जसले चलाउँछन् सेलिब्रेटीको कपालमा कैँची

-  |   कुवेर गिरी

राजेशको कपाल छुँदा पसिना छुट्यो, डरैडरमा सेबाजको पनि कपाल समाएँ

हेयर स्टाइल मानिसको व्यक्तित्वसँग जोडिएको विषय हो । यसले केही हदसम्म मानिसको चरित्र, काम र भूमिका प्रस्तुत गरिरहेको हुन्छ । सेलिबे्रटीका लागि अझ यसले विशेष महत्व राख्ने गर्छ । चर्चामा छाउनदेखि काममा बिक्नसमेत उनीहरूलाई यसले कुनै न कुनै कोणबाट सहयता गरिरहेको हुन्छ ।

यस्तै सेलिबे्रटीका हेयर स्टाइलसँग वर्षांैदेखि खेल्दै, रमाउँदै आएका छन्– सर्लाहीका वीर अर्थात् राम ठाकुर । १२ वर्षको उमेरदेखि कपाल काट्दै आएका राम सेलिबे्रटीका हेयर स्टाइलिस हुन् । उनले नेपालका अधिकांश सेलिबे्रटीका अलावा बलिउका केही कलाकारको कपालमा पनि कैँची चलाइसकेका छन् । महानायक राजेश हमाल, एक्सन किङ निखिल उप्रेती, चक्लेटी नायक आर्यन सिग्देलसम्म उनीसँग नियमित कपाल कटाउँदै आएका छन् । अभिनेत्रीमा सुमिना घिमिरे, नीता ढुंगाना, गायक शिव परियार, निर्देशक दयाराम दाहाल, रमेश उप्रेतीलगायत थुप्रै छन् ।


विसं २०५२ मा सुनौलो भविष्यको कल्पना गर्दै राजधानी छिरेका उनले सेलिब्रेटीको कपाल कैँची लगाउन थालेको ०५७/५८ पछि मात्र हो । बलिउड कलाकार रवि किसन र सबाज खानको कपालमा समेत कैँची लगाउन सफल उनी सेलिब्रेटीका हेयर स्टाइल अनुभव उनकै शब्दमा ।

फ्रेस हिरो
भुवन केसी जहिले पनि ह्यान्डसम हिरो । त्यस्तै २०५८ मा होला । मैले पहिलोपटक उहाँको कपाल काटेको । चलचित्रको हेयर स्टाइल बनाउने सिलसिलामा उहासँग भेट भएको थियो । कुन चलचित्र थियो, त्यो भने अहिले याद भएन । त्यतिबेलादेखि अहिलेसम्म उहाँको कपालमा मैले नै कैँची लगाउँदै आएको छु । सुरुमा उहाँले कपाल बनाएको पाँच सय दिनुहुन्थ्यो । अहिले त्यो बढाएर दुई हजारसम्म पुर्याउनुभएको छ ।

उहाँको बोली नै मीठो । मायाले राम भाइ भन्नुहुन्छ । ढिलोमा पनि एक भित्र कपाल मिलाइहाल्नुपर्छ उहाँलाई । चलचित्र क्षेत्रकै सबैभन्दा फ्रेस हिरो लाग्छ उहाँ मलाई । युवतीहरूको चक्करले पब्लिकमा उहाँको केही नराम्रो छाप परेको छ । यो बानी उहाँको सबैभन्दा खराब बानी हो । यसलाई उहाँले सुधार्नुपर्छ । मेरो पनि सुझाव हो ।

युवती काण्डका जति नै स्क्यान्डल आए पनि भुवन दाइ कपाल काट्न एक्लै आउनुहुन्छ । सिल्की राम्रो कपाल उहाँको । छोटो कपाल नै सुहाउँछ उहाँलाई । साइटबाट हल्का माथि लगेको कपालमा उहाँ ह्यान्डसम देखिनुहुन्छ । उहाँको जहिले पनि कपाल कालो देखिन्छ । उहाँले कपालमा विभिन्न कलर प्रयोग नगर्दा पनि हुन्छ । किनभने उहाँलाई कालो हालेको कपालमा कसैले पनि जित्न सक्दैन ।

राजेशलाई छुँदा हात काँप्यो, पसिना छुट्यो

विसं २०६० सालतिरको कुरो हो । त्यो दिन म कहिल्यै पनि बिर्सन सक्दिनँ । जुन दिन मैले पहिलोपटक अभिनेता राजेश हमालको कपालमा कैँची पुर्याएको थिएँ । त्यो बेलादेखि अहिलेसम्म उहाँको कपाल म नियमित काट्दै आइरहेको छु । राजेश सर प्रायः लामो कपाल पाल्नुहुन्छ । अगाडि हल्का सानो परेको र पछाडि लामो राखेको हेयर उहाँको मनपर्ने स्टाइल । लामो कपाल राख्ने बानीले मैले धेरै स्टाइल बनाइदिन पाएको छैन । त्यस्तै ५/६ स्टाइल दिएँ होला ।

मैले धेरै इज्जत गर्ने मानिस उहाँ । उहाँको कपालमात्र काट्न पाए पुग्छ मलाई । पैसा पनि दिनुहुन्छ । लिन मन पनि लाग्दैन । नलिए रिसाउनुहुन्छ । जहिले पनि उहाँको घरमा गएर कपाल काटिदिने हो मैले । कपाल काटेको पहिले उहाँले कहिले हजार, कहिले पन्ध्र सय दिनुहुन्थ्यो । अहिले त्यो बढाएर पच्चीस सय पुर्याउनुभएको छ ।

दसँैको बेलामा बोलाएर छुट्टै खर्च दिनुहुन्छ । हँसिया चलचित्रका लागि उहाँको नयाँ स्टाइल बनाएको थिएँ । त्यो दर्शकको सबैभन्दा रोजाइको स्टाइल बन्यो । कपालको धेरै स्टाइल चेन्ज नगर्ने हिरो उहाँ । अब केही दिनपछि अहिलेसम्मकै फरक स्टाइल दिन्छु म उहाँलाई । उहाँ महिनामा एक स्टाइल फेर्न रुचाउने हिरो ।

पहिले÷पहिले यस्तो बनाउने, यस्तो काट्नुपर्छ भनेर सम्झाउनुहुन्थ्यो मलाई । अहिले सबै मेरो जिम्मामा छोड्नुहुन्छ । मलाई धेरै विश्वास गर्नुहुन्छ । राजेश दाइ मेरो भगवान् बराबर हुन् । चाडपर्वमा मेरो फ्यामिलीलाई घरमै बोलाएर टीका लगाइदिएर आशिर्वाद दिनुहुन्छ । महानायकको कपाल काट्न पाएकोमा म पनि दंग छु ।

निखिल धेरै स्टाइलिस हिरो

चलचित्र ‘पिँजडा’ को स्पटमा पहिलोपटक निखिल दाइको कपाल काट्ने अवसर मिल्यो मलाई । त्यो अवसर मैले अहिलेसम्म पनि छाडेको छैन । मिति भन्नुपर्दा ०५७÷०५८ नै होला । उहाँको चलचित्र अभिनयको पनि हेयर स्टाइलिस मै हुँ । उहाँ त मेरो जिल्लावासी पनि हो । पिँजडा चलचित्रको समयमा जिल्लावासीको हैसियतले उहाँसँग भेट भएको थियो । त्यो बेला चलचित्र लाइनमा काम गर्ने हो भनेर सोध्नुभयो । मैले हुन्छ भनेँ । त्यो बेलादेखि म फिल्म लाइनमा पनि छु । उहाँले नै मलाई पहिलोपटक चलचित्रमा ल्याउनुभएको हो ।

त्यस्तै २०६० साल होला । एक प्रसंगमा कुरा गर्दै उहाँले मलाई राम तिमीले अब नेपाली चलचित्र उद्योगका सबै कलाकारको कपाल काट्नुपर्छ बुझ्यौ भन्नुभएको थियो । उहाँले त्यसो भन्दा मलाई पनि हौसला बढ्यो । मैले पनि अठोट गरेँ ।
निखिल दाइ धेरै स्टाइलिस हिरो हुन् । उहाँलाई छिटोछिटो हेयर स्टाइल चेन्ज गर्न मन पर्छ । कहिले एक महिनामा तीन स्टाइलसम्म फेर्नुहुन्छ उहाँ । हल्का स्टाइलिस र हल्का रफ टाइपको सुहाउँछ उहाँलाई । सुरुमा एक हजार दिनुहुन्थ्यो । अहिले दुई हजार, पच्चीस सयसम्म पनि दिनुहुन्छ । धेरै समय एकै स्टाइल राख्न मन नपराउने हिरो उहाँ । गाउँले भाइ भनेर बोलाउने उहाँको राम्रो बानी छ । चलचित्र क्षेत्रकै सोझो हिरो लाग्छ मलाई निखिल दाइ । उहाँको पैसा धेरैले खाएका छन् । चलचित्र अभिनय गरेको र अन्य पनि । उधारोमा काम गर्ने र धेरैलाई विश्वास गरिहाल्ने बानी उहाँको नराम्रो बानी । यो बानी सुधार्नुपर्छ ।

विराजको कर्ली कपाल

धेरै समय कपाल काट्ने मौका मिलेको छैन विराज भट्ट सरको । केही समय नेपाली चलचित्र अभिनय गरेर उहाँ भोजपुरीमा लाग्नुभयो । त्यसैले पनि हो । ‘छोडिगए पापा लाग्ला’ र ‘मृगतृष्णा’ लगायत केहीमा मैले उहाँको कपाल काटेको छु । मलाई धेरै माया गर्ने मानिस उहाँ । राम भनेर बोलाउनुहुन्थ्यो । हेयर स्टाइल नर्मल नै मन पराउने हिरो । उहाँको जति कपाल काटेँ चलचित्रको सेटमा मात्रै काटेँ । पैसाको मामलामा यस्तो भन्न सक्दिनँ । किनभने उहाँको कपाल काटेको निर्माताले नै दिन्थे । विराज दाइको कर्ली कपाल । सामान्य स्टाइलमा पनि उहाँलाई सुहाउँथ्यो ।

युवती भए आर्यनसँग प्रेम गर्थंे

हँसिलो हिरो आर्यन सिग्देल । बानी त्यस्तै राम्रो । के छ राम भनेर बोलाउनुहुन्छ । रिलमा मात्र होइन, रियलमा पनि हिरो लाग्ने मानिस । म युवती भएको भए उहाँसँग प्रेम गर्थंे । मैले थाहा पाएसम्म उहाँलाई धेरै केटीले मन पराउँथे रे । त्यो क्रम अहिले पनि होला सायद । चलचित्र ‘दबाब’ को सुटिङ सेटमा पहिलोपटक उहाँसँग भेट भएको थियो । समय भन्नुपर्दा त्यस्तै सात वर्ष अगाडि होला । त्यो बेलादेखि अहिलेसम्म पनि नियमित म नै हँु उहाँको हेयर स्टाइलिस । स्टाइल चेन्ज गरिरहनुपर्ने हिरो उहाँ । उहाँ विक पनि लगाउनुहुन्छ । कपाल काट्ने बेलामा पनि उहाँ विक लगाएर काट्नुहुन्छ । साह्रै हँसाउने हिरो । दबाबमा मैले उहाँसँग अभिनयसमेत गरेको छु । त्यो बेला अभिनयका धेरै विषय पनि सिक्ने अवसर पाएँ । भित्री कुरा मलाई उहाँको त्यति थाहा छैन । नरिसाउने बानी उहाँको सबैभन्दा बेस्ट ।

सुमन कलर हाल्न रुचाउने कलाकार

अहिले अमेरिकामा हुनुहुन्छ क्यारे सुमन दाइ । ८ वर्ष नियमित मैले नै बनाएँ उहाँको हेयर स्टाइल । लामो कपाल मन पराउने हिरो उहाँ । लामो भए पनि स्टाइलिस चाहिन्थ्यो । धेरै स्टाइल त फेराउनु भएन मलाई । त्यस्तै आधा दर्जन स्टाइल बनाइदिएँ होला । कपालमा कलर हाल्न रुचाउने कलाकार उहाँ । उहाँले मलाई केही भन्नुहँुदैनथ्यो । मैले नै बुझेर उहाँलाई सुहाउने स्टाइल बनाइदिनुपथ्र्यो । जस्तो बनाइदिए पनि खुसी हुनुहुन्थ्यो ।

कर्ली कपाल उहाँको । लामो कपालभन्दा सानो नै सुहाउँथ्यो । तर, धेरै समय लामो राख्नुभयो । मैले उहाँलाई छोटो सुहाउँछ भनेर सुझाव पनि दिएँ । हो, अब म त्यस्तै बनाउँछु भन्नुहुन्थ्यो । मीठो बोल्ने, सबैलाई माया गर्ने, सबैलाई सम्मान गर्ने उहाँको राम्रो बानी थियो । सोझो मानिस लाग्यो मलाई उहाँ । सुटिङमा पनि स्पट ब्वाइदेखि सबैलाई माया गर्नुहुन्थ्यो ।

सौगातलाई जिकज्याक स्टाइल

सौगात मल्लको कपाल भर्खर काट्न थालेको । चलचित्र ‘शब्द’ बाट मात्र हो । उहाँको एकथरी मात्र स्टाइल बनाएको छु । अहिले फेरि बनाउने बेला भएको छ । सायद छिट्टै बनाउँछु होला । सबैले काले भन्छन् उहाँलाई । मलाई त्यस्तो पनि लागेन । वास्तवमा पनि हिरो लाग्ने मानिस । तिमी कसैलाई पनि नभन्ने कलाकार । सबैलाई तपाईं भन्ने बानी उहाँको । उहाँले पच्चीस सय दिनुहुन्छ एकपटक कपाल काटेको । सधैँ तपाईंसँगै कपाल काट्छु भन्नुभएको छ । हल्का कर्ली कपाल उहाँको छ । कर्ली भए पनि जिकज्याक टाइपको स्टाइलिस सुहाउँछ उहाँलाई ।

रवि किसनले पाँच हजार आईसी दिए

समय त मलाई याद भएन । रवि किसन वीरगन्जमा भोजपुरी चलचित्र ‘साथी रे’ सुटिङमा आउनुभएको थियो । त्यसबेला मैले उहाँको कपाल काट्ने मौका पाएको थिएँ । त्यो चलचित्रमा निखिल दाइ पनि हिरो हुनुहुन्थ्यो । कलाकारसँग म घुलमिल भइसकेकाले पनि होला उहाँको हेयर स्टाइल बनाउँदा मलाई खासै समस्या भएन । उहाँले एक महिनामा तीनपटकसम्म कपाल बनाउनुहुन्थ्यो । मसँग हिन्दीमा कुरा गर्नुभयो । कपाल काट्दा उहाँले मलाई राम नेपालमा जस्तो स्टाइले चल्छ, त्यस्तै बनाइदेऊ भन्नुहुन्थ्यो ।

भोजपुरी चलचित्र एक महिना लगाएर सुटिङ सकाउनुभयो उहाँले । सुटिङ सकेर मुम्बई फर्किने बेलामा निकै खतरा स्टाइलले मैले कपाल बनाइदिएँ । खुसी भएर फोटो खिचाउनुभयो । त्यो बेला उहाँको लक चलचित्र रिलिजको तयारीमा थियो । लकको पार्टी पनि राखिएको थियो । मेरै स्टाइलमा उहाँ पार्टीमा जानुभयो । जिकज्याक, रफ स्टाइल नै सुहाउँछ उहाँलाई । नेपाली कलाकारभन्दा फरक पनि लागेन उहाँ । दुईचोटि कपाल काटेको फिल्मको निर्माताले दिए । एकचोटि काटेको कपडा किन भनेर पाँच हजार भारतीय पैसा

(आईसी) दिनुभयो । नेपाल आएँ भने तिमीसँगै कपाल काट्छु भन्नुहन्थ्यो । त्यो बेलादेखि भेट्न पाएको छैन ।

डराइ/डराइ सेबाजको कपाल समाएँ
सेबाज खान एक चलचित्र अभिनयका लागि काठमाडौँ आएका थिए । त्यस्तै दस वर्षअगाडि होला । त्यो समय म सैलुनमा थिएँ । अचानक फोन आयो । चलचित्र छायांकन स्पटमा मलाई बोलाइयो । कुन ठाउँ भन्ने पनि बिर्सिएँ मैले ।


म स्पट गएँ । चन्द्रकान्तालगायत विभिन्न चलचित्रमा भिलेन देखेको मान्छे सबाज मेरो अगाडि । मलाई डर लाग्यो । मलाई उहाँकै कपाल काट्न लगाइयो । उहाँको कपाल समाउँदा म डरले काँपेको थिएँ । त्यतिबेला मेरो मनमा अनेक कुरा खेलेका थिए । चलचित्रका डर लाग्दो भिलेन, के भन्ने हुन्, के गर्ने हुन् भनेर । डराइ/डराइ कपाल समाएँ । चलचित्रका लागि उहाँको हेयर स्टाइल पनि डरलाग्दै थियो । डराइ/डराइ काटेको कपालबाट पनि धेरै खुसी हुनुभयो । मैले पनि प्रशंसा पाएँ । अभिनयमा जति डरलाग्दो देखिनुहुन्छ उहाँ, वास्तविक जीवनमा चाहिँ सिम्पल पाएँ । उहाँसँग फेरि भेट्न पाए हुन्थ्यो भन्ने लागेको छ । बलिउड गएर उहाँसँग भेट्नुका साथै धेरै सेलिब्रेटीको कपाल काट्न पनि मन छ ।

family planning
Golden Oak

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल