नारी दिवस : थापाथली चोककी नारी इन्सपेक्टर

फागुन २५

नारी दिवस : थापाथली चोककी नारी इन्सपेक्टर

बिजु महर्जन

वेदमा भनिएको छ, ‘मानिसको मिहिनेत त्यो चावी हो, जसले भाग्यको ढोका खोलिदिन्छ ।’ त्यस्तै झापाको पृथ्वीनगरमा जन्मे–हुर्केकी रुपा लाबुङ त्यही मिहिनेतको चाबीको निरन्तर प्रयास गरिन् र भाग्यको ढोका खुल्यो ।

झापाको सामान्य किसान परिवारमा जन्मेकी लाबुङ आजभोलि प्रहरी इन्सपेक्टरको बर्दीमा राजधानीको थापाथली चोकमा सिठ्ठी फुकिरहेको अवस्थामा भेटिन्छिन् ।

‘आमाबुबा खेती किसानी गर्नुहुन्छ’, सोमबार महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथलीमा ट्राफिक क्याप मिलाउँदै उनले भनिन्, ‘सानैदेखि पढ्न मन पथ्र्यो, पढाइमा मेहनत गर्दै गएँ ।’


परिवारमा सातजना छोराछोरी थिए । त्यसैले उनका किसान बाबु–आमालाई कुन सन्तानले कति मिहिनेत गरेर पढेको छ, कसले पढेको छैन खासै मतलव थिएन ।

‘घरको वातावरण पनि छोरी र छोरा भनेर विभेद गर्ने थिएन । छोरी मान्छेले गर्ने सक्दैनन् भनेर मेरो आमाबुबाले कहिले सोच्नु भएन’, रुपा भन्छिन्, ‘त्यसैले मेरो आत्मविश्वास बढ्दै गयो । २०६५ सालमा ब्याचलर सकेँ ।’

पृथ्वीनगरमा त्यतिबेला स्नातक तहको पढाइ पूरा गर्नु पनि ठूलो कुरा थियो । अझै पढ्ने र राम्रो जागिर खाने सोच बोकेर रुपा काठमाडौँतिर लागिन् । त्यस समयमा उनको खल्तीमा मुस्किलले पाँच हजार थियो ।


‘काठमाडौँमा एकजना दिदीसँग बसेँ’, उनी भन्छिन्, ‘आमा–बुबाले पैसा पठाएर काठमाडौँमा पढ्न सक्ने अवस्था थिएन । त्यसपछि जागिर खोज्न थालेँ ।’

हरेक दिन कान्तिपुरको वर्गीकृत विज्ञापनमा आँखा डुलाउने रुपाले पुरानो बानेश्वरस्थित एक कस्मेटिकको डिलरमा काम पाइन् । मासिक चार हजार तलब पाउने भनिए पनि पहिलो महिनाको तलब काम मिलाइदिने बिचौलिया कम्पनीलाई बुझाउनुपथ्र्यो ।


‘बिहान कलेज जान्थँे, त्यसपछि सीधै अफिस’, उनले भनिन्, ‘खाने ठेगान हुँदैनथ्यो ।’

एक महिनाको तलब बिचौलिया कम्पनीलाई दिनुको साटो नयाँ काम खोज्न हिँडिन् ।

केही समय नेपालकै पुरानोमध्येको न्युरोडको हिकोला ल्याबमा एकाउन्टेन्टको काम गरेकी रुपालाई त्यतिबेला लाग्थ्यो, ‘जागिर नभएपछि सास बन्द हुन्छ कि क्या हो ।’

रुपाले कहिल्यै प्रहरीको बर्दी लगाउँछु भन्ने सोचेकी थिइनन् । तर जिन्दगी सोचेजस्तो हुँदो रहेनछ । साथीहरुसँग मिलेर प्रहरी इन्सपेक्टरको फर्म भरेकी रुपाले एकै पटकमा पास भइन् । बरु अन्य साथी फेल भए । २०६७ सालमा उनले प्रहरी इन्सपेक्टरको बर्दी लगाइन् ।

प्रहरीको बर्दीभित्र आफ्लाई गौरवान्वित ठान्ने रुपा सङ्गठनले आफूलाई धेरै कुरा दिएको र कहिल्यै महिला वा पुरुष भनेर नछुट्याएको बताउँछिन् ।


‘प्रहरी सङ्गठनबाट दिने सम्पूर्ण सुविधाहरु महिला र पुरुषका लागि समान छन्’, उनले भनिन्, ‘त्यसैले काम गर्दा महिला हँु या कसैभन्दा कम छु भन्ने कुरा कहिल्यै दिमागमा आउँदैन ।’

थप मिहिनेत गर्नुपर्छ महिला ट्राफिकले

थापाथली प्रभागको इन्चार्ज भएर काम गर्दा आफू महिला भएकै नाताले थुप्रै अप्ठ्याराको सामना गर्नुपरेको बताउँछिन् रुपा । ‘समाजमा एउटा महिलालाई हेर्ने नजर छुट्टै छ’, उनले भनिन्, ‘म एउटा महिला नभई ट्राफिक अफिसर भएर कारवाही गर्छु तर सवारी चालकहरुले हामीलाई महिला ट्राफिकले दया गर्छन् कि भन्ने आशा गर्छन् ।’


२०६९ सालमा रौतहटको गरुडामा महिला तथा बालबालिकाका सेल सेन्टरको इन्चार्ज भएर काम गरेकी रुपमाले त्यहाँका महिलाहरुको अवस्था नजिकैबाट बुझ्ने अवसर पाइन् । ‘महिलाहरुको अवस्था तराईमा निकै दयनीय छ’, उनले भनिन्, ‘उनीहरुलाई आफ्नो हक अधिकारहरु के–के हुन थाहा छैन, बुझाउन खोज्दा पनि बुझ्ने क्षमता एकदमै कम हुन्छ ।’

महिलाहरु आर्थिक रुपमा कमै मात्र सबल भएको पाइन्छ । किशोरीहरुले पढ्ने अवसर कमै मात्रामा पाएका हुन्छन् । चाँडै विवाह गरिदिने, बालविवाह, बहुविवाह र धेरै मात्रामा महिलाहरु घरेलु हिंसाबाट पीडित हुने घटना उनले नजिकैबाट नियालेकी छिन् । गाउँगाउँमा घरेलु हिंसालाई पनि एकदमै सामान्य रुपमा लिइन्छ’, रुपा भन्छिन्, ‘हामीले त्यहाँका महिला तथा बालबालिकाहरुका लागि जनचेतनाका विभिन्न कार्यक्रमहरु चलायौँ ।’ गरुडा बस्दाको एउटा घटना आज पनि रुपमा आँखामा फिल्मको रिलझैँ घुमिरहन्छ । एकजना १५ वर्षीय किशोरी, जसको विवाह भएको करिब सात महिना मात्र पुगेको थियो । खेल्ने उमेरकी किशोरीले धेरै खेल्न खोजेको भन्दै ससुरा र श्रीमानले उनलाई साङ्लाले बाँधेर राखिदिए । ‘त्यति मात्रै कहाँ हो र ?, ती किशोरीको कपाल मुडुलेर अनुहारमा कालो मोसो दलिएको अवस्थामा उनको उद्धार हामीले गरेका थियौँ’, रुपा सम्झिन्छिन्, ‘त्यसपछि हामीले उनलाई एउटा संस्थामा जिम्मा लगायौँ ।’

कम छैनौँ हामी

नेपाली समाजमा अभैm महिला र पुरुषको बीचमा असमानता देखिन्छ । तर महिला र पुरुषबीच शारीरिक रुपमा मात्र भिन्नता भएको बताउँछिन् रुपा । ‘हाम्रो देशमा महिलाको अवस्था किन नराम्रो छ भने यहाँ छोरीलाई पढाउन अनिवार्य ठान्दैनन्’, उनले भनिन्, ‘यो कुरामा राज्यले ध्यान पु¥र्याइदिए परिर्वतन चाँडै हुन्थ्यो ।


महिला तथा बालबालिकाको हकमा थुप्रै कार्यक्रम आए पनि शिक्षाको निश्चितता नभएको बताउँछिन् उनी । ‘शिक्षाको शक्ति के हुन्छ भनिरहन पर्दैन’ उनले भनिन्, ‘महिला सशक्तीकरणका लागि सबैभन्दा ठूलो बाटो शिक्षा नै हो ।’

‘महिलाले चाह्यो भने गर्ने नसक्ने केही पनि कुरा छैन’, उनले भनिन्, ‘छोरीहरुलाई शिक्षा अनिवार्य गर्नुपर्छ, हामी पुरुषभन्दा कम छैनौँ ।’


रुपालाई थाहा छ, कोही महिला प्रहरी पेसामा आइन् भने उनको जीवनको बाटो अझ उज्यालो हुन्छ । एउटा महिला प्रहरी अफिसर आफैँ अन्यायमा पर्दिनन् । बरु अरुलाई न्याय दिन्छिन् । यसरी न्यायको बिगुल बजाउने जिम्मा लिन मिहिनेत गर्न छाड्नु हुँदैन, जसरी रुपाले गरिन् । त्यसैले त आज उनी थापाथली चोकमा बसेर ट्राफिक नियमको सिठ्ठी फुकिरहेकी छिन् । आज १०७औं अन्तर्राष्ट्रिय महिला दिवस उनी त्यसैगरी सिठ्ठी फुक्दै छिन् ।

मर्निङवाकदेखि लाइसेन्स समात्नेसम्म

हरेक बिहान उज्यालो भुइँमा खस्न नपाउँदै रुपा लाबुङको निन्द्रा खुल्छ । एक गिलास मनतातो पानीको घुड्की लिँदै पत्रपत्रिकामा आँखा डुलाउने उनी केही ड्युटी अपडेट लिएर शारीरिक व्यायाम गर्छिन् ।


बिहान ८ बज्दा नबज्दै इन्सपेक्टरको बर्दी लगाएर थापाथली चोकमा निस्कने लाबुङ ११ बजे खाना खान्छिन् । खाना खाएपछि सेवाग्राहीको गुनासो सुन्नेदेखि अफिसियल काममा व्यस्त रहने रुपा साँझ ४ बजे थापाथली चोकमा पुगिहाल्छिन् । साँझ ८ बजे ट्राफिक महाशाखामा रिपोर्टिङ गरेपछि उनी निवासमा फर्किन्छिन् ।

कराँतेमा ब्राउन बेल्ट र त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेकी रुपाको ‘पीएचडी गर्ने सोच छ’, मुस्कुराउँदै उनले संवाद टुङ्ग्याइन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल