लीलामणि पोखरेलको जीवन : ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

लीलामणि पोखरेलको जीवन :  ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

–जीवनको आर्जन भनेको किताब
–नेपालमा जन्मन पाएकोमा गर्व
–‘मेन्टल्ली रिचार्ज’ का लागि आराम आवश्यक
–दैनिक आठवटा अकबरे खुर्सानी खाने
– ‘स्पेस’ नदिएपछि उसले क्षमता देखाउ पाउँदैन

कुराकानीक्रममा नेता लीलामणि पोखेरलले दाबी गरे, ‘म सांसदसम्म भएँ । म सांसदलाई पद भन्दिनँ । सांसद भनेको जनप्रतिनिधिमात्रै हो । पद भनेको त जनताविना चुनिने हो ।’ प्रधानमन्त्री, मन्त्री पद भएको नेता पोखरेलको ठम्याइ छ । उनले प्रस्ट्याए, ‘पदकै कुरा गर्ने हो भने मैले पाँच महिना शिक्षण पेसा अपनाएको थिएँ ।’


त्योबाहेक उनी आजसम्म तलबी पदमा बसेका छैनन् । महत्वाकांक्षा पनि छैन । तर, कुनै पनि पार्टीसम्बद्ध नेताले ‘स्पेस’ पाएन भने उसले आफ्नो क्षमता प्रदर्शन गर्न पाउँदैन भन्ने उनको बुझाइ छ । संगठनात्मक र पार्टी पद्धति भए आफूले अझै धेरै गर्न सक्छु भन्ने माओवादी केन्द्र नेता लीलामणि पोखरेलसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी ः

मेरो खाना
मासुभात, गुन्द्रुक र आलुको अचार असाध्यै मन पर्छ । भटमासको मस्यौरा मन पर्दैन । म आफैं खाना बनाउँछु । खानामा सोखिन होइन तर आफूले बनाएपछि मिठै खानुपर्छ । भोक लागेपछि जे पनि खान्छु ।
मेरो पोसाक
कालो, क्रिम र सेतो ‘कलर’ को पोसाक मेरो रोजाइ हो । ‘रेडिमेड’ कम लगाउँछु । सिलाएरै लगाउने बानी छ । कोटेश्वर आएपछि पशुपति टेलर्समा सिलाउने गरेको छु । ब्रान्डप्रति सचेत छुइन, जस्तो भए पनि हुन्छ । हिजोआज ढाकाटोपी लगाउने गरेको छु । पहिले÷पहिले क्याप लगाउँथें ।
मेरो फिटनेस
पहिले/पहिले बढी हिँड्थें । हिँड्नु नै फिटनेस भइसकेको थियो । हिजोआज ‘मर्निङवाक’ निस्कने, शारीरिक अभ्यास गर्ने गर्छु । अलि अघि प्राणायाम गर्थें । ‘डाइट कन्ट्रोल’ गर्ने बानी छैन । घरमा आलोचना पनि यसमै हुन्छ । योगा गर्दिनँ ।
मेरो अध्यनन
समसामयिक राजनीतिक घटनाक्रमसँग सम्बन्धित सन्दर्भसामग्री अध्ययन गर्दै छु । मेरो रुचि जलस्रोत तथा ऊर्जामा भएकाले (पहिले विषय थिएन) त्यससँग सम्बन्धित जुनसुकै सामग्री पढ्छु । पहिले अलि बढी उपन्यास र दर्शनशास्त्र, केही राजनीतिक आन्दोलनका राष्ट्रिय अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेताका जीवनी, उनीहरूका कार्यविवरण अध्ययन गर्थें । राजनीतिक आन्दोलनमा जोडिएपछि वैचारिक राजनीतिक प्रश्न, दस्तावेज, राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दा, त्यससँग सम्बन्धित माक्र्सवादी साहित्यसँग जोडिएका किताब पढिन्थ्यो । अहिले लेखपढमा कम भएको छ । मेरो जीवनको आर्जन भनेकै किताब नै हो । हिजोका दिनमा म जहाँ पुगे पनि किताक संकलन गर्थें । लगभग दुई हजार पाँच सय बढी किताब होलान् ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नयाँ÷नयाँ ठाउँ पुग्ने चाहना छ÷हुन्छ । नेपालका ७१ जिल्ला पुगिसकेको छु भने मुगु, कालीकोट, दैलेख र ताप्लेजुङ टेक्न बाँकी छ । करिब २० देश टेकिसकेको छु । आफ्नो देशभन्दा राम्रो ठाउँ कुनै लागेन ।
नेपालको सुन्दरता भिन्न प्रकृतिको छ । अन्य देशमा एकरूपता छ । एकरूपता सुन्दरता होइन तर नेपालको जस्तो विविधता पो सुन्दर हुन्छ । नेपालको जस्तो विविधता भएको अन्य मुलुक छैन । म नेपालमा जन्मन पाएकोमा गर्व गर्छु । व्यवस्थापन पक्षमात्रै कमजोर हो ।
अरबियन कन्ट्री हेर्ने रहर छ । मरुभूमिका मानिस कसरी समृद्धितिर लम्किरहेका छन् भनेर हेर्न मन छ । लामो समय भयो अरबियन कन्ट्री नगएको । त्यतिबेला दुबई, कतारमा भर्खरभर्खर विकास हुँदै थियो, अहिले त संसारका सबैभन्दा अग्लो भवन बनाएर दुबईले ख्याति कमाइसकेको छ । अफ्रिकी मुलुक क्यामरुन राम्रै लाग्छ ।
मेरो फुर्सद
पहिले मैले नगरे पृथ्वी नै थामिँदैन कि भन्नेसोच्थें । त्यो गलत रहेछ । किनभने सबै ठूला र जिम्मेवार नेताले पनि छुट्टी लिने गर्दारहेछन् । ‘मेन्टल्ली रिचार्ज’ का लागि आराम आवश्यक रहेछ । मैले छुट्टी लिने गर्दिनथें, अहिले लिनुपर्दोरहेछ भन्ने लाग्न थालेको छ । जीवनमा पहिलोपटक परिवारसहित अस्ति भर्खर लुम्बिनी घुमेर फर्कें ।
फुर्सद भइहालेमा बारीमा काम गर्ने, केही न केही लेख्ने, पढ्ने गर्छु । मानसिक तनाव भयो भने सुत्ने गर्छु । तनाव भयो भने मानिस सुत्दैनन्, मचाहिँ मज्जाले सुत्छु । सुरुसुरुमा घरपरिवारलाई समय दिन पाएको थिइनँ, अहिले पार्टीका जिम्मेवारीमा त्यति लोड नभएकाले घरपरिवारसँगै छु । नत्र मेरो अधिकांश समय बाहिरै बित्थ्यो ।
जीवनमा परिवारसँग चार फिल्म हेरेको थिएँ ।
मेरो खेलकुद
क्यारेमबोर्ड राम्रै खेल्थें । विद्यालय तह पढ्दा भलिबल पनि खेलको थिएँ । हेर्नलाई क्रिकेट र फुटबल मन पर्छ । विदेशी फुटबल टिममा ब्राजिल मन पर्छ, खेलाडीमा मेस्सी । क्रिकेटमा अस्ट्रेलिया मन पर्छ । म केवल हेरेर रमाउनेमात्रै हुँ ।
मेरो मोबाइल
मसँग स्काई, नोकिया र नोट फोर गरी तीन मोबाइल सेट छन् । स्काई मैले किनेको हुँ भने नोकिया साथी र नोट फोर भतिजोले उपहार दिएका हुन् । मोबाइलमा फेसबुक, ट्वीटर चलाउँछु ।
मेरो टेलिभिजन
समाचार प्राथमिकतासाथ हेर्छु । नेसनल जोग्राफी, नेसनल हिस्ट्री हेर्ने गरेको छु । कहिलेकाहीं फिल्म पनि हेर्छु । रातिको १० बजेपछि टीभी हेर्ने गरेको छु । बैठक कोठामा रहेको गोल्डस्टार टीभी १८ इन्चको छ । मेरो छोरा चीनमा छ । उनले ३२ इन्चको एलईडी ल्याइदिएको छ ।
मेरो चलचित्र
कुनै पनि फिल्म अन्तिमसम्म हेर्ने गर्दिनँ । निदाइहाल्छु । मैले तीन फिल्म दोहोर्याएर हेरेको छु । ती फिल्म हेर्न पनि अनुरोध गर्छ । तारे जमिन परमा बालबालिको मनोविज्ञान र थ्री एडियट्समा एजुकेसन सिष्टमबारे प्रस्ट्याइएको छ, दुवै फिल्म अरूलाई हेर्नसमेत निवेदन गर्छु । फिल्मले सफलता होइन काबिलियत हुनुपर्छ भन्ने सन्देश दिएको छ ।
नेपाली फिल्म ‘परालको आगो’ मन पर्यो । नेपालको कला, संस्कृति, ग्रामीण परिवेशसँग जोडिएकाले त्यो फिल्म बनावटीभन्दा स्वाभाविक छ । पहिले÷पहिले हलसम्म पुगेर फिल्म हेरे पनि अहिले बानी छुटेको छ ।
आमिर खान, शिव श्रेष्ठको अभिनय मन पर्छ ।
मेरो रोग
स्वास्थ्यलाई ध्यान होइन पेलपाल गरेर हिँड्ने मानिस हुँ । मलाई ब्रोङ्काइटिस छ । ढाड दुख्छ । पहिले बढी हिँडेकाले होला, घुँडा खिइएको छ । रक्तचापले समातेकाले एमलोठ फाइभ सेवन गर्दै आएको छु । यीबाहेक दीर्घरोग छैन । अहिलेसम्म तीनपटक होलबडी चेकअप गरेको छु ।
म मानसिक तनाव लिन्न । म बढी हिँड्ने, डुल्ने र उफ्रने मानिस भएकाले उमेर र स्वास्थ्यका हिसाबले फरक छ । मेरो पाचन क्रिया बलियो छ । म अकबरे खुर्सानी खान्छु । अकबरे खुर्सानी खाँदा फाइदा हुन्छ भनेर कसैले सुझाएपछि मैले नियमित खाँदै आएको छु । यसले पाचन क्रियालाई सघाउँछ । अन्य खुर्सानी पाचन क्रिया कमजोर बनाउँछ । अकबरे खुर्सानीले ग्यास्ट्रिकलाई फाइदा गर्छ । तपाईं खानुहुन्न भने आजैदेखि अकबरे खुर्सानी खान सुझाव दिन्छु । म दैनिक आठवटासम्म अकबरे खुर्सानी खान्छु ।
मेरो भाषणशैली
मेरो भाषणशैली अरूले मूल्यांकन गर्ने हो । मलाई केही मानिसले भाषण गर्न प्रेरित गरेका छन् । म निर्मल लामाको भाषणशैलीबाट प्रेरित भएको हुँ । विद्यार्थीजीवनमा विश्वकान्त मैनालीको भाषणशैलीदेखि प्रभावित थिएँ । खगेन्द्र संग्रौलाको विषयवस्तु प्रस्तुत गर्ने शैलीबाट समेत प्रेरित भएको हुँ ।
तिहारको समयमा प्युठानमा धेरै मानिसम भएको ठाउँमा आमसभा हुन्थ्यो । त्यहाँ नेताहरूले भाषण गर्थे । म पनि तिनीहरूजस्तै भाषण गर्ने हुन पाए हुन्थ्यो भनेर परिकल्पना गर्थें । स्नातक पढ्न काठमाडौं आएपछि केही नेताको सम्बन्ध र प्रस्तुति आत्मसात् गर्न थालेछु ।
भाषण गर्दा चार कुरामा ध्यान दिनुपर्छ । पहिलो ‘मास साइकोलोजी’ । ‘मास’ ले मलाई हेरेको छ कि छैन, हेरेको छ भने मेरो कुरा सुनेको छ, छैन भने मलाई मन पराएको छैन भनेर बुझ्नुपर्छ । त्यतिबेला मानिसलाई ‘डाइभर्ट’ गर्नुपर्छ । दोस्रो ‘मास’ लाई एट्र्याक्सन गर्न विचारसँगै उखान÷टुक्का जोड्दा ‘मास’ आफूतिर आकर्षित हुन्छ । विषयवस्तु राम्रो हुँदाहुँदै पनि मास ‘डिलिङ’ हुँदैन । मासमा भाषण गर्नेले ‘फ्ल्कचुएसन’ कहाँनेर स्ट्रेस दिने, कहाँ बिस्तारै बोल्ने र कहाँनेर पिकमा जाने भनेर ध्यान दिएमा मासलाई आकर्षित गर्न सकिन्छ । चौथो हो– विषयवस्तु । म जे बोलिरहेको छु, त्यो विषयमा मभन्दा जान्ने अरू छैनन् भन्ने मनोविज्ञानसाथ बोल्नुपर्छ । माससँग डराउन थाल्यो भने भाषण फ्लप हुन्छ ।
म आक्रामक र बौद्धिक दुवैखालका भाषण गर्ने गर्छु । ‘सेन्टिमेन्टल’ भाषण गनुपर्यो भने आक्रामक हुन्छ । गोष्ठीमा अन्तरवस्तुमा आधारित हुन्छ । गोष्ठीका दर्शक/श्रोता कुन तहका छन् । त्यो आधारबाट हेरिन्छ । दर्शक÷श्रोता मिक्स छन् भने त्यतिबेला बडो गाह्रो हुन्छ । लेभल हाई र लो छन् भने कसको लेभलमा बोल्ने भनेर गाह्रो हुन्छ, हाई लेभलका लागि बोल्दा तलकाले वास्ता गर्दैनन् भने लोका लागि बोल्दा हाईकाले वास्ता गर्दैनन् । एउटै प्रकारका दर्शक÷श्रोता भइदिए बौद्धिक विचार राख्न सजिलो हुन्छ ।
भाषण गरेकै आधारमा विवादमा तानिनु अस्वाभाविक होइन । विभिन्नखालका मानिस छन् । भिन्नभिन्न विचार छन् । भाषण गर्न जाँदा तयारीसाथ जाने गर्छु ।
मेरो मापसे
मापसे निषेध गरेको छैन तर जुन प्रकारको मापसे छ नि त्योचाहिँ सर्वथा गलत हो । म त नेवारको ज्वाईं परें । कहिलेकाहीं आफन्तकहाँ जाँदा चाडबाडमा लिने हो, लिएर मातेको छैन । सार्वजनिक ठाउँमा मापसे निषेध गरेको छु ।
मेरो संगीत
संगीत सुन्न मन पर्छ । पारखी भने होइन । पुराना, लोकगीत, लोकम्युजिक पनि सुन्छु । ‘कन्टेन्ट’, ‘मेलोडी’ का हिसाबले पनि नारायणगोपाल, तारादेवी र अञ्जु पन्त पनि मन पर्छन् । पन्तको आवाजमा ‘थ्रिलिङ भ्वाइस’ छ । भारतीयमा लतामंगेशकर, रफी मन पर्छन् ।
मन परेका गीत गुनगुनाउने गर्छु । साथीभाइबीचमा गीत गाउँथें । गाएको छु ।
मेरो भूल
मैले असंख्य भूल गरेको हुँला । पढेन, पढ्नु साटो भाग्दा बुवाआमाले बाहेक अरूबाट सजाय पाएको छैन । म सानोछँदा विद्यालय नगई जोगीको कुटीमा काकासँग खेल्थ्यौं । जब विद्यार्थी विद्यालयबाट फर्कन थाल्थे अनि हामी पनि घर फर्कन्थ्यौं । एक दिन त्यही ठाउँमा खेलिरहेको अवस्थामा बुवाले भेटेपछि हामीलाई सिस्नुपानी लगाउनुभएको थियो ।
राजनीतिक आन्दोलनमा भूल नगरी सजाय पाएको छु । भूल गरेको थाहा पाउनसाथ आत्मालोचना गर्ने बानी छ ।
मेरो घर
हाम्रो बिहे हुनुअघि संवत् २०४७ मा मेरी श्रीमती चारआना घडेरी ५०÷५२ हजारमा किनेकी हुन् । तपाईं जुन बाटो भएर यहाँ आउनुभयो, त्यो बाटो होइन नम्बरी जग्गा नै हो । बाटोबापत आउने जग्गा हामीलाई यहाँ दिए । बाटोबापत किनेको पैसाले हामीले घर बनाएका हौं । बाटोबापत कसैले पैसा दिए, कसैले जग्गा । घरको डिजाइन मैले आफैंले गरेको हुँ ।
मेरो राशी
मेरो राशी मेष हो । ग्रहदशा राम्रो छ । ग्रहशान्ति गर्ने गर्दिनँ । ग्रह र नक्षत्रको फलप्रति विश्वास छैन । छैन भन्दाभन्दै पनि मानिसले तेरो ग्रहदशा कस्तो छ भन्दा रमाइलोका लागि पनि हेराइन्छ । देवीदेवता, भूतप्रेत, बोक्सी, ग्रहदशा र भाग्यमा विश्वास छैन ।
मेरो सौन्दर्यचेत
कहिलेकाहीं दाह्रीजुँगा फालेपछि एन्टिसेफ्टिक लगाउँछु । साथीको अभ्यास गर्ने ठाउँमा उपलब्ध भएकाले साउना बाथ र स्टिम प्रयोग गर्ने गरेको छु ।
मेरो प्रेम
जोसँग प्रेम गरें, ऊसँगै बिहे भयो । मैले नै प्रस्ताव राखेको हुँ । हामी दुवै विद्यार्थी आन्दोलनमा थियौं । एकले अर्कालाई बुझेका थियौं ।
मेरो सपना
आजभन्दा १५/१६ वर्षअघि बिटिस पार्लियामेन्टका अर्थ समितिका मानिस नेपाल आएका थिए । उनी स्कटल्यान्ड हुन् । हामी लेखा समितिबाट स्कटल्यान्ड गएपछि उनी नेपाल आएका हुन् । उनलाई काठमाडौं र पोखरा घुमाइसकेपछि नेपाल कस्तो लाग्यो भनेर सोध्दा उनले भने, ‘आई नेभर इम्याजिन सच व्युटीफुल कन्ट्री इन वल्र्ड, बट ह्वाई नेप्लिज पिपुल आर सो पुअर ।’ उनले त्यस्तो प्रश्न गर्दा हामीलाई संकोच लाग्यो । हामीले भन्यौं, ‘इट इज ड्यु टु मिस मेनेजमेन्ट अफ स्टेट ।’ मलाई उनको भनाइ असाध्यै मन पर्यो । सभाहरूमा मैले यही भनाइ राख्ने गरेको छु ।

संसारको सबैभन्दा सुन्दर र सम्पन्न नेपाल बन्न सक्छ भन्ने मान्यता राख्छु । हामीसँग खनिज, प्राकृतिक सम्पदा, म्यानपावर, डाइभर्सिटी आदि छन् । तर, व्यवस्थापन कमजोर भइदियो । राजा र राणाले धन थुपार्ने, विदेशमा लगेर राख्ने, राज्य व्यवस्था परिवर्तन गरेर बहुदल आइसकेपछि त्यही प्रवृत्ति देखापर्यो । अहिले पनि देशको व्यवस्थापनमा जति गम्भीर चिन्ता हुनुपर्ने हो त्यो छैन ।
नेताले तीन चीज लोभ, डर र अधिनस्थ हुने प्रवृत्ति दासताबाट मुक्त हुनुपर्छ । लोभमुक्त भए देश बनाउन सकिन्छ, डरमुक्त भए लोभीहरू डराउँछन् र विदेशीले बनाइदिनुपर्छ, दाताले बनाइदिनुपर्छ भन्ने मुख ताक्ने प्रवृत्तिमुक्त भए हाम्रो देश संसारकै सबैभन्दा सम्पन्न, सुन्दर बनाउन सकिन्छ ।
मैले पदीय हिसाबले आफूलाई यहाँसम्म पुर्याउँछु भनेर सोचेकै छैन । म सांसदसम्म भएको हुँ । म सांसदलाई पद भन्दिनँ । सांसद जनप्रतिनिधिमात्रै हो । पद भनेको जनताले नचुने पनि प्राप्त गर्न सकिन्छ । मन्त्रिपरिषद् जनताविनै गठन गरिन्छ । प्रधानमन्त्रीले विस्तार गर्ने हो । प्रधानमन्त्री पनि जनताले चुनेको होइन । राज्यको कुनै तलबी पदमा आजसम्म बसेको छैन । तलबी पद भनेको पाँच महिना शिक्षकको भूमिका निर्वाह गरेको हुँ । स्नातक सकेपछि म जेल परें । जेलमुक्तपछि बस्ने, खाने आधार नहुँदा शिक्षण पेसा अपनाएको थिएँ । साथीले जिल्ला शिक्षा अधिकारी चिनेका रहेछन्, उनैले ललितपुरको एक विद्यालयमा पढाएको हुँ ।
कम्युनिस्टको स्थायी ‘कन्चुएन्सी’ हुँदैन भन्ने मेरो बुझाइ हो । हुने पनि त्यही हो । जनताले चुनेको प्रतिनिधि नीति निर्माता हो, विकासे प्रतिनिधि होइन । विकास समानुपातिक ढंगले राज्यका सबै क्षेत्रमा दिने काम स्थायी सरकार ‘व्युरोक्रेसी’ ले गर्ने हो । त्यसलाई कस्तो विकास गर्ने नीति निर्धारण गर्ने सांसदको हो भन्ने मेरो मान्यता हो । त्यसैले मैले ०४८ र ०५१ मा ललितपुर, ०५६÷०६४ मा सिन्धुली र ०७० मा काठमाडौं–२ बाट उम्मेदवारी दिएँ । तर आजको समाज र उपभोक्तावादी चिन्तनले स्थायी ‘कन्चुएन्सी’ बनाउने गलत प्रवृत्ति आत्मसात् गनुपर्ने रहेछ ।
जनमोर्चामा रहँदा महासचिव, उपाध्यक्ष भएँ । करिब÷करिब हाम्रै नाममा पार्टी चल्थ्यो । विकास निर्माणका लागि ‘डेलिगेसन’ जान देशभरिबाट साथीहरू आउँथे । म पनि गइदिन्थें ।
अहिले पनि त्यही गर्छु । मसँग पहुँच हुँदा ‘एप्रोच’ गरिदिँदा म तिम्रो जिल्लाको होइन भन्दिनँ । मेरो जन्म जिल्लाले बेलाबेला आलोचना गर्ने गर्छ । तँ प्युठानमा जन्मिइस्, प्युठानको नेता बनिस् तर आफ्नो जिल्लालाई हेरिनस् । यो कारणले गर्दा अहिलेचाहिँ हेर्नुपर्दोरहेछ भन्ने लागेको छ ।
मेरो मृत्यु
मृत्यु जैविक प्रक्रिया हो । मृत्युसँग कहिल्यै डर लाग्दैन । ज्ञानेन्द्र राजा भएपछि माघ ६ गते मेरो घरमा राति पौने चार बजे विस्फोट भयो । बिहानसम्ममा १३ वटा सुरक्षाजाँच आए । मेरो घरमा बम हान्न आउने सेना हो भन्दिएँ । त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा थिए । माओवादीले बम विस्फोट गराएको हो भनेर सञ्चारमाध्यमले सोधे । मैले माओवादीले बम विस्फोट गराउने कारण छैन भनें । हिजो जनमोर्चा नै थिएँ । बम कसले विस्फोट गरायो भनेर जाँचपड्ताल गर्न कुकुर ल्याएको भए पत्ता लागिहाल्थ्यो नि । हामी आन्दोलनमा भएकाले मलाई तर्साउन बम विस्फोट गराइएको थियो ।
आन्दोलन दौरानमा मृत्युको नजिक पुगेको थुप्रै घटना छन् । मेरा एक साथी भन्छन्, ‘म मरेपछि मेरो इतिहास मेटियोस् है ।’ मलाई अलिअलि छोएको थियो । मैले गरेको कामको मूल्यांकन गर्नुपर्यो भने इतिहास मेटे अनुशरण गर्नै पाइँदैन । मलाई अहिल्यै मरिहाल्न मन छैन । म आफूलाई कमजोर ठान्दिनँ । म आफूलाई विचार गर्ने मामिलामा, शारीरिक रूपमा, चिन्तनमा पनि कमजोर ठान्दिनँ, रिटायर्डेेसन पनि महसुस गरेको छैन । मैले अझै धेरै गर्न बाँकी छ । गर्न एउटै खाँचो छ– संगठनात्मक पद्धति । पार्टी पद्धति । पार्टी पद्धतिमा ‘स्पेस’ भएन भने उसले केही गर्न सकिँदैन । सम्बन्धित व्यक्तिलाई ‘स्पेस’ नदिएपछि उसको क्षमता देखाउने ठाउँ पाउँदैन । मलाई अझै पनि धेरै गर्न सक्छु भन्ने लाग्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल