रुपन्देहीका ठूला पूर्वाधारमा झन्डै ४० अर्बको बजेट

फागुन २२  |   तेजेन्द्र केसी

रुपन्देहीका ठूला पूर्वाधारमा झन्डै ४० अर्बको बजेट

बुटवल– रुपन्देहीमा यतिबेला आक्रामक रुपमा पूर्वाधार निर्माण भएका छन् । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, गौतमबुद्ध विमानस्थल, ६ लेन सडक निर्माणको काम ठूला परियोजना हुन् । यस्तै बुटवलदेखि नारायणगढसम्म फोर लेन सडकबाहेक विभिन्न ठाउँमा पुल निमार्णको काम भइरहेका छन् ।

यस्ता पूर्वाधार निर्माणमा नेताहरुको पनि खास चासो छ । रक्षा मन्त्री बालकृष्ण खाँण, आपूर्ति मन्त्री दीपक बोहरा तथा पूर्व मन्त्री विष्णु पौडेले पूर्वाधार निर्माणमा चासो देखाएका छन् । आफ्नो अनुकुलतामा बजेट पनि जिल्लामा ल्याएका छन् ।
आर्थिक र राजनीतिक रुपमा चलायमान रुपेन्द्रहीलाई अहिले पूर्वाधार निर्माणले पनि चर्चामा ल्याएको छ । रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले छुट्टै एकाइ मार्फत जिल्लामा ठूला–ठूला पूर्वाधार निर्माणको काम भइरहेको बताए । रुपेन्देहीमा ठूला पूर्वाधारको बजेट झन्डै ४० अर्ब छ ।


पूर्वपश्चिम राजमार्गमा हिँड्नेहरुले नवलपरासी हुँदै रुपन्देहीको देवदह जङ्गल काटेपछि चरगे खोलामा एउटा होर्डिङबोर्ड देखिन्छ, ‘बुटवलमा स्वागत छ ।’ यो बोर्ड देखेपछि सवैलाई लाग्छ, बुटवल पुगियो । होर्डिङबोर्डपछि बुटवल–१२ रामनगरमा आइन्छ । रामनगरस्थित सैनिक ब्यारेक र धागो कारखाना छ । त्यहीँ निमार्णधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छ । यो केन्द्र यहाँको भौतिक पूर्वाधार निर्माणमाको सङ्केत पनि हो । होर्डिङबोर्डबाट बुटवलको चौराह पुग्न दुई किलोमिटर दुरी छ, यो दुई किलोमिटरमा यहाँको औद्योगित क्षेत्र पनि देखिन्छ । चौराह यस्तो ठाउँ हो, जहाँबाट भैरहवातिर जाने कि नेपालगञ्ज वा पाल्पा–पोखरातिर निर्णय गर्नुपर्ने हुन्छ ।

जिल्लामा अहिले विशेष आर्थिक क्षेत्र, मोतिपुर औद्योगिक क्षेत्र, सरकारी मेडिकल कजेल निर्माणको प्रक्रिया समेत सुरु भएका छन् । सेज भने सञ्चालनमा आउन बाँकी रहेको छ । राष्ट्रिय गौरवका योजनासहित पूर्वाधार निर्माण सुरु गरिएका छन् । पछिल्लो तीन वर्षयता सुरु भएको अधिकांश योजना बढीमा तीन वर्षभित्र सक्ने लक्ष्य छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

बुटवल मण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुँदै छ । अबको दुई वर्षभित्र सम्मेलन केन्द्र निमार्ण हुने छ । यहाँ बन्न थालेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मुलुककै ठूलो बन्ने दाबी गरिएको छ । पहिलो चरणमा २७ करोड ३९ लाखको काम भइरहेको छ ।

हालसम्म पहिलो चरणको ४५ प्रतिशत सम्पन्न भइसकेको भवन डिभिजन कार्यालय भैरहवाले जनाएको छ ।


अहिले पहिलो चरणमा एउटा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल निर्माण हुँदैछ । अन्य ४ वटा हलसमेत निर्माण हुनेछ । हलहरु विभिन्न प्रयोजनका लािग प्रयोग गरिने योजना छ । सम्मेलन केन्द्र नहँुदा रुपन्देहीमा हुने ठूला कार्यक्रम गर्न पनि कठिन हुने गरेको छ ।

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये १० बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुँदैछ । बाँकी साढे ६ बिघा जग्गामा मेला महोत्सव लाग्ने स्थायी संरचना निर्माण हुनेछन् । सम्मेलन केन्द्रको सम्पूर्ण गुरुयोजना सम्पन्न गर्न १ अर्ब ८७ करोडको लागत स्टेमेट गरिएको बताइएको छ । यो गुरुयोजना पूरा भएपछि आकाशबाट हेर्दा चन्द्र र सूर्य देखिनेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको सम्पूर्ण काममा १० प्रतिशतभन्दा बढी भएको छ ।

गौतमबुद्ध विमानस्थल

सन् २०१७ को डिसेम्बरमा पूरा हुनेछ । नागरिक उड्डन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रमान सुमनका अनुसार सन् २०१७ डिसेम्बरभित्र सक्ने गरी चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ । त्रिभुवन विमानस्थलको वैकल्पिक मार्गका रुपमा रहेको यो विमानस्थलको रनवे ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइ हुने छ ।

विमानस्थल निर्माणमा एसियाली डेभलपमेन्ट बैङ्कको ऋण ४७ दशमलव शून्य ४५ मिलियन, नेपाल सरकारको ५ दशमलव ७० मिलियन अमेरिकी डलर अर्थात् ६ अर्ब २२ करोड लगानी रहेको छ । आन्तरिक विमानस्थलका रुपमा सञ्चालन भइरहेको विमानस्थलमा तीन हजार मिटरको धावन मार्ग हुनेछ । यसमा वाइड बडीका एयरबसहरु ए ३४० र बोइङ ७७७ समेत उडान र अवतरण हुनेछन् । चीन, कोरिया, थाइल्यान्डका धेरै पर्यटक सीधै लुम्बिनी ओर्लिनेछन् । त्यसका लागि उडान सम्झौतासमेत भइसकेको छ ।

त्रिभुवन विमानस्थलभन्दा डेढ गुना ठूलो हुनेगरी भइरहेको थप विस्तार हुँदा भने यसका लागि १५ अर्ब पुग्ने अनुमान गरिएको छ ।

लुम्बिनी गुरुयोजना

३२ वर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजना बढीमा तीन वर्षभित्र सकिनेछ । ११ अर्ब लगानीमा बन्ने लुम्बिनी गुरुयोजना सकिएसँगै विश्व शान्ति शहरको रुवरुप देखिने लुम्बिनी विकास कोषका सदस्य सचिव अतिजमान तामाङलाई विश्वास छ ।

बेलहिया–बुटवल व्यापारिक सडक

बेलहिया–बुटवल व्यापारिक सडक विस्तार परियोजनाका इन्जिनियर लिलाबहादुर भण्डारीका अनुसार अबको २२ महिनाभित्रै यो सडक सकिनेछ । बेलहियादेखि राजमार्ग चौराहा र चौराहादेखि गोलपार्कसम्मको सडक छ लनेको हुनेछ । दुवैतर्फ हरियाली, गाडी पास लेन, फुटपाथसहितको यो सडकले बुटवल भैरहवालाई एउटै नगरका रुपमा जोड्नेछ


इन्जिनियर भण्डारीका अनुसार ६ लेन सडकमा ९ सय सोलार बत्ती जडित हुनेछन् । बुटवल र भैरहवामा गरी १० वटा आकाशेपुल निर्माण हुनेछन् । बुटवलमा ७ र भैरहवामा ३ वटा बन्ने पुल अपाङ्गमैत्री बन्नेछन् यी सबै पूर्वाधार निर्माणको काम अवको तीन वर्षभित्र सकिने परियोजनाले जनाएको छ ।

बुटवल–नारायणगढ फोर लेन

नारायणगढ–बुटवल खण्डका लागि १६ अर्ब (१८६ मिलियन अमेरिकी डलर) ऋण दिन लागेको हो । एसियाली विकास बैङ्कले साउथ एसियन सब रिजनल इकोनोमिको अपरेसन रोड कनेक्टिभिटी प्रोजेक्ट अन्तर्गत यो सो सडकको स्तरोन्नतिका लागि सहुलियत ऋण उपलब्ध गराउन लागेको हो ।

आगामी साढे तीन वर्षभित्र भैरहवा–लुम्बिनी खण्डको १८ किलोमिटर र नारायणगढ–बुटवल खण्डको ११५ किलोमिटर सडक चार लेनको बनाइनेछ ।

सद्धार्थ राजमार्गको स्तरोन्नति

उत्तर–दक्षिण जाने सिद्धार्थ राजमार्गलाई पनि स्तरोन्नति गर्ने योजना छ । यसको डीपीआर बनाउन अध्ययन भइरहेको छ । सिद्धबाबा खण्डमा झरिरहने पहिरो नियन्त्रणका लागि नमुनाका रुपमा रकनेट राखिँदै छ । त्यस्तै सिद्धबाबाको वैकल्पिक सडकका रुपमा बेलवास–नुवाकोट–झुम्सा सडकको काम सुरु भएको छ । साढे १२ करोड लागतमा बन्ने यो सडकको ७ प्रतिशत काम पूरा भइसकेको छ ।

लुम्बिनी परिक्रमा सडक

लुम्बिनीसँग बुद्धको मावली र शाक्य दरबार जोड्ने महत्वपूर्ण सडकका रुपमा लुम्बिनी परिक्रमा सडक निर्माण भइरहेको छ । ६५ करोड ५६ लाख लागतमा दुई वर्षअघि निर्माण सुरु भएको सडक ४२ किलोमिटर छ । आयोजनाकी प्रमुख पुष्पाञ्जली खनालले आयोजनाको २० प्रतिशत काम मात्रै सकिएको बताइन् । उक्त सडक देवदहदेखि पर्साचोकसम्म २ लेनको सडक बन्ने जनाएको छ ।

लुम्बिनीसँग जोडिने सडकको स्तरोन्नति

बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिने सबै सडकको स्तरोन्नति प्रक्रिया अघि बढेको छ । भैरहवामा बन्दै गरेको विमानस्थल निर्माणपछि पर्यटक आवागमन बढ्ने अपेक्षासहित सडकको स्तरोन्नति सुरु गरिएको छ । हाल रहेका दुई लेनका सडकलाई चार लेन र एक लेनका सडकलाई दुई लेनमा विस्तार गरिँदैछ ।

भैरहवा–लुम्बिनी–तिलौराकोट सडकको स्तरोन्नति सुरु भएको छ । यो सडक हाल भैरहवादेखि लुम्बिनीसम्म दुई लेन र लुम्बिनीदेखि भैरहवासम्म एक लेनको रहेको छ । यी दुवै सडकलाई दोब्बर लेनमा वृद्धि गरिनेछ, सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले भने– ‘डिजाइन तथा ऋणका लागि सबै प्रकृयाहरू तयार भइसकेको छ । अब दुई पक्षबीच सम्झौता हुन मात्रै बाँकी छ ।’


भैरहवा–लुम्बिनी–तौलिहवा सडकलाई चार लेनको बनाउन २ अर्ब १५ करोड रुपियाँ विनियोजन गरिएको छ । यो एसियाली विकास बैङ्कको ऋण सहयोग रहेको छ । १८ किलोमिटरको यो सडकमा पर्ने ७ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् । पुलहरु भने यसअघि नै निर्माण सुरु गरिएको हो ।

सडक डिभिजन बुटवलका इन्जिनियर खुमबहादुर भण्डारीका अनुसार लुम्बिनी जाने बुटवल–बेलवास–बेथरी सडकको काम ४ प्रतिशत पूरा भएको छ । यो सडक चालु आर्थिक वर्षबाट निर्माण सुरु गरिएको हो । ०७६ सालसम्म निर्माण सकिने सडकमा १ अर्ब ३० करोड लगानी हुनेछ । यो सडक चार लेनको हुनेछ ।

रुपन्देहीको मुर्गिया तथा रामापुर हँुदै लुम्बिनी पुग्ने सडक निर्माणको काम समेत अघि बढेको छ । पूर्वपश्चिम लोकमार्ग– रामापुर–लुम्बिनी उद्यान सडकका लागि ९ करोड ७० लाखको ठेक्का सम्झौता भइसकेको छ । इन्जियिनर भण्डारीका अनुसार यो सडक निर्माणपछि पश्चिम हुँदै लुम्बिनी जानेका लागि निकै छोटो दूरी हुनेछ । रामापुरबाट लुम्बिनी १८ किलोमिटर रहेको छ ।

मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडकको कामसमेत यसै वर्षबाट सुरु हुने सडक विभागले जनाएको छ । सो सडकका लागि १२ करोड बजेट राखिएको छ । यो सडक हँुदै लुम्बिनी पुग्ने यो सडक आगमी वर्ष सकिने गरी सम्झौता भएको छ ।

लुम्बिनीमा आगामी तीन वर्षभित्रै सबै पूर्वाधार निर्माणको काम सकिने लक्ष्य राखिएको छ । सडक, पुलको निर्माणपछि अहिले भइरहेने सडक जाम हट्नेछ । भैरहवा–लुम्बिनीमा हाल रहेका पुलहरु एक लेनका मात्रै भएकाले पर्यटक बोकेका ठूला साधन आवातजावतमा समस्या हुने गरेको पर्यटन व्यवसायी बताउँछन् । परियोजनाअन्तर्गत भैरहवा–लुम्बिनी सडकका पुराना पुलहरु नभत्काई त्यससँगै जोडेर दुई लेनका पुल बनाइएको छ । ७ वटा पुलमध्ये दुईवटा निर्माण सकिएका छन् भने ४ वटा निर्माणको क्रममा रहेका छन् ।

यस वर्ष मात्रै रुपन्देहीमा ४ वटा पुलको शीलान्यास भयो । २ वटा पुल पूर्व अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे । एउटा पुल रक्षामन्त्री बालकृष्ण खाँणले तथा अर्को पुलको वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहराले शीलान्यास गरेको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर जयलाल मरासेनीले बताए ।

रुपन्देहीको सबैभन्दा ठूलो नदी हो तिनाउ, जहाँ अहिले एक दर्जन पुल निमाणका क्रममा छन् । तिनाउ नदीमाथि ०६७ साल यता मोटर गुड्ने पुल निर्माण सुरु भएको हो । एक दर्जन पुलमध्ये बुटवल झोलुङ्गेपुलको मात्रै सकिएको छ । हाल ११ वटा पुल निर्माणाधीन अवस्थामा छन् ।

तिनाउ र दानव नदीमा मात्रै ९९ करोड ३८ लाखको लागतमा पुल निर्माण भइरहेका सडक कार्यलयको भनाइ छ ।

पाल्पाबाट आएको तिनाउ नदी बुटवल हँुदै रुपन्देहीका विभिन्न गाविस भएर बग्ने गर्दछ । खासगरी वषार्दको समयमा तिनाउ नदी वारपार गर्न कठिन छ ।

यी पुलले रुपन्देहीका ग्रामीण क्षेत्रहरुलाई बुटवल सहरसँग नजिक बनाउने अपेक्षा गरिएको छ । बुटवल १३ देवीनगर र मोतिपुर जोड्ने पुलको काम केही महिना सक्ने गरी अगाडि बढाइएको जनाएको छ ।

उक्त स्थान वाणिज्य क्यापस नजिकै रहेको झोलुङ्गे पुलको गएको वर्षामा आएको बाढीले बगाएपछि योजनमा रहेको देवीनगर र मोतिपुर जोड्ने पुलको कामलाई तीव्रता दिनुपर्ने बाध्यता आएको हो । उहिले कभल्ट बनाएर आवतजावतलाई सुचारु गरिएको छ ।

ठूला नेता के भन्छन्

–जुनसुकै पार्टी सरकारमा भए पनि रुपेन्देहीबाट कोही न कोही नेता मन्त्री बन्ने गरेका छन् । एमालेका विष्णु पौडेल काङ्ग्रेसका बालकृष्ण खाँडा वा राप्रपाका दीपक बोहोरा कोही न कोही मन्त्री भएकै हुन्छन् । जिल्लामा सञ्चालन हुने ठूला विकास निमार्णका परियोजनामा उनीहरु एक मत रहने गरेका छन् ।


तीन वर्षपछि रुपन्देही पूर्वाधारमा नमुना बन्ने रुपन्देही क्षेत्र नम्बर ४ सांसद तथा पूर्वअर्थ मन्त्री विष्णु पौडेलले बताए । उनले जिल्लालाई मुलुकको नमुना जिल्लका रुपमा विकास गर्न आफूहरु लागिरहेको दाबी गरे ।

पूर्वाधारसँगै वार्षिक १० लाख विदेशी पर्यटकको भित्र्याउने गरी विकासका काम भइरहेका छन् । निजी क्षेत्रबाट सेवामूलक उद्योगमा २५ अर्बको लगानी रहेको छ । पूर्वाधारले पर्यटन आवागमन बढाउने भएकाले बुटवल, भैरहवा, लुम्बिनी क्षेत्रमा अर्बांै लगानीका होटलहरु खुलिरहेका छन् ।

नेता पौडेलले यहाँका साना साना विकास निमार्णमा पनि चासो राख्ने गरेका छन् । पौडेलले सानादेखि ठूला योजनामा चासो लिने गरेको कर्मचारीहरु बताउँछन् । आफू अर्थमन्त्री हुँदा उनले पूर्वाधारका लागि रुपेन्देहीमा राम्रै बजेट विनियोजन गरेका थिए ।


रक्षामन्त्री बालकृष्ण खाँण रुपन्देही क्षेत्र नम्बर ३ का सांसद हुन् । पटक–पटक मन्त्री बन्ने अवसर पाएका खाँणले रुपन्देहीको विकासले मुलकमा ठूलो प्रभाव पार्ने बताए । उनले सिक्स लेन सडक, विमानस्थल तथा अन्य राट्रिय गौरवका आयोजनाको कामले तीव्रता पाएको बताए । उनले पवित्र स्थल लुम्बिनीलाई रुपन्देहीकोे विकाससँग जोडेर हेर्नुपर्ने बताए ।

रुपन्देही क्षेत्र २ का संसाद तथा वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहरा रुपन्देही विकासका लागि आफू तीन दसकदेखि लागिरहेको दाबी गर्दछन् । उनले यहाँको विकास लागि सरकार रहँदा या नरहँदा आफूले सक्ने काम गरेको बताए । भैरहवा तथा जिल्लामा विकास निमार्णलाई उनले चासो दिने गरेका छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल