् । अस्पताका प्रवक्ता लक्ष्मीराज रेग्मीले हालका अध्यक्ष पदावधि पुस २२ गतेबाट सकिएको बताए । उनले अब अध्यक्ष को बन्ने भन्ने नेपाली काङ्ग्रेसका जिल्ला स्तरका नेताहरुबाट नै थाहा हुने बताए ।

पूर्व अध्यक्ष राजेन्द्र गुप्ताले मन्त्री अर्को पार्टी हुने आपूm अर्को पार्टी भएर काम गर्न नसकिने भए पनि यहाँ अध्यक्ष भएपछि २ वर्ष नछाड्ने प्रचलन आएको बताए । उहिले नेपाली काङ्ग्रेसबाट डा. मनोहर जोशीलाई अध्यक्ष नियुक्त गर्ने चर्चा चलिरेहको काङ्ग्रेसका एक जिल्ला स्तरका नेताले बताए । उनले अन्य व्यक्तिहरु पनि छन् तर जोशीलाई यहाँबाट सिफारिस हुनसक्ने सम्भवान धरै छ ।

अस्पतालको इतिहास
–चन्द्रशमशेर जबराको शासन काल वि.सं १९६६ फागुन १५ गते ‘बटौली डिस्पेन्सरी’का नाममा स्थापित लुम्बिनी अञ्चल अस्पताल अहिले २११ शय्याको भएको छ ।
–मुकुन्द सेनको दरबार रहेको स्थान अर्थात् हालको फूलबारी पार्कमा २ जना बङ्गाली भारतीय डाक्टर र ६ शय्याबाट कार्य थालनी भएको थियो ।
१९८८ मा भीमशमशेर जबराको पालामा भैरहवा, परासी र बुटवलमा १५ बेडको अस्पताल सञ्चालन गर्दा बुटवलको अस्पताल हालको रेडक्रस भवनमा सारेर अद्यावधिक गराइएको थियो । त्यसपछि बटौली अस्पतालको नामले परिचित हुन थाल्यो ।

–२०१५ सालसम्म १५ बेडको बुटवल अस्पताल राजा महेन्द्रले भैरहवामा ५० बेडको बनाउने भनेपछि सूर्यलालको नेतृत्वमा बुटवलमै सञ्चालन गर्ने अभियान चल्यो । सोहीअनुसार बुटवलमा सञ्चालन भएको कुरा बुटवल बुहुमुखी क्यापसका प्राध्यापक डा. सुरेन्द्र गिरीले बताए ।
–०५० सालमा पूर्व सासद सूर्यप्रसाद प्रधानको अध्यक्षतामा विषेश भैतिक पूर्वधारसहितको अस्पताल निमार्ण भएको हो । सोही बेला सटरहरु निर्माण गरेर अस्पतालको आम्दानी विकास गर्ने र अस्पतालका बिरामीलाई थप सेवा दिने काम भएको हो ।

–अहिलेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको मिलन विन्दुमा रहेको तथा राजमार्ग र सहायक राजमार्गहरूमा हुने सवारी दुर्घटनाबाट पीडित हजारौँ यात्रु ट्रमा उपचारका लागि पनि लुम्बिनी अस्पतालमा आउने गर्छन् ।
–यस अस्पतालमा पश्चिमाञ्चल क्षेत्रका १३ भन्दा बढी जिल्ला र भारतको उत्तर प्रदेशका केही भूभागसमेत गरी ६० लाखभन्दा बढी जनसङ्ख्या आश्रित छन् ।

तेजेन्द्र केसीको अर्को रिपोर्ट : बुटवलवासीको शान : यस्तो बन्दैछ २७ किलोमिटर ‘सिक्स लेन’ सडक

family planning
Golden Oak

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल